काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

  नेकपा (एमाले)ले यही भदौ २० गतेभित्रमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको सिफारिस केन्द्रमा गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।    भदौ १० गतेदेखि दुई दिनसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको चौथो केन्द्रीय कमिटी बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भदौ २० भित्रमा उम्मेदवारको सिफारिस गर्नका लागि निर्देशन दिएको बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।  पार्टीले समानुपातिकतर्फको बन्दसूचीका लागि उम्मेदवारको प्रस्ताव पठाउँदा सन्तुलन, समावेशी र अवसरको न्यायोचित वितरणलाई समेत ध्यान दिन जिल्ला कमिटीबाट सिफारिस गर्न निर्देशन दिएको छ । जिल्ला कमिटीले सिफारिस गरेको उम्मेदवारको प्रदेश कमिटीले आफ्नो राय भए सोसमेत उल्लेख गरेर केन्द्रमा पठाउने र केन्द्रले आवश्यक ठानेमा कुनै पनि तहको प्रत्यक्ष वा समानुपातिकतर्फको निर्णयलाई पुनःविचार गर्नसक्ने उहाँले बताउनुभयो ।    जिल्लाको सम्बन्धित प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले प्रतिनिधिसभा सदस्यको उम्मेदवारको सिफारिस गर्नेछन् । यस्तै एउटा मात्र निर्वाचन क्षेत्र रहेका जिल्ला कमिटीको बैठकबाट उम्मेदवारको सिफारिस गर्ने र प्रदेशसभा सदस्यको उम्मेदवारको सिफारिस पनि निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले गर्नेछ ।    यसरी सिफारिस गर्दा जिल्ला कमिटी र प्रदेश कमिटीले आफ्नो रायसमेत उल्लेख गरी सिफारिस गर्नुपर्नेछ । उहाँका अनुसार मातहतका कमिटीले प्रत्येक निर्वाचन क्षेत्रबाट तोकिएको मापदण्ड पूरा गरेका कम्तीमा एक जना महिलासहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्नुपर्नेछ ।    एमालेले निर्वाचनका लागि उम्मेदवारको छनोटका पाँच वटा मापदण्ड तय गरेको छ । प्रचार विभाग प्रमुख गुरुङका अनुसार पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चिता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशीता तथा निर्वाचन कानूनबमोजिमको योग्यता रहेका छन् ।    लोकप्रियलाई टिकट   यस्तै पार्टीले जित्ने सम्भावना र संसदीय भूमिका प्रभावकारी भएकालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै पार्टीले समानुपातिक उम्मेदवार नदोर्‍याउने निर्णय गरेको छ । उहाँले समानुपातिक वा कुनै पनि अप्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुने स्थानमा एकचोटी अवसर प्राप्त गरेका पार्टीका नेता, कार्यकर्ता वा समर्थकलाई पुनःसोहीमा दोहोर्‍याउने र पालैपालो वितरण प्रणाली लागू गरिने जानकारी दिनुभयो ।  यस्तै पार्टीले स्थानीय तह वा कुनै पनि तहमा बहालवाला जनप्रतिनिधिलाई राजिनामा गराएर प्रतिनिधि वा प्रदेशसभामा उम्मेदवार सिफारिस नगर्नेसमेत निर्णय गरेको छ । पहिलो पटक भएको कुनै पनि तहको निर्वाचनमा पराजित उम्मेदवार कसैलाई पनि प्रदेशसभा वा प्रतिनिधिसभाको प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बनाउनेसमेत निर्णय गरेको छ ।    बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फ पार्टीले निर्धारण गरेको मापदण्ड पूरा भई योग्य उम्मेदवारको चयन गरी औपचारिक मनोनयन र बन्दसूचीको निर्णय गर्ने अधिकार भने केन्द्रीय कमिटीकोतर्फबाट केन्द्रीय सचिवालयलाई प्रदान गरेको छ ।   यसरी सचिवालय बैठकले गरेको उम्मेदवारलाई मनोनयन पत्र दिन र उम्मेदवारको बन्दसूची पेश गर्ने दलको केन्द्रीय कमिटीकोतर्फबाट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अख्तियारी दिने निर्णयसमेत गरेको छ । बैठकले प्रत्येक मतदान केन्द्रमा निर्वाचन परिचालन बुथ कमिटी गठन निर्णय गरेको छ ।    स्थानीय निर्वाचनमा प्रत्येक कमिटीका सदस्यलाई घरधुरी ताकेर परिचालन गर्ने र पार्टीलाई आवश्यक पुर्‍याउन ६ प्रतिशत मत वृद्धिका लागि हरेक पार्टी सदस्यले नयाँ दुई भोट थप्ने पाँच भोट संरक्षण गर्ने नीति बैठकले लिएको उहाँले बताउनुभयो । बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि सुझावसहित पारित गरेको छ ।    सदस्यको समस्या समाधान   बैठकले दोहोरिएका सङ्गठित सदस्य नम्बरलाई व्यवस्थित गर्ने निर्णय गरेको छ । प्रचार विभाग प्रमुख गुरुङले दोहोरिएका सदस्यमध्ये सबैभन्दा पुरानो सदस्यको नम्बर कायम राखी बाँकी सदस्यलाई विशेष नम्बर दिने र त्यस्तो विशेष नम्बर १४ लाख ३१ हजारबाट १५ लाखसम्मको कल्स्टरमा व्यवस्थित गर्ने उल्लेख गरिएको बताउनुभयो ।    यसअघि पार्टीको सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो निर्णय केन्द्रीय कमिटी बैठकले निर्वाचन घोषणापत्र मस्यौदा कार्यदल, निर्वाचन परिचालन कमिटी, १२ विभागको सचिवको मनोनयन र तीन विभाग विस्तार, स्थानीय तह विकास विभागको निर्देशिका र नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि, पार्टीको वार्षिक बजेट र पार्टी प्रवेश गरेकाको व्यवस्थापनको कामसम्बन्धी प्रस्ताव, केन्द्रीय सल्लाहाकार परिषद्मा मनोनयन र केन्द्रीय कमिटीमा मनोनयन गरिएको प्रस्तावलाई अनुमोदन गरेको छ ।    बैठकले भारत प्रवासको कामलाई व्यवस्थित गर्न नियमावली निर्माण र प्रतिष्ठानको कामलाई व्यवस्थित गर्न नियमावली निर्माण गर्नका लागि खगराज अधिकारीको संयोजकत्वमा कार्यदल  गठन गरेको छ । पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजत्वमा स्थानीय तह  निर्वाचनमा अन्तरघात भएको सम्बन्धमा छानबिन गर्न गठित कार्यदलले कामका प्रगतिबारे जानकारी गराएको थियो । –––

  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्नुभएको छ ।   सङ्घीय सरकारले बुटवल उपमहानगरपालिका–८ रामनगरमा निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज एक समारोेहका बीच प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण, सहरी विकासमन्त्री मेटमणि चौधरी, पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलगायत विशिष्ट व्यक्तिको सहभागिता रहेको छ ।   सहरी विकास मन्त्रालयको रु एक अर्ब ११ करोडको लागतमा दुई चरणमा गरी सो सम्मेलन केन्द्र निर्माण गरिएको हो । दुई चरणमा गरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गरिएको हो । 

  काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले मङ्सिरमा हुने निर्वाचनपछि मुलुक नयाँ दिशातर्फ अघि बढ्ने बताउनुभएको छ ।बुटवलस्थित रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले मुलुकमा संविधानको कार्यान्वयनका लागि गठबन्धन दलहरूलाई  विजयी गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो । मन्त्री चौधरीले संंविधानविरोधी तत्वहरूबाट देश बचाउन सबै पार्टी एकजुट हुनुपरेको उल्लेख गर्नुभयो ।   नेकपा(एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका उहाँले मुलुक समृद्धिको बाटोमा अघि बढिरहेका बेला फेरि गोलचक्करमा  पार्ने काम भएको भन्दै त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताउनुभयो । 

  आगामी मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको दल दर्ता प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगका सचिव गोकर्णमणि  दुवाडीका अनुसार आज पहिलो दिन प्रतिनिधिसभातर्फ २९, प्रदेश नं. १ मा २५, मधेस प्रदेशमा २७, बागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा २५, लुम्बिनी प्रदेशमा २६, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २३ दल दर्ता भएका छन् । यो प्रणालीका लागि आयोगले निर्वाचन अधिकृतको कार्यालय आयोगको कार्यालयमा तोकेको छ । आयोगले प्राप्त निवेदनमध्ये प्रतिनिधिसभातर्फ पहिलो हुने, निर्वाचित हुने प्रणालीतर्फ ८७ दलले भाग लिन पाउने गरी क्रम निर्धारण गरिसकेको छ ।

  काठमाडौं । आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९मा सहभागी हुने दलको सङ्ख्या सबैभन्दा बढी मधेस प्रदेशमा देखिएको छ ।   निर्वाचन प्रयोजनका लागि मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलका आधारमा  सो प्रदेशमा  बढी देखिएको हो ।आयोगबाट भएको राजनीतिक दल दर्ता, निर्वाचन चिह्न प्रदान र निर्वाचन चिह्नको क्रम निर्धारणअनुसार सो प्रदेशमा ६७ दलका निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी सहभागी हुने दलको सङ्ख्या ७५ कायम भएको छ ।    यसैगरी प्रदेश नं १ मा ६२ दलका चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी ७०, बागमती प्रदेशमा ६४ दलका चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी सहभागी हुने दलको सङ्ख्या ७२ हुने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।   यस्तै गण्डकी प्रदेशमा ५८ निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी सहभागी हुने दलको सङ्ख्या ६६, लुम्बिनी प्रदेशमा ६० दलका चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी सहभागी हुने दलको सङ्ख्या ६८, कर्णाली प्रदेशमा ५६ दलका चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी सहभागी हुने दलको सङ्ख्या ६४ र सुदूरपश्चिम प्रदेशमा ५६ दलका चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी सहभागी हुने दलको सङ्ख्या ६४ रहने गरी आयोगले बिहीबार निर्णय गरेको छ ।   आयोगले निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि तोकिएको समयावधिभित्र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनको लागि ८० वटा दल दर्ता निवेदन र एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि चार  निवेदन गरी जम्मा ८४ (चौरासी) वटा  निवेदन प्राप्त हुन आएकोमा  राजनीतिक दलहरूबाट दर्ता हुन आएका निवेदनलगायत अन्य कागजातको अध्ययन र जाँचबुझ गर्दा जम्मा ७९ वटा दलका निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको सङ्ख्या ८७ कायम गरेको छ ।

  काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक राष्ट्रियसभाबाट पारित हुने बताउनुभएको छ ।          विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले नागरिकता विधेयक पुनःप्रक्रियामा गएको छ, अब पारित हुन्छ । अध्यक्ष दाहालले नागरिक विधेयकको प्रक्रियाका विषयमा राष्ट्रपतिले नेपाली सेनाका अधिकृतसँग गरेको छलफल सामान्य रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “विधेयक प्रक्रियामा गइसकेको छ, त्यो पारित हुन्छ र राष्ट्रपतिले पनि प्रमाणीकरण गर्नुहुन्छ ।”          अध्यक्ष दाहालले यतिखेर देशमा राजनीतिक सङ्कट आउने जस्तो गरेर हल्ला गरिएको भन्दै तर बाहिर हल्ला भएजस्तो मुलुकमा सङ्कट नआउने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “बाहिर त केके सङ्कट आउने जस्तो हल्ला गरिएको छ, तर त्यस्तो केही होइन, हुँदैन ।” आगामी निर्वाचनका लागि पाँच दलभित्र एक सय ६५ वटै निर्वाचन क्षेत्रमा गठबन्धन हुने पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले १५ दिनभित्र सिटको बाँडफाँट भइसक्ने जानकारी दिनुभयो । 

‘जनताको साथमा कांग्रेस’ अभियानलाई लक्षित गरी नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले प्रदेशभित्रका ११ वटै जिल्ला र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रतिनिधि खटाएको छ ।   गण्डकी प्रदेश कार्यसमितिको बिहीबार सम्पन्न पदाधिकारी बैठकले प्रदेशअन्तर्गतका जिल्लामा प्रदेश समितिका पदाधिकारी र ३६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय गरेको नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बाँस्तोला ‘मधु’ले जानकारी दिनुभयो । उहाँका अनुसार मनाङ र मुस्ताङका लागि प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापतिद्वय कल्पना तिवारी र मेखलाल श्रेष्ठलाई बागलुङ र म्याग्दी, महामन्त्रीद्वय किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछानेलाई कास्की र पर्वत, कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठलाई गोरखा, सहमहामन्त्री कोपिला रानाभाटलाई स्याङ्जा, रमेश पाण्डेलाई नवलपुर, रामचन्द्र जोशीलाई लमजुङ र माधवप्रसाद बाँस्तोला ‘मधु’लाई तनहुँ जिल्लाका लागि प्रतिनिधि खटाइएको छ ।   त्यस्तै ३६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाइएको उहाँले जानकारी दिनुभयो । बैठकबाट प्रदेश कार्यसमितिअन्तर्गत सूचना सञ्चार तथा प्रचार विभागमा सबै जिल्लाको प्रतिनिधित्व हुने गरी १२ प्रदेश विभाग सदस्य थप गरिएको विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिनुभयो । बैठकले कांग्रेस केन्द्रीय सदस्य, नेता एवं समाजवादी चिन्तक प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको असामयिक निधनप्रति शोक प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मापदण्ड तय गरेको छ ।    ललितपुरको च्यासलस्थित दोस्रो पोलिटब्युरो बैठकले भोलि भदौ १० र भदौ ११ बस्ने केन्द्रीय कमिटीको बैठकको ११ वटा एजेण्डा तय गर्दै निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने प्रक्रिया र मापदण्ड तय गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।    उहाँले केन्द्रीय कमिटी बैठकमा ती उम्मेदवार छनोट गर्ने प्रक्रिया र मापदण्ड प्रस्तुत गरेर पारित गर्नेसमेत बताउनुभयो । “निर्वाचनको उम्मेदवार छनोट प्रक्रियाको मापदण्डका बारेमा सचिवालय, स्थायी र पोलिटब्युरो बैठकमा समेत छलफल भइसकेको छ र ती बैठकबाट पारित गरिएको छ”, उहाँले भन्नुभयो, “भोलिदेखि बस्ने केन्द्रीय बैठकमा आवश्यक संशोधनसहित उम्मेदवारको मापदण्ड पारित गर्छौं र चुनावको तयारीमा अगाडि बढ्छौँ ।”   प्रचार विभाग प्रमुख गुरुङले पार्टीले निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने चार वटा मापदण्ड बनाएको बताउनुभयो । उहाँका अनुसार पहिलो पार्टी, नीति र सिद्धान्तप्रतिको प्रतिबद्धता, दोस्रो कुनै पनि नेताले पार्टीले सञ्चालन गरेको आन्दोलनमा दिएको योगदान र पार्टीप्रतिको निष्ठा, तेस्रो लोकप्रियता र विजयको सुनिश्चितता तथा चौथो मापदण्ड संविधानअनुरुप सन्तुलन, समावेशीको सिद्धान्तलाई आधार मानेर पनि उम्मेदवार चयन गरिनेछ ।    उहाँका अनुसार भोलिको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको लिखित राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेश हुनेछ । त्यसमाथि समूहगतरूपमा छलफल भएर आवश्यक निर्णय लिने उहाँले बताउनुभयो ।    यस्तै केन्द्रीय सदस्यमा मनोनीत चार जनालाई भोलि शपथ गराएर बैठकमा उपस्थिति गराइने बताइएको छ । ती चार मनोनीत केन्द्रीय सदस्यको कार्यविभाजन गर्नेसमेत एजेण्डा तय गरिएको उहाँले बताउनुभयो ।   केही दिनअघि बसेको सचिवालय बैठकले जीवन गौतम, विजय गुप्ता, धर्मदत्त देवकोटा र अमृतलाल राजवंशीलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको थियो । यस्तै यसभन्दा अघि पार्टी सचिवालयले गरेको निर्णयको पनि भोलि बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ ।    स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारलाई हराउने भूमिका खेल्नेमाथि गठित छानविन कार्यदलको प्रतिवेदन पनि बैठकमा प्रस्तुत गर्ने एजेण्डा तय गरिएको छ । पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षमा स्थानीय तह निर्वाचनमा पार्टीलाई अन्तरघात गर्नेलाई कारवाही गर्नका लागि छानविन समिति गठन गरिएको थियो ।    यस्तै एमालेले पार्टी सदस्य सङ्ख्या दोहोरिएका सङ्गठित सदस्यका सम्बन्धमा विशेष निर्णय गरेर व्यवस्थापन गर्ने एजेण्डासमेत रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख गुरुङले जानकारी दिनुभयो । एमालेका ५२ हजार पाँच सय ५० सङ्गठित सदस्यको नामावली दोहोरिएको छ ।    केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग रहेको प्रतिवेदन बैठकमा पेश गरिनेछ । भारत प्रवास कमिटीलाई व्यवस्थापन गर्नका लागि नियमावली बनाउनेसमेत बैठकले निर्णय गरेको छ । नियमावली केन्द्रीय कमिटी बैठकमा पेश गरेर अनुमोदन गरिनेछ ।    यस्तै पार्टीका विभिन्न निकाय, विभागका सम्बन्धमा नियम पारित गर्ने एजेण्डासमेत रहेको छ । यस्तै समसामयिक राजनीतिक एजेण्डा पास गर्ने पनि उहाँले बताउनुभयो । उहाँका अनुसार स्थानीय तहमा धाँधली भएका कारण चुनाव हार्नुपरेको अध्यक्ष ओलीले बैठकमा बताउनुभएको छ ।    “सङ्ख्याको नम्बरले दोस्रो पार्टी भए पनि लोकप्रियताका हिसाबले एमाले पहिलो पार्टी भएकाले आगामी निर्वाचनमा सोही लोकप्रियतासहित जानुपर्दछ भन्ने कुरा अध्यक्ष ओलीले बताउनुभयो”, प्रचार विभाग प्रमुख गुरुङले भन्नुभयो ।    अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गर्दै राजनीतिक प्रतिवेदनमा उल्लेख भएका राष्ट्रिय राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थिति र आगामी आम निर्वाचनका विषयमा प्रकाश पार्नुभएको थियो । बैठकमा १५ जना पोलिटब्युरो सदस्यले राजनीतिक प्रतिवेदनमाथि आफ्नो सुझाव प्रस्तुत गर्नुभएको थियो ।    बैठकमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, सुमनराज प्याकुरेल, लीलाबहादुर थापा, रामदयाल मण्डल, निरु पाल, शान्ता चौधरी, कर्ण थापा, जितु गौतम, मञ्जु चौधरी, लालबाबु पण्डित, काशीनाथ अधिकारी, खगराज अधिकारी, बिन्दा पाण्डे, अग्नि खरेल र कृष्ण राईले राजनीतिक प्रतिवेदनमा समावेश गर्नका लागि आआफ्ना सुझाव राख्नुभएको थियो ।     बैठकले पार्टीको सचिवालयबाट गरिएका निर्णय अनुमोदन गरेको छ । केन्द्रीय कमिटीको बैठक भोलि भदौ १० गते पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा ११ बजे बस्दैछ । 

  बागलुङ: बागलुङमा स्थानीय निकायको निर्वाचनपछि दुई हजार ८ सय  बढी मतदाता थप भएका छन् । निर्वाचन आयोगले सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा गरेपछि जिल्ला निर्वाचन कार्यालय आन्तरिक तयारीमासमेत जुटेका छन् ।    गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतदाता सङ्ख्या भन्दा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दुई हजार ८०० मतदाता थपिएका छन् । स्थानीयतहको निर्वाचनमा एक लाख ९३ हजार छ सय २४ मतदाता रहेकोमा अहिले एक लाख ९६ हजार दुई सय ९७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।    तीमध्ये  एक लाख नौ हजार ४० महिला र ९५ हजार पाँच सय १७ महिला मतदाता छन् । एक वर्षभित्र दर्ता भएर १८ वर्ष उमेर नपुगेर स्थानीय तहमा मतदान समेत गर्न नपाएका मतदाता र नयाँ दर्ता भएका मतदातासहित १३ हजार बढीले यसपटकको निर्वाचनमा मतदान गर्न पाउनेछन् ।    यस्तै स्थानीय तहको निर्वाचनपछि असार १ गते देखि साउन १९ गतेसम्म दुई हजार आठ सय  मतदाताले मतदाना नामावली दर्ता गरेको निर्वाचन कार्यालयका सूचना अधिकारी गकुल शर्माले जानकारी दिनुभयो ।    “स्थानीय तहको निर्वाचनमा रहेको मतदाता सङ्ख्याको आधारमा जम्मा दुई हजार आठ सय मतदाता थपिएका हुन्, तर उमेर नपुगेर स्थानीय तहको निर्वाचनमा मतदात गर्न नपाएका र नयाँ थपिएका गरी १३ हजार बढीले यसपटकको निर्वाचनमा मतदान गर्न सक्नेछन्” उहाँले भन्नुभयो “अहिलेको प्रदेश र सङ्घीय निर्वाचनको तयारीमा जुटेका छौँ, मतदाता अध्यावधिकपछि केही मतदाता घट्लान, भदौ महिनामै अन्तिम नामावली प्रकाशन गर्नेछौँ तर त्यसअघि वडातहमै मतदाता नामावली लगेर छलफल गर्नेछौँ ।”   गत असार १ गते देखि साउनको १९ गतेसम्म जिल्ला प्रशासन कार्यालय , इलाका प्रशासन कार्यालय बुर्तिबाङ र निर्वाचन कार्यालय, बागलुङमा मतदाता नामावली दर्ता गरिएको थियो । एक सय तीन मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङ जिल्लामा स्थानीय तहको निर्वाचनको समयमा भएको समस्या, मतदाताको पहुँच लगायतको कारण तीन मतदानस्थल स्थानान्तरण र तीन मतदानस्थल थप गरेर निर्वाचन आयोगमा पठाइएको छ ।  “स्थानीय तहको निर्वाचनमा धेरै स्थान मतदाताको पहुँच भन्दा टाढा रहेको, मतदानस्थल साँघुरो भएको लगायतका समस्याका कारण मतदान केन्द्र स्थानान्तरण र मतदानस्थल थप गरिएको हो” सूचना अधिकारी शर्माले भन्नुभयो “राजनीतिक दलमा सहमति जुटेको स्थानमा मात्रै मतदानस्थल परिवर्तन गरेका छौँ, सहमति नजुटेको थुप्रै मतदानस्थल छन् जुन साँघुरो र मतदान गर्नै सास्ती भएकोसमेत छन् तर सहमति नजुटेको स्थानलाई अहिले यथावत् नै राखिएको छ ।”   थप हुने मतदानस्थलको रुपमा ढोरपाटन नगरपालिका–६ र ढोरपाटन–२ र गलकोट  नगरपालिका –१० रहेको छ । यस्तै मतदानस्थल परिवर्तन भएकोमा बागलुङ नगरपालिका–३ बौद्ध बिहारको कालिका कन्या मन्दिर, बागलुङ नगरपालिका–६ को वडा कार्यालयदेखि लहरेपिपल माध्यामिक विद्यालय र  बडिगाड गाउँपालिकाको– ८ सिद्धबारी प्राविबाट भृकुटी माध्यामिक विद्यालयमा स्थानान्तरण गरिएको छ ।     अन्तिम मतादाता नामावलीका लागि दाबी विरोध, मृत्यु भएकाको नामावली हटाउने, नाम परिवर्तन गर्ने विवाह गरी गएकाको दर्ता सार्ने गरी भदौ १२ देखि १५ सम्म स्थानीय तहको वडामा मतदाता नामावली पुग्ने निर्वाचन कार्यालयको भनाइ छ ।