पोखरा ः नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नंं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराईले अग्रजले देखेका सपना पुरा गर्न सके मात्र उहाँहरुप्रति सच्चा सम्मान हुने बताउनु भएको छ । नेकपा एमाले पोखरा १७ द्धारा मुस्ताङचोकमा आज आयोजित प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय चित्र बहादुर गुरुङको ३२ औं स्मृति सभामा बोल्दै उहाँले मुलुकको प्रत्येक परिवर्तनमा अग्रजको अतुलनिय योगदान रहेको स्पष्ट पार्नुभयो । मुलुकको प्रजातान्त्रिक आन्दोलनसंगै नेपालमा कम्युनिष्ट पार्टीको , स्थापनामा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने गुरुङले राष्ट्र निर्माण देखाएको सपना पुरा गर्न सवै एकतावद्ध भएर लाग्नुको विकल्प नभएकोमा उहाँको जोड थियो ।नेकपा एमाले केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र २ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार भिम कार्कीले पार्टी नीति, विचार र सिद्धान्तका आधारमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । अधिवक्ता तिलक पराजुलीले स्व. चित्रबहादुर गुरुङ मुलुकमा परिवर्तनका लागि रोजगारी सिर्जना गर्दै विकास निर्माणमा जुट्न प्रेरित गर्ने अभियान्ता भएको स्मरण गर्नुभयो । त्यस अघि पार्टीका नेता तथा कार्यकर्ता, जनप्रतिनिधि, नेकपा एमालको तर्पmबाट प्रदेश सभा निर्वाचन क्षेत्र २ (ख) का उम्मेदवार मिना गुरुङ, गठवन्धनका निर्वाचन क्षेत्र नं. २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछाने, स्व.गुरुङका परिवारजन, लगायत उपस्थित सर्वसाधारणले गुरुङको अर्धकदको शालिकमा माल्यार्पण गर्दै श्रद्धासुमन अर्पण गर्नुभएको थियो । पार्टी वडा कमिटि १७ अध्यक्ष ऋषव तिमिलाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव विक्रम गुरुङ लगायतले स्व. गुरुङले राजनैतिक एवम् विकास निर्माण पु¥याउनु भएको योगदानका वारेमा चर्चा गर्नुभएको थियो ।
पोखरा : कास्की क्षेत्र नम्बर ३ प्रनिनिधिसभामा दामोदर पौडेल बैरागीविरुद्ध बागी उम्मेदवारी दिएका जगनान्नथ बास्तोलाले उम्मेदवारी फिर्ता लिएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ को प्रतिनिधिसभामा एमालेले दामोदरलाई उम्मेदवार बनाएको छ। त्यसमा असन्तुष्ट जनाउँदै उम्मेदवारी दिएका एमाले प्रदेश कमिटी सदस्य जगन्नाथले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन् ।
पोखरा : निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा एनजीओसम्बद्ध कर्मचारीलाई चुनावी प्रचारप्रसारमा रोक लगाएको छ । गैरसरकारी संस्था, विकास साझेदार संस्था सम्बद्ध पदाधिकारी तथा कर्मचारीहरुले राजनीतिक दल वा उम्मेदवारहरुको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न आयोगले एक सूचना जारी गर्दै रोक लगाएको हो । आयोगले निर्वाचन अवधिभर कुनै योजनाको शिलन्यास, उट्घाटन, सर्वेक्षण, सम्भाव्यता अध्ययन गर्ने वा सोको लागि अनुदान दिने जस्ता कार्यक्रमसमेत रोक्न निर्र्देशन गरेको छ । निर्वाचन आचारसंहिता विपरित सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा समाजिक सञ्जालमार्फत मत माग्न समेत रोक लगाएको छ ।
पोखराः आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनार्थ निर्वाचन आयोग जुटिरहेको छ । आयोगले निर्वाचनको तालिका अनुसार आज दुबै सभाका उम्मेदवारहरुको नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । आयोगका अनुसार अपरान्ह १ बजेदेखि ३ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक हुनेछ । त्यस्तै, बेलुकी ४ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरुलाई चुनाव चिन्ह दिइने आयोजले जनाएको छ ।
पोखरा : मनाङ प्रदेश ‘२’ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध हुने भएका छन् । अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रीसमेत रहेका राजीव गुरुङ निर्विरोध हुने भएका हुन् । दोर्जेले बुधबार १० बजेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए । उनका अनुसार दोर्जेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि राजीव गुरुङको एकल उम्मेदवारी रहने र उनीविरुद्ध दाबीविरोध नपरेपछि एकल उम्मेदवारी रहने भएकाले निर्विरोध हुने बताए । ‘उहाँ निर्विरोध हुने पक्कापक्की जस्तै भयो । तर, हामी १ बजेपछि मात्रै औपचारिक रूपमा जानकारी गराउँछौँ,’ उनले भने । दोर्जे लामा गुरुङले मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश ‘२’ का लागि स्वतन्त्र उम्मेदवारी दिएकोमा उक्त पदमा उम्मेदवारी रहेका गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई पूर्ण रूपमा समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएर मनाङेलाई सहयोग गर्ने घोषणा बुधबार बिहान फेसबुकमार्फत गरेका थिए । राजीवले मनाङ प्रदेश ‘२’ मा एमालेका समर्थनमा स्वतन्त्र उम्मेदवार बनेको बताए । उनले २०७४ को निर्वाचनमा एमालेकै समर्थनमा जितेको र अहिले पनि एमाले समर्थनमै उम्मेदवारी दिएको बताउँदै आएका छन् । उनले गण्डकी प्रदेशमा मन्त्री रहे पनि सत्ता गठबन्धन छोडिसकेको बताउँदै आएका छन् । एमालेकै पहलमा स्वतन्त्र उम्मेदवार दोर्जेलाई उम्मेदवारी फिर्ता गर्न लगाएको एमाले मनाङका सचिव एवं मनाङ प्रदेश ‘१’ का उम्मेदवार राजनबहादुर गुरुङले बताए । ‘हाम्रो पहलमा राजीव गुरुङ र दोर्जे लामा गुरुङबीच छलफल भयो । हामीले फिर्ता लिएर राजीवलाई निर्विरोध गर्न अनुरोध गर्यौं । दोर्जेले स्वीकार गर्नुभयो,’ उनले भने, ‘दोर्जेले फिर्ता लिनेबित्तिकै राजीव निर्विरोध हुनेभयो ।’ डेंगु संक्रमित मनाङे भने उपचारका लागि मंगलबार हेलिकप्टरमार्फत काठमाडौं गएका छन् । मनाङ प्रदेश ‘२’ मा एमाले र कांग्रेस दुवैले उम्मेदवारी दिएका छैनन् । कांग्रेस मनाङ सचिव सुरेन्द्र गुरुङले राजीव गुरुङ (दीपक मनाङे) लाई समर्थन गर्दै कांग्रेसले उम्मेदवारी नदिएको बताए । ‘सत्ता गठबन्धनले मनाङेलाई सघाएको हो । अरु थाहा भएन,’ उनले भने । राजीवले एमालेले टिकट नदिएपछि स्वतन्त्र उठेका उनले एमाले समर्थनमा २०७४ को निर्वाचनमा कांग्रेसका कर्म गुरुङलाई हराएर मनाङ प्रदेश ‘२’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । मनाङेलाई एमालेले टिकट दिने विषयमा विरोध भएपछि पार्टीले टिकट नदिने र समर्थन गर्ने भएपछि राजीव गुरुङ स्वतन्त्र उम्मेदवार बनेका थिए ।
काठमाडौं : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा परिचालित हुने पर्यवेक्षकले कुनै दल र उम्मेदवारको पक्ष वा विपक्षमा प्रस्तुत भएको पाइएमा मान्य नहुने बताउनुभएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का लागि पर्यवेक्षण संस्थाहरूका लागि आज आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले विगतका निर्वाचनहरूमा केही उदाहरणले केही पर्यवेक्षकहरू दल र उम्मेदवारका रूपमा प्रस्तुत भएको पाइएकाले त्यस्तो नगर्न आग्रह गर्नुभएको हो । उहाँले निर्वाचन प्रक्रियाका लागि एक अभिन्न अङ्ग र एक प्रकारले नागरिक समाजको हैसियतमा पनि पर्यवेक्षक रहेकाले निर्वाचन आचारसंहिता, २०७९ को पालना गरेर पर्यवेक्षकले आफ्नो दायित्व निर्वाह गरी आयोगलाई निर्वाचन व्यवस्थानमा सघाउन आग्रह गर्नुभयो । आवधिक निर्वाचनले नागरिकको अधिकार पुनःजागरण हुने र लोकतन्त्र बलियो भएको सन्देश जाने भएकाले यसका लागि उचित वातावरण बनाउन दलहरू, नागरिक समाज, आमसञ्चार र सबै पक्षको भूमिका हुने बताउनुभयो । प्रमुख आयुक्त थपलियाले संविधान र कानुनबमोजिम निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको दायित्व आयोगको भएकाले सरकारले निर्वाचन गराउने अर्थमा बुझिनु गलत हुने स्पष्ट गर्दै बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा खराब दलको विकल्प असल दल हुने र स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवार हुन पाउने उल्लेख गर्दै निर्वाचन सफल तुल्याउन सबैमा आग्रह गर्नुभयो । कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम पौडेलले पर्यवेक्षक संस्थाले निर्वाचन आचारसंहितामा ध्यान दिएर आफ्ना पर्यवेक्षकलाई प्रशिक्षित गर्न आग्रह गर्नुभयो । कार्यक्रमको प्राविधिक सत्रमा आयोगका सहसचिव पौडेलले निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन प्रणाली, समावेशीकरणसम्बन्धी कानुनी व्यवस्था, निर्वाचन तयारी र निर्वाचन कार्यक्रम, आयोगका पूर्वसचिव बेगेन्द्रराज पौडेलले पर्यवेक्षण संस्था र पर्यवेक्षकको आचारसंहिता तथा दायित्व, आयोगका उपसचिव कमल भट्टराईले निर्वाचन पर्यवेक्षणको अवधारणा र सम्बन्धमा नीतिगत व्यवस्था र आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले कार्ययोजना र प्रतिवेदनसम्बन्धी व्यवस्था तथा मतदान, मतगणना र निर्वाचन विवाद निरुपण विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रशिक्षणमा निर्वाचनका लागि पर्यवेक्षण गर्न आवेदन दिइ अनुमति पाउने ४३ संस्थाका प्रतिनिधि सहभागी छन् ।
पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टीले कास्कीको तीनवटै क्षेत्रमा उम्मेदवार दर्ता गरेको छ । मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेशको निर्वाचनमा पार्टीले कास्कीको तिनवटा क्षेत्रबाट उम्मेदवार दर्ता गरेको हो । पार्टीले प्रदेशमा भने कुनै पनि क्षेत्रमा उम्मेदवारी दिएको छैन् । कास्की क्षेत्र नम्बर १ मा राईको उम्मेदवारी कास्की क्षेत्र नम्बर १ मा उदयपुरमा घर भएका २०५८ सालदेखि पोखरामा व्यवसाय गर्दै आएका राजु राईले प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका हुन् । ४३ वर्षीय राईले २०५८ सालदेखि पोखरामा खाद्यान्न व्यवसाय गर्दै आएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा महानगरपालिकाका महानगर सदस्य हुन् । कास्की क्षेत्र नम्बर २ मा कँडेल कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीबाट माधवप्रसाद कँडेलले उम्मेदवारी दर्ता गरेका छन् । १६ वर्ष शिक्षक पेशामा आवद्ध रहेका कँडेलले मंसिर ४ गते हुने निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका हुन् । एमबीएस उत्तीर्ण कँडेलले पोखरा महानगरपालिका ३३ स्थित सरस्वती टिका माध्यमिक विद्यालयमा कार्यरत भएपनि अवकाश पछि राजनीतिमा होमिएका हुन् । उनी लायन्स क्लब, सहकारी लगायत अन्य क्षेत्रमा आबद्ध रहेका छन् । कँडेल राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका महामन्त्रीसमेत हुन् । कास्की क्षेत्र नम्बर ३ मा योगराज कास्की क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ ४२ वर्षीय योगराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । पर्यटन र यातायात व्यवसायमा संग्लन पौडेलले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका हुन् । पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेशका उपसभापति हुन् ।
काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । दलले एक हजार चार सय ३३ पुरुष र एक सय ५० महिला उम्मेदवार उठाएको तथ्याङ्क निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आठ सय ५८ पुरुष र ८५ महिला गरी नौ सय ४३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली ९प्रत्यक्ष० तर्फ दुई हजार दुई सय ९१ पुरुष र दुई सय ३५ महिला गरी दुई हजार पाँच सय २६ को उम्मेदवारी परेको हो । प्रत्यक्षतर्फ प्रदेश नं एकमा पाँच सय ४८ जनाले उम्मेदवारी दिएका छन् । जसमा चार सय ९३ पुरुष र ५५ महिलाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश एकमा ३० दल र स्वतन्त्रले उम्मेदवारी दिएको जनाइएको छ । मधेश प्रदेशमा प्रत्यक्षतर्फ एक हजार ५५को उम्मेदवारी परेको छ । नौ सय ७८ पुरुष, ७६ महिला र अन्यमा एक जनाले उम्मेदवारी दिएका छन् । ३७ दल र स्वतन्त्रले उम्मेद्वारी दिएका छन् । वाग्मती प्रदेशमा ३२ दल र स्वतन्त्रले गरी प्रत्यक्षतर्फ सात सय एक जनाको उम्मेदवारी परेको छ । जसमा पुरुष ६ सय १९ र महिला ८२ छन् । गण्डकी प्रदेशमा २३ दल र स्वतन्त्र गरी प्रत्यक्षतर्फ दुई सय ७१ जनाको उम्मेदवारी परेको छ । जसमा पुरुष दुई सय ३७ र महिला ३४ जना छन् । लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ २५ राजनीतिक दल र स्वतन्त्र गरी पाँच सय ३२ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा पाँच सय पुरुष र ३२ महिला छन् । कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ १६ राजनीतिक दल र स्वतन्त्र गरी एक सय ४३ जनाको उम्मेदवारी परेको छ । जसमा एक सय ३९ पुरुष र चार महिलाको उम्मेदवारी रहेको आयोगले जनाएको छ । यसैगरी सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ २० राजनीतिक दल र स्वतन्त्र गरी दुई सय २६ जनाको उम्मेदवारी परेको छ । जसमा दुई सय १२ पुरुष र १४ महिलाको उम्मेदवारी परेको जनाइएको छ । यो तथ्याङ्क सोमबार साँझसम्म आयोगको प्रणालीमा प्रविष्ट भएका आधारमा सार्वजनिक गरिएको आयोगले जनाएको छ । –––
काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने कार्यक्रम रहेको छ । यही असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने गरी कार्यक्रम तोकिएको छ । निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार यही असोज २३ गते दर्ता भएको मनोनयनपत्रको सूची सोही दिन प्रकाशन भइसकेको छ । असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने र असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका रहेको थियो । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रकाशित भएको बन्दसूचीको सूचनामा असोज २३ गतेदेखि २९ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधको निवेदन दिने, असोज ३० गते दाबी विरोधको निवेदनमाथि जाँचबुझ र निर्णय लिने, कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिमरूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

