काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले देशभरबाट पार्टीले सिफारिस गरेका युनियनका पत्रकारलाई उम्मेदवार बनाउन पहल गर्ने भएको छ । प्रेस युनियनले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवार सिफारिस भएका प्रेस युनियनमा आबद्ध पत्रकारसँग आज काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गरी युनियनकर्मीलाई संसद्मा पठाउन पहल गर्ने बताएको हो । कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले संसद्मा नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारले प्रतिनिधित्व गरे प्रेस युनियनको साख बढ्ने बताउनुभयो । “युनियनमा आबद्ध पत्रकारलाई संसद्मा प्रतिनिधित्व गराउन हामी पार्टीका शीर्ष नेतृत्व र संसदीय बोर्डका सदस्यको ध्यानाकर्षण गराउँछौँ”, उहाँले भन्नुभयो । युनियनका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले पत्रकारले संसद्मा प्रतिनिधित्व गर्न सके पत्रकारको आवाज देशव्यापी लैजान सकिने बताउनुभयो । उहाँ तनहुँ क्षेत्र नं १ प्रदेश (क) बाट समानुपातिकतर्फ सिफारिस हुनुभएको छ । युनियनका पूर्वअध्यक्ष किरण पोखरेलले सम्भावना बोकेका पत्रकारलाई संसद्मा प्रतिनिधित्व गर्न प्रेस युनियनले पार्टीको केन्द्रीय नेतृत्वलाई दबाब दिनुपर्ने बताउनुभयो । उहाँ सुनसरी क्षेत्र नं २ बाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा सिफारिस हुनुभएको छ । युनियनका सल्लाहकार एवम् वरिष्ठ पत्रकार कविर राणा भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेवार सिफारिस हुनुभएको छ । युनियनका निवर्तमान वरिष्ठ उपाध्यक्ष दिपक आचार्य चितवन क्षेत्र नं २ प्रदेश (ख) बाट प्रत्यक्षतर्फ, युनियनका निवर्तमान कोषाध्यक्ष सरोज अधिकारी धादिङबाट प्रदेशसभाको समानुपातिक, युनियनका पूर्व उपाध्यक्ष एवम् नेपाल पत्रकार महासङ्घकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारी ओखलढुङ्गाबाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवार सिफारिस हुनुभएको छ । यस्तै युनियनका पूर्व सचिव सन्तोष न्यौपाने काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क) बाट समानुपातिक उम्मेदवारमा सिफारिस हुनुभएको छ भने युनियनका नेता एवम् नेपाल पत्रकार महासङ्घ उपत्यका प्रतिष्ठान शाखाका सचिव रोशन पाण्डे काभ्रेबाट प्रदेशसभा समानुपातिक उम्मेदवारका लागि सिफारिस हुनुभएको छ । यस्तै युनियनका नेता झपेन्द्रप्रसाद गैरे पाल्पाबाट प्रदेशसभा समानुपातिक उम्मेदवार, परमेश्वर साह सिरहाबाट, चित्रकुमार मिजार सिन्धुपाल्चोकबाट उम्मेदवारका लागि सिफारिस हुनुभएको छ । देशभरबाट ५० भन्दा बढी युनियनकर्मीलाई पार्टीले प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका रुपमा सिफारिस गरेको युनियनका महासचिव दिलिप पौडेलले जानकारी दिनुभयो । महासचिव पौडेलले उम्मेदवार सिफारिसमा परेका देशभरका पत्रकारको तथ्याङ्क सङ्कलन गरी उम्मेदवार बनाउन पहल गर्ने बताउनुभयो । युनियनका उपाध्यक्ष भीष्मराज ओझाले पार्टीले देशभरबाट उम्मेदवारका लागि सिफारिस गरेका युनियनमा आवद्ध पत्रकारलाई उम्मेदवार बनाउन शीर्ष नेतृत्वको ध्यानाकर्षण गराउने बताउनुभयो । “युनियनमा आबद्ध सबै पत्रकारलाई उम्मेदवार बनाउन नसके पनि दबाबस्वरुप केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराउँछौँ”, उहाँले भन्नुभयो ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टी र आन्दोलन कमजोर भए देशमा प्राप्त भएका परिवर्तन तथा उपलब्धि गुम्न सक्ने भएकाले इमान्दार भएर जनतामा जान पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । माओवादीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको आठौँ स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनयुद्ध र जनआन्दोलनका बलमा स्थापित संविधान, समावेशी समानुपातिक प्रतिनिधित्वलगायतका उपलब्धिमाथि निरन्तर प्रहार भएको भन्दै त्यसलाई जोगाउन पनि माओवादी बलियो हुनैपर्ने बताउनुभयो । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आन्तरिकरूपमा केही प्राविधिक विषय मिलाउन नसक्दा वामपन्थी शक्तिहरूमा पहिलो हुने अवसर गुमेको भन्दै उहाँले त्यसबाट र गठबन्धनका दलबीचको सहकार्यबाट समेत शिक्षा लिएर आगामी निर्वाचनमा झनै प्रतिबद्ध भएर लाग्न सबैलाई आग्रह गर्नुभयो । उहाँले पार्टीको नीति र विधिविपरीत गएर व्यक्ति केन्द्रित गतिविधि नगर्नसमेत पार्टीका नेता तथा कार्यकर्तालाई सचेत गराउनुभयो । उहाँले भन्नुभयो, “पार्टीले निर्णय गरिसकेपछि त्यो व्यक्ति हुँदैन, पार्टी हुन्छ, त्यहाँ व्यक्ति हार्दैन, पार्टीले हार्छ । त्यो विषयलाई गम्भीरताका साथ लिन म सबैलाई आग्रह गर्दछु ।” माओवादी आन्दोलन वा कम्युनिष्टको सार्थक प्रयास नभएको भए सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक लोकतन्त्र पनि स्थापित हुन नसक्ने तथ्यलाई सबैले आत्मसात् गरेको खण्डमा खासरूपमा पोष्टबहादुर बोगटीप्रति सच्चा सम्मान हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “माओवादी कमजोर भयो वा जनतासँगको सम्बन्ध सुदृढ हुन सकेन भने जनयुद्धबाट प्राप्त भएको परिवर्तन उल्टन सक्छ । गत साल त्यस्तै खालको तितो र नमिठो अवस्थाको अनुभव गर्न पायौँ ।” वामपन्थी र कम्युनिष्ट पार्टीको एकताबाट समृद्धिको सपना पूरा हुन्छ भन्ने देखेर प्रक्रिया अगाडि बढाइएको भए पनि चरम व्यक्तिवाद र अहङ्कारका कारण त्यो सफल नभएको बरु प्राप्त उपलब्धि विघटनमा पर्ने अवस्था देखिएको अध्यक्ष दाहालको भनाइ छ । माओवादीकै जोडबलमा प्रतिनिधिसभाको विघटन तथा प्रतिगमनलाई सफल हुन नदिइएको र परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा गर्न सम्भव भएको उहाँको भनाइ छ । “माओवादी कमजोर भयो भनेको दिन परिवर्तनको रक्षा गर्न सकिँदैन । यो पार्टी बलियो हुनुपर्छ र समाजवादको आधार तयार पार्नुपर्छ”, उहाँले भन्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले माओवादी आन्दोलन पुनः एकपटक पुनजागृत भएर आउने सम्भावना रहेको जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनपछि नेपाली जनताले माओवादीकै हातमा देशको चाबी दिन लागेको अनुभूत भएको उहाँको भनाइ छ । कार्यक्रममा दिवङ्गतत नेता बोगटीको व्यक्तित्वका बारेमा नेताहरुले चर्चा गर्दै उहाँबाट सिक्नुपर्ने सादगी व्यवहार र चरित्र अनुकरणीय रहेको बताउनुभएको थियो ।
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्रतिनिधिसभाको कार्यकाल सकिन लागेको र सम्भवतः यो आफ्नो अन्तिम बैठक भएको बताएका छन् । प्रतिनिधिसभाको शून्य समयमा सांसद रङ्गमती शाहीले कर्णालीका पीडा पोख्ने क्रममा मन्त्री र नेता कसैको व्यक्तिगत चित्त दुखाएको भए क्षमा माग्दै आफ्नो अन्तिम बैठक भएको बताउनुभयो । सांसद राजेन्द्रकुमार केसीले वर्तमान संसद् बैठकमा आफ्नो अन्तिम दिन रहेको र संसद्को कार्यकाल समाप्त हुने विषय विवाद नै रहेकाले उक्त विषयमा निष्कर्ष निकाल्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । यस्तै सांसद यज्ञबहादुर बोगटीले यो संसद्को कार्यकाल सकिन लागे पनि अछामको शिक्षा, स्वास्थ्य, यातायातलगायत विकासमा सरकारले विशेष ध्यान दिुनपर्नेमा जोड दिनुभयो । सांसद महेन्द्रकुमारी लिम्बूले संसद्मा आजको बैठक आफ्नो अन्तिम भएको उल्लेख गर्दै आगामी मङ्सिर ४ गते गठबन्धन सरकारले शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो । सांसद यशोदा गुरुङ सुवेदीले आगामी असोज १ गते राति १२ बजेदेखि हालको प्रतिनिधिसभाको कार्यकाल समाप्त हुने भनी निर्वाचन आयोगले पठाएको पत्रका सम्बन्धमा सभामुखको ध्यानाकर्षण गराउनुभयो । साथै, उहाँले राष्ट्रिय सहमति नबनेको अवस्थामा नागरिकताविहीनलाई नागरिता दिलाउनका लागि भए पनि राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नुपर्ने बताउनुभयो । सांसद रामबहादुर विष्टले डेङ्गुका कारण धेरै व्यक्ति प्रभावित भए पनि सरकारले नियन्त्रण गर्न उचित ध्यान दिन नसकेको आरोप लगाउनुभयो । सांसद महेश बस्नेतले डेङ्गुबाट धेरै व्यक्ति प्रभावित भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद बिमला विकले बर्दियामा यही भदौ २६ गते ६१ वर्षीय झठारु चौधरीको भैँसी चराउने क्रममा निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट मृत्यु भएकामा मृतकका परिवारलाई अविलम्ब राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । सांसद भीमसेनदास प्रधानले संसद्को यो कार्यकालमा संसद्मा बस्ने र नबस्नेको सही मूल्याङ्कन नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभयो । सांसद मनकुमारी जिसीले आज राष्ट्रिय बाल दिवस मनाइरहँदा महिनौँदेखि शिक्षक आन्दोलनमा रहेका र स्थायी पदपूर्तिलगायत मागको सम्बोधन नभएसम्म बाल विकासदेखि उच्च माविसम्म गुणस्तरी शिक्षा सम्भव नभएको बताउनुभयो । सांसद यज्ञराज सुनुवारले महाअभियोग सिफारिस समितिको बैठकमा निलम्बित प्रधानन्यायाधीशले उठाएको विषयमा गम्भीर भए पनि त्यस विषयमा सरकार र समितिका सदस्यसमेत मौन बस्दा आम जनतामाझ अझ प्रश्न उठेको बताउनुभयो । सांसद राजबहादुर बुढाले चाडपर्व नजिकिँदै जाँदा धेरैले यात्रा गर्नुपर्ने समयमा राजमार्गलगायत गाउँका सडक सुधार गर्न जरुरी भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै चीनसँग सिमाना खोल्ने विषयमा ठोस पहल गर्न सरकारसँग आग्रह गर्नुभयो । सांसद रेखा शर्माले सङ्क्रमणकालीन न्याय अहिलेसम्म टुङ्गिन नसकेको उल्लेख गर्दै मेलमिलाप दिशामा देशलाई अगाडि बढाउने राज्यको काम भएको हुँदा समाजमा मेलमिलाप स्थापना गर्ने गरी विधेयक अगाडि बढाउनुपर्ने बताउनुभयो ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता र सत्य निरुपणसम्बन्धी विधेयक विस्तृत शान्ति सम्झौताको भावनाअनुरुप आजै टुङ्ग्याउन अपिल गर्नुभएको छ । उहाँले राजनीतिक दलहरु र सरोकारवालासँगको गहन छलफलपछि मस्यौदा तयार गरिए पनि बाहिर उठेका हत्या, बलात्कार र मानवअधिकारसँग सम्बन्धित आवाजमा पनि सहमतिका आधारमा सम्बोधन गर्न प्रयास हुनुपर्नेमा जोड दिनुभयो । कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भइरहेको छ । बैठकमा अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौता कानुनी र संवैधानिक नभई राजनीतिक सम्झौता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सम्झौताको मूल स्प्रिड पोलिटिकल अर्थात् द्वन्द्व समाधान गरी देशलाई शान्ति, समृद्धि र विकासतर्फ लैजाने भन्ने उद्देश्यबाट प्रेरित छ । सत्यअन्वे होस्, मेलमिलाप पनि कायम होस् भन्ने मुख्य भाव हो ।” सत्य पत्ता लगाउने र मेलमिलापको वातावरण बनाउने विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न कोणबाट छलफल भएर हामी आजको विन्दुमा आएको बताउँदै अध्यक्ष प्रचण्डले विषयमा कोही पक्ष वा विपक्ष नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “विधेयकमा अरू पोलिटिकल प्रवेश गर्न दिनहुन्न । त्यो भयो भने देश र लोकतन्त्रका लागि राम्रो हुन्न । यो युगान्तकारी विषय हो । यद्यपि यो राजनीतिक शक्ति सन्तुलनका आधारमा जाला जस्तो लाग्छ । अल्पमत र बहुमतका आधारमा नभई सहमतिमा टुङ्ग्याउनुपर्छ ।” नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्यनिरुपण र बेपत्ता विधेयकलाई टुङ्ग्याउने हामी सबैको साझा विषय भएकाले यसलाई टुङ्ग्याउने सवालमा पूरै साथ र सहयोग रहने बताउनुभयो । उहाँले भन्नुभयो, “यो विषयलाई हामी यही पटक टुङ्ग्याउनेतर्फ लागौँ । त्यसमा साथ सहयोग हुन्छ । पुनरावेदनमा जाँदा सङ्क्रमणकालीन न्याय नै आकर्षण हुन्छ ।” बैठकमा सभापति कृष्णभक्त पोखरेलले मुलुकमा सशस्त्र द्वन्द्व अन्त्य गर्ने कार्यमा नेपालले विश्वलाई नै उदाहरण प्रस्तुत गरेको स्मरण गर्दै सत्यनिरुपण र बेपत्ता छानबिनसम्बन्धी बाँकी काम पनि सहमतिकै आधारमा सक्नुपर्नेमा जोड दिनुभयो । माओवादीद्वारा विगतमा सञ्चालन गरिएको सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्ष र विद्रोही पक्षबाट करिब १७ हजार व्यक्ति मारिएका थिए । उक्त द्वन्द्व अन्त्य गरी समाजमा मेलमिलापको वातावरण तयार गरी जघन्य अपराधका घटनाका पीडितलाई परिपूरण र पीडकलाई कारबाहीको दायरामा ल्याउने सन्दर्भमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी आयोग गठन भई कामसमेत भएको थियो । आयोगले झन्डै १५ वर्ष काम ग¥यो तर उठेको विषय निक्र्यौल गर्ने विषय विलम्ब भयो । विगतको सशस्त्र द्वन्द्वसँग सम्बन्धित विषयमा आयोगसमक्ष करिब ६३ हजार उजुरी परेको छ । ती उजुरीको छानबिनका लागि गठन हुने उच्च अदालत समाबेसी हुनुपर्ने, फैसलामाथि पुनरावेदन जान पाउनुपर्ने तथा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट उठेको चासोलाई गर्ने विषयमा साझा धारणा बनाउने प्रयास गरिरहेका छन् । समितिको अर्को बैठक आजै अपराह्न बस्ने गरी बैठक स्थगित भएको छ ।
पोखरा । जनता समाजवादी पार्टीनिकट तमुवान राष्ट्रिय समितिको बैठक पोखरामा सम्पन्न भएको छ । तमुवान राष्ट्रिय समितिको प्रथम बैठक तथा प्रशिक्षण कार्यक्रम मंगलबार ङोए तमु धिँ भवन लेखनाथ पोखरामा सम्पन्न भएको हो । सो कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका प्रदेश इन्चार्ज एवम पूर्वमन्त्री शिवलाल थापामगरले पार्टीको ऐतिहासिक छलाङले मधेश प्रदेश प्राप्ती गरेको बताउदै आन्दोलन र सत्तासङ्गै राष्ट्रिय राजनीतिमा उदाएको जनता समाजवादी पार्टीको विकल्प नभएको बताए । उनले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमन सम्पूर्ण नेता कार्यकर्तालाई पार्टीको एजेण्डाप्रति केन्द्रीत भएर निर्वाचनमा लाग्नुपर्ने धारणा राखे । यसैगरि केन्द्रीय राजनीति समिति सदस्य एवम् मगरात समन्वय इन्चार्ज निर्मल जिसीले आसन्न निर्वाचनबारे जनता समाजवादी पार्टी नेपालको चुनावी अभियानबारे रणनीति सुनाएका थिए । उनले समुन्नत समाजवादसहितको पार्टीको पहिचान प्राप्तिको अवधारणाबारे आफ्नो मतको सुनिश्चितता जनता समाजवादी पार्टी मै किन ? भन्ने विषयमासमेत आफ्नो धारणा राखेका थिए । त्यस्तै जनता समाजवादी पार्टी नेपालको भातृसंगठन समाजवादी विद्यार्थी युनियन केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश अध्यक्ष विशम भुजेलले विद्यार्थी राजनीति र समाजवादी पार्टी नेपालको एजेण्डाबारे आफ्नो धारणा राखे । जसपाका केन्द्रीय सदस्य श्याममाया पुनमगरले राजनीतिमा महिला सहभागिता र समानुपातिक समावेशी प्रणालीबारे आफ्नो धारणा राखे । केन्द्रीय सदस्य एव गण्डकी प्रदेश सह–इन्चार्ज धनप्रसाद तामाङले आदिवासी सभ्यता आदिबासी जनजातिको नेपाली राष्ट्रिय राजनीति को ईतिहास बारे समिक्षा गर्न आवश्यक रहेको बताए । जसपाका नेता एवम् तमुवान इन्चार्ज रुद्र गुरुङले तमुवान प्राप्ती को पार्टीको अवधारणा , संघ प्रदेश र स्थानिय संरचनामा तमुवानको महत्वबारे आफ्नो मत राखेको थिए । तमुवान राष्ट्रिय समितिका अध्यक्ष मानबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा नेपाल केन्द्रीय सदस्य उमा गुरुङको स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने तमुवान राष्ट्रिय समितिका मुुख्य सचिव चन्द्र तामाङ मुस्कानले कार्यक्रम सञ्चालन गरेका थिए ।
तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन नसक्ने बताउनुभएको छ । तनहुँको म्याग्दे-१ गुणादीका स्थानीयवासीले दमौली आउने पानी बन्द गरिदिएपछि पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी आफ्नो भनाइलाई विभिन्न माध्यमबाट तर्कसहितका व्याख्यासहित प्रेसित हुँदा गुणादीवासीको भावनामा ठेस पुगेकामा क्षमायाचना गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले एकआपसमा सरसल्लाह गरेर समस्याको समाधान खोज्न सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ । शुक्रबार दमौलीमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले गुणादीको पानीका विषयमा बोलेपछि स्थानीयवासीले त्यसबारेमा आपत्ति जनाउँदै दमौली आउने पानीको मुहान बन्द गरी दिएका छन् । पौडेलले जनताको स्वास्थ्य र जनताको हित विपरीत कुनै काम गर्नु राम्रो नभएको बताउँदै त्यसतर्फ ध्यान पुर्याउन आग्रह गर्नुभएको छ । गुणादीका स्थानीयवासीले पानीको मुहान बन्द गरिदिएपछि दमौलीमा पानीको अभाव सुरु भएको छ ।
पोखरा: पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई अवैध सन्तानको संज्ञा दिएका छन् । पोखरामा जारी नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले गठबन्धन सरकारलाई जनताले नपठाएको भन्दै अवैध सम्बन्धबाट बनेको बताएका हुन् । उनले जनादेशबाट नभइ परमादेशबाट वर्तमान सरकार अवैध रुपमा बनेको उल्लेख गरे । ‘यो सरकार अवैध सन्तान जस्तै हो कसरी आयो भन्ने जनता अनविज्ञ छन्, उनले भने ‘जनताले पठाएको सरकार होइन यो परमादेशले बनाएको सरकार हो ।’ उनले परमादेश सरकारले देशलाई दुर्घटना तर्फ घकेलेको बताउदै अध्यक्ष ओलीले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि चुनावमा एमालेले जित्नै पर्ने दबाब रहेको धारणा राखे । ‘मंसिर ४ गतेको चुनाव एमालेले जित्नै पर्छ, उनले भने,‘ सामाजिक न्याय प्राप्तका लागि, समाजिक सद्भाव कायम गर्न, विकासको पूर्वाधारमा तिव्रता दिन, समानता कायम गर्न एमालेले चुनाव जित्नै पर्छ ।’ राष्ट्रिय सद्भाव कायम गर्न र समृद्ध नेपाल निर्माण गर्न एमालेले मंसिर ४ गतेको चुनाव जित्न आवश्यक रहेको उल्लेख गर्दै श्याम टमोटले लेखेका गीत नै गुनगुनाए । ‘हातमा कलम हुनेहरु कलम लिएर उठ, हातमा औजार हुनेहरु औजार लिएर उठ, उनले थपे, ‘केही नहुनेहरु आवाज लिएर उठ । यो देशको मुहार फेर्नलाई उठ ।’ उनले माधब कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीले थ्रेसहोल्ड क्रस गर्न नसक्ने दाबी गरे । ‘अहिले ति मान्छेहरु चोक्टा खान गएका झोलमा डुबेर फट्या फट्याक भइरहेका छन् । यो चुनावमा प्रचण्डको पार्टीले थ्रेसहोल्ड कटाएर यसपल्ट राष्ट्रिय पार्टीको इज्जत जोगाउँछ । माधव नेपालको पार्टीले थ्रेसहोल्ड पार गरेर तीन प्रतिशत ल्याएर संसदमा पुग्दैन, उनले भने, ‘तपाइहरुलाई यो भविष्यवाणी मिल्दैन कि भन्ने लाग्यो होला । नोट गरेर राख्नुस । चुनावसम्ममा माधब नेपालसँग आफुबाहेक कार्यकर्ता नै रहदैनन् ।’ उनले फरक प्रसंगमा लोकतन्त्रको आन्दोलन सफल भएपनि कार्यान्वयन हुन नसकेको बताउदै चिन्ता व्यक्त गरेका थिए ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ । सङघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको एमाले पार्टी कार्यालयले जनाएको छ । भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ । भेटमा एमालेका तर्फबाट अध्यक्ष ओलीसँगै नेताहरु अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, डा राजन भट्टराई, अन्जान शाक्यलगायत हुनुहन्थ्यो । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष चान्शु सोमबार काठमाडौँ आइपुग्नुभएको हो । सोही दिन सभामुख सापकोटा र अध्यक्ष लीले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । अध्यक्ष लीले प्रधानमन्त्री शेरबहादुर देउवासँग आज अपराह्न शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । नेता लीले आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्नुहुने कार्यक्रम छ । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि अध्यक्ष लीको आजै भेटवार्ता हुनेछ । अध्यक्ष लीले यही भदौ २९ गते बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । चिनियाँ प्रतिनिधिमण्डलले नेपालको औपचारिक भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुन:निर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम छ ।
पोखरा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि (मंगलबार)पोखरा आउने भएका छन् । नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न अध्यक्ष ओली पोखरा सभागृह आउने भएका हुन् । पोखरामा भदौ २८ र २९ गते हुने लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आउने निश्चित भएको संघका महासचिव हुमबहादुर गुरुङले जानकारी दिए । नेकपा एमालेका अध्यक्ष अध्यक्ष ओलीसंगै उप–महासचिव पृथ्वीसुब्बा गुरुङको समेत उपस्थिति हुने संघका महासचिव गुरुङले बताए ।

