पोखरा : कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर बैरागीले आसन्न निर्वाचनमा होमिएका उम्मेदवाहरुलाई चुनावी आमसभामा भन्दा जनताको घरदैलोमा हेर्न खोजको बताएका छन् । नेकपा एमालेले कास्की क्षेत्र नम्बर ३ ले आयोजना गरेको उम्मेदवारी परिचय कार्यक्रममा आफुलाई चिनाउँदै वैरागीले चुनावी सभा–सम्मेलन भन्दा आफुले जनताको दैलो चाहार्ने उल्लेख गरे । ‘जनताको समस्या बुझ्न चुनावी आमसभा होइन, जनताको घरदैलोमा पुग्न आवश्यक छ’ उनले भने,‘ ठुलाठुला सभा सम्मेलनमा गरेर जनतालाई दुःख दिन आवश्यक छैन अब यसलाई परिवर्तन गदैै जनताको समस्या बुझ्न र समाधान गर्न जनताको घरदैलोमा नेताहरु पुग्न आवश्यक छ ।’ उम्मेदवार बैरागीले अबको निर्वाचनमा नेकपा एमालेले गर्ने प्रतिवद्धतामा स्थानीय जनताको साझा समस्यालाई प्राथमिकता दिन माग गरे । ‘ठुलाठुला सपना बाँड्न छोडौं’ उनले भने, ‘कृषि, पुर्वाधार विकास, पर्यटन, शिक्षा, रोजगार, उर्जा र सामाजिक सुरक्षा लगायतको विषयलार्य यस क्षेत्रको प्रतिवद्धता पत्रमा प्राथमिकता राखौं ।’ कार्यक्रममा वैरागीले कृषि, पर्यटनलाई प्राथमिकता दिन आवश्यक रहेको भन्दै आवश्यक पूर्वाधार निर्माणमा आफुले जोड दिने भनाई राखे । प्रदेश सभा सदस्य क्षेत्र नम्बर ३ (क) का उम्मेदवार राजीव पहारीले विपक्ष दलहरुले जनतामाझ एमालेविरुद्ध तथ्यहीन खबर फैलाएको उल्लेख गरे । ‘विपक्षी दलहरुले नेकपा एमालेविरुद्ध तथ्यहीन खबर फैलाइरहेका छन्, उनले भने, ‘हामीले झण्डै साढे तीन वर्षमा गरेका विकासका पुर्वाधारहरुको सुचीकृत गरेर विपक्षीले फैलाएको खबरलाई चिर्न आवश्इक छ । सोहीक्रममा पहारीले जनताको घरदैलोमै पुगेर यसबार स्पष्ट पार्न पार्टीपंक्तिलाई अनुरोध गरे । एमालेककै अगुवाईमा पोखरा रंगशाला र पोखरा एयरपोर्ट बनेको दाबी गर्दै साढे ३ वर्षमा विकासका पुर्वाधारहरुको सुचीकृत गर्न उम्मेदवार पहारीले सुझाव दिए । उनले स्थानीय निर्वाचनमा पराजय भोग्नुको पछाडि विपक्षी दलहरुले फैलाएको प्रोपोगण्डालाई कारक मानेका छन् । ‘केही आन्तरिक समस्या हामीमाझ थियो तर विपक्षीले अफवाह फैलाएर स्थानीय निर्वाचनमा हावी भए’ पहारीले भने । परिचयात्मक कार्यक्रममा प्रदेश सभा (ख)का उम्मेदवार गणेशमान गुरुङ भने अनुपस्थित रहे ।
पोखरा : कास्की क्षेत्र नम्बर २ का साझा उम्मेदवार तथा नेकपा एकिकृत समाजवादीका ( एस ) नेता श्रीनाथ बरालले गठबन्धनबाट चुनाव जितेर सत्तामा पुग्न नभई जनताको सेवा गर्न खोजेको दाबी गरेका छन् । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचन २०७९, उम्मेदवार परिचय तथा निर्वाचन परिचालन समिति घोषणा कार्यक्रममा बोल्दै उम्मेदवार बरालले सो कुरा बताएका हुन् । ‘निर्वाचन जित्न पाँच दलीय बन्धन बनाएर बाहिर नराम्रो सन्देश दिने गरी प्रचार गरिएको छ’ उनले भने, ‘सत्ताको मोह नभएर जनताको सेवामा निर्वाधरुपमा लाग्न गठबन्धन बनाएर जनताको माझ आएको हौं । बरालका अनुसार प्रतिपक्षले गठबन्धन विरुद्ध जनतामा अफवाह फैलाउँदै गलत सन्देश सम्प्रेषण गरिरहेका छन् । कास्की क्षेत्र नम्बर २ को साझा समस्या र स्थानीय तहले अगाडी सारेका पुर्वाधार विकासलाई अगाडी बढाउन जनताको माझ आएको उम्मेदवार बरालले बताए । ‘कास्की क्षेत्र नम्बर दुईमा विद्यार्थीको समस्या, युवाको समस्या, किसानको समस्या, भुमिहिनको समस्या, व्यापारीको समस्यासँगै सबैको साझा समस्यालाई केन्द्र सरकारसम्म पु¥याउन गठबन्धनबाट साझा उम्मेदवार भएर आएको छु’ उनले भने । यस्तै कास्की क्षेत्र नम्बर २ प्रदेश सभा (क) का उम्मेदवार विश्वप्रकाश लामिछानेले यस क्षेत्रको आर्थिक नैतिकरुपमा विकास गर्न गठबन्धनबाट आफु जनतामाझ पुनः आएको बताए । पोखरा प्राकृतिक रुपमा धनी छ भन्दै अब यसलाई थप विकास गर्न आफ्नो उम्मेदवारी भएकोे लामिछानले उल्लेख गरे । ‘पोखरामा प्राकृतिक रुपमा धनी छ’ उनले भने, ‘पोखराको केही क्षेत्रमा विकासको पुर्वाधारले सिगार्न सके मुलुकको प्रमुख गन्तव्य बन्न सक्छ ।’ यस्तै गण्डकी प्रदेश सभा सदस्य कास्की क्षेत्र नम्वर २ ‘ख’का उम्मेदवार विन्दुकुमार थापाले गठबन्धनको उम्मेदवार भन्दा पनि साझा उम्मेदवार लिएर जनता माँझ आएको स्पष्ट पारे । गठबन्धनबाट सत्तामा पुग्न बाहिर नराम्रो प्रचार गरिएको भन्दै उम्मेदवार थापाले गठबन्धन सत्तामोहकालागि नभई जनताको साझा समस्यालाई सम्बोधन गर्न भएको टिप्पणी गरे । उम्मेदवार परिचय कार्यक्रममा सहभागी प्रतिनिधिसभा र प्रदेश सभाका सदस्य उम्मेदवारहरुले यसपटक नेकपा एमालेको बर्चश्व तोड्ने दाबी गरेका छन् ।
सत्ता गठबन्धनको सहमति विपरित तनहुँ प्रदेश सभा १ (ख)बाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीकी नेत्री कलिला खानले आज उम्मेदवारी फिर्ता लिएकी छिन् । गठबन्धनको सहमतिअनुसार नेकपा एसले तनहुँमा भाग नपाएपछि खानले उम्मेदवारी दिएकी थिइन् । ‘कार्वाही भोग्न तयार तर उम्मेदवारी फिर्ता गर्दिन’ भन्ने अडान राखेकी खानले आज पार्टीको निर्णय भन्दै पछि फर्किएकी हुन् यस क्षेत्रमा नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान चुनावी मैदानमा छन् । प्रतिगमनकारी शक्तिलाई पराजित गर्नु आजको आवश्यकता भन्दै खानले पार्टी र गठबन्धनका नेताहरुको आग्रहमा उम्मेदवारी फिर्ता लिएको जनाएकी छिन् । खानले भनेकी छिन्, ‘गठबन्धनका साझा उम्मेदवार हरिबहादुर चुमानलाई जिताउन लाग्नेछु ।’
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज पदभार ग्रहण गर्नुभएको छ । चार तथा सूचना प्रविधिमन्त्री कार्कीले कानुन मन्त्रालयको समेत जिम्मेवारी लिनुभएपछि आज पदभार ग्रहण गर्नुभएको हो । सो अवसरमा मन्त्री कार्कीले कानुनी शासन र सुशासनलाई व्यवहारिकरूपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कानुनको पहुँचमा नभएकाहरूलाई केन्द्रमा राखेर कानुन निर्माण र सुधार निरन्तररूपमा चलिरहने प्रक्रिया हो, संसद्मा पेश भएका र पेश हुन नसकेका विधेयकहरूलाई निर्वाचनपछि गठन हुने संसद्मा पेश गर्न सहज हुने तरिकाले मैले आवश्यक गृहकार्य गर्नेछु ।” मन्त्री कार्कीले स्वतन्त्र न्यायपालिकाप्रति आफ्नो सदैव सम्मान रहेको बताउँदै वर्तमान सरकार निष्पक्ष, शान्तिपूर्ण र विधिसंवत्रूपमा निर्वाचन सम्पन्न गर्नेतर्फ केन्द्रित रहेको बताउनुभयो । आगामी मङ्सिर ४ गतेको चुनावपछि गठन हुने सरकारले मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने उहाँको विश्वास छ । मन्त्रालयका सचिव उदयराज सापकोटाले मन्त्रालयलयको गतिविधि र भावी योजनाबारे मन्त्रीसमक्ष प्रस्तुत गर्नुभएको थियो ।
काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित मतदाता शिक्षालाई बृहत्तर बनाउने तयारी गरेको छ । आयोगको कार्यालय बहादुर भवनमा आज मतदाता शिक्षाका लागि आयोजित ‘मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले प्रशिक्षण प्राप्त गरेपछि प्रशिक्षार्थीले मतदातामा व्यापक जागरण ल्याउन भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । “निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउनमा जनशक्तिको भूमिका महत्वपूर्ण हुन्छ”, आयुक्त डा तुलाधरले भन्नुभयो, “यो भूमिकामा यहाँ सक्रिय हुनुहुन्छ भन्ने विश्वास मैले लिएकी छु ।” उहाँले मतदातालाई सुसूचीत बनाउने आयोगको जिम्मेवारी पूरा गर्दै जनस्तरसम्म मतदाता शिक्षालाई मिहीन ढङ्गले बुझाउनुपर्ने बताउनुभयो । आयोगका सचिव गोकर्णमणि दुवाडीले मतदातालाई मतादान केन्द्रसम्म ल्याएर बढीभन्दा बढी मतदान गराउन र बढीभन्दा बढी सदर मत गराउन प्रशिक्षण कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा : मृर्गौला फेल भएपछि उपचाररत पुराना कम्युनिस्ट कार्यकर्ता फणीन्द्र भण्डारी बिहीबार बिहान रानीपौवा पुगे । कास्की प्रेदश सभा २ ‘ख’की एमाले उम्मेदवार मीना गुरुङलाई चुनावी परिचालनका उपाय सुझाउन र आशीर्वाद दिन उनी आएका थिए । उनले युगको आकांक्षा, पार्टीको सिद्धान्त र युवाको अपेक्षा पूरा गर्ने गरी लाग्न सुझाव दिए । अर्का ज्येष्ठ नागरिक ईश्वरी आचार्यले कहिलेकाँही देशको कायाकल्प गर्ने राजनीतिमा पैसाकै चलखेल हाबी हुनसक्ने भन्दै सतर्क बन्न आग्रह गरे । उनले भने, ‘राजनीति पैसाको होइन, विचारको खेल हो । अचेल कौडा जस्तो बनाउन खोजिँदै छ ।’ आफूलाई आशीर्वाद र सुझाव दिन जम्मा भएका आफ्नै टोलका ज्येष्ठ नागरिकसँग उम्मेदवार गुरुङले अग्रजको आशीर्वाद, सम्मान र युवाको साथ नै आफ्नो जितको आधार भएको बताइन् । उनले भनिन्, ‘ज्येष्ठ नागरिकको इच्छा भनेको अग्रजको निर्देशन हो, लामो अनुभवको उपज हो । उहाँहरुको आशीर्वाद, सम्मान गर्दै युवाको आकांक्षा सम्बोधन गर्नु हाम्रो मुख्य जिम्मेवारी हो ।’ गुरुङ गण्डकी प्रदेशसभाकी निवर्तमान सांसद हुन् । गएको कार्यकालमा समानुपातिकबाट सांसद बनेकी आफूलाई पार्टी प्रत्यक्षका लागि योग्य ठह¥याएको जनाउँदै जनताले मंसिर ४ मा उत्कृष्ट तवरले अनुमोदन गर्ने अपेक्षा गरिन् । एमाले पोखरा ११ का कार्यवाहक अध्यक्ष डा बुद्धिबहादुर थापाले गएको कार्यकालमा गरेको उत्कृष्ट काम र पार्टीका एजेन्डाले आफूहरुको जित पक्का भइसकेको बताए । कास्की २ ‘खमा उनका मुख्य प्रतिश्पर्धी कांग्रेसका विन्दुकुमार थापा छन् । कास्की २ प्रतिनिधिसभामा एमालेले विद्या भट्टराई र सत्ता गठबन्धनबाट श्रीनाथ बराल मैदानमा छन् ।
बागलुङ : पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि बागलुङमा ३१ उम्मेदवार कायम भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बागलुङ–१ बाट एक जना र २ बाट चार जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि बागलुङ–१ मा उम्मेदवारी दिनुभएका कृष्णशङ्कर श्रेष्ठले बुधबार उम्मेदवारी फिर्ता लिनुभएको हो । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएका गणेशकुमार थापा, प्रदेशसभा सदस्यका लागि बागलुङ–२ (क) का उम्मेदवार भीमलाल पोखरेल, (ख)का दीपक थापा र करमती पुनले उम्मेदवारी फिर्ता लिनुभएको हो । स्वतन्त्र उम्मेदवार श्रेष्ठको उम्मेदवारी फिर्तासँगै बागलुङ–१ मा प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (एमाले)बाट सूर्यप्रसाद पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मीप्रसाद सापकोटा, नेपाली कांग्रेस (बिपी)बाट शिवलाल सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खिमानन्द कँडेल र स्वतन्त्रबाट चन्द्रबहादुर क्षेत्रीको उम्मेदवारी कायम रहेको छ । बागलुङ–१ (क)मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा, नेकपा (एमाले)का हीराबहादुर खत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर विक र स्वतन्त्ररूपमा दीपेन्द्र हमालको उम्मेदवारी कायम छ । बागलुङ–१ (ख)मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराम सुवेदी, एमालेबाट नवराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द सापकोटा र मङ्गोल नेशनल अर्गनाइजेशनका सहवीर थापाको उम्मेदवारी कायम छ । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेल, एमालेबाट मञ्जु शर्मा चालिसे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तिला खत्री, नेकपा जनमुक्ति पार्टीका चित्रप्रसाद गुरुङ, सामाजिक एकता पार्टीका टेकप्रसाद कामी, स्वतन्त्रबाट तुलसीराम अर्याल र डिलबहादुर कार्कीको उम्मेदवारी कायम छ । बागलुङ–२ (क)मा सत्ता गठबन्धनका जीत शेरचन र स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीको उम्मेदवारी कायम छ । बागलुङ–२ (ख) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दोर्ण कुँवर, एमालेका लक्ष्मण पुन, जनता समाजवादी पार्टीका गङ्गाबहादुर घर्ती, नेशनल अर्गनाइजेशन पार्टीका ताराबहादुर घर्ती, सामाजिक एकता पार्टीका टेकप्रसाद विक, स्वतन्त्रबाट नरबहादुर गुरुङ र दुर्गादेवी घर्तीको उम्मेदवारी कायम छ । मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै बुधबार नै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको जानकारी दिनुभयो ।
कास्कीः जनयुद्धका दौरान कास्कीबाट सहिद भएका राजविक्रम भुर्तेल र सीता भुर्तेलकी छोरी अनिता भुर्तेलले आफ्नो प्रतिनिधि सभा कास्की ३ मा उम्मेदवारी कायम राखेकी छिन् । उम्मेदवारी फिर्ता गर्ने निर्धारित समयमा पछि नहटेपछि उनको उम्मेदवारी कायम भएको हो । निर्वाचन आयोगको तालिका अनुसार उनले हिजै चुनाव चिन्ह ‘ग्याँस सिलिण्डर’ पाएकी छिन् । चुनाव चिन्ह पाएसँगै अनिताले आफ्नो उम्मेदवारी भ्रष्टाचार र परिवारवादविरुद्ध भएको भन्दै प्रचारमा जुटेकी छिन् । बुवा–आमा सहिद भएको समय मात्र १५ वर्षकी अनिता पार्टीमा निरन्तर थिइन् । तर यसपटक समानुपातिकमा नाम सिफारिश भएपनि अन्त्यमा नाम नपरेपछि उनले स्वतन्त्ररुपमा उम्मेदवारी दिएकी छिन् । अभिभावकाको मृत्युपछि तीन बहिनी र एक भाइको लालनपालनमा जुटेकी अनितालाई पार्टीले स्थान नदिएपछि उनी चुनावी मैदानमा उत्रेकी हुन् । अनिताको चुनावी क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट रामजी बरालले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेबाट दामोदर वैरागी प्रतिष्पर्धामा छन् । बुवा राजविक्रम र आमा सीताको तत्कालिन शाही नेपाली सेनाले ०६१ वैसाख ३१ गते पामेमा घर घेरा हालेर हत्या गरेको थियो । अनिता माओवादी केन्द्र निकट अखिल जनस्वास्थ्यकर्मी महासङ्घमा समेत आबद्ध छिन् ।
काठमाडौं : स्थानीय तहमा निर्वाचित कार्यपालिकाका पदाधिकारीले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने भएका छन् । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ मा ती पदाधिकारीले आफू निर्वाचित भएको स्थानीय तहबाहेकको स्थानमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न चाहेमा सरकारी साधन स्रोत (सवारी साधन, सुरक्षाकर्मी आदि)को प्रयोग नगरी मात्रै गर्न पाइने व्यवस्था छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज जारी गर्नुभएको विज्ञप्तिमा आचारसंहिताविपरीत आफू बहाल रहेको स्थानीय तहमा कुनै उम्मेदवारका पक्षमा प्रचारप्रसार कार्यमा संलग्न भएको भन्ने उजुरी आएको तथा आयोगको अनुगमनबाट समेत देखिएकाले स्पष्टीकरण सोधी कारबाही गर्न जिल्ला अनुगमन समितिलाई निर्देशन दिइएको जनाउनुभएको छ । आयोगले स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम निजलाई कारवाही गर्न स्पष्टीकरण सोधी तत्काल कारवाहीको प्रक्रिया अघि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृत ९कोष तथा लेखा नियन्त्रक कार्यलयका प्रमुख०लाई निर्देशन दिएको हो । साथै सोको सम्पूर्ण विवरण तत्काल जिल्ला आचारसंहिता अनुगमम समिति र आयोगमा पठाउने र कारवाही प्रक्रिया अघि बढाउन आवश्यकताअनुसार जिल्ला आचारसंहिता अनुगमन समिति तथा निर्वाचन कार्यलयले आवश्यक सहजीकरण र सहयोग गर्न भनिएको छ । स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा ७ बमोजिम आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउन सम्बन्धित स्थानीय तहको कार्यालय तथा प्रमुख प्रशासकीय अधिकृतलाई पनि आयोगले निर्देशन दिएको हो ।

