पोखराः अखिल छैठौं कास्कीले आज पृथ्वी नारायण क्याम्पसको मूलगेटमा ब्यानर टाँगेको छ । संघीयता खारेज गर्ने मूख्य मागसहित कालो पृष्ठभूमिको ब्यानरमा एमसीसी र एसपीपी सम्झौतालाई राष्ट्रघाती भन्दै खारेज गर्नुपर्ने उल्लेख छ । त्यस्तै, राष्ट्रघाती नागरिक विधेयकसमेत खारेज गर्नुपर्ने अखिलको माग रहेको छ । संघीयता र अन्य पक्षबारे विरोध जनाउँदै छैठौंका केन्द्रिय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज इन्द्रमणि पाण्डेले विरोधस्वरुप देशव्यापी अभियान सुरु गरेको जनाएका छन् । त्यस्तै, शैक्षिक माफियाकरणको अन्त्य र मूल्यवृद्धि एवं कालोबजारीको विरोध गरेको बताउँदै सचिव पाण्डेले शिक्षा क्षेत्रमा निजिकरण र दलीय भागबण्डाको विरोध गरेको उल्लेख गरेका छन् । छैठौंले बुटवलमा राष्ट्रिय परिषद्को बैठकको समेत तयारी गरेको छ । तयारीस्वरुप हाल डायरी अभियान सुरु गर्ने बताउँदै उनले देशभरका विद्यार्थीबाट शैक्षिक एवं राजनीतिक सुझाव लिने उनले जनाएको छन् । सोहीक्रममा आगामी निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रिय जनमोर्चालाई ‘गिलास’मा मतदान गरिदिन पनि पाण्डेले आग्रह गरेका छन् ।
काठमाडौं । नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेको स्मरण गर्दै अबको बाँकी जीवन राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका लागि लगाउने बताउनुभएको छ । बागमती प्रदेशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा आज काठमाडौँमा भएको ‘युवा उद्यमशीलता सम्मेलन’को उद्घाटन गर्दै अध्यक्ष दाहालले मुलुकको स्थायित्व, विकास र समृद्धिको वातावरण तयार पारे विदेशिएका युवा आफैँ फर्किएर आउने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले लामो सङ्घर्षका साथ राजनीतिक परिवर्तनमा होमिँदै जीवनको उत्तरार्धतिर आइसकेकाले स्मरण गर्दै भन्नुभयो, “अब बाँकी जीवन आर्थिक क्रान्तिका लागि समर्पण गर्ने मेरो अठोट हो, उद्योगमैत्री ऐन कानुन, बनाउने, विदेशमा रहेका युवाका आर्जित सीप र पुँजीलाई नेपालमा लगानी गर्नसक्ने बनाउने सोच छ ।” अध्यक्ष दाहालले आजको स्थिति हेर्दा १० वर्षमा मुलुकलाई विकासको गतिमा अघि बढाउन सम्भव छ भन्नुभयो । त्यसकाल लागि युवाको जागरुकता आवश्यक भएको उहाँले बताउनुभयो । अध्यक्ष दाहालले थप्नुभयो, “हाम्रो भरोसा तपाईं युवा नै हो, तपाईहरू भविष्य होइन वर्तमान हो, अठोट गर्नुभयो भने देशलाई नयाँ र आर्थिकरूपले गतिशिल बनाउन सक्नुहुन्छ ।” नेपाललाई आत्मनिर्भर अर्थतन्त्रका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना भएको पनि उहाँले बताउनुभयो । उहाँले प्राकृतिक स्रोतसाधनको प्रचुर सम्भावना रहेको तर राजनीतिक वातावरण र उनीहरूको दृढ इच्छाशक्ति, सही भिजन, योजना र कार्यक्रमको अभाव रहेको बताउनुभयो । भौगोलिक अवस्थाका आधारमा नेपालमा डिजिटल पूर्वाधार विकासको सम्भावना अधिक रहेकाले उक्त अवसर र सम्भावना नगुमाउन युवालाई आह्वान गर्नुभयो । उहाँले अहिले पनि सबैभन्दा विकास गर्न सकिने महत्वपूर्ण क्षेत्र भनेको कृषि नै भएको बताउँदै कृषिमा आत्मनिर्भर र कृषिमा आधारित उद्योग स्थापनाको आवश्यकता औँल्याउनुभयो । अध्यक्ष दाहालले विगतमा खाद्यान्नमा निर्यात गर्ने हाम्रो मुलुक आर्थिक स्थितिमा पछाडि जानु चुनौतीपूर्ण अवस्था हो भन्नुभयो । उहाँले जलविद्युत्, पर्यटन तथा जडीबुटी र खनिजको विकास गर्ने कुरा हुँदाहुँदै पनि कृषिमा आधारित उद्योग दीगो र दीर्घकालीन हुने बताउनुभयो । दुई नम्बरी धन्दाबाट सम्पत्ति कमाउने प्रवृत्ति समाजमा रहने र त्यो प्रवृत्ति हावी हुने खतरा रहेको जिकिर गर्दै अध्यक्ष दाहालले सम्पत्ति कसरी कमाउने र कसरी खर्च गर्ने कुरा महत्वको नभएको तर समाजलाई कसरी अघि बढाउने भन्ने कुरा महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले युवालाई कुनै उद्योग स्थापना गरेर छिट्टै पैसा कमाउने सपना नदेख्न आग्रह गर्नुभयो । पैसा कमाउनका लागि धैर्यता लिन सुझाव दिनुभयो । “काम ढिलो होस्, तर दीर्घ होस्, रातारात धनी हुनुपर्छ भनेर सुरु गरेको व्यवसाय तत्काल त्याग्नु हुन्न”, उहाँले युवालाई सुझावात्मक रुपमा भन्नुभयो । अध्यक्ष दाहालले आफ्नो बाल्यकाल स्मरण गर्दै खान नपुगेर कास्कीबाट चितवन झरेको मान्छे दुईपटक प्रधानमन्त्री नै भइसकेको भनी युवालाई उत्प्रेरणा जगाउनुभयो । उहाँले आफूले युद्धको नेतृत्व लिँदै द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न तथा समावेश संविधान निर्माणका लागिसमेत नेतृत्वदायी भूमिका लिन पाएको सुनाउनुभयो । राम्रो योजनाका साथ काम गर्नसके सफल हुने पनि बताउनुभयो ।
काठमाडौं : नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा नेविसंघले प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पस अगाडी नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा विरोध प्रदर्शनमा गरेका थियो । नेविसंघले गरेको प्रदर्शनमा नेपाल प्रहरीले हस्तक्षेप गरेको थियो । ‘नागरिकता विधेयक प्रमाणीकरण नगरेकाले राष्ट्रपतिको पुत्ला जलाउन लाग्दा प्रहरीले हस्तक्षेप गर्यो’, त्रिचन्द्रमा अध्यययनरत दिनेश कार्कीले भने, ‘प्रहरीसँगको हानहानमा एउटा साथीको हातमा चोट लागेको छ ।’ नेविसंघले राष्ट्रपति विद्या भण्डारीको पुत्ला दहन गर्ने क्रममा प्रहरीले हस्तक्षप गरेपछि नेविसंघ कार्यकर्ताले पनि ढुंगा हानेका थिए । त्यसपछि दुवै पक्षबीच ढुंगा हानाहान भएको थियो । नेविसंघले बाटो अवरुद्ध गरेर प्रदर्शन गर्दा केही समय घन्टाघर आसपासको सवारी आवागमन अवरुद्ध भएको थियो ।
पोखरा: गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारणमन्त्री मन्त्री चन्द्र बुढामगर ( सागर ) ले आजका विद्यार्थीहरु भोलिको देशको नेतृत्वकर्ता भएको बताएका छन् । नेपाल मगर विद्यार्थी संघ कास्कीको १९ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री बुढाले आजको विद्यार्थीहरु भोलिको देशको नेतृत्वकर्ता भएको बताएका हुन् । ‘आजको विद्यार्थीहरु विभिन्न तहमा क्रियाशिल छन्’ उनले भने ‘अब देशको नेतृत्व गर्न राजनीतिक, प्रशासन क्षेत्रबाट विद्यार्थीहरु देशको नेतृत्व गर्न आउनेछन् ।’ मगर लगायत अन्य आदिवासी जनजाति समुदायहरु एक जुट नभएको बताउदै पहिचानको मुद्धा सेलाएको मन्त्री बुढाको टिप्पणी छ । ‘विभिन्न तहमा मगर तथा आदिवासीहरुको मुद्धाले स्थान पाएको छैन, तमुवानको मुद्धामा मगरहरुले अग्रसता देखाउन नसक्दा सिङ्गो आदिवासीको मुल मुद्धाले स्थान पाउन सकेन ।’ उनले भने । उनले आन्दोलनका स्वरुप परिवर्तन गर्दै अब शिक्षामा अग्रसता देखाउँदै राज्य सञ्चालन क्षेत्रमा प्रवेश गर्न मगर तथा आदिवासीहरु आवश्यक रहेको बताए । ‘हामीले भन्दै आएको निशुल्क शिक्षा अहिले महङ्गी शिक्षा भइरहेको छ । हामीले विभिन्न आन्दोलन गर्योै तर कार्यान्वयन हुन सकेन, मन्त्री बुढामगरले भने, ‘त्यसैले अबका विद्यार्थीहरुले राज्य संचालनको विभिन्न भुमिका गर्दै यस शिक्षा नीति बदल्न विद्यार्थीहरुको भुमिका रहुनपर्छ ।’ कार्यक्रममा नेपाल विद्यार्थी संघका गण्डकी प्रदेश अध्यक्ष विष्णु आलेले मगर पहिचानको संरक्षण गर्न विद्यार्थीहरु अग्रसर बन्न आग्रह गरे । ‘पछिल्लो समय मगरका भाषा संस्कृति लगायत पहिचान लोपउन्मुख छ’ उनले भने ‘अब विद्यार्थीहरुले आफ्नो भाषा सस्कृति र पहिचानको संरक्षण गर्न भावी पुस्तातरण गर्न सजिलो हुनेछ ।’ नेपाल मगर विद्यार्थी संघ कास्कीको १९ औं जिल्ला अधिवेशनले नयाँ समिति समेत चयन गरेको छ ।
पोखरा: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ( प्रचण्ड) ले आगामी मंसिर ४ गते हुने चिर्वाचनमा चितवनबाट उठ्ने बताएका छन् । शुुक्रबार प्रेस सेन्टर नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले देशैभर आफ्नो लहर भएको बताउदै अन्त्यतः चितवनबाटै उठ्ने स्पष्ट पारेका हुन् । ‘गोरखाका कांग्रेसी नेताले यहाँ आइदिनुस तपाइ जानैपर्दैन हामी जिताइदिन्छौं भन्नुभाछ तर म चितवनबाटै लड्छु, उनले भने, ‘मेरो दिमागमा दायाँबायाँ अरु केही छैन । चितवनको जनताको चेतना र भावनाप्रति मलाई विश्वास छ ।’ उनले गठबन्धन भएको कारण चितवन छोड्दा नकरात्मक सन्देश प्रवाह हुने धारणा राखे । ‘अहिले गठबन्धन पनि छ । यसमा विमती पनि छैन, उनले भने, ‘त्यसो भएको हुँदा अहिले चितवन छोड्दा त्यती राम्रो सन्देश जादैन । यसले राष्ट्रिय सहमति र एकताको सन्देश दिदैंन । कहीं न कहीं नकरात्मक सन्देश जान्छ ।’ उनले आफुले चितवनबाटै जित्नेमा ढुक्क रहेको बताए । ‘चितवनबाट जित्छु भन्नेमा म चाँही झण्डै पूर्ण कन्फिडेन्ट छु । विश्वासमा छु । म कहिले सिराहा कहिले रोल्पा त कहिले काठमाडौंबाट लडे त्यसको अर्थ केहो भने प्रचण्ड एउटा मात्रै ठाउँको होइन देशैभरीका जनताको हो भन्ने सिद्ध गर्नु थियो, उनले भने ‘त्यो सिद्ध भयो । अहिले चितवन छोड्दा त्यो सिद्ध हुदैन । डराएर हिडेको भनेजस्तो हुन्छ । म त्यसो गर्न चाहन्न । किनभने मैले जित्छुु ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यो निर्वाचनपछि नागरिकलाई सचेत बनाउन आन्दोलन गर्ने बताए । ‘यो निर्वाचन प्रणाली गरिब दिन दुुःखीको लागि महङ्गो साबित भयो, उनले भने ‘संविधान संशोधन गरेर नागरिक सचेत बनाउँदै निर्वाचन प्रणाली बदल्न पनि माओवादी मात्र नभएर सम्पुुर्ण राजनितिक दलहरु एक हुने आशा लिएर अगाडी बढ्ने छुु ।’ अध्यक्ष प्रचण्डले अहिले नै प्रधानमन्त्रीको दौडमा नभएको बताए । ‘पाँच दलीय गठबन्धनबाट म नै प्रधानमन्त्री बन्छुु भनेर अहिले दौड छैन, उनले भने, ‘निर्वाचनको परिमाण कस्तो हुुन्छ त्यसै अनुसार नै सोच बनाउने छुु ।’ उनले फरक प्रसंगमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यायदेशमार्फत ल्याएको नागरिकता विद्येयकको विरोध आफुुहरुले नगरेको बताए । ‘हामीले नागरिकता विद्येयकको विरोध गरेको होइन । उहाँले अध्यादेशबाट ल्याएको विद्येयकलाई सदनबाट पास गरेर ल्याउन अदालतले फिर्ता गरेको हो । प्रचण्डले भने । उनले गठबन्धनमा निर्वाचनका लागि सिट बाँडफाटबारे छिटै टुङ्गो लगाउनेसमेत बताएका थिए ।
काठमाडौँ : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यक्रमअनुसार आगामी असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका रहेको छ । यस्तै असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेगरी तोकिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । यी सबै निर्वाचन कार्यक्रम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सञ्चालन हुनेछन् । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार हुन नपाउने व्यवस्था विद्यमान निर्वाचन कानूनमा रहेको छ ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय शहीद घोषणा गर्ने सङ्घर्ष अझै जारी रहेको बताउनुभएको छ । उहाँले जनयुद्धदेखि विभिन्न कालखण्डमा मारिएका व्यक्तित्वलाई राष्ट्रिय शहीद घोषणा गर्ने आन्दोलन आजसम्म चलिरहेको बताउनुभएको हो । शहीद सुरेश वाग्ले र भीमसेन पोखरेल स्मृति दिवस तथा स्मृतिग्रन्थ सार्वजनिक कार्यक्रममा अध्यक्ष दाहालले विभिन्न राजनीतिक उतारचढावका कारण विभिन्न परिवेशमा शहादत प्राप्त गरेका शहीद तथा बेपत्ता भएका व्यक्तिलाई राष्ट्रिय शहीद घोषणा गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । “एउटा कालखण्डमा गरिएको विद्रोह, अर्को ऐतिहासिक कालखण्डमा सम्झौता गर्नुपर्ने स्थिति आयो र सम्झौता गरियो”, अध्यक्ष दाहालले भन्नुभयो, “नयाँ प्रक्रियाबाट जाँदा नेपाली जनताको साथ सहयोगका कारण माओवादीकै नेतृत्वमा सरकार बन्यो र पहिलो क्याबिनेटमा मेरो नेतृत्वमा सरकार बन्यो र बैठकको पहिलो निर्णयमा मैले सम्पूर्ण शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेँ । तर त्यो माइन्युट अहिले छैन । राजपत्रमा तुरुन्त निकाल्नु पथ्र्यो तर निकालिएन । त्यसबेलादेखि वामपन्थी गठबन्धन र कम्युनिष्ट एकताका बेलामा पनि जनयुद्धका तमाम शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने आन्दोलन थियो, अहिले पनि जारी छ ।” माओवादी केन्द्रका सचिव हितराज पाण्डेले शहीद वाग्ले कुशल र सङ्गठक शिक्षक मात्र नभएर राजनीतिक शिक्षक समेत भएको बताउनुभयो । शिक्षक रहँदारहँदै पनि उहाँ आफ्नो पेशा छाडेर राजनीतिमा होमिएको स्मरण गर्नुभयो । प्रकाशित स्मृतिग्रन्थ सम्पादक समिति संयोजक लेखनाथ न्यौपानेले शहीद सुरेश वाग्लेलाई स्मरण गर्दै उहाँका लेख सैद्धान्तिक र वैचारिक रहेको धारणा व्यक्त गर्नुभएको थियो । “उहाँका लेख र विचार त्यसबेला महत्वपूर्ण थिए, आज पनि शहीद वाग्लेका लेख उत्तिकै महत्वपूर्ण रहेका छन्”, संयोजक न्यौपानेले भन्नुभयो ।
पोखरा । मगरात राष्ट्रिय समन्वय समितिको राष्ट्रिय भेला तथा विस्तारित वैठक नवलपुर जिल्लाको कावासोतीमा आगामी ३० गते हुने भएको छ । नवलपुरको कावासोतीमा आज ९बिहिबार० बसेको बैठकले उक्त निर्णय गरेको हो । मगरातको पहिचान र अधिकारको विषयमा मुद्दा उठाउदै आएका जनता समाजवादी पार्टी नेपालको भातृसंगठन अन्र्तगतको मगरात राष्ट्रिय समन्वय समिति पुनर्गठन गर्नु पर्ने भएकोले सो राष्ट्रिय भेला तथा विस्तारित बैठकको आयोजना गरिएको मगरात राष्ट्रिय समन्वय समितिका इन्चार्ज निर्मल जिसीले जानकारी दिए । उनका अनुसार राष्ट्रिय भेला सम्पन्न गर्न मगरात राष्ट्रिय समिति गण्डकीका इन्चार्ज तथा केन्द्रिय सदस्य सुवेदार छबिलाल रानाको संयोजकत्वमा १ सय १ सदस्यीय मगरात राष्ट्रिय समन्वय समिति पुनर्गठन सम्बन्धि कार्यदल बनाइएको छ । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय कार्यकारिणी सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज शिवलाल थापाको प्रमुख आतिथ्यतामा तथा समितिका उपाध्यक्ष श्याम माया पुन मगरको अध्यक्षतामा बैठक बसेले सो निर्णय गरेको थियो । सो पुनर्गठन सम्बन्धि तयारी बैठकमा पार्टी केन्द्रिय राजनीतिक समिति सदस्य तथा तमुवान राष्ट्रिय समिति इन्चार्ज रुद्र बहादुर गुरुङ, मगरात राष्ट्रिय समन्वय समितिका इन्चार्ज तथा केन्द्रिय राजनीतिक समितिका सदस्य निर्मल जिसी, गण्डकी प्रदेश सह–इन्चार्ज धन प्रसाद तामाङ,लुम्बिनी प्रदेश सह– इन्चार्ज नवीन कुमार सुनुवार, मगरात राष्ट्रिय समन्वय समिति सह–इन्चार्ज खडक बहादुर आले, मगरात गण्डकी इन्चार्ज छबिलाल राना, मगरात लुम्बिनी इन्चार्ज हरिकला थापा, तमुवान राष्ट्रिय समिति अध्यक्षका प्राध्यापक मन बहादुर गुरुङ , मगरात राष्ट्रिय समिति गण्डकीका अध्यक्ष सुस्मिता थापा, संघीय परिषद सदस्य देव परियार, प्रदेश उपाध्यक्ष तथा नवलपुर जिल्ला इन्चार्ज सुवेदार तेज बहादुर थापा, प्रदेश सचिव राम तामाङ , सदस्य देविसरा पुलामी, नवलपुर जिल्ला अध्यक्ष जगत काजी गुरुङ लगायतको उपस्थिति रहेको थियोे ।
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनभित्र पार्टीले प्रत्यक्षतर्फ कम्तीमा एक सय सिट पाउनुपर्ने धारणा राख्नुभएको छ । नेपाल प्रेस युनियनद्वारा १०९औँ विपी जयन्तीका अवसरमा जनकपुरधाममा आज आयोजित विपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती विषयक विचार गोष्ठीमा नेता डा कोइरालाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धनभित्र प्रत्यक्षतर्फ एक सय सिट पाउनुपर्ने जिकिर गर्दै गठबन्धनका कारण नेपाली कांग्रेसलाई कुनै अप्ठ्यारो पर्न नहुने बताउनुभयो । नेता कोइरालाले पाँचदलीय गठबन्धन बिचित्रको रहेको, विचार र सिद्धान्त नमिल्ने दलहरुसँग गठबन्धन भएको भन्दै गठबन्धनका कारण अहिले नेपाली कांग्रेस अप्ठ्यारो अवस्थामा रहेको बताउनुभयो । एमालेले संविधानलाई प्रहार गरेपछि त्यसलाई बचाउन गठबन्धन गरिएको उहाँले स्पष्ट गर्नुभयो । नेता डा कोइरालाले भन्नुभयो, “यो गठबन्धन पवित्र हो कि अपवित्र त्यो निर्वाचनपछि मात्र थाहा हुन्छ ।” कांग्रेसमा उम्मेदवारका आकाङ्क्षी नेताको व्यवस्थापन गर्न पनि कांग्रेस पार्टीलाई प्रत्यक्षतर्फ मात्र एक सय सिट आवश्यक पर्ने उहाँको तर्क थियो ।

