काठमाडौं:  नेकपा (एकीकृत समाजवादी)ले पार्टी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी अनुशासन आयोगले पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण मागेको हो । युवा सङ्गठन...

हेटौँडाः    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र_का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले सबै स्थानीय तहबाट खबरदारी अभियान चलाउने तयारी गरिरहेको बताउनुभएको छ ।  प्रेस सेन्टर मकवानपुरद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा देशव्यापी अभियान सञ्चालन गरी जनतासमक्ष पुग्ने बताउनुभएको हो ।   माओवादी केन्द्र सरकार बाहिर रहँदा अहिले जनतामाझ पुग्न सहज भएको उल्लेख गर्दै उहाँले केही कमजोरी सुधार गरेर परिवर्तनका पक्षमा सशक्त ढङ्गबाट अघि बढ्ने धारणा व्यक्त गर्नुभयो ।  अध्यक्ष दाहालले देशमा व्याप्त भ्रष्टाचार अन्त्यका लागि विद्यमान निर्वाचन प्रणाली र शासकीय स्वरूप नै परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।  उहाँले भ्रष्टाचारको मूल कारण भनेको ठूलो धनराशि खर्च गरेर चुनाव जित्नु हो भन्दै त्यसको अन्त्यका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा आफूहरुले उठाएको स्पष्ट गर्नुभयो । अध्यक्ष दाहालले शासकीय स्वरूपमा परिवर्तन नआउञ्जेल नेपालमा स्थिरता कायम नहुने जिकिर गर्नुभयो । सहकारी ठगीको प्रशङ्गमा जवाफ दिँदै उहाँले आग्रह नराखी निष्पक्ष रुपमा अनुसन्धान प्रक्रिया अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै नेकपा माओवादीले अब सबै पालिकाबाट खबरदारी अभियान चलाएर आफ्नो भनाइ राख्ने तयार गरिरहेको बताउनुभयो ।   

सुदूरपश्चिम:   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताउनुभएको छ ।    धनगढी विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले वर्तमान गठबन्धनमा कुनै समस्या नरहेकाले यो पूरै कार्यकाल टिक्ने विश्वास व्यक्त गर्नुभयो ।  सहकारी प्रकरणका विषयमा सोधिएको प्रश्नमा देउवाले भन्नुभयो, “हाम्रा साथीलाई मुद्दा लाग्दा हामीले कहिल्यै होहल्ला गरेनौं, यो अदालती प्रक्रियामा छ ।” देउवा गृह जिल्ला डडेल्धुराका विभिन्न कार्यक्रममा सहभागी हुन जानेक्रममा आज धनगढी पुग्नुभएको हो ।  कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतले सभापति देउवा पार्टीको जिल्ला कार्यसमिति बैठक, पालिका स्तरीय भेटघाट, उग्रतारामा लाग्ने मेला, गन्यापधुरा गाउँपालिकामा हुने कार्यक्रममा सहभागी हुने जानकारी दिनुभयो ।  

काठमाडौँः     कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेर आज काठमाडौँ ल्याउँदै छ । जिल्ला प्रहरी कार्यालय मोरङमा पत्राचार गरी अहिले अपराह्न अधिकारीलाई काठमाडौँ ल्याउने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि अधिकारीलाई विराटनगरमा पक्राउ गरिएको थियो,  अहिले काठमाडौँ ल्याइँदै छ ।” यही कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटा डिपोर्ट भएको प्रहरीले जनाएको छ ।  नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति रु १० लाख बुझाएको प्रहरीको आरोप छ । यसैबीच जिल्ला प्रहरी कार्यालय मोरङले पनि पक्राउ गरेको पुष्टि छ । यसैगरी अधिकारीलाई नेकपा ९एमाले० कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी गरेको कारबाहीलाई शनिबारको केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको थियो ।  

काठमाडौँः     नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि ५ सय ७५ प्रतिनिधि निर्वाचित भएका छन् । यही कात्तिक २६ र २७ गते सुर्खेतमा हुने अधिवेशनका लागि कर्णाली प्रदेशका २४ वटै निर्वाचन क्षेत्रबाट ३ सय ४ जना प्रतिनिधि निर्वाचित भएका छन् ।  पार्टीको प्रदेश सम्पर्क मञ्च र प्रदेशस्तरीय कमिटी भएका हरेक जनसङ्गठनहरूबाट निर्धारण गरेबमोजिम १८ जना प्रतिनिधि निर्वाचित भएका छन् । यसरी छनोट भएका प्रतिनिधिमध्ये समावेशी, दलित, जनजाति र अन्य गरी २ सय ५३ छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने अधिवेशनमा कर्णाली प्रदेशका सामाजिक, आर्थिक, राजनीतिक विकासका विषयमा छलफल गरिनेछ । अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा गरिएको कर्णाली प्रदेशका प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिनुभयो । यसैगरी, पार्टीले सङ्गठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन नेताहरूको छिट्टै जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गर्ने भएको छ । नेताहरूको क्षमता, विगतका कार्य सम्पादनको मूल्याङ्कन गर्न गठित कार्यदलले जिम्मेवारी हेरफेर तथा साङ्गठनिक भूमिकाको कार्यविभाजनको गृहकार्य गरेको छ । समान विचारधारा भएका पार्टी, कम्युनिष्ट पार्टीको निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरूसँग कार्यदलले छलफल गरेको पार्टी केन्द्रीय सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।   

काठमाडौं:    नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई अधिकतम राष्ट्रिय हितमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।  ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमणलाई नेपालको राष्ट्रिय हितमा हुनेगरी सफल बनाउने निर्णय गरेको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।  “द्विपक्षीय भेटघाट र वार्ता सकाएर उहाँ फर्कनुहुन्छ । चिनियाँ राष्ट्रपति नेपाल आउँदा उच्चस्तरीय समझदारी र नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीन भ्रमण भएका समझदारीमा नै हाम्रो जोड हुनेछ,” उपमहासचिव ज्ञवालीले भन्नुभयो, “त्यसको अलवा द्विपक्षीय अन्य हितका विषयमा पनि हामी छलफल गर्नेछौँ । नेपालको अधिकतम राष्ट्रियहितमा हुनेगरी यो भ्रमणलाई सफल पार्दछौँ ।” उपमहासचिव ज्ञवालीकाका अनुसार बैठकले सरकारले चार महिनाको समीक्षाको गरेको छ । सरकारले आधारभूतरूपमा ठिक ढङ्गले काम गर्दै अगाडि बढेको बैठकले निष्कर्ष निकालेको छ । नेपाली कांग्रेस र एमालेबीचमा समझदारीलाई अझ प्रगाढ बनाउने र काममा अझ समन्वय गर्नका लागि सयन्त्र बनेको उहाँले जानकारी दिनुभयो ।   ज्ञवालीले उपनिर्वाचनमा उम्मेदवारको नाम अनुमोदन बैठकले उपनिर्वाचनको लागि प्रदेश कमिटीले सिफारिस भई आएका पार्टीका उम्मेदवारको नाम पनि अनुमोदन गरेको बताउनुभयो । उहाँका अनुसार बैठकले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा सिङ्गो पार्टी पङ्क्तिलाई केन्द्रित हुन निर्देशन दिएको छ । “उपनिर्वाचनका लागि प्रदेश कमिटीबाट निर्णय भइआएका उम्मेदवारको नाम अनुमोदन गर्ने काम गरेको छ र सिङ्गो पार्टी पङ्क्तिलाई निर्वाचनमा एमालेको विजयीका निम्ति सम्पूर्ण सामथ्र्यका साथ परिचालन हुन आह्वान पनि गरेको छ,” उपमहासचिव ज्ञवालीले भन्नुभयो ।  उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने र सत्ता सहयात्री दलसँग पनि स्वस्थ प्रतिस्पर्धा हुने उपमहासचिव ज्ञवालीले स्पष्ट पार्नुभयो । निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा राजनीतिक दलसँग सहकार्य हुनसक्ने उहाँले बताउनुभयो ।  बैठकले किर्तिपुर नगरपालिकाको प्रमुखका डा सुरेन्द्र मानन्धर, मोरङ्गको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुलसीराम विश्वास, दोलखाका गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा उमा लुङगेली शेर्पा, रुकुम पूर्वपुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष केशकुमारी तुलाचन उम्मेदवार बनाउने निर्णय गरेको छ ।  यस्तै जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सुनिता बोहरा, गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष जान शाही, बाजुराको स्वामीकात्तिक खापर गाउँपालिकाका उपाध्यक्ष सुलोचनाकुमारी भण्डारी बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको उहाँले बताउनुभयो । निर्णय हुन बाँकी उम्मेदवारको प्रदेश कमिटीलाई अख्तियारी दिने निर्णयसमेत गरिएको उहाँले बताउनुभयो ।  त्यस्तै बैठकले कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री लीलाबल्लभ अधिकारी माथि पार्टीको प्रदेश कमिटीले गरेको कारबाहीलाई बैठकले अनुमोदन गरेको छ । प्रदेश कमिटी सदस्य अधिकारीलाई प्रदेश कमिटीले पार्टी सदस्यतासहित सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।  “उहाँ माथि लागेका सबै आरोपको वस्तुनिष्ट तथ्यपरक र गम्भीर छानबिन राज्यका सबै निकायले गरुन र त्यो छानबिनमा पार्टीका तर्फबाट पूर्णरुपमा सहयोग गर्ने विश्वास पार्टीले व्यक्त गरेको छ,” उपमहासचिव ज्ञवालीले भन्नुभयो ।  मङ्सिर ७ गते पार्टीका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीले आयोजना गर्ने जागरणसभालाई सफल बनाउन जनवर्गीय कमिटी र सम्पर्क मञ्चलाई सहयोग गर्नका लागि आह्वान गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । पार्टीले पार्टीका केन्द्रीय सल्लाहकार देवी पोखरेलको निधनप्रति दुःख व्यक्त गरेको छ । 

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक भोलि बिहान पार्टी कार्यालय बालाजुमा बस्ने भएको छ ।  बैठकमा आसन्न उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।   “हामी आगामी मङ्सिर १६ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुँदैछौँ । उपनिर्वाचनको तयारी तथा समग्र राष्ट्रिय राजनीतिक मुद्दाका विषयमा मिहिन ढङ्गबाट छलफल गर्छौँ ।”सह–महामन्त्री बुर्लाकोटीले भन्नुभयो,“बैठकमा पार्टीको रानीतिक, साङ्गठनिकलगायत समसामयिक विषयमा छलफल हुनेछ ।”

काठमाडौँः     समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक भोलि हुँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक भोलि शनिवार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने उक्त बैठकमा सहभागी हुन सचिवालय सदस्यहरू ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, गुरुप्रसाद बराल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्माकुमारी अर्याललाई पत्राचार गरिएको जानकारी उहाँले दिनुभयो ।   

काठमाडौंः   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन परिचालनको जिम्मेवारी तोकेको छ ।   केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुलीको सभापतित्वमा बुधबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्यहरुलाई निर्वाचन परिचालनको जिम्मेवारी तोकेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।  उक्त बैठकले कोशी प्रदेशमा निशा डाँगीलाई जिम्मेवारी तोकेको छ । डा चन्दा कार्कीलाई मधेश, शिशिर खनाललाई बागमती, विन्दाबासिनी कंसाकारलाई गण्डकी, केन्द्रीय सदस्य कुसुम महर्जनलाई लुम्बिनी, लिमा अधिकारीलाई कर्णाली  र विष्णुकुमार श्रेष्ठलाई सुदुरपश्चिमको जिम्मेवारी तोकेको छ ।  पार्टीले उम्मेदवारीका लागि आवेदन दिन ‘गुगल फारम’ वा निर्वाचन परिचालन समितिमा उपलब्ध आवेदन फारम भर्न समेत सूचना जारी गरेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिबाट स्थानीय तह उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन कार्यतालिका समेत तयार गरेको प्रवक्ता झाले बताउनुभयो ।  संयोजक एवं प्रतिनिधिसभा सदस्य पराजुलीले आजदेखि उम्मेदवार आह्वान गरेर केही दिनमा टुङ्गो लगाउने बताउनुभयो । पराजुलीका अनुसार उम्मेदवार छनोट सर्वसम्मत प्रक्रियाबाट टुङ्गो लगाइने छ । यदि एकभन्दा बढी आकांक्षी भएमा ‘प्राइमरी’ मतदानमार्फत उम्मेदवार चयन गरिने छ ।  उहाँले पार्टी संयन्त्र नभएका स्थानमा स्वतन्त्र उम्मेदवारदेखि मधेशमा राजनीतिक दलसँग सहकार्यको तयारी रहेको जानकारी दिनुभयो ।  “सबै स्थानमा उम्मेदवार उठाउने कुरा हो, तर भुगोलअनुसार उपस्थिति नपुग्न सक्छ । हाम्रो संयन्त्र नभएका स्थानमा कसलाई सहयोग गर्ने भन्नेबारे छलफल गर्दैछौँ”, उहाँले भन्नुभयो । उहाँले स्थापित राजनीतिक दलसँगै सहकार्य हुने सम्भावना भने कम रहेको स्पष्ट पार्नुभयो । रास्वपाले उम्मेदवार छनोट प्रक्रियाको प्राविधिक पाटो टुङ्गो लागेपछि चुनावी कार्यक्रममा ध्यान केन्द्रित गर्ने जनाएको छ । संयोजक पराजुलीले यस उपनिर्वाचनबाट पार्टीको मुद्दा स्थापित गर्न सहयोग पुग्ने बताउनुभयो । “उपनिर्वाचनलाई हार र जित भन्दा जनतामाझ हाम्रो पार्टीको मुद्दा स्थापित गर्ने गरी कार्यक्रम तय गर्दैछौँ”, उहाँले भन्नुभयो ।     विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । जम्मा ४४ रिक्त पदका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्ने मिति निर्वाचन आयोगले तोकेको छ ।  

ललितपुरः     नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी महिना हुने स्थानीय तह उपनिर्वाचनका लागि १ नगरप्रमुख र २ वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।  एमालेको नगर समितिले केही दिनअघि कीर्तिपुर नगरप्रमुखमा डा सुरेन्द्र मानन्धर, वडा नं १ मा र वडा नं ४ मा बद्री बुढाथोकीलाई सर्वसम्मत सिफारिस गरेको थियो ।  आज यहाँ भएको घोषणासभामा नगरप्रमुखका उम्मेदवार मानन्धरले कीर्तिपुरका जनताको चाहनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने बताउनुभयो । त्यस अवसरमा एमाले स्थायी समिति सदस्य राजन भट्टराई तथा बागमती प्रदेश प्रमुख आनन्द पोखरेलले जनताका माझ गएर उनीहरूका काम गर्न जनप्रतिनिधि दत्तचित्त हुनुपर्नेमा जोड दिनुभयो ।