पोखरा: सत्तारुढ गठबन्धनको प्रदेशस्तरीय संयुक्त बैठक पोखरामा सम्पन्न भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश र नेकपा एमाले गण्डकी प्रदेशको २ (दुई) दलीय राजनैतिक संयन्त्रको बैठक मंगलबार बसेको हो । सो बैठकमा नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका सुरेन्द्र राज पाण्डे, महामन्त्री विष्णुप्रसाद लामिछाने र नेकपा (एमाले) को गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङ, नेकपा एमाले संसदीय दल गण्डकी प्रदेशका नेता खगराज अधिकारी तथा प्रदेश अध्यक्ष नवराज शर्मा सहभागिता थिए । नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा बसेको बैठकले ७ बुँदें निर्णय गरेको छ । आगामी हुने बैठकको अध्यक्षता एमालेका गण्डकी प्रदेश अध्यक्षले गर्ने निर्णय गरेको छ । यस्ता छन् निर्णय:– १) सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले गण्डकी प्रदेशको राजनैतिक संयन्त्रको वैठकको अध्यक्षता दुवै दलको सहमतिमा आलोपालो प्रणाली अनुसार संयोजन गर्ने, बैठकको व्यवस्थापन जुन दलले अध्यक्षता गर्ने हो सोही दलले गर्ने । २) गण्डकी प्रदेश भित्रका सबै जिल्लामा केन्द्रको निर्देशानुसार संयन्त्र निर्माण गरी कार्य गर्न निर्देशन दिने, ३) दुई पार्टीबीचको सहकार्यको आवश्यकतालाई जन समक्ष पु¥याउन र संयुक्त सरकारले गरेका काम र योजनाको पक्षमा जनमत निर्माण गर्न, सरकारले गरेका कामको बारेमा समिक्षा गर्दै आवश्यकता अनुसार सरकारलाई सुझाब दिने, सहयोग गर्ने र सकारात्मक कामको प्रचार–प्रसार गर्ने । ४) नेपाली कांग्रेस र नेकपा एमालेबीचमा स्थानीय तहमा कहि कतै विवाद भई समस्या आएमा सम्बन्धित निकायका २ दल बसी तत्काल समस्याको समाधान गरी सहकार्यलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिने । ५) नेपालको संविधान र कानुनी राज्यको अवधारणाको विरुद्ध भइरहेको जुनसुकै अराजनैतिक, अराजक गतिविधिप्रति यो बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता गतिविधिहरुलाई समयमा नै नियन्त्रण गर्न नेपाल सरकारलाई अनुरोध गर्दै कानुनी राज्यको कार्यान्यवयनको लागि आवश्यक सहयोग गर्न सबै पक्षसँग हार्दिक अपिल गर्ने निर्णय गरियो । ६) गण्डकी प्रदेशका विकास निर्माणका कार्य सम्बन्धमा २ दलीय साझा धारणा सहित अगाडि बढ्ने निर्णय गरियो । ७) आगामी बैठक नेकपा एमालेको संयोजनमा नेकपा एमाले गण्डकी प्रदेश कार्यालयमा हुने निर्णय गरियो ।
पोखरा: गण्डकी प्रदेशकी कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले आम कृषकको हितलाई शिरोपर गर्दै विशिष्टकृत सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् । कृषकहरुको समस्या तथा गुनासोहरु तत्काल सम्बोधन हुनेगरी उच्च मनोबलका साथ सेवामा खटिन उनले निर्देशन दिएकी हुन् । मन्त्रालयद्धारा आयोजित आर्थिक वर्ष ०८१/०८२ को त्रैमासिक प्रगति समिक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भनिन्,‘आम कृषकहरु प्रत्यक्ष लाभान्वित हुने गरी कार्यालयहरुको सेवालाई थप चुस्तदुरुस्त बनाउन आग्रह गर्दछु । कृषकहरु गुनासो वा कुनै समस्या लिएर कार्यालय आइपुग्दा तत्काल समाधान हुने छ भने तत्काल र समय लाग्ने तवरको छ भने सोही अनुसार निरुपण हुने गरी कार्य अघि बढाउनु हुनेछ भन्नेमा विश्वस्त छु ।’ कृषकहरुलाई कृषि बीमाबारे अवगत गराउनुपर्ने उनले जोड दिइन् । मन्त्री श्रेष्ठले अधिकांश पशु पालन गर्ने कृषकहरुले पशुको बीमा गर्ने गरेकोमा अन्नबालीतर्फ न्यून संख्यामा कृषकहरु बीमामा संलग्न भएकाले सम्पूर्ण कृषकहरुमा कृषि बिमाको महत्वका बारेमा जानकारी गराउनुपर्ने बताइन् । उनले भनिन्,‘पशु पालन गर्ने अधिकांश कृषकहरुले बीमा गर्नुभएको थाह पाएँ । तर अन्नबाली लगायत खेती गर्ने कृषकहरु बिमामा संलग्न भएको संख्या न्यून छ । अब सबै कृषकहरुलाई कृषि बीमाको महत्वबारे जानकारी गराउँदै यसमा समेट्नु पर्दछ । यसले भइपरी हुने क्षतीबाट कृषकलाई राहत त मिल्छ नै, सँगै कृषि कर्ममा ढुक्क भएर अघि बढ्ने वातावरण तय हुनेछ ।’ यहि कात्तिक २६ गते मालेपाटनस्थित मन्त्रालयको सभाहलमा आयोजित समिक्षा गोष्ठी कात्तिक २७ गते समापन भएको हो । गोष्ठीमा मन्त्रालय मातहतका सबै कार्यालय प्रमुखहरुको उपस्थिती रहेको थियो ।
मोरङ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सबै लाग्नुपर्ने बताउनुभएको छ । एमाले मोरङ जिल्ला कमिटीद्वारा आज ग्रामथान गाउँपालिकामा आयोजित कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा उहाँले ‘मिसन ८४’ मा पार्टीलाई बहुमतका साथ विजयी बनाउन आजैदेखि कार्यकर्ता सङ्गठित भएर लाग्नुपर्नेमा जोड दिनुभयो । महासचिव पोखरेलले एमालेको नीतिलाई राष्ट्रको नीति बनाउन आगामी निर्वाचनमा विजयी बनाउन सकेमात्र मुलुकमा विकासले गति लिने दाबी गर्नुभयो । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेको लोकप्रियताकै कारण विगतको उपनिर्वाचनमा पार्टीका उम्मेदवारले पूर्वको इलाम र पश्चिममा समेत विजयी भएको बताउनुभयो । उहाँले वर्तमान सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प नभएकाले यसलाई संस्थागत गर्नुपर्नेमा सबैको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो । एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले पार्टीले तय गरेको राष्ट्रिय लक्ष्य र सङ्कल्पलाई केन्द्रविन्दुमा राखी सिङ्गो पार्टी शक्तिलाई परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीका मोरङ इञ्चार्ज जीवन घिमिरे, मोरङ अध्यक्ष बाबुराम कार्कीले मिसन ८४ लाई सफल बनाउन नेता कार्यकर्तालाई महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो सोही अवसरमा आगामी मङ्सिर १६ गते हुने ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको निर्वाचनमा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार तुलसीराम विश्वासलाई घोषणा गरिएको थियो ।
मोरङ: नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का महासचिव शङ्कर पोखरेलले आगामी निर्वाचन अघि संविधान संशोधन हुनसक्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्दै संविधान संशोधन हुनुपर्ने बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्षीसहित अन्य विपक्षी दललाई साथमा लिएर संविधान संशोधन गरिने बताउनुभयो । उहाँले संविधान संशोधनका निम्ति केन्द्रदेखि स्थानीय तहसम्मका सबै दलसँग सहकार्य गरिने स्पष्ट गर्नुभयो । महासचिव पोखरेलले राष्ट्र निर्माणको उद्देश्यका साथ एमाले र कांग्रेसबीच सहकार्य भएको तथा सरकारका काम प्रभावकारी ढङ्गले सम्पादन गर्न द्विदलीय संयन्त्र गठन भएको जानकारी दिनुभयो ।
बागलुङ: नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सरकारसँग जनताले विकास–निर्माणलगायत जनजीविकाका विषयमा धेरै अपेक्षा गरेका बताउनुभएको छ । नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले सरकारमा सहभागी राजनीतिक दलले जनता केन्द्रित काम गर्नुपर्नेमा जोड दिनुभयो । देशमा जति नयाँ पार्टी खुले पनि पुरानै पार्टीले मुलुक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका उहाँको भनाइ थियो । विसं २०४६ को परिवर्तनपछि देशमा विकास निर्माणका कार्यले गति लिएका बताउँदै पूर्वअर्थमन्त्री डा महतले नेपाली कांग्रेस आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा जानुपर्ने विचार व्यक्त गर्नुभयो । “पार्टीको सुदृढीकरणका लागि सम्पूर्ण कार्यकर्ता एकताबद्ध हुनुपर्छ”, उहाँले भन्नुभयो । स्थानीय तहबाटै नेता तथा कार्यकर्ताबीच एकता हुनुपर्नेमा जोड दिँदै उहाँले व्यक्तिभन्दा माथि पार्टीलाई राख्नुपर्ने बताउनुभयो ।
वीरगञ्ज: यहाँ सम्पन्न राप्रपा नेपालको २ दिने तराई–मधेश राष्ट्रिय सम्मेलनले ‘तराई–मधेश एकीकृत प्राधिकरण’ स्थापना गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । तराई–मधेशको उत्थान र जनताको आर्थिकस्तर उकास्न उक्त प्राधिकरण स्थापना आवश्यक रहेको राप्रपाको ठहर छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा तराई–मधेशका २१ जिल्लाका जनताको उत्थान र आर्थिकस्तरमा सुदृढीकरण गर्न एकीकृत प्राधिकरण स्थापना गर्नुपर्ने निर्णय सम्मेलनले गरेको जानकारी दिनुभयो । ‘‘मधेशको जनसङ्ख्या मुलुककै आधाभन्दा धेरै छ । तर, यहाँका जनताको आर्थिकस्तर र उत्थान हुन सकिरहेको छैन,’’ उहाँले भन्नुभयो, ‘‘पार्टीको राष्ट्रिय सम्मेलनले प्राधिकरण स्थापना गरेर जनजीविकालाई सुधार्नुपर्ने निर्णय गरेको छ ।’’ अध्यक्ष थापाले हाल तराई–मधेशको विकासका लागि नगण्य बजेट विनियोजन हुँदै आइरहेको बताउनुभयो । आगामी दिनमा जनसङ्ख्याका आधारमा बजेट विनियोजन हुनुपर्ने उहाँको धारणा छ । सम्मेलनले तराई मधेशको सांस्कृतिक विविधतालाई अझ विस्तार गर्न मैथिली, भोजपुरी, अवधि र थारु भाषाको संरक्षण र सम्वर्द्धका लागि मातृभाषा संरक्षण आयोग गठन गर्नुपर्ने निर्णय पनि गरेको छ । अध्यक्ष थापाले तराई–मधेश मुलुककै अन्नभण्डार भएकाले यहाँको कृषि र सिँचाइको एकीकृत योजना अघि बढाउने निर्णय गरेको जानकारी दिनुभयो । त्यसैगरी राप्रपा नेपालको राष्ट्रिय सम्मेलनले आगामी पुसमा सुनसरीको चतराधामदेखि त्रिवेणीधामसम्म पार्टीको जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । सम्मेलनमा २ सय बढी पार्टी प्रतिनिधिको सहभागिता रहेको थियो ।
विराटनगर: प्रधानमन्त्री केपी शर्मा ओलीले नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताउनुभएको छ । विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासामा उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी हो भन्नुभयो । प्रधानन्त्री ओलीले अहिले अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपिपी)को कुनै कुरा वा चर्चा नै नभएको बताउनुभयो । संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा उहाँले यो विषय संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने जनाउनुभयो । सरकारको निर्देशनबमोजिम नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन जोडिएको छैन नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “नजोडिएको भए हेर्दै जाउँ । हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै जानेछौँ ।” धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औँ दीक्षान्त समारोहबाट प्रधानमन्त्री ओली विराटनगर हुँदै काठमाडौँँ फर्कनुभएको थियो ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका सदस्य–सचिव तथा सदस्य मनोनयन गरी दुई विभागलाई पूर्णता दिनुभएको छ । अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधान प्रमुख रहनुभएको स्थानीय तह परिचालन विभागमा केन्द्रीय सदस्य भरत पाठक (नुवाकोट) लाई विभागको सदस्य–सचिव मनोनयन गर्नुभएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार सदस्यमा सहायक महामन्त्री ताहिर अली (रुपन्देही), केन्द्रीय सदस्य रामहरि थापा (भक्तपुर), केन्द्रीय सदस्य तीर्थराज चटौत (कञ्चनपुर), केन्द्रीय सदस्य देवकुमारी पराजुली (स्याङ्जा) र केन्द्रीय सदस्य विनोद भारती (बारा) रहनुभएको छ । अध्यक्ष लिङ्देनले सहायक महामन्त्री विजय खड्का प्रमुख रहनुभएको पर्यटन विभागमा सदस्य–सचिव र सदस्य मनोनयन गर्नुभएको छ । विभागको सदस्य–सचिवमा पर्यटन व्यवसायी गणेश रिमाल (धादिङ) रहनुभएको छ भने सदस्यमा सांसद आशा लामा (काठमाडौँ), अर्जुन खनाल (कास्की), आराधना पुडासैनी (मोरङ), रामप्रसाद सापकोटा (धादिङ), रिना खड्का (काभ्रेपलाञ्चोक) र सुशील पन्त (गोरखा), मनोनयन गर्नुभएको छ । यसैगरी सदस्य तीर्थराज सुवेदी (कास्की), निर्मला इजम (ताप्लेजुङ), मेरिना श्रेष्ठ (सल्यान), कमल रिमाल (काठमाडौँ), किशोर खड्का (बझाङ), दावाकिपा शेर्पा (स्विट्जरल्याण्ड प्रवास), मेघनाथ आचार्य (रुपन्देही) र सगरमाथा आरोही दावा छिरी शेर्पा (दोलखा) रहनुभएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख श्रेष्ठले बताउनुभयो । अध्यक्ष लिङ्देनले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार आयोजित कार्यक्रममा दुवै विभागका सदस्य–सचिव तथा सदस्यलाई मनोनयन पत्र हस्तान्तरण गर्नुभएको सो पार्टीले जनाएको छ ।
काठमाडौं: नेपाली कांग्रेसका नेताहरूले संविधानमा व्यवस्था गरिएको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई कुनै पनि बहानामा कमजोर बनाउने काम नहुने बताउनुभएको छ । नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरणका लागि आज ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेस नेताहरूले संविधान संशोधन गर्दा सत्ता गठबन्धनले प्रतिनिधित्वको विषयलाई कमजोर बनाउन लागेको भनेर विपक्षी दलहरूले हल्ला चलाएको र त्यो सत्य नभएको स्पष्ट पार्नुभयो । कार्यक्रममा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले दलितलगायत पछाडी परेका समुदायको हितका लागि कांग्रेसले सधैँ आवाज उठाएको र समावेशी समानुपातिक प्रतिनिधित्व त्यसैको उपज भएको धारणा राख्नुभयो । उहाँले पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वको सरकारले दलित समुदायको हकअधिकारको कुरा उठान गर्न दलित आयोगलगायत व्यवस्थाका लागि महत्वपूर्ण योगदान गरेको स्मरण गर्नुभयो । “कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै दलितहरूको प्रतिनिधित्वको सवालमा महत्वपूर्ण काम गरेको छ । पार्टीभित्र र राज्यका निकायमा पनि दलितको समान सहभागिता र सशक्तीकरणका लागि आवश्यक बन्दोबस्त गरेको छ । त्यसलाई थप बलियो बनाउनुपर्ने आवश्यकता छ”, उपसभापति खड्काले भन्नुभयो, “पछिल्लो परिवर्तनपछि नेपालको संविधानमा धेरै व्यवस्थाहरू गरिएका छन् । त्यसलाई थप बलियो र व्यवस्थित गर्नुपर्छ भनेर वर्तमान गठबन्धन सरकारले संविधान संशोधनको कुरा गरिरहेको छ । समानुपातिक मात्रै होइन, अब प्रत्यक्ष निर्वाचनमै दलितको नेतृत्व विकासलाई सुनिश्चितता गर्दै अगाडि बढ्नुपर्छ ।” कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संविधानमा भएको सबै जातजातिको प्रतिनिधित्वको व्यवस्थालाई थप व्यवस्थित बनाउन भूमिका खेल्ने बताउनुभयो । उहाँले हाल भएको व्यवस्थाले देशभर सबै जातजातिको प्रतिनिधित्व सुनिश्चित गरे पनि त्यसलाई थप समृद्ध बनाएर जानुपर्नेमा जोड दिनुभयो । “संविधानले गरेको व्यवस्थाअनुसार सबैको प्रतिनिधित्व सुनिश्चित भएको छ । त्यो उपलब्धिमा टेकेर थप समृद्ध र व्यवस्थित व्यवस्थाका लागि हामीले जोडबल गछौँ । अहिलेको व्यवस्थालाई थप कमजोर बनाउने कुरा हामीले सोच्नै सक्दैनौँ”, महामन्त्री थापाले भन्नुभयो, “हामी यसलाई थप व्यवस्थित बनाउन चाहन्छौँ । अहिले जहाँ बाध्यकारी भनिएको छ, त्यहाँ मात्रै प्रतिनिधित्वको कुरा गर्ने र बाध्यकारी नभनिएको कुरा पालना नगर्ने प्रवृत्ति छ । त्यसैले संविधान संशोधन गर्दा प्रतिनिधित्वलाई बाध्यकारी बनाउने व्यवस्थाका लागि पार्टीले पहल गर्छ । यसमा दलित सङ्घले सबैसँग छलफल गरेर आफ्नो मत प्रस्तुत गर्न र दबाब बढाउन आवश्यक छ ।” महामन्त्री थापाले ११ वर्षभन्दा लामो समयदेखि सङ्घको निर्वाचन हुन नसक्दा राम्रो सन्देश नगएको उल्लेख गर्दै अब तोकिएको समय आगामी चैतभित्र महाधिवेशन सम्पन्न गर्न आग्रह गर्नुभयो । पार्टीका सहमहामन्त्री जीवन परियारले अन्य पार्टीको तुलनामा अहिले पनि कांग्रेसमा पहुँच, प्रतिनिधित्व र सम्मानमा कुनै समस्या नरहेको तर यसले मात्रै परिवर्तित अवस्थाका माग तथा मुद्दालाई सम्बोधन गर्न नसक्ने बताउनुभयो । उहाँले पार्टीले हरेक तहका चुनावमा दलितहरूलाई प्रत्यक्ष निर्वाचनका लागि तयार गर्नुपर्ने र सोही अनुसार टिकट दिनुपर्ने बताउनुभयो । “कांग्रेसको जीवनकालमा हालसम्म मलगायत तीन जनाले मात्रै चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने अवसर पायौँ । पछिल्लो निर्वाचनमा म आफैँ निर्णायक तहमा रहेर पनि सङ्घीय निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार उठाउन सकिएन । यो राम्रो भएन । त्यसैले अब पार्टीभित्र पनि प्रतिनिधित्वको मुद्दालाई थप बलियो बनाउँदै लैजानुपर्छ”, सहमहामन्त्री परियारको भनाइ थियो । पार्टी प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेसले नै ‘कदमजम’ अर्थात् कर्णाली, दलित, मधेशी, जनजाति र महिला अधिकारको कुरा उठाएको र सोही नीतिअनुसार संवैधानिक व्यवस्था गरिएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “कांग्रेस नै हो कदमजमको कुरा गर्ने, पछि सोहीअनुसारको व्यवस्था संविधानमा पनि ग¥यौँ । त्यसैले संविधानमा भएको समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई थप बलियो बनाउँदै लैजानुपर्नेमा हामी प्रस्ट छौँ । तर प्रतिपक्षीहरूले संविधान संशोधन गर्दा यो व्यवस्था विरोधी काम गर्छन् कि भनेर अफवाह फैलाएको सुन्छु, भ्रममा नपर्नुहोला । समानुपातिक प्रतिनिधित्वलाई बलियो बनाउने हो, अहिलेको भन्दा राम्रो व्यवस्था गर्ने हो तर विधिका बारेमा गम्भीर छलफल गरेर निष्कर्षमा पुग्छौँ ।” कार्यक्रममा दलित सङ्घका संस्थापक सभापति मानबहादुर विश्वकर्मा र पूर्वअध्यक्ष मीन विश्वकर्माले कांग्रेसले १३ प्रतिशतभन्दा बढी जनसङ्ख्या भएको दलित समुदायको भावनाविपरीत कुनै काम नगर्नेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो । उहाँहरूले आफ्नो पार्टीसहितको सरकारले आमदलित समुदायको हितमा काम गर्ने अवस्था बनाउन, संविधान संशोधनको कुरा उठिरहँदा आफ्ना माग सशक्तरूपमा राख्न सङ्घले समयमै महाधिवेशन सम्पन्न गरी रचनात्मक काममा लाग्नुपर्नेमा जोड दिनुभयो । सङ्घका अध्यक्ष लोकबहादुर विश्वकर्माले पार्टीले विश्वास गरेर आफ्नो नेतृत्वमा समिति गठन गरेकामा आभार व्यक्त गर्दै समयमै महाधिवेशन सम्पन्न गर्न आफू दत्तचित्त भएर लागिरहेको बताउनुभयो । कार्यक्रममा पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पार्टी केन्द्रीय सदस्य एवं वन तथा वातावरण राज्यमन्त्री रुपा विक, पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री सीता गुरुङ, केन्द्रीय सदस्यद्वय सुजाता परियार र कमल बुढा, नेपाल महिला सङ्घका सभापति उषाकुमारी राउत मिश्र, नेपाल किसान महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमिल्सिना, दलित सङ्घका केन्द्रीय सदस्य मुक्तबहादुर महते, शम्भुहजारा पासवानलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । विगत ११ वर्षदेखि सङ्घको नेतृत्व चयनका लागि महाधिवेशन हुन सकेको छैन । आगामी चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित विश्वकर्माको सभापतित्वमा दुई सय ४० सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरिएको छ । आज सोही समितिका अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो