काठमाडौं:  नेकपा (एकीकृत समाजवादी)ले पार्टी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी अनुशासन आयोगले पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण मागेको हो । युवा सङ्गठन...

काठमाडौँः   अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ ।  कुल ५३८ सिटमा ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट प्राप्त गर्नुभएको अमेरिकी सञ्चारमाध्यम एपी न्यूजले जनाएको छ । ट्रम्पको जितसँगै अमेरिकामा राजनीतिक दिशामा परिवर्तन आउन सक्ने सङ्केत देखिएको छ । उहाँको विजयले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न प्रतिक्रियाहरू उत्पन्न गराएको छ, विशेषगरी अमेरिका–चीन सम्बन्ध, जलवायु परिवर्तन नीतिहरू र नाटो जस्ता मुद्दाहरूमा गहिरो प्रभाव पर्ने अनुमान गरिएको छ । ट्रम्पको दोस्रो कार्यकालले ‘अमेरिका प्रथम’ नीति अघि बढाउँदै अमेरिका र अन्य राष्ट्रहरूबिचको सम्बन्धलाई पुनः परिभाषित गर्ने सम्भावना छ ।  व्यावसायिक पृष्ठभूमिका ट्रम्पले पहिलो कार्यकालमा आर्थिक सुधारका कदमहरू उठाउनुका साथै आप्रवासन, कर नीति र व्यापार सम्बन्धमा कडा अडान लिएको इतिहास रहेको छ ।  उहाँका समर्थकहरू यो जितलाई अमेरिकाको ‘स्वतन्त्र’ तथा ‘सशक्त’ नीति पुनःस्थापनाको विजय मानेका छन् भने आलोचकहरूले यसलाई अन्तर्राष्ट्रिय सम्बन्धमा अस्थिरता निम्त्याउने चेतावनी दिएका छन् । ट्रम्पको विजयले आर्थिक मोर्चामा समेत नयाँ तरङ्ग ल्याउने अपेक्षा गरिएको छ ।  विशेष गरी अमेरिकी बजारमा सकारात्मक सङ्केत देखिएको छ भने अमेरिका–चीन व्यापार युद्धलाई पुनः सुरु गरिने डर पनि छ । ट्रम्पको दोस्रो कार्यकालमा जलवायु परिवर्तन लगायतका अन्तर्राष्ट्रिय मुद्दामा अमेरिकाको सहभागितामा कमी आउन सक्ने र यसले विश्वव्यापी असर पार्न सक्ने विश्लेषकहरूको राय रहेको छ । अन्ततः ट्रम्पको विजयले अमेरिकाको आन्तरिक र बाह्य नीति, विश्वव्यापी सन्तुलन, र कूटनीतिक रणनीतिमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ ।

मधुकर अधिकारी (वासिङ्टन डिसी):      विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ ।          सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा हुनुहुन्छ ।            निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो ।          मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।          नागरिकले मतदानमार्फत प्रत्यक्ष कार्यकारी अधिकारसहितको विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिको निर्वाचनमार्फत हुने सत्ताको परिवर्तनले विश्वलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा प्रभाव पार्ने कतिपयको धारणा छ । आफ्नो पक्षका उमेदवारलाई विजयी गराउन दुवै पार्टीले आफ्ना सबै प्रकारका संयन्त्र परिचालन गरेका छन् ।           यो पटकको निर्वाचनमा पनि विगतका निर्वाचन जस्तै आप्रवासन, बन्दुकको अधिकार, महिलाको अधिकार, आर्थिक विषय र विश्वभर देखा परिरहेको अशान्त वातावरणलाई केन्द्रमा राखेर डेमोक्र्याट र रिपब्लिकन पार्टीले आफ्नो एजेण्डा तय गरेका छन् ।   कोभिड महामारीपश्चात् अर्थतन्त्र केही चलायमान बन्ने प्रयत्न गरेको भए पनि मूल्यवृद्धिले यहाँको हरेक तहलाई असर परेको छ ।   खाद्यवस्तु, इन्धनका साथै सबै खालका वस्तु तथा सेवामा परेको असरले मध्यमस्तरको आय हुनेहरुका लागि कठिन आर्थिक अवस्था सिर्जना गरेकाले यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।           तुलनात्मक रुपमा आप्रवासीहरुप्रति नरम नीति अङ्गीकार गर्ने डेमोक्र्याट पार्टीले अमेरिकाको इतिहासमा पहिलो पटक महिलालाई सर्वोच्च कार्यकारी अधिकार प्रदान गर्नेगरी कमला ह्यारिसलाई मैदानमा उतारेको छ । उता अनेकन मुद्दा खेपिरहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालमा सत्ता आरोहणका लागि कडा मेहनत गरिरहनुभएको छ ।            स्वीङ्ग राज्यहरु निर्णायक          अमेरिकामा रहेका कूल ५० राज्यमध्ये मुख्य सात एरिजोना, जर्जिया, मिचिगन, नाभडा, नर्थ क्यारालिना, पेन्सलभेनिया र विसकन्सिनलाई स्विङ्ग (मतदाताले अन्तिम समयमा निर्णय गर्ने) राज्यका रुपमा परिभाषित गरिएको छ । यसमध्ये सबैभन्दा बढी ध्यान पेन्सल भेनियामा रहेको छ । यी राज्यहरुको विगतको निर्वाचनको नतिजा हेर्दा सन् २०१६ मा डोनाल्ड ट्रम्पले पाँच वटा स्वीङ्ग राज्यमा जीत हासिल गरेर निर्वाचित हुनुभएको थियो । उता सन् २०२० मा जो वाइडेनले छ वटा राज्यमा जीत हासिल गरेर राष्ट्रपति बन्न सफल हुनुभएको थियो ।          पेन्सलभेनिया कति महत्वपूर्ण छ भन्ने विषय उक्त राज्यमा रिपब्लिकन र डेमोक्र्याट पार्टीले सबै प्रकारका चुनावी अभियानमा सबै प्रकारका सञ्चारमध्यमहरुमा खर्च गरेका एक अर्ब २० करोड डलरको विज्ञापनले पनि पुष्टि गर्छ ।   सन् २०२४ को चुनावमा अमेरिकाभर कूल १० अर्व ५३ करोड विज्ञापनमा खर्च गरिएकामा त्यसमध्ये ११ प्रतिशत एउटै राज्यमा खर्च गरिएकोबाट पनि पुष्टि हुन्छ ।           कूल ९१ लाख मतदाता रहेको पेन्सलभेनियामा अर्लि भोटिङमार्फत १६ लाख २० हजारले मतदान गरिसकेका छन् । उक्त राज्यमा निर्वाचनको दिन अर्थात् आज बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ ।             नेपालीहरुको मत निर्णायक हुन सक्छ ?          व्याटल ग्राउण्ड अर्थात् मुख्य प्रतिस्पर्धा हुने राज्यका रुपमा रहेको पेन्सलभेनियाको निर्वाचन निर्णायक हुने भनेर सारोकार भएका संयन्त्रको ध्यान केन्द्रित हुनुका साथै निर्वाचन समितिको परिचालन भइरहेको छ ।   सो राज्यमा करिब २५ हजार नेपाली भाषीको मतदानको अधिकार रहेकाले उनीहरु निर्णायक हुनसक्ने बताइएको छ ।          नेपाली मतदाताहरुलाई निर्वाचनसम्बन्धी जनचेतनाका लागि पेन्सलभेनियाको हयारिसवर्गमा आइपुग्नुभएका अमेरिकी राजनीतिज्ञ डा ह्यारी भण्डारीले यो स्थान निर्वाचन निर्यायक बनाउन सक्ने भएकाले निकै महत्वपूर्ण रहेको बताउनुभयो ।   शनिबार मात्रै उहाँको अगुवाइमा मेरिल्याण्डबाट ५१ जना स्वयंसेवक परिचालन गरी भोट माग्न जुट्नुभएका भण्डारी हरेक मतको मूल्य हुने बताउनुभयो ।          भण्डारीले भन्नुभयो, “हामीहरुले यहाँ बसेर जसरी यहाँको राजनीतिमा योगदान दिइरहेका छौँ, यो भावी पिँढीका लागि झन् बढी प्रेरक बन्नेछ । एक आप्रवासीका रुपमा जसरी दोस्रो पुस्तामा कमला ह्यारिसले एउटा गर्विलो इतिहास कोर्ने जर्मको गरिरहनुभएको छ, यसले धेरै आप्रवासीलाई प्रेरणा दिने विश्वास लिएका छौँ ।”          “राजनीति भनेको पद र प्रतिष्ठामात्र होइन यसले मानिसका जीवनमा आइपर्ने अनेकन समस्यालाई जुध्न एउटा अभिभावकका रुपमा, व्यवसाय गर्नेहरुका लागि रोजगारीको अवसर सिर्जना गर्ने वातावरण बनाउने र धेरै नीति गत परिवर्तनमार्फत आन्तरिक र बाह्य रुपमा एक सशक्त उपस्थिति जनाउने काम गर्छ । त्यसैले यस्तो विषयलाई सम्बोधन गर्नसक्ने सशक्त उम्मेदवार डेमोक्र्याट पार्टीकी ह्यारिस हुन सक्नुहुन्छ भन्ने मेरो विश्वास छ”, भण्डारीले भन्नुभयो ।          पेन्सलभेनियालाई मुख्य मतदान केन्द्रका रुपमा मानिएको छ । यो व्याटल ग्राउण्ड स्टेट हो र यसमा सन् २०१६ र २०२० को मतदानको विश्लेषण गर्दा झिनो अन्तरले विजयी भएको देखिन्छ ।   त्यसैले नेपाली अमेरिकनहरुको मतले एउटा निर्णायक भूमिका निर्वाह गर्नसक्ने उहाँले धारणा राख्नुभयो ।          स्थानीय रुपमा राजनीतिमा सहभागी अभिषेक थापाले भन्नुभयो, “राजनीतिक विश्लेषण गर्दा यो पटक निकै प्रतिस्पर्धा हुने देखिएको छ । यही प्रतिस्पर्धामा हामी नेपालीहरुको मत महत्वपूर्ण मानिने विश्वास लिएका छौँ । हामीहरुले पेन्सलभेनियामा रहेका नेपाली भाषीहरुलाई भोट हाल्नका लागि प्रेरित गर्न सम्भव भएसम्म हरेक नेपालीको घरमा पुगेका छौँ । एउटा क्षेत्रमा मात्रै पनि करिब चार हजार पाँच सय नेपाली मतदाता छन् । ती ठाउँबाट हामीहरु मतदान गर्न प्रेरित गरिरहेका छौँ ।”          पेन्सलभेनियामा सामाजिक तथा राजनीतिक काममा सक्रिय रहँदै आउनुभएकी विनिता पुरीले मतदान प्रक्रिया र राजनीतिमा सक्रिया सहभागिता जनाउन का लागि नेपाली भाषी समुदायका बीचमा विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले थप्नुभयो, “हामीहरुले मतदातालाई सचेत बनाउन अभियान सञ्चालन गर्दे आएका छौँ, यसैले यसपटकको मतदानमा धेरैभन्दा धेरैले मतदान प्रक्रियामा भाग लिनुहुनेछ भन्ने विश्वास लिएकी छु ।”          पेन्सलभेनियामा नै बस्दै आउनुभएका जीवन दाहालले भने आफैँ पनि डेमोक्र्याटिक पार्टीमा विश्वास गर्ने भएकाले ह्यारिसलाई विजयी गराउन आह्वान गर्नुभयो ।   यसैगरी प्रकाश ढुङ्गानाले भन्नुभयो, “एक नागरिकका रुपमा हामीहरुले मतदानमा भाग लिनु र आफूले मन पराएको उम्मेदवारलाई विजयी गराउनुपर्छ । हामी अमेरिकामा एक आप्रवासीका रुपमा आएका छौँ । यसलाई संवैधानिक अधिकारका रुपमा उपयोग गर्दै राजनीतिक मार्गचित्र तयार गर्नुपर्छ जसले गर्दा भावी पिँढीलाई राजनीतिमा लाग्न प्रेरणा प्रदान गरोस् ।”            नेपालीहरु पनि दुवै पक्षधर             आप्रवासीहरुप्रति नरम नीति लिने डेमोक्र्याट पार्टीका पक्षमा धेरै नेपालीहरु देखिएको भए पनि रिपब्लिकन अर्थात् ट्रम्प समर्थक पनि भेटिन्छन् ।   नेपाली अमेरिकनहरुले भने आफ्नो सामाजिक सञ्जालमा प्रशस्त टिप्पणी र पोष्टहरु राखेका छन् ।            ब्याटल ग्राउण्ड स्टेटको विश्लेषण          अमेरिकाको राजनीतिलाई अत्यधिक प्रभाव पार्ने राज्यका रुपमा अहिले पेन्सलभेनिया रहेको छ ।   उक्त राज्यमा ६७ वटा क्षेत्र (काउन्टी)मध्ये केही काउन्टीका मतदाता दुवै पक्षमा रहेका पाइएको छ । समर्थकहरुले मतदानमा निर्णय भूमिका निर्वाह गर्ने चुनावी अभियानमा सहभागी स्वयंसेवकको भनाइ छ ।            चुनावी र्‍यालीको अन्तिम          अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा चुनावी र्‍यालीको अन्तिम तयारीस्वरुप स्थानीय समयअनुसार सोमबार अपराह्न पेन्सलभेनियाको फिलाडेल्फिया म्युजियम अफ आर्ट अगाडि आयोजना हुने र्‍यालीलाई उपराष्ट्रपति ह्यारिसले सम्बोधन गर्नुभएको छ भने रिपब्लिकन उम्मेदवार ट्रम्पले पनि सोमबार साँझ पेन्सलभेनियामा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्नुभएको छ ।          अमेरिकाको यसपटकको निर्वाचनले दुई सय ४८ वर्षको इतिहासमा महिला राष्ट्रपतिको इतिहास निर्माण गर्नेछ वा पूर्वराष्ट्रपति ट्रम्पको दोस्रोपटक ह्वाइट हाउसको यात्रालाई निरन्तरता दिनुहुनेछ भन्ने विषयको निक्र्यौल आज हुने निर्वाचनले गर्नेछ ।   कूल २३ करोड १० लाख मतदानका लागि योग्य भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि दर्ता (रजिस्टर्ड) गरेका तथ्याङ्क छ । यसैगरी कूल इलेक्ट्रोल कलेजको पाँच सय ३८ मध्ये दुई सय ७० भोट ल्याउनेले निर्वाचनमा जीत हासिल गर्न सक्नेछन् ।  

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने भएको छ । सङ्गठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’को अवधारणा कार्यान्वयन गर्न लागिइएको हो ।   पार्टीमा आलोचनात्मक टिप्पणी गर्ने, फरक विचार पक्षधरलाई ठोस जिम्मेवारीमा केन्द्रित गर्नेगरी नेताको जिम्मेवारी कार्यविभाजन गर्न लागिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित सात पदाधिकारीको कार्यदल गठन गरिएको छ ।   कार्यदलले पार्टीका असन्तुष्ट नेतासँग छलफल गरी उनीहरूलाई पनि केन्द्रीय जिम्मेवारी प्रदान गर्ने तयारी गरेको पार्टीले जनाएको छ ।   नेताहरूको सक्षमता, विगतका कार्यसम्पादनको मूल्याङ्कन गर्न गठित कार्यदलले जिम्मेवारी हेरफेर तथा साङ्गठनिक संरचनामा कार्यविभाजनका लागि गृहकार्य गरेको सचिव पाण्डेले बताउनुभयो ।   अध्यक्ष नेपाल विदेश भ्रमणमा रहेकाले उहाँ स्वदेश फिर्ता भएपछि पार्टी विभागीय प्रमुख तथा जनवर्गीय सङ्गठन, प्रदेश इन्चार्ज तोकिने र आवश्यकतानुसार अन्य नेताहरूको कार्यविभाजन गरिने जनाइएको छ ।   पार्टीले समान विचारधारा भएका पार्टी, कम्युनिष्ट पार्टीको निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरूसँग कार्यदलले छलफल गरेको सचिव पाण्डेयले जानकारी दिनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिन भारत प्रस्थान गर्नुभएको छ ।   नयाँदिल्लीमा नोभेम्बर ३ देखि ६ तारिखसम्म आयोजित सातौँ गठबन्धन सम्मेलनमा भाग लिन मन्त्री खड्का आज अपराह्न ३ बजे नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।   सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२१) को २१ औँ सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिएको थियो ।   उक्त सम्मेलनमा भाग लिएका करिब एक सय २० राष्ट्रका प्रमुखले सौर्य ऊर्जाको प्रवर्द्धनका लागि क्रियाशील गठबन्धनमा आफ्नो सहभागिता हुने प्रतिबद्धता जनाएका थिए ।   उक्त सम्मेलनमा विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र उर्जा विकासलाई निर्देशित गर्ने माध्यमको रुपमा सौर्य ऊर्जा प्रविधिको बढ्दो उपयोगबारे छलफल हुनेछ ।   यस्तै, सम्मेलनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको अध्यक्ष, सहअध्यक्ष, महानिर्देशकलगायत विभिन्न पदमा नयाँ कार्यसमिति चुन्ने कार्यक्रमसमेत छ ।   उक्त सम्मेलनले सौर्य ऊर्जाको व्यापक प्रयोगका लागि आवश्यकपर्ने अमेरिकी डलर एक हजार अर्ब भन्दा बढीको लगानी परिचालन गर्ने र जसबाट नेपाल समेत लाभान्वित हुने बताइएको छ । यसले जलवायु परिवर्तन कम गर्न नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धीमा पेस गरेको दोस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनमा सहयोग पुग्नेछ ।   सन् २०४५ सम्ममा कार्बन उत्सर्जन शून्यको लक्ष्य हासिल गर्ने नेपाल सरकारको प्रतिबद्धताअनुरुप सौर्यजस्ता स्वच्छ ऊर्जाको अधिकतम विकास एवं प्रवद्र्धनबाट स्वच्छ ऊर्जा सङ्क्रमण कार्यान्वयनमा सहयोग पुग्ने बताइएको छ ।   उक्त सम्मेलनमा हरित विकास, जलवायु परिवर्तन र सौर्य उर्जा विकाससँग सम्बन्धित विश्वमा भएका सफल अभ्यासहरुको आदानप्रदान गर्ने कार्यक्रमसमेत रहेको छ । उक्त सम्मेलनमा ऊर्जामन्त्री खड्काले भारतको नवीकरणीय उर्जामन्त्री एवम् ‘आइएसए’को अध्यक्ष प्रह्लाद वेंकटेश जोशीसँग भेट्ने कार्यक्रम रहेको छ ।   भेटमा नेपालको नविकरणीय उर्जा क्षेत्रको विकासका विविध विषयमा छलफल हुनेछ ।   आइएसएले हाल नेपालको राष्ट्रिय सौर्य ऊर्जा रोडम्याप, सौर्य ऊर्जामार्फत स्वास्थ्य, शिक्षा, पर्यटनको सम्भाव्यता खोजी, सौर्य सिँचाइलगायतका विभिन्न सात कार्यक्रममा सहयोग गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले आज वालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाउनुभएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ ।   नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो ।   उत्तम साइत पछि पनि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ ।   यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ ।

पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले करारका २८ जना कर्मचारी हटाउन गरेको निर्णयप्रति उपप्रमुखसहित एमाले जनप्रतिनिधिहरुले असहमति जनाएका छन् । कात्तिक १५ गते बसेको कार्यपालिका बैठकले महानगरमा सेवारत १० जना इन्जिनियर र १८ जना सबइन्जिनियरलाई हटाउने निर्णय गरेको थियो ।   सोही निर्णयप्रति एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले असहमति जनाएका हुन् ।   उपमेयर मञ्जुदेवी गुरुङलगायतले शुक्रबार संयुक्त विज्ञप्ति निकालेर महानगर कार्यपालिका बैठकको निर्णयप्रति असहमति जनाउँदै निर्णय फिर्ता लिन माग गरेका छन् ।    विज्ञप्तिमा भनिएको छ, ‘२०८१-०७-१५ गते भएको कथित कार्यपालिकाको निर्णय खारेज गरी पुनः पारदर्शी विधिबाट सबै पक्ष बसी छलफल र निर्णय गर्न अनुरोध गर्दछौं । अन्यथा सार्वभौम नगर सभाबाट यस्ता गलत निर्णय सच्याउन र यसका विरुद्ध संघर्षका कदम चाल्न बाध्य हुने एवम् त्यसको जिम्मेवार नगर प्रमुख रहने व्यहोरा जानकारी गराउँछौं ।’    

तिहार बिदाको समयलाई सदुुपयोग गर्र्दै प्रधानमन्त्री केपी शर्मा ओली केबुलकार चढेर शुक्रबार मध्यान्ह परिवारसहित चन्द्रागिरि डाँडोमा पुुग्दा वातावरण थोरै घमाइलो थियो । वरिपरीका जङ्गललाई हुस्सुुले नछोपे पनि मौसम छ्याङ्ग खुलेको भने थिएन । स्वदेशी र विदेशी यात्रीहरु आफ्नै लयमा चन्द्रागिरि पहाड, चन्द्रागिरि रिसोर्ट र भालेश्वर महादेवको परिसरमा घुमिरहेका थिए । यही बीचमा त्यहाँ पुुग्नुुभएका प्रधानमन्त्री ओलीले भालेश्वर महादेवको दर्शन र केही यात्रुुको आग्रहमा तस्बिर खिचाएपछि काठमाडौँ उपत्यका देखिने छेउतिर राखिएको कुर्सी र टेबलमा बसेर डायरी र कलम समाउनुुभयो ।   नजिकै रहेका सुरक्षाकर्मी र सहभागीले आगन्तुक पुस्तिकमा हस्ताक्षर गर्न लाग्नुभएको भन्ने ठाने पनि प्रधानमन्त्री ओलीले सतीदेवीको भाल पतनको पौराणिक प्रेमकथालाई चित्रण गर्दै त्यसलाई काव्यिक भावमा पस्कनुुभयो ।   “चन्द्रागिरि प्रेमको प्रतीक सतीदेवी भाल पतन सर्वाेत्तम प्रेमकथा !’’ साथमै रहनुुभएका प्रथम महिला राधिका शाक्य र सचिवालयको टोलीलाई प्रधानमन्त्री ओलीले यही रचनालाई वाचन गरेर सुनाउनुुभयो ।   चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले तत्कालै प्रतिक्रिया दिनुुभयो, “सम्माननीयज्यूू प्रायः चन्द्रागिरि आउँदा केही न केही लेख्नुहुन्छ ।   हामी धन्य छौँ ।” राजनीतिका साथै कला, साहित्य र सङ्गीतलाई सक्दो समय दिने र अध्ययनमा त्यत्तिकै रुचि राख्ने नेताका रुपमा परिचित प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले धेरै पटक सार्वजनिकरुपमा भन्ने गर्नुभएको छ– “म कवि÷साहित्यकार होइन ।” तर उहाँलाई गहिराइका साथ बुुझ्नेहरु भन्छन्– “उहाँमा सृजनात्मक चेत उच्च छ । समय मिल्ने हो भने उहाँको लेखनी जम्न सक्छ । उहाँका अभिव्यक्तिमा दार्शनिकता, साहित्यिक भाव र असिमित हास्यरस पाइन्छ ।”   सायद त्यही भएर होला, समय मिल्ने बित्तिकै प्रधानमन्त्री ओलीलाई रचनागर्भको हुटहुटीले तानिहाल्छ ।   यसअघि तत्कालीन समयमा पनि प्रधानमन्त्री रहनुुभएका ओलीले २०७५ असार ३० गते चन्द्रागिरिमा मदन भण्डारी फाउण्डेसन अन्तर्गतको कला साहित्य प्रतिष्ठानले आयोजना गरेको तीनदिने हिमवतखण्ड कला साहित्य सम्मेलनको समापनका अवसरमा सोही स्थलमा बसेर बिना शीषर्कको कविता लेख्नुुभएको थियो ।   “परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र ? बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ । मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ सगरमाथा, लुम्बिनी, मेची, महाकाली हाम्रा लह–लह खेत बारी, झपक्क कान्ला र आली सपनामा भए पनि देख्न पाउँ चन्द्रागिरिको डाँडामा आएर सपनामा भावी सन्तती मुस्कुराएको देख्न पाउँ तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्ने बताउनुभएको छ ।   नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित ‘सिस्नोपानी देउसी कार्यक्रम–२०८१’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार देशको विकास र आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको बताउनुभयो ।   “देशमा विकास भएको छ, राम्रा काम भएका छन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “देश बनाउने काम एकछिनमा हुने कुरो होइन । देश क्रमशः विकासको गतिमा अघि बढेको छ तर, विरोधीले विकास केही भएको छैन भनेर आलोचना मात्रै गरिरहेका छन् । त्यसैले सकारात्मक भएर सबै राष्ट्र निर्माणमा एकजुट हुनुपर्छ ।”   प्रधानमन्त्री ओलीले कसैप्रति कुरा राख्दा सत्यतामा आधारित सभ्य तथा मर्यादित भाषामा राखेको खण्डमा नेपालीको सभ्यता र संस्कृति झल्कने बताउनुभयो । उहाँले भन्नुभयो, “निराश भइहाल्नुपर्ने अवस्था छैन । गालीगलौजको असभ्य प्रस्तुति हैन, सभ्य ढङ्गले जानुपर्छ ।   गल्ती गर्नेलाई गुनासो गर्न पाइन्छ, तर, मेरो आग्रह के मात्रै हो भने एउटा सिष्ट, सभ्य र मर्यादित भाषामा बोल्ने गरौँ, जुन हामी नेपालीको सभ्यता र संस्कृति हो ।”   सरकारले देशको राष्ट्रियतालाई डगमगाउन नदिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।   “सरकारले यो देशको राष्ट्रियता डगमगाउन दिँदैन, राष्ट्रिय स्वाभिमानलाई कायम राख्दै जनअपेक्षाअनुरुप कामलाई तीव्रताका साथ अगाडि बढाउछ”, उहाँले भन्नुभयो । पार्टीको केन्द्रीय कार्यालय निर्माणमा व्यवसायी मीनबहादुर गुरुङको सहयोगको सन्दर्भमा प्रधानमन्त्री ओलीले सहयोग गरेको विषयलाई अनावश्यक नउचाल्न पनि आग्रह गर्नुभयो ।   सो अवसरमा प्रधानमन्त्री ओलीले सबै नेपाली नागरिकमा शुभ दीपावलीको हार्दिक शुभकामना पनि व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले तिहार पर्व, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।   बुधबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले यमपञ्चकको पाँच दिनसम्म मनाइने तिहार प्रकाशको पर्व पनि रहेकाले दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्नुभएको हो ।   सन्देशमा उल्लेख छ – ‘पशुपंक्षी र वनस्पतिलाई सम्मान स्वरूप प्रत्येक नेपालीको घरघरमा काग, कुकुर, गाई, गोवर्द्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको छ। तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको छ ।’   शुभकामना सन्देशमा यस पर्वको अभिन्न अंगको रूपमा रहेको देउसी–भैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ हुने विश्वास लिँदै सभ्य ढंगले देउसी – भैलो खेल्नुका साथै जुवातास जस्ता नकारात्मक पक्षलाई हटाउनुपर्नेमा उहाँले जोडदिनुभएको छ ।   तिहार पर्वले सबै नेपालीमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै “समृद्ध नेपाल, सुखी नेपाली” को साझा राष्ट्रिय संकल्प हाँसिल गर्न सहयोग पुग्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त पनि उहाँले गर्नुभएको छ ।