काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी(एमाले)को पोलिटब्यूरो बैठक आज पनि बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पोलिटब्यूरो दिउँसो बैठक साढे १२ बजे बस्न थालेको हो । एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले बैठकमा हिजो पार्टी महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्नुभएको पार्टीको वार्षिक कार्ययोजनामाथि पोलिटब्यूरो सदस्यले आआफ्नो सुझाव दिने कार्यतालिका रहेको बताउनुभयो । उहाँका अनुसार प्रत्येक पोलिटब्यूरो सदस्यलाई सुझाव दिनका लागि तीन मिनेटको समय छुट्टयाइएको छ । पोलिटब्यूरो सदस्यले सुझाव दिइसकेपछि कार्ययोजनालाई पारित गरिने जनाइएको छ । आजसम्म चल्ने पोलिटब्यूरो बैठकको समापन समारोहलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिकासमेत रहेको कार्यालय सचिव डा अधिकारीले बताउनुभयो ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा ९एमाले०का बागमती प्रदेश इञ्चार्ज डा राजन भट्टराई नेतृत्वको टोलीले आज भेट गरेको छ । नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौँ महानगर पालिकाका प्रमुखले जारी गरेको परिपत्रका सम्बन्धमा ध्यानाकर्षण गराउन डा भट्टराई नेतृत्वको एमालेको प्रतिनिधिमण्डलले कांग्रेस सभापति देउवालाई बूढानीलकण्ठस्थित निवासमा भेट गरेको हो । भेटमा सभापति देउवाले सर्वोच्च अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरावलोकनमा जानुपर्ने विषयमा सहमति जनाउँदै कानुनमन्त्रीलाई छिटोभन्दा छिटो पुनरावलोकनमा जानका लागि आवश्यक पहल लिन निर्देशन दिनुभयो । भेटमा एमालेका बागमती प्रदेश इञ्चार्ज डा भट्टराई, काठमाडौँ जिल्ला इञ्चार्ज आनन्द पोखरेल, काठमाडौँ जिल्लाका अध्यक्ष दीपक निरौलालगायत पदाधिकारीहरुको सहभागिता थियो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आजदेखि सुरु पोलिटब्युरो बैठकमा पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गरिएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा महासचिव शङ्कर पोखरेलले पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । कार्ययोजनामा पार्टी सदस्यता, विस्तार र अभिलेखीकरण, पार्टी र जनवर्गीय सङ्गठनका नियमित अधिवेशन, पार्टी कमिटी तथा नेता र कार्यकर्ताको मूल्याङ्कन गरिने कुरा समेटिएको उहाँले बताउनुभयो । “पार्टी कमिटीले दिएका काम पूरा गर्छ कि गदैनन्, क्रियाशील छ कि छैनन् भनेर जोड दिइएको छ । विधिसम्मत तरिकाले पार्टी कमिटी चलेका छन कि छैनन् भनेर पनि मूल्याङ्कन गर्ने विषय पनि कार्ययोजनामा राखिएका छन्”, प्रचार विभाग प्रमुख गौतमले भन्नुभयो । यस्तै सरकार र जनप्रतिनिधिको प्रभावकारिता परिचालन गर्ने, सरकारले गरेका कामलाई जनस्तरमा लगेर स्थापित गर्ने कुरा पनि कार्ययोजनामा राखिएको जनाइएको छ । प्रत्येक पार्टी कार्यालयलाई प्रविधिमैत्री बनाउने, प्रचार कार्यलाई थप प्रभावकारी बनाउने, पार्टी कार्यालयमा प्रचार डेस्क स्थापना र सामाजिक सञ्जालमार्फत पार्टीका गतिविधि सञ्चालन गर्ने विषय पनि उल्लेख गरिएका छन् । भूमिका नपाएका नेता तथा कार्यकर्तालाई जिम्मेवारी दिइने र पार्टीका प्रत्येक तहका कमिटीले स्रोत सुनिश्चित गरेर बजेट निर्माण गर्ने कुरा पनि समेटिएको छ । प्रचार विभाग प्रमुख गौतमले एमाले केन्द्रीय कार्यालय भवन निर्माण गर्न समिति गठन गरेर चाँडै काम सुरु गर्ने विषय पनि कार्ययोजनामा रहेको बताउनुभयो । कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन एमालेले विश्वभरका कम्युनिष्टहरूको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । प्रचार विभाग प्रमुख गौतमकानुसार माक्र्सवादको सिर्जनात्मक प्रयोग र सम्बन्धित मुलुकको अनुभवमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलन आगामी मङ्सिर वा वैशाखमा महिनामा गर्ने गरी छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । भोलि सबै पोलिटब्युरो सदस्यले आ–आफ्नो भनाइ राख्ने कार्यतालिका छ । कार्ययोजनालाई पोलिटब्युरो सदस्यको सुझावका आधारमा अन्तिम रूप दिएपछि सार्वजनिक गरिने प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा सचिवालय बैठकबाट तयार पारेको पार्टी कामको योजना र समसामयिक राजनीतिक अवस्थाका विषयमा विस्तृत छलफल हुने जानकारी दिनुभयो । उहाँका अनुसार कार्ययोजनामा सदस्यता नवीकरण र अभिलेखीकरणलाई अझ व्यवस्थित गर्ने, बाँकी जिल्ला अधिवेशन तथा पालिका अधिवेशन समयमै व्यवस्थित रूपमा सम्पन्न गर्ने उल्लेख छ । यसैगरी, बैठकमा कार्ययोजनामा पार्टी प्रवेश गर्नुभएकालाई तीन महिनाभित्र कमिटीमा जिम्मेवारी दिइने उल्लेख छ । पार्टीको केन्द्रमा एक र सातै प्रदेशमा पार्टी स्कूलका स्थायी संरचना खडा गर्नेसमेत कार्ययोजनामा समेटिएको छ । सबै पार्टी सदस्यले वर्षको एकपटक अनिवार्य रुपमा पार्टी स्कूलबाट दीक्षित हुनेगरी ढाँचा तयार गरिएको जनाइएको छ । साथै कार्ययोजनामा प्रचार कार्यलाई थप व्यवस्थित बनाउने र कमिटीलाई बजेट बनाएर कामलाई अगाडि बढाउने कुरा उल्लेख गरिएका छन् । यस्तै, पार्टीको हरेक वर्षका लागि तय भएका र बाँकी रहेका काम पार्टीको इतिहास लेखन, ‘सेल्टर’ पुस्तक प्रकाशन र अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नेलगायत महत्वपूर्ण कार्य कार्ययोजनामा समेटिएको प्रमुख गौतमले जानकारी दिनुभयो ।
काठमाडौं: राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको पछिल्लो नतिजामा व्यापक मात्रामा अनियमितता भएको विवरण सार्वजनिक भएकाले सत्यतथ्य छानबिन गर्न माग गर्नुभएको छ । शून्य समयमा बोल्दै सांसदहरुले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद कृष्णप्रसाद पौडेलले चिकित्सक शिक्षा आयोगले प्रकाशित गरेको नतिजामा लापरबाही गरेको पाइएकाले सत्यतथ्य पत्ता लगाउन माग गर्नुभयो । सांसद गोमादेवी तिमिल्सिनाले पनि चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको परीक्षाको विश्वसनीयताप्रति प्रश्न उठेको भन्दै सत्यतथ्य पत्ता लगाउन माग गर्नुभयो । सांसद भुवनबहादुर सुनुवारले माध्यमिक शिक्षा परीक्षामा देखिएको विकृति पुनः चिकित्सा शिक्षासँग सम्बन्धित परीक्षामा पनि उस्तै अवस्था देखिएकाले दोषीमाथि कारबाही गनुपर्नेमा जोड दिनुभयो । यस्तै, सांसद उर्मिला अर्यालले सञ्चार तथा सूचना प्रविधिमन्त्रीले केही दिनपहिले प्रहरी प्रमुखका सम्बन्धमा दिनुभएको भनिएको अभिव्यक्तिका बारेमा सत्यतथ्यसहित यथार्थ कुरा सदनलाई जानकारी गराउन माग गर्नुभयो । सांसद नारायणदत्त मिश्रले ब्राजिलको विमानस्थलमा नेपाली अलपत्र परिरहेको तथा रसियामा पनि नेपालीको अवस्था उस्तै रहेको बताउनुभयो । सांसद मदनकुमारी शाह गरिमाले रसियाले गैरकानुनी रुपमा नेपाली नागरिकलाई सेनामा भर्ना गरेको र हालसम्म ४० नेपालीको निधन भइरहेको पाइएकाले तत्काल नेपाली नागरिकको जीवन सुरक्षाका लागि पहल गर्न माग गर्नुभयो । सांसद युवराज शर्माले सङ्घीय प्रणालीलाई सुदृढ बनाउनका लागि प्रहरी समायोजनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कैलाली: गृहमन्त्री रमेश लेखकले देशका पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य नहुने बताउनुभएको छ । प्रेस युनियन कैलालीले आज धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले विशिष्ट परिस्थितिमा नेपाली कांग्रेस र नेपाल कम्ष्युनिष्ट पार्टी (एमाले) मिलेर सरकार बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्यतया संसदीय अभ्यासमा देशको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा हुँदैन, विशिष्ट परिस्थितिमा हामीले मिलेर सरकार बनाउने गरेका छौँ ।” इतिहासमा कांग्रेस र एमाले मिल्दा सुखद परिणाम प्राप्त गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “खास गरेर देशमा महत्वपूर्ण ‘एजेन्डा’ हुन्छन्, त्यस्ता एजेन्डालाई हामीले मिलेर सम्बोधन गरेका छौँ ।” गृहमन्त्री लेखकले स्थिर सरकारका लागि स्थिर समीकरण बनाउनु परेको उल्लेख गर्दै शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन, भष्ट्राचार नियन्त्रण गरेर सुशासन कायम गर्न, विकास निर्माणका गतिविधिलाई द्रुत गति दिन तथा मुलुकमा विधिको शासन स्थापना गर्न नयाँ समीकरण बनेको बताउनुभयो । “हामीले मिलेर संविधान बनायौँ, नेपाली कांग्रेसले निरङ्कुश पञ्चायती व्यवस्थासँग लड्नका लागि कम्युनिष्टसँग मिलेर बहुदलीय प्रजातन्त्रको स्थापना ग¥यौँ”, उहाँले भन्नुभयो, “दशवर्षे माओवादी सशस्त्र सङ्घर्षलाई मिलेर नै शान्तिमा रुपान्तरण ग¥यौँ ।”
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे पोलिटब्यूरो बैठक बस्न थालेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदालाई सुझावसहित अन्तिम रुप दिइने छ । बैठक आज र भोलि दुई दिन बस्ने जनाइएको छ । एमालेमा ९५ जनाको पोलिटब्यूरो रहेको छ ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य कर्णबहादुर बुढा प्रमुख रहनुभएको वित्तीय संस्था समन्वय विभागमा आज १० जना सदस्य मनोनित गर्नुभएको छ । यसैगरी उहाँले आजै केन्द्रीय सदस्य दिनेश कोइराला प्रमुख रहनुभएको पूर्वआप्रवासी समन्वय विभागमा १० सदस्य मनोनित गर्नुभएको छ । वित्तीय संस्था समन्वय विभागमा भीमकुमार चौधरी, गणेश यादव, धरम ब्लोन (लामा), विष्णुप्रसाद घोरासैनी, सुरेन्द्रनाथ शर्मा, चीरञ्जीवी नेपाल, धु्रव पुन, डिलमान चन्द, दिनेश जोशी र लक्ष्मी शाह मनोनित हुनुभएको हो । यसैगरी पूर्वआप्रवासी समन्वय विभागमा रामेश्वर शाह, यदुनाथ पाण्डे, सुभाष लोहनी, विज्ञान प्रसाईं, रामबहादुर कोङलिवा लिम्बू, नविन पोखरेल, कृष्णप्रसाद लम्साल, पूर्ण कोइराला, उमा कार्की र बालकुमारी सुनार मनोनित हुनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकार)को २३औँ राष्ट्रिय सम्मेलन आगामी असोज पहिलो साता हुनेभएको छ । क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले आगामी असोज २ देखि ५ गतेसम्म सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले अहिलेसम्मका लागि जिल्ला अधिवेशन भइरहेको समेत बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएको छ । सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको केन्द्रीय कमिटी चयन गर्ने महासचिव दीपेश पुनले जानकारी दिनुभयो । उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्नेछन् । यस्तै, वर्तमान केन्द्रीय कमिटीले सम्मेलनमा सहभागी हुनका लागि आ–आफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए । सम्मेलनको उद्घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान र बन्द सत्र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभा हलमा हुने छ । क्रान्तिकारीले यही भदौ २० गतेसम्म जिल्ला अधिवेशन गरिसक्नुपर्ने निर्देशन दिएको छ ।