काठमाडौं:  नेकपा (एकीकृत समाजवादी)ले पार्टी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी अनुशासन आयोगले पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण मागेको हो । युवा सङ्गठन...

पोखरा:  एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद तथा गोपनियताको सपथ आगामी २३ गते (शुक्रबार) हुने भएको छ ।    सो अधिवेशनबाट अधिवेशनले बैन बहादुर अधिकारी क्षत्रीको नेतृत्वमा १२१ सदस्यीय कमिटी निर्वाचित भएको थियो ।   ३ वर्षे कार्यकालका लागि निर्वाचित उक्त कमिटीको पदस्थापना निर्वाचन भएको ९ दिनपछि मिति तय भएको नवनिर्वाचित अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।   उनका अनुसार सो कार्यक्रमलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी छ ।   एमाले स्याङ्जाको चैत २३–२४ गते हुने नवौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा जाने क्रममा अध्यक्ष ओली कास्कीको सपथ समारोहमा सहभागी हुने उनले बताए ।

मकवानपुर:    बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की प्रदेशसभा सदस्य रमा आलेमगरलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । बागमती प्रदेशका प्रमुख शर्माले नवनियुक्त मन्त्री आलेमगरलाई आजै पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री जम्कट्टेल, सभामुख भुवनकुमार पाठक, उपसभामुख अप्सरा चापागाईँ, मन्त्रीहरू र विभिन्न राजनीतिक दलका नेता तथा विभिन्न मन्त्रालयका सचिव सहभागी थिए । नवनियुक्त मन्त्री आलेमगर काठमाडौँ क्षेत्र नं १० (२)  बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

काठमाडौं:    नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आजको बैठकले आगामी वैशाख १५ गते हुने इलाम-२ को प्रतिनिधिसभा र बझाङ– १ प्रदेशसभाको उपनिर्वाचनमा पार्टीबाट उठाउने उम्मेदवारको टुंगो लगाउने बुझिएको छ । उपनिर्वाचनका लागि अन्य दलहरूले उम्मेदवारको टुंगो लगाइसके पनि कांग्रेस भने छलफलमै रहेको छ । कांग्रेसको निर्वाचन क्षेत्रीय समिति, जिल्ला र प्रदेश कार्यसमितिले उम्मेदवारका आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिसकेका छन् । इलाम-२ का लागि कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का, नेताहरू भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शशिकला राई गरी सात जनाको नाम सिफारिस भएको छ । यसअघि, सभापति देउवाले हिजो इलाम-२ को सन्दर्भमा रिपोर्ट लिएका थिए । इलामको अध्ययन गर्न महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङदम्बे र कोशी प्रदेश सभापति उद्धव थापा खटिएका थिए ।

लमजुङ:     नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका छन् । कमिटिको नवौँ जिल्ला अधिवेशनको सोमबार सम्पन्न मतगणना अनुसार कृष्णप्रसाद अधिकारीलाई ८९ मतअन्तरले हराउँदै विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदमा नवनिर्वाचित विष्टले दुई सय ८८ मत प्राप्त गरे । बेँसीशहर नगरपालिका–११ मा घर भएका विष्ट यसअघि एमाले बेँसीशहर नगर कमिटिको अध्यक्ष थिए । यसअघिका जिल्ला अध्यक्षसमेत रहेका अधिकारीले एक सय ९९ मत प्राप्त गरे । विष्ट र अधिकारीले आ–आफ्नै प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए । उपाध्यक्षसहित उपसचिवसमेतमा विष्ट पक्ष विजयी भएका छन् । यस कमिटिको उपाध्यक्षमा यसअघिका जिल्ला सचिव शुभाष पौडेलाई पाँच मतअन्तरले हराउँदै जीतबहादुर गुरुङ निर्वाचित भए । गुरुङले दुई सय ४२ मत प्राप्त गरे भने पौडेलले दुई सय ३७ मत प्राप्त गरे । त्यस्तै, सचिवमा जनकराज मिश्रलाई दुई सय ३९ मतअन्तरले हराउँदै राजेन्द्र बोहोरा विजयी भए । राजेन्द्रले तीन सय ५८ मत प्राप्त गरे भने मिश्रले एक सय १९ मत प्राप्त गरेका थिए । उपसचिवमा राजेन्द्र अधिकारीलाई दुई सय २० मत अन्तरले हराउँदै विवश बुढाथोकी विजयी भएका छन् । बुढाथोकीले दुई सय ४९ मत प्राप्त गरे भने अधिकारले एक सय २९ मत प्राप्त गरे ।   सहसचिव महिलातर्फ भने आइतबार नै राममाया राना मगर निर्विरोध निर्वाचित भइन् । आइतबार भएको मतदानमा पाँच सय ३२ जना सहभागी हुनुपर्नेमा पाँच सय छ जनाले गरेका थिए । निर्वाचित कमिटिको कार्यकाल तीन वर्षे रहने छ ।

काठमाडौं:    बागमती प्रदेशसभाका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो १ बजे प्रदेशसभा भवन हेटौँडामा बस्ने बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।   प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार आजको बैठकमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुनेछ । बाग्मती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन् ।   सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । कांग्रेसले समर्थन फिर्ता लिएको चैत २२ गते एक महिना पूरा हुँदैछ । ११० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री जम्कट्टेललाई बहुमत जोगाइराख्न ५६ सांसदको आवश्यकता पर्दछ । बागमती प्रदेशमा सत्तापक्षमा रहेका नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन् । यस्तै, प्रतिपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सदस्य छन् ।

काठमाडौं:    संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । सभामुखको विदेश भ्रमणका लागि दश दिन स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजबाट लगातार चैत २१ गतेसम्म चार दिन प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने कार्यतालिका रहेको छ । आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गर्ने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि छलफल गर्ने कार्यक्रम रहेको छ । साथै बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, भन्सार विधेयक लगायत विषयमा प्रस्ताव प्रस्तुत गरिने कार्यसुची रहेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ । यसैबीच हिजो सभामुख देवराज घिमिरेले नयाँ कार्यतालिका अनुसार संसदको काम कारवाहीलाई सहज रुपमा अघि बढ्ने बातावरण बनाउन दलहरुसंग आग्रह गर्नुभएको छ । संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र सचेतकहरुसंग छलफल गर्दै सदनको अवरोध हटाई नयाँ कार्यतालिका अनुसार सदनलाई सहज रुपमा अघि बढाउने वातावरण बनाउन आग्रह गर्नुभएको हो । छलफलपछि कांग्रेस सचेतक सुशिला थिङलेले राजनीति दलसम्बन्धी विधेयक विवादमा जोडिएकाले यसलाई २७ गतेको बैठकसम्म सार्ने सहमति भएको बताउनुभयो । साथै गृहमन्त्रीका बारेमा संसदीय छानविन समिति बनाउनुपर्ने अडान कायमै रहेको उहाँको भनाइ छ । एमाले मुख्य सचेतक महेश बर्तौलाले सदनलाई सहज रुपमा सञ्चालन गर्न प्रतिपक्षीले पनि उचित वातावरण बनाउनुपर्ने र सरकारले पनि सदनलाई विजनेश दिनुपर्ने बताउनुभयो । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कार्यतालिकालाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको बताउनुभयो । त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्रीको बिषयमा उठेका बिषयको जवाफ सम्बन्धीत व्यक्तिले दिन पाउनुपर्ने र रास्वपा त्यसका लागि सदैव तयार रहेको बताउनुभयो ।

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्ली राज भट्टले स्वस्थ नागरिक समृद्ध मुलुकको आधार रहेको बताउनुभएको छ ।   स्वस्थ खानपान र जीवनशैलीले रोग लाग्न नदिने र रोग लागेमा आयुर्वेदिक औषधोपचारमा जोड दिन पनि उहाँले आग्रह गर्नुभयो ।   गण्डकी आयुर्वेद औषधालय, कास्की र जिल्ला नागरिक आरोग्य समिति, कास्कीको संयुक्त आयोजना तथा जिल्ला समन्वय समितिको समन्वयमा पोखरामा शुक्रबार आयोजित नागरिक आरोग्य अभियान, आयुर्वेद सेवा सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।   योग, ध्यान, सिद्धि, उचित खानपान एवं आयुर्वेद औषधोपचार गर्ने व्यक्ति दीर्घजीवी हुने गरेको भन्दै प्रदेश प्रमुख भट्टले आफूपनि ७७ वर्षको उमेरमा स्वस्थ, तन्दुरुस्त भएको उदाहरण प्रस्तुत गर्नुभयो ।   ‘स्वस्थ जीवन भएमा मात्र मुलुकको आर्थिक समृद्धि कायम हुनेछ । योग, ध्यान, साधना र व्यायामले व्यक्तिमा सकारात्मक सोचको विकासमा प्रेरणा मिल्छ ।’ उहाँले भन्नुभयो– ‘ मानव जीवनको सबैभन्दा महत्वपूर्ण र संवेदनशील पाटो नै स्वास्थ्य हो । त्यसैले स्वास्थ्य क्षेत्रको विकासलाई समग्र देशकै विकास र समृद्धिसंग जोड्नुपर्छ । नागरिक स्वस्थ भए मात्रै मुलुक स्वस्थ बन्न सक्छ ।’   प्रदेश प्रमुख भट्टले जैविक विविधताका कारण नेपाल आयुर्वेदिक औषधीको विकासका लागि निकै उपयोगी क्षेत्र भएको बताउनुभयो ।   देशमा उम्रिएका जडिबुटीले औषधिको काम गर्ने भएकाले आयुर्वेदको प्रवद्र्धन गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । आयुर्वेदिक औषधिले अन्य रोग ननिम्तने भएकाले मानव स्वास्थ्य राम्रो बनाउन आयुर्वेदिक उपचार पद्धतिलाई प्रवद्र्धन गरिनुपर्ने बताउनुभयो ।   ‘मानव सभ्यतालाई जिवन्त राख्न र स्वस्थ एवं समृद्ध समाजको कल्पना तब मात्र साकार पार्न सकिन्छ जब राष्ट्रको हरेक नागरिक निरोगी हुन्छन्।’ – उहाँले भन्नुभयो ।   नेपालमा आयुर्वेदिक औषधोपचारलाई प्रवद्र्धन गर्नका लागि यस्ता आयुर्वेद सेवा सम्बन्धी अन्तक्र्रिया एवं योजना तयार सम्बन्धी छलफलले टेवा पुग्ने उहाँले बताउनुभयो ।

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।   बिहीबार केन्द्रीय कार्यालयमा उम्मेदवारका ६ जना आकांक्षीहरूसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।   वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ। त्यसका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ।   लिम्बू लामाेसमयदेखि पत्रकारितामा सक्रिय रहदै आएका छन् ।  

 मकवानपुरः   बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १९ चैतमा विश्वासको मत लिने भएका छन् ।   शुक्रबार मुख्यमन्त्रीको दल नेकपा माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकालले जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् ।   २३ फागुनमा नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २२ चैतभित्र विश्वासको मत लिनुपर्नेछ ।   ११० सदस्यीय प्रदेशसभामा उनले ५६ मत जुटाएमा उनी मुख्यमन्त्रीमा कायम रहनेछन् । बिहीबार नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सहमति भएपछि मुख्यमन्त्रीले आवश्यक बहुमत जुटाएका छन् । बागमतीमा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।