म्याग्दी: म्याग्दीका जनप्रतिनिधिको टोलीले जिल्लाका दुरगामी महत्वका विकास आयोजनामा बजेट व्यवस्थापनका लागि आज प्रधानमन्त्री र विभागीय मन्त्रीको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), अर्थमन्त्री वर्षमान पुन, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठसँगको भेटमा सङ्घीय सरकारमार्फत म्याग्दीमा सञ्चालित आयोजना निर्माणलाई गति दिने विषयमा पनि छलफल भएको छ । सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र)का म्याग्दी जिल्ला संयोजक रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, माओवादी केन्द्रका युवा नेता नगेन्द्र केसी सहभागी भएका थिए । माओवादी केन्द्रका केन्द्रिय सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज दिननाथ शर्मा र गण्डकी प्रदेशसभाको संसददीय दलका नेता हरिबहादुर चुमानसमेत सहभागी प्रधानमन्त्री दाहालसँगको भेटघाटमा गण्डकी प्रदेशमा नयाँ सरकार गठनका विषयमा पनि छलफल भएका प्रदेशसभा सदस्य भण्डारीले बताए । “भेटघाटका क्रममा म्याग्दीका विकास आयोजना कार्यान्वयनको अवस्था, थप आयोजना, नीति निर्माण र राजनीतिक विषयमा छलफल भयो,” उनले भने, “बेनी अस्पतालको भवन, मालढुङगा–बेनी, बेनी–जोमसोम सडक, बृहत पिप्ले–भगवती, घोप्टेखोला खानेपानीलगायत सङ्घीय सरकारमार्फत सञ्चालित योजनामा भएको ढिलाइका विषयमा ध्यानाकर्षण गराएका छौँ ।” बृहत पिप्ले–भगवती खानेपानी आयोजनाका लागि खानेपानी मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको प्रस्ताव स्विकृत गर्न अर्थमन्त्री पुनलाई अनुरोध गरिएको प्रदेशसभा सदस्य भण्डारीले बताए । प्रधानमन्त्री, अर्थमन्त्री र योजना आयोगका उपाध्यक्ष डा श्रेष्ठलाई बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन– रुकुम पूर्व जोड्ने सडकलाई मध्य पहाडी लोकमार्गको बैकल्पिक मार्ग बनाउन प्रस्ताव गरिएको उनले बताए । बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि बजेट व्यवस्था मिलाउन पनि अर्थमन्त्रीलाई टोलीले अनुरोध गरेको टोलीले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसँग बेनी बजार संरक्षण आयोजनालाई पूर्णता दिन थप बजेट व्यवस्थापन, बगरफाँट, सिङ्गा, तातोपानी, बाबियाचौर, दरवाङ, गलेश्वर, तिप्ल्याङ, भुरुङ्ग–तातोपानी, पोखरेबगरलगायत तटीय बस्ती संरक्षणका लागि नयाँ आयोजना माग, निर्माणाधिन राहुघाटलगायत जलविद्युत, विद्युतिकरण र प्रशारण लाइन आयोजनालाई गति दिने विषयमा छलफल भएको थियो । टोलीले सहरी विकास मन्त्री धनबहादुर बुढा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबिर महासेठ, खानेपानी मन्त्री राजेन्द्र राई, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङसँग पनि भेटघाट गरेर विकास आयोजनामा बजेट व्यवस्थापनका विषयमा छलफल गर्ने कार्यक्रम रहेको जनाएको छ ।
पोखरा: नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशन पोखरा समागृहमा जारी छ । नयाँ नेतृत्वका लागि सहमति जुटाउने प्रयासभएपनि संभावना नदेखिएपछि आज (मंगलबार) दिउँसो साढे १ बजेदेखि मतदान हँुदैछ । आज हुने चुनावमा पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारी र उपमहासचिव पृथ्वीसुब्बा गुरूङको प्यानल खडा गरेरै चुनावी मैदानमा उत्रिएका छन् । यद्यपी गुट उपगुट नभएको भन्दै यसलाई प्रजातान्त्रिक पद्धतीको परिभाषा दिइएको छ । तर यो चुनाव दुई गुटबीच हुँदैंछ । जसलाई केआर र पिएस नामबाट सम्बोधन गर्ने गरिएको छ । के आर समूहबाट अध्यक्ष पदका लागि बैन बहादुर क्षेत्री चुनावी मैदानमा छन् भने पिएस गुटबाट माधव बास्तोलाले टक्कर दिदैंछन् । यस्तै सचिवमा के आरको समूहबाट लेख बहादुर (दर्शन) लामा तामाङ उम्मेदवार छन् भने पिएस समूहबाट सुरेन्द्र गुरुङ उम्मेदवार छन् । विद्युतीय मेसिनबाट मतदान गराउने तयारी रहेको निर्वाचन कमिटीले जनाएको छ । १ सय २० सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नका लागि कुल ९ सय ३५ जना प्रतिनिधिले मदतान गर्नेछन् । यस्तो छ प्रचार समाग्री:- बैन बहादुर क्षेत्री दर्शन लामा माधव बास्तोला सुरेन्द्र गुरुङ
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराएका छन् । सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)का सांसद कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको शपथ ग्रहण गराएका हुन् ।
बेइजिङः जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीनको राजधानी बेइजिङ आइपुगेका छन् । बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ अधिकारीलगायतले स्वागत गरे । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ उनका चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आएका हुन् । चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी तथा बेइजिङ र अन्य प्रान्तहरुमा चीनका उच्चस्तरका विभिन्न व्यक्तित्वसँग भेट गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री श्रेष्ठले आजै चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी) का केन्द्रीय अध्यक्ष वाङ हुनिनसँग भेटवार्ता गर्ने छन् । त्यस्तै उनले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग (आइडिसिपिसी) का उपमन्त्री सुन हाइयानसँग पनि भेट गर्ने कार्यक्रम छ ।
चितवन: राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको बताएका छन् । आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा राष्ट्रियसभाले काम गर्ने उल्लेख गरे । प्रदेश र स्थानीय तहका भावना, समस्या, जटिलता र सम्भावना राष्ट्रियसभामा विषयवस्तु बनाएर छलफल सुरु गरिसकिएको अध्यक्ष दाहालको भनाइ छ । त्यहाँ छलफल भएका विषयवस्तु प्रतिनिधिसभा हुँदै सरकारसम्म पुग्ने उनले बताए । हरेक महिनाको अन्तिम साता सातै प्रदेशका समस्या र ती समस्या समाधानका विषयमा राष्ट्रियसभामा छलफल सुरु गरिएको अध्यक्ष दाहालले बताए । उनले भने, “प्रदेशका सबै काम कारबाहीका बारेमा सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने माननीयले कुरा उठाउने व्यवस्था गरेको छु ।” तीनै तहका सरकारलाई जोड्ने काममा राष्ट्रियसभाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने अध्यक्ष दाहालले बताए । राष्ट्रिय सभाको महत्व स्थापित गर्न आफू लागि पर्ने उल्लेख गर्दै उनले अझै पनि राष्ट्रियसभाको महत्व धेरैले बुझ्न नसकेको बताए । विगत ६ वर्षको अवधिमा राष्ट्रियसभामा चार विधेयक उत्पत्ति भएको उल्लेख गर्दै अध्यक्ष दाहालले ती सबै सर्वसम्मत रुपमा पारित गरी पठाएको बताए। राष्ट्रियसभामा राजनीतिकभन्दा पनि आवश्यकताका आधारमा छलफल हुने गरेको अध्यक्ष दाहालको भनाइ थियो ।
सुर्खेत: नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । यस्तै, उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव (खुला)मा टिकाराम सोमै निर्वाचित भएको एमाले सुर्खेतले जनाएको छ । यसैगरी महिला (सचिव)मा सुशीला विश्वकर्मा निर्वाचित भइन् । सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
काठमाडौं: वैशाख १५ गते इलाम २ मा हुने उपनिर्वाचनमा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ । इलाम२ मा उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुङ्गो लगाएको हो । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको हो । २०७९ को निर्वाचनमा निर्वाचित सुवासचन्द्र नेम्वाङको हृदयाघातका कारण गत भदौ २६ गते मृत्यु भएपछि यहाँ उपनिर्वाचनको हुने भएको हो । एमालेले यो स्थानमा नेम्वाङकै छोरालाई उठाएको हो । प्रतिनिधि सभा निर्वाचन २०७९ मा एमाले भर्सेस गठबन्धनले चुनावी प्रतिस्पर्धा गरेका थिए । त्यस बेला एमालेका उम्मेदवार नेम्बाङले ३० हजार २० मत ल्याएका थिए भने गठबन्धनका तर्फबाट कांग्रेस नेता खड्काले २९ हजार ९०६ मत पाएका थिए । इलामका दुई वटै क्षेत्रमा गठबन्धनलाई हराउँदै एमाले उम्मेदवारहरू विजयी बनेका थिए । गत निर्वाचनको तथ्यांकलाई आधार मान्ने हो भने इलाम–२ मा एमाले एक्लैको मत ३० हजार छ ।
पोखरा: लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशमा जीतबहादुर गुरुङ निर्वाचित भएका छन् । शनिबार भएको प्रदेशको प्रथम अधिवेशनले गुरुङको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा भीमबहादुर दुरा र चिज्याँ श्रेष्ठ, सचिवमा क्या. बुद्धिबहादुर थापामगर र नरबहादुर भुजेल निर्वाचित भए । सहसचिवमा चनसुबा छन्त्याल, चेतबहादुर कुमाल र गोपाल भट्टचन चुनिए । अधिवेशनले २३ कार्यसमिति निर्वाचित गरेको प्रचारप्रसार उपसमिति संयोजक राजबहादुर गुरुङले जानकारी दिए । कोषाध्यक्ष निर्वाचित सदस्यहरुबाट बैठकले निर्णय गर्ने उनले सुनाए । भने, उनका अनुसार केही सदस्यहरु पछि मनोनित गरिनेछ । अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका उपसभापती तथा उप प्रधानमन्त्री पूर्णबहादुर खड्काले गरेका थिए । कार्यक्रममा उनले पार्टी संगठनलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए । उनले पार्टीका भातृ एवम् शुभेच्छुक संगठनहरू बलियो र क्रियाशील हुन जरुरी रहेको सुनाए । आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बलियो बनाउन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । उनले फरक प्रसंगमा उपसभापति खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेर दिएको धोकाको बताए । उनले ४ मंसिर २०७९ को निर्वाचनका बेला मतदातालाई दिएको वचन पालना नगरेर प्रचण्डले धोका दिएको बताएका हुन् । ‘यसको जवाफ आम मतदाताले समय आउँदा दिनुहुनेछ, त्यसको जवाफ राजनीतिक नेतृत्वले आवश्यक पर्दा दिनेछ’, उनले भने, ‘भन्नुपर्ने कुराहरु धेरै छन् । यसको जवाफ समयले पनि देला ।’ उपसभापति खड्काले संसद् विघटन गर्ने, संघीयता कार्यान्वयन नगर्ने, संविधानलाई गलत बाटोतर्फ लैजाने, लोकतन्त्रलाई अन्य दिशातर्फ मोड्न थाल्ने विरुद्ध संविधानको रक्षा, संघीयता कार्यान्वयन र मुलुकको आर्थिक उन्नति र प्रगतिका लागि कांग्रेस खरो भएर उत्रने बताए । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष ओमबहादुर घर्तीले विद्यमान संविधान संशोधन गरी राज्य पुनसंरचना गर्नुपर्ने आवश्यकता रहेको बताए । धेरै जनताले बोल्ने भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागूगर्न संविधान संशोधन गर्नु पर्ने, आदिवासी जनजातिको अधिकारलााई नेपालको संविधानको मौलिक हकमा राख्नुपर्नेमा उनको जोड थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा गुरुङ मगरहरुको बाहुल्यता रहेकाले महासंघ बलियो हुँदा कांग्रेस सबल हुने बताए । आदिवासी जनजातिले प्रजातन्त्रको रक्षा पहिल्यैदेखि गरिरहेको उनको भनाइ थियो । ‘जनजातिहरुमा खुल्लापन छ । त्यो भनेकै प्रजातन्त्र हो,’ उनले भने, ‘उनीहरुले आदिम कालदेखि प्रजातन्त्रको रक्षा गरिरहेका छन् । त्यसैले आदिवासी जनजाति र प्रजातन्त्रबिच पहिल्यैदेखिको सम्बन्ध छ ।’ कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य अब्दुल सत्तार, दिलमान पाख्रिन र सरस्वती तिवारी, नेका गण्डकी सभापती शुक्रराज शर्मा, कास्कीका सभापती किशोरदत्त बराल, प्रदेशसभा सदस्यहरु बिमला गौचनल सरस्वती गुरुङ, जीत शेरचन, जीतप्रकाश आले, तमुसंघ नेपालका अध्यक्ष भुवनसिंह गुरुङ, महासंघ कास्की अध्यक्ष आशबहादुर गुरुङ लगायतले लोकतन्त्रवादी आदिवासी जनजाति संगठित भएर पार्टीको हितमा लाग्नुपर्ने बताएका थिए ।
पोखरा: नेपाली कांग्रेस निकट भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको अधिवेशन शनिबार पोखरामा हुदैछ । प्रदेशको नेतृत्व चयनका लागि हुने अधिवेशन पोखरा सभागृहमा हुने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको अधिवेशन संयोजक तथा महासंघकी केन्द्रीय सदस्य रेनुका काउचाले जानकारी दिइन् । अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गर्ने उनले बताइन् । सामाजिक, आर्थिक, राजनीतिक अधिकारको बहस पैरवी गर्दै न्याय र समानताका लागि स्थापित गर्न महासंघको प्रथम गण्डकी प्रदेश अधिवेशन हुन लागेको उनको भनाइ थियो । अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट जनजाती अन्र्तगत विभिन्न जातजातिको प्रतिनिधितित्व हुनेगरि ३ सय ७८ जना प्रतिनिधि सहभागी हुने उनले बताइन् । अधिवेशन सम्पन्न गर्न काउचाको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । जसअनुसार आर्थिक समितिमा सुनिल गुरुङ, आवास तथा खाना व्यवस्थापन समितिमा जीतबहादुर गुरुङ, अथिति सत्कारमा सिता गुरुङ, शान्ति सुरक्षा र समन्वय समितिमा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य सिता गुरुङ र मञ्च ब्यबस्थापन समितिमा अजय गुरुङ र प्रचारप्रसार समितिमा राजबहादुर गुरुङ संयोजक रहेका छन् । अधिवेशनपूर्व पोखराको चिप्लेढुंगाबाट सांस्कृतिक ¥याली निकालिने संयोजक काउचाले जानकारी दिइन् । ¥याली चिप्लेढुंगा न्युरोड हुँदै सभागृहमा पुगी उदघाटन समारोहमा परिणत हुनेछ । ¥यालीमा महासंघ अन्तर्गतका भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि साथै पार्टीका विभिन्न जिम्मेवार तहमा रहकाहरुको सहभागिता रहने उनले बताइन् । महासंघले विभिन्न जिल्ला र नगर तथा गाउँपालिकामा तदर्थ समिति गठन गरि सम्बन्धित तहमा अधिबेशन समेत सम्पन्न गरेपछि अहिले प्रदेश अधिबेशन हुन लागेको हो । अधिवेशनले ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।