पोखरामा राँगाले हानेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका ३३ स्थायी घर भएका ३७ वर्षे धनञ्जय आचार्यको मृत्यु रहेका छन् । आचार्यको आफ्नै माइला दाजुको सुरौदीस्थित भैंसी फारममा पालो दिन गएका बेला राँगोको आक्रमणमा परी मृत्यु भएको बताइएको छ । उनका जेठा दाजु शिव आचार्य पोखरा ३३ का पूर्व वडाध्यक्ष हुन् ।
पोखरा महानगरपालिका भित्रका मुख्य चोकहरुमा जडित टाफिक लाइट सञ्चालनमा ल्याइएको छ । लाइट जडान भएको झण्डै एक वर्ष पुग्न लाग्दाजिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेयले नेतृत्व गर्दै मंगलबारबाट सञ्चालनमा ल्याइएको हो । पाण्डेयले भर्खरै मात्र कास्की ट्राफिकको जिम्मेवारी सम्हालेकी आएकी हुन् । उनले पैदलयात्री र सवारी चालकलाई अभ्यस्त बनाउनका लागि दर्जनौ ट्राफिक प्रहरी फिल्डमा खटिएको बताइन् । ‘अभ्यास होइन यो अब सिस्टम र प्रविधिले जतिसम्म धान्छ यसको प्रयोग निरन्तर नै हुन्छ ।’ उनले सुनगाभा न्यूजसँग भनिन्, । अहिले पैदल यात्री र सवारी चालकलाई अभ्यस्त बनाउनका लागि सकस परिरहेको छ । त्यसकारण ट्राफिक प्रहरी जेब्रा क्रसिङको लाइनमा बसेर निर्देश गरिरहेका छन् । पोखराको मुख्यचोक लखनचोक, सृजनाचोक, महेन्द्रपुल, सभागृह लगायतका चोकहरुमा गत वर्ष सडक विभागले ट्राफिक लाइट जडान गरेको थियो । यद्यपी यसलाई प्रयोगमा ल्याउन पहल गरिएपनि सवारी साधनको सन्तुलन र अप्रेशन गर्ने सफ्टवेरका कारण सञ्चालनमा आउन सकेको थिएन । थप तस्बिरहरु:
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले बडा दशैंको दिन विभिन्न स्थानमा बस सेवा उपलब्ध गराउने भएको छ । कास्कीको विभिन्न ७ रुटमा कुल १८ वटा निशुल्क बस सेवा सञ्चालन गर्ने सहायक प्रमुख जिल्ला अधिकारी तथा सूच्ना अधिकारी शिव लम्सालले जानकारी दिए । उनका अनुसार पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अन्तरगत फोदी, हेमजा, हरिचोक र पृथ्वीचोक रुटमा ३ वटा, स्थानीय यातायात कम्पनी अन्तरगत कोत्रेदेखि पृथ्वीचोक, चिप्लेढुंगा हुँदै बागलुङ बसपार्कसम्म २ वटा बस सञ्चालन हुनेछ । यस्तै पोखरा यातायात प्रालिको लामाचौर, बगर, महेन्द्रपुल,विरौटा हुदैं छोरेपाटनसम्म ३ वटा बस,महेन्द्रगुफा, महेन्द्रपुल चिप्लेढुंगा हुदैं लेकसाइड ३ वटा र काहुँखोला, पृथ्वीचोक हुदै हल्लनचोकसम्म ३ वटा बस सेवा सञ्चालन हुनेछ । यसैगरी बेगनास पोखार यातायात प्रालि अन्तरगत बेगनासताल, तालचोक, पृथ्वीचोक हुँदै बागलुङ बसपर्का २ वटा बस र राजाको चौतारा, सातमुहाने, खुदी हुँदैं बागलुङ बसपार्कसम्म २ वटा बस सेवा प्रदान हुनेछ ।
तोकिएको अधिकतम खुद्रा मूल्य रु २० को पानीको बोतल रु १ सयमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई रु २ लाख जरिवाना गरेको छ । पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही उक्त रेस्टुरेन्टलाई गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताउनुभयो । सोही स्थानका एक ग्राहकले रु २० पर्ने एक बोतल मिनरल वाटर रु एक सय तिरेको बिलसहित प्रशासनमा सिकायत गरेका थिए । स्थानीय प्रशासनले सो रेष्टुरेष्टलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड (ख) बमोजिम जरिवाना गरिएको जनाएको छ ।
पोखरा महानगरपालिका १५ स्थित फलेपाटनमा सातौं खुला व्यायामशाला सञ्चालनमा आएको छ । आज (बुधबार) देखि सञ्चालनमा ल्याइएको व्यायामशाला पोखरा महानगरपालिकाको सहयोगमा निर्माण भएको हो । उक्त व्यायामशालाको उद्घाटन वडाध्यक्ष तोरण बानियाँले गरे । सो अवसरमा बोल्दै उनले वडाबासी स्वस्थ्य र निरोगी बन्नुपर्ने सन्देश दिने उद्देश्यसहित वडाका विभिन्न स्थानमा खुला व्यायामशाला सञ्चालनमा ल्याइएको बताए । ‘यसअघि हामीले वडाकै २० लाख लागतमा ६ वटा स्थानमा खुला व्यायामशाला निर्माण गरिसकेका छौं, अहिले महानगरको सहयोगमा यो बनाएका हौं, उनले भने, ‘मुख्यगरी नागरिक निरोगी र तन्दुरुस्त हुनुपर्छ भन्ने सन्देश दिन निर्माण गरिएको हो ।’ उनले नागरिक स्वस्थ्य भए समाज रुपान्तरण हुने बताउदै वडाले नागरिकमैत्री कार्यक्रमहरु अघि सारेको बताए । वडाले विभिन्न समयमा युवा, महिला तथा बालबालिका लक्षित अभिमुखीकरण कार्यक्रमहरुसमेत सञ्चालन गर्दै आएको छ । वडाको विभिन्न स्थानमा यसअघि २० लाखको लागतमा ६ वटा खुला व्यायामशाला सञ्चालनमा आइसकेको छ । व्यायामशाला उद्घाटन समारोहकाबीच फलेपाटन टोल विकास संस्था र आदर्श आमा समूहको सँयुक्त आयोजनामा बडा दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।
पर्यटन राजधानी पोखराका होटेलमा विजयादशमी, दिपावली, छठलगायत चाडपर्वका अवसरमा ३० प्रतिशत छुट दिइने भएको छ । होटेल सङ्घ नेपाल पोखराद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष लक्ष्मण सुुवेदीले चाडपर्वलाई लक्षितगरी सङ्घ सदस्यअन्तर्गतका होटल प्रतिष्ठानमा बडादसैँदेखि तिहारसम्म प्रकाशित दररेट (आवासमा) मा पाहुनालाई ३० प्रतिशतसम्म छुटको घोषणा गरिएको जानकारी दिनुभयो । यस प्रकारको छुटबाट लाभान्वित हुन आन्तरिक पर्यटकलाई उहाँले अनुरोध गर्नुभयो । भ्रमण र पदयात्राका लागि पोखरा र सिङ्गो गण्डकी प्रदेश सबै मौसमका लागि उपयुक्त छ भन्ने मान्यताअनुरूप विगत केही वर्षदेखि विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आइएको उहाँले बताउनुभयो । “पर्यटन क्षेत्रले भोग्दै आएका समस्या र चुनौतीहरूको सामाना गर्दै यस क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा सङ्घको सत्प्रयास निरन्तर अगाडि बढिरहेको छ । यस छुट अभियानले आन्तरिक पर्यटनकहरूलाई आकर्षित गरी सो प्रयासमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरेका छौँ”, अध्यक्ष सुवेदीले भन्नुभयो । सङ्घका महासचिव राजेन्द्र ढकालले भूकम्प, नाकाबन्दी, कोभिड–१९ महामारी, हवाई दुर्घटनालगायत कारणले सिथिल भएको पर्यटन क्षेत्र हालैको वर्षापछिको बाढीपहिरो तथा डुबानले थप प्रभावित भएको धारणा राख्नुभयो । उहाँले केही दिनअघिको विपत्तिका कारण परेको असर हाल सामान्य बन्दै गएकामा ३० प्रतिशतसम्म छुटको कार्यान्वयनले त्यसलाई थप सहज बनाउँदै लग्ने अपेक्षा व्यक्त गर्नुभयो । सङ्घका द्वितीय उपाध्यक्ष गणेशराज पहारीले पृथ्वीराजमार्गको पोखरा–मुग्लिन खण्डको स्तरोन्नति काम पनि धेरै हदसम्म अगाडि बढेको, राजमार्ग खुला अवस्थामा नै रहेको तथा पोखरा जोड्ने अन्य राजमार्गको अवस्थासमेत सुरक्षित नै रहेकाले पोखरा भ्रमणक लागि सबैलाई आह्वान गर्नुभयो । पोखरामा रहेका होटेल क्षेत्रले १५ हजार जनाभन्दा बढीलाई रोजगारी दिइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पोखरा: केही काला, केही सेता–काला च्याङ्ग्राहरु सडक छेउ कुना कुदिरहेका छन् । मुस्ताङ र बझाङ आसपास जिल्लाको लेकबाट झारिएका ति भेडा च्याङ्ग्राहरुले यतिबेला याम्दी जौबारी क्षेत्रमा हैकम जमाएका छन् । ति बथानबाट केही पोखरामै खपत हुन्छन् भने केही बुटवल, चितवन, दमौली, काठमाडौंसम्म पुग्छन् । गत वर्ष आधा लाख पर्ने च्याङ्ग्राको मूल्य यो वर्ष ३५ हाराहारीमा झरेको छ । चीनबाटपनि च्याङ्ग्रा नेपाल भित्रिएपछि नेपाली भेडा च्याङ्ग्राको मूल्य ह्वात्तै घटेको व्यापारीहरु सुनाउँछन् । ‘सरकारले राम्रो गरेन युवा विदेश पलायन भए मात्रै भन्छ । अहिले सरकारले चीनबाट भेडा च्याङ्ग्रा ल्याएर हामीलाई घात गरेको छ त्यसैले हाम्रो भाउ परेन ।’ अछामबाट ४ दिन लगाएर पोखरा आइपुगेका च्याङ्ग्रा व्यापारी दीपक बोहरा गुनासो पोख्छन् । उनी आफ्नो काकाको व्यापार देखेर पोखरा आएका हुन् । ‘काकाले पोखरामा व्यापक व्यापार हुन्छ भन्नुहुन्थ्यो । त्यही भएर म पनि अनुभव गर्न आएको हुँ तर अहिले सरकारले हामीलाई चीनको नाका खोलेर घात गर्याे । त्यसैले सोचेजस्तो व्यापार भएन,’ उनले भने । बझाङबाट मात्र नभएर मुस्ताङबाट पनि पोखरा झार्न उस्तै सकस छ । कतै ट्रकमा हुल्नुपर्ने, कतै चरनका लागि झार्नुपर्ने । भने, कतै शुल्क तिर्नुपर्ने बाध्यता छ । ‘यहाँसम्म आउनत साह्रै मुस्किल छनी हजुर, अनेक दिग्दारी खेप्नुपर्छ । बाटो भर पैसा तिर्दै आउनुपर्छ । गाडीमा हाल्ने झार्ने गर्दा पोखरा आइपुग्न चार दिन जति लाग्यो । यो वर्ष व्यापार भएपनि सस्तो भएकाले साहुलाई तिर्नमात्र पुग्छ जस्तो छ ।’ उनले अहिले ग्राहकको इच्छाअनुसार ३२ हजार सम्म विक्री गरेको सुनाए । ‘उतै मेरो २६/२७ जति परेको छ मैले अहिले ग्राहकहरुको इच्छाअनुसार ३२/३३ (हजार) मा दिइराको छु । दुख अनुसार फाइदा छैन ।’ बोहराले भने । बोहरा जस्तै अन्य व्यापारीहरुपनि सडक किनारमा भेडा च्याङ्ग्रासँगै घेरिएका छन् । रोजीरोजी विभिन्न बथानमा मोलमोलाई भइरहेका छन् । भेडाको मूल्य केही कम छ भने च्याङ्ग्राको मूल्य साइज अनुसार निर्धारण गरिएको छ । बोहराका अनुसार च्याङ्ग्राको मूल्य ३० हजारमाथि छन् । ‘विगतका वर्षहरुमा भन्दा यस वर्ष भेडा–च्याङ्ग्राको मूल्य कम भएको पाए, नागडाँडाका भवानी प्रसाद गौतमले भने, ‘मैले सुने अनुसार चीनबाट पनि आएको कारणले यो वर्ष अलि सस्तो भएको रहेछ ।’ गौतम जस्तै पोखरा १२ फूलबारीकी अंशु गर्बुजाको परिवार पनि हरेक वर्ष च्याङ्ग्राको स्वाद लिने गर्छन् । दशैँमा भेडा च्याङ्ग्राको मासु खाने प्रचलन अनुसार च्याङ्ग्रा किन्न पुगको बताइन् । ‘यो सिजनल जस्तै हो । हामीले चाहदैमा अरुबेला पनि किन्न पाइदैन, उनले भनिन्, ‘त्यसैले दशैँको अवसरमा खाने गरिन्छ । अर्काे कुरा यसले लेकका जडिबुटी खाएका हुनाले स्वास्थ्यबर्दक हुने विश्वासले हरेक वर्ष च्याङ्ग्रा खाने गरिन्छ ।’ बद्लिदो समय र मूल्य याम्दी आसपासमा यतिबेला भेडा च्याङ्ग्रा किनबेचको माहौल छ । त्यहाँ सानोतिनो मेलानै लागिरहेको छ । च्याङ्ग्रा व्यापारी, ग्राहक र रमाइलो हेर्नेहरुको भीड देखिन्छ । त्यही भीडमा भेटिएका पुराना गोठाला जो उमेरले ३ बिसे १४ पुगे । उनले विगत सम्झदै वृद्ध प्रेम बहादुर शाहीले भने, ‘हामीले जम्मा २० रुपैयाँ नाफा राखेर च्याङ्ग्रा बेच्थेऔं।’ उनले करिब ५० वर्ष पहिले १ सय देखि १ सय ५० सम्म च्याङ्ग्रा बेच्ने गरेको बताए । ‘अहिले यहाँ रमाइलो हेर्न आएको हुँ । मेरो बेलामा च्याङ्ग्रा हेरेर बेचिन्थ्यो, स्मरण गर्दै शाहीले भने, ‘१ सय, १ सय २० देखि बढीमा १ सय ५० रुपैयाँसम्म बेचेको याद । त्यै हो २० रुपैयाँ जति नाफा खाइन्थ्यो ।’ १ सय रुपैयाँमा च्याङ्ग्रा बेचेका शाहीको उमेरसँगै बजार भाउ पनि बद्लिएको छ । र च्याङ्ग्राको मूल्य यसवर्ष ५० हजारसम्म पुगेको छ । शाहीले परिवर्तित समयानुसार मूल्य वृद्धि हुनुपर्ने तर्क राखे । ‘मुन्छेहरुले खेती किसानी गर्न छाडे । दुख गर्न छाडे । अहिले त किन्न पाए भाछ, उनले भने, ‘ मै पनि त ७४ वर्ष पुगे । त्यही भएर यो महंगी ठिकै लाइच ।’ (शाही कै भाषामा)
गण्डकी प्रदेशमा चाडपर्वको समयमा नियमितभन्दा बढी भाडा नलिनेमा यातायात व्यवसायी सहमत भएका छन् । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीको अध्यक्षतामा आइतबार बसेको सरोकारवालाबीचको बैठकमा यातायात व्यवसायीले नियमितभन्दा बढी भाडा नलिने प्रतिबद्धता जनाएका हुन् । बैठकले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी भाडा नलिने, सिट संख्याभन्दा बढी यात्रु नराख्ने, सुरक्षित यात्रा गर्न÷गराउनेसहित चाडपर्व केन्द्रित ६ वटा निर्णय गरेको मन्त्री केसीले जानकारी दिए । यातायात व्यवस्थापनलाई चुस्त बनाउन आपसी समन्वय गर्ने, लामो दुरीमा चल्ने सवारी साधनले यात्रु टिकट अनिवार्य काट्नुपर्ने, उपभोक्ताको अधिकारलाई ध्यान दिएर व्यवसायिक मूल्य–मान्यतालाई कायम गर्दै तोकिएको भाडा लिएर यात्रुलाई गन्तव्यमा पु¥याउने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यातायात सेवालाई प्रभावकारी बनाउने, यातायात कार्यालयले आ–आफ्नो कार्यक्षेत्रमा अनुगमन गर्ने निर्णय बैठकले गरेको छ । विमानस्थलमा ट्याक्सीले बढी भाडा लिने गुनासोबारे ट्राफिक प्रहरी खटिएरै अनुगमन गर्ने निर्णय बैठकले गरेको मन्त्री केसीले जानकारी दिए । ‘विमानस्थलमा ट्याक्सीले साह्रै धेरै भाडा लिएको गुनासो धेरै छ । त्यहाँ ट्राफिक प्रहरी खटेर त्यसको अनुगमन गर्नुहुन्छ,’ मन्त्री केसीले भने, ‘चाडपर्वको बहानामा दुःख दिने काम राम्रो होइन । यो समयमा यातायात सेवालाई सहज बनाउनु सरकार मात्र होइन व्यवसायीको पनि दायित्व हो ।’ बाढीपहिरोले विभिन्न ठाउँमा सडक अवरुद्ध हुने समस्या रहेको र प्रदेश सरकारका संरचना आफ्नो कार्यक्षेत्रभित्र रहेर त्यसलाई समाधान गर्न चाडपर्वको अवधिमा पनि सक्रिय रहने मन्त्री केसीले बताए । बढी भाडा लिने, भनेअनुसार भाडा नदिए गन्तव्यसम्म नलैजाने गरेर दुःख दिने काम यातायात व्यवसायीबाट भएमा तत्काल ट्राफिक प्रहरीलाई खबर गर्न उनले आग्रह गरे । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी संयोजक केदार पौडेलले राजमार्गमा खाल्डाखुल्डी धेरै रहेकाले त्यसलाई समाधान गरिदिन प्रदेश सरकारलाई आग्रह गरे । कम जनघनत्व भएका ठाउँमा गाडी चलाउँदा निकै घाटा रहेको भन्दै उनले सरकारले सहुलियतको व्यवस्था गर्नुपर्ने बताए । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले बाढीपहिरोजस्ता दुर्घटनाले पछिल्ला दिनमा बसमा यात्रुको चाप कम रहेको सुनाए । उनले चालक–सहचालकलाई प्रशिक्षण, समय–समयमा अनुगमन, सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको बताए । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकी प्रमुख एसपी जनकबहादुर शाहीले लामो दूरीमा दुई जना चालक अनिवार्य राख्नुपर्ने बताए । उनले आफूहरुले चालक राखे÷नराखेको विषय कडाइका साथ अनुगमन गर्ने सुनाए । एसपी शाहीले लामो दूरीमा निस्कनुअघि आफ्ना सवारीमा अनिवार्य यान्त्रिक परीक्षण गर्न यातायात व्यवसायीलाई सुझाव दिए । उनले कुनै सवारीले बढी भाडा लिएर दुःख दिएमा १०३ वा १०० मा फोन गर्न सर्वसाधारणलाई आग्रह गरे । बैठकमा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) दुर्गा सिंह, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, भौतिक पूर्वाधार मन्त्रालयका सचिव ई. कमलकुमार अधिकारी, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलिया, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकी प्रदेश प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाही, सशस्त्र प्रहरी बल कालिका गण कास्कीका गणपति अरुण शर्मा, गण्डकी प्रदेशभित्रका यातायात व्यवसायी, जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख शोभा पाण्डेय, नागरिक उड्यान प्राधिकरणका प्रतिनिधि योगेन्द्र कुँवर, उपभोक्ता हित संरक्षण मञ्च गण्डकीका सचिव राजुराज अधिकारी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी संयोजक केदार पौडेल, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसी, गण्डकी ट्याक्सी व्यवसायी प्रा.लि अध्यक्ष गान्धीराज गिरीलगायत सहभागी थिए ।

