पोखरा:    कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ ।   स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको...

गोरखा:     सहिद लखन गाउँपालिका–८ बुंकटस्थित रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ ।  जापान सरकारको आर्थिक सहयोगमा करिब रु दुई करोड ८९ लाख लागतमा विद्यालय भवनसहितको संरचना निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर रम्तेलले जानकारी दिए। ‘नवनिर्मित बालमैत्री भवनसँगै विद्यालयमा खानेपानी, कक्षाकोठाका लागि आवश्यक पर्ने फर्निचर तथा फूलबारीको पनि व्यवस्था गरिएको छ’, उनले भने, ‘विद्यालय भवनको सुरक्षाका लागि घेराबारसमेत लगाइएको छ ।’ विसं २०८० असारमा शिलान्यास गरिएको भवन चैतमा नै निर्माण सम्पन्न भएको हो । एकीकरण नेपाल गोरखा नामक गैरसरकारी संस्थाको सार्वजनिक विद्यालयको सिकाइ वातावरण सुधार परियोजनाअन्तर्गत भवन निर्माण गरिएको हो । नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण भइसकेको छ । भवन निर्माणमा ‘चाइल्ड फण्ड’ जापानले प्राविधिक सहयोग गरेको थियो ।

काठमाडौं:    इलाम क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित कृषि समितिको हलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष नेम्बाङले शपथ लिएका हुन्। गत बैशाख १५ गते सम्पन्न उपनिर्वाचनबाट एमालेबाट उम्मेदवार नेम्वाङ शानदार विजयी भएका थिए।  नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मतान्तरले पराजित गर्दै नेम्वाङ निर्वाचित भएका हुन्। नेम्वाङले २७ हजार ७७२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए। सुहाङका बुबा एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम–२ मा उपनिर्वाचन भएको थियो।

काठमाडौं:    नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे देउवा निवास बुढानीलकण्ठमा बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र २८ गतेदेखि सुरु हुने बजेट अधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ । बजेट अधिवेशनमा कांग्रेसका सांसदहरुले उठाउने विषयबारे छलफल गर्न विहीबार संसदीय दलको बैठकसमेत बोलाइएको छ । संसदीय दलको बैठक विहीबार दिउँसो २ बजे बस्ने तय भएको छ ।  

काठमाडौं:       हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसमविज्ञान विभागले अहिले देशभर आंशिक बदली रहेको तथा गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा कतै हल्का त कतै मध्यम वर्षा भइरहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली  हुनेछ । देशका पहाडी भेगका केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्का वर्षाको सम्भावना छ । साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि  छ । आज राति  देशभर आंशिक बदली हुनेछ । कोशी, मधेश,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  केही स्थानका साथै बाँकी  प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा देशका पहाडी भागको केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले  सतर्कता अपनाउन अनुरोध गरेको छ ।

काठमाडौं:    प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउन दिने एवम् मीठामीठा(तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डदान तथा ब्राम्हणलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उहाँका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । यस अवसरमा चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा आज ठूलो मेला लाग्यो । आमा नहुनेहरुले त्यहाँ गएर स्नान गरि पिण्ड एवम् सिदा दान गरेमा आमाको मृत आत्माले शान्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

पोखरा:   पोखरा महानगरपालिका–२७ तालचोकस्थित एक दोहोरी साँझका सञ्चालकले ग्राहक कुटेको आरोपमा प्रहरीले एकजनालाई प्रकाउ गरेको छ ।  दोहोरी साँझमा गएका तेजबहादुर गुरुङलाई कुटपिट गरी गम्भिर घाइते बनाएर फरार रहेको जाहेरीको आधारमा प्रहरीले तालचोकबाट हिजो (सोमबार) ३२ वर्षीय सुनिल बस्नेतलाई प्रकाउ गरेको हो ।  शनिबार राति तालचोकस्थित सातताल दोहोरी साँझ तथा रेष्टुरेन्टमा गएका गुरुङलाई सञ्चालक बस्नेतले कुटपिट गरेका थिए ।  प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ज्यानमार्ने उद्योगमा ८ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

पोखरा:     गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा भइरहेका विकास निर्माणका कार्यप्रति चासो देखाउनु भएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा  सरोकारवालासँग छलफल कार्यक्रमको आयोजना गरेर मुख्यमन्त्री अधिकारीले यसप्रति चासो देखाउनुभएको हो । उहाँले विकास निर्माणसँग सम्बन्धीत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि एवं निर्माण व्यवसायीसँग सामूहिक छलफल गरेर प्रदेशमा सञ्चालित हरेक आयोजनाको विस्तृत प्रगति विवरण दूई दिन भित्र पेश गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभयो । ‘प्रदेशमा सञ्चालित हरेक आयोजनाहरुको वित्तीय प्रगती, भौतीक प्रगती, समस्या र समाधानका उपाय सुत्रमा लेखेर दूईदिनभित्र सबैले प्रतिवेदन बुझाउनुहोला’ मुख्यमन्त्री अधिकारीले भन्नुभयो । विकास निर्माणका क्षेत्रको काम सन्तोषजनक रुपमा नभएकोमा उहाँको चिन्ता थियो । उहाँले काममा तीव्रता दिन आग्रह गर्नुभयो ।  काम गर्नेक्रममा देखिएका समस्या समाधान गर्न प्रदेश सरकार सदैव तयार भएको भन्दै हालसम्मको कार्यप्रगतिमा सन्तुष्ट हुने ठाउँ नरहेको गुनासो गर्नुभयो । विभिन्न ठाउँमा भएका  विकास निर्माणका कामको बारेमा बढ्दै गएको जनगुनासोलाई कम गर्दै उनीहरुमा आशा जगाउनको लागि कर्मचारी तथा निर्माण व्यवसायी दुवै पक्षले आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक पुरा गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारसँग बजेट कम हुँदा तथा संघिय सरकारले पर्याप्त बजेट नछुट्याउँदा समेत सडक लगायतका विकास निर्माणको काममा प्रभाव परेको उहाँको भनाई थियो । विकास निर्माणमा काममा आवश्यक निकास दिने काममा आफू सदैव लाग्ने बताउनुभयो । स्रोत सुनिश्चितता नभएको ठाउँमा ठेक्का लगाउँदा भुक्तानीमा समस्या भएकोले यस्तो काम रोक्न सम्बन्धीत मन्त्रालयका सचिवलाई अडान लिन आग्रह गर्नुभयो । ‘स्रोत सुनिश्चत नभएको ठाउँमा ठेक्का नलगाउन सचिवले अडान लिनुपर्छ, ठेक्का भएपछि रकम छैन भन्ने अवस्था आउन दिनु हुन्न’ उहाँले भन्नुभयो । स्रोत सुनिश्चित भएर ठेक्का लगाएपछि काम सम्पन्न नगर्ने छुट निर्माण व्यवसायीलाई नहुने भन्दै कामको गुणस्तरीयतामा सम्झौता नगर्ने बताउनुभयो । साना योजना बहुवर्षीय बनाउन नुहनेमा समेत उहाँको जोड थियो । राजनीतिक अस्थिरता भएको बेलामा विकास निर्माणको काममा प्रभाव पर्ने समेत उहाँको भनाई थियो । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका भौतिक पूवार्धार तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङले बजेटको व्यवस्था नगरी आयोजना काम हुँदा समस्या भएको बताउनुभयो । रकम भुक्तानी नहुँदा दिनहुँजसो निर्माण व्यवसायी गुनासो लिएर आफ्नो मन्त्रालयमा आउने गरेको उहाँको भनाई थियो । ‘रकम भुक्तानी नहुँदा निर्माण व्यवसायी समस्यामा परेका छन्, म कहाँ दिनपिच्छै आउँछन्, काम गरेपछि समयमा भुक्तानी दिनुपर्छ’ उहाँले भन्नुभयो । गण्डकी प्रदेशका मुख्य सचिव लक्ष्मी कुमारी बस्नेतले यो आर्थिक वर्षको लागि अब दूईमहिनामात्र समय रहेको तर काम आधा भन्दा बढी रहेको भन्दै कामको गति बढाउन आग्रह गर्नुभयो । ‘हामी आर्थिक वर्षको अन्त्यमा छौं, हामीसँग काम गर्ने समय दूई महिनामात्र बाँकी छ । गर्ने काम धेरैं छ, आधा काम मात्र भएको छ अबको प्रगति देखाउन खटिएर काम गर्नुपर्नेछ’ उहाँले भन्नुभयो । विकासका आयोजनाको काममा प्रदेश सरकारबाट गर्नुपर्ने कामको लागि तयार रहेको बताउँदै मुख्य सचिव बस्नेतले योजना कार्यान्वयनमा समन्यवको अभाव देखिएको बताउनुभयो । ‘समन्वयको अभावमा कामको गतिशीलतालाई प्रभाव पारेको देखियो, सबै निकायकाबीचमा समन्वय  गरेर अगाडि बढ्यौ भने यस्ता खालका समस्या हुँदैन थियो’ उहाँले थप्नुभयो । प्रदेश सरकार आउने आर्थिक वर्षको लागि बजेट निर्माण प्रक्रियामा रहेको उहाँले खुलाउनुभयो । कास्कीका प्रम्ख जिल्ला अधिकारी वासुदेव घिमिरेले तोकिएको योजना समयमानै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । ‘यो वा त्यो बहानामा हामीलाई तोकिएको योजना कार्यक्रम अथवा प्राथमिकता टार्ने, ढिलो गर्ने, पन्छाउने छुट छैन, कार्यालय प्रुखको बैठकमा पनि प्रगति अपडेट गरिरहेको हुन्छौ’ उहाँले भन्नुभयो । यो आर्थिक वर्षको करिब अन्त्यमा आइसकेका कारण कामको गतिलाई बढाएर लैजानुपर्नेमा उहाँको जोड छ । ‘संघ मातहतको होस् अथवा प्रदेश मातहतको होस्, परिपक्क प्रतिवद्धता सहित नतिजा चाहिन्छ, त्यसमा स्थानीय प्रशासनले जे गर्नुपर्ने हो सबै सहयोग लिन दिन तयार छौै’ उहाँले थप्नुभयो । कार्यक्रममा पृथ्वी राजमार्ग अन्तरगत पृथ्वीचोक जामुने सडक, तालचोक बेगनासताल सडक, बेगनास भोर्लेटार सडक अन्तरगत बेगनासताल भञ्न्ज्याङ र भन्ज्याङ तालबेसी खण्ड, स्याङखुदी भन्ज्याङ सडक, स्याङखुदी आनन्दज्योति सडक, छोरेपाटन मट्टिखान सडक, घाटीछीना पन्चासे सडक, विरेठाटी घान्द्रुक सडक, मध्ये पहाडी राजमार्ग अन्तरगतको सडक, काहुँखोला काउरे ताङतिङ सडक, भन्ज्याङ आनन्दज्योति सडक, काहुँखोला सिक्लेस सडक, स्थानीय सडक आयोजना, सिँचाई, उर्जा, भूमिगत, जलश्रोत, खानेपानी, भवन, विद्युत कृषि, मत्स्यपालन, पशुपन्क्षी लगायतका क्षेत्रका योजनाहरुको वर्तमान अवस्था, समस्या र समाधानका लागि अपनाउनुपर्ने कार्यको बारेमा छलफल केन्द्रीत रहेको थियो ।

पोखरा:   पोखरामा बिहीबार देखि खुल्ला अन्तर विद्यालयस्तरीय मोहन मेमोरियल तथा पोखरा महानगर स्तरीय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।  पोखरा महानगर खेलकुद विकास समिति तथा मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनको संयुक्त आयोजनामा बैशाख २७–२९ गतेसम्म खुल्ला विद्यालयस्तरीय तथा पोखरा महानगरस्तरीय व्याडमिन्टन प्रतियोगिता हुन लागेको आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।  मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनका अध्यक्ष भुवन गुरुङले खुल्ला विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगितामा छात्राछात्र यू–१३, यू–१९ उमेर समूह र पोखरा महानगरपालिकास्तरीयमा एकल र युगल विधामा प्रतिष्पर्धा हुने बताए ।  उनका अनुसार विद्यालयस्तरीय (निमावि)तर्फ यू–१३ उमेर समूह र माध्यमिकतर्फ यू–१९ उमेर समूहका छात्राछात्रले प्रतिष्पर्धा गर्नेछन् ।  यस्तै पोखरा महानगरपालिकास्तरीयमा अन्तर वडा एकल र युगलतर्फ महिला÷पुरुषले प्रतिष्पर्धा गर्नेछन् ।  खुल्ला अन्तर विद्यालयस्तरीय मावि यू–१९ उमेर समूह छात्राछात्रको विजेता, उपविजेता र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँसहित मेडल प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।  यस्तै खुल्ला अन्तर विद्यालयस्तरीय यू–१३ र यू–१९ उमेरसमूहका सर्वोत्कष्ट खेलाडीले साइकल पुरस्कार पाउने फाउण्डेशनका अध्यक्ष गुरुङले बताए । यस्तै यू–१३ का विजेता खेलाडी व्याडमिन्टन खेलका गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।  यस्तै पोखरा महानगरपालिकास्तरीय एकल र युगलतर्फको विजेता, उपविजेता र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँसहित मेडल प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिता पोखरा रंगशालाको व्याडमिन्टन कोर्टमा सञ्चालन हुनेछ । बिहीबारबाट सुरु हुने व्याडडिमन्टन प्रतियोगितामा देशभरबाट करिब ४ सय खेलाडीहरुको सहभागिता रहने आयोजकले दावी गरेको छ ।  प्रतियोगिताका उत्कृष्ट खेलाडी वैदेशिक प्रशिक्षणसँगै मैत्रीपुर्ण खेलकुदमा सहभागी पोखरा महानगर खेलकुद विकास समिति तथा मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनको संयुक्त आयोजनामा गतवर्ष सम्पन्न भएको व्याडमिन्टन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ११ खेलाडीहरुले जापानमा प्रशिक्षणसँगै मैत्रीपुर्ण खेल खेल्ने अवसर समेत पाएका छन् ।  प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ११ खेलाडीहरुले जापानको नागाकाओ शहरमा प्रशिक्षण र वाकाभा कप र यू–१३ को प्रशिक्षणमा सहभागि समेत हुन पाएको अध्यक्ष गुरुङले बताए ।  ग्रासरुटबाटै खेलाडी उत्पादनमा ध्यान दिएका छौं: अध्यक्ष गुरुङ मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनका अध्यक्ष भुवन गुरुङले विद्यालय तथा ग्रास रुटबाटै खेलाडी उत्पादन गर्न प्रतियोगिता सञ्चालन गर्दै आएको बताए ।  ‘हामीले फाउण्डेशनबाट कुनै नाफा कमाउनु छैन्, फाउण्डेशनको लक्ष्य व्याडमिन्टन खेलाडी उत्पादन गर्ने हो’, अध्यक्ष गुरुङले भने, ‘प्रतियोगितामा विद्यालयस्तरबाट उमेर समूहको खेलाडी सहभागी गराई खेलको विकास गर्ने उद्धेश्यसहित प्रतियोगिता आयोजना गरिएको हो ।’ उनले पुरानो व्याडमिन्टन खेलाडीहरु मिलेर मोहन भुगोल व्याडमिन्टन फाउण्डेशनमा अक्षयकोष स्थापना गर्ने योजना समेत अगाडि बढाएको बताए । 

पोखरा:      पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा उनलाई उक्त विधाबाट नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने भएको हो ।   प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको महासचिव राजाराम पौडेलले बताए । यसअघि, उक्त अवार्डबाट सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक, दीपक परियार र सागरराज तिमिल्सिना सम्मानित भइसकेका छन् ।   पोखरा १, लामपाटन मार्ग घर भएका पराजुली आमा दमयन्ती पराजुली र बुबा माधबप्रसाद पराजुलीको कोखबाट जन्म लिएका थिए । पराजुली २०६१ सालदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् । सुरुमा आदर्श समाज राष्ट्रिय दैनिकबाट विद्यार्थी पत्रकारिता थालेका उनी जनमत दैनिक, रेडियो वाराही हुँदै २०६६ फागुनदेखि नयाँ पत्रिका राष्ट्रिय दैनिकमा कार्यरत छन् ।    नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य उनी मञ्चका पूर्व कार्यसमिति सदस्य तथा संसदीय पत्रकार मञ्च गण्डकीका पूर्व सचिव हुन् । गत वर्षमात्र उनलाई युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० बाट सम्मान गरेको थियो ।