पोखरा: पोखरा कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा मदरल्यान्ड माध्यमिक विद्यालय र गण्डकी बोर्डिङ स्कुल विजयी भएका छन् । पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको तेस्रो दिनको खेलमा मदरल्यान्डले हिमालयन मावि र गण्डकीले कास्की मोडनाइजलाई पराजित गरेका हुन् । पहिलो खेलमा हिमालयनले दिएको १३० रनको विजयी लक्ष्य मदरल्यान्डले १६ ओभरमा ३ विकेट गुमाएर पुरा ग¥यो । मदरल्यान्डका लागि किरण पौडेलले अविजित ५८ रन बनाए । प्रज्वल बानियाले २७ रनको योगदान दिए । बलिङमा हिमालयनका सफल थापा र नसिर भण्डारीले १–१ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको हिमालयनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनाएको थियो । हिमालयनका अभिषेक थापाले ३२ र राजकुमार क्षेत्रीले २१ रनको योगदान दिए । बलिङमा मदरल्यान्डका सन्दीप विकले ४ विकेट लिए । सन्दीप प्लेयर अफ द म्याच चुनिए । शुक्रबार नै भएको दोस्रो खेलमा गण्डकीले कास्की मोडनाइजमाथि ९ विकेटको सहज जित निकालेको हो । कास्की मोडनाइजले दिएको ८५ रनको सामान्य लक्ष्य गण्डकीले १० ओभर ३ बलमा १ विकेट गुमाएर पूरा ग¥यो । गण्डकीका रजत पौडेल १३ र मनोज भण्डारी २८ रनमा अविजित रहे । दिवस पौडेल २२ रनमा आउट भए । मोडनाइजका सोहेल कुँवरले १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कास्की मोडनाइज १७ ओभर १ बलमा ८४ रनमा समेटिएको थियो । कास्की मोडनाइजका लागि सोहेल कुँवरले ५६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा गण्डकीका समीर पौडेलले सर्वाधिक ५ विकेट लिए । ४ ओभर बलिङ गरेका समीरले १ मेडनसहित ६ रन खर्चेर ५ विकेट लिए । उनी प्लेयर अफ द म्याच चुनिए । प्रतियोगितामा कास्कीका १२ विद्यालयले सहभागि छन् । प्रतियोगिताका विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट र उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
पोखरा: प्राचीन मौलिक संस्कृतिको जगेर्नाको उद्देश्यका साथ पोखरा महानगरपालिका वडा नं २६ सक्नेरीमा यही फागुन १९ गते भजन चुड्का प्रतियोगिता गरिने भएको छ । स्थानीय लोक सांस्कृतिक संरक्षण समिति र उज्वल आमा समूहको संयुक्त आयोजनामा भजन चुड्का प्रतियोगिता गर्न लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक एवम् लोक सांस्कृतिक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमल्सिनाले जानकारी दिनुभयो । संरक्षणको अभावमा मौलिक संस्कृतिहरू हराउँदै समाजमा विकृति विसंगति बढ्दै गएको वास्तविकतामा मौलिक संस्कृतिको जगेर्ना र उत्थानलाई जोड दिइएको उज्वल आमा समूहका अध्यक्ष सरस्वती गौतमले बताउनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगितामा आर्थिक सहयोगका लागि विभिन्न निकायमा प्रस्ताव पेश गरिएको जानकारी गराउँदै संयोजक तिमल्सिनाले कुल पाँच लाख ५५ हजार रुपैयाँ संकल हुने अपेक्षा गरिएको बताउनुभयो । प्रतियोगितामा तीन लाख ७० हजार रुपैयाँ खर्च हुने र बचत रकम स्थानीय संस्कृति, रितिरिवाजको संरक्षण एवम् सामाजिक काममा खर्च गरिने उहाँले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा उज्वल आमा समूहका उपाध्यक्ष शारदादेवी बराल, सचिव तारा शर्मा लगायतले लोक सांस्कृतिक संरक्षण समिति र उज्वल आमा समूहको सहकार्यमा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन लगायत विभिन्न सामाजिक काममा जोड दिइएको जानकारी गराउनुभयो ।
पोखरा: रविन्द्र माकाजुुद्वारा लिखित दीपक बाटाजुुद्वारा प्रकाशित पं.ऋषिकेशव पराजुलीको जीवनीमा आधारित ‘उदाहरणीय व्यक्तित्व पं.ऋषिकेशव’ नामक पुस्तक विमोचन गरिएको छ । राष्ट्रिय मा.वि.को हिरक जयन्तीका अवसरमा एक कार्यक्रमका बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले आज पुस्तकको विमोचन गर्नुभयो । पोखराका बरिष्ठ शिक्षाशसेवी स्व.ऋषिकेशव पराजुली पोखराको पृथ्वी नारायण क्याम्पस, राष्ट्रिय मा.वि., कन्या स्कुल, नबिन मा.वि. र पोखरा बृद्धाश्रमका संस्थापक रहनुभएको थियो । कार्यक्रममा प्राज्ञ सरुभक्तले निस्वार्थ कर्मयोगिहरू कहिल्यै नहार्ने बताउँदै गण्डकी प्रदेशमा शिक्षा, समाजसेवा र लोकतन्त्रका लागि आजीवन संघर्ष, समन्वयको भुमिका निर्वाह गर्दै आउनु भएका पण्डित ऋषिकेशव पराजुलीको जीवन आगामी पुस्ताका लागि अनुकरणीय रहेको बताउनुभयो । सामाजिक उन्नयनका लागि पराजुलीले पु¥याउनु भएको योगदान भुल्न नसकिने बताउँदै उहाँले हाम्रो समाजमा ईतिहासको अभिलेखन हुन नसकेको र त्यस्लाई पूरा गर्ने जिम्मेवारी आँफूहरूको भएको बताउनुभयो । ऋषि केशव जस्ता सामाजिक व्यक्तित्वलाई स्थानीयस्तरमा पठनपाठनको लागि पाठ्यक्रममा राखिनुपर्ने बताउँदै उहाँले पोखरा महानगरले त्यस्ता ऐतिहासिक व्यक्तित्वको सम्मान गर्नुपर्ने बताउनुभयो । बरिष्ठ नाट्यविद् प्रा.डा. रामचन्द्र पोखरेलले स्व.ऋषिकेशव पराजुली स्वयम् बिबेकशील श्रष्टा र द्रष्टा दुबै रहनुुभएको बताउनुभयो । सेवा नै धर्म हो भनेर आफ्नो जीवन अर्पिएका पराजुलीले आफ्नो उत्तरार्धमा असहाय बेवारिसे ज्येष्ठ नागरिकहरुलाई उद्दार हुने कर्म गर्नुभएको उहाँले बताउनुभयो । पोखराको साठीघरे पराजुलीको बंशमा जन्मिएका पराजुलीले नेपालको सबैभन्दा ठूलो पृथ्वीनारायण क्याम्पस स्थापनाका लागि करिब दुई सय रोपनी भन्दा बढि जग्गा दान गर्न प्रेरित गर्नुभएको पोखरेलले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय मा.वि.का अध्यक्ष रामबिक्रम राणा, लेखक रबिन्द्र माकाजु, प्रकाशक दीपक बाटाजु, साठीघरे पराजुली समाजका अध्यक्ष बिश्वगोपाल पराजुली, प्रेस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुली, समाजसेवी बरुणविक्रम राणा लगायतले उहाँले समाजिक एवम् राजनीतिक क्षेत्रमा गर्नुभएको योगदान बारे चर्चा गर्नुभएको थियो ।
पोखरा: पोखरामा ५ लाख बढीको अवैध सामानसहित सुरत बहादुर रानाभाट प्रकाउ परेका छन् । प्रहरीले रानाभाटलाई बागलुङ बसपार्कबाट विल नभएका अवैध सामानसहित बिहीबार प्रकाउ गरेको हो । कास्कीको माछापुच्छ«े गाउँपालिका घाचोक भई पोखरा–४ बागलुङ बसपार्कमा घर भाडामा लिएर स्रोत नखुलेको अवैध विभिन्न चुरोट, गुट्का जुस लगायतका मालसामानहरु बेचबिखन गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो । रानाभाटले भाडामा लिएको घरबाट बिल नभएको ५ लाख २८ हजार ७ सय १० रुपैयाँ बराबरको बिल विनाको चुरोट, गुट्का, जुस लगायतका अवैध सामान र ग २ च ३७२ नम्बरको मारुती कारसहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ । प्रकाउ परेका रानाभाटलाई थप अनुसन्धानका लागि राजश्व कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम यो वर्ष चैत १ देखि ३ गतेसम्म पोखरामा हुने भएको छ । शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर चैत १ गतेदेखि ३ गतेसम्म आयोजना गरिएको कार्यक्रमका बारेमा जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष प्रतीक प्रधानले चैत १ गते आयोजना गरिएको साइकल ¥याली, २ गते र ३ गते आयोजना गरिएको गल्फ प्रतियोगिताका बारेमा जानकारी गराएका थिए । चैत २ गते नै पोखरामा वरिष्ठ पत्रकार तथा सम्पादकहरुसँग मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र मेयर धनराज आचार्यले छुट्टाछुट्टै अन्तरक्रिया गर्नेछन् भने नेपालस्थित विदेशी राजदूत तथा विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिले पनि छुट्टाछुट्टै अन्तरक्रिया गर्नेछन् । प्रधानले अहिलेको संकटको समयमा पनि एनसेल, बीवाईडीसहित अन्य निजी क्षेत्रका संस्थाले देखाएको उदारताको प्रशंसा गर्दै त्यसले नै कार्यक्रम सफल बनाउन आफूहरुले ऊर्जा थपिएको बताएका थिए । उनले वार्षिकरुपमा पोखरामा नै गल्फ प्रतियोगिता र अन्य कार्यक्रम आयोजना गर्ने मनसाय रहेको पनि बताए । पोखराका मेयर धनराज आचार्यले बाह्रखरी गल्फले पोखरालाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्धन गर्ने बताउँदै यस कार्यक्रमलाई महानगरपालिकाको क्यालेन्डरमा राख्नुपर्नेमा जोड दिए । “बाह्रखरी गल्फ र पोखरा महानगरपालिकालाई पर्यटनको राजधानी घोषणा कार्यक्रम सँगसँगै हुने देखिएको छ । पर्यटनको प्रवर्धन खेलको माध्यमबाट गर्न सकिने कुरो हो,” मेयर आचार्यले भने, “खेलमध्येको पनि अझ परिस्कृत खेल गल्फबाट पर्यटनको प्रवर्धन हुने र यसले दिने आर्थिक सर्कुलेसन सबै ठाउँमा पुग्छ । यसको माध्यमबाट हाम्रो सहरलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पूर्याउन महत्वपूर्ण हुनेछ भन्ने विश्वास लिएका छौँ । यो खेललाई हामीले हाम्रो क्यालेन्डरमा समावेश गर्न सक्यौँ भने सबैका लागि राम्रो बन्नेछ । यसका लागि हामीले गर्न पर्ने स्थानीय व्यवस्थापनमा महानगर तयार छ ।” त्यसैगरी गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटाले पनि कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै वार्षिक क्यालेन्डर बनाएर पोखरामै आगामी वर्षमा पनि प्रतियोगिता गर्न आग्रह गरेका थिए । उनले गण्डकी प्रदेशमा भएका सम्भावना र अवसरका बारेमा पनि विदेशी राजदूत र विकास साझेदार संस्थालाई जानकारी गराउने अवसर बाह्रखरीले जुटाइदिएको भन्दै खुसी व्यक्त गरे । त्यसैगरी गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले शुभकामना व्यक्त गर्दै पोखरामा रहेको गल्फ कोर्स विश्वकै नमुना रहेको उल्लेख गर्दै त्यहाँ केही पूर्वाधारको अभाव भएको हुनाले स्थानीय सरकार र व्यवसायीले ध्यान दिनुपर्ने बताए । उनले सात वर्षदेखि गल्फलाई निरन्तरता दिएको भन्दै बाह्रखरीलाई धन्यवाद व्यक्त गरेका थिए । “पोखरामा रहेको गल्फ कोर्स विश्वकै नमुनामध्येको पर्छ तर पूर्वाधारमा केही ध्यान पु¥याउनुपर्नेछ,” उनले भने, “एकजना गल्फर खेल्न बाहिर निस्किएपछि तीनवटा कोर्समा खेल्न मन पराउँछ त्यसैले यसको विकासका लागि मुस्ताङमा रहेको कोर्सलाई पनि सँगसँगै अघि बढाउनुपर्छ ।” उनले कुनै पनि कार्यक्रम आयोजना गर्नु आफैंमा महत्त्वपूर्ण काम भए पनि निरन्तरता दिन सक्नु झनै राम्रो भएको बताए । गोकर्ण गल्फ क्लबका निर्देशक तथा नेपाल गल्फ एसोसियसनका महासचिव दीपक आचार्यले राज्यको अर्थतन्त्र र गल्फ क्षेत्रलाई चलायमान बनाउन बाह्रखरीले कार्य गरिरहेको आभार व्यक्त गरे । “गत वर्ष पनि मैले भनेको थिएँ, धेरै चिजहरुको सुरुआत नेपालमा हुन्छन् तर, त्यसको निरन्तरता हुँदैनन्,” आचार्यले भने, “तर, बाह्रखरी मिडियाले २०१८ बाट यो गल्फलाई निरन्तरतामात्र नभई कसरी थप उर्जा दिन सकिन्छ भन्दै वर्षैपिच्छे यसलाई सुधार गरि राज्यलाई कसरी योगदान दिन सकिन्छ भनेर गरेको प्रयास म नेपाल गल्फ संघको पनि महासचिव भएको नाताले बाह्रखरीलाई धेरै धेरै बधाई दिन चाहन्छु । यसपाली पनि बाह्रखरीले गल्फ एन्ड वियोन्ड भनेर राज्यको अर्थतन्त्रलाई र गल्फ क्षेत्रलाई चलायमान बनाउन उहाँहरु तल्लिन हुनुहुन्छ । यसको लागि हामी आभारी छौँ ।” युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष निरन केसीले बाह्रखरी गल्फ पोखरामा हुनु गर्वको कुरा भएको बताए । “बाह्रखरी गल्फको नाम नै परिचित बनिसकेको छ । यो प्रतियोगितालाई पोखराको क्यालेन्डरमा समावेश गर्न सकिए यसले हाम्रो क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाउन अझ सहयोग गर्ने छ,” उनले भने, “यस प्रकारको कार्यक्रममा हामीलाई पनि सहयोगी बनाउनुभएको बाह्रखरीलाई धेरै धेरै धन्यवाद । बाह्रखरी यहाँ हुन पोखराको गर्वको कुरा हो । यसलाई पोखरामै गराउने प्रयास जारी नै राख्नेछौँ । यसका लागि सम्पूर्णमा साथ र सहयोगको आग्रह गर्दछु ।” पोखरा पयर्टन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरमै स्थापित भइसकेकाले बाह्रखरी गल्फ पयर्टन प्रवर्धनका लागि महत्वपूर्ण हुने बताए । “पोखरा पर्यटन परिषदको अनुरोधलाई स्वीकार गरेर यो भव्य कार्यक्रम आयोजना गर्न लाग्नुभएकोमा बाह्रखरी मिडियालाई धन्यवाद,” श्रेष्ठले भने, “प्रकृतिको सालिनतासँगै खेलिने गल्फको नेपालजस्तो भु–बनोट भएको देशमा धेरै सम्भावना छ । गल्फले पोखरामा पयर्टन भित्र्याउने ठूलो सम्भावना बोकेको छ । अन्तर्राष्ट्रिय स्तरमै ब्रान्डको रुपमा स्थापित भइसकेको प्रतियोगिता बाह्रखरी गल्फ पर्यटन प्रवर्धनका लागि अत्यत्नै महत्वपूर्ण छ ।” विकाश तथा सुशासन विज्ञ रमेश अधिकारीले बाह्रखरी गल्फ एन्ड वियोन्डबाट गण्डकी प्रदेश र यहाँका स्थानीय तहले फाइदा लिन सक्ने बताए । “बाह्रखरी गल्फको सहयोगीको रुपमा सँगै यात्रा गर्न पाउँदा निकै खुसी छु । यसपटक गल्फ एन्ड बियोन्डबाट गण्डकी प्रदेश र यहाँका स्थानीय क्षेत्रले धेरै फाइदा लिन सक्नेछन् भन्ने आशा लिएको छु । बाह्रखरीलाई कार्यक्रमको सफलताको सुभकामना व्यक्त गर्न चाहन्छु,” अधिकारीले भने । हिमालयन गल्फ कोर्सका अध्यक्ष किरण केसीले पोखरामा प्रशस्तै सम्भावना रहेको भए पनि पूर्वाधारमा अझै जोड दिनुपर्ने बताए । उनले ९० को दशकमा जस्तै पर्यटक आकर्षकका लागि विभिन्न कार्यक्रम ल्याउन जरुरी रहेको बताए । उनले कोर्सलाई जोगाएर राख्न महंगो भएता पनि आफूहरुले त्यो काम गर्न सकेकोमा खुसी व्यक्त गरे । उनले स्थानीय र प्रदेश सरकारले पूर्वाधारमा ध्यान दिए अझ अघि बढ्न सकिने बताए । एनसेल कम्युनिकेसन एन्ड सीएसआर प्रमुख विशाखालक्ष्मी खड्काले विगत पाँच वर्षदेखि बाह्रखरीसँग जोडिन पाएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्, “पाँच वर्षदेखि बाह्रखरी गल्फसँग जोडिन पाएकोमा खुसी छौँ, आगामी दिनमा पनि निरन्तरता दिने कोसिस अवश्य गर्नेछौँ ।” साइमेक्स नेपाल (बीवाईडी)का प्रबन्ध निर्देशक यमुना श्रेष्ठले अघिल्लोपटक आयोजना भएको प्रतियोगिताबाटै आफूहरु पनि यो कार्यक्रममा जोडिन पाए हुन्थ्यो भन्ने लागेको बताउँदै अहिले यस कर्पोरेट गल्फसँग जोडिदा खुसी लागेको बताइन् । “हामी पनि ग्रीन इनर्जीमा काम गरिरहेका छौँ,” उनले भनिन्, “पोखरालाई ग्रीन सिटीका लागि अघि बढाउने प्रयास हामी सबैले गरौँ । यसले टुरिजमका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।” युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष निरन केसीले सफलताको शुभकामना व्यक्त गर्दै आफूहरु पनि जोडिएर कार्यक्रम गर्न लागेको जानकारी गराएका थिए । उनले युवा उद्यमीसँग युवा नेतृत्वको अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताएका थिए । कार्यक्रममा बाह्रखरी मिडियाका विशेष सम्पादक हरिबहादुर थापाले पोखराले दिएको मायाले नै दोहो¥याएर कार्यक्रम गर्न लागिएको बताएका थिए । उनले आगामी दिनमा पनि पोखरामै कार्यक्रम गर्न सकेमा पर्यटन प्रवर्धन गर्न सकिने बताए ।
काठमाडौं: नेकपा माओवादी केन्द्रको बिहीबारदेखि सुरु स्थायी समिति बैठक स्थगित भएको छ । बिहीबार बसेर शुक्रबार पुनः बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको हो । माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको जानकारी दिए । रूपान्तरण अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, सांगठनिक कार्यविभाजन लगायत एजेन्डामा छलफल गर्न माओवादीले बैठक बोलाएको थियो । सापकोटाले स्थगित बैठक आइतबार बिहान ११ बजे बस्ने जानकारी दिए । आजको बैठकमा काम गर्ने–नगर्ने नेताहरूको मूल्याङ्कन गरी पुरस्कार र सजाय घोषणा गर्ने कार्यसूची रहेको थियो । हिजो बसेको बैठकले तीन महिने रुपान्तरण अभियानका क्रममा उत्कृष्ट काम गर्ने र नगर्ने तीन तीन जनाको नाम पठाउनका दशवटै प्रदेशका इन्चार्जलाई निर्देशन दिएको थियो । आज उक्त सूची पेस गर्ने कार्यसूची थियो ।
काठमाडौं: राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई पुत्र लाभ भएको छ । मेडिसिटी अस्पतालमा पत्नी कन्चन निरौलाले शुक्रबार दिउँसो करिब १२ बजे पुत्रलाई जन्म दिएको किरणले बताएका छन् । उनीहरुको यो पहिलो सन्तान हो । किरण र कन्चनको गत वर्ष भदौ १५ गते विवाह भएको थियो । उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । किरण राउन्ड ग्लास पन्जाब एफसीबाट इन्डियन सुपर लिग (आइएसएल) टोलीबाट व्यवसायिक फुटबल खेल्दै आएको छन् । किरण भारतबाट दुई दिन अघि स्वदेश फर्केका थिए ।
पोखरा: गायिका सुनिता थापाको नयाँ गीत र म्युजिक भिडिओ ‘जुनी जुनीलाई’ सार्वजनिक भएको छ । गीतमा सुनिता तथा राजेन्द्र बाराजुलीको स्वर रहेको छ । सुनिताको यो पहिलो गीत हो । यसअघि उनले केही ट्र्याकहरुमा गीत रेकर्ड गर्दै सामाजिक सन्जालमा पोस्ट गर्दै आइरहेकी थिइन । अष्ट्रेलियामा बसोबास गर्ने सुनिता गीत संगीतमा निकै समय बिताउने गर्छिन । पहिलो प्रयास बाट आफुलाई थुप्रै हौसला मिलेको आफ्नो अनुभव सुनाउदै हरेक पटक नेपाल आउँदा एउटा गीत रेकर्ड गर्ने मनसाय रहेको कुरा गीत सार्बजिकको अवसरमा बताइन । म्युजिक भिडिओमा गायिका सुनिता र खिम लामिछाने काजीको अभिनय छ । काजी पोखरामा रहेर सामाजिक कार्य गर्नुका साथै फोटोग्राफी र साहित्यमा रुची राख्छन । गीतको लेखन र संगीत टेक नारायण चापागाइले गरेका छन् भने एरेञ्ज राजेन्द्र बराजुलीको छ । युवाहरुमा हुने प्रेम तथा रोमान्सलाई गीतमा उनेर संगीत बद्द गरिएको छ भने सोही अनुसारको कथामा आधारित रहेर निर्देशक तारानाथ आचार्यले निर्देशन गरेका छन भने अनिस खड्काले छायाङ्कन गरेका छन । गीतमा मोडल रहेका खिम काजीले पोखरा फेवातालको सौदर्यलाई उजागार गर्ने उदेश्यले लकेसाइड गौरीघाट पेरिसरमा रहेको शिवजीको मन्दिर तथा अन्य लेकसाइड वरपरका द्रिश्यहरुलाई भिडियो समाबेश गरेको बताए । स्थाई घर पोखरा भएका महेन्द्र थापाले म्युजिक भिडियोको निर्माण देखी सार्बजनिक गर्ने काम गरेका हुन ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा केशरजङ्ग बरालले आफ्नो पहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर निर्माण र त्यसको पूर्ण कार्यान्वयन हुने बताएका छन् । विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएपछि उनले भने, “विश्वविद्यालयमा वार्षिक शैक्षिक क्यालेण्डर निर्माण गरी त्यसको पूर्ण कार्यान्वयन अहिलेको आवश्यकता हो । यो मेरो पहिलो प्राथमिकतामा हुनेछ ।” उनले त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था भएको र यसको सुधारका असङ्ख्य काम भएको भन्दै उनले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनका लागि पनि आफूले काम गर्नेसमेत उल्लेख गरे । “विश्वविद्यालयले परीक्षा सञ्चालन र नतिजा प्रकाशन समयमै गर्नु निकै आवश्यक छ”, उनले भने, “यसका अलवा विश्वविद्यालयको पाठयक्रम अद्यावधिक पनि मेरो प्राथमिकतामा हुनेछ ।” विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको रिक्त उपकुलपति पदमा नियुक्त गरेका थिए । नवनियुक्त उपकुलपति प्रा डा बरालले आज नियुक्तिपत्र बुझिसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले आजै कीर्तिपुरस्थित कार्यालय पुगी पदबहाली गर्ने कार्यक्रम छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरुको ‘मेरिटोक्रेसी’का विषयमा प्रधानमन्त्री दाहालले अध्ययन गरेका थिए । सिफारिस समितिले विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री दाहालसमक्ष बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो । उनलाई नियुक्ति गर्नुअघि प्रधानमन्त्री दाहालले शिक्षामन्त्री एवं शिक्षा सचिवसँग उनको ‘करिअर’का विषयमा जानकारीसमेत लिएका थिए ।

