प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् ।   ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका ल...

काठमाडौं:      निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ । आयोगको आइतबार बसेको बैठकले कोशी प्रदेशको इलाम–२ र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ ९क० मा वैशाख १५ गते  निर्वाचन गराउने निर्णय भएको आयोगका उपसचिव एवम् सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए ।  ‘‘निर्वाचन आयोगको आज मिति २०८० फागुन १३ गते बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको परामर्श समेतको आधारमा इलाम जिल्ला निर्वाचन क्षेत्र नं २ का रिक्त प्रतिनिधि सभा सदस्य पद एक र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ (क) मा रिक्त प्रदेश सभा सदस्यको उपनिर्वाचन आगामी २०८१ साल वैशाख १५ गते शनिबार गर्ने गरी निर्वाचनको मिति तोकेको छ ।’’ निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ । इलाम निर्वाचन क्षेत्र २ बाट निर्वाचित तत्कालीन प्रतिनिधि सभा सदस्य नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । त्यस्तै, बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित नेपाली कांग्रेसका पृथ्वी बहादुर सिंहको गत असार २५ गते गाडी दुर्घटनामा निधन भएको थियो । इलाम–२ मा २०७९ मा भएको निर्वाचनमा एमालेका नेम्वाङ निर्वाचित भएका थिए भने बझाङ–१ को प्रदेश सभामा कांग्रेसका सिंह निर्वाचित भएका थिए ।   

पोखरा:     स्याङ्जाको चापाकोटमा जारी स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ पर्वत तेस्रो भएको छ ।  आइतबार सम्पन्न भएको तेस्रो स्थानको खेलमा जिल्ला भलिबल संघ पर्वतले नवलपुरलाई ३–० को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।  पर्वतले नवलपुरलाई २५–१८, २५–२३ र २५–१७ ले पराजित ग¥यो । तेस्रो भएको जिल्ला भलिबल संघ पर्वतले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।  यस्तै स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि जिल्ला भलिबल संघ बागलुङ र स्याङ्जाबीच प्रतिस्पर्धा हुने संयोजक राजन दर्लामीले जानकारी दिए ।  स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता ७ जिल्लाको सहभागिता रहेको छ ।  चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो चापाकोट महोत्सवमा गण्डकी प्रदेशका भलिबल खेलाडी स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।  स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटार खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक दर्लामीले बताए ।  उनका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट स्पार्ककर, ब्लकर, सेटर, डिफेन्डर,सर्भर प्रशिक्षकले जनही ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा सुन्तलीटारमा दोस्रो चापाकोट महोत्सवमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता फागुन ८ देखि १३ गतेसम्म सञ्चालन हुदै छ ।   

पोखरा:    नेपाल मगर विद्यार्थी संघ तनहुँको अध्यक्षमा विजय थापामगर सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न १५ औं जिल्ला अधिवेशनले विजय थापामगरको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।  संघको उपाध्यक्षमा ससिता थापामगर, सचिवमा रुद्र गरङ्जा मगर, सह–सचिवमा विनिता थापामगर र कोषाध्यक्षमा अमर थापामगर चयन भएका छन् ।  यस्तै सदस्यहरु.साजन गर्जा मगर, विकास थापा मगर, सिर्जना राना मगर, ममता राना मगर, सफलता थापा मगर, उषा आले मगर, एलिना थापा मगर, सन्जय आले मगर, बिपना थापा मगर र सुनिता माकिम मगर चयन भएका छन् ।   

सुनसरी:     सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराबाट गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ । आइतबार बिहान सशस्त्र प्रहरीले गाँजासहित को १ च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।  चतराबाट सूर्यकुण्ड जाने भित्री सडक खण्डमा शङ्कास्पद अवस्थामा रोकी राखेको सो एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३.१३० के.जी गाँजा सुरक्षा बेस चतराले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताए ।  बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको जनाएको छ । 

काठमाडौँ:   मिस तामाङ २०२४ को उपाधि रिया लामाले जितेकी छन् । शनिबार काठमाडौँ स्थित राष्ट्रिय सभागृहमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् ।   अघिल्लो वर्षकी मिस तामाङ विजेता पासाङ याङ्जी तामाङले उनलाई ताज लगाइदिएकी थिइन् । उनी मम्स इन्टरनेशनल नेपालद्वारा आयोजना गरिएको मिस तामाङको १६ औँ संस्करण अर्थात् मिस तामाङ २०२४ को विजेता भएकी हुन् ।   तामाङ कला, संस्कृति, भेषभूषा, र भाषाको संरक्षण गर्ने मूल उद्देश्यका साथ आयोजना गरिएको १६ औँ संस्करण मिस तामाङ-२०२४ को आयोजक संस्था मम्स ईन्टरनेशनलका अध्यक्ष नायिका रन्जिता ब्लोनले उक्त कार्यक्रमको अध्यक्षता गरेकी छन् ।   ब्लोनले लामो समय देखि मिस तामाङ प्रतियोगिता आयोजना गर्दै आएकी छन् ।   २६ जना प्रतिस्पर्धीहरू ग्राण्ड फिनालेमा रहेपनि शनिबार सम्पन्न उक्त कार्यक्रममा २५ जनाले मात्रै आफ्ना विभिन्न प्रस्तुतिहरू प्रस्तुत गरेका थिए । ग्राण्ड फिनालिको पहिलो चरणबाट टप १४ छनौट भएका थिए भने दोस्रो चरणमा टप ७ प्रतिस्पर्धी छनौट गरेका थिए ।   ती सबै चरणहरू पार गर्दै अन्तत​: कन्टेस्टेन्ट नम्बर १३ कि रिया लामा  मिस तामाङ २०२४ को विजेता भएकी हुन् । प्रतियोगिताको फस्ट रनर अप स्मृति योन्जन, सेकेन्ड रनर अप अमृता लामा तामाङ र थर्ड रनर अप पेमाडोमा लामा रहेका छन् ।   मिस तामाङ २०२४ प्रतियोगिताको निर्णायक मण्डलमा गायक प्रदीप बम्जन‚ तामाङ चलचित्र संघ नेपालका अध्यक्ष एवम् नायक कुमार मोक्तान, पूर्व मिस तामाङ सुमी मोक्तान, सञ्चारकर्मी गंगा घिसिङ रहेका थिए ।

पाेखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ स्थित मिर्सामा भिरबाट खसेर जर्मन नागरिकको मृत्यु भएको छ ।   मृत्यु हुनेमा जर्मनी नागरिक पिया रहेका छन् ।   पिया मिर्सा झर्ने क्रममा हिजो बेलुकी (शनिबार) लडेर रुखमा अड्किएका थिए ।   पियाको शव आज बिहान सशस्त्र प्रहरी बल नम्बर–२४ कालिका गणबाट खटिएको टोलीले रुखबाट निकालेर पोखरा ल्याएको छ ।    सँगै घुम्न गएका उनका अमेरिकन साथीले पिया लडेको प्रहरीलाई खबर गरेका थिए । त्यसपछि थप अनुसन्धानका लागि अमेरिकन नागरिकलाई कास्की प्रहरीले नियन्त्रणमा राखेको छ ।  

गलकोट:     पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ। घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका छन्। गाउँमै उद्यम गरेर स्वरोजगार बन्नका लागि सात वर्षदेखि कोदोको बिस्कुट बनाउने विषयमा अध्ययन तथा अनुसन्धानपछि उनले कादोको बिस्कुट उत्पादनमा सफलता हासिल गरेका हुन्। विस २०७७ मा सो उद्योग स्थापना भएको थियो।   लामो समयदेखि आलु, कोदो, जौ र मकैको बिस्कुट बनाउनका लागि अध्ययनपश्चात् पहिलो चरणमा कोदोको बिस्कुट उत्पादन गरेको युवा व्यवसायी श्रीसले जानकारी दिए।कोदोपछि आलुको बिस्कुट बजारमा पठाउने उनको योजना रहेको छ।  ‘जागीरको मानसिकता थिएन, पाँच वर्ष काठमाडौँमा रेष्टुराँ व्यवसाय गरे, पढाइमा स्नातक सके पनि जागीर खाइन, कोरोनाकालमा गाउँ फर्केपछि रेष्टुराँ बन्द भयो, यही उद्योगमा लागे,’ उनले भने, ‘रु ५० लाख लगानीमा कोदोको बिस्कुट बजारमा पुर्‍याएको छु, अहिले धेरै स्थानबाट कोदोको बिस्कुटको माग बढिरहेको छ, कोदोको बिस्कुटको निकै राम्रो सम्भावना देखेको छु।’ कुनै समय गरिबको खानाको रुपमा चिनिएको कोदोको परिकारको महत्व पछिल्लो समय बढिरहेको सन्दर्भमा युवा व्यवसायी श्रीसले नेपालमै पहिलोपटक कोदोको बिस्कुट बजारमा ल्याएको दाबी गरे। आफूले सिए अध्ययन गर्ने क्रममा विभिन्न उद्योगको अवलोकन भ्रमणको क्रममा बिस्कुट कम्पनीको अध्ययन गरेको बताउँदै सिए बन्ने सपना पूरा नभए पनि उद्यमी बन्ने सपना पूरा गर्नतर्फ लागेको बताउनुभयो । उहाँले अहिले गुणस्तरीय प्याकेटमा ७० ग्रामको कोदोको बिस्कुटलाई २० मा बजार पठाएको बताए। उद्योग स्थापनाका लागि गण्डकी प्रदेश सरकारले ग्रामीण साना घरेलु उद्योग स्थापना कार्यक्रमअन्तर्गत रु १० लाख अनुदान पाएपछि आफूले उद्योग सुरु गरेको उनको भनाइ छ। गाउँमा रहेको कच्चा पदार्थ कोदोलाई ब्रान्ड बनाउन सके कोदोको उत्पादन बढ्ने उनको भनाइ छ।  ‘पछिल्लो समय कोदो खेती कम हुँदै आएको छ, संरक्षण गर्नुपर्ने अवस्थामा पुग्न थालेको कोदोलाई गाउँमै उद्योग स्थापना गरी बिस्कुट उत्पादन गरेर बजारीकरण गर्दा कोदो उत्पादक किसानसमेत उत्साहित हुन थालेका छन्,’ उनले भने, ‘बजारमा गहुँ, जौ र मकैको बिस्कुट आए पनि कोदोको बिस्कुट आएको थिएन, कोदो, गहुँ, घ्यू र तेलको समिश्रणमा उक्त बिस्कुट तयार हुन्छ, माग बढ्दै गएपछि उत्पादन बढाउने योजनामा छु,’ जिल्लाको बजारमा बिक्रीका लागि पठाइएको कोदोको बिस्कुटको माग बढेको मात्रै छैन नमूना बजारीकरणका लागि पोखरा र काठमाडौँको सुपर मार्केटमा समेत पठाएको उनको भनाइ छ। आफूले उत्पादन गरेको बिस्कुट खाद्य तथा गुण नियन्त्रणको कार्यालयबाट प्रमाणित भइसकेपछि बजारमा पुगेको हो। अर्गानिक गाउँको उत्पादित कोदोबाट बनाइएको बिस्कुटले स्वास्थ्यलाई समेत फाइदा गर्ने उनको भनाइ छ।  दैनिक ६० केजी बिस्कुट उत्पादन गर्ने क्षमता उद्योगको रहेको छ। उद्योगमा अहिले दुई जनालई प्रत्यक्ष रोजगारीसमेत दिइएको छ। कोदोको बिस्कुटको प्याकेजिङमा कृषि ज्ञान केन्द्रले सघाउने उनको भनाइ छ।  

भरतपुर:    तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आइतबारदेखि बन्द नहुने भएको छ ।  नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको जानकारी दिए। ‘अब पहाड काट्न एक/दुई मिटर जति मात्र बाँकी होला। त्यसैले गाडी बन्द गरिरहनुपर्ने अवस्था रहेन’, उनले भने। तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गत वर्ष र यस वर्ष पुसदेखि दिनहुँ सडक बन्द हुने गरेको थियो। साठी मिटर अग्लो पहाड काट्न गत वर्ष गत पुस ५ देखि फागुन २० गतेसम्म दैनिक चार घण्टा बाटो बन्द गरिएको थियो। गत वर्ष जम्मा २५ मिटरमात्रै पहाड काटेर काम रोकिएको थियो। यस वर्ष गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा बाटो बन्द गरेर पहाड काट्न सुरू गरिएको थियो। तुइन खोलामा ६० मिटरको लम्बाइको पुल बन्ने आयोजनाका इन्जिनियर विजय दराईले जानकारी दिए। यस सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो। बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो। अहिलेसम्म आठ पुल निर्माण भएर गाडी गुडिरहेका छन्। छ  पुलमा गाडी गुड्ने चरणमा आइपुगेको उनले जानकारी दिए। कडा चट्टानका कारण तुइन खोलाको पुल निर्माणमा समस्या आएको उनले बताए। २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो। पुलको लागत रु एक अर्ब २८ करोड छ। सडक विस्तार गरेसँगै यो सडकखण्ड नौदेखि ११ मिटर फराकिलो बनेको छ। तराईलाई राजधानीसँग जोड्ने यो प्रमुख सडकका रूपमा रहेको छ। यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्दछन्।

काठमाडौं:     नेपालले वाफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० ले पराजित गर्दै समूह विजेता बनेको छ । साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानालले एक(एक गोल गरेपछि नेपालले सहज जित हात पारेको हो । समूह बी मा सबै तीन खेल जितेर अपराजित रहेको नेपालले अब सेमिफाइनलमा समूह ए को उपविजेता लेवानोनसँग खेल्नेछ । यस्तै नेपालसँग हारेपछि समूह बी को उपविजेता बनेको प्यालेस्टाइनले समूह ए को विजेता तथा सर्वाधिक ५ पटकको च्याम्पियन जोर्डनको सामना गर्नेछ । नेपाल र प्यालेस्टाइन यसअघि नै लगातार दुई खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका थिए । त्यसैले यो खेल समूह विजेताको बन्नको लागि थियो ।   खेलको सुरुवात देखि नै नेपालले ४१औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्द नेपाललाई अग्रता दिलाइन् । रेखा पौडेलले दिएको लामो पासमा सावित्राले गोल गरेकी हुन् । दोस्रो हाफमा नेपालले तीन गोल थप्यो । ५९औं मिनेटमा रेखा पौडेलले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । सावित्रा भण्डारीले बक्स भित्र बाट हानेको प्रहार पोस्टमा लागेर फर्केपछि रेखाले रिबाउन्डमा गोल गरिन् । त्यसपछि सावित्राले ७९औं मिनेटमा व्यक्तिगत दोस्रो तथा नेपालको लागि तेस्रो गोल गरिन् । उनले रश्मि कुमारी घिसिङको पासलाई सदुपयोग गर्दै गोल गरिन् । जारी प्रतियोगितामा सावित्राको यो आठौं गोल हो र उनी सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छिन् । अघिल्लो खेलमा इराक विरुद्ध ५ गोल गर्दै नेपालका लागि ५० अन्तर्राष्ट्रिय गोल पूरा गरेकी सावित्राले यो दुई गोल पछि नेपालका लागि गोल संख्या ५२ पुर्‍याएकी छन् । नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ ले तथा दोस्रो खेलमा इराकलाई ५–० ले पारजित गरेको थियो । इन्जुरी टाइममा सावित्रालाई प्यालेस्टाइनी गोलकिपरले फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो र सावित्रालाई ह्याट्रिक गर्ने अवसर थियो । तर नेपालका लागि गीता रानाले पेनाल्टी प्रहार गर्दै गोल गरिन् । नेपालले अब मंगबलार हुने दोस्रो सेमिफाइनलमा लेवानोनसँग खेल्नेछ । त्यसअघि मंगलबारै जोर्डन र प्यालेस्टाइनबीच पहिलो सेमिफाइनल हुनेछ ।