पोखरा: पोखरा आउने पर्यटकलाई अनेक बहानामा हैरानी पार्ने आरोपका कास्की प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा ९ बसपार्क बस्ने ४० वर्षका रुपेन्द्र श्रेष्ठ, ३२ वर्षका मोहन आचार्य, ४० वर्षका नारायण अधिकारी, ४४ वर्षका श्याम प्रसाद शर्मा रहेका छन् । यसैगरी २५ वर्षका विकास कुँवर, २१ वर्षका विमल ठकुरी र २१ वर्षका विकास श्रेष्ठ, पोखरा १३ पाटनबेसी बस्ने वर्ष २८ का रञ्जन खड्का र १९ वर्षका सविन नेपाली रहेका छन् । उनीहरूलाई पृथ्वीचोक र मुस्ताङचोकबाट पक्राउ गरिएको हो कास्की प्रहरीका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए । उनका अनुसार पक्राउ परेका उनीहरुले पर्यटकहरूलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाइदिन्छु भनी झोलाहरू तान्ने तथा पैसाको बार्गेनिङ गरेर अनावश्यक दुख दिएको भन्दै सूचना प्राप्त भएको थियो । सोही सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुमाथि सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको मुद्दामा ५ दिन म्याद थपेर अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाल त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा २ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनायो । नेपाललाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको थियो । ऐरीले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का हान्दै नेपाललाई जित नजिक पुर्याएका थिए । तेस्रो बलमा दोस्रो रन लिने क्रममा करण केसी रन आउट भए । चौथो बलमा ऐरी व्यक्तिगत ६३ रनमा बोल्ड भए । टिमलाई ३ बलमा ४ रन चाहिएको अवस्थामा ठूलो सर्ट खेल्न अघि बढेका उनको ब्याटले बल नै भेट्टाएन । उनले आउट हुनुअघि ३४ बलमा ६ चौका र ३ छक्का हानेका थिए । त्यसपछि आएका प्रतिश जिसीले पाँचौ बलमा रन लिन सकेनन् । छैटौं बलमा उनले १ लेगबाइ पाए पनि त्यो रनले नेपालको हार टार्न सकेन । नेपालको स्कोर १२६ रन हुँदा सोमपाल कामी छैटौं विकेटका रुपमा डक आउट भएका थिए । सन्दीप जोरा व्यक्तिगत ८ रनमा आउट भए । रोहित पौडेल अर्धशतक पूरा गर्दै आउट भएका थिए । कुशल मल्ल ११ र आशिफ शेख ३४ रनमा आउट भए कुशल भुर्तेल खाता नै नखोली पभेलियन फर्किएका थिए । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि माइकल लेभिटले ५४ रन बनाए ।
पोखरा: सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका सक्से लामा तामाङ (मानबहादुर तामाङ)लाई खोज्न सेती नदीको ड्याम खोलिने भएको छ । प्रहरीले भोलि (बिहीबार) बिहान ८ देखि १२ बजेसम्म पोखरा–१६, दीपमा बनेको ड्याम खोलिने जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आज (बुधबार) सूचना जारी गर्दै तामाङको परिवारले नदीमा बेपत्ता भएका मानबहादुरलाई ड्याम खोलेर खोजतलाज गर्न अनुरोध गरेकाले भोलि बिहान ८ देखि १२ बजेसम्म ड्याम खोलिने सूचनामा उल्लेख गरेको छ । आइतबार बेलुका पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा २ जना बेपत्ता भएका थिए । नदीमा बेपत्ता भएका २ मध्य मंगा तामाङलाई सशस्त्र र नेपाल प्रहरीले खोजतलाज गर्ने क्रममा मृत फेला पारेको थियो । ‘उक्त मिति र समयमा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नुहुन, नदीको किनारमा नजानुहुन र सतर्कता अपनाउनुहुन अनुरोध छ’, प्रहरीले सूचनामा भनेको छ ।
बागलुङ: नेपाल मगर संघका केन्द्रीय सह-अध्यक्ष गंगबहादुर थापामगरले मगर जाति अरु कसैको अधिकार र भाग खोस्न नभई आफ्नो गुमेको अस्तीत्व र अधिकार खोजीका लागि संगठित भएको बताएका छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङले मंगलबार बागलुङमा आयोजना गरेको नेपाल मगर संघको ४२ औं स्थापना दिवस तथा मगर दिवस २०८० को अवसरमा आयोजा गरेको बृहत सभालाई सम्बोधन गर्दै उनले राज्यले नियोजित रुपमा पछाडि पारेको मगर समुदाय आफ्नो अधिकारका लागि एकतावद्ध हुनु आवश्यक रहेको बताए । ‘हामीले समानुपातिक समावेशीताको कुरा उठाउँदै गर्दै बाहुन क्षेत्री वा अरु कुनै जातिलाई अधिकार नदेउ भनेको होईन, नेपालको कुल जनसंख्याको ७ प्रतिशत मगर जातिलाई जातिय जनसंख्याको आधारमा अधिकार देउ र आफै प्रतिस्पर्धा गर्ने वाताबरण निर्माण गर्ने अवस्था सिर्जना गर भनेका छौं,’उनले भने,‘अहिले पनि मगर अधिकारको कुरा गर्दा ०.१ प्रतिशत मगरको प्रतिनित्वलाई देखाउने गरिन्छ । यसरी व्याखा गर्दा गलत हुन्छ ।’ मगर समुदायको गर्विलो इतिहासलाई इतिहासकारहरुले फिक्का बनाईदिएको उनको भनाई छ । ‘हाम्रो गर्विलो इतिहास थियो, तर हाम्रो इतिहास लेख्न मगर समुदाय भित्रको मान्छे भएन अर्कैले इतिहास लेख्दा हाम्रो कुरा लेखिदिएन,’उनले भने,‘त्यसैले हामीले हाम्रो भाषा संस्कार संस्कृति र इतिहासको खोज अब आफैले खोज्नुपर्छ भनेर संगठित भएका हौं ।’ उनले नेपालमा केही समयको लागि जातिय समानुपातिक प्रतिनिधित्व हुनु पर्नेमा जोड दिए । मगर लगायतका जनजातिहरु राज्यको उत्पीडनका कारण पछाडी परेको बताउँदै जनजातिको उत्थान गर्न निश्चित समयको लागि जातिय समानुपातिक प्रतिनिधित्व हुन जरुरी रहेको बताए । ‘हामी खुल्ला प्रतिस्पर्धा गर्न पनि तयार छौँ, तर राज्यको उत्पीडनका कारण मगर लगायतका जनजातिको संख्या राज्यको विभिन्न निकायमा न्यून छ,’ उनले भने,‘उत्पीडनमा परेका जातिको उत्थान गर्न निश्चित समयको लागि जातिय समानुपातिक प्रतिनिधित्व हुन जरुरी छ ।’ उनले पहिचान र अस्तीत्वलाई ख्याल नगरी संघियता निर्माण गरिएको र अहिले संघीयता असफल भयो भनेर हल्ला मच्चाएको उल्लेख गरे । ‘संघीयता असफल भयो कामै लागेन भनेर प्रचार गरिएको छ,’उनले भने,‘संघीयको मर्म अनुसार संघीयता काम नगर्दाको समस्या हो । हामी मगरलाई संघीयता सञ्चालन गर्ने अधिकार दिनुस् हामीले उदाहरण बनाएर देखाउँछौं संघीयता कस्तो हुन्छ ।’ नेपाल देश बनाउनका लागि सबैभन्दा ठूलो योगदान गरेको मगर समुदायलाई पछाडि पार्नका लागि नेपालका शासकहरु विगतमा नियोजित रुपमा मगरहरुको भाषा संस्कृतिमाथि हमला गरेको उनको भनाई छ । कसैको अस्तीत्व मेटाउनु छ भने पहिलो भाषा संस्कृतिमाथि आक्रमण गरे हुन्छ,’उनले भने,‘नेपालका शासकहरुले त्यो कुरा बुझेर मगरको भाषा र संस्कृतिमाथि आक्रमण गरे । हामी अहिले भाषा बोल्न नसक्ने भएका छौं । अब हामी आफै जुटेर भाषा संस्कृतिको संरक्षण गर्नु जरुरी रहेको छ ।’ नेपालको मगर समुदायले अंगिकार गरेको संस्कार संस्कृति अन्तर्राष्ट्रिय समुदायमा नेपालको पहिचान गराउने खालको भए पनि सरकारले त्यसको संरक्षण प्रवद्र्धनमा चासो नदेखाएको उनको भनाई छ । ‘हामीले नाँच्ने गाउने कौडालाई अहिले दार्जिलिङबाट भारतले आफनो संस्कृति भनेर यनेस्कोमा दर्ता गर्दैछ, गुन्द्रुकमा अमेरिकाले कपी राईट लगाउनेवाला छ,’उनले भने,‘हामी भूमिपुत्रको अस्तीत्वलाई नामेट पार्न लागेको नेपालले एउटै संस्कृति दर्ता गरेको छैन । किनकी यी सबै मगर समुदायसंग सम्बन्धित थिए ।’ उनले नेपालका शासकहरुले पटक पटक मगरहरुको भाषा संस्कृति र रितीरिवाजमाथि आक्रमण गरेको उल्लेख गरे । मगर संघले अहिले मगरहरुको इतिहास र संस्कृतिबारे खोज गरिरहेको समेत जानकारी दिए । कार्यक्रममा नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीले मगरहरु सांस्कृतिक रुपमा असाध्यै धनि रहेको बताउँदै विदेशमा समेत नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनीहरुले पहिचानले जातिय सद्भाव नभत्किने उल्लेख गरे । नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष श्यामबहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष गगन पुन र सञ्चालन सहसचिव रेशम घर्तीमगर र सचिवालय सदस्य संगम घर्तीमगरले गरेका थिए । सभा हुनुपूर्व मगर संस्कार संस्कृति र भेषभुषा सहितको ¥यालीले बागलुङ बजार परिक्रमा गरेको थियो । उक्त अवसरमा नेपाल मगर संघको प्रथम महाधिवेसनमा बागलुङबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित यामबहादुर श्रीस तत्कालिन केन्द्रीय प्रतिनिधिहरु पूर्ण श्रीस आले मगर, इन्द्रबहादुर थापामगर, नविनचन्द्र सर्वुजा मगर, डा. चिनबहादुर पुनमगर, ओमबहादुर थापामगर, डम्बरबहादुर श्रीसमगर, रमेश थापामगरलाई सम्मान गरिएको थियो । त्यसैगरी मगर समुदायमा जन्मेर पोखरा उच्च अदालत बागलुङ इजलासका न्यायाधिस यज्ञबहादुर राना, नेपाली सेनाका प्रमुख सेनानी श्रीमेहर गण घोडाबाँधे व्यारेकका गणपति धनबहादुर रानामगर, कृषि ज्ञानकेन्द्र बागलुङका बागबानी अधिकृत कुमार पुनमगर, थाली नाँच प्रशिक्षक हिरामाया पुन श्रीसलाई सम्मान गरिएको थियो ।
बागलुङ: तेस्रो लखन कप २०८० को पुरुष भलिबलको उपाधि एनविए र महिला भलिबलको उपाधि जैमिनीले जितेको छ । मंगलबार सम्पन्न फाईनल खेलमा पुरुष भलिबलतर्फ सिद्धार्थ चस्मा घर नरेठाँटी बजार एरिया एनबिए गलकोटले होटल रोयल बिजी बागलुङ गेष्ट हाउस काठमाडौंलाई सोझो सेटमा पन्छाउँदै लखन कप २०८० को उपाधि चुमेको हो । एनविएरले २५—२०, २५—१७ र २५—१७ को स्कोरमा जित हाँसिल गरेको थियो । उपाधि जितेको एनविएले नगद ८१ हजार एक सय ८१ रुपैयाँ नगद, मेडल ट्रफी र प्रमाणपत्र पाएको छ । एनविएलाई उपाधि दिलाउन क्याप्टेन अशोक सुनारको प्रदर्शन उच्च रह्यो । उपाधि होडमा पछि परेको रोयल बिजीले नगद ४१ हजार एक सय ४१ रुपैयाँ नगद मेडल ट्रफी र प्रमाणपत्र पाएको छ । महिलातर्फको भलिबल फाईनलमा जैमिनी भलिबलले ताराखोला गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको छ । जैमिनीले २५—१६, २५—२० र २५—१७ को स्कोरमा जित दर्ता गरेको हो । जैमिनीलाई जित दिलाउन आशिका क्षेत्रीले उच्च योगदान गरिन् । महिला भलिबलको उपाधि जितेको जैमिनीले नगद ३० हजार मेडल ट्रफी र प्रमाणपत्र पाएको छ । दोस्रो स्थानमा चित्त बुझाएको ताराखोलाले नगद १५ हजार मेडल ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगिताभर उच्च प्रदर्शन गरेको पुरुषतर्फ एनबिएका कप्तान अशोक सुनार र महिलातर्फ जैमिनीका आशिका क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भए । मगर दिवसको अवसरमा आयोजना गरिएको घैटोफोड प्रतियोगितामा कविता श्रीसले घैटो फोड्न सफल भईन् । महिला रस्साकस्सी प्रतियोगितामा विष्णु पुनको समूह प्रथम र उपल्लाचौर समुह द्वितीय भयो । समय अभावका कारण पुरुष रस्साकस्सी हुन सकेन । महिलो छेलो फाल्ने प्रतियोगितामा विष्णु पुन मगर प्रथम, सम्झना थापा मगर द्वितीय र राजकुमारी पुन तृतीय भए । पुरुषतर्फको छेलो प्रतियोगितामा दुजिक थापमगर प्रथम, अमरबहादुर पुन मगर द्वितीय र मिलन पाईजा तृतीय भए ।
पोखरा: पोखराको बाराहीघाटमा पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल बिक्कु गिरी, विषम पहारी र सञ्जय बुढाथोकीको सयुक्त आयोजनामा आगामी चैत ७ गतेदेखि ९ गतेसम्म कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता हुने भएको हो । बिक्कु गिरीका बुवा स्वर्गीय कृष्ण गिरी पूर्व फुटबल रेफ्री रहेकाले उनको सम्झनामा फुटबल प्रतियोगिता आयोजना गर्न लागेको खेल संयोजक विषम पहारीले बताए । ‘ स्वर्गीय कृष्ण गिरी पहिले फुटबल रेफ्री हुनुहुन्थ्यो । उहाँको फुटबल विकासमा योगदान छ । त्यतिमात्र नभएर विभिन्न सामाजिक संघ संस्थामा पनि सक्रिय हुनुहुन्थ्यो । त्यसैले हामीले उहाँको सम्मान र सम्झनामा भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्न लागेका हौं,’ खेल संयोजक पहारीले भने । उनका अनुसार सो प्रतियोगिताको विजेतालाई नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । विधागतर्फ सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही नगद रु ५/५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने अनुशासित टिमले ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा सहभागि हुनका लागि कम्तिमा ३५ वर्ष उमेर पूरा हुुनुपर्ने खेल संयोजक पहारीले जानकारी दिए । उनका अुनसार प्रतियोगितामा सहभागिता जनाउनका लागि ७ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । टिम दर्ता फोनबाटसमेत (९८१६६९९९९२, ९८१५१८२९२१, ९८४३३९२९३६) गर्न सकिने आयोजकले जनाएको छ ।
मकवानपुर: मकवानपुरको बकैया गाउँपालिका–७ को मानदमारमा एक बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडासदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका वडासदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । मङ्गलबार दिउँसो १:३० बजे आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा एक्कासि बिजुलीको पोल ढल्दा लागेर उनी सख्त घाइते भएपछि उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पतालमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि मङ्गलबार अपराह्न भरतपुरस्थित मेडिकल कलेज लगिएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको उनले जानकारी दिए । मृतक तितुङको शव हाल सोही अस्पतालमा राखिएको र घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।
काठमाडौं: त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेल जित्न नेपालले १८५ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनायो । नेदरल्याण्ड्सका लागि माइकल लेभिटले अर्धशतक बनाए । उनी ५४ रनमा आउट भए । स्याब्रान्ड एंगेलब्रेक्ट अर्धशतक पूरा गर्नबाट १ रनले चुके । उनी ४९ रनमा नट आउट रहे । स्कट एडवार्डस व्यक्तिगत ३३ रनमा आउट भए । पहिलो रन पूरा गरेरका स्कट एडवार्ड्सले दोस्रो रन पूरा गर्ने क्रममा जम्पका साथ उत्कृष्ट ड्राइभ गरेका थिए । तर अम्पायर देवेन्द्र सुवेदीले रन आउटको संकेत गरे । दीपेन्द्रसिंह ऐरीको थ्रो बल विकेटकिपर आशिफ शेखले अघि बढेर रन आउट गरेका हुन् ।
विराटनगर: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताएका छन् । ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उनको भनाइ थियो । आज विराटनगर आउनुभएका पूर्वप्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै सो धारणा राखेका हुन्। उनले वर्तमान गठबन्धन सरकारले सरकार टिकाउने काममा मात्र लागेको आरोप पनि लगाए । साथै अध्यक्ष ओलीले नेपाली कांग्रेस ठूलो पार्टी भएर पनि मुलुकको विकासमा समयानुकूल अघि बढ्न नसकेको बताए। पूर्वप्रधानमन्त्री ओलीले भ्रष्टाचारको आरोप लागेका सरकारी ओहोदामा रहेकाहरुले राजीनामा दिएर सत्यतथ्य छानबिन गर्नका लागि सहयोग गर्नुपर्नेमा जोड दिए । उनले प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्रो मुलुकमा यथोचित विकास नहुनु दुःखद भएको भन्दै सरकार मुलुकको विकास र सुशासनमा जनताको मागअनुसार अघि बढ्न नसकेको बताए । अर्को एक प्रसङ्गमा उनले एमाले सत्य निरुपण तथा मेलामिलाप विधेयक पारित गर्ने पक्षमा रहेको पनि स्पष्ट पारे ।

