पोखरा: वरपाटनस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी वितरण तथा आयोडिनबारे सचेतना कार्यक्रम गरिएको छ । रोटरी क्लब अफ पोखरा लेकसाइड, साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय पोखरा र राष्ट्रिय उपभोक्ता मञ्च कास्कीको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो । सो अवसरमा कक्षा १ देखि ४ सम्मका ६० जना बालबालिकालाई झोला, स्टेशनरी तथा सचेतनाका लागि आयोडिनयुक्त नून वितरण गरिएको थियो । साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय पोखराका प्रमुख सागर शेरचनले आयोडिनबारे सचेतना दिन फेब्रुअरीभरि विविध कार्यक्रम गरिएको बताए । आयोडिन मानव स्वास्थ्यका लागि अत्यावश्यक तत्व भएको बताउँदै उनले दुई बालबालिकाको चिन्हअंकित आयोडिनयुक्त नून नै खानुपर्ने सुझाव दिए । गर्भवती महिलामा आयोडिन कमीले सुस्त मनस्थिति, लाटो तथा विकलाङ्ग बच्चा जन्मिन सक्ने भएकोले सचेत रहनुपर्ने बताए । उनले हावा, पानी र तापको सम्पर्कबाट नून बचाउनुपर्ने सुझाव दिए । रोटरी क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष शोभाकान्त सिग्देलले अहिलेका बालबालिका भविष्यका कर्णधार भएकोले आयोडिनयुक्त नून प्रयोग गरी विकलाङ्ग हुनबाट बचाउनुपर्ने बताए । उनले रोटरी लेकसाइडले सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यसरी नै मिलेर काम गर्ने बताए । राष्ट्रिय उपभोक्ता मञ्च कास्की अध्यक्ष राजेन्द्र लिगलले उपभोक्ता हकहितका पक्षमा बोलेका थिए । उनले मानव स्वास्थ्यका लागि आयोडिनयुक्त नूनको आवश्यकता औंल्याए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र बाटाजूले विद्यालयको आम्दानीको स्रोत खासै नभएको बताउँदै गरिब वर्गका बालबालिकाको शिक्षाका निम्ति भने रोजाइ थलो बनेको बताए । विद्यालयका प्रअ वसन्तराज पाण्डेले सहयोगप्रति आभार व्यक्त गरे । २०२१ माघ २३ गते स्थापना भएको विन्ध्यवासिनी माविमा हाल कक्षा १२ सम्म ६ सय विद्यार्थी पढ्ने गरेको बताए । शिक्षक कर्मचारी २७ जना छन् । प्लस टुमा व्यवस्थापा र शिक्षा संकाय संचालित छ । समारोहमा शिक्षासेवी विकल शेरचन, विद्यालयको शिक्षक अभिभावक संघ अध्यक्ष प्रेमप्रसाद गुरुङ, शिक्षक कर्मचारी, विद्यार्थी लगायतको उपस्थिति थियो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक भएको बताउनुभएको छ । चालु आवको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठकमा आज प्रधानमन्त्रीले निर्णय नलिएकै र पन्छाएकै कारणबाट मुलुकलाई कति हानी(नोक्सानी वा क्षति हुनसक्छ भन्ने मूल्याङ्कन गर्ने प्रणाली स्थापित गर्नुपर्ने बताउनुभयो । “पछिल्लो समयमा प्रशासनयन्त्रमा काम गरे कारबाही भोग्नुपर्ने तर, कामै नगरे बच्न सकिने मनसाय बढ्दै गएको देखिन्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “अब यसको गम्भीर समीक्षा गर्नुपर्ने बेला भइसकेको छ । यसको असर अन्ततः हाम्रा उपलब्धि र राजनीतिक व्यवस्थाको रक्षा र विकासमा पर्छ भन्ने हेक्का राख्नु जरूरी छ ।” सबैभन्दा ठूलो चुनौती समयमै निर्णय नगर्ने, निर्णय पन्छाउने र अन्तरनिकाय समन्वयमा आवश्यक पहल नलिने प्रवृत्ति देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नियमबमोजिम गतिशील र सिर्जनशील निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । “मैले बारम्बार जोड दिँदै आएको छु, प्रचलित ऐन, नियमको परिधिभित्र रही निर्णय गर्न कसैले हिच्काउनु हुँदैन र पर्दैन पनि”, प्रधानमन्त्रीले भन्नुभयो, “कुनै पनि सार्वजनिक पदाधिकारीले असल नियतले गरेको निर्णयको बचावट गर्न र त्यस्तो कर्मचारीको संरक्षण गर्न म सदैव प्रतिबद्ध छु । तसर्थ सोहीबमोजिम गतिशील र सिर्जनशील भूमिका निर्वाह गर्न तत्पर रहनुहोला ।” तोकिएका लक्ष्य हासिल नहुनुका पछाडिका कारण र समस्यालाई पहिचान गरी तत्काल सुधारकार्य अघि बढाउन आग्रह गर्दै प्रधानमन्त्री दाहालले समग्र प्रशासनिक संयन्त्रको कार्यान्वयन क्षमता बढाई अपेक्षित नतिजा निर्धारित समयमै हासिल गर्नुपर्ने बताउनुभयो । उहाँले आम नागरिकलाई उपलब्ध गराउने सार्वजनिक सेवा छिटोछरितो, गुणस्तरीय र लागत किफायती हुने किसिमले प्रवाह गर्न निर्देशन दिनुभयो । किटान गरेको लक्ष्यअनुसार उपलब्धि किन हासिल हुन सकेन भन्ने अहिलेसम्म पनि चित्तबुझ्दो जवाफ नआएको भन्दै प्रधानमन्त्री दाहालले बजेट अभाव भएको, तयारी नपुगेको, जनशक्ति नपुगेको, कानुनी समस्या देखाएर कामबाट सधैँ नै अड्किने र पन्छिने परम्पराले कहिलेसम्म निरन्तरता पाउने हो भनी प्रश्न गर्नुभयो । “नीति तथा कार्यक्रम, बजेट र कार्यक्रमबीच तादम्यता नमिल्दा परिणाम आइरहेको छैन”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “मन्त्रालयहरू तथा अन्य निकायले निर्धारित वार्षिक लक्ष्य र सूचकअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय लिन हिच्किचाउने प्रवृत्ति मौलाउँदै जानु सकारात्मक सन्देश होइन ।” मन्त्रालयगत कार्यसम्पादनस्तरको आँकडा हेर्दा बढी पुँजीगत खर्च गर्ने र विकास निर्माणसँग सम्बन्धित मन्त्रालयहरूको प्रगति स्थिति कमजोर हुनुले पुँजी निर्माणको स्थिति कमजोर देखाएको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रगति समीक्षाबाट देखिएको नतिजाले गम्भीर बनाएको र यसले परम्परागत कार्यशैलीमा परिवर्तन गर्नैपर्ने अनिवार्य भएको बताउनुभयो । आफैँले तय गरेका लक्ष्य कार्यान्वयन नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले दाहालले चाहेको परिणाम प्राप्तिका लागि प्रक्षेपण क्षमता, प्राथमिकता निर्धारण, स्रोत परिचालन र खर्च गर्ने क्षमता सधैँ नै कमजोर रहने हो त भन्ने आशङ्का पैदा भएको बताउनुभयो । “यी लक्ष्यहरू सबै मन्त्रालय र निकायले आफैँ तय गरिएका हुन् । लक्ष्य हामी आफैँले निर्धारण गर्ने तर कार्यान्वयनमा हामीले लक्ष्यअनुरूप प्रगति हासिल गर्न नसक्नुका कारण के हुन् ? प्रधानमन्त्रीले प्रश्न गर्नुभयो, “हामीले तयार गर्ने योजना, कार्यक्रम, बजेट विन्यास र सोको कार्यान्वयनका विषयमा गम्भीर समीक्षा गर्नैपर्छ । यसो नगरी हाम्रो समीक्षा पनि परम्पराभन्दा माथि उठ्न सक्दैन ।” पुँजीगत खर्चको वृद्धि एवं विकास आयोजना र कार्यक्रमहरूको व्यवधानरहित सञ्चालनका लागि अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र विषयगत मन्त्रालयले संयुक्तरूपमा थप प्रयास गर्न आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले मातहतका आयोजनाको प्रभावकारी कार्यान्वयनमा पूर्ण उत्तरदायित्व वहन गर्दै नतिजा हासिल हुनेगरी कार्यसम्पादन गर्न निर्देश निर्देशन दिनुभयो ।
पोखरा: कास्की कारागार ब्लक ‘ख’ को मुहार फेरिएको छ । आन्तरिक प्रशासन प्रमुख(चौकिदार)को जिम्मा पाएका नशिप गुरुङले कैदी बन्दीको निम्ति आवश्यक पर्ने भौतिक संरचना निर्माणको काम तिव्र गतिमा अघि बढाएका हुन् । २०८०÷८१ सम्म यस ब्लकको चौकिदारको रुपमा नेतृत्व लिएका गुरुङले मुडा एरिया व्यवस्थापन तथा चिम्नी निर्माण, खेलकुद मैदानमा बस्ने पेटी निर्माण, मेस एरिया ढलान तथा व्यवस्थापन, पुल हाउसमा ट्रष्ट निर्माण, पोट हाउस एरियामा ढलान निर्माण, कारागार कार्यालय ‘ख’ ब्लक भित्र रंगरोगन, बाथरुम तथा शौचालय मर्मत सम्भार कार्य सम्पन्न गरेका छन् । आफ्नो जिम्मेवारी पूरा गर्न आफू र आफ्नो टिम दिनरात नभनी खटिएको आन्तरिक प्रशासन प्रमुख(चौकिदार) गुरुङले बताए । ‘कैदी बन्दीलाई आवश्यक पर्ने संरचना लगायत अन्य सबै सेवा सुविधाको लागि हामी लागि परेका छौ,’ गुरुङले भने, ‘नियमित कार्य वाहेक अतिरिक्त क्रियाकलापको लागि आवश्यक पर्ने सबै संरचना हुन पर्छ भन्ने हाम्रो सोच हो ।’ आफ्नो कार्यकालमा कैदी बन्दीहरुको लागि आवश्यक थप संरचनाहरु तयार गर्ने योजनासाथ आफू र आफ्नो टिमको योजना रहेको गुरुङले सुनाए । यससँगै गुरुङले कैदी बन्दीको स्वास्थ्यको निम्ति नयाँ जिम हाउस निर्माण गर्ने काम लागि अघि बढाएको आन्तरिक प्रशासन प्रमुखका विशेष सल्लाहकार विनोद भुसालले जानकारी दिए । स्वास्थ्य भनेको मानिसको सबै भन्दा ठूलो सम्पती रहेको हुनाले कैदीबन्दीको पनि स्वास्थ्यलाई ख्याल गर्दै नयाँ जिम हाउस निर्माण थालिएको भ्ुसाालको भनाई छ । ‘कैदी बन्दीहरुलाई आफन्तजनहरु दिएको खर्च अलिअलि बचत तथा श्रमदान गरे जिम हाउस निर्माण हुदैछ,’ भुसालले भने, ‘भवन मात्र नयाँ होइन जिम हाउसमा आवश्यक पर्ने सामाग्री पनि नयाँ प्रविधिकै ल्याउने तयारीमा छौ ।’ भुषालका अनुसार यही फागुन भित्र जिम हाल तयार हुनेछ । निर्माण सुधारमा बजेट न्यून विनियोजन भएर आएको अवस्थामा आन्तरिक प्रशासनको पहलबाटै मर्मत सुधार भएको कारागार प्रशासनले समेत बताएको छ ।
पोखरा: गण्डकी प्रदेश महिला भलिबल टिमले पाल्पाको रामपुरमा भोलिदेखि सञ्चालन हुने प्रथम लुम्बिनी कप राष्ट्रिय भलिबल महिला प्रतियोगितामा अरुणा शाहीको कप्तानीमा सहभागिता जनाउने भएको छ । प्रथम लुम्बिनी कप राष्ट्रिय महिला प्रतियोगितामा सहभागिता जनाउन प्रदेश खेलकुद परिषद् गण्डकीले राष्ट्रिय महिला टोलीका कप्तान समेत रहेका अरुणा शाहीको कप्तानीमा (बुधबार) १५ सदस्य टोली घोषणा गरेको छ । गण्डकी प्रदेश महिला टिममा अरुणा शाही (कप्तान), एलिसा रोका मगर, मनिषा तिलिजा, काजल छन्त्याल, सजिना बुढाथोकी, पुजा सेन ठकुरी, सोईङ थापा, हिमाली रोका, सम्पदा गुरुङ, खुशी पुन, रेविना घर्ति मगर, अनिशा रोका, प्रशिक्षकमा मलिन रोका, सहायक प्रशिक्षकमा समित गुरुङ र व्यवस्थापकमा पूर्णबहादुर गुरुङ रहेका छन् । पाल्पा जिल्ला भलिबल संघको आयोजना, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रवद्र्धन एवम् प्रायोजन तथा नेपाल भलिबल महासंघको संयोजनमा फागुन १८ देखि २३ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय क्लबसँगै सातै प्रदेशको सहभागिता रहने प्रतियोगिताको विजेताले २ लाख ५० हजार दोस्रो टोलीले १ लाख ५० हजार र तेस्रोले टोली ७५ हजार र चौथोले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
म्याग्दी: म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र हुक्कालाई प्रतिबन्ध (निषेध) गरिएको छ। सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूमपान गर्ने वस्तु हुक्का (तमाखु)ले जनस्वास्थ्यमा गम्भीर असर पार्ने र युवायुवतीलाई कुलतमा लगाउने गरेको निष्कर्ष निकाल्दै नगरपालिकाले बुधबारदेखि हुक्का सेवन र बेचबिखनमा प्रतिबन्ध लगाएको हो। गत माघ २५ गतेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार हुक्कालाई पूर्णरुपमा बिक्री वितरण र सेवनमा निषेध गरिएको नगर प्रमुख सुरत केसीले जानकारी दिए। पछिल्लो समय बजार क्षेत्रमा युवायुवती हुक्का सेवनका कुलतमा फस्दै गएका थिए। युवायुवतीलाई कुलतमा लैजान हुक्काले प्रत्यक्ष प्रभाव पारेपछि नगरपालिकाले नीतिगत निर्णय गरी आवश्यक छलफल र तयारीका साथ हुक्का सेवन र बिक्री वितरणमा निषेध गरिएको उनले बताए। नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर हुक्का सेवन एवं बिक्री वितरणमा रोक लगाएको जनाएको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को नगरपालिकाको काम, कर्तव्य र अधिकारमध्ये दफा ११ को उपदफा २ खण्ड (ञ) बमोजिम आधारभूत स्वास्थ्य र सरसफाइअन्तर्गत रही स्थानीय वातावरणमा र मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले हुक्कालाई पूर्णरुपमा निषेध गर्ने निर्णय गरिएको नगरपालिकाले जारी सूचनामा उल्लेख छ। कसैले अवज्ञा गरी हुक्का बिक्री वितरण गरेको पाइएमा सुरक्षा निकाय र नगर प्रहरीमार्फत जफत गरी कानुनअनुसार अधिकतम कारबाही गरिने व्यवस्थासमेत गरिएको प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले जानकारी दिए। नगरपालिकामा हुक्का निषेधसँगै जिल्ला प्रशासन, प्रहरीसहितको अनुगमन र समुदायस्तरमा समेत हुक्काको प्रयोगलाई निरुत्साहितसहितको सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ। यसअघि नगरपालिकाले जनप्रतिनिधि, नगरभित्रका होटल तथा रेष्टुराँ व्यवसायीसँग समेत छलफल गरेर हुक्कालाई प्रतिबन्ध लगाउने योजनालाई अघि बढाएको थियो।
काठमाडौं: केन्द्रीय कारागारका कैदीबन्दीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरिएको छ । कारागार व्यवस्थापन विभागले कारागारभित्र रहेका कैदीबन्दीको स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले फागुनदेखि लागू हुने गरी स्वास्थ्य बीमा लागू गरिएको हो । केन्द्रीय कारागार कार्यालयका स्वास्थ्य कार्यक्रम प्रमुख कल्पना ज्ञवालीले केन्द्रीय कारागारमा एक वर्षभन्दा बढी कैद भुक्तान गरेका कैदीबन्दीलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको जानकारी दिनुभयो । विभागले एकजना कैदीबन्दीको लागि रु। तीन हजार ५०० उपलब्ध गराएर स्वास्थ्य बीमा गरिदिएको हो । कैद भुक्तान गरेर कारागार बाहिर निस्किएपछि उक्त बीमा स्वतः खारेज हुने उहाँले बताउनुभयो । कारागार प्रशासक ललित बस्नेतले कैदीबन्दीको स्वास्थ्यका लागि सहयोग पुग्ने उद्देश्यले कैदीबन्दीका लागि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको बताउनुभयो । उक्त कार्यक्रम सञ्चालन भएसँगै अब कैदीबन्दीले रु। एक लाख बराबरको उपचार बीमाबाट गर्न पाउने उहाँको भनाइ थियो । यसबाहेक सरकारले केन्द्रीय कारागार अस्पतालमार्फत कैदीबन्दीको उपचार गर्दै आएको छ । तीस श्ययाको केन्द्रीय कारागार अस्पतालमा उपचारका लागि सम्भव नभएका रोगका बिरामीलाई विभिन्न २५ अस्पतालसँग सम्झौता गरेर कैदीबन्दीको उपचार गर्दै आइरहेको कारागार प्रशासक बस्नेतले बताउनुभयो । कारागार अस्पतालले हाल ओपिडी, ल्याब, एक्सरे, इसिजी, अल्ट्रासाउन्ड, डेन्टल, मनोरोग, छालारोग र आँखा रोगलगायतका रोगको उपचार गर्दै आएको छ । सो अस्पतालले बेलाबेलामा कैदीबन्दीका लागि स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै कैदीबन्दीलाई खानपान, जीवनयापन, रहनसहनलगायतका कुरा सिकाउँदै आइरहेको छ । केन्द्रीय कारागार र त्यस मातहत हाल तीन हजार ७२१ कैदीबन्दी छन् । जसअन्तर्गत केन्द्र जेलमा एक हजार ८७३, भद्र जेलमा एक हजार १६७, महिला जेलमा ४५३, बाल सुधार गृह भक्तपुरमा २२८ र ११ नाबालक छन् ।
काठमाडौं: पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला फुटबल च्याम्पियनसिपको फाइनलमा बिहीबार नेपालले जोर्डनको सामना गर्दै छ । साउदी अरेबियामा जारी उक्त प्रतियोगिताको फाइनल खेल नेपाली समय अनुसार, राति ९:४५ बजे सुरु हुनेछ । फाइनलमा नेपालकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ भने अनुपस्थित रहने भएकी छन् । अखिल नेपाल फुटबल संघ ९एन्फा० का अनुसार, सावित्रा फ्रान्सेली क्लब ईभी गुइनगाम्पबाट व्यावसायिक फुटबल खेल्छिन् । त्यसैले वाफ च्याम्पियनसिपको फाइनलअघि नै उनी फ्रान्स फर्कने भएकी छन् । विश्व फुटबल महासंघ ९फिफा० को नियम अनुसार, राष्ट्रिय टोलीको खेल फिफा विन्डोमा रहेको अवस्थामा मात्र खेलाडीले देशको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ । वाफ च्याम्पियनसिपको फाइनलअघिको खेलमात्र फिफा विन्डोमा रहेको थियो । तर, वाफ च्याम्पियनसिपको फाइनल खेल भने फिफा विन्डोभन्दा बाहिर छ । त्यसैले उनी नेपालको फाइनल खेल छाडेर व्यावसायिक फुटबल खेल्न फ्रान्स फर्कनु परेको हो । जारी वाफ च्याम्पियनसिपमा सावित्राले नौ गोल गरिसकेकी छन् । उनी जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । साम्बाले समूहगत चरणमा सिरियाविरुद्ध एक गोल, इराकविरुद्ध पाँच गोल र प्यालेस्टाइनविरुद्ध दुई गोल गरेकी थिइन् । उनले लेबननविरुद्धको सेमिफाइनल खेलमा पनि एक गोल गरेकी थिइन् । सेमिफाइनल खेलमा नेपालले लेबननलाई २–१ गोलले हराएको थियो । नेपाल समूह ‘बी’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो । नेपालले समूहगत चरणमा तीनवटै खेल जितेको थियो । नेपालले पहिलो खेलमा सिरियालाई ४–१, इराकलाई ५–० र प्यालेस्टाइनलाई ४–० गोलले हराएको थियो । जारी प्रतियोगितामा नेपालले १५ गोल गरिसकेको छ भने दुई गोलमात्र खाएको छ । जारी प्रतियोगितामा जोर्डन पनि बलियो टोलीका रुपमा देखिएको छ । जोर्डन समूह ‘ए’ बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । जोर्डनले पनि समूहगत चरणमा आफ्नो तीनवटै खेल जितेको थियो । जोर्डनले पहिलो खेलमा आयोजक साउदी अरेबियालाई ३–१, दोस्रो खेलमा ग्वामलाई ३–० र तेस्रो खेलमा लेबननलाई २–० गोलले हराएको थियो । सेमिफाइनलमा भने जोर्डनले प्यालेस्टाइनमाथि ५–० गोलको फराकिलो जित हात पारेको थियो । जोर्डनले फाइनलको यात्रा तय गर्दासम्म विपक्षीको पोस्टमा १३ गोल गरिसकेको छ । हालसम्म जोर्डनले एक गोलमात्र खाएको छ । जारी प्रतियोगितामा जोर्डनकी मायसा जबारह सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा दोस्रो स्थानमा छिन् । उनले हालसम्म पाँच गोल गरिसकेकी छन् । त्यसैले पनि बिहीबार खेलिने नेपाल र जोर्डनबिचको फाइनल खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । नेपालले आमन्त्रित टोलीको रुपमा यो प्रतियोगितामा सहभागिता जनाएको हो ।
पोखरा: पोखरा २ बागलुङ बसपार्कमा गएराती सवा ११ बजे दुईजनालाई काठको मुढढा प्रहार गरेका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्युठान स्थायी घर भएका हाल बागलुङ बसपार्कमा बस्दै आएका २६ वर्षीय सुमन केसी रहेका छन् । कास्की प्रहरीका अनुसार केसीले ७० वर्षीय देव रावत र ६० वर्षीया रुकमणी श्रेष्ठलाई काठको मुढा प्रहार गरी घाइते बनाएर फरार थिए । घाइते अवस्थामा प्रहरीले फेला पारेपछि उपचारका लागि सहारा अस्पताल पठाएको थियो । त्यसपछि फरार रहेका केसीलाई वडा प्रहरी बैदाम र जिल्ला प्रहरी कार्यालयले खोजी गरेको थियो । केसीलाई आज बिहान करिब २ बजे नालामुखबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुर्य बहादुर रानाले जानकारी दिए । उनका अनुसार केसीलाई ज्यान मार्ने उद्योग कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।
गण्डकी: गण्डकी प्रदेशसभाको आजको बैठकमा तीन विधेयक प्रस्तुत भएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले ‘गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेशसभामा पेस गरेका हुन् । गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिका सभापति फणीन्द्र देवकोटाले समितिको प्रतिवेदनसहित प्रदेशसभामा पेस गरेका हुन् । यस्तै ‘गण्डकी प्रदेशमा आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभाको प्रदेश मामिला तथा कानुन समितिका सभापति चम्पादेवी खड्काले समितिको प्रतिवेदनसहित प्रदेशसभामा प्रस्तुत गरे । बीउबिजन र आमसञ्चार सम्बन्धी विधेयक गत भदौ ३० गते प्रदेशसभामा दर्ता भई दफाबार छलफलका लागि विषयगत समितिमा पठाइएको थियो । विज्ञसहित सरोकार भएका पक्षहरुसँगको सघन छलफल र परामर्शपछि संशोधनसहित समितिबाट पारित भएको विधेयक प्रदेशसभामा प्रस्तुत गरिएको सामाजिक विकास तथा कृषि समितिका सभापति देवकोटाले बताए । प्रदेश मामिला तथा कानुन समितिका सभापति खड्काले समितिका सदस्य, सम्बन्धित मन्त्रालयका पदाधिकारी, आमसञ्चार क्षेत्रका विज्ञलगायत सरोकार भएका पक्षसँगको रायसुझावलाई विधेयकमा समेटिएको बताए । विधेयकमाथि दफावार छलफलका लागि पटकपटक समितिको बैठक बसेको उनको भनाइ छ । दुवै विधेयक प्रदेशसभामा सामान्य छलफलपछि पारित हुने जनाइएको छ । गत माघ २९ गतेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम ‘गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ आज प्रदेशसभामा पेस भएको हो । बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही हिउँदे अधिवेशनमा गण्कडी प्रदेश सडक विधेयक, जीवनाशक विषादी व्यवस्थापन विधेयक, जनस्वास्थ्य विधेयक, भूमि विधेयक, घरेलु मदिरासम्बन्धी विधेयक, खाद्य, विद्युत्, जलस्रोतलगायत विधेयक ल्याइने बताए । विभिन्न नियमावली संशोधनका लागि सरकारले स्वीकृत प्रदान गरेको उल्लेख गर्दै उनले आवश्यकता पहिचान भएका कानुन निर्माण गर्ने कार्य प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए । मुख्यमन्त्री पाण्डेले कानुनी प्रबन्धसँगै प्रदेश सरकारले तय गरेका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा आफूहरु केन्द्रित रहेको उल्लेख गरे ।

