स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

पोखरा:    पोखरा नै थर्र्काउने गरी मोटरसाइकलको स्वरुप परिवर्तन गरेर चलाउने ६ सय ८१ वटा विभिन्न कम्पनीका मोटरसाइकल कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्ला ट्राफिक कार्यालय कास्की र कास्की प्रहरीको संयुक्त प्रयासमा स्वरुप परिवर्तन गरिएका बुलेट देखि क्रसफायर मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।  कास्की प्रहरी र ट्राफिक प्रहरीले पछिल्लो ६ महिनामा स्वरुप परिवर्तन गरेर ध्वनी प्रदुषण गर्ने ६ सय ८१ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहन थापाले बताए ।  ‘पछिल्लो ६ महिनामा हामीले मोडिफाई गरिएका ६ सय ८१  वटा विभिन्न कम्पन्नीका मोटरसाइकल नियन्त्रणमा लिएका छौं’, प्रहरी प्रमुख थापाले भने, ‘ मोडिफाई भएका मोटरसाइकललाई कारवाही गरेर हामीले ६ महिनामा ७ लाख ४२ हजार ७ सय रावश्व संकलन गरेका छौं ।’ उनले पहिलो पटक स्वरुप परिवर्तन (मोडिफाई) भएका मोटरसाइकललाई सामानहरु फेर्न लगाएर पहिलेको जस्तै बनाउन लगाई ट्राफिक नियम उल्लंघनमा जरिवाना गरी अभिभावकको जिम्मा लगाउने बताए ।   ‘हामीले मोटरसाइकलको स्वरुप परिवर्तन गरेर चर्को आवाजमा चलाउने सवारीलाई नियन्त्रणमा लिएका हौं’, उनले भने, ‘पहिलो पटक नियन्त्रणमा लिएका मोटरसाइकलाई अभिभावकको रोहवरमा कारवाही गरेर फिर्ता दिन्छौं, पटके रुपमा नियन्त्रणमा लिएका सवारीलाई कारवाहीका लागि यातायात कार्यालय पठाउँछौं ।’ उनले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा स्वरुप परिवर्तन, पार्टपुर्जा थप्न घटाउन रंग परिवर्तन गर्ने नपाईने व्यवस्था रहेको समेत बताएका छन् ।  जिल्ला प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने वर्कसपको निगरानी , पहिचान गर्ने र उक्त वर्कसपका सञ्चालकहरुलाई नियन्त्रणमा लिएर कारवाही गर्ने जनाएको छ ।     

सुनसरी:     सुनसरीको इटहरीमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी–६ का ५२ वर्षीया गोपीमाया कटुवाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। स्थानीय विष्णु खड्काको घरमा गए राति भएको आगलागीमा कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ।  कटुवाल छोरा–बुहारीसँग डेरामा बस्दै आएकी थिइन्। कटुवालले आफैंले आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। कटुवाल पहिलेदेखिनै डिप्रेसन (मानसिक चिन्ता) सम्बन्धी औषधि सेवन गर्दै आएको र कोठामा एक्लै सुतेका बेलामा भित्रबाट कोठा बन्द रहेको जनाइएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

मुस्ताङ:  पर्यटक आगमन बढाउने र बसाइ लम्बाउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ।   अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको हो। एक्याप जोमसोमका रेञ्जर सञ्जोक थकालीले तीन नयाँ पदमार्ग पहिचान गरिएको जानकारी दिए।   लुप्रा–मुक्तिनाथ, ठिनी–तिलिचोताल र कोखेठाटी–सिरकुुङ–सौरु–चोखोपानी–चिमाङ–धुम्बाताल जोड्ने पदमार्ग पहिचान गरेर पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवर्द्धन थालिएको उनले बताए।   ‘स्थानीयवासीले आवतजावतका लागि प्रयोग गरिरहेको घोरेटो बाटोलाई पदमार्गको रूपमा प्रयोग गर्न सङ्केत चिह्न, सूचनापाटी राख्ने काम गरिएको छ,’ उनले भने, ‘केही ठाउँमा व्यवस्थित पदमार्ग बनाउन आवश्यक देखिएकाले योजना प्रस्ताव गरेर बजेट माग गरेका छौं।’   पुरानो पदमार्ग बेनी–जोमसोम र जोमसोम–कागबेनी–मुक्तिनाथ सडकका कारण विस्थापित भएको छ । धुलो र धुवाँले सडकमा यात्रा गर्न समस्या भएपछि पर्यटकले प्रकृतिमा रमाउन पाउने पदमार्गको माग गरेका छन्।   पथप्रर्दशकसमेत रहेका मुस्ताङको लेतेका हरि नेपालीले मुस्ताङमा सडक बनेपछि स्वदेशी र भारतीय पर्यटक आगमन बढे पनि पैदलयात्रा गर्ने तेस्रो देशका पर्यटकको सङ्ख्या घटेको बताए।   पदमार्ग मासिएको र यात्रा अवधि छोटिँदा धेरै राजस्व तिर्ने र खर्च गर्ने क्षमता भएका तेस्रो मुलुकका पर्यटक घटेका उनले बताए।   अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२२ मा मुस्ताङ भ्रमण गर्ने तेस्रो मुलकुका पर्यटक २९ दशमलव १२ प्रतिशत रहेकामा सन् २०२३ मा त्यो अनुपात घटेर १९ दशमलव २० प्रतिशतमा झरेको छ ।   सन् २०२३ मा ९० हजार तीन सय ६५ जना पर्यटक आएकामा तेस्रो मुलुकका १८ हजार एक सय ६६ र सार्क राष्ट्रभित्रका पर्यटक ७२ हजार एक सय ९० जना छन् ।   सन् २०२२ मा ६५ हजार नौ सय ४० जना पर्यटकले मुस्ताङ घुमेकामा सार्कका ४६ हजार सात सय २४ जना र तेस्रो मुलुकका १८ हजार एक सय ६६ जना रहेका एक्याप जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताए।   गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलककालाई प्रतिव्यक्ति रु एक हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति रु तीन हजार शुल्क तोकिएको छ।

काठमाडौं:   आइतबार एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार १ लाख २१ हजार पुगेको हो ।   अन्तर्राष्ट्रिय बजारको कारोबारमा शुक्रबार मूल्य उच्च दरमा बढ्दा आइतबार नेपाली बजारमा प्रभाव परेको महासंघले जनाएको छ ।   शनिबार सार्वजनिक विदा हुने भएकाले त्यस दिन सुनको मूल्य समायोजन गरिँदैन । विगत केही दिनदेखि सुनको मूल्य बढिरहेको छ ।

महोत्तरी:  बर्दिबास नगरपालिका–८ स्थितबाट अवैध लागूऔषध गाँजा करिब ६५ किलोसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा बर्दिबास नगरपालिका ८ बस्ने ३२ वर्षीय राजु प्रसाद चौधरी रहेका छन् ।   उनलाई गएराति प्रहरी चौकी हात्तिलेट र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले ज १ स ६५१७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोभित्र लुकाईछिपाई राखेको उक्त परिमाणको गाँजासहित चालक चौधरीलाई पक्राउ गरेको हो ।   पक्राउ परेका उनीमाथि  प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।  

काठमाडौँ:  गायिका समीक्षा अधिकारीले होस्टलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको न्यायका लागि माग गरेकी छन् ।   उनले  पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेकी हुन् ।   अधिकारीले बलात्कारीहरू फाँसीको लायक भएको पनि बताएकी छन् ।  उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन्।  पहिलो माया र करुणाको नाटक गर्ने बलात्कारी, जसले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन्। दोस्रो जबरजस्ती गर्ने बलात्कारी, जसले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन्। यी दुवै फाँसीका लायक छन्।’  

चितवन:   भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ गर्ने भएको छ ।   आउँदो चैत ९ देखि १८ गतेसम्म महोत्सव हुने भएको हो ।   आदिवासी महासङ्घ चितवनका अध्यक्ष महेन्द्र दुराका अनुसार चितवनमा आदिवासी जनजाति महासङ्घले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको हो ।   आदिवासी जनजाति समुदायको संस्कृति र जातीय पहिचानलाई केन्द्रमा राखेर महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ छ ।   “भेषभूषा र खानपानसँगै मञ्चमा हुने गतिविधिमार्फत आदिवासी जनजातिलाई केन्द्रमा राखेर काम गर्न खोजेका छौँ”, उनले भने, “यसो भन्दै गर्दा आदिवासी जनजाति समुदायलाई मात्रै स्थान दिने भन्ने होइन ।” महोत्सवलाई सबैको साझा बनाउने विषयमा जनजाति महासङ्घ सचेत रहेको उनले बताए ।

काठमाडौँ:   पश्चिमी वायुको प्रभावले आज देशभर बदली हुनुका साथै देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।      जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  अहिले देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थान र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।   काठमाडौँ उपत्यकाका केही स्थानमा बिहान हल्का वर्षा भएको छ । काठमाडौँको आकाशमा बिहानैदेखि बादल लागेको छ ।   दिउँसो देशभर साधारणतया बदली रहनेछ ।   सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका थोरै स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।   देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।   रातिको समयमा पनि कोशी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा  हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । 

पोखरा:  पोखराको महेन्द्रपुलबाट नयाँबजार पोखरामा स्थान्तरण गरिएको पोखरा आर्ट ग्यालरीमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ ।    नयाँबजारमा स्थान्तरण भएको आर्ट ग्यालरी गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा तयार भएपछि ललितकला प्रदर्शनी आयोजना गरिएको हो ।    गण्डकी प्रज्ञा–प्रतिष्ठानले आर्ट ग्यालरीमा ५० वटा लाइट र आवश्यक पर्ने थप समाग्री सहयोग गरेर प्रदर्शनी हललाई आर्कषक बनाएको छ ।    सोही प्रदर्शनी हलमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा सुरु भएको ‘प्रथम ऐतिहासिक प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ फागुन २३ गतेसम्म सञ्चालन हुनेछ ।    सिर्जनशील कलाकार समुहसँगको सहकार्यमा यो प्रदर्शनी गरिएको हो । प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले एक कार्यक्रमकाबीच उद्घाटन गरे । 'सामाजिक रुपान्तरण, ललितकलाको अभियान' भन्ने नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका कलाकारका कुल ७४ वटा कला प्रदर्शनमा राखिएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।   अवलोकनकर्ताले प्रदर्शनी अवधिभर हरेक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म प्रदर्शनीमा राखिएका कलाको अवलोकन गर्न पाउनेछन् । पाँच दिनसम्म चल्ने प्रदर्शनीको समापन फागुन २३ गते हुनेछ ।    समापनको दिनमा दिउँसो ३ बजे पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग संवाद कार्यक्रम समेत गरिनेछ । यो कार्यक्रमले आर्ट ग्यालरी लगायतका विषयमा सबैलाई थप प्रष्ट पार्ने आयोजकको विश्वास छ ।   देशका सुप्रसिद्ध कलाकारको सहभागीतामा कार्यक्रम आयोजना भएकोले नयाँ तथा पुराना कलाकारको जमघट हुने ठाउँ प्रदर्शनी स्थल बन्ने आयोजकको अपेक्षा रहेको छ । प्रादेशिक प्रदर्शनीमा सामेल ललितकलालाई पुरस्कार समेत प्रदान गरिनेछ ।    सबै विधाबाट उत्कृष्ट हुने एकजनालाई ५० हजार रुपैयाँ, चित्रकला तर्फ परम्परागत चित्रकला र समसामयिक चित्रकला, मूर्तिकलातर्फ परम्परागत लोक मूर्तीकला र समसामयिक आधुनिक मूर्तिकला, शिल्पकला–हस्तकला, विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार गरेर एक–एक जनालाई तथा लोककला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला तर्फ दूई जनालाई पुरस्कृत गरिनेछ । सबै विधातर्फका विजेताले ३० हजार रुपैयाँ नगद हात पार्नेछन् ।   यसका अलावा प्रदर्शनी मार्फत छानिएका चित्र २०८१ जेठ १५ गते काठमाडौंमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी हुनेछन् ।    राष्ट्रिय ललितकला प्रदर्शनीमा सर्वोत्कृष्ट बन्नेलाई १ लाख नगद र विधागत उत्कृष्ट बन्नेलाई ६० हजार रुपैयाँ नगद पुरस्कार रहेको छ । राष्ट्रिय ललितकला प्रदर्शनीमा सातै प्रदेशबाट छानिएका ललितकलाका बीचमा प्रतिष्पर्धा हुनेछ ।   नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले आफुहरु प्रतिष्ठानमा आइसकेपछि परम्परागत शैलीमा सञ्चालन हुँदै आएका काम कारवाहीलाई व्यवस्थित गर्ने र प्रभावकारी बनाउने हेतुले थुप्रै योजना अगाडि सारेको बताए ।   ‘जाती जनजातिको कला आज हामी देख्न पाउदैनौ, केही अपवाद बाहेक घरभित्र थन्कीएको छ, समुदायमा थन्कीएको छ, सुषुप्त हुन थालेको छ,  त्यसलाई पुनर्जागरण  गर्ने भनेका छौं’ उनले भने ।