पोखरा: सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका सार्की लामा तामाङ (मानबहादुर) चारदिनपछि मृत फेला परेका छन् । आइतबार बेलुका देखि नदीमा बेपत्ता भएका तामाङलाई शुक्रबार बिहान पोखरा–१५ पट्नेरीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गएको आइतबार पोखरा–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा उनीसँगै २ जना बेपत्ता भएका थिए । नदीमा बेपत्ता भएका मंगा तामाङलाई भने सोही दिन प्रहरीले मृत फेला पारेको थियो । प्रहरीले नदीमा बेपत्ता भएका तामाङलाई बिहीबार सेती नदीको ड्याम खोलेर समेत खोजतलाज गर्दा भेटाउन सकेको थिएन । आइतबार बेलुका सेती नदीमा माछा मार्न गएका ५ जना मध्ये मंगा तामाङ र सार्की लामा तामाङ बेपत्ता भएका थिए । नदीमा मृत भेटिएका तामाङको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । माछा मार्न गएका कुमार तामाङ, शम्शेर तामाङ लामा र रोहित कुँवर भने सकुशल रहेको कास्की प्रहरीले जनाएको छ ।
नवलपुर: इलाका प्रहरी कार्यालय दुम्किबासले १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विनयी त्रिवेणी गाउँपालिका–१ बस्ने ६२ वर्षीय सुक बहादुर विक रहेका छन् । प्रहरीका अनुसार गत सोमबार ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरी दिएका थिए । सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले उनलाई हिजो (बिहीबार) दिउँसो पक्राउ गरेको हो । सुकबहादुरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चितवन: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको बताएका छन्। भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन समारोहमा सहभागी हुन शुक्रबार चितवन आएका देउवाले गठबन्धनले निरन्तरता पाउने बताए। एक पार्टीका नेता तथा कार्यकर्ताले अर्को पार्टीप्रति टिकाटिप्पणी गर्नुलाई सामान्य रुपमा लिनुपर्ने उनको भनाइ छ। उनले गठबन्धनमा कुनै समस्या नभएको बताए। पछिल्लो समय राष्ट्रियसभा अध्यक्षको हुने भन्ने विषयले चर्चा पाइरहेको भन्दै उनले यस विषयमा गठबन्धनमा आबद्ध दलबीच छलफलपछि टुङ्गो लगाइने बताए। ‘कांग्रेस एक्लैले अध्यक्ष बनाउन सक्दैन, गठबन्धन दलबीच छलफलपछि मात्रै टुङ्गो लाग्छ’, उनले भने।
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सहयोग गर्ने भएको छ । मञ्चको टोलीसँगको भेटमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले सहयोग गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष दीननाथ बरालले बताए । अवार्ड कार्यक्रममा सहयोग जुटाउन उद्धेश्यले मञ्चको टोली काठमाडौं पुगेको थियो । अध्यक्ष बराल, सदस्य राजु गिरी सहितको टोलीसँगको भेटमा सदस्य सचिव घिसिङले पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रमलाई भव्य बनाउनका लागि आफ्नो र राखेपको साथ रहने बताएका थिए । मञ्चले आगामी बैशाख २१ गते शुक्रबार अवार्ड कार्यक्रम गर्ने निर्णय गरिसकेको छ । अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको महासचिव राजाराम पौडेलले जनाए । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने महासचिव पौडेलले जनाए । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिकाले प्रवद्र्धन गर्नेछ । थप सहयोगी जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको हो ।
पोखरा: पोखरा महानगरपालिका–२९ भण्डारढिकमा सूर्य तारा क्लब र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा चैत ३ देखि ११ गतेसम्म खेल महोत्सव २०८० आयोजना हुने भएको छ । सूर्य तारा क्लब र नेपाल खेलकुद महासंघ गण्डकीले संयुक्त आयोजनामा चैत ३ देखि ११ गतेसम्म विद्यालयस्तरीय प्रतियोगितादेखि खुल्ला पुरुष फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । नेपाल खेलकुद महासंघ गण्डकीका अध्यक्ष विष्णु पुनले पोखरा भण्डारढिकमा विद्यालयस्तरीय प्रतियोगितादेखि खुल्ला फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको बताए । उनका अनुसार खेल महोत्सवमा पुरुष फुटबल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर, गण्डकी प्रदेश स्तरीय तेक्वान्डो प्रतियोगिता, खुला ब्याडमिन्टन प्रतियोगिता, एथलेटिक्स प्रतियोगिता र संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा नेपालभित्रका विभिन्न संघ, संस्था, क्लब एवं स्थानीय तहबाट खेलाडी सहभागी हुन सक्ने अध्यक्ष पुनले जानकारी दिए । १६ टिमको सहभागिता रहने फुटबल प्रतियोगिताको विजेताले ३ लाख ३ हजार ३ सय ३३, उपविजेताले १ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कारसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताभर उत्कृष्ट खेलाडीले र सर्वाधिक गोलकर्ता र अनुशासित टिमले ७ हजार ७ सय ७७ रुपैयाँ पाउने प्रतियोगिताका अध्यक्ष पुनले बताए । खेल महोत्सवमा आयोजनामा गरिएको विद्यालयस्तरीय प्रतियो्गिता भने निर्धारित मिति भन्दा अगाडि नै आयोजना गर्न लागेको उनले बताए । जसमा कास्की जिल्लाका विद्यालयस्तरीय ५ किलोमिटर दौड, खुल्ला र ४५ वर्ष माथि भेट्रान ५ किलोमिटर दौड प्रतियोगिता फागुन १९ गते सञ्चालन हुने बताए । तीन विधाका विजेताले ७ , उपविजेताले ५ तेस्रो हुने प्रतियोगीले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । फागुन २६देखि चैत ३ गतेसम्म सञ्चालन हुने विद्यालय स्तरीय नृत्य प्रतियोगिता विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ पाउनेछन् भने तेस्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउनेछन् । खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता प्रथम हुनेले ३३ हजार ३ सय ३३, उपविजेताले २२ हजार २ सय २द्द र तेस्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै खेल महोत्सवमा गण्डकी प्रदेशस्तरीय तेक्वान्डो प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २२ हजार २ सय २२ र तेस्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँ पुरस्का प्राप्त गर्नेछन् । खुुल्ला ब्याडमिन्टन प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २२ हजार २ सय २२ र तेस्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँ पुरस्का प्राप्त गर्नेछन् । यस्तै विभिन्न संघसंस्थास्तरीय झाँकी प्रर्दशनी प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २२ हजार २ सय २२ र तेस्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँ पुरस्का प्राप्त गर्नेछन् । खेल महोत्सव चैत ३ देखि ११ गतेसम्म सञ्चालन हुने भएपनि विद्यालयस्तरीय प्रतियोगिता निर्धारित मितिभन्दा अगाडि नै सञ्चालन हुने पुनले बताए । महोत्सवको उद्घाट नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले जुवाखालबाट ९ जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले बिहीबार पोखरा महानगरपालिका–५ जिरो किमीस्थित धौलागिरी आगमन रेष्टुरेन्ट एण्ड लजबाट नगद रु ९४ हजार ४० र ३ बुक ताससहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा ५ बस्दै आएका म्याग्दीको धौलागिरी गाउँपालिका–१ का ५१ वर्षीय पदम लामासहित ९ जना रहेका छन् । पक्राउ परेका उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीले वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा हार बेहोरेको छ । साउदी अरबको जेद्दाहमा विहीबार सम्पन्न फाइनलमा नेपाललाई टाइब्रेकरमा पराजित गर्दै जोर्डन छैटौं पटक उपाधि जित्न सफल भएको हो । निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि जोर्डन टाइब्रेकरमा ५–३ ले विजयी भएको हो । पहिलो हाफमा सविता राना मगरको १–० को अग्रता लिएको नेपाल दोस्रो हाफमा गोल खाएपछि २१ को स्थितिमा थियो । तर इन्ज्युरी समयमा प्राप्त पेनाल्टीमा गीता रानाले गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको हो । त्यसपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो ।
पोखरा: पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका सार्की लामा तामाङ (मानबहादुर) चार दिन देखि नदीमा बेपत्ता छन् । आइतबार बेलुका नदीमा माछा मार्ने क्रममा उनीसहित मंगा तामाङ बेपत्ता भएका थिए । नदीमा मानिस बेपत्ता भएको खबरपछि उद्धारका लागि खटिएको वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बलको नम्बर २४ कालिका गणको टोलीले मध्यरातको १ः१० बजे मंगा तामाङलाई मृत फेला पारेको थियो । पोखरा– १ सिम्पानी घर भएका सार्की लामा तामाङ (मानबहादुर) नदीमा बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । तामाङको परिवारले सेती नदीमा बनाइएको ड्याम खोलेर खोजी गर्न अनुरोध गरेपछि आज (बिहीबार) ड्याम खोलेर खोजी गरेपनि फेला नपरेको कास्की प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सेती नदीमा माछा मार्न क्रममा बेपत्ता भएका २ जना मध्य एक जना मृत फेला परेका थिए ।
पोखरा: जिल्ला अदालत कास्कीले बाल विवाह मुद्धामा ३ महिना कैद सुनाइएका बुद्धिसरा र बिनितालाई प्रहरीले १ वर्षपछि प्रकाउ गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ बस्ने सरस्वती वि.क भन्ने बुद्धिसर विक र बिनिता विकलाई जिल्ला अदालत कास्कीले ०७९ फागुन २५ गते ३ महिना कैद, २५ सय जरिवाना र पिडित राहत कोषमा २ सय जरिवाना फैसला गरेको थियो । अदालतको फैसला अनुसार २ महिना १८ दिन कैद सजाय र २५ सय जरिवाना र पिडित राहत कोषमा २ सय रुपैयाँ भुक्तान गर्न बाँकी रहेका बुद्धिसरा र बिनितालाई प्रहरीले हिजो (बुधबार)पोखराको हरिचोकबाट प्रकाउ गरेको हो ।

