पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

काठमाडौं:    प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७४३ वटै वडासम्म पुगेर जनताका कुरा सुन्ने ‘समुदायमा कांग्रेस’ अभियान घोषणा गरेको छ । पार्टीको यसअघिकै निर्णयबमोजिम केन्द्रीय कार्यालयले पहिलो चरणमा माघ १३ देखि २६ गतेसम्म अभियान सञ्चालन गर्न लागेको जनाएको छ । केन्द्रीय कार्यसमितिले सञ्चालन गर्न लागेको अभियानअन्तर्गत ७ प्रदेश, ७७ वटै जिल्ला, ७५३ वटै स्थानीय तह र ६७४३ वटै वडामा प्रतिनिधि खटिँदैछन् । पार्टीका केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू समेत गाउँ–गाउँ पुग्ने र जनताका समस्या, गुनासा र सुझाव सुन्ने कार्यक्रम तय भएका छन् ।  अभियानका क्रममा कांग्रेसले तीनै तहका सरकारसँगका जनताका अपेक्षा, सुझाव र गुनासो सुन्ने केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए । ‘अभियानका क्रममा तीनै तहका सरकारसँगका जनताका अपेक्षा, सुझाव र गुनासा सुन्छौँ,’ केन्द्रीय सदस्य शिवाकोटीले भने, ‘जनताबाट प्राप्त सुझावलाई तत् तत् तहका सरकारमा पुर्‍याउने, पार्टी सरकारमा रहेका ठाउँमा सरकारको नीति कार्यक्रममा समावेश गरी कार्यान्वयनमा अग्रसरता लिने र प्रतिपक्षमा रहेका ठाउँमा समाधानका लागि पहलकदमी लिने काम गर्छौँ ।’ पार्टीसँग सम्बन्धित सुझावहरू, गुनासा र सल्लाहहरू प्राप्त भएकोमा पार्टीले आगामी महासमिति बैठकमा छलफलको विषय बनाएर अघि बढ्ने उनको भनाइ छ । अभियानले संविधानको भावनाअनुसार समुदायका बिचको सद्भाव र सम्बन्ध प्रगाढ बनाउने गरी जनसंवाद र छलफल गर्ने कांग्रेसले जनाएको छ । अभियानका लागि प्रत्येक प्रदेशमा केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी वा पार्टीका नेताले अभियानको प्रादेशिक समन्वय गर्ने र संयोजन गर्नेछन् भने जिल्लाका लागि केन्द्रीय सदस्यहरूलाई परिचालन गर्ने तयारी छ ।  अभियानअन्तर्गत माघ १३ र १४ गते सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पुगेर जिल्ला कार्यसमितिको विस्तारित बैठक बसाउने कार्यसूची छ भने अभियानको प्रारूप, उद्देश्य र कार्यक्रमका विषयमा छलफल गर्ने र प्रतिनिधि तोक्न परिपत्र गरिएको छ ।  त्यस्तै, माघ १५ गते ६७४३ वटै वडा कार्यसमितिको बैठक बस्ने र माघ १६ गते सहिद दिवसको अवसर पारेर ६७४३ वटै वडामा समुदायमा कांग्रेस अभियान प्रारम्भ हुने केन्द्रीय सदस्य शिवाकोटीले जानकारी दिए ।  उनका अनुसार वडास्तरमा माघ १६ देखि २४ गतेसम्म विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् भने माघ २६ गते सुशील कोइराला स्मृति दिवसका दिन सबै जिल्लामा अभियानको पहिलो चरणको समापन हुनेछ । अभियानका क्रममा वडाको पायक पर्ने ठाउँमा कम्तीमा एक पटक वडावासीसँग सार्वजनिक छलफल गर्ने र त्यसमार्फत जनताका अपेक्षा, गुनासा र सुझाव सुन्ने कार्यक्रम गर्नुपर्ने केन्द्रीय कार्यालयको परिपत्र छ । त्यस्तै, नागरिक समाज, शिक्षक, प्राध्यापक, आमा समूह, युवा क्लब, कृषक समूहदेखि समाजका सबै समूहसँगसमेत छलफल गर्न र उनीहरूका कुरा सुन्न केन्द्रीय कार्यालयको परिपत्र छ । त्यसक्रममा वडामा सेवा प्रवाहको अवस्था, स्वास्थ्य चौकी, विद्यालय, विकास निर्माण लगायत क्षेत्रमा भइरहेको गतिविधिको अवस्था बुझ्ने र जनताका कुरा सुन्ने जनाइएको छ । त्यस्तै, अभियानका क्रममा वृक्षारोपण, सम्पदा सरसफाइ, नदीनाला सरसफाइ, शिक्षा शिविर, स्वास्थ्य शिविर, रक्तदान, श्रमदान वा स्वास्थ्यसँग सम्बन्धित कुनै न कुनै कार्यक्रम तय गरी कार्यक्रम गर्न कांग्रेसको परिपत्र छ । अभियानका क्रममा हुने कार्यक्रममा आसन ग्रहण र भाषणका कार्यक्रम नहुने कांग्रेसको भनाइ छ । कांग्रेसले यही अभियान यसअघि पुसमै सञ्चालन गर्ने भने पनि राष्ट्रिय सभा निर्वाचनलाई कारण देखाएर सभापति शेरबहादुर देउवाले स्थगित गर्न रुलिङ गरेका थिए । केन्द्रीय समिति बैठकले निर्वाचनपछि अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । 

पोखरा:   पोखरामा पुन समाज नेपालको आयोजनामा माघ १५ देखि १९ गतेसम्म प्रथम पुन हिल कप खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएकाे छ ।  पुन समाज नेपालको स्थापन दिवसको अवसरमा प्रथम पुन हिल कप खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गरेको समाजका महासचिव खिमन शेरपुजा पुनले जानकारी दिए ।  उनका अनुसार प्रथम पुन हिल कप खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगितामा महिला/पुरुष र प्रौढ भलिबल प्रतियोगिता आयोजना हुनेछ ।    खुल्ला क्लबस्तरीय पुरुष भलिबल तर्फको विजेताले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।   यस्तै भलिबल प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई ८  हजार रुपैयाँ शुल्क कायम गरिएको छ ।  खुल्ला क्लबस्तरीय महिला प्रतियोगिताको विजेताले ६६ हजार ६ सय ६६  उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सहभागिता जनाउन ६ हजार रुपैयाँ प्रवेश शुल्क कायम गरिएको छ ।  यस्तै ४० वर्ष माथिको प्रौढ भलिबल प्रतियोगिताको विजेताले ३३ हजार ३ सय ३३ र उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् भने सहभागिता जनाउन ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।  पुन समाज नेपालका महासचिव पुनले खुल्ला क्लबस्तरीय महिला÷पुरुषतर्फ कुनै पनि टिममा प्रदेश र राष्ट्रिय टिमका कुनै पनि खेलाडी समावेश गर्न नपाइने बताए ।  ‘खुल्ला क्लबस्तरीय महिला/पुरुष भलिबलको तयारी तीव्र पारेका छौं, प्रतियोगिता माघ १५ देखि १९ गतेसम्म रामघाटमा सञ्चालन हुनेछ’, पुनले भने, ‘महिला/पुरुषतर्फ नै प्रदेश र राष्ट्रिय तर्फका खेलाडी समावेश गर्न पाइने छैन ।’  खेलाडी उत्पादनलाई मध्यनजर गर्दै प्रदेश र राष्ट्रिय टिमका सदस्यहरु समावेश गर्न नपाइने नियम राखिएको उनले बताए ।   प्रतियोगिता पुन समाज नेपाल पोखराको रामघाटमा सञ्चालन हुनेछ ।  पुन समाज नेपालले २०६३ साल माघ १५ लाई स्थापना दिवसको अवसरमा मनाउँदै आएको महासचिव पुनले बताए । 

पोखरा:   पोखरा महानगरपालिका १८ मेथलाङमा भएको दुर्घटनामा घाइते भएका चालक कृष्ण थापाको मृत्यु भएको छ ।   उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएका ग्यारजातीका ४९ वर्षीय थापालाई चिकित्सकले बिहान १०: २० बजे मृत घोषणा गरेका हुन् ।   आज बिहान करिब सवा ९ बजेतिर पोखरा झर्दै गरेको दुध बोकेको ग ३ च २६०३ नम्बरको बोरेलो जीप  सडकबाट करिब २० फिट तल खसेको थियो ।   मृतक थापालाई च्यापिएको अवस्थाबाट उद्धार गरिएको थियो ।   दुर्घटनामा परी परी घाइते भएकी ७० वर्षीया चन्द्रकला थापा र ६९ की हिमकला थापाको उपचार भइरहेको बताउदै खतरामुक्त भएको कास्की प्रहरीले जनाएको छ ।   घाइते द्वय वृद्धा भत्ता लिन पोखरा आएको बताइएको छ ।

पोखरा:  पोखरामा आज बिहान दुध बाेकेकाे जीप दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्  ।  पोखरा महानगरपालिका–१८ सराङकोटबाट बागलुङ बसपार्क पोखरा आउँदै गरेको ग ३ च २६०३ नम्बर बोलेरो जीप दुर्घटना भएको हो ।  जीप दुर्घटना हुँदा चालक कृष्णबहादुर थापा गम्भीर घाइते भएका छन् । कास्की प्रहरीका अनुसार  उनलाई दुर्घटना स्थलबाट उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल​ लगिएको छ ।   जीपमा सवार चन्द्रकला थापा र हरिकला थापा सामान्य घाइते भएका छन्  । 

काठमाडौं:     दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज (बुधबार) बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । समूहको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको नेपाललाई समूह चरण पार गर्न पाकिस्तानविरुद्धको आजको खेल महत्त्वपूर्ण रहेको छ ।  पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो । न्युजिल्यान्डविरुद्धको पहिलो खेलमा जितको लागि तीन सय तीन (३०३) रनको लक्ष्य पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ३८ रन बनाउन सकेको थियो । पाकिस्तानलाई हराउन नेपाललाई बलिङ र ब्याटिङमा सुधारिएको प्रदर्शन गर्ने चुनौती छ ।  विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले समूहको तेस्रो तथा अन्तिम खेल २६ तारिख अफगानिस्तानसँग खेल्नेछ ।  विश्वकपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका, समूह  ‘बी’ मा इङ्गल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड तथा समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे र नामिबिया रहेका छन् । हरेक समूहको शीर्ष तीनमा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । 

पोखरा:   नेपाल पत्रकार महासंघ कास्कीले ५ पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।  पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट सम्मानित हुन लागेका हुन् । छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको मंगलबार बसेको बैठकले अनुमोदन गरेको सचिव माधव बरालले जानकारी दिए । महासंघ कास्कीले प्रदान गर्ने गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारित पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने, २०८० बाट ओम हमाल सम्मानित हुन लागेका हुन् । यो पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको छ ।  टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ सन्देश श्रेष्ठ र २०८० प्रकाश ढकाललाई प्रदान गरिने महासंघ कास्कीका सचिव माधव वरालले जानकारी दिए । यस पुरस्कारको राशी २० हजार १ सय ११ रुपैयाँ छ । यस्तै २० हजार ५ सय ५५ रुपैयाँ राशीको जगन्नाथ सिग्देश युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी पुरस्कृत हुन लगेकी हुन् ।  पुरस्कृत पत्रकारहरुलाई माघ १२ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितीमा सम्मान गरिने महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिईन् । उनीहरुसँगै सोही दिन पत्रकार टंक अधिकारी र दिनानाथ बराललाई आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गरिने उनले बताइन् । 

पोखरा:     नेपाल भुतपुर्व खेलाडी मञ्च कास्कीलाई १८ औं संस्करणको सफल पोखरा म्याराथनका लागि चिप्स हस्तान्तरण गरिएको छ ।  १८ औं पोखरा म्याराथनको युके संयोजक  तथा सामाजिक अभियन्ता मन्जु गुरुङले मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई सोमबार चिप्स हस्तान्तरण गरेकी हुन । स्तन क्यान्सर पिडित समेत रहेकी पुर्व भलिबल खेलाडी गुरुङले क्यान्सर पछिको जीवन सम्भव रहेको भन्दै म्याराथनमा च्यारिटी रन समेत गर्दै आएकी छिन । युकेमा रहेका सहयोगीहरुले चुप्सको सौजन्य गरेका हुन ।  साथै मञ्चका अध्यक्ष पराजुली, निवर्तमान अध्यक्ष तेज गुरुङ र प्रतियोगिता संयोजक दिलबहादुर गुरुङले उनलाई पोखरामा स्वागत समेत गरेका छन् । १८ औं संस्करणलाई पुर्ण प्रविधीमैत्री बनाउन यश पटक सबै इभेन्टमा चिप्सको प्रयोग गरिदै छ । चिप्स जडानले प्रतियोगितालाई थप स्तरीय बनाउने आयोजकको विस्वास रहेको छ । मञ्चका अध्यक्ष हरि पराजुलीले आफुहरुलाई आवश्यक पर्ने चिप्स आएको सुनाए । उनले यसले म्याराथनको गुणस्तरीयतालाई अझ प्रभावकारी बनाउन मद्दत मिल्ने बताए । प्रतियोगिता संयोजक दिल बहादुर गुरुङले खुल्ला म्याराथन, पगण्डकी प्रदेशस्तरीय म्याराथन, महिला हाफ म्याराथन, १० किमि (महिला/पुरुष), ५ किमि (छात्र/छात्रा) दौडमा चिप्सको प्रयोग हुने जानकारी दिए । ह्विलचियर, दृस्टीविहिन र भेट्रान दौडमा चिप्सको प्रयोग हुने छैन ।  संस्थाका निवर्तमान अध्यक्ष तेज गुरुङले अन्तर्राष्ट्रिय म्याराथनको अनुसरण गर्दै चिप्स प्रयोगलाई अघि बढाउने प्रयास अघिल्लो वर्षबाट सुरु गरि यस पटक पुरै दौडमा प्रयोग गरिने बताए । चिप्सले धावकको समयको गणना गर्नेछ । स्टार्टिङ र इन्डिङ पोइन्टमा सेन्सर जडान हुनेछ ।

पोखरा:     प्रदेश खेलकुद परिषद गण्डकीले पोखरा रंगशाला व्यवस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समिति कास्कीलाई दिने निर्णय गरेको छ । प्रदेश खेलकुद परिषदका अध्यक्ष एवं गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाको अध्यक्षतामा बसेको परिषदको सातौं बोर्ड बैठकले उक्त निर्णय गरेको हो । परिषदको निर्देशन अनुसार गठित पोखरा रंगशाला व्यवस्थापन सहजीकरण समितिले पेश गरेको सुझाव र प्रतिवेदनका आधारमा प्रदेश खेलकुद परिषदको अर्को निर्णय नभएसम्मको लागि रंगशालाको व्यवस्थापन जिल्ला खेलकुद विकास समिति कास्कीलाई दिने निर्णय गर्नुका साथै रंगशालाबाट प्राप्त आम्दानी तथा खर्च ३/३ महिनामा परिषदबाट स्विकृत गराई खर्च गर्न सक्ने गरी जिल्ला खेलकुद विकास समिति कास्कीको प्रस्तावित निर्णयलाई परिषदको बैठकले अनुमोदन र समर्थन गर्ने निर्णय गरेको छ । यो निर्णय संगै रंगशालाको  सरसफाई, मर्मत सम्भार, सूरक्षा व्यवस्थापन, पानी र विद्युतीकरणलगायत सम्पूर्ण खेल संघहरुलाई सबै खेलका प्रशिक्षणहरु रंगशाला केन्द्रितको व्यवस्था मिलाउन समेत जिल्ला खेलकुद विकास समिति कास्कीलाई जिम्मेवारी दिने गरी निर्णय गरेको छ । साथै योग खेलको विकास र प्रवद्र्धनका लागि गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्यतर्फले योग अभ्यास र आर्यूवेद सञ्चालनका लागि उपयूक्त कोठा उपलव्ध गराउने निर्णय गरेको छ ।   सो निर्णय कार्यान्वयनका लागि पोखरा रंगशाला ब्वयस्थापन सहजीकरण समितिलाई जिम्मेवारी समेत तोकेको छ । पोखरा रंगशालाको ब्यवस्थापनको जिम्मेवारी जिल्ला खेलकुद विकास समिति कास्कीलाई दिइएको बारे जिल्ला प्रशासन कार्यालय, कास्की,  पोखरा महानगरपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय, कास्की र राष्ट्रिय खेलकुद परिषदलाई बोधार्थ पत्रबाट जानकारी दिएको छ । 

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले दोस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । प्रगति वितरणमा यस कार्यालयमा कार्यरत प्रहरीलाई कारवाही गरेको देखि विभिन्न सफल अनुसन्धानमा समेटिएको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीले कात्तिकदेखि पुष मसान्तसम्म ५ जना सहायक हवल्दारसहित ८ जना प्रहरी कारवाहीमा परेको डिएसपी एवम् कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।  उनका अनुसार कास्की प्रहरीमा कार्यरत खराव आचारण व्यवहारका कारण ५ जना प्रहरी सहायक हवल्दार, १ जना प्रहरी हवल्दार, १ जना प्रहरी सहायक निरीक्षक  र एकजना प्रहरी निरीक्षकलाई कारवाही गरिएको हो । यस्तै कास्की प्रहरीले एकजना प्रहरी नायव उपरिक्षकलाई पुरस्कृत समेत गरेको छ ।  कास्की प्रहरीले बल प्रयोगको सिद्धान्त तथा हातहतियार प्रयोग सम्बन्धी ३५ जना प्रहरी कर्मचारीहरुलाई तालिम प्रदान गरेको छ । भने, भिड नियन्त्रण विशेष घुम्ति अनुशिक्षण तालिम समेत दिएको छ ।  कास्की प्रहरीले समुदाय प्रहरी साझेदारी अन्तर्गत २ सय ३४ वटा विभिन्न सचेतना मूलक कार्यक्रमसेत सञ्चालन गरेको छ ।  ट्राफिक जनचेतना जगाउन कास्की प्रहरीले सर्वसाधारणदेखि सवारी चालक तथा व्यवसायीहरुलाई विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गरेको छ ।  जसमा कास्की प्रहरीले ५० जना विद्यार्थीहरु, ७३ हजार सवारी चालक तथा व्यवसायीहरु, ४ हजार ८ सय ५५ जना सर्वसाधारण नागरिक र २१ हजार ६सय ७७ जना यात्रु तथा चालकहरुलाई ट्राफिक जनचेतना मूलक कार्यक्रम सञ्चालन गरेको छ ।