काठमाडौं: जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २८ करोड ४३ लाख ५४ हजार पाँच रुपैयाँ जम्मा भएको छ । भूकम्पपीडितको सहयोगार्थ १२८ भन्दा बढी संस्था र व्यक्तिहरूले उक्त रकम कोषमा जम्मा गरेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी गराएको छ । गएको कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण १५४ जनाको मृत्यु भएको थियो । ६२ हजारभन्दा बढी घरमा क्षति पुगेको थियो । भूकम्पले ठूलो जनधनको क्षति गरेपछि सरकारले पीडितको सहयोगार्थ कोषमा रकम जम्मा गर्न अनुरोध गरेको थियो ।
बर्दियाबाट काठमाडौं जाँदै गरेको नाइट बस दाङमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दाङको लमही नगरपालिका-९ स्थित रिहार प्रहरी चौकीबाट ४ किलोमिटर पश्चिमको जंगल क्षेत्रमा प्रदेश ३- ०१००५ ख ९७१९ नम्बरको रात्री बस आइतबार राति ११ बजे दुर्घटना भएको हो । दुर्घटनमा परी बर्दियाको गेरुवा गाउँपालिकाका – १ का ३६ बर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए। मल्लका अनुसार सडकको भित्तामा बस ठोक्किदा दुई जनाको च्यापिए घटनास्थलमै मृत्यु भएको हो। चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ।
पोखरा: निर्मलपोखरी बागमारा पुँडी साना सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बिच उद्घाटन गरेपछि आयोजना सञ्चालनमा आएको हो । आयोजना उद्घाटन गर्दै प्रमुख आचार्यले आयोजना सञ्चालनमा आएसँगै उपभोक्ताहरूले खानेपानीको समस्या भोग्न नपर्ने बताउनुभयो । आयोजनाले तत्कालका लागि १९८० घरधुरीलाई पानी उपलब्ध गराएको भए पनि छिट्टै ३२ सय बढी घरमा धारा जोडिने उहाँले बताउनुभयो । “खानेपानीलाई नेपालको संविधानले मौलिक हकका रूपमा उल्लेख गरेको छ, प्रमुख आचार्यले भन्नुभयो, नगरवासीलाई सुद्ध खानेपानी उपलब्ध गराउने कार्यमा पोखरा महानगरपालिका प्रतिबद्ध छ ।” चालु योजनाहरू समयमा नै सम्पन्न गर्ने र आवश्यक परेका स्थानहरूमा थप योजनाहरू सञ्चालनका लागि महानगरले विशेष पहल गरिरहेको उहाँले बताउनुभयो । हाल महानगरको डाटा कलेक्सनको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै प्रमुख आचार्यले प्राप्त डाटाहरू विश्लेषण पश्चात् गरिबिको रेखामुनि रहेको नागरिकहरूलाई प्रतिपरिवार १० हजार लिटरका दरले निःशुल्क खानेपानी उपलब्ध गराउने प्रतिबद्धता समेत जाहेर गर्नुभयो । उनीहरूलाई खानेपानीसँगै नि:शुल्क स्वास्थ्य बिमा पनि गरिदिने योजनामा आफूहरू रहेको उहाँले बताउनुभयो । “हामी गरिबिको रेखामुनि रहेको परिवारलाई प्रति परिवार मासिक १० हजार लिटरका दरले खानेपानी र उनीहरूको निःशुल्क स्वास्थ्य बिमा पनि गरिदिन्छौँ ।” प्रमुख आचार्यले भन्नुभयो । आयोजनाको कुल लागत रु।३४ करोड ९१ लाख ७२ हजार २ सय रहेको उपभोक्ता समितिका अध्यक्ष केशर प्रसाद निर्दोषीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त रकमको ५ प्रतिशत जनसहभागिता, २५ प्रतिशत नगर विकास कोषबाट ऋण सहायता र ८५ प्रतिशत नेपाल सरकारले बेहोरेको छ । आयोजना अन्तरगत ३२ सय धारा मध्ये १९८० धाराहरू जडान गरिएका छन् । कलेक्टर वेल २ वटा, सम्पवेल २ वटा, स्लो सेन्ड फिल्टर ४ वटा, रफिङ फिल्टर ६ वटा, क्लियर वाटर ट्याङ्क १ वटा, आर.भि.टि ४ वटा, सेड हाउस ७ वटा निर्माण गरिएको छ भने, ट्रान्समिसन लाइन १० कि।मि र वितरण लाइन १८ कि।मि विस्तार गरिएको छ । समितिको हालै सम्पन्न पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनले पुनः निर्दोषीको अध्यक्षतामा नयाँ उपभोक्ता समिति गठन गरेको छ । उपभोक्ताहरूलाई निरन्तर स्वच्छ खानेपानी उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको अध्यक्ष निर्दोर्षीले प्रतिबद्धता जाहेर गर्नुभएको छ । हाल प्रति महिना ६ युनिट पानीको महसुल २५० तोकिएकामा आयोजनाको ऋण चुक्ता पश्चात् उपभोक्ताहरूलाई सहुलियत मूल्यमा पानी वितरण गरिने उहाँले बताउनुभयो । आयोजनाले पोखरा महानगरपालिका वडा नं।१७, २१ र ३३ का विभिन्न वस्तिहरूमा पानी वितरण गरेको छ ।
पोखरा: अमरसिंह खेल मैदानमा जारी बाह्रौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्श विद्या आश्रमले जितेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा सम्पन्न विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि संगै सरस्वती आदर्श विद्या आश्रमले नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा वेसलाइन एकेडेमीले दोश्रो स्थान सहित नगद ३५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । त्यस्तै प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल र ज्ञान ज्योती विद्या कुञ्जले क्रमश तेश्रो र शान्तवना स्थान हासिल गर्न सफल भयो । तेश्रो स्थान हुने मेरिगोल्डले नगद २५ हजार नगद ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयोभने शान्तवना हुने ज्ञान ज्योति विद्या कुञ्जले नगद १५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । प्रतियोगिताका बिजेताहरुलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, क्लवबका बरिष्ठ उपाध्यक्ष लोक बहादुर थापासंगै क्लबका पदाधिकारीहरुले पुरस्कार वितरण गरेका थिए । अमरसिंह खेल मैदानमा आयोजित महोत्सव एघारौ दिन सम्म आइपुग्दा दर्शकको उल्लेख्य साथ रहेको छ । दर्शकको उपस्थिती संगै महोत्सवमा कारोवार समेत बढिरहेको छ । महोत्सवको एघारौ दिन आइतबार ज्योती मगरको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । ज्योति मगर संगै महोत्सवमा जिवन दाहाल, कृष्ण अखेली, शिवहरी ढुंगाना, रामजी पौडेल, सानु बिकास, गंगा पौडेल, पारु गुरुङ, बत्ती थापा लगायतको प्रस्तुती रहेको थियोभने सांझको लाइभ ब्याण्डमा सुगम पोखरेलको प्रस्तुतीमा युवाहरु झुमेका थिए । महोत्सवको अन्तिम दिन सोमबार लोकदोहोरी तर्फ जीवन दाहाल, शंकरविरही गुरुङ, शिवहरी ढुंगाना, सुनिमा गुरुङ, लक्ष्मी बानियाँ लगायतको प्रस्तुती रहने छ भने सांझको लाइभ कन्सर्ट तर्फ जीबबको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । यसैबीच महोत्सवको समापन समारोह दिनको १ बजे पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा हुने भएको छ ।
काठमाडौं: नेपाल आईसीसी यू–१९ विश्वकपमा युवा ब्याटर अर्जुन कुमालको उत्कृष्ट ब्याटिङका बाबजुद पहिलो पटक न्युजिल्यान्डसँग पराजित भएको छ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो । यो हारले नेपालको सुपर सिक्स सम्भावनामा धक्का लागेको छ । ३०३ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३८ रन बनाउन सक्यो । नेपालका ओपनर अर्जुन कुमालले १०४ बलमा १२ चौकासहित ९० रनको शानदार इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् । अन्य ब्याटरको साथ नपाउँदा अर्जुनको उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल पराजित हुन पुग्यो । तीव्र गतिका बलर एवाल्ड श्रेडरको ३८ औं ओभरको दोस्रो बलमा अर्जुन थर्डम्यानमा क्याच आउट भएपछि विश्वकपमा शतक हान्ने पहिलो नेपाली खेलाडी बन्नबाट चुकेका थिए । बाउन्सर बल थर्डम्यानको माथि सट खेल्ने क्रममा अर्जुन क्याच हुन पुगेका थिए । त्यसअघि अर्जुनले ब्यक्तिगत १४, ८६ रन र ८८ रनमा तीन जीवनदान पाएका थिए । तेस्रो विकेटका लागि देव र अर्जुन कुमालले ६२ बलमा ५९ रनको साझेदारी गरेका थिए । देव खनाल ३४ बलमा ५ चौका र १ छक्कासहित ३६ रनमा आउट भए । अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । आकाश त्रिपाठी र गुल्शन झा २–२ रनमा आउट भए । उत्तम थापामगर, दीपक बोहरा, दीपेश कँडेलले खाता खोल्न सकेनन् । अन्तिम विकेटका लागि तिलकराज भण्डारी र सुवास भण्डारीले ३७ रनको अविजित साझेदारी गरे । सुवास भण्डारी ५२ बलमा ४ चौकासहित ३३ रनमा नटआउट रहे । तिलक भण्डारी १९ बलमा २ चौका र १ छक्कासहित १७ रनमा नट आउट रहे । न्युजिल्यान्डका मासन क्लार्कले ८ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए । एवाल्ड श्रेडर र ओस्कर ज्याक्सनले २÷२ विकेट लिए । दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनाएको थियो । न्युजिल्यान्डको जितमा तेस्रो नम्बरका ब्याटर स्नेहित रेड्डीले १२५ बलमा ११ चौका र ६ छक्कासहित १४७ रनको शानदार अविजित शतकीय इनिङ खेलेका थिए । कप्तान ओस्कर ज्याक्सनले ८१ बलमा ३ चौका र ५ छक्कासहित ७५ रनमा आउट भए । एक समय ६७–३ को अवस्थामा पुगेको न्युजिल्यान्डलाई ज्याक्सन र रेड्डीले चौथो विकेटका लागि १६४ बलमा १५७ रनको शतकीय साझेदारी गरेका थिए । उक्त साझेदारी नै नेपालको हारको मुख्य कारण बन्यो । यी दुई ब्याटरबाहेक अन्यको प्रदर्शन भने राम्रो हुन सकेन । ओपनर टम जोनसन ४५ बलमा ५ चौकासहित ३३, ल्यूक वासटन १४ र एलेक्स थोमप्सनले १३ रन बनाए । नेपालका प्रमुख बलर गुल्शन झाले १० ओभरमा ६१ रन खर्चेर २ विकेट लिए । स्पिनर सुवास भण्डारीले १० ओभरमा ६० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । तिलक भण्डारी, आकाश त्रिपाठी र दीपेश कँडेलले १(१ विकेट लिए । नेपालले यसअघि सन् २००६ को यू–१९ विश्वकपमा न्युजिल्यान्डलाई १ विकेट र सन् २०१६ मा ३२ रनले हराएको थियो । समूह डी मा रहेको नेपालले बुधबार पाकिस्तान र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ ।
काठमाडौं: आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डले नेपाललाई ३०३ रनको लक्ष्य दिएको छ। दक्षिण अफ्रिकामा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले स्नेहिथ रेडीको शतकमा ८ विकेटको क्षतिमा ३०२ रन जोड्यो। रेडीले नटआउट १४७ रन जोड्ने क्रममा १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे। कप्तान ओस्कार ज्याकसनले पनि उत्कृष्ट ब्याटिङ गरे। ज्याकसनले ७५ रन जोड्ने क्रममा ८१ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। ४१.५ ओभरमा आउट हुनुअघि उनले चौथो विकेटका लागि रेडीसँग १५७ रनको साझेदारी गरेका थिए। ज्याकसनलाई चौथो विकेटको रुपमा आउट गर्ने क्रममा नेपालका आकाश त्रिपाठीले बोल्ड गरे। त्यसअघि न्युजिल्यान्डले १४.३ ओभरमा ३ विकेट गुमाउँदा ६७ जोडेको थियो। रेडी र ज्याकसनको साझेदारीले न्युजिल्यान्ड विशाल योगफलतर्फ अघि बढेको थियो। ज्याकसन आउट भएको अर्को ओभरमा नेपालका गुल्सन झाले दुई बलमा दुई विकेट लिए। ४३औं ओभरको दोस्रो बलमा ओभरमा गुल्सन झाले स्ट्याकपोललाई शून्यमा आउट गरे। अर्को बलमा झाले ज्याक कमिन्सलाई शून्यमै आउट गरे। यस्तै एलेक्स थमसन ४८औं ओभरमा १३ रन जोड्दा सुवास भण्डारीबाट बोल्ड भए। पहिलो १० ओभरको पावरप्लेमा कुनै विकेट नगुमाएको न्युजिल्यान्डविरुद्ध नेपालले पावरप्लेपछिको पाँच ओभरभित्रमा तीन विकेट लिएको थियो। नेपालका लागि सुवास भण्डारीले पहिलो सफलता दिलाए। उनले १०.१ ओभरमा न्युजिल्यान्डका ओपनिङ ब्याट्सम्यान लुक वाट्सनलाई बोल्ड गरे। वाट्सनले १४ रन बनाउने क्रममा २५ बल खेलेर २ चौका प्रहार गरे। १३.५ ओभरमा नेपालले दोस्रो विकेट लियो। नेपालका तिलकराज भण्डारीले न्युजिल्यान्डका ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड गरे। जोन्सले ४५ बल खेल्दा ५ चौका प्रहार गरेका थिए। स्पिनर दिपेश कँडेलले १४.३ ओभरमा नेपालका लागि तेस्रो विकेट लिए। उनले न्युजिल्यान्डका ओलिभर टेवाटियालाई शून्यमा विकेटकिपरबाट क्याच गराए। बलिङमा नेपालका सुवास भण्डारीले ३ विकेट लिन सफल भए। यस्तै गुल्सन झाले २ विकेट आफ्नो नाममा लेखाए। दिपेश कंँडेल, तिलक भण्डारी र आकास त्रिपाठीले १/१ विकेट लिन सफल भए।
बागलुङ: बागलुङको बडिगाड गाउँपालिकाका स्वास्थ शाखा प्रमुख विपेन्द्रप्रताव केसी विजयलाई कालोमोसो दलेको छ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विपेन्द्रप्रताव केसी विजय लाई कालो मोसो दलेको हो। आइतबार बिहान कार्यालय तर्फ आउँदै गर्दा गाउँपालिका–६ खाल स्थित मध्यपहाडी लोकमार्गमा रोकेर ३/४ जनाको समुहले स्वास्थ्य शाखा प्रमुख केसीलाई कालो मोसो दलेको हो। म्याद गुज्रेको औषधि खुवाएर बडिगाडका स्थानीयको जीवनमाथि नै खेलबाड गरेको भन्दै कारबाहीस्वरूप कालोमोसो दलेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, बागलुङ कमिटीका जिल्ला इन्चार्ज अजनवीले बताए। जिल्ला इन्चार्ज अजनवी र संयोजक प्रविणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ्य शाखा प्रमुखको मिलेमतोमा म्याद सकिएको औषधि खरिद गरी कमिशनको खेलमा विद्यार्थीको स्वास्थ्यमा खेलवाड गरेकोले कारबाही गरिएको हो।’ गाउँपालिका अध्यक्ष र कर्मचारीको सेटिङमा आर्थिक दुरुपयोग गरी जनताको स्वास्थ्यमाथि खेलबाड गरिएको भन्दै कारबाही गरिएको सो पार्टीले जनाएको छ। कारबाही पत्र सार्वजनिक गर्दै क्रान्तिकारी पार्टीले आर्थिक चलखेल सत्ताको दुरुपयोग गरी थप लुटतन्त्र मच्चाउँदै जाने र जनताको आवाजलाई दमन गर्ने कुनै पनि षड्यन्त्र मान्य नहुने भन्दै आगामी दिनमा त्यस्ता गतिविधि नगर्न चेतावनी दिएको छ। केही समयअघि बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखामार्फत वितरण भएको १० देखि १९ वर्ष समूहका किशोरीले खाने आइरन चक्कीको म्याद गुज्रेको विषयमा समाचार प्रकाशन भएको थियो। समाचार प्रकाशनपछि बडिगाड गाउँपालिकाले पत्रकार सम्मेलन त्यसको खण्डन गरेको थियो। यद्यपि स्वास्थ्य शाखाका कर्मचारीले भने गल्ती स्वीकार गरेका थिए।
काठमाडौं: युक्रेन र रुसका सेनामा भर्ती भएर गएका नेपाली युवाहरू राज्यको नीति र संविधान विपरीत कार्य गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । शिखर सम्मेलन सम्पन्न गरी प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ताको क्रममा आइतबार वबहान त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै जागिर खाने नाममा गैह्र जिम्मेवार भएर युवाहरूले जुनसुकै देशको सेनामा ज्यान फालेर भर्ती हुनु नहुने र अबका दिनमा युवाहरू स्वयं जिम्मेवार बन्न आग्रह समेत गरे । युक्रेन र रुसको सेनामा भर्ती भई ज्यान गुमाएकाहरूका विषयमा सरकारले असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा गम्भीरताका साथ चासो चासो दिएको उनले बताए । मृतक परिवारलाई क्षतिपूर्ति राहत र शव फिर्ता ल्याउने सम्बन्धमा समेत रुसका उपविदेश मन्त्री स्तरमै छलफल भएको समेत बताए । परराष्ट्रबाट कूटनीतिक पहल भएको तर परिणाम आएन भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले ती देशहरूले गम्भीर भएर लिए पनि द्वन्द्वमा भएकाले समय दिन नसकेको हुनसक्ने बताए ।
काठमाडौं: नेकपा (एमाले)ले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सङ्घीय, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रनिनिधिले जिल्ला कमिटीको अधिवेशनमा कार्यकारी पद अध्यक्ष र सचिवमा उम्मेदवार हुन नपाउने बताउनुभयो । जिल्ला कमिटीको उपाध्यक्ष र उपसचिवमा भने जनप्रतिनिधिलाई उम्मेदवार बन्न पाइने व्यवस्था गरेको छ । उहाँका अनुसार प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष जिल्ला कमिटीको अध्यक्ष तथा सचिव पदमा उम्मेदवार बन्न नमिल्ने गरेर मापदण्ड बनाइएको छ । जिल्ला अधिवेशन तोकिएको अवस्थामा अधिवेशनका लागि उम्मेदवार र प्रतिनिधि छनोटको मापदण्ड बनाई प्रदेश तथा जिल्ला कमिटीलाई पठाइसकेको उहाँले जानकारी दिनुभयो । यस्तै जिल्ला कमिटीको पदाधिकारी पदमा उम्मेदवार हुन कम्तीमा पार्टी सदस्य भएको पाँच वर्ष पुगेको र एक कार्यकाल जिल्ला कमिटीको सदस्य वा सोसरहको भूमिका निर्वाह गरेको हुनुपर्ने उल्लेख गरिएको छ । यस्तै जिल्ला कमिटीमा सदस्यको उम्मेदवार हुन पार्टी सदस्यता लिएको कम्तीमा तीन वर्षको समयावधि पूरा गरेको वा पालिका कमिटी सदस्य वा वडा पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनुपर्ने एमालेले मापदण्ड बनाएको छ । यस्तै एमालेले जिल्ला कमिटीमा सहभागी हुने प्रतिनिधिको मापदण्ड बनाएको छ । एमालेले जिल्ला कमिटीमा १५ प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व गर्न निर्देशन दिएको छ । प्रतिनिधि हुनका लागि कम्तीमा दुई वर्ष पार्टी सदस्य भएको हुनुपर्ने उल्लेख गरिएको छ । एमाले केन्द्रले आगामी जेठभित्र जिल्ला अधिवेशन सक्न निर्देशन दिएको छ ।

