म्याग्दी: भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिले झन्झट बेहोर्नु नपर्नाका साथै समय र खर्च बचत भएको छ । गाउँपालिकाको केन्द्र मुनासम्म पुगेर योजना सम्झौता गर्न अपायक परेकाले वडा नम्बर ६ मराङ र वडा नम्बर ५ मल्कवाङका उपभोक्ता समितिलाई लक्ष्य गरेर बिहीबारदेखि घुम्ती शिविर सञ्चालन गरिएको हो । मराङमा चालु आर्थिक वर्षमा बजेट विनियोजन भएका १८ वटा योजनाका लागि वडा कार्यालयमै सम्झौता गरिएको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो । शुक्रबार पनि मल्कवाङको वडा कार्यालयमा घुम्ती शिविर सञ्चालन गरेर योजना सम्झौता गरिएको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिका पदाधिकारीलाई पालिकामा जाने आउने समय बचत र झन्झट हट्नाका साथै व्ययभार पनि घटेको डाँफे युवा क्लबको खेलमैदान निर्माण समितिका अध्यक्ष खिमबहादुर गर्बुजाले बताउनुभयो । “मुनासम्म पुग्न, काम गर्न र फर्कन उपभोक्तालाई कम्तीमा तीन दिन लाग्छ”, उहाँले भन्नुभयो, “वटामै योजना सम्झौता भएपछि एउटा उपभोक्ता समितिका कम्तीमा तीन जनाको पालिका जाने आउने समय र खर्च बचत भएको छ ।” मराङ र मल्कवाङका बासिन्दालाई धौलागिरिको केन्द्र मुनामा पुग्न मालिकाको केन्द्र दरबाङ धारापानी ताकम हुँदै घुमाउरो यात्रा गर्नुपर्छ । पालिकाको आर्थिक कारोबार हुने प्रभु बैंकको शाखा ताकममा छ । मुनामा बैंकको शाखा नभएकाले खाता खोल्ने र आर्थिक कारोबारका लागि ताकम पुग्नुपर्छ । पालिकाको केन्द्र र बैंकको शाखा एकै ठाउँमा नहुँदा मल्कवाङ, मराङ र ताकमका सेवाग्राहीलाई झन्झटपूर्ण यात्रा गर्नुपर्छ । मराङ र मल्कवाङका उपभोक्तालाई आर्थिक कारोबार गर्न ताकमभन्दा दरबाङमा रहेको बैंकको शाखाबाट सजिलो र पायक पर्छ । पालिकाको आर्थिक कारोबार हुने प्रभु बैंकको शाखा ताकममा छ । मुनामा उक्त बैंकको शाखा नभएकाले खाता खोल्ने र आर्थिक कारोबारका लागि ताकम पुग्नुपर्छ । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीको नेतृत्वमा योजना शाखाका रमेश पौडेल, लेखा शाखाका तिलक पौडेल, पूर्वाधार शाखाका लोकेन्द्र रावल, दीपेन्द्र थापा र रोमी भण्डारीको टोली घुम्ती शिविर लिएर मराङ पुगेको हो । वडाध्यक्ष, सचिव र जनप्रतिनिधिले सहजीकरण तथा समन्वय गर्नुभएको थियो । प्राविधिक टोलीले यसअघिनै योजनाको लागत अनुमान र डिजाइन तयार पारेका थिए । सबै प्रक्रिया पूरा गरेर योजना सम्झौता गरी पायक पर्ने ठाउँको बैंकको शाखामा गएर खाता खोल्न सिफारिस गर्नुका साथै पेश्की उपलब्ध गराउने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । योजना सम्झौता गर्न आएका उपभोक्ता समितिका पदाधिकारीलाई प्राविधिक, लेखा व्यवस्थापन र प्रशासनिक प्रक्रियाका विषयमा परामर्श पनि दिइएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । आवश्यकता र मागको आधारमा अन्य वडामा पनि योजना सम्झौता गर्न जाने तयारी गरिएकोे उहाँले जानकारी दिनुभयो । ठूला योजनामा ठेक्का प्रक्रिया अघि बढाउन र उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्ने योजना सम्झौतामा तीव्रता दिइएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । यस वर्ष उक्त गाउँपालिकाले एक सय १६ वटा योजना कार्यान्वयन गर्दैछ । वडामा पुगेको गाउँपालिकाको टोलीले स्थानीयवासीसँग छलफल, विकास योजनाको अनुगमन पनि गरेको छ ।
काठमाडौं: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ र विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का हेर्ने देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) फारिस हदाद जार्वोसबीच भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित आयोगको कार्यालयमा उहाँहरुबीच भेटवार्ता भएको आयोगका उपाध्यक्ष श्रेष्ठको सचिवालयले जनाएको छ । भेटवार्तामा विश्व बैंकको कन्ट्री पार्टनरसीप फ्रेमवर्क (सिपिएफ) र नेपालको १६ औँ आवधिक योजनाबीच कसरी तादम्यता मिलाउने भन्ने विषयमा छलफल हो । भेटवार्ताका क्रममा आयोगका उपाध्यक्ष श्रेष्ठले हाल मस्यौदा निर्माणको क्रममा रहेको १६ औँ योजना पूर्वाधार निर्माण, सामाजिक क्षेत्र सुधार, उत्पादन अभिवृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताउनुभयो । विद्यमान संरचनात्मक समस्याहरु पहिचान गरी समाधान गर्न १६ औँ योजनाले विशेष ध्यान दिएको श्रेष्ठले उल्लेख गर्नुभयो । विश्व बैंकलगायतका विकास साझेदारहरुले नेपालका लागि गरेको सहयोगका लागि उपाध्यक्ष श्रेष्ठले उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल मिडिया काउन्सिल, आमसञ्चार र सामाजिक सञ्जाल (व्यवस्थापन तथा नियमन) सम्बन्धी तीन विधेयकको मस्यौदा तयार गरेको छ । नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयकको मस्यौदामा अर्थ मन्त्रालयको सहमति लिई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सहमतिको लागि पठाइएको छ भने अन्य दुई विधेयक सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ । सुरक्षण मुद्रणसम्बन्धी विधेयक र सार्वजनिक सेवा प्रसारण विधेयक सङ्घीय संसदको समितिमा विचाराधीन रहेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा बिहीबार सार्वजनिक प्रगति विवरणमा नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक आएपछि आम सञ्चार क्षेत्रको पुनः संरचनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसका साथै मन्त्रालयले सञ्चारमाध्यमको सबलीकरण र श्रमजीवी पत्रकारको पेशागत तथा भौतिक सुरक्षा र आम सञ्चार क्षेत्रमा समावेशीकरणको सवाललाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको मन्त्री शर्माले जनाउनुभएको छ । मन्त्रालयबाट विगत पाँच वर्षदेखि वृद्धि हुन नसकेको श्रमजीवी पत्रकारको पारिश्रमिक पुनरावलोकनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरिएको छ । आम सञ्चारका क्षेत्रमा कतिपय सानाजस्ता देखिने तर सेवाग्राहीलाई असहज हुने गरेका क्षेत्रमा पनि सुधारको थालनी गरिएको छ । सूचना विभागबाट जारी हुने प्रेस प्रतिनिधिको अवधि तीन वर्ष बनाउने, एफएम रेडियोको नवीकरण अनलाइनबाटै गर्नेलगायतका सुधारात्मक कार्य थालिएको छ भने सञ्चारमाध्यम दर्तालगायतका सन्दर्भमा आवश्यक कागजात एकीकृतरुपमा अनलाइनमार्फत लिने व्यवस्था मिलाउन र साना साना कामका लागि पनि काठमाडौँ नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्न आवश्यक गृहकार्य थालिएको छ । चालु आवको बजेटमा आम सञ्चार र सूचना प्रविधिमा महिलाको क्षमता वृद्धिको कार्यक्रम अगाडि बढाइएको छ । सार्वजनिक सेवा प्रसारण विधेयक पारित भएपछि नेपाल टेलिभिजन र रेडियो नेपालको पुनः संरचना हुनेछ । सरकारी स्वामित्वका सबै सञ्चारमाध्यमलाई थप समावेशी बनाउँदै लैजान सरकार दृढ र प्रतिबद्ध छ । रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्रले भाषाभाषीको सङ्ख्या बढाइरहेका छन् । राससबाट मातृभाषामा समाचार सेवा सुरु भएको छ । “सरकारी सञ्चारमाध्यम सरकार र जनताबीचमा पुलको काम गर्ने माध्यम बन्नुपर्छ । जनताका गुनासा सरकारसमक्ष पुर्याउने र सरकारले गरेका राम्रा काम जनतासमक्ष पुर्याउने भूमिका खेल्नुपर्छ”, मन्त्री शर्माले भन्नुभएको छ । मन्त्रालयले अनुमतिपत्र लिई फ्रिक्वेन्सीबापत शून्य वा अत्यन्त कम राजस्व तिर्नुपर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने नीति तर्जुमा गरेको छ । त्यस्तै अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली पनि संशोधन गरिएको छ । यसले सम्पत्तिको व्यवस्थापन गर्नुको साथै प्रयोग नभएको रेडियो फ्रिक्वेन्सी स्वतः फिर्ता हुने व्यवस्था गरिएको छ । “रेडियो फ्रिक्वेन्सी सीमित प्राकृतिक स्रोतको रुपमा रहेको राज्यको सम्पत्ति हो, यसको दूरुपयोग रोक्ने मुख्य उद्देश्यसहित नियमावली संशोधन गरिएको छ ।” मन्त्रालयको प्रगति विवरणमा भनिएको छ । यसले दूरसञ्चार क्षेत्रमा रहेका समस्याको समाधान गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । कानुनी सुधारका क्रममा सरकारी विज्ञापनको कारोबारमा चुहावट बढेको, विज्ञापनका लागि छुट्याइएको रकमको थोरै प्रतिशत मात्र सञ्चारमाध्यममा जाने गरेको, यसबाट सञ्चारमाध्यममा समस्या परेको र विज्ञापन बजारमा अपारदर्शिता बढ्दै गएको गुनासो सम्बोधन गर्न विज्ञापन (नियमन गर्ने) नियमावली, २०८० संशोधन गरी कार्यान्वयनमा ल्याइएको छ ।यसबीचमा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका, २०८० र राष्ट्रिय साइवर सुरक्षा नीति, २०८० लगायतका नीति तथा कानुन स्वीकृत भई कार्यान्वयनको क्रममा रहेका छन् ।
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा उपाधि दावेदार मानिएको घरेलु टोली गण्डकी प्रदेश फाइनल प्रवेश गरेको छ । गण्डकी प्रदेशले विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा हेल्प नेपालसँगको भेट पक्का गरेको हो । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको दोस्रो सेमिफाइनल खेलमा गण्डकी प्रदेशले नेपाल एपिएफ क्लबलाई २५–१७, २५–२०, २५–२२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । तीन भारतीय खेलाडीसहित भलिबल कोर्ट उत्रेको गण्डकी प्रदेशलाई तीन पाकिस्तानी खेलाडी भित्राएको हेल्प नेपालसँग उपाधि रक्षा गर्ने चुनौती रहेको छ । लिगचरणको खेलमा गण्डकी प्रदेशले हेल्प नेपाललाई ३–२ को सेटमा पराजित गरेको थियो । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको पहिलो सेमिफाइनल खेलमा हेल्प नेपालले आमन्त्रित श्रीलंकाको आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । पहिलो सेट १८–२५ ले गुमाएको हेल्प नेपालले २५–१४, २५–१८ र चौथो सेट २६–२४ ले श्रीलंकाको आर्मी टिमलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै महिलातर्फ भने नेपाल एपिएफ क्लब र न्यु डायमण्ड स्पोर्टस् क्लब फाइनल प्रवेश गरेको छ । महिला÷पुरुषतर्फको फाइनल खेल शनिबार हुने टाइगर ग्रुप अफ पोखराले जनाएको छ । फाइनल खेल अगाडि पुरुषतर्फको तेस्रो स्थानका लागि नेपाल एपिएफ क्लब र आमन्त्रित श्रीलंकाको आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका थिए । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा उपाधि दावेदार मानिएको हेल्प नेपाल स्पार्टस् क्लब फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको पहिलो सेमिफाइनल खेलमा हेल्प नेपालले आमन्त्रित श्रीलंकाको आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो सेट १८–२५ ले गुमाएको हेल्प नेपालले २५–१४, २५–१८ र चौथो सेट २६–२४ ले श्रीलंकाको आर्मी टिमलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । दोस्रो सेमिफाइनल खेलमा गत संस्करणको विजेता घरेलु टोली गण्डकी प्रदेश र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । गण्डकीको टोलीमा तीन भारतीय खेलाडी रहेका छन् । गण्डकी उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान प्रवेश गर्दा एपिएफ गत संस्करणमा फाइनलमा भोगेको हारको बदला लिँदै उपाधि नजिक पुग्न चाहान्छ । यस्तै महिलातर्फ भने नेपाल एपिएफ क्लब र न्यु डायमण्ड स्पोर्टस् क्लब फाइनल प्रवेश गरेको छ । महिला÷पुरुषतर्फको फाइनल खेल शनिबार हुने टाइगर ग्रुप अफ पोखराले जनाएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका थिए । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
काठमाडौं: राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको रु दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेका विभागका महानिर्देशक नवराज ढुङ्गानाले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राजस्व अनुसन्धान विभागको टोलीले करिब रु दुई करोड ३० लाखजति रकमसहित चार जनालाई पक्राउ गरेको छ ।” व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ । बरामद गरिएको रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ । पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको विभागका महानिर्देशक ढुङ्गानाले बताउनुभयो ।
पोखरा: १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारी बारेमा बिहिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने उदेश्यका साथ विभिन्न संघ संस्थाहरुसँग अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा सहभागि संस्थाका प्रतिनिधिहरुले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई भव्य र सभ्य बनाउनका लागि आर्थिक, भौतिक र नैतिक रुपमा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले संघमा आबद्ध सदस्य उद्योगी तथा व्यापारिहरुको तर्फबाट गर्न सक्ने सहयोग गर्ने बताए । उनले म्याराथनका लागि आफुहरुसँग समन्वयमा रहन समेत आयोजकलाई अनुरोध गरे । नेपात्र पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठले विदेशी धावकहरुको प्रोफाइल बनाउनका लागि आग्रह गरे । प्रतियोगिता अन्तर्राष्ट्रिय भइरहँदा त्यहाँ आउने धावकहरुले अन्य उपाधि जितेको भए त्यसको प्रोफाइल सार्वजानिक गर्दा थप रोचक हुने बताए । साथै विद्यार्थीहरुलाई दौडने तरिका प्रतियोगिता हुनु अगावै एक पटक विद्यालयहरुमा पुगि सिकाउन समेत सुझाव दिए । हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले विद्यार्थीहरुको सहभागिताका लागि आवश्यक जानकारी नपाएको सुनाए । उनले विद्यार्थी सहभागितालाई सहज बनाउनका लागि विद्यालयहरुमा जानकारी गराउने वातावरण मिलाइदिन अनुरोध गरे । कार्यक्रममा संस्थाका विभिन्न प्रतिनिधित्व गरेका व्यक्तिहरुले आफ्नो सुझाव राखेका थिए । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजना भएको अन्तरक्रियामा नीजि विद्यालयहरुका छाता संगठनहरु हिसान, प्याब्सन, एन– प्याब्सन, पोउवा संघ, गोर्खा समुदाय, वुमन्स क्लब अफ पोखरा, प्रदेश बाल परिषद् गण्डकी, हेराले, शान्तिका लागि दौड (पिस रन) का निर्देशक सलिल विलसन, एसिएन प्यासिडिन्स कोर्डिनेटर हारासिल्ता सुनाओसी, पत्रकार लगायतका संघ संस्थाको सहभागिता रहेको कार्यक्रममा मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले स्वागत मन्तव्य राखेका थिए भने निवर्तमान अध्यक्ष तेज गुरुङले मञ्च र सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको बारेमा प्रस्तुती दिएका थिए । सोही क्रममा मेजर लक्ष्मी प्रसाद गुरुङले ह्विलचियर र दृष्टिविहिन दौडका लागि पुरस्कार प्रायोजन गर्ने घोषणा गरे भने मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले कार्यक्रम समापन गरे ।
झापा: झापा कनकाई नगरपालिका–७ का ९० वर्षीय हरिध्वज खत्री तिमिल्सिनाले नेपालमा बसोबास गर्ने विभिन्न जातजाति र उनीहरुको गोत्रको विषयलाई समेटेर ‘नेपाल मण्डल’ पुस्तक लेख्नुभएको छ । करिब १० वर्ष लगाएर उहाँले उक्त पुस्तक लेख्नुभएको हो । नेपालनिर्माता पृथ्वीनारायण शाहले ‘नेपाल चार जात ३६ वर्णको साझा फूलबारी हो’ भन्नु भए पनि अहिले नेपालमा चार जात एक सय २४ वर्ण पुगिसकेको तिमिल्सिनाले जानकारी दिनुभयो । जसमध्ये चार जात ९२ वर्णको बारेमा तथ्यपरक जानकारीसहित पुस्तक प्रकाशन गरेको उहाँले बताउनुभयो । लोपोन्मुखदेखि बहुसङ्ख्यकसम्मका जातजातिको थर र उनीहरुको गोत्रका बारेमा पुस्तकमा उल्लेख गरिएको छ । नेपालका विभिन्न भूभागमा रहेका मानिसको थर कसरी रहन गयो भन्ने विषयमा समेत पुस्तकमा संक्षिप्त चर्चा गरिएको लेखक तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार पुस्तकमा दुई खण्ड र १५ अध्याय छन् । पहिलो खण्डमा आठ वटा अध्याय छन् भने दोस्रो खण्डमा सात अध्याय छन् । पहिलो खण्डका आठ अध्यायमा ‘अ’ देखि ‘ह’सम्मको स्वरवर्णद्वारा उच्चारित थर उल्लेख छन् । त्यस्तै, दोस्रो खण्डमा ‘अ’ देखि ‘ह’सम्मको स्वरवर्णद्वारा उच्चारित गोत्र उल्लेख छन् । पहिलो खण्डमा उराउ, कत्युरी, करुवा, कागते, कुमाल, किसान, बातर, कुशबाडिया, कुसुण्डा, कुसुले, खटिक, देवकी, खडिया, गनगाई, गन्धर्व, गुरुङ, चमार, चिडिमार, चिन्तान, चेपाङ, चाइँ, छन्त्याल, छिन्तन, छैरोतन, जिरेल, जेरुङ, झाँगड, डुक्पा, डोम, डोल्पो, ताङबे, ताजपुरिया, तामाङ, तोक्पेगोला, तिलुङ, तिलुङा, थकाली, थामी, थारु, थुदाम, दनुवार, दराई, दर्जी, दमाई, दशनामी, दुरा, धानुक, धिमाललगायत जातजातिका थरको बारेमा उल्लेख गरिएको छ । चार सय ५६ पृष्ठको ‘नेपाल मण्डल’को मूल्य रू। चार सय ४५ छ । करिब एक दशक लगाएर पुस्तक निकालेको बताउँदै लेखक तिमिल्सिनाले भन्नुभयो, “पाठकका लागि खुराकको रुपमा पुस्तक जानकारीमूलक छ । यसले नेपालको विभिन्न जातजातिको अवस्थितिबारे थाहा पाउन सकिन्छ ।” पछिल्लो पुस्तक पढ्ने क्रम घट्दै गएकाले पठन संस्कृतिको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । लेखक तिमिल्सिनाले यस अघि नेपालको इतिहास समेटिएको पहिलो पुस्तक ‘नेपाल’ लेखिसक्नुभएको छ । जसमा तत्कालीन तीन हजार नौ सय १५ गाउँ विकास समितिको नामकरण के–कसरी भयो भन्ने उल्लेख छ । ‘नेपाल नेवारी’ पुस्तक प्रकाशोन्मुख अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।
नवलपुर: गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योजना निर्माणसँगै काममा लाग्नसके समृद्ध गण्डकी प्रदेश निर्माण गर्न सकिने बताउनुभएको छ । गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा भएको अन्तक्र्रियामा मुख्यमन्त्री पाण्डेले आगामी योजना प्रभावकारी बनाइनुपर्ने बताउनुभयो । “दिगो विकासको आधार तय गरेर हरेक क्षेत्रलाई समावेश गरी तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुने योजना निर्माण गर्न सुझाव सङ्कलनका लागि जिल्लामा आएका हौं”, उहाँले भन्नुभयो । प्रदेशमा उत्पादनमुखी र आत्मनिर्भर अर्थतन्त्र, दिगो ऊर्जा सुरक्षा, कृषिको आधुनिकीकरण, कृषि प्रशोधन तथा खनिज उत्खनन, उद्योगधन्दा स्थापना, प्राविधिक तथा व्यावसायिक शिक्षा, पर्यटनलगायत विषयलाई आगामी योजनामा प्राथमिकता दिइने मुख्यमन्त्री पाण्डेले बताउनुभयो । गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले कृषि क्षेत्रलाई उत्पादनसँग जोड्नेगरी आगामी पञ्चवर्षीय योजना निर्माण गरिने बताउनुभयो । विगतको अनुभवलाई आधार मानेर आगामी योजनातर्जुमा गर्नुपर्ने मन्त्री जिसीले बताउनुभयो । गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी’ भन्ने मूल नाराका साथ आगामी योजना तयार पारिने बताउनुभयो । आर्थिक समृद्धिको मूल आधारलाई पहिचान गरी रोजगारमुखी योजना अगाडि सारिने मन्त्री आलेले बताउनुभयो । योजना निर्माणका लागि पहिलो चरणमा स्थानीय तह र जिल्ला तहका विभिन्न सङ्घसंस्था तथा राजनीतिक दलसँग सुझाव सङ्कलनको काम भइरहेको गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बताउनुभयो । प्रदेशभित्रका ११ वटा जिल्लाका सबै स्थानीय तहका प्रमुखसँग छलफल, समन्वय, तथा अन्तक्र्रियाका कार्यक्रम गरी सुझाव सङ्कलनको अभियानका क्रममा नवलपरासी९बर्दघाट सुस्तापूर्व०मा सो काम गरिएको उहाँले बताउनुभयो । गण्डकी प्रदेशका ११ जिल्लामध्ये कास्कीबाहेकका अन्य जिल्लामा सुझाव सङ्कलनको काम सकिएको जानकारी दिँदै उपाध्यक्ष देवकोटाले पहिलो पञ्चवर्षीय योजनाको समीक्षा गर्दै दोस्रो पञ्चवर्षीय योजना निर्माणको तयारीमा जुटेको उल्लेख गर्नुभयो । फागुनभित्र योजनाको मस्यौदा तयार गर्ने र चैत मसान्तसम्ममा यसलाई अन्तिम रूप दिने लक्ष्य रहेको गण्डकी प्रदेश सरकारले जनाएको छ । सुझाव सङ्कलन कार्यक्रममा प्रदेशसभा सदस्य, नवलपरासी९बर्दघाट सुस्तापूर्व०का नगर तथा गाउँपालिका र जिल्ला समन्वय समितिका पदाधिकारीले पनि योजनाका लागि सुझाव दिनुभएको थियो ।

