काठमाडौं: काठमाडौंमा नक्कली मदिरा बनाई बेचबिखन गरेको आरोमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी नगरपालिका–५ थलीमा घर भाडामा लिएर उनीहरुले स्वदेशी तथा विदेशी रक्सीको बोतलमा नक्कली रक्सी भरेर बिक्री गर्ने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा रामेछाप घर भई मूलपानी बस्ने २८ वर्षका मनोज खत्री, रामेछाप घर भई कोटेश्वर बस्ने ३६ वर्षका विनोदकुमार कार्की र सिन्धुपाल्चोक घर भई मूलपानी बस्ने २७ वर्षका मोहन खड्का रहेका छन् । त्यस्तै सिन्धुली घर भई मूलपानी बस्ने २८ वर्षका गौरव तामाङ, कागेश्वरी मनोहरा नगरपालिका–६ का ३६ वर्षका सुमन नगरकोटी, सिन्धुली घर भई कोटेश्वर बस्ने ४० वर्षका लेखबिक्रम थापा पनि पक्राउ परेका छन् । रामेछाप घर भई मूलपानी बस्ने २३ वर्षका महेश खत्री, २० वर्षका मनिष खत्री र सिन्धुपाल्चोक घर भई मूलपानी बस्ने १८ वर्षका रोशन कार्की पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार विनोद कार्कीको थलीस्थित भाडाको कोठा खानतलासी गर्दा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन मदिरा बनाइ कालोबजारी गर्ने गरेको पाइएको थियो । उनीहरुले आन्तरिक राजस्व कार्यालयको अन्तःशुल्कका नक्कली स्टिकरहरु प्रयोग गर्ने गरेका थिए । उनीहरुले नक्कली मदिराहरु बजार मूल्य भन्दा सस्तोमा दिने गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह् राठौरले बताए । उनीहरुले बजारमा पाइने सामान्य मदिरालाई ब्राण्डेड रक्सीको बोतलमा मिसाएर बिक्री गर्ने गरेका थिए ।
गण्डकी: कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकमा विसं २००६ मा स्थापित मेश्रम बराह माध्यमिक विद्यालय स्थापनाको ७५औँ वर्ष पुगेको अवसरमा हीरक जयन्ती मनाउने तयारी गरेको छ । उक्त माविले आगामी फागुन १५ देखि १७ गतेसम्म विभिन्न कार्यक्रमका साथ हीरक जयन्ती मनाउने तयारी गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं हीरक जयन्ती मूल आयोजक समितिका संयोजक लक्षिन गुरुङले जानकारी दिए । तत्कालीन समयमा विद्यालयको आवश्यकता महसुस गर्दै समाजसेवी स्व धीरबहादुर गुरुङको सक्रियतामा कक्षा ७ सम्म पठनपाठन गर्ने गरी मेश्रम बराह मिडिल स्कुल स्थापना गरिएकोे विद्यालयका पूर्वप्राधानाध्यापक कृष्ण पौडेलले बताए । उनका अनुसार २०३४ साल माघ १८ गतेदेखि कक्षा ८ सम्मको पठनपाठन थालेको विद्यालयले २०३५ साल पुस १६ गते कक्षा ८ र ९ को स्थायी स्वीकृति प्राप्त गरेको थियो । विद्यालयले २०३६ पुस १८ गतेदेखि कक्षा १० को स्थायी स्वीकृति प्राप्त गरेको जानकारी दिँदै पूर्वप्राध्यानापक पौडेलले २०७४ साउनदेखि अस्थायी अनुमति लिएर कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गरेको बताए । हिमालको काखका साथै सडक सञ्जाललगायतको अभावका कारण आसपासका क्षेत्रमा विद्यालय नहुँदा आव २०३५÷३६ तिर वरपरका दाङसिङ, सावेद, भुक, लुम्ले, लान्द्रुक, काँडे, ल्वाङघलेलगायत स्थानबाट विद्यार्थीहरू यस विद्यालयमा पढ्न आउने गर्दथे । यस विद्यालयबाट हालसम्म करिब सात सय विद्यार्थीले एसएलसी उत्तीर्ण गरिसकेका प्रधानाध्यापक यामप्रसाद भण्डारीले जानकारी दिए । पछिल्लो समयमा गाउँबस्तीहरू खाली हुने क्रम बढिरहेको अवस्थामा पनि हाल यस विद्यालयमा तीन सय १० विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै उनले कक्षा ११ र १२ मा व्यवस्थापन र शिक्षातर्फका विषय पठनपाठन भइरहेको बताए । स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण रहेको घान्द्रुक अन्नपूर्ण आधार शिविरतर्फ जाने पदमार्गको सुरुआती गन्तव्यसमेत भएकाले आगामी दिनमा होटेल म्यानेजमेन्टको कक्षासमेत सञ्चालन गर्ने विद्यालयको सोच छ । हीरक जयन्तीलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमिति पनि गठन गरिएको छ । यसै सन्दर्भमा विद्यालयका अभिभावक, पूर्वविद्यार्थी तथा स्थानीय समाजसेवीसँग चन्दा सहयोग सङकलन सुरु गरिएको अर्थ सङ्कलन उपसमितिका संयोजक ललित गुरुङले जानकारी दिए । चन्दा दाताहरूबाट रु पाँच सयदेखि रु पाँच लाखसम्म आर्थिक सहयोग प्राप्त भइरहेको जानकारी दिँदै उनले हालसम्म करिब रु ५० लाख सङ्कलन भएको बताए । सङ्कलित रकम हीरक जयन्तीअन्तर्गतका कार्यक्रममा न्यूनतम खर्च गरी बाँकी रकम विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि एवं अत्यावश्यक पूर्वाधार निर्माणमा खर्च गर्ने लक्ष्य राखिएको संयोजक गुरुङले बताए । कार्यक्रममा झाँकी प्रदर्शन, विविध खेलकुद भलिबल,फुटबल,बास्केटबल, सांस्कृतिक कार्यक्रम, भूपू शिक्षक,विद्यार्थी पूनर्मिलन तथा सम्मान, चन्दादाता एवं विद्यालयमा अध्ययन गरी विभिन्न उच्च ओहोदामा पुग्न सफल व्यक्तित्वको सम्मान आदि समावेश गरिएको छ । साथै स्मारिका प्रकाशन, हीरक स्तम्भ निर्माणलगायत कार्यक्रम पनि समावेश गरिएको प्रधानाध्यापक भण्डारीले जानकारी दिए ।
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फको सेमिफाइनल समिकरण पूरा भएको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको लिगचरणको अन्तिम खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्डले भारतको हरियाणा टिमलाई पराजित गरेपछि सेमिफाइनलको समिकरण पूरा भएको हो । डायमण्डको जितले त्रिभुवन आर्मी क्लब समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । न्यु डायमण्डले हरियाणा टिम भारतलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । डायमण्डले हरियाणालाई २५–१७, २५–१८ र २५–१६ ले पराजित गर्दै समूह ‘बी’को समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । समूह ‘बी’मा रहेको डायमण्ड समूह विजेता र आर्मी समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्दा आमन्त्रित टिम भारतको हरियाणा समूह चरणबाट बाहिरिएको छ । यस्तै समूह ‘ए’बाट नेपाल एपिएफ क्लब समूह विजेता र नेपाल पुलिस क्लब समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्दा घरेलु टोलि गण्डकी प्रदेश समूह चरणबाटैै बाहिरिएको छ । यस्तै पुरुषतर्फको समूह ‘बी’ मा रहेको नेपाल पुलिस क्लब र श्रीलंका आर्मीबीच खेल भइरहेको छ । एपिएफ क्लबसँग सोझो सेटमा पराजित भएको पुलिसले श्रीलंका आर्मीलाई सोझो सेटमा हराउनै पर्ने दवावमा रहेको छ । यस समूहमा रहेका श्रीलंका आर्मी र नेपाल एपिएफ क्लबको ३÷३ अङ्क रहेको छ भने नेपाल पुलिस क्लबले खाता खोल्न सकेको छैन् । यस्तै पुरुषतर्फको आजको अन्तिम खेलमा घरेलु टोलि गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लबबीच दिउँसो २ः३० बजे खेल हुनेछ । हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई मंगलबार भएको खेलमा ३–१ को सेटमा पराजित गरेको थियो । भने, गण्डकी र आर्मीबीचको लिगचरणको खेल लाइट प्रोस्टेटको कारण स्थगित भएको थियो । महिलातर्फको पहिलो सेमिफाइनलमा समूह ‘ए’को समूह विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’को उपविजेता त्रिभुवन आर्मी क्लब र दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता न्यु डायमण्ड र समूह ‘ए’को उपविजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुङ्ग्याउन निर्देशन दिएका छन् । बुधवार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया टुङ्ग्याउन बोलाएको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, गृह मन्त्रालयका अधिकारीहरू उपस्थित थिए । बैठकमा प्रधानमन्त्रीले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुङ्गिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिए । बैठकमा प्रधानमन्त्रीले भने, ‘‘सङ्घीयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो, त्यसो हुन सकेको छैन। त्यसको प्रत्यक्ष प्रभाव प्रदेशहरूलाई परिरहेको छ। यसले एकातर्फ प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएका छन्, अर्कोतर्फ यसैलाई बहाना बनाएर सङ्घीयता विरोधीहरूले सङ्घीयता र प्रदेश सरकारमाथि हमला गरिरहेका छन्। त्यसैले ऐनअनुसार समायोजनको काम १५ दिनभित्र टुङ्ग्याउनुस्।’ प्रधानमन्त्रीले प्रहरी नेपाल (प्रदेश प्रहरी कार्य सञ्चालन र समन्वय) ऐन २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै १५ दिनभित्र समायोजनको प्रक्रिया टुङ्ग्याउन निर्देशन दिनुभएको हो।
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ समूह ‘ए’बाट विभागीय टोलि नेपाल एपिएफ र नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको लिगचरणको आफ्नो अन्तिम खेलमा नेपाल एपिएफ क्लबले घरेलु टोलि गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनमा स्थान पक्का गरेको हो । नेपाल एपिएफ क्लबले तीन जना भारतीय खेलाडीसहित मैदान उत्रेको गण्डकी प्रदेशलाई २५–१६, २५–९ र २५–१७ ले सोझो सेटमा पराजित गरेको हो । नेपाल एपिएफ र पुलिसँग पराजित भएको गण्डकी अङ्कबिहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एपिएफले दुई खेलमा ५ र पुलिसले ३ अङ्क जोड्न सफल भयो । यस्तै समूह ‘बी’बाट न्यु डायमण्ड स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । अहिले न्यु डायमण्ड स्पोर्टस् क्लब र आमन्त्रित हरियाणा टिम भारतसँग प्रतिस्पर्धा भइरहेको छ । यस खेलमा भारतको हरियाणा टिमले डायमण्डलाई सोझो सेटमा पराजित गरे मात्र सेमिफाइनलमा स्थान बनाउने छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६/६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला/पुरुषतर्फ नै दुई/दुई समूहमा तीन/तीन टिम रहेका छन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा आज घरेलु टोलि गण्डकी प्रदेशले हेल्प नेपाल स्पोर्टस क्लब काठमाडौसँग प्रतिस्पर्धा गर्दै छ । उपाधि दावेदार दुवै टोलिमा ३/३ जना विदेशी खेलाडी रहेका छन् । उक्त खेल दिउँसो २:३० बजे पोखरा रंगशालाको भलिबल कोर्टमा हुनेछ । समूह ‘बी’मा रहेको हेल्प नेपालले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको खेल भने लाइट प्रोस्टेटको कारण स्थगित भएको थियो । यस्तै पुरुषतर्फको दोस्रो खेलमा नेपाल पुलिस क्लबले आमन्त्रित श्रीलंकाको आर्मीसँग १२:३० बजे प्रतिस्पर्धा गर्नेछ । नेपाल एपिएफ क्बलसँग सोझो सेटमा पराजित भएको पुलिसले श्रीलंका आर्मीलाई सोझो सेटमा पराजित गरे मात्र अघिल्लो चरणमा प्रवेश गर्नेछ । समूह ‘बी’मा रहेको श्रीलंका आर्मी र एपिएफको ३/३ अङ्क रहेको छ भने, नेपाल पुलिस क्लबले खाता खोल्न सकेको छैन् । यस्तै आज महिला तर्फ गतवर्षको उपाधि विजेता नेपाल एपिएफले घरेलु टोलि गण्डकी प्रदेशसँग बिहान ८:३० बजे प्रतिस्पर्धा गर्ने छ । उक्त खेलमा एपिएफ विजयी भए समूह ‘ए’को विजेताको बन्दै सेमिफाइनलमा प्रवेश गर्ने छ । यस समुहमा नेपाल पुलिस क्लब ४ अङ्कसहित शिर्षस्थानमा छ । यस्तै दोस्रो खेलमा न्यु डायमण्ड स्पोर्टस् क्लबले हरियाणा टिम भारतसँग बिहान १०:३० बजे प्रतिस्पर्धा गर्दै छ । डायमण्ड समूह ‘बी’बाट सेमिफाइनल प्रवेश गरिसकेको छ । यस खेलमा भारतको हरियाणा टिम जित्नै पर्ने दवावमा रहेको छ । यस खेलमा डायमण्ड विजयी भए त्रिभुवन आर्मी क्लब समूह उपविजेता बन्दै अघिल्लो चरणमा प्रवेश गर्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६/६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
गोरखा: गोरखामा एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गोरखा अस्पतालमा उपचारका लागि आएका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिए । सहिद लखन गाउँपालिका–७ बुङकोट स्थायी घर भएका ४० वर्षीय पुरुषमा सोमबार सङ्क्रमण पुष्टि भएको उनले बताए । ती पुरुष ज्वरो र रुघाखोकी समस्या देखिएपछि उपचारका लागि गोरखा अस्पताल आइपुगेका थिए । सङ्क्रमितको अवस्था सामान्य रहेको र उनलाई अहिले होम आइसोलेसनमा राखिएको सूचना अधिकारी श्रेष्ठले बताए । सङ्क्रमित व्यक्ति भरतपुरबाट गोरखा आएका थिए ।
पोखरा –१५ को वृहत् खेलकुद महोत्सव मंगलबारदेखि सुरु भएको छ । पोखरा महानगरपालिका वडा नं –१५ द्वारा आयोजित वडास्तरिय तीन दिने वृहत् खेलकुद महोत्सव पोखरा –१५ स्थित बन विज्ञान क्याम्पसको खुल्ला चौरमा सुरु भएको हो। महोत्सवको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले हरेक व्यक्तिमा भएको क्षमतालाई प्रदर्शन गर्न खेलले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै देशलाई परिचित बनाउनका लागि अन्य थुप्रै क्षेत्र भए पनि मुलुक, समाज र टोलको पहिचान खेलाडीले मात्र दिन सक्ने बताइन्। उनले खेलाडीहरूको विकासका लागि राज्यले निश्चित लगानी गर्नुपर्नेमा त्यसो हुन नसकेकोमा दुखेसो पोखिन्। वडा स्तरमा हुने यस्ता प्रतियोगिताबाट खेलाडी उत्पादन तथा नवप्रतिभाको पहिचान हुने भट्टराईको भनाई थियो । यस्तै वडाध्यक्ष तोरण बानियाँले स्वास्थ्य नै सबैभन्दा ठुलो सम्पत्ति भएकाले जबसम्म नागरिक स्वस्थ हुँदैनन् तबसम्म उनीहरूले समाज र परिवारका लागि केही योगदान गर्न सक्दैनन् भन्ने हेतुले हरेक टोल र बस्तीमा खेलकुदको अभियानलाई जोड्न दोस्रो पटक पनि खेलकुद महोत्सवलाई निरन्तरता दिइएको बताए। बानियाँले वडा नं –१५ मा ४२ वटा टोल विकास संस्था ३८ वटा आमा समूह लगायत थुप्रै क्लबहरू रहेको भन्दै ठुलो क्षेत्रफलमा फैलिएको वडावासीहरू बिच खेलकुदले आपसी सम्बन्ध र भाइचाराको सम्बन्ध विस्तार हुने विश्वास लिए। आगामी वर्षहरूमा यो कार्यक्रमलाई अझै बृहत्तर रूपमा आयोजना गरिने तथा वडावासीले देखाएको उत्साहले आफूहरूलाई झनै हौसला र ऊर्जा प्राप्त भएको बानियाँले बताए । खेल संयोजक तथा वडा सदस्य आशिष भण्डारीले गत संस्करणको वडा स्तरीय खेलकुद महोत्सवमा सहभागी भएका खेलाडीहरूले पोखरा महानगरमा आयोजना भएका विभिन्न प्रतियोगिताहरूमा उपाधि जित्दै वडाको गौरव बढाएको प्रतिक्रिया दिए। उनले समाजमा रहेका मतभेदलाई खेल क्षेत्रले एकत्रित गर्ने र समाजमा एकताको सन्देश दिने बताए । महोत्सवमा वडाका विभिन्न आमा समूह, टोल विकास संस्थाहरूले खेल मैदानमा मार्च पास गरेका थिए । खेल महोत्सव उद्घाटन समारोह कार्यक्रमलाई वडा सदस्य मन्दिरा परियारले सञ्चालन गरेकी थिइन् । यस्तै आज भएको पुरुष फुटबलमा मेरिगोल्डले हार्वड एकेडेमीलाई १–०, सिद्ध माविले केल्स एकेडेमीलाई २–०, फलेपाटनले आदर्श टोललाई १–०, प्रतिभाले निर्मल टोललाई २–०, गलेश्वरले नव जनशक्तिलाई ३–० र वेलननले थ्री एन्जेललाई ३–२ ले पराजित गरेको छ। यस्तै पुरुष भलिबलतर्फ आदर्श टोलले स्यानी मजुवा, ठुलि मजुवालाई शिवशक्ती टोल, अलकापुर टोललाई तल्लो नयाँगाउ र सँगम टोललाई प्रतिभा टोलले पराजित गरेको छ । महिला भलिबलतर्फ प्रतिभा आमा समूहलाई स्यानी मजुवा आमा समूहले, भगवती आमा समूहलाई एकता आमा समूह र चेतना महिला कृषक समूहलाई जनजागृति आमा समूहले पराजित गरेको छ । आज नै भएको ब्याडमिन्टन खेलमा पुरुषतर्फ प्रतिभा, तल्लो नयाँ गाउँ, ठुली मजुवा, मितेरी र धौलागिरि टोल विजयी बनेका छन् । भने, महिला ब्याडमिन्टन तर्फ माछापुच्छ्रे चौतारी विजयी बनेका छन् । तीन दिसम्म चल्ने खेलकुद महोत्सवमा टोल विकास, विद्यालय तथा क्लबस्तरिय फुटबल, पुरुष तथा महिला भलिबल, पुरुष – महिला सडक दौड, रस्साकस्सी, ब्याडमिन्टन, बास्केट बल लगायतका विभिन्न खेलहरूमा झन्डै १२ सय खेलाडीले भाग लिएका छन् ।
पोखरा: पोखरा आएर नवल खड्काले काँडेतार देशप्रेमीको सिनेमा भएको बताएका छन् । चलचित्र पत्रकार संघ कास्कीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । फागुन २५ गतेबाट प्रदर्शन हुने सिनेमा काँडेतारको प्रचारप्रसारका लागि पोखरा आएका उनले काँडेतार हर देशप्रेमीले हेर्ने कथा भएको बताए । “काँडेतार नेपालीको कथा हो । यसमा हाम्रो सिमाना रक्षाका विषयहरु उठान गरिएको छ । माटो र मान्छे जोगाउने उद्देश्यले सिनेमा निर्माण गरिएको हो ।”, उनले भने । ६० वर्षको इतिहासमा काँडेटार जस्तो सिनेमा नबनेको दाबी खड्काको छ । आफु देशको सच्चा नागरिक भएकाले पनि राष्ट्र र राष्ट्रियता जोगाउने बाटोमा अग्रसर रहेको उनले बताए । राष्ट्रप्रेमी भएकाले पनि राष्ट्रवादी विषयहरु उठान गर्न खड्कालाई मन पर्छ । खड्काकै निर्देशनमा काँडेतार बनेको हो । समा अभिनय समेत उनकै छ । निर्माता, निर्देशक र अभिनेताका रुपमा उनलाई काँडेतारमा देख्न सकिन्छ । यसअघि उनले दशगजा, भीमदत्त जस्ता सिनेमा निर्माण गरिसकेका छन् । चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका खड्काले सेन्सरबाट पास भएको सिनेमा काँडेतारलाई प्रदर्शन गर्न विरगञ्जमा लगाइएको रोकलाई राष्ट्रघाती कदम भएको उल्लेख गरे । “नेपालको माटो र नेपालीपनलाई जोगाउने हेतुले काँडेतार निर्माण गरिएको हो । हरेक नेपालीको कथा हो यो । सेन्सर भइसकेको सिनेमा देखाउन हामी ठाउँठाउँमा पुगिरहँदा विरगञ्जमा रोक लगाइयो । यो कदम नै राष्ट्रघाती छ ।”, उनले भने । देश जोगाउन काँडेतार महत्वपूर्ण साबित हुने विश्वास उनको छ । खड्काले नेपालका नेताहरु भारतबाट परिचालित भएको समेत उल्लेख गरे । “तालाचाबी उता छ अनि कसरी बन्छ यो देश”, उनको गुनासो छ । खड्काले अहिले ठाउँठाउँमा पुगेर च्यारेटी शो गरिरहेका छन् । ७० भन्दा बढी च्यारेटी शो सम्पन्न भइसकेको काँडेतारको पोखरामा भने माघ १३ गते बिहान ११ बजे विशेष च्यारेटी शो हुँदैछ । बाराही “ख” तेर्सापट्टीमा हुने च्यारेटी गरिब, जेहेन्दार र असहाय विद्यार्थीहरुका लागि छात्रवृति प्रदान गर्ने उद्देश्यले राखिएको हो । मनिलाल प्रतिष्ठानको आयोजनामा हुने च्यारेटीको टिकट १ हजार रुपैयाँ तोकिएको छ । पत्रकार सम्मेलनमा नायक प्रशान्त यादव, निर्माता अन्जु केसी, च्यारेटी शोका आयोजक संस्थाका अध्यक्ष रामहरी गुरुङ लगायतले बोलेका थिए । सिनेमा प्राविधिक पक्षबाट पनि बलियो बनेको दाबी निर्माण पक्षको छ । काँडेतारमा नवल खड्का, गौरव पहारी, सुरबिना कार्की, रेबिका गुरुङ, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय छ ।

