चितवन: त्रिशूली नदीमा गाडी खसेको आशंकामा गोताखोर परिचालन गरिएको छ। मुग्लिन प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत् चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकै गाडी खसेको आशंका गरिएको छ। ‘नदीमा बत्ती बलेको आधारमा गाडी खसेको आशंका गरेका हौं,’ मुग्लिन प्रहरीका वरिष्ठ सई राजेन्द्र अर्यालले भने, ‘अहिलेसम्म केही पत्ता लागेको छैन। गोताखोर परिचालन गरेर खोजी कार्य जारी छ।’ प्रहरीका अनुसार नदीको किनारमा भारतीय नम्बर प्लेट देखिएको छ। त्यसैको आधारमा दुर्घटना भएको यकिन गर्न नमिल्ने प्रहरीले बताएको छ। ‘अलि अघिसम्म बत्ती बलिरहेको थियो, अहिले बलेको छैन, गोताखोर परिचालन गरिएकाले यकिन हुन्छ,’ अर्यालले भने। स्थानीयले बिहान ४ बजेतिर त्रिशूली नदीमा गाडी खसेको सूचना दिएको पनि उनले जानकारी दिए।
काठमाडौं: पौडेल वंश महासंघको यही पुस २७ र २८ गते बाँके जिल्लाको कोहलपुरमा सम्पन्न दोस्रो महाधिवेशनले हरिराम पौडेल(कास्की)को नेतृत्वमा केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा शालिग्राम पौडेल(चितवन), महिला उपाध्यक्षमा जमुना पौडेल(सर्लाही), र उपाध्यक्षमा विजय पौडेल(मोरङ) हुनुहुन्छ । प्रदेश उपाध्यक्षहरूमा कमलप्रसाद पौडेल(कोशी), गोविन्दप्रसाद पौडेल(मधेश), दिपकप्रसाद पौडेल(बागमती), शारदा पौडेल(गण्डकी), शालिकराम पौडेल(लुम्बिनी), नरहरि पौडेल(कर्णाली), दुुर्गाप्रसाद पौडेल(सुदुरपश्चिम) रहनुुभएको छ । त्यस्तै महासचिवमा उद्धवप्रसाद पौडेल(सुनसरी), सचिवमा रामप्रसाद पौडेल(काठमाडौं), कोषाध्यक्षमा युवराज पौडेल(बाँके), सहसचिवमा चन्द्रमणि पौडेल(म्याग्दी) र सहकोषाध्यक्षमा बेनुप्रसाद पौडेल(सुनसरी) रहनुभएको छ । त्यस्तै लेखा समितिको संयोजकमा अमृतप्रसाद पौडेल(बाग्लुुङ) र सदस्यद्वयमा रिषीराम पौडेल(चितवन) र नेत्रप्रसाद पौडेल(झापा) रहनुुभएको छ । सदस्यहरूमा सुदुरपश्चिमबाट सुुशिला पौडेल, बमलाल पौडेल, शिवप्रसाद पौडेल र सूर्यप्रसाद पौडेल, कर्णालीबाट हरिप्रसाद पौडेल, कृष्णप्रसाद पौडेल र दुुर्गाप्रसाद पौडेल, लुम्बिनीबाट लिलाकुुमारी पौडेल, रामचन्द्र पौडेल, प्रेमप्रसाद पौडेल र काशीप्रसाद पौडेल, गण्डकीबाट देवीलाल पौडेल पाध्या, रुद्रप्रसाद पौडेल, प्रा.डा.दुुर्गादत्त पौडेल, प्राडा.कृष्णप्रसाद पौडेल, छत्रधर आत्रेय पौडेल, चन्द्रमणि उपाध्याय पौडेल, रामचन्द्र पौडेल र भरतराज शर्मा पौडेल हुनुहुुन्छ । त्यस्तै मधेश प्रदेशबाट नारायणदत्त पौडेल, रामबहादुर पौडेल, जनकप्रसाद पौडेल र सन्तोष पौडेल हुनुहुन्छ । कोशी प्रदेशबाट रामकुुमारी पौडेल, ज्ञानप्रसाद पौडेल, युवराज पौडेल, वेदनिधि पौडेल, श्यामकुमार पौडेल, राधाकृष्ण पौडेल, नारायणप्रसाद पौडेल र गणेशप्रसाद पौडेल हुनुहुन्छ । बागमती प्रदेशबाट नारायण पौडेल, कुलकुमारी पौडेल, बनमाली पौडेल, कृष्णगोपाल पौडेल, नवराज पौडेल, सुमन पौडेल, वासुदेव पौडेल र अग्नी पौडेल हुनुहुन्छ । निर्वाचनका लागि पुुरुषोत्तम पौडेलको संयोजकत्वमा अनन्त पौडेल, मनोज पौडेल, रुद्रमणि पौडेल र बाबुराम अधिकारी रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो । नवनिर्वाचित अध्यक्ष हरिराम पौडेलले बन्धुहरूबीच आपसी भाइचारा अभिबृद्धि गर्दै राष्ट्रिय हितका साथै सबैको कल्याण, उन्नति र प्रगतिमा महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो । अधिवेशनले पौडेलहरू मूल मन्त्र “पौडेल थर, हाम्रो साझा घर” पारित गरेको छ । संस्थापक अध्यक्ष लोकनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका रजिष्टार प्रा.माधव अधिकारी प्रमुख अतिथिका रुपमा रहनुुभएको थियो । कार्यक्रममा स्वदेशी र विदेशी गरी ७५० जना प्रतिनिधि र पर्यबेक्षक सहभागी थिए । महाधिवशेनले चितवनमा केन्द्रीय कार्यालय र काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय सहित बंशावली निर्माण एवम् कुलपूजा विधि सम्बन्धी पुस्तक प्रकाशन गर्ने निर्णय गरेको छ ।
पोखरा: अमरसिंह मैदानमा जारी पोखरा महोत्सवमा दर्शकको भिड लागेको छ । महोत्सवमा दर्शकको भीड संगै याक अवलोकन, घोडा सवार, नेपाल टेलिकमको सिमकार्ड लिने र विभिन्न जातजातिको मौलिक पोशाक लगाइ तस्विर खिचाउनेको भीड लागेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवको पाँचौ दिन सोमबारमात्रै ३५ हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छन भने महोत्सवमा १ करोड १५ लाख बरावरको कारोबार भएको महोत्सवका अर्थ ब्यवस्थापन उपसमितिका संयोजक सूर्य बहादुर बानियाँले जानकारी दिए । महोत्सवमा सोमबार देखि विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता समेत सुरु भएको छ । सोमबार सम्पन्न प्रतियोगितामा बेसलाईन एकेडेमी अघिल्लो चरणमा प्रवेश गरेको छ । बेसलाईन एकेडेमीले बाल मन्दिर मावि, अमरसिंह एन र कालिका माविलाई पछाडि पार्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । महोत्सवमा सोमबार लोकदोहोरी गायक राजु परियार र सिम्रन परियारको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । युवा पुस्तालाई सिम्रन परियार र बृद्धवृद्धाहरुलाई राजु परियारको प्रस्तुती मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिए । राजु र सिम्रन संगै प्रजापति पराजुली, जिवन दाहाल, राजन कार्की, शिव ढुंगाना, जिवन सिग्देल, दिपक कार्की, मञ्जु बिक, सुनिता नेपाली लगाएतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाइभब्याण्ड तर्फ लाहुेर एण्ड द ब्याड कम्पनीको प्रस्तुतीमा युवाहरु झुमेका थिए । यसैगरि महोत्सवमा मंगलबार रचना रिमाल, पुरुषोत्तम न्यौपाने, जिवन दाहाल, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सुमन खड्का, परशुराम अधिकारी, केशव घिमिरे, कृष्ण गुरुङ, माया गुरुङ, दुर्गा क्षेत्री लगायतको प्रस्तुती रहने छभने साँझको लाइभ ब्याण्डमा श्री३ को प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा: नेपाल एपिएफ क्लबले चौथो टाइगर कप भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरेको छ । समूह बी को खेलमा एपिएफले पुलिसलाई पराजित गर्दै गत साता ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा भोगेको हारको बदला पनि लिएको छ । खेलको पहिलो सेट एपिएफले २५–१९ को अन्तरले जितेको थियो । दोस्रो सेटमा पुलिसले पुनरागमन गर्दै खेल बराबरी गर्ने संकेत देखाएको थियो । तर २४–२० को अग्रतामा रहेपनि पुलिसले अग्रता सदुपयोग गर्न नसक्दा ३३–३१ को अन्तरमा दोस्रो सेट एपिएफको पक्षमा गयो । एपिएफले तेस्रो सेट २५–१७ ले जित्दै प्रतियोगितामा पूरा ३ जोड्दै सुरुवात गर्यो । पुरुषतर्फ सविक विजेता घरेलु टोली गण्डकी, पूर्व विजेता आर्मी र हेल्प नेपाल स्पोर्टस क्लब समूह ए तथा एपिएफ, पुलिस र श्रीलंका आर्मी टिम समूह बी मा छन् । आज हुने अन्तिम खेलमा समूह ए मा आर्मी र गण्डकी खेल्नेछन् । त्यसअघि पोखरा रंगशालामा भएको महिलातर्फ समूह ए को पहिलो खेलमा नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई पाँचौ सेटमा पराजित गरेको थियो । यस्तै न्यु डायमण्ड स्पोर्टस् क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । महिलातर्फ समूह एमा एपिएफ र पुलिसका साथ घरेलु टोली गण्डकी प्रदेश तथा समूह बी मा त्रिभुवन आर्मी क्लब, चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम र भारतीय हरियाणा टिम छन् । समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । लिग कम नकआउट र सेमिफाइनलमा हरेक दिन ४४ खेल हुनेछन् । तेस्रो स्थान र फाइनलको दिन भने २–२ खेल हुनेछ । महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
पोखरा: पोखरामा यति एयरलाइन्सको ९ एएनसी एटीआर–७२ को विमान दुर्घटना भएको आज एक वर्ष पुगेको छ । काठमाडौंबाट ७२ जना यात्रु लिएर पोखरा उडेको यति एयरलाइन्सको विमान सेती खोँचमा माघ १ गते दुर्घटना भएको थियो । सेती खोँचमा विमान दुर्घटनामा हुँदा चालक दलसहित ७२ जनाको नै ज्यान गएको थियो । पोखरा महानगरपालिकाले विमान दुर्घटनाको भएको एक वर्षपछि दुर्घटनामा ज्यान गुमाएका ७२ जनाको सम्झनामा स्तम्भ निर्माण गरेको छ । विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुहरुका सम्झनामा वार्षिक स्मृति सभा गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले मृतकको सम्झनामा पार्क र पुल निर्माण गर्ने बताए । ‘दुर्घटनालाई हामी सम्झन चाहान्नौ तर दिवंगतहरुको सम्मान स्वरुप स्मृति पार्क र झोलुङ्गे पुल निर्माण गर्नेछौ,’ उनले भने । उनले मानवीय त्रुटीकै कारण विमान दुर्घटना भएको प्रतिवेदनले उल्लेख गरेको स्मरण गर्दै आगामी दिनमा सम्बन्धित निकाय संवेदनशिल हुनुपर्ने धारणा राखे । ‘हामीले नचाहदाँ नचाहदैँ गतवर्ष विमान दुर्घटना भयो, विमान सवार चालकदलसहित सबै यात्रुलाई गुमाउन पुग्यौ, दुर्घटनाको अन्तिम प्रतिवेदन पनि आएको छ’, मेयर आचार्यले भने, ‘प्रतिवेदनमा मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको भन्ने आएको छ, अब यस्ता दुर्घटना हुन नदिन सरकार र एयरलाइन्सले दुवैले ध्यान पु¥याउन आवश्यक छ ।’ उनले विमान दुर्घटना स्थलमा मृतकको सम्झनामा स्मृति पार्क र सेती खोँचलाई जोड्ने गरी विमानको आकारमा पुल निर्माण गर्ने बताए । ‘हामीले यस दुर्घटना स्थलमा वारिपारि गर्न मिल्ने गरी विमानको आकारमा पुल निर्माण गर्ने तयारी छौं’, उनले भने, ‘पुल र पार्क निर्माण गर्न यति एयरलाइन्ससँग पनि समन्वय गरेर अगाडि बढ्ने छौं ।’
पोखरा: माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त थिए। श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौँमा थिए । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौँ मै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति परेकाले त्रिभुवन दिउँसो ढिलो भए पनि घर आउने जानकारी प्रतिभालाई थियो । तर नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पौडेलको योजना भने त्यस्तो थिएन । परिवारलाई ‘सप्राइज’ दिन रुचाउने पौडेलले दिउँसोको नभई बिहानै घर पुग्ने योजनाअनुसार विमानको टिकट काटेका थिए। उनले टिकट काटेको यति एयरलाइन्सको ९ एन–एएनसी एटीआर–७२ विमान जुन त्यसै दिन बिहान १०:५७ बजे विमानस्थल नजिकैको नयाँगाउँस्थित सेती खोँचमा खस्यो । दुर्घटनामा परी चालक दलका चारसहित ७२ जनाले ज्यान गुमाए । दुर्घटनासम्बन्धी समाचार, तस्बिर र भिडियो समाचार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छ्याप्छ्याप्ती हुँदा पनि प्रतिभालाई श्रीमान् पनि त्यही विमानमा सवार थिए भन्ने हेक्का थिएन । त्यस दिन दिउँसोसम्म सामाजिक सञ्जालमा मृतकको सूचीमा श्रीमान्को नाम देख्दा पनि उनलाई विश्वास लागेको थिएन । “उहाँ (श्रीमान् पौडेल) हरेक समय मलाई ‘सरप्राइज’ दिनुहुन्थ्यो, अझै पनि ढोकामा आएर के छ बुढी भनेर बोलाउनुहुन्छ जस्तै लाग्छ”, प्रतिभाले भनिन्, “आज घर आउन पाउँदिन भन्ने अनि टुप्लुक्क आइपुग्ने, अबेर हुन्छ भनेका दिन पनि छिट्टै घर आएर सरप्राइज दिनुहुन्थ्यो ।” दुर्घटना भएको आज एक वर्ष बित्यो तर प्रतिभालाई एउटा कुराले अहिले पनि सोचमग्न बनाएको छ । “त्यो बेला त्रिभुवन काठमाडौँ जानुअघि साइत हेरेर जानुभएको थियो, त्यसभन्दा अगाडि कतै जाँदा कहिल्यै साइत जुराएको मलाई याद छैन”, प्रतिभाले श्रीमान् काठमाडौँ जानुअघिको दिन सम्झँदै भनिन्, “सायद त्यो मृत्युको साइत रहेछ भन्ने आज लागेको छ ।” प्रतिभाको काँधमा श्रीमान् गुमाउनुको पीडासँगथै छोरा र परिवारको पनि जिम्मेवारी छ । त्यसैले छोराकै लागि भए पनि उनी आफूलाई सामान्य अवस्थामा ल्याउने प्रयासमा छिन् । छोरा इभान अहिले पाँच वर्षमा प्रवेश गर्दैछन् । अटिज्म भएकाले छोराको नियमित उपचार गराइरहनुपर्छ । छोरालाई निको पारेर उनीबाटै श्रीमान्को सपना पूरा गर्ने अठोट पनि प्रतिभासँग छ । दुर्घटना भएयता न सरकार, न जहाज कम्पनी कसैले पनि आफ्नो अवस्थाबारे सोधपुछ नगरेको उनको भनाइ छ । “अरूका लागि त्यो दुर्घटना एउटा दुःखलाग्दो घटना मात्रै होला, तर हाम्रा लागि त जीवन सकिएजस्तो अन्धकार भएको छ”, प्रतिभाले पीडा सुनाइन् । सोही दुर्घटनामा ज्यान गुमाएका पत्रकार अनिल शाहीकी श्रीमती रेनु गुरुङ पनि त्यो दिन भुलाउन सकिरहेकी छैनन्। “भारतको केरलाबाट घर आउँदै हुनुहुन्थ्यो, म खाना बनाएर उहाँको प्रतीक्षा गरिरहेक थिएँ”, उनले भनिन्, “तर त्यस दिनदेखि त मेरो एउटा पखेटा नै गुम्यो, यति छोटो समयमै म एक्लै हिँड्नुपर्छ भन्ने कहिल्यै लागेन ।” गुरुङ श्रीमान् गुमाउनुको पीडाबाट आफूलाई सम्हाल्दै दुई छोरा, सासूससुराको जिम्मेवारी निर्वाह गर्दै आएकी छन्। अनिल रेडियो एपोस्टलका प्रबन्धक थिए भने दुबईमा आइटीसम्बन्धी व्यापारको तयारीमा पनि जुटेका थिए । दुई साताअघि दुबईबाट नेपाल आएका शाही तत्काल कामविशेषले केरला पुगेका थिए। अनिलले आफू पोखरा आउने बित्तिकै सपरिवार दुबई घुम्न जाने योजना बनाएका थिए। प्रतिभा र रेनुको जस्तै त्यो दिन पोखराका मदनकाजी श्रेष्ठको परिवारमा पनि ब्रजपात भयो । मदनकाजीले कान्छा छोरा डा सुशील श्रेष्ठ, बुहारी डा सोना दिवाकर श्रेष्ठ र नाति शर्भिनलाई गुमाए । सन्तान गुमाउनुको पीडाबाट मनदकाजी अझै बाहिर निस्कन सकेका छैनन्। दुर्घटनाको छानबिन गर्न घटना भएकै दिन गठित दुर्घटना जाँच आयोगले गत पुस १२ गते सरकारलाई बुझाएको प्रतिवेदनमा मानवीय त्रुटिलाई कारक मानेको थियो । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको थियो । प्रतिवेदनमा ‘पाइलटले फ्लेप लिभर तान्नुपर्नेमा ‘कन्डिसन लिभर’ तानेको देखिएको र जसले गर्दा जहाज ‘फिदर कन्डिसन’ मा गएपछि अगाडिको ‘मोसन’ जहाजले नपाएकाले दुर्घटना भएको उल्लेख छ । आयोगले आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन वायुसेवा सञ्चालक, नियामक र मन्त्रालयलाई आठबुँदे सुझाव दिएको छ । उडान समयमा पोखरा अन्तरराष्ट्रिय विमानस्थलको मौसम, ‘भिजिबिलिटी’ तथा प्राविधिक पक्ष राम्रो रहेको जनाइएको छ ।
पोखरा: पोखरामा आजदेखि सुरु भएको चौथो टाइगर भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन शसस्त्र प्रहरी बलको एपिएफ क्लबले महिलातर्फको पहिलो खेलमा जित हासिल गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सोमबारबाट सुरु भएको ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’को पहिलो खेलमा एपिएफले नेपाल पुलिस क्लब विरुद्ध ३–२ को सेटमा जित निकालेको हो । चौथो संस्करणको पहिलो प्रतिस्पर्धात्मक खेलमा पुलिस विरुद्ध एपिएफ क्लबले जित निकाल्दै २ अंक हासिल गरेको छ भने नेपाल पुलिसले १ अंक प्राप्त गरेको छ । पहिलो सेट २५–१८ र दोश्रो सेट २५–१८ ले जितेको एपिएफले भने तेश्रो र चौथो सेट भने गुमाउन पुग्यो । तेश्रो र चौथो सेटमा टिम कम्विनेसनको अभाव देखिएको एपिएफलाई २५–१९ र २५–१८ ले जितेर खेलमा फर्किएको नेपाल पुलिस अन्तिम तथा पाँचौ सेटमा १५–१३ ले एपिएफलाई सुम्पिन पुग्यो । सम्पन्न पहिलो खेलमा एपिएफ क्लबकी सरस्वती चौधरी टाइगर अफ दि म्याच घोषित भइन् । यस्तै दोस्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड स्पोर्टस् क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । न्यु डायमण्ड स्पोर्टस क्लबले आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै ३ अङ्क प्राप्त गर्न सफल भएको छ । न्यु डायमण्ड स्पोर्टस क्लबले आर्मीलाई २५–२०, २५–१७, २४–२६ र २५–१५ ले पराजित गरेको हो । तस्वीरः बसन्त शेर्पा नेपाल भलिबल संघको स्विकृतीमा सुरु भएको चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लब पोखरा आइपुगेको छ । महिलातर्फ नै चन्द्रागिरी नगर पालिका न्यू डायमण्ड स्पोर्टस क्लव, गण्डकी प्रदेश संगै तिन बिभागिय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मीको त्रिभुबन क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लबको सहभागिता छ । त्यसै गरी पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले पहिलो पटक सहभागिता जनाएको छ । प्रतियोगितामा हेल्प नेपाल स्पोर्टस क्लब तीन जना पाकिस्तानी खेलाडी सहित मैदानमा उत्रिने छ । पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ समेत तीन भारतीय खेलाडी सहित मैदानमा छ । तीन बिभागिय टोली नेपाली सेनाको त्रिभुबन क्लब, नेपाल पुलिस क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज सोमबार दिउसो २ बजे गर्नेछन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिव १५ हजार बराबरको एक्सटेप कम्पनीको जुत्ता प्राप्त गर्ने आयोजकले जनाएको छ । पुरुषतर्फको पहिलो खेल दुई विभागिय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लबका क्लबबीच हुनेछ भने सो खेल लगतै उद्घाटन खेल सुरु हुनेछ । उद्घाटन खेल घरेलु टोली गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।
पोखरा: आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दानआदि गरी माघे सङ्क्रान्ति मनाइँदै छ । पोखराको विभिन्न स्थानमा रहेको कार्यक्रम गरेर माघे सक्रान्ति मनाइँदै छ । पोखराको ढुङ्गेसाघुमा माघे सक्रान्तिको अवसरमा मेला नै लागेको छ । ढुङ्गेसाघु स्थित सेती नदीमा स्नान गर्न भक्तजनको भीड लागेको छ । नदीमा स्नान गर्न गएका भक्तजनहरुलाई स्थानीय आमा समुहले घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार खुवाएका छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ । फोटो फिचर
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताएका छन् । माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वका अवसरमा आज शुभकामना दिँदै उनले वर्तमान सरकार सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रविन्दुमा राखेर अघि बढेको बताएका हुन् । संविधानले देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई आत्मसात् गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विभिन्न जातजाति, भाषाभाषी, संस्कृतिको आन्तरिक राष्ट्रियता सुदृढ गरी समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याए । माघे सङ्क्रान्ति र माघी पर्वले राष्ट्रिय एकता, धार्मिक एवं सद्भाव, एक(अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । नेपाल भौगोलिक रूपले सानो भए पनि जातीय, भाषिक, सांस्कृतिक विविधता निकै धनी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यो नेपालको मात्र नभएर मानव जातिकै गौरव र साझा सम्पत्तिका रूपमा रहेको उनको भनाइ छ । उनले माघे सङ्क्रान्ति पर्व खस(आर्य, मगर, राई, थारु, लिम्बू, नेवार, गुरुङ, मैथिली, कुमाललगायत जाति जनजातिको आ–आफ्नै संस्कृति र विशेषतामा आधारित विशेष पर्वका रूपमा रहेको उल्लेख गरे। प्रधानमन्त्री दाहालले माघी पर्वले नेपालको सांस्कृतिक पहिचान र विविधताका साथै विभिन्न जाति जनजातिमा रहेको जातीय पहिचान, परम्परागत संस्था र प्रथाजन्य कानुन, सांस्कृतिक बहुलताको सहअस्तित्व र राष्ट्रिय एकतालाई प्रमाणित गरेको बताए । वैशाखे सङ्क्रान्तिबाट सुरु भएका सङ्क्रान्तिमध्ये सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने समयावधि हुने भएकाले माघे सङ्क्रान्तिलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । तिल, तरुल, घिउ, सख्खरलगायत परिकार खाने, विभिन्न सांस्कृतिक महोत्सव र झाँक्री, पूजाआजा, पारिवारिक भेटघाट तथा सामाजिक पुनःमिलन गर्ने पर्वका रूपमा माघीलाई लिइन्छ ।

