काठमाडौं: प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व सोमबार देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा विशेष मेलासमेत लाग्ने गर्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ । सूर्य उत्तरायण हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । सो दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । माघे सङ्क्रान्तिमा दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार पनि खाने चलन छ । मकर सङ्क्रान्तिमा शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । माघे सङ्क्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले सोमबार देशभर सार्वजनिक बिदा दिएको छ ।
पोखरा: अमरसिंह मैदानमा जारी पोखरा महोत्सवको चौथो दिन आइतबार समिक्षा अधिकारीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन । त्यसैगरी महोत्सवमा नेपाली पोशाक लगाएर फोटो खिच्नेको भीड लागेको छ । महोत्सवमा डिडि डान्स नृत्य प्रशिक्षण केन्द्रको सहकार्यमा नेपालमा बसोबास गर्ने विभिन्न जातजातीको भेषभूषा लगाइ फोटो बुथमा तस्बिर लिनेहरुको लर्को लागेको हो । महोत्सवमा भोली माघ १ गते सखरखण्ड र तरुलले दर्शकलाई स्वागत समेत गर्ने आयोजकले जनाएको छ । महोत्सवमा आइतबार समिक्षा अधिकारी संगै राजु गुरुङ, जिवन दाहाल, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, शिवहरी ढुंगाना, कृष्ण सुवेदी, कृष्ण भट्टराई, प्रशान्त तामाङ, पार्वती जिसी, मधु थापा मगर, नविना सुवेदी लगायतको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिएका थिए भने सांझको लाइभ ब्याण्डमा रकहेड्सको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । सोमबार देखि पोखरा महोत्सवमा विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता हुने भएको छ । १७ टिमको प्रतिस्पर्धा रहने उक्त प्रतियोगितामा माघ १ गते बेसलाइन एकेडेमी, बाल मन्दिर मावि, अमरसिंह एन र कालिका मावि विच प्रतिस्पर्धा रहने छ । त्यसैगरी माघ ३ गते मेट्रोपोलिन, सेन्ट मेरिज, सरस्वती र बालकल्याण बिच प्रतिस्पर्धा रहने छ । त्यस्तै माघ ५ गते मेरिगोल्ड, ज्ञानगंगा, राष्ट्रिय मावि र पटनेरी मावि बिच प्रतिस्पर्धा रहनेछभने माघ ६ गते कास्की मोर्डनाइज्ड, अक्सफोर्ड, ज्ञानज्योती, अमरसिंह अंग्रेजी स्कुल, र अञ्जुली बार्डिङ स्कुल बिच प्रतिस्पर्धा रहने प्रतियोगिता संयोजक विष्णु गुरुङले जानकारी दिए । महोत्सवमा माघ १ गते लोकदोहोरी तर्फ सोमबार राजु परियार, सिम्रन परियार, प्रजापति पराजुली, जिवन दाहाल, राजन कार्की, शिव ढुंगाना, जिवन सिग्देल, दिपक कार्की, मञ्जु बिक, सुनिता नेपालीको प्रस्तुती रहनेछभने सांझको लाइभ ब्याण्ड तर्फ लाहुरे एण्ड द ब्याड कम्पनीको प्रस्तुती रहने छ ।
पोखरा: मार्फा थकाली भाषाको शब्दकोष र व्याकरण पोखरामा आइतबार लोकार्पण गरिएको छ । पोखरामा आयोजित कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरसहित त्रिवि भाषा विज्ञान विभाग प्रमुख प्राडा बलराम प्रसार्इं, मार्फा थकाली समाज सेवा सदनका अध्यक्ष चन्द्र पन्नाचन, पूर्व अध्यक्ष नरेन्द्रमान लालचन, मार्फा थकाली मातृभाषा संरक्षण उपसमिति संयोजक वीरेन्द्रकुमार हिराचनले संयुक्तरुपमा लोकार्पण गरे । मुस्ताङको मार्फा गाउँ (हाल घरपजोङ गाउँपालिका) मा बोलिने मूल मार्फा थकाली भाषा संकटमा पर्दै गएपछि संरक्षणका लागि समिति नै गठन गरी शब्दहरु संकलन गरिएको थियो । गठित मार्फा थकाली मातृभाषा संरक्षण उपसमिति संयोजकमा हाल पोखरा निवासी ७५ वर्षीय वीरेन्द्रकुमार हिराचन थिए । संकलित शब्दहरुको नेपाली–अंग्रेजी शब्दकोष र ब्याकरण भाषा आयोगले प्रकाशन गरेको हो । लोकार्पण समारोहमा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले मार्फाली थकालीको लागि ती पुस्तक ऐतिहासिक दस्तावेज हो भने । संविधानसभा सदस्य समेत रहेका उनले भाषा कमजोर हुँदै गए कुनै पनि जातिको पहिचान नै हराउने हुँदा संरक्षण गर्नुपर्नेमा जोड दिए । २०७८ को जनगणनामा नेपालमा १२४ राष्ट्रभाषा सूचिकृत भएको जनाउँदै उनले भाषाको संरक्षणमा आयोगले पालिकासँग मिलेर पनि काम गर्न तयार रहेको बताए । त्रिवि भाषा विज्ञान विभाग प्रमुख प्राडा बलराम प्रसार्इंले भाषाको पुस्तान्तरण गर्दै जानुपर्ने सुझाव दिए । उनले कुनैको शब्द मिल्दैमा भाषा एउटै नहुने पनि जनाए । स्वागत मन्तव्य व्यक्त गर्दै मार्फा थकाली मातृभाषा संरक्षण उपसमिति संयोजक वीरेन्द्रकुमार हिराचनले मार्फा थकालीका लागि यो दस्तावेज हो भने । कुनै पनि भाषाका लागि शब्द महत्वपूर्ण हुने बताउँदै उनले पुस्तककार दिन सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरे । मार्फा थकाली समाजसेवा सदनका अध्यक्ष चन्द्र पन्नाचनको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष नरेन्द्रमान लालचन, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षमेत रहेका संस्थाका वरिष्ठ सल्लाहकार राजेन्द्र लालचन, पूर्व अध्यक्ष ईश्वरलाल हिराचन, तीनगाउँले थकाली समाजका अध्यक्ष गणेश थकाली, साविक मार्फा गाविस अध्यक्ष मानबहादुर बिक लगायतले बोलेका थिए । कार्यक्रममा गोविन्द ज्वारचनले मार्फा थकाली भाषाको कविता सुनाए । कार्यक्रम संचालन सञ्चारकर्मी सुशील ज्वाराचनले गरेका थिए ।
पोखरा: चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’को सम्पूर्ण तयारी पुरा भएको छ । तयारी पुरा भए संगै आयोजकले उद्घाटन खेलमा गण्डकी प्रदेश र नेपाल आर्मी क्लब भिड्ने भएको जनाएको छ । प्रतियोगितामा पहिलो पटक दुई विदेशी क्लब र केही सहभागि टिमहरुमा विदेशी खेलाडीहरु समेत सम्मिलित भए पछि चौथो टाइगर कप रोचक हुने भएको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् । ‘भोलिदेखि माघ ६गतेसम्म सञ्चालन हुने भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ गरेर १२ टिमको सहभागिता रहेको छ, सबै टिम पोखरा आइसकेका छन्’, अध्यक्ष शर्माले भने, ‘प्रत्येक दिन महिला र पुरुषको गरेर ४ खेल हुुनेछ, विदेशी क्लब र केही सहभागि टिमहरुमा विदेशी खेलाडीहरु समेत सम्मिलित भएकाले प्रतियोगिता रोचक हुने अपेक्षा लिएका छौ । ।’ उनका अनुसार भोलिदेखि सञ्चालन हुने टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिपमा महिला/पुरुष तर्फ गरी १२ वटा क्लबको सहभागिता हुनेछ । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने तय भएको संस्थाका अध्यक्ष शर्माले जानकारी दिए । उनका अनुसार भोलि बिहान महिलातर्फ पहिलो खेल नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब, दोस्रो खेल त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड स्पोर्टस् क्लबबीच हुनेछ । यस्तै पुरुषतर्फ नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ भने, दिनको चौथो तथा उद्घाटन खेल गत सस्करणको उपाधि विजेता गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लब पोखरा आएका छन् । महिलातर्फ नै चन्द्रागिरी नगर लिका न्यू डायमण्ड स्पोर्टस क्लब, आयोजक गण्डकी प्रदेश संगै तिन विभागिय टोली नेपाल पुलिस, नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाउने छन् । त्यसै गरी पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले पहिलो पटक सहभागिता जनाउने पाएको आएको छ । प्रतियोगितामा हेल्प नेपाल स्पोर्टस क्लबले समेत ३ जना पाकिस्तानी खेलाडी टिममा भित्राएको छ । आयोजक टिम गण्डकीले आफ्नो उपाधि रक्षाका लागि तीन भारतीय खेलाडी भित्राएको छ । पुरुषतर्फ तिन विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाउने छन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ महिला तथा पुरुष खेलाडीले ट्रफीका साथमा जनही नगद रु २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् भने अन्य विद्यागत तर्फ हरेक खेलाडीले जनही नगद रु १० हजार ५ सय ५५ प्राप्त गर्नेछन् । तेस्रो संस्करणको उपाधि पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ शसस्त्र प्रहरीको एएिएफ कलबले जितेका थिए । प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड रुपैया खर्च लाग्ने तथा प्रतियोगितालाई थप आकर्षण बनाउन र दर्शकलाई सहज ढंगले खेल हेर्न अवसर प्रदान गर्ने गरि यो वर्ष करिव १० हजार क्षमताको प्यारापिट तयार गरिएको छ ।प्रतियोगितालाई प्रविधि मैत्री समेत बनाइने आयोजकले जनाएको छ । प्रतियोगितामा म्यान अफ दि म्याच वापत खेलाडीले केल्मी र एक्सटेपको टिशर्ट पाउने छन भने प्रतियोगितामा टिकट काटेर हेर्ने दर्शकहरुलाई दैनिक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ भने फाइनल खेलमा बम्पर उपहारस्वरुप सामसुङको मोवाइल प्रदान गरिने सचिव डिवी नेपालीले जानकारी दिएका छन् ।
पोखरा: पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा हरित ज्ञान वाटिकाको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँले एसओएस बालग्राम गण्डकी परिसरमा आयोजित एक विशेष कार्यक्रमका बीचमा उक्त वाटिकाको शिलान्यास गरेका हुन् । एसओएस बालग्राम गण्डकीभित्र करिब दुई रोपनी क्षेत्रफलमा विद्यालयले निर्माण गर्ने हरित ज्ञान वाटिकामा प्राकृतिक भूबनोटभित्र विभिन्न वृत्ताकार, घनाकार, त्रिभुजाकार, वर्गाकार, आयताकार, पञ्चभुजाकार, षटभुजाकार, सप्तभुजाकार, अष्टभुजाकार, प्रिज्माकारलगायतका गणितीय स्वरूपका आकृति तथा लोपोन्मुख अवस्थामा रहेका नेपालका परम्परागत कृषि औजारहरूसमेत सुरक्षित रहनेछन् । ३५ लाख २५ हजार ७ सय अन्ठाउन्न रुपियाँको कुल लागतमा निर्माण हुने हरित ज्ञान वाटिका निर्माणका लागि विद्यालयले एक समिति नै गठन गरेको छ । एसओएस युवालय गण्डकीका प्रमुख बाबुराम बरालको अध्यक्षतामा गठित उक्त समितिको सचिवमा टीकाराम सुवेदी, कोषाध्यक्षमा समिता मल्ल तथा अन्य सदस्यहरूमा प्रमोद बराल, मिलन खत्री, बुद्धि ठकुरी, धनकुमारी गुरुङ, कल्पना पाण्डे र नीलिमा पौडेल रहेका छन् । एसओएस बालग्राम गण्डकीले उपलब्ध गराउने जग्गामा निर्माण गरिने हरित ज्ञान वाटिका परियोजना निर्माणका लागि पोखरा महानगरपालिका वडा नं. १५ ले आर्थिक सहयोग गर्नेछ । त्यस्तै निर्मित परियोजनाको रेखदेख, संरक्षण, सरसफाइ एवम् मर्मतसम्भारको दायित्व एसओएस स्कुल गण्डकीले लिनेछ । शिलान्यास कार्यक्रमपछि बालग्राम परिसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले एसओएस गण्डकीमा निर्माण हुने हरित ज्ञान वाटिका विद्यालयका लागि मात्रै नभएर वडा र सिङ्गो पोखरा महानगरकै एउटा गौरवशाली परियोजनाका रूपमा रहने बताए । ‘१५ नम्बर वडाभित्रका विद्यालयहरूको गुणस्तरीय शिक्षाका लागि गर्न सकिने राम्रा कामका लागि वडाकार्यपालिका सधैँ तत्पर छ ।’ वडाध्यक्ष बानियाँले भने, ‘एसओएस गण्डकीमा निर्माण हुने यस परियोजनालाई पूर्णता दिने कार्यमा आगामी दिनमा पनि वडाको निरन्तर सहयोग रहनेछ ।’ एसओएसका विद्यार्थीहरूलाई प्राकृतिक वातावरणमा आफ्नो मौलिक पहिचान झल्काउने परम्परागत औजारहरूको चिनारीसँगै गणित शिक्षणलाई सरल र प्रभावकारी बनाउने ध्येय राखेर हरित ज्ञान वाटिका निर्माणको अवधारणा अघि सारिएको एसओएस गण्डकीका प्राचार्य चूडामणि सुवेदीले बताए । परियोजना निर्माणको सफलतासँगै एसओएस गण्डकी पोखरा महानगरपालिकाभित्रका अन्य सामुदायिक विद्यालयहरूसँग हातेमालो गर्दै अगाडि बढ्ने पनि प्राचार्य सुवेदीले जानकारी दिए ।
पोखरा: कास्की प्रहरीले पोखरा महानगरपालिका–८ न्यूरोडबाट ९ जनालाई जुवा खालबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घर भई न्यूरोड बस्ने दिपा पुनको घरबाट उनीसहित ९ जना शनिबार राती पक्राउ परेका हुन् । प्रकाउ पर्नेमा पोखरा महानगरपालिका ८ न्युरोड बस्ने ३५ वर्षीय दीपा पुन, पोखरा १ बगर बस्ने ५४ वर्षीय जीतबहादुर गुरुङ, पोखरा ११ बस्ने ३६ वर्षीय दिप्लव गुरुङ, पोखरा १८ बस्ने ३६ वर्षीय पवित्रा ढकाल, पोखरा ११ बस्ने ७१ वर्षीय तीर्थबहादुर गुरुङ र पोखरा १७ बिरौटा बस्ने ५० वर्षीय आईती गुरुङ छन् । यस्तै पोखरा १० रामबजार बस्ने ३५ वर्षीय अमर खनाल, पोखरा १४ बस्ने कुलबहादुर गुरुङ र पोखरा बिरौटा बस्ने ३२ वर्षीय नबिन थापालाई जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले गएराति प्रकाउ गरेको हो । उनीहरूको साथबाट नगद १ लाख २२ हजार १ सय ७५ रूपैयाँ र ४ बुक तास बरामद भएको छ । जुवातास खेलिरहेको अवस्थामा प्रकाउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने)ं सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: राष्ट्रिय युवा संघ पोखरा महानगर कमिटीले आयोजना गरेको पहिलो संस्करणको ‘पोखरा महानगर फुटसल कप–२०८०’ मा वडा नम्बर १ च्याम्पियन बनेको छ । स्पोर्टस् क्यासलमा शनिबार भएको फाइनल खेलमा पोखरा वडा ११ लाई २–० गोल अन्तरले पराजित गर्दै वडा १ च्याम्पियन बनेको हो । च्याम्पियन बनेको वडा १ का लागि विनय तामाङ (क्रिजल) र नकुल तामाङले समान १÷१ गोल गरे । खेल संयोजक अनिश गुरुङका अनुसार च्याम्पियन बनेको वडा १ को टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पारे । यस्तै उपविजेता बनेको वडा ११ ले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २० हजार प्राप्त गरे । सो प्रतियोगिताबाट उपविजेता टोली पोखरा ११ का धन गुरुङ सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । यस्तै सोही टिमकै लक्ष्मण गुरुङ उत्कृष्ट गोलरक्षक घोषित भए । मादी गाउँपालिकाका प्रविण गुरुङले ७ गोल गर्दै सर्वाधिक गोलकर्ताका रुपमा पुरस्कृत भए भने अनुशाषित टिमको शिल्ड पोखरा वडा १७ ले प्राप्त गर्याे । कुल ३८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय अध्यक्ष क्षितिज थेबे, युवा संघका पूर्व अध्यक्ष राजीव पहारी, नेकपा एमाले कास्कीका सचिव बैन बहादुर क्षेत्री, उपसचिव दर्शन लामा लगायतले पुरस्कार वितरण गरेका थिए ।
बलेवा: सञ्जिता अधिकारी आगामी माघ ६ गते बेलायत फर्किने तयारीमा हुनुहुन्थ्यो । बिहे भएको दुई वर्षसम्म पनि उहाँले आफ्नो पुर्ख्यौली कर्मघर देख्नुभएकै थिएन । बिदामा नेपाल आएका बेला सञ्जिता श्रीमान् जन्मेको थलो टेक्न चाहनुहुन्थ्यो । दुर्भाग्य सञ्जिताले श्रीमानको जन्मथलो त टेक्नुभयो । तर त्यो बाटो अब कहिल्यै फर्किनुहुने छैन । शनिबार बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा भएको जीप दुर्घटनामा चन्द्रागिरि नगरपालिका–५ काठमाडौँकी २८ वर्षीया सञ्जिताले ज्यान गुमाउनुभयो । दुर्घटनामा उहाँको परिवारका सबै सदस्य घाइते भएका छन् । ढोरपाटन नगरपालिका–४ छोरेगाउँका दीपक गैरे र चन्द्रागिरि नगरपालिका–५ सतुङ्गलकी सञ्जिता अधिकारी दुई वर्षअघि विवाह भएपछि बेलायत लाग्नुभयो । दीपक पहिलेदेखि नै बेलायत बस्नुहुन्थ्यो । बिहेपछि दीपकले सञ्जितालाई जन्मघर ल्याउनुभएन । काठमाडौँमै बिहे भयो । उतैबाट बेलायत लाग्नुभयो । बेलायतको दुई वर्षको बसाइपछि यही पुस ६ गते गते उहाँहरू नेपाल आउनुभयो । करिब सात वर्ष पहिलादेखि काठमाडौँ बस्दै आएका दीपकको जन्मस्थान घुमेरमात्रै बेलायत जाने रहर सञ्जितालाई थियो । लमजुङको पहाडघर छाडेर काठमाडौँ बस्दै आउनुभएकी सञ्जिताको रहरअनुसार दीपक र उहाँको परिवार पुस २६ गते जन्मगाउँ छोरेगाउँ पुग्नुभयो । “घर जाने कर गरेकै उसैले हो, उसैले छाडेर गई”, दुर्घटनामा घाइते हुनुभएकी सञ्जिताकी जेठानी मनकुमारी गैरेले भन्नुभयो । सञ्जिताको रहरअनुसार नै दीपकको परिवार काठमाडौँबाट छोरेगाउँ आएको बताउनुहुन्छ मनकुमारी । गत पुस २६ गते साँझ उहाँहरू गाउँ पुग्नुभएको थियो । पुस २७ गते जेठो दाजु विवराज गैरेसँग दीपक, सञ्जिता र उहाँको परिवारले सात वर्षअघि छाडेर काठमाडौँ पुगेको छोरेगाँउ घुमे । सञ्जितालाई बाल्यकालको रमाइलो सुनाउँदै २८ पुसमा ढोरपाटन घुम्ने योजना बनाउनुभएका दीपक दुर्घटनामा गम्भीर घाइते हुनुभएको छ । सालझण्डी–ढोरपाटन सडकखण्ड अन्तर्गत शनिबार बिहान ढोरपाटनतर्फ गइरहेको ध१ज १९ नम्बरको जीप ढोरपाटन नगरपालिका–५ प्याङ्खोला अस्तुमा दुर्घटना भयो । जहाँ श्रीमानको गाउँ घुमेर माघ ६ गते बेलायत जाने योजनामा रहेकी सञ्जितासँगै सवारी चालक ढोरपाटन–४ खुङ्गाका तिलक घर्तीको ज्यान गयो । सग्लो परिवार सवार जीप सडकमा पल्टेपछि परिवारका सदस्य गम्भीर घाइते छन् । घर घुमाउन श्रीमती र परिवार लिएर आउनुभएका दीपकलाई उपचारका लागि हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ । मृतक सञ्जिताका श्रीमान् दीपक, उहाँका आफन्त विवराज, जोगनारायण गैरे र उहाँकी श्रीमती निरुता गैरे, छोरी कल्पना गैरे, कृष्ण गैरे र उहाँकी श्रीमती हिमा गैरे तथा मनकुमारी गैरे दुर्घटनामा घाइते भएका प्रहरी निरीक्षक दीपकबाबु केसीले बताउनुभयो । घाइते सबैको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरिएको थियो । थप उपचारका लागि उहाँहरुलाई हेलिकप्टरमा मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ । मनकुमारीका अनुसार गैरे परिवारले ढोरपाटन घुम्नकै लागि जीप रिजर्भ गरेका थिए । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।
पोखरा: भूतपूर्व सैनिक संघ (गेसो)ले गोर्खा सैनिकको माग चाँडै सल्टाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सामु माग राखेको छ। ६ महिनाभित्र माग पूरा नभए थप दबाबमूलक कार्यक्रम गर्ने गेसोले जनाएको छ। शनिबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर गेसोले अबको ६ महिनाभित्र मन्त्रिस्तरीय वार्ताबाट सबै गोर्खा संघसंस्थाको समान सहभागितामा गोर्खा सैनिकको समस्या समाधान गर्न प्रधानमन्त्रीसामु माग राखेको जानकारी दिएको हो। गेसोका प्रतिनिधिले गत बिहीबार प्रधानमन्त्री दाहाललाई भेटेर ज्ञापनपत्र बुझाएका थिए। गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले राज्यले गरेको गल्ती सच्याउन आफूहरू लागि परेको बताए। राज्यले खडा गरेको समस्यालाई समाधान गर्न सरोकारवालाले नजरअन्दाज गरेको हुनाले आफूहरू नै लाग्नु परेको उनको भनाइ छ। ‘सात समुद्र पारीको शासकसँग लड्न सजिलो थिएन। कानून हाम्रो थिएन, भाषा हाम्रो थिएन। तैँ पनि हामी लड्यौँ,’ उनले भने, ‘दयाको भिख मागेको होइनौँ। रगत र पसिनाको मूल्य खोजेका हौँ।’ आफूहरूको लगाइँ ब्रिटिश सरह पेन्सनका लागि मात्रै नदाँज्न उनको आग्रह छ। ब्रिटिशले नेपालका गाउँगाउँबाट लगेर बेपत्ता पारिएका पीतापुर्खाको हिसाबकिताब गर्नुपर्ने उनको माग छ। नेपालीलाई २०० वर्षदेखि युद्धमा प्रयोग गरेको हरेक हिसाब खोज्ने उनले दाबी गरे। गेसोका कानूनी सल्लाहकार डाक्टर गोपाल शिवाकोटी ‘चिन्तन’ले गोर्खा भर्तीबारे नयाँ ढंगले सोच्नुपर्ने समय आएको बताए। बामपन्थी राजनीतिक दलले गोर्खा भर्ती खारेज गर्नुपर्ने माग राख्दै आए पनि अहिलेसम्म समस्या सुल्झिन नसकेको उनले बताए। ‘गोर्खा भर्ती बन्द गर्नुपर्ने माग राख्ने सबै राजनीतिक दल सत्तामा पुगे। यो भर्ती प्रथा कहिलेसम्म चल्ने त?’ उनको प्रश्न छ। अझैँ पनि तटस्थ नहुने हो भने ढिलोचाँडो नेपालको हालत अहिलेको युक्रेनको जस्तै हुने उनले बताए। साथै, अहिलेसमम रहस्यमय बनाइएको सुगौली सन्धी सार्वजनिक हुनुपर्नेमा गेसोले जोड दिँदै आएको छ। त्रिपक्षीय सम्झौता सार्वजनिक नगरे कानूनी लडाइँमा जाने गेसोले तयारी गरिररहेको उनले बताए। गेसो सभापति कृष्णकुमार राईले वार्ताको नाममा वार्ता मात्रै भइरहेको भन्दै दुखेसो पोखे। अबको बाटो ठोस अजेन्डा बोकेर अघि जानुपर्ने उनले बताए। ‘अबको वार्ता हामी सबै गोर्खाको प्रतिनिधित्व गर्ने संस्थासहितको हुनुपर्छ। अब वार्ताको लागि वार्ता मात्रै होइन, वार कि पार गर्ने हिसाबले जानुपर्छ,’ उनले भने, ‘गत २५ गते हामीले प्रधानमन्त्री ज्यूलाई ज्ञापन पत्र पनि बुझाएका छौँ। उहाँ पनि सकारात्मक हुनुहुन्छ। यसपटक हामी अलि आशावादी छौँ।’ अब हुने वार्ता साँच्चिकै अन्तिम हुने उनले जनाए। परराष्ट्र सचिवको तयारीमा दुई देशीय वार्ता गर्ने उनले सुनाए। गेसोले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा बेलायती सेनामा भर्ती हुने नेपाली नागरिकले ब्रिटिश सरह सेवा सुविधा पाउनुपर्ने, लडाइँमा मृत्यु हुनेको हकमा परिवारको सदस्यको लागि क्षतिपुर्ति र परिपुरणको व्यवस्था, समान पेन्सनका हकमा बेलायती उच्च अदालतले गरेको फैसलाबमोजिम व्याखाको कार्यान्वयन, विभिन्न कारण अवकाश दिइएका सैनिकलाई एकमुष्ट पेन्सन, गोर्खा सैनिकका विधवालाई बेलायती सैनिकका विधवासरह पेन्सन, नेपालमा रहेका गोर्खा सैनिकलाई बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा अनुसारको स्वास्थ्य सेवा लगायतको माग उल्लेख छ।

