पोखरा: पोखराको अमरसिंह मैदानमा जारी बाह्रौं संस्करणको पोखरा महोत्सवमा भोलि (बुधबार) चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार र गायिका मेलिना राई आउने भएकी छिन । महोत्सवमा दिउँसोको कार्यक्रममा गायिका शान्ति श्री परियार र साँझको लाइभ ब्याण्ड तर्फ मेलिना राईको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । शान्ति श्री संगै लोकदोहोरी कलाकारहरु जिवन दाहाल, तारापति सुवेदी, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, टेक क्षेत्री, लक्ष्मण सिंह ठकुरी, लिला पौडेल, सरला पाण्डे, सबिना गुरुङ, कमला सुनार लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ ब्याण्डमा मेलिना राइको प्रस्तुती रहने छ । महोत्सवको छैठौ दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको सहभागीता उल्लेख्य रहेको छ । त्यसैगरी कारोबार पनि बढ्दै गइरहेको आयोजकले जनाएको छ । महोत्सवमा मंगलबार रचना रिमालको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिए । रचना संगै पुरुषोत्तम न्यौपाने, जिवन दाहाल, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सुमन खड्का, परशुराम अधिकारी, केशव घिमिरे, कृष्ण गुरुङ, माया गुरुङ, दुर्गा क्षेत्री लगायतको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिएभने साँझको लाइभ ब्याण्डमा श्री ३ को प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिए । महोत्सवमा हिमाली याक अवलोकन, घोडा सवार, विभिन्न जातजातिको भेषभुषाको पहिरनमा तस्विर खिचाउने, भिआर नाइन डी, नेपाल टेलिकमको निशुल्क सिम वितरण, कृषि, लत्ताकपडा, घरायसी सामाग्री किन्ने दर्शकको भीड लागेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा: नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिले पोखरामा पहिलो संस्करणको ‘खुला तामाङ सेलो नृत्य प्रतियोगिता’ आयोजना गर्ने भएको छ । मञ्जुश्री संवत् २८६० औं सोनाम ल्होछार डुक ल्हो (ड्रागन वर्ग) को अवसरमा आगामी ६ गते (शनिबार) न्यूरोडस्थित सिटी स्क्वायरमा खुला तामाङ सेलो नृत्य प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने कार्यक्रम संयोजक जसपाल पाख्रिन तामाङले जानकारी दिए । उनले हालसम्म २० टिमले दर्ता गरिसकेको बताउदै आगामी शनिबार बिहान १० बजेसम्म टिम दर्ता गर्न सकिने बताए । उनका अनुसार सो प्रतियोगिताको विजेता समूहले नगद रु ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै द्वित्तिय हुने समूहले नगद रु २५ हजार ट्रफी र प्रमाणपत्र हात पार्नेछन् भने तृतीय हुने टिमले नगद रु १५ हजार साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । संयोजक तामाङले सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजार ट्रफीसहित प्रमाणपत्र प्रदान गरिने बताए । उनले तामाङ समुदायको संस्कृतिलाई संरक्षण, संबद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताउदै प्रतियोगितामा तामाङ समुदाय बाहेक अन्य समुदायका नृत्य समूहले पनि सहभागिता जनाउन पाउने तामाङले बताए । ‘यो प्रतियोगिता हामीले हाम्रो संस्कृतिको संरक्षण गर्ने लक्ष्यसहित आयोजना गरेका हौं । त्यसैले तामाङ समुदाय मात्र नभएर अन्य समुदायबाट पनि भाग लिन पाउनुहुनेछ, उनले भने, ‘तर पोशाक र गीत भने तामाङ सेलोमा आधारित हुनुपर्नेछ ।’ सो प्रतियोगिताको निर्णायकमा जसु गुरुङ, सुवास राई र अमन तामाङ रहने छन् भने गायक विश्व दोङ तामाङ र लक्ष्मी डिम्डुङ तामाङले सांगीतिक प्रस्तुत राख्ने आयोजकले जनाएको छ ।
पोखरा: पोखरामा जारी चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ समूह ‘ए’ तर्फ नेपाल पुलिस क्लब शिर्षस्थानमा उक्लिएको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा आज (मंगलबार) भएको खेलमा पुलिसले घरेलु टोली गण्डकीलाई ३–० को सेटमा पराजित गर्दै पुलिस समूह ‘ए’को शिर्षस्थानमा उक्लिएको हो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा एपिएफसँग पहिलो खेल ३–२ ले खेल गुमाएको पुलिसले दोस्रो खेलमा गण्डकीलाई सोझो सेटमा पराजित गरेपछि ३ अङ्क जोड्यो । एपिएफसँग पराजित भएपनि पुलिसले एक अङ्क भने प्राप्त गर्न सफल भएको थियो । पुलिसले गण्डकीलाई २५–१०, २५–९ र २५–१६ ले सोझो सेटमा पराजित गरेको हो । गण्डकीले तीन भारतीय खेलाडी भित्राएपनि पुलिसलाई चुनौती पेश गर्नसमेत सकेन । समूह ‘ए’ तर्फ भोलि गण्डकीले नेपाल एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल गण्डकीले सोझो सेटमा एपिएफलाई पराजित गर्न सके मात्र समूह उपविजेताको रुपमा अर्को चरणमा प्रवेश गर्नेछ । यस्तै आज नै भएको दोस्रो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले भारतको हरियाणा टिमलाई पराजित गरेको छ । त्रिभुवन आर्मी क्लबले पहिलो सेट २५–२२ ले जितेपनि दोस्रो र तेस्रो सेट भने गुमाउन पुग्यो । आर्मीले दोस्रो र तेस्रो सेट क्रमशः २०–२५ र १८–२५ ले भारतको हरियाणा टिमलाई सुम्पिन पुग्यो । आर्मीले लगातार दुई सेट गुमाएपनि चौथो र पाँचौ सेटमा भने उत्कृष्ट पुनरागमन गर्दै २५–१७ र १५–१२ ले जितेको हो । समूह ‘बी’ मा रहेको आर्मीले पहिलो खेल भने न्यू डायमण्ड स्पोर्टस् क्लबसँग पराजित ब्यहोरेको थियो । समुह ‘बी’मा रहेको न्यू डायमण्ड ३ अङ्कसहित शिर्षस्थानमा छ । दुई खेल खेलेको आर्मीको २ अङ्क छ भने एक खेल खेलेको हरियाणा टिमको १ अङ्क छ । बुधबार भारतको हरियाणा टिमले न्यू डायमण्ड स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै आज नै भएको पुरुषतर्फको पहिलो खेलमा समूह ‘बी’मा रहेको श्रीलंकाको आर्मी टिमले नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । सोमबार नेपाल पुलिस क्लबलाई ३–० को सेटमा पराजित गरेको एपिएफ मंगलबार भने आमन्त्रित टिमसँग पराजित भएको हो । श्रीलंका आर्मीले नेपाल एफिएफ क्लबलाई २३–२५, २५–२१, २५–१९ र २५–१३ ले पराजित गरेको हो । नेपाल एपिएफ क्लब र श्रीलंका आर्मीको यस समुहमा ३÷३ अङ्क रहेको छ भने एक खेलेको नेपाल पुलिस क्लबले खाता खोल्न सकेको छैन् । भोलि नेपाल पुलिस क्लबले आमन्त्रित टिम श्रीलंका आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । आज भएको चौथो खेलमा हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौैले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । तीन पाकिस्तान खेलाडीसहित मैदानमा उत्रेको हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई २५–१८, २५–२०, २३–२५ र २५–२० ले पराजित गरेको हो । पुरुषतर्फ समूह ‘ए’ तर्फ भोलि नेपाल पुलिस क्लब र श्रीलंकाको आर्मी क्लब दोस्रो खेल घरेलु गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै पुरुषतर्फको समुह ‘ए’ तर्फ भने सोमबार घरेलु टोली गण्डकी र त्रिभुवन आर्मी क्लबबीचको खेल लाइट प्रोस्टेटको कारण स्थगित भएको थियो । उक्त खेल लिगचरणको अन्तिममा खेलाउने आयोजकले जनाएको छ । यस प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
लमजुङ: रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिए । रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको उनले बताए । उनका अनुसार मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरुले उनका भाइ कुमार गुरुङलाई उक्त खबर पठाएका थिए । जर्मनीमा रहेका भाइ कुमारले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेको उनले बताए । गुरुङ दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्षसमेत बनेका थिए । रोजगारीका लागि भन्दै साढे तीन महिना अघि उनी रुसी सेनामा पुगेका थिए । उनको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।
चितवन: चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भई पड्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनीष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय अविनाश फर्टिलाइजर कम्पनीको हातभित्र आगलागी भएको हो । घटनाको थप अध्ययन भइरहेको उनले बताए ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्धामा फरार ७७ जना फरार प्रतिवादीलाई प्रकाउ गरेको छ । कास्की प्रहरीले गत पुष महिनामा ७७ जना फरार प्रतिवादीलाई प्रकाउ गरेको हो । विभिन्न मुद्धामा फरार रहेका ७७ प्रतिवादीहरुले १६ वर्ष २ महिना १४ दिन कैद सजाय र ३ लाख ३ हजार ७ सय ५ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको कास्की प्रहरीले जनाएको छ । प्रकाउ परेका प्रतिवादीहरुलाई अदालतमा बुझाइएको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरीका अनुसार गत पुष महिनामा प्रकाउ परेका प्रतिवादी मध्य सबैभन्दा बढि नेक अनादार मुद्धामा ४४ जना रहेका छन् । यस्तै सार्वजनिक स्थानमा अभद्र व्यवहार मुद्धा र जालसाझी मुद्धामा ३/३ जना, लागुऔषध मुद्धामा १३ जना, जुवातास मुद्धामा ३ र लेनदेन (बिगो सम्बन्धी मुद्धामा २ जना प्रकाउ परेका छन् । यस्तै अभद्र व्यवहार मुद्धा, झुुट्टा विवरण पेश गरी नागरिकता लिएको मुद्धा,जुवातास मुद्धा, केही सार्वजनिक अपराध मुद्धा, दोहोरो नागरिकता लिएको सम्बन्धी मुद्धा, ज्यान सम्बन्धी मुद्धा, सवारी ज्यान मुद्धा, गैर कानुनी कारोवार सम्बन्धी मुद्धा र अपुतािल हक कायम सम्बन्धी मुद्धामा १/१ जना प्रकाउ परेका छन् ।
गलकोट: बागलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए । स्वास्थ्य बीमा गर्न घरघरमा पुगेका दर्ता सहयोगीलाई स्वास्थ्य बीमाको महत्व बुझाउन मुस्किल थियो । मुस्किलले एक÷दुई परिवार बीमामा आबद्ध भए पनि अरुले भने बेवास्ता गरेका थिए । जिल्लामा स्वास्थ्य बीमा सुरु भएको सात वर्ष बितिसक्दा भने यसमा आबद्ध नागरिकको सङ्ख्या क्रमशः उकालो लागेको छ । घरघरमा पुगेर स्वास्थ्य बीमामा आबद्ध हुन नमानेका नागरिकले अहिले बीमा गर्न आफैँ बोलाउन थालेका छन् । “पहिला बीमा गर्न घरमै पुग्दा गालीसमेत खाइयो, धेरैले बीमाको महत्व नबुझेर रहेछ, अहिले त बीमा नवीकरणको समय आयो भन्दै फोन गर्ने गरेका छन्, धेरैले स्वास्थ्य बीमाका कारण उपचारमा सहयोग पुगेको बताउँदै आएका छन्”, स्वास्थ्य बीमाका सामाजिक परिचालक सरिता शर्माले भन्नुभयो, “पहिलो वर्ष घरघरमा पुग्दा रित्तोहात फर्केर आएको सम्झना छ, अहिले भने खाली फर्कनुपर्ने अवस्था छैन, अहिले बागलुङ नगरपालिका–४ को करिब आधा जनङ्ख्या स्वास्थ्य बीमा आबद्ध भएका छन् ।” जिल्लामा पछिल्लो समय स्वास्थ्य बीमाप्रति नागरिकको आकर्षण बढ्दै गएको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७२र७३ मा स्वास्थ्य बीमा सुरु गर्दा एक हजार ६ सय ८१ मात्रै आबद्ध भएका थिए तर पछिल्लो सात वर्षमा एक लाख नौ हजार पाँच सय ८१ जना आबद्ध भइसकेको जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो । स्वास्थ्य बीमा गर्नेमध्ये ५७ हजार नौ सय ९५ महिला र ५१ हजार पाँच सय ८६ पुरुष छन् । उहाँका अनुसार सबैभन्दा बढी स्वास्थ्य बीमामा आबद्ध हुने बागलुङ नगरपालिकाका नागरिक छन् । नयाँ स्वास्थ्य बीमाका सदस्य थपिँदै जाने र केही नवीकरण नगर्ने नागरिकको सङ्ख्या घट्दै गए पनि स्वास्थ्य बीमाप्रति आकर्षण बढ्दै गएको तथ्याङ्कले देखाएको छ । “बागलुङको जनसङ्ख्या दुई लाख ५० हजार पाँच सय ४४ रहेकामा एक लाख नौ हजार पाँच सय ८१ जना स्वास्थ्य बीमामा आबद्ध छन्, हाम्रो अभियान सबै नागरिकको पहुँचमा बीमा पुर्याउने हो, दर्ता सहयोगी गाउँ÷गाउँमा स्वास्थ्य बीमामा आबद्ध गराउन हिँडिरहेका छन्,” पौडेलले भन्नुभयो, “अस्पतालबाट पाउने सेवाबाट नागरिक खुशी भएका छन्, औषधिमा केही गुनासो अझै कायम छ तर रिफरको समस्या र एक महिनालाई औषधि दिने समय थपिएको छ ।” आबद्ध भएका बिरामीले एकपटक रिफर लगेमा पुन दोहोर्याउन नपर्ने भएकाले बिरामीलाई सहज हुने उहाँले बताउनुभयो । सरकारले स्वास्थ्यमा सबै नागरिकको समान पहुँच पुगोस् भन्ने हेतुका साथ ल्याएको यस कार्यक्रमले जिल्लामा आर्थिकरुपमा विपन्न र गरिब समुदायका बिरामीले औषधोपचारमा ठूलो राहत महसुस गर्न थालेका छन् । कमै मात्रमा उपचारका लागि धवलागिरि अस्पतालमा आउने बिरामीको सङ्ख्या यो कार्यक्रम लागू भएपछि उपचारमा आउनेको सङ्ख्या तेब्बरले वृद्धि भएको छ । अहिले यस अस्पतालमा सिटिस्क्यान उपकरणसमेत भित्रिएपछि बिरामीलाई राहत भएको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रविरञ्जन प्रधानले बताउनुभयो । अस्पतालमा थपिएको सेवाका कारण नागरिक स्वास्थ्य बीमामा थप आकर्षित भएका छन् ।“अहिले बीमा नगरेका बिरामी नगन्य मात्रै अस्पतालमा आउँछन् । बिरामीले परीक्षणमा बढी फाइदा उठाएका छन्, औषधिसमेत निःशुल्क पाएका छन्, केही औषधि जुन बीमामा पर्दैनन् त्यही मात्र पाइँदैन,” उहाँले भन्नुभयो, “अस्पतलबाट विशेषज्ञ सेवा र विशिष्टीकृत सेवा पनि दिइँदै आएका कारण बीमा गर्ने बिरामीहरु उपचारका लागि यहाँ आउने गरेका हुन् ।” पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक तीन हजार पाँच सय तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएको हकमा प्रतिसदस्य सात सयका दरले शुल्क बुझाई बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यले वार्षिकरुपमा एक लाखसम्म उपचार खर्च निःशुल्क हुने स्वास्थ्य बीमाको नीतिमा उल्लेख छ ।
झापा: झापाको बिर्तामोड नगरपालिका –७ गरामनीस्थित बेल्स मोडल स्कुलमा स्कुलको अतिरिक्त कार्यक्रममा बेलुन फुलाउने ग्यास सिलिन्डर विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् । स्कुलले आयोजना गरेको स्पोर्टस् मीट कार्यक्रमको सजावटका लागि हाइड्रोजन ग्यास सिलिन्डरबाट बेलुन फुलाउने क्रममा विस्फोट हुँदा अन्दाजी ५५ वर्षका भारतीय नागरिक गणेश सहनी घाइते भएका हुन् । घाइते गणेशलाई उपचारका लागि बीएण्डसी हस्पिटल पठाइएको र अवस्था चिन्ताजनक रहेको विद्यालयका संस्थापक जय प्रसाईले बताए । विद्यालय सजावटका लागि भारत सिलिगुडीको पार्टी डेकोरेशन सिलिगुडी भन्ने कम्पनीले ठेक्का लिएको थियो । कम्पनीले सहनीलाई कामदारको रुपमा खटाएको थियो । घाइतेको कम्मरमुनिको भाग क्षतविक्षत अवस्थामा छ । विस्फोटमा उनको खुट्टा चुँडिएर झरेको छ । विस्फोटमा एक विद्यार्थी सामान्य घाइते भएको जनाइएको छ । उक्त ग्यास सिलिन्डर पड्किँदा निस्किएको आवाजले सोही विद्यालयका कक्षा ९ मा अध्ययनरत बिर्तामोड ७ बस्ने टीका तामाङकी छोरी १५ वर्षीया कुसुम तामाङको कानमा समस्या आएको छ । उपचारका लागि उनलाई पनि बीएण्डसी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

