पाखरा: नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गर्दै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र सामाजिक संस्था रोटरी डिस्ट्रीक ३२९२ बिच प्रायोजकको सम्झौता भएको छ । आगामी फागुन पाँच गते १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट ३ वर्षका लागि हरेक वर्ष दुई लाख रुपैयाँ प्रदान गर्दै सह–प्रायोजकको रुपमा रहने दुई पक्ष बिच पोखरामा सम्झौता भएको हो । मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सँग जोडिएकोमा धन्यवाद ज्ञापन गरे । उनले रोटरी सामाजिक संस्था भएको र सामाजिक संस्था जोडिदा म्याराथनलाई थप ब्राण्डिङ र प्रबद्र्धन गर्न टेवा पुग्ने विश्वास रहेको सुनाए । म्याराथनलाई भव्य बनाउन सह–प्रायोजकको रुपमा जोडिदै आर्थिक र सामाजिक पाटर्नरको रुपमा रहेको बताए । निवर्तमान अध्यक्ष तेज गुरुङले मञ्च र म्याराथनको बारेमा प्रोजक्टमार्फत प्रस्तुति दिएका थिए । उनले रोटरी सँगको समन्वय महत्वपूर्ण रहेको बताए । गुरुङले रोटरीको क्षेत्र फराकिलो भएकाले यसले म्याराथनलाई आर्थिक, नैतिक र भौतिक रुपमा ठूलो सहयोग पुग्नेमा विश्वास लिएको बताए । रोटरी डिस्ट्रीक ३२९२ का गभर्नर राजेन्द्र प्रसाद धोजुले खेलकुदमा प्रतिष्ठित संस्था भुतपुर्व खेलाडी मञ्चसँग जोडिन पाउनु ठूलो उपलब्धि रहेको सुनाए । उनले रोटरीले सामाजिक कार्य गर्दै आइरहँदा अन्तर्राष्ट्रिय प्रतियोगितामा जोडिदा थप उचाई बढेको बताए । रोटरीले विश्वभर पोलियोको विषयमा जनचेतना फैलाउने काम गरेको र म्याराथनमा समेत पोलियोकै जनचेतना फैलाउने गरी अघि बढ्ने बताए । साथै रोटरीले आगामी फागुनमा पोखरामो सम्मेलन गर्न लागेको र देशभरका रोटरीयन पोखरा आउने भएकाले ठूलो समुह प्रतियोगितामा उपस्थिति गराउने प्रतिबद्धता व्यक्त गरे । मञ्चसँगको सम्बन्धलाई आगामी वर्षहरुमा निरन्तरता दिदैँ जाने उनको भनाई छ । उनले देशभर रहेका रोटरी क्लबहरुमा सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रचार गर्ने समेत बताए । मञ्चका द्धितीय उपाध्यक्ष खेम गुरुङले दुई संस्थाबिचको सम्झौताले एक आपसमा सहयोग आदान प्रदान हुने बताए । उनले म्याराथनलाई सफल बनाउन थप इट्टा थप्ने काम भएको बताए ।
पोखरा: प्रेस क्लब गण्डकी प्रदेशको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ को रिंजे नाशा होमस्टेमा सम्पन्न साधारणसभाको उद्घाटन प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले उद्घाटन गरे । उनले कार्यक्रममा बोल्दै पत्रकारहरुले सत्य र तथ्यमा आधारित रहेर सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले सानो कमजोरीले ठुलो समस्या उत्पन्न हुने भन्दै सहि र तथ्यमा आधारित समाचारले समाज परिवर्तनमा भुमिका खेल्ने बताए । अहिले सञ्चार कानुन निर्माणको तयारी भैरहेको बताउदै पत्रकारमैत्री बनाउन आफनो तर्फबाट भुमिका खेल्ने बताए ।उनले प्रेस क्लब गण्डकीले बहसमुलक कार्यक्रमलाई प्राथमिकतामा राखेर गतिविधि सञ्चालन गर्न आग्रह समेत गरे । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा क्लबका सल्लाहाकार सरिता पंगेनि तिमिल्सिनाले क्लबले छोटो समयमा राम्रो काम गरेको बताउदै अझै सशक्त रुपमा समाजमा रहेका विभिन्न विषयमा बहसमुलक कार्यक्रम सञ्चालन गर्न सुझाव दिइन् । क्लबका सल्लाहकार सुष्मा पौडेल, पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बराल, पोखरा महानगरपालिका न्यायिक समिति सदस्य कालिदास पोखरेल लगायतले प्रेस क्लब स्थापनाको औचित्य पुष्टि गरेको बताउदै सबैलाई समेटेर अगाडि बढन आग्रह गरे । क्लबका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको उद्घाटन सत्रको सञ्चालन सचिव गौरव त्रिपाठीले गरेका थिए । यसैबीच साधारण सभाको बन्द सत्रमा क्लबका सचिव गौरव त्रिपाठीको प्रतिवेदन र कोषाध्यक्ष राजु गिरीको आर्थिक प्रतिवेदन व्यापक छलफलपछि पारित गरेको छ । साधारणसभाले भावि कार्यक्रम पारित गर्दै क्लब दर्ता भएको दिनलाई स्थापना दिवसका रुपमा मनाउने र बार्षिक ५० हजार रुपैयाँले प्रत्येक वर्ष ब्यक्ति वा संस्थालाई सम्मान गर्ने निर्णय समेत गरेको अध्यक्ष एकराज गिरीले बताए । समाजका महत्त्वपूर्ण योगदान पुर्याउने ब्यक्ति तथा संस्थालाई सम्मान गरिने अध्यक्ष गिरीले बताए ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका भलिबल’ प्रतियोगितामा नवलपरासी(बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका च्याम्पियन बनेको छ । माछापुच्छ्रे ३ घाचोकमा भएको फाइनल खेलमा बाग्लुङको गलकोट नगरपालिकालाई ३—१ सेटमा हराउँदै बौदीकाली च्याम्पियन बनेको हो । च्याम्पियनसँगै बौदीकालीले नगद रु ३ लाख, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्याे । यस्तै उपविजेता गलकोटले रु २ लाख तथा ट्रफी हात पार्याे । यस्तै सेमिफाइनलमा पुगेका अन्नपूर्ण र चापाकोटले जनही रु ५० हजारबाट पुरस्कृत भए । प्रतियोगिताबाट बौदीकालीका अशोक श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै रु ७ हजार प्राप्त गरे । यसैगरी उत्कृष्ट स्पाइकरमा बौदीकालीका सरोज बर्देवा, उत्कृष्ट ब्लकरमा बौदीकालीकै विश्वास अधिकारी, उत्कृष्ट सर्भरमा सोही टिमकै आषिश श्रेष्ठ, उत्कृष्ट डिफेण्डर चापाकोटका राजन दर्लामी मगर, उत्कृष्ट सेटर गलकोटका मीन सुनार र उत्कृष्ट प्रशिक्षक बौदीकालीका सागर विष्ट घोषित भए । प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नेपाली काँग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभाका सांसद द्धय बद्री पाण्डे र जीवन परियार, गण्डकी प्रदेशसभाका सदस्यद्धय गणेशमान गुरुङ र प्रकाश बराल, गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्याल लगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखरा: आगामी माघको पहिलो साता हुन गइरहेको वडा स्तरिय दोश्रो बृहत खेलकुद महोत्सवको तयारी स्वरूप खेल मैदान क्षेत्रमा सरसफाई गरिएको छ । पोखरा महानगरपालिका वडा नं (१५ को आयोजनामा हुन गइरहेको दोश्रो बृहत खेलकुद महोत्सवको तयारी स्वरूप बन विज्ञान अध्ययन संस्थानको खेल मैदानका साथै बाटो वरपर सरसफाई गरिएको हा े। सरसफाई कार्यक्रममा वडाका जनप्रतिनिधि, स्थानीय आमा समुहहरूको सहभागिता रहेको थियो । खेलकुदले वडावासी नागरिकमा आपसी मेलमिलाप, भाइचारा, तथा सहयोगको भावना जगाउनुका साथै नागरिकको स्वास्थ्यको लागि महत्त्व राख्ने हुँदा यस वर्षपनि खेल महोत्सवलाई निरन्तरता दिइएको वडाध्यक्ष तोरण बानियाँले जानकारी दिए। गत वर्ष पहिलो खेल आयोजनामा नै वडावासीको उल्लेखनिय सहभागिताले उत्साहित बनेको भन्दै यसपाली यो संख्या अझ बढ्ने उनले दाबी गरे । महोत्सवमा पुरुष, महिला, विद्यालय तथा अपाङ्गता भएका व्यक्तिहरुविच फरक फरक इभेण्टहरुमा प्रतिस्पर्धा हुने वडा सदस्य तथा खेलकुद कार्यक्रमका संयोजक आशिष भण्डारीले बताए । भण्डारीका अनुसार पुरुषतर्फ टोल तथा क्लहरुविच फुटबल, भलिबल, ५० वर्ष माथिकाहरुको सडक दौड, डबल्स ब्याडमिण्टन हुने छ भने, महिलातर्फ भलिबल, रस्साकसी, ४० वर्ष माथिकाहरुको सडक दौड, डबल ब्याडमिण्टन र विद्यालय स्तरिय फुटबल तथा अपाङ्गता भएका व्यक्तिहरुविच बास्केट बल प्रतियोगिता हुने संयोजक भण्डारीले जानकारी दिए । प्रतियोगिताका विभिन्न इभेण्टमा जित हाँसिल गर्ने टिमहरुले नगद सहित शिल्ड मेडल प्रमाण–पत्र पुरस्कार प्राप्त गर्नेछन् । खेल महोत्सव बन बिज्ञान अध्ययन संस्थानको खेल मैदानमा आगामी माघ २ गतेदेखि ४ गतेसम्म संचालन हुनेछ ।
पोखरा: पोखराको अमरसिंह मैदानमा जारी पोखरा महोत्सवमा दर्शकको साथ बढ्दै गएको छ । महोत्सवको तेश्रो दिन शनिवार महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिती रहयो । दर्शकको उपस्थिती संगै महोत्सवमा राखिएको स्टलहरुमा समेत दर्शकहरुको भीड लागेको थियो । महोत्सवमा घोडसवार, याक हेर्ने र महोत्सवको टिकटमा राखिएको नेपाल टेलिकमको निशुल्क सिम लिनेहरुको भिड लागेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । पोखरा महोत्सवको प्रवेश टिकटबाट बम्पर उपहार राखिएको समेत प्रचार प्रसार संयोजक सुनारले जानकारी दिए । उनका अनुसार महोत्सवको अन्तिम दिन पुरस्कारको घोषणा गरिने छ । दर्शकले महोत्सव प्रवेशमा काटेको टिकटको अर्धकट्टी सुरक्षित राख्नु पर्नेछ । दर्शकहरुले पहिलो पुरस्कार एभरेष्ट स्टील दराज, दोस्रो पुरस्कार प्लाष्टिक डाइनिङ सेट, एक थान टेबल र चार थान कुर्ची र तेश्रो पुरस्कार प्लाष्टिक डाइनिङ सेट पाउने छन । महोत्सवमा शनिवार लोकदोहोरी कलाकार प्रिती आलेको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । वालवालिका, युवाहरुले प्रिती आलेको प्रस्तुतीमा भरपुर मनोरन्जन लिएका थिए । प्रिती आले संगै प्रजापति पराजुली, जिवन दाहाल, शिवहरी ढुंगाना, अमर धिताल, निश्चल थापा, किसन नेपाली, सुरज आचार्य, सरस्वती लामिछाने, इन्द्रा गुरुङ, सगीता गुरुङ लगायतको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । त्यसैगरी सांझको लाइभब्याण्ड तर्फ माइलाको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएको महोत्सवको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा आइतबार समिक्षा अधिकारी, राजु गुरुङ, जिवन दाहाल, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, शिवहरी ढुंगाना, कृष्ण सुवेदी, कृष्ण भट्टराई, प्रशान्त तामाङ, पार्वती जिसी, मधु थापा मगर, नविना सुवेदी लगायतको प्रस्तुती रहने छभने सांझको लाइभब्याण्डमा रकहेड्सको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
काठमाडौं: आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज ९शनिबार० उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो । सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा हुनुहुन्छ । उक्त निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता भएको थियो । आयोगका अनुसार कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, बागमतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा छ जना उम्मेदवार हुनुहुन्छ । कर्णाली प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा छरछ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार हुनुहुन्छ ।
ढोरपाटन: बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज ९शनिबार० बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौंकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् । जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते नौ जनाको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।
दाङ: नेपालगन्जबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस दाङको भालुबाङमा शुक्रबार राती दुर्घटना हुँदा घाइते भएकामध्ये १२ जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । १३ जना घाइतेलाई कोहलपुर ल्याइएकोमा बाँके डुडुवा निवासी मोहम्मद जावेद उपचार गराएर घर फर्किएका छन्े । उनी डिस्चार्ज भएसँगै अस्पतालमा १२ जना उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । कालिकोटका ४५ वर्षीय तिलकप्रसाद उपाध्याय र २० वर्षका अरवाज नाउको अवस्था गम्भीर रहेको डिएसपी तिवारीले जानकारी दिए । शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेकाहरूमा नेपालगन्जका २४ वर्षीय आशुतोष गौतम, २० वर्षीय निरञ्जन कोरी, बर्दियाका २२ वर्षीय राजीव थारु, बाँकेका १९ वर्षीय नफिच खान, भारतका २० वर्षका छोटी सिलौरा, बाँकेकै दशरथ बिक, बाँके राप्ती सोनारीका ३१ वर्षका कुलबहादुर गोसाईं, नेपालगन्जकी ३५ वर्षीया लीला वली, बाँकेकै २१ वर्षीय शङ्कर थारु र रावलकुमार यादव छन् । उनीहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । बाग्मती प्रदेश ३००१ ख ३९१२ नम्बरको यात्रु बाहक बस अनियन्त्रित भई शुक्रबार राति १०ः३० बजे पुलबाट अन्दाजी २५ मिटर तल राप्ती नदीमा खसेर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको छ । बसमा सवार ३५ जनामध्ये सात जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
उदयपुर: कटारी नगरपालिका–७ देउलीकुनाबाट ६० किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–२ का ३१ वर्षीय अर्जुन मगर र ३० वर्षीय लोक बहादुर राई रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी कटारीबाट खटिएको प्रहरीले ३ वटा बोरामा रहेको ६० किलो गाँजा बोकी लैजादै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

