काठमाडौं:  नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ । विद्यमान परिस्थितीमा नेपाली सेनालाई जोडेर पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणह...

पोखरा:    ग्रिनहिल युवा क्लबको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा जारी ऐतिहासिक ३१ औं चैत्र दशैं मेलामा पुरुष भलिबल अन्तर्गत क्वाटरफाइनलका ३ खेल सकिएका छन् ।   क्लबका अध्यक्ष सुजन गुरुङका अनुसार युके लण्डन, टि गार्डेन र घाचोक सेमिफाइनलमा प्रवेश गरेका हुन् ।    युके लण्डनले घाचोक टिम ‘बि’लाई २–० को सोझो सेटमा पाखा लगाउदै युके लण्डन सेमिफाइनलमा प्रवेश गर्याे ।    टि गार्डेनले सिदिङलाई पनि २–० कै सेटमा हराउँदै टि गार्डेन अन्तिम चारमा प्रवेश गर्याे । अब सेमिफाइनलमा टि गार्डेनले युके लण्डनको सामना गर्नेछ ।   यस्तै अर्काे क्वाटरफाइनल खेलमा पञ्चासेलाई घाचोकले २–१ को सेटमा पराजित गर्दै घाचोक पनि सेमिफाइनलमा प्रवेश गर्याे ।   खेल संयोजक अनोद गुरुङका अनुसार प्रिक्वाटर र क्वाटर गरी २ खेल अझै बाँकी रहेको छ ।   उक्त खेलहरु शुक्रबार सम्पन्न भएपछि सेमिफाइनलमा घाचोकसँग भिड्ने टिमको टुंगो लाग्नेछ ।    यसअघि महिलातर्फ हिमशिखर क्लब धम्पुस र बौद्धसिर्जना क्लब घलेल फाइनलमा प्रवेश गरिसकेको छ ।   बुधबार बेलुकी लाइभ कन्सर्टतर्फ निष्कर्ष ब्याण्डले प्रस्तुती दिएको थियो ।   पुरुषतर्फको विजेता टिमलाई नगद  १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।   यस्तैे उपविजेता टिमलाई नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । तृतीय स्थान हाँसिल गर्ने टिमले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजारले पुरस्कृत गरिनेछ ।   यसैगरी महिलातर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, द्वित्तियलाई १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिनेछ । 

पोखरा:  नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाखमा हुने अवार्डको वर्ष उत्कृष्ट खेलकुद संस्था विधाको प्रायोजन निट डेन्टल एण्ड केयरले गर्ने भएको छ ।  पोखराको महेन्द्रपुल मेडिकललाईनमा रहेको डेन्टलका सञ्चालक बिरेन राना र खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे । मञ्चले अवार्डमा गण्डकी प्रदेशको एक उत्कृष्ट संस्थालाई नगद ३५ हजारसहित सम्मान गर्दै आएको छ । खेलकुद र स्वास्थ्य एक अर्काका परिपुरक भएकाले स्वस्थ रहन खेलकुद आवश्यक भएको हुँदा खेल विकासको क्षेत्रमा काम गर्ने संस्थाले आयोजना गरेको स्पोर्टस् अवार्डलाई सदैव साथ रहेको निट डेन्टल एण्ड केयरका सञ्चालक बिरेन रानाले बताए । सबैको साथ र सहयोगले नै स्पोर्टस् अवार्डको गरिमा उच्च रहेको बताउँदै सहयोगीहरुप्रति  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगर धन्यवाद ज्ञापन गरे । यसैगरि नेकपा एमाले जिल्ला समिति कास्कीका सचिव तथा समाजसेवी दर्शन लामाले अवार्डलाई नगद रु १० हजार सहयोग गरेका छन् । यस पटकको अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छभने उदीयमान खेलाडी विधाको लागि सहारा क्लब पोखरा र उत्कृष्ट प्रशिक्षक विधाको प्रायोजन टाइगर ग्रुप पोखराले गरिसकेको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोट्र्स अवार्ड गर्दै आइरहेको छ ।  अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चका सचिव राजु गिरीले जानकारी दिएका छन् ।  

काठमाडौं:  चाइना साउदर्न एयरलाइन्सले यही अप्रिल १० देखि नेपाल–चीन उडान सेवा विस्तार गर्ने भएको छ । एयरलाइन्सले यही अप्रिलदेखि अक्टोबरसम्म काठमाडौँ–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ ।  कम्पनीका अनुसार काठमाडौँ–ग्वाङ्झाउ दैनिक राति ११ः३० बजे उडान हुनेछ । साथै दिउँसो भइरहेको उडान तालिका समायोजन गरिएको छ । जसअनुसार अब काठमाडौँ ग्वाङ्झाउका लागि दिउँसो १२ः५० बजे उडान हुने छ ।       “अप्रिल १० देखि मे महिनासम्म दिउँसोको उडान आइतबार, सोमबार, बुधबार र बिहीबार मात्र हुने छभने जुनदेखि अगस्टसम्म आइतबार र बिहीबार मात्र हुने छ । साथै सेप्टेम्बरदेखि अक्टोबरसम्म दिउँसो हुने उडान दैनिक सञ्चालन हुनेछन्”, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । चाइना साउदर्नले उक्त अवधिमा उल्लेखनीय रूपमा सिट सङ्ख्या बढाउने योजनासमेत बनाएको छ । काठमाडौँ–ग्वाङ्झाउतर्फ करिब ४५ हजार सिट र ग्वाङ्झाउ–काठमाडौँ ४६ हजारभन्दा बढी सिट उपलब्ध गराइने छन् ।  कम्पनीका अनुसार गत वर्षको तुलनामा काठमाडौँ–ग्वाङ्झाउमा १६ दशमलव पाँच प्रतिशत अर्थात् छ हजार सिट बढी हो भने ग्वाङ्झाउ–काठमाडौँमा १३ हजार अर्थात् ३९ दशमलव नौले बढी हो । उडान र सिट सङ्ख्यामा भएको वृद्धिले चीन–नेपालबीचको व्यापार, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई थप बल पुर्याउने एयरलाइन्सको अपेक्षा छ ।       “यो उडान क्षमता वृद्धि चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव र चीन–नेपाल पर्यटन वर्षको अवसरमा गरिएको हो, चाइना साउदर्नले सधैँ दुई देशबीचको पारस्परिक सम्बन्धलाई प्रवर्द्धनमा प्रतिबद्ध रहँदै आएको छ, जसले दुई देशका जनतालाई अझ सहज, सुविधाजनक र कुशल हवाई यात्रा अनुभव प्रदान गर्दै आएको छ । यसले नेपाल पर्यटन उद्योगको विकासमा योगदान पुर्याउनुका साथै, चीन–नेपाल मित्रता अझ प्रगाढ बनाउनेछ”, कम्पनीले भनेको छ ।

काठमाडौं:   नेपालले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री उपलब्ध गराएको छ । भूकम्पबाट प्रभावित म्यानमारका नागरिकलाई सहयोगस्वरुप उक्त राहत सामग्री उपलब्ध गराइएको हो ।  यान्गुन अन्तरराष्ट्रिय विमानस्थलमा आज बिहान नेपाली टोलीले म्यानमारका सरकारी अधिकारीलाई उक्त राहत सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एसिया महाशाखा प्रमुख तापस अधिकारीले जानकारी दिनुभयो । राहत सामग्रीमा खाद्यान्न, दैनिक उपभोग्य वस्तु, औषधि, स्वास्थ्य उपकरणलगायत छन् ।  सहसचिव अधिकारीका अनुसार म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरे र म्यानमारका सरकारी प्रतिनिधिलगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो ।  सामग्री हस्तान्तरणपछि दुई देशका सरकारी प्रतिनिधिबीच छलफलसमेत भएको थियो । सोह्र सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारी र पत्रकारलगायत हुनुहुन्थ्यो । त्यसअवसरमा सहसचिव अधिकारीले भूकम्पमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै म्यानमार सरकार र जनताप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको थियो । उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेपालमा २०७२ सालको भूकम्पको समयमा म्यानमार सरकारले गरेको सहयोग स्मरणसमेत गर्नुभयो ।  “म्यानमारमा भूकम्पले ठूलो क्षति गरेको छ, यस्तो अवस्थामा नेपाल सरकार र निजी क्षेत्रबाट प्राप्त २७ टन बराबर राहत सामग्री यहाँको सरकारलाई उपलब्ध गराइएको हो”, सहसचिव अधिकारीले भन्नुभयो, “नेपाल सरकारले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिनेछ, यसप्रकारको सहयोग आदानप्रदानले दुई देशबीचको मित्रता अझ प्रगाढ बन्नेछ ।” त्यस अवसरमा म्यानमारका सरकारी प्रतिनिधि हेयू वाई लुविनले उक्त सहयोगका लागि नेपाल सरकारलाई धन्यवाद दिनुभयो । उहाँले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिबारे संक्षिप्त जानकारी दिनुभएको थियो । उहाँका अनुसार भूकम्पमा परी हालसम्म तीन हजार ५९० भन्दा बढीको मृत्यु भइसकेको छभने चार हजार ८०० भन्दा बढी घाइते र १४८ बेपत्ता छन् ।  म्यानमार लागि नेपाली राजदूत घिमिरेले वैदेशिक रोजगारीको सिलसिलामा करिब एक लाख ५० हजार नेपाली म्यानमारमा रहेको उल्लेख गर्दै भूकम्पमा परी १८ जना नेपालीको मृत्यु भएको जानकारी दिनुभयो ।  म्यानमारको सघाइ प्रान्तलाई केन्द्रविन्दु बनाएर यही अप्रिल २८ मा सात दशमलव सात रेक्टर स्केलको भूकम्प धक्का महसुस भएको थियो । “भूकम्पका कारण अझै १५ जना नेपाली नागरिक बेपत्ता छन्, उहाँहरुको खोजी भइरहेको छ, घाइतेहरुको उपचार जारी छ”, राजदूत घिमिरेले भन्नुभयो ।  म्यानमारस्थित नेपालीहरूको छाता सङ्गठन अखिल म्यानमार गोर्खा हिन्दू धार्मिक संस्थामा करिब २५० जना भूकम्प प्रभावित नेपालीहरूले आश्रय लिएको पनि उहाँले जानकारी दिनुभयो ।  नेपाली सेनाको चिकित्सकको टोलीले विगत सात दिनदेखि म्यानमारको भूकम्प प्रभावित क्षेत्रमा पुगी सेवा दिइरहेको छ । नेपाली सेनाको टोलीले हालसम्म एक हजार ३०० भन्दा बढीको उपचार गरिसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त टोलीले आठ जना जटिल अवस्थाका घाइतेको सफल शल्यक्रिया गरिसकेको छ । 

काठमाडौं: पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्यूरोले अनुरोध गरेको छ । ब्यूरोले आज सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिङ्क क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ नगर्न सूचित गरेको हो । पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनलइन माध्यमबाट लोन भुक्तानी गर्ने, सेयर बजारसम्बन्धी तालिम लिन सकिने र सोका लागि उपलब्ध गराइएको लिङ्क खोलेर आवश्यक सफ्टवेयर इन्स्टल गर्नुपर्ने भनी अवैध लिङ्क पठाउने गरेको पाइएको ब्यूरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभयो ।

उदयपुर:   आज बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्याएको छ ।  सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको सो वडाका वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिनुभयो । ‘प्रिस्टेड’ प्रविधिद्वारा निर्माणाधीन पुल बाढीका कारण भाँचिएको छ । इलाका  प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगार्इँका अनुसार पुल भाचिँदा रु दुई करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । “रु दुई करोड बराबरको क्षति पुगेको “प्रारम्भिक अनुमान गरिएको छ, अर्को बनाउनुको विकल्प छैन”, उहाँले भन्नुभयो, “प्राविधिक मूल्याङ्कनपछि वास्तविक क्षतिको विवरण आउँला ।” मिर्चैया–कटारी–घुर्मी सडक योजनाका इन्जिनियर महेश साहका अनुसार पुल ढलान गरिएको १८ दिनमात्र भएको थियो । “त्यहाँ राखिएका तारहरु २८ दिनपछि तन्काउनुपर्ने हुन्थ्यो तर बाढीले क्षति पुर्याइदियो”, उहाँले भन्नुभयो ,“यसको बिमा गरिएको हुन्छ अब निर्माण कम्पनीले दाबी गरेर काम अघि बढाउँछ ।” पचास मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमुनि लगाइएको हृयुमपाइपमा थुनिएर जम्मा भएको पानीले फर्मा र टेका बगाउँदा पुल भाँचिएको उहाँको भनाइ छ । सूर्य एन्ड सन प्रालि धरानले दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७९ असार २९ गते उक्त सडकखण्डअन्तर्गत पर्ने चारवटा पुल एकमुष्ट रु २८ करोड ९९ लाख ५२ हजारमा ठेक्का लिएको थियो । 

ढोरपाटन:   बितेका आठ वर्षमा बागलुङमा एक लाख ३४ हजार ६७३ जनाले स्वास्थ्य बिमा गराएका छन् ।  विसं २०७३ असारमा सुरु भएको स्वास्थ्य बिमामा हालसम्म जिल्लाका ५४.०३९ प्रतिशत नागरिक आबद्ध भएका हुन् । जिल्लाको जनसङ्ख्या २०७८ को जनगणना अनुसार दुई लाख ४९ हजार २११ रहेको छ ।  यहाँका १० वटै स्थानीयत तहमा ६४ हजार १५३ परिवार रहेकामा हालसम्म ४० हजार ९४५ परिवारले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोर्डका जिल्लास्थित कार्यालय प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो ।  हालसम्म ६७.६३ प्रतिशत घरपरिवार स्वास्थ्य बिमाको पहुँचमा रहेको उहाँको भनाइ छ । पौडेलका अनुसार ७१ हजार ८६ महिला र ६३ हजार ५६७ जना पुरुषले स्वास्थ्य बिमा गरेका छन् । सबैभन्दा बढी बागलुङ नगरपालिका र सबैभन्दा कम तमानखोलाका नागरिकले स्वास्थ्य बिमा गरेका छन् । जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउन स्वास्थ्य बिमाका सामाजिक परिचालकलाई जिल्लाको ८५ वडामा खटाएको प्रमुख पौडेलले बताउनुभयो ।  उहाँले भन्नुभयो, “बागलुङमा स्वास्थ्य बिमा ‘पाइलट प्रोजेक्ट’का रूपमा सुरु भएको थियो, पहिले नागरिकको चासो कम थियो, अहिले बढ्दै गएको छ ।”  निसीखोला गाउँपालिका–५ का प्रेमबहादुर पुनले दूरदराजमा स्वास्थ्य बिमा प्रभावकारी बन्न नसकेको गुनासो गर्नुभयो । स्वास्थ्य बिमा गरे पनि नजिकमा सुविधा लिने स्वास्थ्य संस्था नहुँदा घण्टौँ लगाएर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।  “ज्वरो आयो भने स्वास्थ्य बिमाको सुविधा लिन बुर्तिबाङ जाँदा आउँदा पाँच–सात हजार खर्च लाग्छ, त्यही भएर गाउँकै स्वास्थ्य चौकीबाट औषधि लिएर खान्छु” पुनले भन्नुभयो, “गाउँकै स्वास्थ्य चौकीबाट स्वास्थ्य बिमाको सुविधा दिनुपर्ने हो, हामीहरू त स्वास्थ्य बिमा गर्ने सेवा नलिने मात्रै भइयो, सरकारले गाउँका स्वास्थ्य संस्थाबाट सेवा दिने व्यवस्था गर्नुपर्छ ।”

गोरखा:   भक्तजनहरू मठमन्दिरमा पूजाआजा गरेर के अर्पण गर्छन् ? सबैको उत्तर हुन्छ, “फूल, अक्षता, भेटी अनि नैवेद्य ।” कोही भक्तजनहरूले लुगाकपडा, गरगहना र अन्य खाद्यान्न सामग्री पनि चढाउँलान् । तर, गोरखामा एउटा यस्तो मन्दिर छ जहाँ देवीलाई गाईभैँसी बाँध्ने दाम्लो चढाइन्छ ।  गोरखा नगरपालिका–५, पस्लाङस्थित नाम्रुङदेवी थानमा पूजाआजा गरेर ‘दाम्लो’ चढाउने सयौँ वर्षदेखिको चलन अहिले पनि कायमै छ ।  “गाईवस्तु बिरामी भएमा वा ब्याउन गाह्रो भएमा नाम्रुङदेवीको भाकल गर्छौँ”, मन्दिरको पुजारीसमेत रहनुभएका स्थानीय जुनबहादुर रानामगर भन्नुहुन्छ, “अनि आफूलाई अनुकूल समय मिलाएर थानमा पूजा गरेर दाम्लो चढाउने चलन छ । भाकल गरेपछि अहिलेसम्म पूरा पनि भएको छ ।” मन्दिरमा दाम्लो चढाउन गोरखा र आसपासका जिल्लाबाट समेत भक्तजन आउने गरेको उहाँले बताउनुभयो । “गोरखा, तनहुँ, लमजुङ, चितवनबाट यहाँ पूजा गर्न र दाम्लो चढाउन आउँछन्”, उहाँले भन्नुभयो ।  किसानले पशुपालन फस्टाउन्, बालीबाली राम्रो होस्, रोगव्याध नफैलियोस्, दूध पर्याप्त देओस् भनेर पूजा गरी दाम्लो चढाउने गरेको उहाँको भनाइ छ । नाम्रुङदेवीथानमा स्थानीय जातको कुखुराको अण्डा गाडेर मौसम परीक्षण गर्ने चलन पनि छ । “यहाँ हरेक वर्ष चण्डी पूर्णिमाको दिन दुईवटा लोकल कुखुराको अण्डा गाड्ने चलन छ”, उहाँले भन्नुभयो, “अर्को वर्षको चण्डी पूर्णिमामा त्यसलाई निकाल्दा जस्ताको तस्तै रह्यो भने त्यो वर्ष शुभ हुन्छ भन्ने विश्वास गरिन्छ । अण्डा बिग्रियो, कुहियो भने अशुभ हुन्छ भनेर अनुमान गरिन्छ ।”  अण्डा बिग्रिएमा हुरीबतास, असिनापात, भेल, बाढी, वर्षा, डढेलो वा महामारीले गाउँलेलाई दुःख दिने जनविश्वास छ ।      यहाँ दाम्लो चढाएर पूजा गर्ने चलन कहिलेबाट सुरु भयो भन्ने एकिन नभए पनि तनहुँसुरमा मुकुन्दसेन द्वितीय राजा र गोरखामा नरभूपाल शाह राजा हुँदादेखि पूजा गर्ने गरेको अभिलेख भेटिने गोरखा सङ्ग्रहालयका पूर्वकर्मचारी, इतिहासका जानकार गणेशप्रसाद भट्टराई बताउनुहुन्छ ।      उहाँका अनुसार नाम्रुङदेवीथानमा असारको पूर्णिमामा विशेष पूजाआजा र मेला लाग्ने चलन छ । दैनिक नियमित पूजा पनि हुने गर्छ । पूजारी भने मगर समुदायबाट चुनिन्छन् । यहाँ कुखुरा, परेवा, बोका पाठा बलि चढाइने भट्टराईले बताउनुभयो ।  पहिले सरकारले पूजा खर्च दिने गरेकामा केही वर्षयता खर्च कटौती गरिएको छ ।   

पाल्पा:   हुरीबतास र वर्षाका कारण पाल्पामा जारी दोस्रो तानसेन महोत्सव प्रभावित भएको छ । तानसेनको कृषि, रोजगार, पर्यटन तथा व्यापारलाई लक्षित गरी यही चैत २२ गतेदेखि सञ्चालन गरिएको महोत्सव बुधबार दिउँसोदेखिको वर्षा र हुरीबतासले प्रभावित भएको हो ।      बुधबार दिउँसो कार्यक्रमको तयारी भइरहेका बेला अचानक वर्षा र हुरीबतास चलेपछि महोत्सवमा भाग दौड मच्चिएको थियो ।  कार्यक्रममा आफ्नो प्रस्तुति देखाउन आएका स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारसमेत आफ्नो कला देखाउनबाट वञ्चित भए । असिनासहित वर्षा भएपछि महोत्सव हेर्न भेला भएका हजारौँ बालबच्चादेखि बूढापाकाबीच भागदौड मच्चिएको थियो ।       वर्षाका कारण सांस्कृतिक कार्यक्रम स्थगन गरी आज सञ्चालन गर्ने तयारीमा आयोजक थिए । बुधबार राति नै ठूलो हुरीबतास र वर्षाका कारण महोत्सवस्थलमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वार, घेरबारलगायतमा क्षति पुगेको छ । त्यसले गर्दा महोत्सव नै अनिश्चित बनेको छ । महोत्सवस्थलमा राखिएका विभिन्न स्टलका सामानसमेत हावाले उडाएको व्यापारीले बताएका छन् । हुरीबतासले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।      वर्षा र हावाहुरीका कारण महोत्सवस्थलमा ठूलो क्षति पुगेकाले पुनः नयाँ संरचना निर्माण गरेर मात्र महोत्सव सञ्चालन गरिने पाल्पा व्यापार सङ्घका अध्यक्ष विष्णुुबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वारमा क्षति पुगेको र क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको छ ।      तानसेन नगरपालिकाको मुख्य आयोजना, पाल्पा व्यापार सङ्घको आयोजना, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेश, घरेलु तथा साना उद्योग पाल्पाकोे सहआयोजना तथा एभरेष्ट इभेन्ट म्यानेजमेन्ट प्रालि भरतपुर चितवनको व्यवस्थापनमा महोत्सव चलेको हो । महोत्सवमा ३०० भन्दा बढी स्टल राखिएका छन् ।  कृषि, उत्पादन, लघु तथा घरेलु प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनी, बैंक तथा वित्तीय संस्था, सूचना प्रविधि, अटोमोबाइल, स्वास्थ, पर्यटन तथा अन्य स्वदेशी उत्पादन र बालउद्यान साथै होटल तथा रेष्टुरेण्टलगायत स्टल रहेका छन् ।  महोत्सवको आर्कषणका रूपमा पहिलोपटक फिस टनेल, औद्योगिक वस्तु तथा सेवाहरूको प्रदर्शनी, लघुउद्यमी तथा व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रम, कृषि तथा स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्वन गर्ने, स्थानीय भाषा, कला सांस्कृति, धार्मिक मूल्य मान्यताको संरक्षण तथा स्थानीय प्रविधि र उत्पादनलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम राखिएको छ ।