म्याग्दी: कालीगण्डकी, म्याग्दी, राहुघाट र निलगिरि खोलामा १२ जलविद्युत् आयोजना निर्माणाधीन छन् । यी आयोजना निर्माण सकिएपछि राष्ट्रिय प्रसारण लाइनमा ४५६ दशमलव ५ मेगावाट विद्युत् थपिने छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाबाट पछिल्लो पाँच वर्षमा चारवटा आयोजनाले १११ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पठाएका छन् । निर्माणाधीन आयोजनामध्ये केही यसै आर्थिक वर्ष र केही आउँदो वर्ष केन्द्रीय प्रसारण लाइनमा जोडिँदै छन् । केही आयोजनाले भने पहुँचमार्ग निर्माण गरी टनेल खन्ने तयारी गरेका छन् । त्यस्तै ४० दशमलव ७ मेगावाट क्षमताको निलगिरि पहिलो, ३७ दशमलव ५ मेगावाटको मङ्गले राहुघाट र छ मेगावाट क्षमताको रेलेखोला आयोजना अन्तिम चरणमा छन् । अन्नपूर्ण गाउँपालिकामा निर्माण भएका ७१ मेगावाटको निलगिरि दोस्रो, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला र पाँच मेगावाटको घलेम्दीखोला जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिइसकेको छ । अन्नपूर्ण गाउँपालिकामा ६६ दशमलव ५ मेगावाटको मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कुल रु ३९ अर्ब ५० करोड २४ लाख लागत अनुमान गरिएको १८० मेगावाटको कालीगण्डकी जलविद्युत् आयोजनाले वित्तीय स्रोत व्यवस्थापन गरेर निर्माणको तयारी गरेको छ । रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना, ४८ दशमलव ५ मेगावाटको माथिल्लो राहुघाट, २१ दशमलव ३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना र सबैभन्दा माथि २२ दशमलव ५ मेगावाट क्षमताको ठूलोखोला माथिल्लो ‘ए’ जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । यी सबै आयोजनाले एक वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने रघुगङ्गाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार ३७ दशमलव ५ मेगावाटको मङ्गले राहुघाटले परीक्षण उत्पादनको तयारी गरेको छ । म्याग्दीखोला जलाधार क्षेत्रमा रहेका २५ मेगावाटको दरबाङ म्याग्दीखोला आयोजना, ५३ मेगावाटको अपर म्याग्दी–१ र ३७ मेगावाटको अपर म्याग्दीले धमाधम टनेल निर्माण गरिरहेका छन् भने ५७ मेगावाटको म्याग्दीखोला जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माण गरिरहेका धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । म्याग्दीको उत्तरी भेगमा बेनीबाट मुस्ताङ सीमावर्ती घाँसासम्मको ३७ किमी खण्डमा बग्ने कालीगण्डकी नदीमा १८० मेगावाटको कालीगण्डकी गर्ज, ६६ दशमलव ५ मेगावाटको मध्यकालीगण्डकी, ५८ मेगावाटको तिप्ल्याङ कालीगण्डकी, ६५ मेगावाटको अपरकालीगण्डकी तथा ५० दशमलव ५३ मेगावाटको बेनी कालीगण्डकी गरी करिब ३८८ मेगावाट क्षमताका आयोजना विद्युत् विकास विभागसँग खरिद सम्झौता गरी निर्माण प्रक्रियामा छन् । बेनी कालीगण्डकीको ‘एलाइमेन्ट’मा म्याग्दी सदरमुकाम बेनीको अवरोध रहेकाले प्रक्रिया रोकिएको छ । म्याग्दीमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाको केन्द्रीय ग्रिडमा जोड्नका लागि २२० केभी क्षमताको कालीगण्डकी करिडोर दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन निर्माण भइसकेको छ । एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन र सबस्टेशन निर्माणाधीन छ । सबस्टेशन र प्रसारण लाइन निर्माणसँगै जलविद्युत् आयोजनाले गति लिन थालेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनुभयो ।
मनाङ: टिपरको ठक्करबाट चाइनिज कामदारको मृत्यु भएको छ । मनाङको चामे गाउँपालिका–३ क्युपारमा निर्माणाधीन मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाका कामदार यु युन योङ्गको मृत्यु भएको हो । मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनाको (ब्यूरो सात) कम्पाउन्डभित्र काम गरिरहेको अवस्थामा १० नम्बरवाला चाइनिज टिपर ब्याक गर्ने क्रममा ५३ वर्षीय योङ्गको टाउको ठोक्किएर चोट लागेको र घाइते भएका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर घाइते भएका योङ्गको उपचारका क्रममा मृत्यु भएको हो । उहाँले भन्नुभयो, “योङ्गको प्रदेश अस्पताल चामेमा उपचारका क्रममा ७ः३५ बजे मृत्यु भएको छ । योङ्गको शव अस्पतालमा नै रहेको छ ।” टिपरचालक दार्चुला शैलेशिखर नगरपालिका–१ बारिलका ४३ वर्षीय दशरथ खडायत प्रहरीको नियन्त्रणमा रहेका छन् । टिपरको कागजात प्राप्त नभएको र साङ्केतिक नम्बर मात्र रहेको पाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं: सङ्घीय संसद्, प्रतिनिधिसभाले रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको यही चैत १९ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराएको छ । सङ्घीय संसद् सचिवालयले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त हुन आएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को उपनियम (२) बमोजिम आज सूचना प्रकाशन गरी उक्त पद रिक्त रहेको जानकारी गराएको हो । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रुपन्देही जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बोहराको यही चैत १९ गते मङ्गलबार निधन भएको थियो ।
खोटाङ: चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका दुई महिला गम्भीर घाइते भएका छन् । बिहीबार वर्षासँगै परेको चट्याङका कारण छितापोखरीका कृष्णमाया खड्का र देविका भुजेल गम्भीर घाइते हुनुभएको हो । छितापोखरीकी कृष्णमायाको घरमाथि र देविकाको केही मुनि पर्छ । कृष्णमाया घरभित्र भान्छाको काम गरिरहेको बेला चट्याङ परेको जनाइएको छ । चट्याङको असरका कारण कृष्णमाया बेहोस बन्नुभएको आफन्तले बताएका छन् । स्थानीयका अनुसार चट्याङ परेको बेला कृष्णमायाको घरभित्र आगोको ज्वाला पसेजस्तो देखिएको थियो । चट्याङ परेको केही समयपछि घरभित्र गएर हेर्दा कृष्णमायालाई बेहोस अवस्थामा भेटिएको बताइएको छ । देविकाको भने अत्तालिएर ठोक्किन पुग्दा टाउकोमा गहिरो चोट लागेको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रवक्ता भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो । चट्याङका कारण घाइते बनेका दुवै महिलोको वडा नं २ डाँडागाउँस्थित आधारभूत अस्पताल ओख्रेमा उपचार भइरहेको छ । देविकाको टाउकोमा पाँच टाँका लगाइएको छ । उनीहरू दुवै जनालाई गाउँपालिका प्रमुख लोकेन्द्र राईले गाडीमा राखेर आधारभूत अस्पताल पुर्याउनुभएको प्रवक्ता बस्नेतले बताउनुभयो । यसैबीच, खोटाङमा करिब सात महिनापछि वर्षा हुँदा किसानलाई राहत मिलेको छ । गत असोजपछि वर्षा नभएको जिल्लामा पहिलोपटक बिहीबार वर्षा भएको हो । लामो समयपछि वर्षा भएसँगै हिउँदे बाली लगाएका किसान खुसी भएका छन् । करिब छ घण्टा लामो वर्षा भएपछि किसान वर्षेबालीका लागि खेतबारी खनजोत गर्ने तथा बाली लगाउने तयारीमा जुटेका छन् ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्नेगरी जनताका आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिनुभएको छ । आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा प्राथमिकता निर्धारणका सम्बन्धमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित छलफलमा उहाँले उत्पादन र रोजगारी वृद्धि गर्न ठोस योजनासहित अबको बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो । शान्ति सुरक्षा, भ्रष्टाचार अन्त्य र जनतालाई सहज रूपमा सेवा दिएर सुशासन कायम गर्ने विषयलाई प्रामथिकतामा राख्न निर्देश गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा शान्ति खल्बल्याउने तत्वहरू पनि सक्रिय भएकाले सुरक्षा प्रबन्ध र उचित स्रोतसाधनको तयारी गर्नुपर्ने बताउनुभयो । सङ्घीय सरकारले हरेक जेठ १५ गते सङ्घीय संसदमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दछ । सोअघि बजेटका प्राथमिकता र सिद्धान्तबारे सदनमा छलफल हुन्छ । सोको तयारीका लागि प्रधानमन्त्री ओलीले आज सबै मन्त्रालयका मन्त्री र सचिवहरूसँग छलफल गर्नुभएको थियो । “सुशासन कायम गर्ने विषयमा कसैसँग कुनै सम्झौता गर्नुहुँदैन । राजस्व सङ्कलनमा बदमासी पाइएमा संलग्न जोकोहीलाई तुरुन्त कारबाही गर्नुपर्छ । पर्याप्त राजश्व उठेपछि जनता केन्द्रत विकासमा खर्च गर्न सकिन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्रोतको आधारविना बजेट ल्याउने हालको प्रवृत्ति अन्त्य गर्नुपर्छ । आग्रह र पूर्वाग्रह राखेर बजेट तर्जुमा गर्न मिल्दैन । बजेट जनता केन्द्रित विकास, वर्तमान आवश्यकता र प्राथमिकताका आधारमा उत्पादन र रोजगारी वृद्धि गर्नेगरी ल्याउनुपर्छ ।” उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत सुनिश्चितताविना धेरै योजना राखिने, भएको पुँजीगत खर्च गर्न नसक्ने तर थप बजेट माग्नेलगायत अवस्था सुधारेर विधि र मापदण्डमा आधारित रही बजेट तर्जुमा गरिने बताउनुभयो । सोका लागि मन्त्रालयले आवश्यकता अनुसार सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरी सुझाव सङ्कलन गरिरहेको उहाँको भनाइ छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म राजस्व सङ्कलन ५५ प्रतिशत, कूल खर्च ५२ प्रतिशत र पुँजीगत खर्च २८ प्रतिशत भएको छ ।
पोखरा: तेस्रो एबिसी भेट्रान्स ४५ वर्षमाथि एट ए साइड भेट्रान्स कप रनिङ शिल्डको उपाधि हेटौंडा भेट्रान्सले हात पारेको छ । अमरसिंह ब्वाइज क्लबले आयोजना बिहिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा हेटौंडा भेट्रान्सले रुपन्देही ११ लाई २ – ० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसंगै हेटौंडाले नगद १ लाख ५५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्राप्त गरे । उपबिजेता रुपन्देही ११ ले नगद ७७ हजार ७ सय ७७, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । फाइनल खेलमा पहिलो हाफको १९ औं मिनेटमा हेटौडाका उमल मोक्तानले पहिलो गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । त्यस्तै दोश्रो हाफको २७ औं मिनेटमा अटल बर्माले दोश्रो गोल गर्दै हेटौडाको उपाधी सुनिश्चित गराए । उक्त खेलमा प्लेयर अफ दी म्याच हेटौडाका उमल मोक्तान घोषित भए । त्यस्तै प्रतियोगितामा मोस्ट भ्यालुयबल प्लयेर अफ द टुर्नामेन्टको उपाधि हेटौडाकै उदय गुरुङले हात पारे । गुरुङले नगद १० हजार प्राप्त गरे । प्रतियोगिताका विजेताहरुलाई गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, एबिसी क्लबका अध्यक्ष राजेश गुरुङ, पोखरा महानगरपालिका वडा नं १० का सदस्य परमेश्वर बहादुर कार्की, एबिसी हङकङका सल्लाहकार रक्षा गुरुङ, एबिसी युकेका सल्लाहकार भोज बहादुर गुरुङ, गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ, लगायतले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले समाज रुपान्तरण र खेल क्षेत्रको बिकासको लागि एबिसी क्लबले महत्वपूर्ण योगदान पु¥याएको बताइन । एबिसी क्लबले भेट्रान्स फुटबल प्रतियोगिताको आयोजना गरी एक आपसमा भाइचारा अभिवृद्धि संगै शारिरीक तन्दुरुस्तका लागि समेत प्रौढ उमेर समुहलाई प्रेरिरत गर्ने काम गरेको समेत बताइन । अमरसिंह ब्वाइज क्लब एबिसीका अध्यक्ष राजेश गुरुङले बिगतका संस्करणहरु जस्तै तेस्रो संस्करणको भेट्रान्स कप सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने प्रति आभार ब्यक्त गरे ।
पोखरा: ग्रिनहिल युवा क्लबको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा जारी ऐतिहासिक ३१ औं चैत्र दशैं मेलामा पुरुष भलिबल अन्तर्गत क्वाटरफाइनलका ३ खेल सकिएका छन् । क्लबका अध्यक्ष सुजन गुरुङका अनुसार युके लण्डन, टि गार्डेन र घाचोक सेमिफाइनलमा प्रवेश गरेका हुन् । युके लण्डनले घाचोक टिम ‘बि’लाई २–० को सोझो सेटमा पाखा लगाउदै युके लण्डन सेमिफाइनलमा प्रवेश गर्याे । टि गार्डेनले सिदिङलाई पनि २–० कै सेटमा हराउँदै टि गार्डेन अन्तिम चारमा प्रवेश गर्याे । अब सेमिफाइनलमा टि गार्डेनले युके लण्डनको सामना गर्नेछ । यस्तै अर्काे क्वाटरफाइनल खेलमा पञ्चासेलाई घाचोकले २–१ को सेटमा पराजित गर्दै घाचोक पनि सेमिफाइनलमा प्रवेश गर्याे । खेल संयोजक अनोद गुरुङका अनुसार प्रिक्वाटर र क्वाटर गरी २ खेल अझै बाँकी रहेको छ । उक्त खेलहरु शुक्रबार सम्पन्न भएपछि सेमिफाइनलमा घाचोकसँग भिड्ने टिमको टुंगो लाग्नेछ । यसअघि महिलातर्फ हिमशिखर क्लब धम्पुस र बौद्धसिर्जना क्लब घलेल फाइनलमा प्रवेश गरिसकेको छ । बुधबार बेलुकी लाइभ कन्सर्टतर्फ निष्कर्ष ब्याण्डले प्रस्तुती दिएको थियो । पुरुषतर्फको विजेता टिमलाई नगद १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तैे उपविजेता टिमलाई नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । तृतीय स्थान हाँसिल गर्ने टिमले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजारले पुरस्कृत गरिनेछ । यसैगरी महिलातर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, द्वित्तियलाई १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिनेछ ।
पोखरा: नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाखमा हुने अवार्डको वर्ष उत्कृष्ट खेलकुद संस्था विधाको प्रायोजन निट डेन्टल एण्ड केयरले गर्ने भएको छ । पोखराको महेन्द्रपुल मेडिकललाईनमा रहेको डेन्टलका सञ्चालक बिरेन राना र खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे । मञ्चले अवार्डमा गण्डकी प्रदेशको एक उत्कृष्ट संस्थालाई नगद ३५ हजारसहित सम्मान गर्दै आएको छ । खेलकुद र स्वास्थ्य एक अर्काका परिपुरक भएकाले स्वस्थ रहन खेलकुद आवश्यक भएको हुँदा खेल विकासको क्षेत्रमा काम गर्ने संस्थाले आयोजना गरेको स्पोर्टस् अवार्डलाई सदैव साथ रहेको निट डेन्टल एण्ड केयरका सञ्चालक बिरेन रानाले बताए । सबैको साथ र सहयोगले नै स्पोर्टस् अवार्डको गरिमा उच्च रहेको बताउँदै सहयोगीहरुप्रति नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगर धन्यवाद ज्ञापन गरे । यसैगरि नेकपा एमाले जिल्ला समिति कास्कीका सचिव तथा समाजसेवी दर्शन लामाले अवार्डलाई नगद रु १० हजार सहयोग गरेका छन् । यस पटकको अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छभने उदीयमान खेलाडी विधाको लागि सहारा क्लब पोखरा र उत्कृष्ट प्रशिक्षक विधाको प्रायोजन टाइगर ग्रुप पोखराले गरिसकेको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोट्र्स अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चका सचिव राजु गिरीले जानकारी दिएका छन् ।
काठमाडौं: चाइना साउदर्न एयरलाइन्सले यही अप्रिल १० देखि नेपाल–चीन उडान सेवा विस्तार गर्ने भएको छ । एयरलाइन्सले यही अप्रिलदेखि अक्टोबरसम्म काठमाडौँ–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ । कम्पनीका अनुसार काठमाडौँ–ग्वाङ्झाउ दैनिक राति ११ः३० बजे उडान हुनेछ । साथै दिउँसो भइरहेको उडान तालिका समायोजन गरिएको छ । जसअनुसार अब काठमाडौँ ग्वाङ्झाउका लागि दिउँसो १२ः५० बजे उडान हुने छ । “अप्रिल १० देखि मे महिनासम्म दिउँसोको उडान आइतबार, सोमबार, बुधबार र बिहीबार मात्र हुने छभने जुनदेखि अगस्टसम्म आइतबार र बिहीबार मात्र हुने छ । साथै सेप्टेम्बरदेखि अक्टोबरसम्म दिउँसो हुने उडान दैनिक सञ्चालन हुनेछन्”, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । चाइना साउदर्नले उक्त अवधिमा उल्लेखनीय रूपमा सिट सङ्ख्या बढाउने योजनासमेत बनाएको छ । काठमाडौँ–ग्वाङ्झाउतर्फ करिब ४५ हजार सिट र ग्वाङ्झाउ–काठमाडौँ ४६ हजारभन्दा बढी सिट उपलब्ध गराइने छन् । कम्पनीका अनुसार गत वर्षको तुलनामा काठमाडौँ–ग्वाङ्झाउमा १६ दशमलव पाँच प्रतिशत अर्थात् छ हजार सिट बढी हो भने ग्वाङ्झाउ–काठमाडौँमा १३ हजार अर्थात् ३९ दशमलव नौले बढी हो । उडान र सिट सङ्ख्यामा भएको वृद्धिले चीन–नेपालबीचको व्यापार, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई थप बल पुर्याउने एयरलाइन्सको अपेक्षा छ । “यो उडान क्षमता वृद्धि चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव र चीन–नेपाल पर्यटन वर्षको अवसरमा गरिएको हो, चाइना साउदर्नले सधैँ दुई देशबीचको पारस्परिक सम्बन्धलाई प्रवर्द्धनमा प्रतिबद्ध रहँदै आएको छ, जसले दुई देशका जनतालाई अझ सहज, सुविधाजनक र कुशल हवाई यात्रा अनुभव प्रदान गर्दै आएको छ । यसले नेपाल पर्यटन उद्योगको विकासमा योगदान पुर्याउनुका साथै, चीन–नेपाल मित्रता अझ प्रगाढ बनाउनेछ”, कम्पनीले भनेको छ ।