काठमाडौं: जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ जनाले सामूहिक राजीनामा दिएका छन् । नेतृत्व परिवर्तनको माग पुरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा शरदसिंह यादव, केन्द्रीय संयोजक कुमार यादव, सिके सिंह, वरिष्ठ प्रदेश इञ्चार्ज (सुदुरपश्चिम प्रदेश) राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रमबहादुर बमले सामूहिक राजीनामा दिएका हुन् । उनीहरुले बुधबार पार्टी अध्यक्ष डा चन्द्रकान्त राउत र सङ्गठन विभाग डा जयकान्त राउतको २४ घण्टाभित्र स्वेच्छिक राजीनामाको माग गरेका थिए । माग पुरा नभएपछि पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएको प्रवक्ता यादवले जानकारी दिनुभयो । देशको विषम परिस्थितिलाई मध्यनजर गरी जनभावना अनुरुप पार्टीको प्रमुख नेतृत्वलाई आत्मआलोचना गरी नेतृत्व परिवर्तनको निम्ति अल्टिमेटमसहित हामीले माग गरेको राजिनामा पत्रलाई तपाईँले अपहेलना गरी जेनजीले बगाएका रगतको अपमान गरी उल्टै नेता कार्यकर्तालाई अङ्हकारको भाषामा आफ्नो आधिकारीक फेसबुकमार्फत धारणा सार्वजनिक गरी सकेपछि आफूहरुको ध्यानाकर्षण भएको राजीनामा पत्रमा उल्लेख छ । त्यसैलाई आधार मानी आजैको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी आफूहरु पार्टीबाट राजीनामा दिने उनीरुको भनाइ छ ।
मुस्ताङ: मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा नौ करोड ७० लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालवस्तुबाट भन्सारले उक्त राजस्व सङ्कलन गरेको हो । कोरलानाका ११ दिन अघि पूर्ण रुपमा सञ्चालनमा आएको थियो । तर, कार्यालयको आन्तरिक तयारी तथा व्यवस्थापन गर्नुपर्ने भएकाले कार्यसम्पादन सोमबारदेखि सुरु गरिएको थियो । चीनतर्फ भन्सार जाँचपास गरी कोराला नाकाबाट हालसम्म १६१ विद्युतीय कारसहित ८५ मालवाहक मझौला कन्टेनर कोरला नाकाको चिनियाँ भन्सारबाट मालवस्तु लोड गरी भन्सार कार्यालय न्हेचुङमा जाँचपासका लागि रोकिएका मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए । चिनियाँ भन्सारबाट जाँचपास भई मुस्ताङ भन्सारमा जाँचपासका लागि रोकिएका ८५ कन्टेनरमध्ये हालसम्म ४५ कन्टेनरको भन्सार जाँचपास भइसकेको उनको भनाइ छ । यहाँबाट जाँचपास भईसकेका ४५ मालवाहक कन्टेनरबाट उल्लेखित भन्सार राजस्व सङ्कलन भएको हो । मुस्ताङ भन्सारबाट नेपाली मालवस्तु चीनतर्फ निकासका लागि दुई गाडीको भन्सार जाँचपास भइसकेको भन्सार प्रमुख खड्काले बताए । चीनतर्फ निकासी भएका सामान हस्तकलाका सामग्री हुन् । चीनबाट आयात गरिएका दसैँ लक्षित मालवस्तु लोड गरिएका कन्टेनरमध्ये जाँचपास भइसकेका ४५ कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरिसकेको र जाँचपास हुन बाँकी ४० कन्टेनरको भन्सार जाँचपास हुन बाँकी रहेको भन्सार प्रमुख खड्काको भनाइ छ । यसैगरी चीनबाट आयात गरिएका १६० विद्युतीय गाडीको पनि भन्सार जाँचपास हुन बाँकी रहेको उनले बताए । चीनबाट आयात गरी मुस्ताङ भन्सारमा जम्मा भएका कुनै पनि विद्युतीय गाडीको हालसम्म जाँचपास भइनसकेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । भन्सार कार्यालयमा सीमित कर्मचारी हुँदा भन्सार जाँचपासमा ढिलाइ भएको उनको भनाइ छ । बैंक तथा वित्तिय संस्थाले चीनबाट आयात हुने मालवस्तुको मुस्ताङ भन्सारमा जाँचपास तथा आयात वस्तुका लागि प्रतितपत्र ९एससी० खोल्न पर्ने व्यवस्था गरिएको छ ।
सुनसरी: सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका खोलिएका छन्। आज बिहान ११ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख सात हजार ३० क्युसेक पुगेपछि २७ ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो। मङ्गलबार बेलुका १० बजे पानीको प्रवाह मापन गर्दा एक लाख ८२ हजार २८७ प्रतिसेकेण्ड पाइएपछि २४ ढोका खोलिएको थियो। गत भदौ १७ गते नदीमा पानीको बहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो। त्यसपछि लगातार पानीको बहाव घटेको थियो भने आज बिहानदेखि सप्तकोशीमा पानीको बहाव बढ्दै गएको प्रवक्ता खतिवडाले बताउनुभयो। कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ। सोहीअनुसार अहिले कोशी ब्यारेजमा रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ। पहाडी भेगमा भइरहेको वर्षाका कारण जलसतह बढ्दै गएको हो।
काठमाडौं: नेपाली बजारमा बुधबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा दुई लाख १६ हजार १०० रुपैयाँ कायम भएको जनाएको छ । यसअघि मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी तोलामा ४५ रुपैयाँ घटेर दुई हजार ५५० मा किनबेच भइरहेको छ ।
काभ्रेपलाञ्चोक: यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्गमा आज (असोज १ गते) देखि २४ सै घण्टा गाडी चलाउन खुला गरिएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेमा सोमबार बसेको सुरक्षा समितिको बैठकले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४ सै घण्टा खुला गर्ने निर्णय गरेको हो। यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाएर स्वीकृत सडक सुरक्षा कार्य योजनाबमोजिम यस्तो निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ। गत असार पहिलो सातादेखि रातिको समयमा बीपी राजमार्गमा सवारीसाधन आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो। मनसुनमा बाढीपहिरोको जोखिमका कारण बिपी राजमार्गअन्तर्गत पस्थान बिन्दु काभ्रेपलान्चोकको धुलिखेलबाट सिन्धुलीको सिमाना नेपालथोकसम्म रातिको समयमा १२ घण्टासम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो। यसअघि पछिल्लो पटक यही भदौ १६ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको थियो। जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकामा भदौ मसान्तसम्म रातको समयमा १२ घण्टा रोक लगाइएको थियो। काभ्रेको काभ्रेभञ्ज्याङबाट सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा अहिले पनि जोखिम छ। काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिएको थियो। गत वर्ष असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको चौकीडाँडाबाट सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा सवारी सञ्चालनको व्यवस्था गरिएको थियो। बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकबाट काभ्रेपलान्चोकको धुलिखेलसम्म ५० किमीका विभिन्न स्थानमा बढीले क्षति पुर्याएको थियो। कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा घि बढाइरहेको छ। पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्छन्।
भक्तपुर: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो । बोर्डले असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्ने तालिका सार्वजनिक गरेको छ । त्यसैगरी, असोज ८ दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ । त्यस दिन अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा भने सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले यसअघि नै परीक्षा केन्द्र निर्धारण गरिसकेको जनाएको छ ।
धादिङ: पृथ्वी राजमार्गमा पर्ने थाक्रो गाउँपालिका वडा नम्वर २ बाह्र किलो भन्ने स्थानमा दुई ओटा सवारी एक आपसमा ठक्कर खाँदा भएको सावरी दुर्घटनामा परी ६ जना घाइते भएका छन् । भैरहवाबाट काठमाडौं तर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१ ख ३३५ नम्बरको रात्रि बस र विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०१ ००६ ख ४२६० ट्रिपर एक आपसमा ठक्कर खाँदा सो दुर्घटनामा भएको हो । दुर्घटनाका घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिरहेको घाइते मध्य एक जान गम्भीर रहेकोले निजलाई काठमाडौँ थप उपचारका लागी लग्ने तयारी भई रहेको र अन्य घाइतेहरू खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८०’ कार्यान्वयन नगर्ने जानकारी गराएको छ। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै विभागले कार्यविधि कार्यान्वयन नगर्न आएको निर्देशन अनुसार यो सूचना सार्वजनिक गरेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पत्र अनुसार कार्यान्वय नगर्ने बताएको हो। मन्त्रालयको यो निर्देशनसँगै बिटुबि माध्यमबाट ई–७ भिसामार्फत् गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्याविधि, २०८०’ कार्यान्वयन नहुने भएको हो। कार्यविधिमा ई–सेभन भिसा प्रणाली सञ्चालन मापदण्ड पूरा गरेका वैदेशिक रोजगारको कार्य गर्न अनुमतिप्राप्त नेपाली संस्थाले नेपाली श्रमिक पठाउन सक्ने व्यवस्था गरिएको छ। विशेष सीप भएका विदेशी दक्ष कामदारलाई दक्षिण कोरियाले उक्त भिसा दिएर आफ्नो देशमा काम गर्ने अनुमति दिँदै आएको छ। उक्त भिसा लिएर जाने श्रमिकका लागि कोरियाली कामदारसरह तीन हजार डलर झन्डै चार लाख नेपाली रुपैयाँमासिक तलब हुनुपर्ने प्रस्ताव नेपालले राखेको थियो। यसअघिसमेत नेपालमा राजनीतिक अस्थिरताका माझ समयमा नै सरकारले निर्णय नलिँदा त्यो गुमेको थियो।
चितवन: नारायणगढ–मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खसेर लाग्दा एक जना यात्रुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढतर्फ गइरहेको ग२ख १८३६ नम्बरको बसमा मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुलमा सडकमाथिबाट ढुङ्गा खसेर लाग्दा बसमा सवार लमजुङको घलेगाउँकी ४६ वर्षीय ऐश्वर्या कामी गम्भीर घाइते भएकी थिइन् । घाइते कामीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । बस र चालक तनहुँ म्याग्दे गाउँपालिका–२ का ३५ वर्षीय तेजकुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुन्धान भइरहेको सूचना अधिकारी खनालले बताए ।

