काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायरामा रहेर निकास दिने प्रयासमा रहेको बताउनुभएको छ । रामचन्द्र पौडेलले बिहीबार लिखित सम्बोधनमार्फत देशलाई कसरी निकास दिन सकिन्छ भनेर आफू ...

पोखरा:   १३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आज (बुधबार) सकिदैछ ।   समापन समारोहलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ ।         समापनका अवसरमा बुधबार विहान रक्तदान कार्यक्रम राखिएको छ ।जसलाई विष्णुपादुका क्लव मनिप्लान्ट बचत तथा ऋण सहकारी एवम् लायन्स क्लव अफ् पोखरा आँखीझ्यालले संयुक्त रुपमा आयोजना गरेका छन् ।         त्यस्तै समापनको दिन बुधबार रत्यौली गीत प्रतियोगिताको नतिजा सार्वजनिक गरिनेछ ।जसका प्रथम हुने समूहले २० हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार साथै सान्त्वनालाई ५ हजारका साथमा प्रमाणपत्र प्रदान गरिनेछ।         त्यसैगरी कृषि झाँकी ¥यालीतर्फको नतिजा पनि सार्वजनिक गरिने छ । झाँकी ¥यालीतर्फ पहिलोलाई ८ हजार, दोस्रोलाई ५ हजार, तेस्रोलाई ३ हजार तथा सान्त्वना पुरस्कार २ हजार प्रदान गर्ने तयारी आयोजकको छ ।   त्यस्तै सहयोगी विभिन्न संघसंस्था एवम् व्यक्तिलाई पनि मायाको चिनो सहित सम्मान गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए।   महोत्सवको १० औं दिन मंगलबारसम्म ९४ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेको छन् ।   जसमध्ये कुल ३ हजार ५ सय बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।उनले मंगलबार साँझसम्म गरी ३८ लाख बढीको आलु कारोवार भएको पनि सुनाए।         महोत्सवमा मंगलबार कलाकारहरु अर्जुन सापकोटा, सुमन बिटी, मञ्जु विक, सुदिप क्षत्री, कृष्ण भट्टराई तथा आगमन व्याण्डका प्रस्तुतिहरु रहे।   ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव गरिएको हो।   महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो परीक्षण तथा रोगको निदान रहेका छन्।   त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि गरिएको छ । यही चैत २४ गतेबाट महोत्सव सुरु भएको हो।

पोखरा:    स्याङ्जाको पुतलीबजार नगरपालिका ९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेलामा पहिलो चरणका खेल भएका छन् ।   ‘आजको आवश्यकता, समाज विकासमा युवाको अपरिहार्यता’ भन्ने मुल नारासहित जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पुर्णिमादेखि सञ्चालन भएको मेलामा आज पनि पहिलो चरणकै खेल हुने क्लबका अध्यक्ष दिपक राना मगरले जानकारी दिए ।   उनका अनुसार मंगलबार ४ खेल सम्पन्न भए ।    काल्खु खेल मैदानमा भएको पहिलो खेलमा खाङ्ग्राङले आयोजक टिम ‘स’लाई २५¬¬–१० २५–२७ र २५–१७ को सेटमा पराजित गर्याे ।   य​स्तै दोस्रो खेलमा भुस्नासुरले बासपानीलाई २५–१९ र २५–२४ को सोझो सेटले हराउँदै भुस्नासुर दोस्रो चरणमा प्रवेश गर्याे ।   तेस्रो खेलमा गहते टिम ‘ए’ले गामी छाक्रालाई २५–२२ र २५–२० को सेटले पाखा लगायो ।    यसैगरी अन्तिम खेलमा काल्खुले गहते टिम ‘बि’लाई २५–१८, २२–२५ र २५–२१ को सेटले काल्खु विजयी बन्यो ।    आज पनि पहिलो चरणकै खेल सञ्चालन हुने अध्यक्ष रानामगरले जानकारी दिए । उनका अनुसार खुला नृत्य तर्फ १२ जना प्रतिस्पर्धामा उत्रेका छन् ।   भलिबलतर्फको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ ।   सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिनेछ ।   नृत्य प्रतियोगितातर्फ प्रथम हुनेलाई ८ हजार रुपैयाँ, द्वित्तिय हुनेलाई ६ हजार, तृतीय हुनेलाई ४ हजार र सान्त्वना स्थान हाँसिल गर्नेलाई नगद रु २ हजारसहित पुरस्कृत गरिने क्लबका प्रमुख सल्लाहकार जिवन थापामगरले जानकारी दिए ।    उनका अनुसार नववर्षको अवसरमा ख्याती प्राप्त लोक तथा दोहोरी कलाकारहरु चोलेन्द्र पौडेल, माया गुरुङ, कृष्ण गुरुङ, घनश्याम रिजाल, शंकर पन्त, निश्चल थापा मगर, पारु गुरुङ र ममता तामाङ, शम थापामगर, अर्चना चापागाँई र होम गुरुङले प्रस्तुती दिएका थिए ।

चितवन:  यतिबेला रुघाखोकी लागेका बिरामीको सङ्ख्या बढ्दै गएको छ । त्यसो त अन्य समयमा रुघाखोकी लागेमा दुई चार दिनमा निको हुने गरेकामा यो वर्ष भने दुई हप्ताभन्दा बढी समय लाग्ने गरेको हो ।        भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख फिजिसियन डा प्रकाश खतिवडा हरेक तीन वर्षमा एन्फुञ्जाले आफ्नो रूप परिवर्तन गर्ने र बलियो भएर आउने बताउनुहुन्छ । हरेक तीन तीन वर्षमा यस्तै हुने गरेको भन्दै उहाँले अहिले निको हुन दुई हप्ताभन्दा बढी समय लाग्ने गरेको बताउनुभयो ।        उहाँले भन्नुभयो, “रुघाखोकीसँगै घ्यारघ्यार भए निको हुन अरू बढी समय लाग्छ ।” खोकी, स्वास्वा हुनेजस्ता समस्या लिएर बिरामी आउने गरेको भन्दै उहाँले अझै एक महिना यस्तो समस्या रहने बताउनुभयो । दुई महिनायता यो समस्या बढी मात्रामा देखिएको हो । सरकारी अस्पताल, मेडिकल कलेजहरू र निजी अस्पताल एवं क्लिनिकमा समेत समेत यस्ता बिरामीको चाप रहेको डा खतिवडा बताउनुहुन्छ । उहाँले मास्कको प्रयोग गर्न, भीडभाडमा नजान सुझाव दिनुभयो ।        चितवन मेडिकल कलेज शिक्षण अस्पतालका वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ प्रा डा शीतल अधिकारी स्वासप्रश्वासका बिरामीमा अहिले बढी समस्या देखिएको बताउनुहुन्छ । रुघाखोकीसँगै अहिले देखिएको प्रदूषणले तत्कालीन रूपमा खोकी र श्वास फेर्ने समस्याबाहेक दीर्घकालीन रूपमा फोक्सोमा खत बस्ने र रोग प्रतिरोधी क्षमता कमजोर बनाउने जोखिम रहेको उहाँको भनाइ छ ।        उहाँले भन्नुभयो, “कोभिडले फोक्सोमा असर गरेका बिरामीलाई प्रदूषण र रुघाखोकीले सामान्य अवस्थाभन्दा बढी जोखिममा पारेको छ ।” नियमित औषधि सेवन गर्नेहरूलाई समेत यस्तै अवस्था रहिरहे औषधिको मात्रा थप्नुपर्ने अवस्था आउने उहाँले बताउनुभयो ।        विशेषगरी बालबालिका, वृद्ध, मुटु र मिर्गौलाका रोगीहरूलाई जोगाउनुपर्नेमा उहाँको जोड छ । हाल अस्पतालमा आउने बिरामीमध्ये धेरैलाई खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र कतिपयको खकारमा कालो र फोहर मिसिएकोजस्तो देखिने गरेको छ । रुघाखोकीसँगै देखिएको श्वासप्रश्वासको समस्या निको हुन समय लागेको उहाँ बताउनुहुन्छ ।        पुष्पाञ्जली अस्पतालका फिजिसियन डा भोजराज अधिकारी आफूले मधुमेह, थाइराइड, उच्च रक्तचापका बिरामी धेरै हेर्ने गरेकोमा अहिले रुघाखोकी र श्वासप्रश्वासका बिरामीहरू धेरै आउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दैनिक कम्तीमा १० जना श्वासनली बज्यो, छाती घ्यारघ्यार भयो, रुघा निको भएन भनेर आउनुहुन्छ ।” कतिपय भर्खरै निको भएको तर पुनः समस्या आयो भन्दै अस्पताल आउने गरेको उहाँले जानकारी दिनुभयो ।        यस्तो समस्या निको हुन धेरैलाई दुई हप्ता लागेको उहाँले बताउनुभयो । पहिले रुघाखोकी दुई तीन दिनमा निको हुने गरेको थियो । यसको कारण बदलिएको कोभिड पनि हुनसक्नेतर्फ उहाँले सङ्केत गर्नुभयो । इन्फुन्जा नेपालमा रहेको भन्दै उहाँले भन्नुभयो, “रोग के कारणले लागेको हो भन्ने हामीकहाँ अध्ययन भएको छैन ।”        वायु प्रदूषण अर्को कारण हुनसक्ने डा अधिकारीको भनाइ छ । अहिलेको समयमा विवाह, व्रतबन्ध, भोजभतेरजस्ता मानिसको भीड हुने कार्यक्रम धेरै भएकाले पनि यो फैलिएको डा अधिकारी बताउनुहुन्छ ।  यससँगै राजनीतिक समर्थन र विरोधका कार्यक्रममार्फत पनि सङ्क्रमण फैलिएको उहाँले बताउनुभयो । उहाँले कोभिडको समयमा अपनाईएका स्वास्थ्य सुरक्षाका विधिहरू अपनाउन सुझाव दिनुभयो ।

काठमाडौं: लामो अनुसन्धानपछि प्रहरीले काठमाडौँ उपत्यकाको ललितपुरबाट आफ्नै ११ वर्षीया बहिनीको हत्या आरोपमा कान्छो दाजु पक्राउ गरेको छ ।      ललितपुर महानगरपालिका–१२ मङ्गलबजार बस्ने भगवती बोहराकी ११ वर्षकी छोरी दुर्गा बोहरा बेपत्ता भएको घटनाको अनुसन्धानका क्रममा उक्त तथ्य पत्ता लागेपछि आफ्नै दाजुलाई पक्राउ गरी अनुसन्धान थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले आज घटना विवरण सार्वजनिक गर्दै जानकारी दिएको छ ।       कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार चैत ४ गते राति हराएको भनी जिल्ला प्रहरी परिसर ललितपुरमा दिएको निवेदनपश्चात् खोजतलास गर्ने क्रममा मिति चैत २९ गते खपिन्छेँस्थित बाबुराजा अवालेको पुरानो घरको भुइँ तलामा रहेको पानी ट्याङ्कीमा सडेगलेको अवस्थामा उनको शव फेला परेको थियो ।       उक्त घटनाको अनुसन्धान गर्ने क्रममा उक्त घटना मृतकका वर्ष १५ को कान्छो दाइले कर्तव्य गरी हत्या गरेको खुल्न आएको र उनलाई वैशाख १ गते मङ्गलबजार पक्राउ गरी आजै ललितपुर प्रहरीलाई बुझाइएको छ ।      खोजतलास तथा अनुसन्धानका क्रममा अवालेको पाँच तले घरको भुइँ तल्लामा रहेको प्रयोगविहीन सिमेन्टले बनाएको पानी ट्याङ्कीमा दुर्गा बोहराको शव फेला परेको थियो । बाबुराजा अवालेको उक्त घरमा मृतक र परिवार भाडामा बसेपछि अन्यत्र डेरा सरेका थिए ।       उक्त घरमा भाडामा बस्ने अर्को चमेली सुनारको परिवार पनि अन्यत्र डेरा सरेपश्चात् सो घरमा कोही नबसी घर खाली रहेको थियो । चैत ४ गते मृतक र उनका दाजु पहिला डेरामा बस्ने गरेको अवालेको घरतर्फ जाँदै गरेको सिसी टिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।      दाजु बहिनीसँगै गएको फुटेज भेटिएपश्चात् दाजुमाथि शङ्का लागि सोधपुछ गर्दा उसले कोठा सर्दा छुटेका कपडा लिन भनी दाजु बहिनी गएकोमा सामान्य विवाद हुँदा बहिनीलाई पिटेर उक्त ठाउँमा रहेको नाइलनको डोरीले पछाडिबाट घाँटी कसेर भुइँमा लडाइँ छोडी भागेको अनुसन्धानका क्रममा बयान दिएको प्रहरीले जनाएको छ ।       चैत ४ गते दाजुबहिनीले नै लागुऔषधको ट्याब्लेट खाएका थिए र त्यसको नशामा आफू भएकाले त्यस्तो घटना हुन गएको कुरा बताएको र चैत ५ बिहान नशाले छाडेपछि आफूले हिजो बहिनीमाथि गरेको आक्रमण सम्झी उक्त घटनास्थलमा गई हेर्दा बहिनीको मृत्यु भएको देखेको र बहिनीको शव ट्याङ्कीमा हालेर हिँडेको बयान दिएको प्रहरीले जानकारी दिएको छ । आरोपीको परिचय भने प्रहरीले खुलाएको छैन ।

काठमाडौं:   नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १७ गते बस्ने भएको छ ।   पार्टी केन्द्रीय कार्यालय सानेपामा वैशाख १७ गते दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।  बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।  

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो ।        मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ६० रुपैयाँ तोकिएको छ ।  यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि एक सय ४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४५ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ४६ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।        निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौँ, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।        इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा तीन रुपैयाँ १५ पैसा र डिजेलमा दुई रुपैयाँ ६२ पैसाले घटेर आएकाले स्थानीय बजारमा पनि मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

काठमाडौं:   प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई बढीमा तीन महिनाका लागि काम गर्नेगरी जिम्मेवारी तोक्नुभएको छ ।      उपकुलपतिको पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार शिक्षाध्यक्ष केसीलाई उक्त जिम्मेवारी तोकिएको हो ।      विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले दिनुभएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो ।

गोरखा:  बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि मुआब्जा निर्धारण गरिएको छ । चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि, प्रवद्र्धक कम्पनी साहस ऊर्जाका प्रतिनिधि र स्थानीयको सहभागितामा मुआब्जा निर्धारण गरिएको हो ।      साहस ऊर्जाका प्रबन्ध निर्देशक हिम पाठकका अनुसार बाँध निर्माणस्थल रहेको वडा नं ३ को सल्लेरीका बस्ती क्षेत्रमा रहेका जग्गाको प्रतिआना रु तीन लाख कायम गरिएको छ ।  “चार आनाभन्दा कम जग्गा हुनेको हकमा भने प्रतिआना रु चार लाख र बस्तीभन्दा बाहिर प्रतिआना रु एक लाख ५० हजार मुआब्कजा निर्धारण भएको छ ।” उहाँका अनुसार करिब ८० रोपनीको मुआब्जा दिनुपर्ने आकलन गरिएको छ ।       उक्त भेलाले घरको मूल्याङ्कन भने गरेको छैन । गाउँपालिकाका प्राविधिकले तयार गरेको प्रतिवेदनका आधारमा घरको मुआब्जा निर्धारण हुने उहाँले पाठकले जानकारी दिनुभयो । आयोजनाबाट २६ घरधुरी विस्थापित हुने भएका छन् ।           विस्थापित हुनेहरुको पुनःस्थापनाका विषयमा पनि छलफल भइरहेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । “डुबानका कारण विस्थापित हुनेहरु कसैलाई फिलिममा, कसैलाई जगतमा पुनःस्थापित गर्ने विषयमा छलफल भइरहेको छ तर निर्णय भइसकेको छैन”, लामाले भन्नुभयो ।       गाउँपालिकाका अध्यक्ष निमा लामा, उपाध्यक्ष लक्ष्मी गुरुङ, वडा नं २ का अध्यक्ष रामकुमार गुरुङ, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)का प्रतिनिधि, सल्लेरी, भालुवन, जगत, नाग्चेतका बासिन्दालगायतको मुआब्जा निर्धारण भेलामा उपस्थिति थियो ।       अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) प्रविधिको ३४१ मेगावाट क्षमताको उक्त परियोजना निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो परियोजना हो ।  साहस ऊर्जाले सल्लेरीमा बाँध निर्माण गर्ने छभने त्यहाँबाट ६।८ किलोमिटर भूमिगत सुरुङ हुँदै धार्चे–३ मा रहेको तातोपानीस्थित पावर हाउसमा विद्युत् उत्पादन गर्नेछ ।  उत्पादन हुने विद्युत् ४५ किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटको रातामाटे सबस्टेसनमार्फत केन्द्रीय प्रसारणलाइनमा जोडिनेछ । आयोजनाको कुल लागत रु ७० अर्ब रहेको छ । 

काठमाडौं:   नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट छ किलो ९७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन रहेको विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौँरले जानकारी दिनुभयो ।     उहाँले भन्नुभयो, “थाई एयरको उडानमार्फत बैङ्कक हुँदै गएराति नेपाल आएका उनको लगेज जाँचका क्रममा उक्त परिणामको गाँजा फेलापरेपछि पक्राउ गरिएको हो ।” भिजयनलाई थप अनुसन्धानका लागि लागुअषौध ब्यूरो कोटेश्वर पठाइएको छ ।