काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायरामा रहेर निकास दिने प्रयासमा रहेको बताउनुभएको छ । रामचन्द्र पौडेलले बिहीबार लिखित सम्बोधनमार्फत देशलाई कसरी निकास दिन सकिन्छ भनेर आफू ...

काठमाडौं:  राजधानी भित्रिने सडकमार्गको मुख्य नाका नागढुङ्गा-नौबिसे सडकखण्ड दिउँसो साढे चार घण्टा बन्द हुने भएको छ। निर्माण कार्यका लागि सडक बन्द गर्न लागिएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिए। यसअघि उक्त खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो। आयोजनाले नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा यसरी काम गर्नका लागि अनुमति भएको उनले जानकारी दिए। “निर्माण आयोजनाले नागढुङ्गा पिपलामोड सडक निर्माणका लागि यसअघि राति भत्काउने काम भएको र अब निर्माण दिउँसो गर्नुपर्ने भनेर प्रस्ताव आएको थियो। प्राविधिक रुपमा निर्माण दिउँसो नै गर्नुपर्ने भनेपछि, त्यसका लागि अनुमति दिइएको हो”, प्रजिअ तिवारीले भने। नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले आज सूचना गरी काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ। बन्दको समयमा धार्के–सितापाइला तथा टोखा-छहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ।

काठमाडौं:  चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा घरजग्गाको कारोबारबाट पौने ३८ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ ।  भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आवको साउनदेखि वैशाखसम्म घरजग्गा कारोबारबाट ३७ अर्ब ७६ करोड ७१ लाख रुपियाँ राजस्व सङ्कलन भएको हो ।  घरजग्गाको कारोबारमा सामान्य सुधार आएसँगै राजस्व सङ्कलनमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ । चैतको तुुलनामा वैशाखमा घरजग्गा कारोबार र कित्ताकाट दुवैको लिखत पारित बढेको विभागले तथ्याङ्क छ । विभागका अनुसार चालुु आवको साउनमा तीन अर्ब ८३ करोड ५० लाख, भदौमा तीन अर्ब नौ करोड दुई लाख, असोजमा तीन अर्ब आठ करोड १२ लाख, कात्तिकमा दुई अर्ब ७० करोड रुपियाँ राजस्व सङ्कलन भएको छ ।  विभागका अनुसार मङ्सिरमा तीन अर्ब ८७ करोड ४८ लाख, पुसमा चार अर्ब २५ करोड, माघमा तीन अर्ब ८७ करोड, फागुनमा चार अर्ब १२ करोड र चैतमा चार अर्ब ३९ करोड ४६ लाख रुपियाँको घरजग्गाको कारोबारबाट राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ । सबैभन्दा बढी राजस्व वैशाखमा चार अर्ब ५४ करोड २२ लाख र सबैभन्दा कम कात्तिकमा दुई अर्ब ७० करोड ४० लाख रुपियाँ राजस्व सङ्कलन भएको तथ्याङ्क छ ।  विभागका अनुसार वैशाखमा मात्रै ५२ हजार ४२३ वटा नयाँ घरजग्गा किनबेच भएका छन् । गत चैतमा ४९ हजार ८३२ वटा नयाँ घरजग्गा किनबेच भएको थियो । वैशाखमा कुल लाख ४४ हजार ६० र चैतमा एक लाख ४७ हजार ४१६ वटा कारोबार भएको विभागको तथ्याङ्क छ  ।  घरजग्गाको कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुुँजीगत दस्तुुर, अतिरिक्त शुल्क, डोर सुविधा, पुँजीगत लाभकर, विलम्ब शुल्क, नगर पूर्वाधार विकास शुल्क, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क, नारायणी तथा राप्ती सभ्यतालगायतका शीर्षकमा राजस्व सङ्कलन हुने गरेको छ । पुँजीगत लाभकरबापत उठ्ने राजस्व मात्रै सङ्घ सरकारको खातामा जाने विभागले जनाएको छ ।

पोखरा:   पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको तयारी अन्तिम चरणमा पुगेको छ ।  नेपाल भलिबल संघले आज पोखरामा पत्रकार सम्मेलन गर्दै नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।  नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले काठमाडौं हुँदै आएको प्रतियोगिता यसपटक पोखरामा हुन लागेको बताए ।  ‘काठमाडौंमा हुँदै आएको प्रतियोगिता यसपटक पोखरा रंगशालाको मल्टिपर्पोज कभर्डहलमा सञ्चालन गर्दै छौं, यो पोखराको लागि अवसर पनि हो’, अध्यक्ष चन्दले भने, ‘जेठ ८ देखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ तीन विभागीयसहित ८ र महिलातर्फ तीन विभागीयसहित ६टिमको सहभागिता रहनेछ ।’ उनका अनुसार पुरुषतर्फ तीन विभागीय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गण्डकी, सुदूरपश्चिम कोशी र मणिमुकुन्द भलिबल क्लब र महिलातर्फ तीन विभागीय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, न्यू डायमण्ड, एभरेष्ट, कर्णाली प्रदेशले सहभागिता जनाउनेछन् ।  प्रतियोगितामा प्रत्येक टिमले तीनजना विदेशी खेलाडी समावेश गर्न पाउनेछन् । महिला तथा पुरुष दुवैतर्फका विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टिमले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा पोखराबाहिरबाट सहभागी हुने टिमहरूलाई खेल अवधिभर प्रतिखेलाडी १२ सय रुपैयाँ दरले रकम उपलब्ध गराइने छ । खेलाडीहरूका लागि दुर्घटना बिमाको समेत व्यवस्था गरिएको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बताए ।  प्रतियोगिता सम्पन्न गर्न झन्डै ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसमा पुरस्कार रकम मात्रै ३२ लाख रुपैयाँ हुनेछ । यस प्रतियोगिताको विजेता टोली काभा भलिबल च्याम्पियनसिपमा सहभागी हुनेछन् । 

काठमाडौं:   नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चारकर्मीलाई जानकारी दिए ।    बैठकपछि सञ्चारकर्मीसँग उनले भने,“माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको सिफारिस समितिको सिफारिसका आधारमा तीन जनामध्येबाट डा. विश्वनाथ पौडेललाई गर्भर नियुक्त गर्ने निर्णय भएको छ ।” उनले सिफारिस समितिले डा. विश्वनाथ पौडेल, राष्ट्र बैङ्कका कायममुकायम गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव डा. दिनेश भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेकामा डा. पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरिएको बताए । 

पोखरा: बागलुङको काठेखोला गाउँपालिका ४ तङग्राम भई पोखरा–२७ बस्दै आएकी ३८ वर्षीय बेलीमाया थापा पुन दुईसातादेखि बेपत्ता भएकी छिन् ।   करिव ८ वर्षदेखि पोखरा–२७ वनकुना चोकमा बस्दै आएकी बेलीमाया गत बैशाख २२ गतेदेखि परिवारको सम्पर्कमा नआएको उनका देवर रन पुनले जानकारी दिए ।  ‘२२ गते दिउँसो घरबाट निस्कनुभएका उहाँ साँझसम्म पनि घरमा आउनु भएन । साँझसम्म पनि घर नआएपछि हामीले खोजी कार्य ग¥यौं’, पुनले भने, ‘रातभर नै खोजीकार्य गर्दा पनि फेला पार्न सकिएन नजिकको पसलमा रहेको सिसी क्यामेराको सहयोगमा खोजी ग¥यौं, केहीसमयपछि मझेरीपाटनमा गएको सूचनापछि खोजी कार्य गर्दा पनि कुनै खबर पाउन सकेनौं ।’ मझेरीपाटनका स्थानीयहरुले बेलीमायाको हुलिया अनुसारको महिला देखिएपनि एकिन जानकारी नभएको  एक आफन्तले सुनाए । ‘बेलीमायाको हुलिया अनुसार २२ गते मझेरीपाटन झरेको बुझिएको छ, त्यहाँका केही स्थानीयहरुलाई बुझ्दा हामीले बताएको हुलिया अनुसार उहाँ नै होकी भन्ने आशंका अनुसार खोजी ग¥यौं, ती आफन्तले भने, ‘प्रहरीको सहयोगमा त्यहाँ वरिपरि र सेती नदीमा खोजी कार्य ग¥यौै तर १५ दिन बितिसक्दा पनि केही क्लु पत्ता लगाउन सकेनौं ।’ बेलीमायाका देवर रन पुनले हराएको मितिदेखि खोजी कार्य गर्दा पनि फेला नसकेको बताए । उनले ईलाका प्रहरी कार्यालय शिशुवामा खोजी कार्यका लागि निवदेन दिएको बताए ।  बेलीमायाका श्रीमान हर्क पुनले खोजी कार्यका लागि प्रहरीमा निवेदन दिएपनि प्रहरी प्रशासनबाट आवश्यक सहयोग नपाएको गुनासो गरे । ‘जेठ २२ गते दिउँसो खाना खाएर म काममा निस्किए, सधै घरमा बस्ने उनी म काममा निस्किएपनछ निस्किएकी रैछिन्, पुनले भने, ‘साँझ घर आउँदा देखिन खोजी कार्य गरियो, २३ गते ईलाका प्रहरी कार्यालय शिशुवामा खोजी कार्यका लागि निवेदन दियौ तर प्रहरी प्रशासनबाट आवश्यक सहयोग पाउन सकेनौं ।’ ईलाका प्रहरी कार्यालय शिशुवाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी हरिप्रसाद सलामीले बेलीमाया थापा पुन हराएको निवेदनपछि खोजी जारी  राखेको बताए ।  ‘बेलीमाया हराएपछि परिवारले खोजी कार्यका लागि निवेदन दिनुभएको छ, हराउने व्यक्तिको हुलिया र फोटो जिल्लामा पठाएका छौं, हामीले गर्ने अनुसन्धान जारी नै छ’, प्रहरी निरीक्षक सलामीले भने, ‘परिवारले शंका गरेका स्थानमा खोजी कार्य ग¥यौ तर केही पत्ता लगाउन सकेनौं, खोजी कार्य जारी नै छ ।’

मकवानपुर:  मकवानपुरको भीमफेदी गाउँपालिकामा ब्रेक फेल भइ विङ्गर गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । मङ्गलबार दिउँसो चित्लाङबाट बाराको लालबन्दी आउँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ को गाडी सडकदेखि करिब २० मिटर तल खसेर भीमफेदी गाउँपालिकास्थित त्रिभुवन राजपथ सडक खण्डको छैसठी मोडमा दुर्घटनामा परेको हो । गाडी रुखमा अड्किएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भैंसे र सिमभञ्ज्याङ्गबाट खटिएको २५ जना प्रहरी टोलीले घाइतेको उद्धार गरी हेटौंडा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।  गाडीमा सवार १४ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ  

पोखरा:   पोखरामा भूकम्पको धक्का महसुस गरिएको छ ।    पोखरा आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो । दिउँसो १ः५९ बजे कास्कीको सिनुवा आसपास केन्द्र बनाउँदै ४.७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

काठमाडौं:    आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ । थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको खेलमा थाइल्यान्डले नेपाललाई जितको लागि १५९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल निरधारित २० ओभर ९ विकेट गुमाउँदै ८० रनमा समेटियो । नेपालका लागि कवितार कुँवरले सर्वाधिक २४ रन योगदान दिइन् । त्यस्तै रजाजमति ऐरीले अविजित २० तथा रूविना क्षेत्रीले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । थाइल्यान्डका लागि ओन्निचा कामचोम्फुले सर्वाधिक चार विकेट लिइन् । यसैगरी थिपाचा पुथावोङले तीन र सुलेपोर्न लाओमीले समान एक एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १५८ रन बनाएको थियो । थाइल्यान्डका लागि नन्नापत कोन्चारोएनकाई २८ बलमा आठ चौकाको मद्दतले अविजित ५० रनको योगदान गरिन् । त्यसैगरी नटाया बुचथमले ४२ बलमा पाँच चौकासहित ५० रन बनाइन् । अपिसरा सुवान्चोराथीले २९ तथा नथ्थकन चन्थमले अविजित १५ बनाइन् । नेपालका लागि राजमति ऐरी र मनिषा उपाध्यायले समान एक विकेट लिए । नेपाल र थाइल्यान्ड यसअघि नै विश्वकपको ग्लोबल छनोटमा पुगिसकेका थिए । पहिलो खेलमा दुवैले युएईलाई हराउँदै विश्वकपको ग्लोबल छनोटमा पुगेका हुन् ।

पोखरा: पोखरा महानगरपालिका–८ चिप्लेढुङ्गा निभागल्लीस्थित फुड लभर क्याफे एण्ड रेस्टुरेन्टमा गएराति आगलागी भएको छ ।  निभागल्लीस्थित फुड लभर क्याफे एण्ड रेस्टुरेन्टमा गएराति आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक हरीबहादुर बस्नेतले जानकारी दिए ।  ‘ पोखरा महानगरपालिका–८ चिप्लेढुङ्गास्थित रवि तिमिल्सिनाले २ तले घरमा सञ्चालन गरेको फुड लभर क्याफे एण्ड रेस्टुरेन्टमा गएराति आगलागी भएको हो’, प्रनाउ बस्नेतले भने, ‘आगलागी भएको सूचनापछि प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लियौ, प्रारम्भिक अनुसन्धानमा विद्युत सर्ट भएर आगलागी भएको देखिएको छ, आगलागीबाट केकति क्षति भयो मुजुल्का गर्दै छौं ।’