काठमाडौं: नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आइतबार सम्पन्न भएको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयको पहिलो संस्करण यही जेठ २ देखि सुरु भएको थियो । सगरमाथा कार्य आह्वानले दिगो भविष्य सुनिश्चित गर्न साझेदारीलाई सुदृढ गरेर पूर्व–औद्योगिक स्तरभन्दा १।५ डिग्री सेल्सियसभन्दा बढी विश्वव्यापी औसत तापक्रम वृद्धि हुन नदिने अत्यावश्यकतालाई पुनः पुष्टि गरेको छ । आफ्नो देश विशेष अनुकूलन आवश्यकताहरू पूरा गर्न राष्ट्रिय अनुकूलन योजनाहरू विकास र कार्यान्वयन गर्न थप प्रोत्साहित गरिने, विकासशील र विशेष परिस्थितिमा रहेका देशमा जलवायु कार्य कार्यान्वयनका लागि अन्तरराष्ट्रिय वित्तीय सहायताको वृद्धि र परिचालन गर्न आह्वान गरिने उल्लेख छ । संवादले विकासशील र जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई द्विपक्षीय, बहुपक्षीय र वैकल्पिक स्रोतबाट वित्तीय संयन्त्रका सञ्चालन निकाय र यूएनएफसीसीसी र पेरिस सम्झौताअन्तर्गतका कोषसहित अन्तरराष्ट्रिय जलवायु वित्तमा समान र सरलीकृत पहुँच सुनिश्चित गर्न सामूहिक प्रयासहरूलाई प्रोत्साहित गर्न आह्वान गरेको छ । पर्वतीय क्षेत्रहरूमा जलवायु कार्य र दिगो विकासका लागि लक्षित वित्तीय स्रोतहरू परिचालन गर्न पर्वतीय देशहरूको विकासका लागि समर्पित कोष स्थापना गर्ने आह्वानलाई समर्थन गर्ने र मौजूदा तथा नवप्रवर्तनकारी वित्तीय स्रोतहरूको उपयोग गरी पर्वतीय पारिस्थितिक प्रणाली सेवाहरूको मान्यता, सम्मान र पुरस्कृत गर्न प्राथमिकता दिने सगरमाथा कार्य आह्वानमा उल्लेख छ । दिगो जलवायु कार्यलाई बढावा दिन निजी क्षेत्रको वित्त र कार्बन बजारहरूको भूमिकालाई जोड दिने, जलवायुमैत्री प्रविधिमा पहुँच सहज बनाउन र क्षमता अभिवृद्धि गर्न विश्वव्यापी र क्षेत्रीय साझेदारीलाई सुदृढ गर्ने संवादको निष्कर्ष छ । संवादले ग्रामीण र सहरी समुदाय दुवैमा सानादेखि ठूला स्तरका पूर्वाधारसम्म हरित, लचिलो र समावेशी विकास प्रवर्द्धन गर्ने महत्त्वलाई स्वीकार गर्र्दै स्वच्छ ऊर्जा, ऊर्जा दक्षता र न्यायपूर्ण ऊर्जाको महत्वलाई जोड दिने, स्वच्छ ऊर्जाका साथै हरित, चक्रीय र बायो–अर्थतन्त्रमार्फत भविष्यलाई शक्ति प्रदान गर्ने महत्त्वलाई स्वीकार गरेको छ । जलवायुजन्य विपद्हरूलाई सम्बोधन गर्न र हिमनदी, जलस्रोत, वन र कृषि प्रणालीको संरक्षणका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनमा आधारित समाधानहरूलाई प्रवर्धन गर्ने आह्वानमा उल्लेख छ । ‘क्षेत्रीय जलवायु, मनसुन, क्रायोस्फियर र जनस्वास्थ्यमा गहिरो प्रभाव पार्ने ट्रिपल प्लानेटरी क्राइसिस र अल्पकालीन जलवायु प्रदूषकहरूमा विशेष ध्यान दिई हिमाल र जलवायु परिवर्तन एजेन्डामा संवादलाई प्रोत्साहित गर्दछौं । विकासशील देशहरूको आवश्यकता अनुरूप तथ्याङ्क प्रणालीलाई सुदृढ गर्ने, तथ्याङ्क साझेदारी र अन्तरसञ्चालन सुनिश्चित गर्ने र जलवायु एट्रिब्युशन र पूर्वचेतावनी संयन्त्रहरू विकास गर्ने अत्यावश्यकतालाई स्वीकार गर्दछौं’ सथरमाथा कार्य आह्वानका उल्लेख छ । बालबालिका, युवा, महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकहरूको सक्रिय सहभागितामार्फत समावेशी जलवायु कार्यहरूलाई बढावा दिन र अन्तर–पुस्ता र अन्तर–पुस्ता समानता कायम राख्दै लैङ्गिक सन्तुलन कायम गर्ने आह्वानमा उल्लेख छ । पर्वतीय समुदायहरूको आवाजलाई विश्वव्यापी जलवायु प्रक्रियाहरूमा बुलन्द गर्ने उद्देश्यले संवाद, नवप्रवर्तन र सशक्तीकरणका लागि हिमाल र जलवायु परिवर्तनसम्बन्धी बहु–सरोकारवाला अन्तरराष्ट्रिय मञ्चको सिर्जना गर्न आह्वान गरिएको छ । आह्वानमा भनिएको छ, ‘स्थानीय र आदिवासी समुदायहरूको जलवायु नीति, कार्यक्रम र कार्यहरूमा, अनुकूलन र संरक्षण पहलसहित भूमिकालाई स्वीकार गर्दछौं । वातावरणीय सेवाहरूको भुक्तानीका लागि संयन्त्रहरू विकास गर्ने आवश्यकतालाई जोड दिने र नवप्रवर्तनकारी जलवायु वित्तपोषण अपनाउन सक्षम बनाउन आह्वान गर्दछौँ ।’ ज्ञान केन्द्रहरू विकास, उत्कृष्ट अभ्यासहरू साझा गर्ने र जलवायु नीति, कार्यक्रम र कार्यहरूमा स्थानीय समुदायहरूको भूमिका बढाउने आवश्यकतालाई जोड दिइएको छ । संवादमा सगरमाथादेखि समुद्रसम्म र उच्च भूभागदेखि टापुसम्म गुञ्जिने गरी तत्काल जलवायु कार्यका लागि साझा आवाज बनाउने संकल्प गरिएको छ ।
मुगु: मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि याम सुरु भएको छ । यार्सा सङ्कलनको समय सुरु भएसँगै गाउँपालिकाले यही जेठ १३ गतेबाट वन प्रवेश खुला गर्ने भएको हो । गाउँपालिकाका दुई दर्जन बढी पाटनमा पाइने यार्सागुम्बा सङ्कलनका लागि जिल्लाका बासिन्दा र बाहिर जिल्लाबाट सर्वसाधारण यार्सा सङ्कलनका लागि आउने गर्दछन् । जिल्लावासीका लागि प्रतिव्यक्ति रु २ हजार र बाहिरी जिल्लाबाट आउने सङ्कलनकर्ताका लागि रु दुई हजार ५०० वन प्रवेश शुल्क निर्धारण गरिएको गाउँपालिकाकाले जनाएको छ । जेठ १३ गते वन प्रवेश खुला गरिने भएकाले वन प्रवेशपछि यार्सा सङ्कलनका क्रममा वातावरणमा असर पुग्ने खालका क्रियाकलाप नगर्न सङ्कलनकर्तालाई गाउँपालिकाकाले आग्रह गरेको छ । यार्सा सङ्कलनका समयमा सिसा प्लाष्टिकजन्य वस्तु नफाल्न र जथाभावी रुखबिरुवा नकाट्न तथा चोरी नगर्नसमेत आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए । गाउँपालिकाको वडा नं १ र २ मा रहेका रिर्माण, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कुलगायतका दुई दर्जन बढी वन तथा पाटनमा यार्सागुम्बा पाइन्छ । वन प्रवेशका लागि गाउँपालिकाले वन प्रवेश शुल्क बुझाएका सङ्कलनकर्ताले जेठ १३ गते बिहान वन क्षेत्रमा प्रवेश गर्न पाउने छन् । विकट उच्च हिमाली भू–भाग सुरक्षामा चुनौती मुगुम कामारोङ अन्तर्गत पर्ने पाटन क्षेत्रमा सुुरक्षा चुनौतीले अनुमति नलिइ यार्सागुम्बा सङ्कलन गर्न वन प्रवेश गरिसकेका छन् । गाउँपालिकाको निर्णयअनुसार जेठ १३ गतेपछि मात्र यार्सा सङ्कलनका लागि पाटन प्रवेशको अनुमति दिने भनिए पनि यार्सा चोरी गर्ने वन प्रवेश गरिसकेका छन् । सुरक्षा चुनौतीसँगै चोरी गर्ने मनसायले यार्सा सङ्कलक समयअघि नै सयौँ जना पाटन क्षेत्रमा प्रवेश गरेका छन् । गाउँपालिकाका स्थानीयका अनुसार दैनिक दुई सयभन्दा बढी व्यक्ति, स्थानीय र बाह्य जिल्लाका यार्सा सङ्कलक रातारात पाटन प्रवेश गरी यार्सा सङ्कलनमा लागेका छन् । अवैध प्रवेशबारे सूचना आएपछि गाउँपालिका, सुरक्षा निकाय र सरोकारवालाबीच बैठक बसी नियम उल्लङ्घन गर्नेमाथि कडा जरिवाना र कानुनी कारबाहीको तयारी गरिएको गाउँपालिकाले जनाएको छ । गत वर्ष यार्सा सङ्कलनमार्फत गाउँपालिकाले रु ७१ लाख राजस्व सङ्कलन गरेको थियो । यस वर्ष त्योभन्दा बढी रु ८० लाखसम्म राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभयो । यार्सा सङ्कलनलाई व्यवस्थित गर्न गाउँपालिकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सरोकारवालासँगको समन्वयमा अनुमति प्रणाली कडाइका साथ लागू गर्ने जनाएको छ । पछिल्ला केही वर्षदेखि यार्सागुम्बाको परिमाण कमहुँदै गएको स्थानीयको भनाइ छ । यार्साको संरक्षण र व्यवस्थापनमा चुनौती थपिँदै जाँदा पालिकाले नियम पालना गराउन थप सुरक्षा चुनौती थपिएको छ ।
काठमाडौं: भारतीय अभिनेत्री तथा उत्कृष्ट नृत्याङ्गना नोरा फतेहीले शनिबार बौद्धस्थित हायात मैदानमा आयोजित ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा आफ्नो जादुमयी प्रस्तुतिमार्फत हजारौँ नेपाली दर्शकलाई मन्त्रमुग्ध पार्नुभयो । पहिलोपटक नेपाल आउनुभएकी अभिनेत्री फतेहीले कार्यक्रममा नेपाली कला र आतिथ्यताको बारम्बार प्रशंसा गर्नुभयो । उहाँले नेपाल र नेपालीबाट आफ्ना गीतले पाएको अपार माया आफ्ना लागि ऊर्जाको स्रोतसहित अविस्मरणीय रहेको बताउनुभयो । “नेपाली कलाकारहरूले मेरा गीतमा गर्नुहुने नृत्य प्रस्तुतिसँग राम्रोसँग परिचित छु र उहाँहरूका ‘डान्स क्लिप’हरू पनि हेर्ने गर्छु । मेरा केही नेपाली साथीहरू पनि छन्, मलाई नेपालबाट प्राप्त हुने मायाकाबारेमा उहाँहरूले पनि भन्नुहुन्छ”, अभिनेत्री फतेहीले भन्नुभयो । प्रस्तुतिका क्रममा उहाँले अप्रत्याशित रूपमा नेपाली कलाकार सुशान्त खत्रीलाई मञ्चमा बोलाएर सबैलाई चकित पार्नुभयो । त्यसो त कलाकार खत्रीको आगमनबारे दर्शकसँगै आयोजक पनि बेखर थिएँ । ‘मेरो नेपाली साथी जो, धेरै प्रतिभावान् छन्’ भन्दै अभिनेत्री फतेहीले कलाकार खत्रीलाई मञ्चमा स्वागत गर्नुभयो । दुवैले ‘गेहरा समन्दर’ गीतमा आकर्षक नृत्य प्रस्तुत गर्दा ‘हुटिङ’ सहित दर्शकले तालि बजाएर धन्यवाद व्यक्त गरेका थिए । यतिमात्र नभई सामाजिक सञ्जालमा आफ्ना श्रव्यदृश्य तयार पार्ने (कन्टेन्ट क्रिएटर आर्टिस्ट) गौरव सिटौलालाई दर्शककै भिडमा चिनेर अभिनेत्री फतेहीले मञ्चमा लानुभयो । उहाँ दुईले ‘दिलवर’ मा प्रस्तुति दिनुभयो । अभिनेत्री फतेहीका गीतहरूमा आकर्षक र ऊर्जावान् प्रस्तुतिसहितको श्रव्यदृश्य तयार गरेर सामाजिक सञ्जालमार्फत सिटौलाले सार्वजनिक गर्दै आउनुभएको छ । “म अभिनेत्री फतेहीको ठूलो प्रशंसक हुँ । मैले उहाँको हरेक गीतको नृत्यलाई मञ्च वा श्रव्यदृश्यमार्फत प्रस्तुत गरेको छु । आजसँगै नाच्न पाउँदा निकै उत्साहित छु”, सिटौलाले भन्नुभयो । आफ्नो २३ सदस्यीय नृत्य टोलीसँग करिब ४० मिनेटसम्म अभिनेत्री फतेहीले लोकप्रिय गीतमा ऊर्जावान् प्रस्तुति दिनुभयो । उहाँ आफैँले गाउँनुभएको ‘स्नेक डान्स’ बाट प्रस्तुतिको सुरुआत गर्दै ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’ जस्ता गीतहरूमा दर्शकलाई नचाउनुभयो । “नेपालमा दर्शकले देखाउनुभएको माया र आतिथ्यताले मलाई झनै ऊर्जा थपिएको छ । यहाँ मैले निकै माया पाएकी छु, यो सुन्दर देशका मानिस पनि सुन्दर छन्”, फतेहीले आफ्नो अनुभव सुनाउनुभयो । यही जेठ ३ गते शनिबार बिहान आफ्ना दुई सहयोगीसहित काठमाडौँ आइपुग्नुभएकी अभिनेत्री फतेही आज आइतबार बिहान संयुक्त अरब इमिरेटस् प्रस्थान गर्नुभयो । कार्यक्रम शिक्षाबाट वञ्चित बालबालिकाको सहयोगार्थ कार्यरत सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगका वल्र्डवाइड फिल्मस्का देव मगर र मनु मिडियाका मनिष कार्कीले आयोजना गर्नुभएको हो । उक्त कार्यक्रममा अभिनेत्री फतेहीका साथै नेपाली कलाकारहरू गायक दुर्गेश थापा, प्रतिभाशाली नृत्याङ्गना तेरिया मगर र समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’ का उत्कृष्ट पाँच कलाकार प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई तथा इन्द्रकला राईले पनि आ–आफ्नो प्रस्तुति दिनुभयो । भारतीय र नेपाली कलाको यो सुन्दर संयोजनले कार्यक्रमलाई थप आकर्षक, मनोरञ्जक र अविस्मरणीय बनाएको थियो ।
काठमाडौं: सगरमाथा संवादको सन्देशसहित हिमाल आरोहणमा गएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्बोच्च शिखर सगरमाथा सफल आरोहण गरेका छन् । जेठ ४ गते बिहान ९ः२० बजे उनले सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएको सगरमाथा बेसक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी दिए । उनीसँगै गएका वङ्दी शेर्पाले पनि सोही समयमा सगरमाथाको सफल आरोहण गरेका छन् । जेठ २ गतेदेखि ४ गतेसम्म आयोजना भएको सगरमाथा संवाद कार्यक्रममार्फत सगरमाथा संवाद सन्देशलाई विश्वमाझ प्रबर्द्धन गर्ने उद्देश्यले सद्भावना दुतको रुपमा उनले सगरमाथा आरोहण गरेका हुन् । सहायक निरीक्षक छत्यालले बैशाख २२ गते ६ हजार ११४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए । सहायक निरीक्षक छत्याल ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिई सगरमाथा आरोहण लागि बैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए । उनलाई बैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित हार्दिक बिदाई गरेका थिए । सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय उच्च भूभाग बिपद् उपशाखामा कार्यरत रहेको जानकारी सशस्त्र प्रहरी सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिए ।
गोरखा: गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि संसार देख्न थाल्नुभयो । विगत १० वर्षदेखि दुवै आँखाको ज्योति गुमाउनुभएका उहाँलाई ज्वाइँ कर्णमाहिला गुरुङले बोकेर विद्यालयको आँगनमा ल्याइपुर्याउनुभएको थियो । उहाँजस्तै अरु ४८ जनाले पनि अब आँखा देख्न थाल्नुभएको छ । आफ्नै गाउँमा गत मङ्गलबार, बुधबार र बिहीबार आयोजना गरेको शल्यक्रिया शिविरमा गुरुङको आँखाको शल्यक्रिया गरिएको थियो । निर्धारित समयमा वरिष्ठ आँखारोग विशेषज्ञ कमलबहादुर खड्का नेतृत्वको टोलीले धमाधम आँखाको पट्टि खोल्न थाल्यो । उहाँको पालो सबैभन्दा पछि थियो । जब चिकित्सकले गुरुङको आँखाको पट्टि खोल्नुभयो, उहाँ बसिरहेको कुर्चीबाट उठ्न्भयो र विस्तारै आँखाका परेला खोल्न थाल्नुभयो । “एक दशकदेखि अन्धकार बनेको रङ्गीन संसार देखेँ । ऊ, मेरो ज्वाइँ”, घरबाट बोकेर ल्याएका कर्णमाहिलातिर देखाउनुभयो । सबैतिर हेर्न हतार नगर्न चिकित्सक गुरुङले सुझाव दिनुभयो । उहाँले आफूलाई संसार देखाइदिने चिकित्सकलाई धन्यवाद दिनुभयो । दुर्गम भेगमा रहेको गोरखाको धार्चे गाउँपालिका–५ गुम्दाका ८८ वर्षीय रामबहादुर गुरुङले दुवै आँखाको ज्योति गुमाएको १० वर्ष पुग्यो । “२०६८ सालमा बारी जोत्दा हलोको फालीले लागेर दाहिने आँखा गुमाएको थिएँ, त्यसको चार वर्षपछि देब्रे आँखा पनि देख्न छाडेँ”, गुरुङले भन्नुभयो । त्यसयता गुरुङलाई आफ्नो घरआँगन परदेश लाग्न थाल्यो, आफन्तहरू परायाजस्ता । आफैँ हिँड्न नसक्ने भएपछि उहाँलाई परिवारले सुताउने, उठाउने, खाना खुवाउने र शौचालयसम्म लैजाने, ल्याउने गर्नुपथ्र्यो । “पहिले त स्वरले चिन्थेँ । स्वर पनि र्बिसिएर विस्तारै चिन्न छाडेको थिएँ । म फलानो हुँ भन्यो भने बल्ल याद आउँथ्यो”, गुरुङले भन्नुभयो, “घरमा बूढी पनि रोगी, छोरा बाहिर विदेशमा छ । एउटा बुहारीले घरबारीको काम, हामी बुढाबूढीको स्याहार, नातानातिनीको स्याहार सबै हेर्नुपर्छ । बुढेसकालमा अरु केही गर्न नसके पनि आफ्नो काम चाहिँ आफैँ गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यो सपना आज पूरा भयो”, शल्यक्रियापछि आँखाको ज्योति पाउनुभएका गुरुङले भन्नुभयो । शल्यक्रियापछि ससुरा आफैँ हिँड्डुल गर्न सक्ने भएपछि कर्णमाइलालाई पनि सन्तोष मिलेको छ । “बुढो मान्छे, त्यसमाथि आँखा नदेख्ने भएपछि साह्रै बिजोग हुनेरहेछ”, उहाँले भन्नुभयो, “अब त सबै देखेँ, हिँड्छु भनेका छन् । यति भयो भने घरपरिवारलाई धेरै हलुका हुन्छ ।” धार्चे गाउँपालिकाको आयोजना, मुटु फाउन्डेसन र मनोज एसोसिएसन फ्रान्सको आर्थिक सहयोग तथा मात्रिका आई फाउन्डेसनको प्राविधिक सहयोगमा गुम्दामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो । शिविरमा धार्चेको गुम्दा, सिङ्ला, लप्सीबोट, यामगाउँ, खानीगाउँलगायत आसपास क्षेत्रका चार सय सात जनाले सेवा लिएका थिए । शिविरमा रामबहादुरसहित ४९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । तीन दिनसम्म चलेको शिविरमा वरिष्ठ आँखारोग विषेशज्ञ डा कमलबहादुर खड्का नेतृत्वको टोलीले सेवा दिएको थियो । विकट ठाउँमा आएर वृद्धवृद्धालाई सेवा दिन पाउँदा खुसी लागेको डा खड्काले बताउनुभयो । “गाउँघर यस्तै हो, कति दुःख कति सुख । जे होस् यति टाढा आएर सेवा दिने मौका मिल्यो । खुसी लागेको छ”, उहाँले भन्नुभयो ।
काठमाडौं: हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भागका केही स्थानमा र बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा मौसम बुलेटिनमा उल्लेख छ । उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेसलगायत कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भागका केही स्थानमा हुरीबतासको पनि सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी तराई भागका केही स्थानमा र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेसलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भागका केही स्थानमा हुरीबतासको पनि सम्भानवा रहेको महाशाखाले जनाएको छ ।
पोखरा: मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशको आयोजनामा सम्पन्न निःशुल्क आँखा शिविरमा तीन सय ४७ जनाले आँखा जाँच गराएका छन । ३२ औं मदन आश्रीत स्मृति दिवसको अवसरमा हिमालय आँखा हस्पिटलको प्राविधिक सहयोगमा पोखरा रंगशालामा आयोजना गरिएको शिविरमा खेलाडी, खेल संस्थाका प्रतिनिधी, पत्रकार गरी तीन सय ४७ जनाले आँखा जाँच गरेको मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशका अध्यक्ष गिरमान गुरुङले जानकारी दिए । गुरुङका अनुसार शिविरमा १ सय ९१ जनालाई औषधी वितरण, ३९ जनालाई चश्मा वितरण, मोतियाविन्दुको समस्या देखिएको ७ जना र अन्य ३९ जना र आँखामा मासु पलाएका ११ जनालाई हिमालय आँखा हस्पिटल घारीपाटन रिफर गरिएको छ । शिविरमा सहभागीहरुको दृष्टि विशेषज्ञहरु अनिश अधिकारी, रोष्ना भुजेल, झरना बुढा र रितिका किजु लगाएतले सहजीकरण गरेका थिए । यसअघि शिविरको उद्घाटन गर्दै पोखरा महानगरका उप प्रमुख मन्जुदेवी गुरुङले मदन भण्डारी स्पोर्टस एकेडेमीले खेलकुदको गतिविधी संगै सामाजिक उत्तरदायित्व वहन गर्ने गरी आँखा शिविरको आयोजना गरेकोमा आभार प्रकट गरिन । कार्यक्रमको सञ्चालन एकेडेमीका सचिव दिपक आचार्यले गरेका थिएभने कार्यक्रममा उपाध्यक्ष सुुजन आचार्यले स्वागत मन्तब्य राखेका थिएभने केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
गण्डकीका प्रदेश प्रमुुख डिल्लीराज भट्टले बाल्यावस्थाबाटै सेवा भावना विकसित गर्दै सकारात्मक सोच फैलाउन जरूरी रहेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा जुनियर रेक्रस सर्कल, छोरेपाटन माविको व्यवस्थापनमा भएको कास्की जिल्ला स्तरीय संरक्षक गोष्ठीमा बोल्दै प्रदेश प्रमुख भट्टले सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउँदा सकारात्मक परिवर्तन आउने बताउनुभयो । ‘कलिलो उमेरबाटै अरुको सेवा गर्नुपर्ने भावना विकसित गर्न सकेमा ती बालबालिका भविष्यमा नैतिकवान्, कर्मठ र ईमान्दार दक्ष नागरिक बन्नेछन् ’ उहाँले भन्नुभयो – ‘नैतिक शिक्षाले उनीहरु असल मार्गमा अघि बढ्छन् । हिंसा र अपराधबाट जोगिन्छन् । परिवर्तनका लागि सकारात्मक सोच अत्यन्त जरुरी छ ।’ स्वयंसेवी कार्यकर्ता, युवाहरूको सक्रिय संलग्नता र सामुदायिक सहभागितामार्फत् रेडक्रसले आफूलाई अग्रपंक्तिमा उभ्याएको भट्टले उल्लेख गर्नुभयो । उहाँले गोष्ठीमा प्रस्तुत कार्ययोजना, छलफल तथा विचार मन्थनबाट संस्थागत कामकारबाहीको मूल्यांकन, सुझाव ग्रहण र आगामी दिनको योजना तर्जुमा गर्न सक्षम बनोस् भन्दै संस्थालाई सबिलकरणको दिशामा अघि बढाउन दिशानिर्देश गरोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो । ‘रेडक्रस भन्ने बित्तिकै मानवियता र सेवा भावना जोडिन्छ । युद्ध, प्राकृतिक विपद् र अन्य आपत्कालीन अवस्थामा पीडितलाई सहायता पु¥याउने उद्देश्यका साथ रेडक्रसले कामहरू गर्दै आएको छ ।’ उहाँले भन्नुभयो । स्थानीय समुदायमा मानवीय सेवाको आवश्यकता बोध हुँदा सम्झिने पहिलो सामाजिक संस्था रेडक्रसले मानवतालाई जीवित राखौँ मूल मन्त्रका साथ काम गर्दै आएकोमा आभारपनि व्यक्त गर्नुभयो । ‘रेडक्रसले जिल्लास्तरीय समिति अन्तर्गत विभिन्न उप–शाखाहरू, समुदायस्तरीय युवा सर्कल, स्वयंसेवक समूह र विद्यालय अन्तर्गत जुनियर तथा युवा रेडक्रस सर्कलहरूलाई क्रियाशील बनाउँदै फराकिलो क्षेत्र ओगटेको छ ।’ प्रदेश प्रमुख भट्टले थप्नुभयो – ‘रेडक्रस, स्काउट, लायन्स, रोटरी जस्ता संस्था संघसंस्थाहरू गर्वलायक सामाजिक संघसंस्था हुन् । मानव जीवनको अमूल्य वस्तु रगतको अभाव हुँदा सबैभन्दा पहिले सम्झने संस्था भनेकै रेडक्रस हो ।’ रगत उपलब्ध गराउने काम सँगसँगै नेपालमा महामारी, भूकम्प तथा बाढीपहिरोको पीडामा रहँदा रेडक्रसले अग्रणी भूमिका खेलेको बताउँदै भट्टले पीडितहरुलाई खाद्यान्न लत्ताकपडादेखि तत्कालिन एम्बुलेन्स सेवा, स्वास्थ्य सेवा, परामर्श लगायत कार्य रेडक्रसकै अगुवाईमा भएको उल्लेख गर्नुभयो । रेडक्रसले सामाजिक रूपान्तरणमा सकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्दै आगामी दिनमा राज्यको निकायसँग सहकार्य, प्रविधिको उपयोग र नवप्रवर्तनशील कार्यक्रमहरूका माध्यमबाट रेडक्रस अझ प्रभावकारी रूपमा समाजसेवामा अग्रसर हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
नवलपरासी: नवलपरासीको सुनवलमा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भिर घाईते भएका छन् । शुक्रबार अपरान्ह हावाहुरीसहित पानी परेपछि सुनवल नगरपालिका वडा नम्बर ७ चारपालामा रहेको प्रतीक्षालयमा बसिरहेका स्थानीयलाई रूख ढलेर च्यापेको हो । घटनामा सुनवल ७ कि ३० वर्षीय मिरा बयम्बु र ४० वर्षीय दुर्गा बहादुर पुनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो । घटनामा सोही स्थानका ४० वर्षीय नरमती परियार, ५१ वर्षीय दुर्गेश्वरा खाम्चा र २२ वर्षीय अनिल थापा घाईते भएका छन् । उनीहरूको देवदह मेडिकल कलेज रूपन्देहीमा उपचार भइरहेको छ । पानी परेपछि प्रतीक्षालयमा बसिरहेको स्थानीयलाई हावाहुरीले ढलेको ठुलो रुखले च्यापेको थियो । रूख प्रतीक्षालयमाथी ढलेपछि प्रतीक्षालय समेत भत्किएको प्रहरीले जनाएको छ । शुक्रबारअपरान्ह नवलपरासी सहित आसपासका जिल्लामा तिव्र हावाहुरी सहित वर्षा भएको थियो । अहिले मौसममा क्रमिक सुधार हुँदै छ ।