पोखरा:  पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ ।  नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा ...

काठमाडौं: राष्ट्रियसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार लोकतन्त्रमाथि विश्वास गर्ने भएकाले सरकारलाई निरङ्कुश भन्ने कुरा मिथ्या आरोप भएको बताउनुभएको छ ।      ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ का सम्बन्धमा अस्वीकार गरियोस्’ भन्नेमा सांसद गोपीबहादुर सार्की अछामी, सांसद जगतबहादुर पार्की, सांसद राधेश्याम पासवान र सांसद उदयबहादुर बोहोराले प्रस्ताव पेस गर्नुभएको थियो । सोही प्रस्तावमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले वर्तमान सरकार सङ्घीय लोकतन्त्रक गणतन्त्रको मूलभूत सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताउनुभयो । सरकारले ल्याएका अध्यादेश सबैको आवश्यकताका रूपमा रहेका उहाँको भनाइ छ ।      उहाँले भन्नुभयो, “राज्य सबैको हो । मुलुकको समस्याका रूपमा रहेका ढिलासुस्ती, कुशासन, अनियमियतता हटाएर सुशासन कायम गर्न र विश्वासको माध्यमबाट समृद्धिको लक्ष्य निमाण गर्न यो अध्यादेश ल्याइएका हो ।”       मन्त्री गुरुङले भन्नुभयो, “यो सरकार लोकतान्त्रिक पद्दतिमा विश्वास गर्दछ । सङ्घीय लोकतन्त्रका मूलभूत सिद्धान्तको रक्षा गर्नेमा सरकार प्रतिबद्ध छ । संसद्लाई गरिमामय र मर्यादित बनाउनुपर्नेमा प्रतिबद्ध छौँ । विधिगत रूपमा अस्वकीर गर्नुपर्नेमा तर्कअनुसार कुनै औचित्य देखिएन । निरङ्कुशता बढ्यो भन्नु मिथ्या आरोप हो ।”

काठमाडौं: ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तोकिएको समयमा कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन नबुझाएकाले मन्त्रालयले मूल्याङ्कन गर्न नसकेको बताउनुभएको छ ।       प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाउनुभएका प्रश्नको जवाफमा मन्त्री खडकाले गत भदौ मसान्तमा बुझाउनुपर्ने कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन गत पुस मसान्तमा बुझाइएकाले कार्यकारी निर्देशक घिसिङको मूल्याङ्कन गर्न नसकिएको जानकारी दिनुभयो ।  पटकपटक आग्रह गर्दा पनि घिसिङले मन्त्रालयलाई अटेर गरेर म्याद सकिएपछि मूल्याङ्कन गर्न भन्दै आफैँले नम्बर तोकेर पठाएकाले समस्या भएको उहाँको भनाइ छ ।      डेडिकेटेड र ट्रङ्कलाइन बापत उठ्नपर्ने रु २२ अर्ब रकमसमेत प्राधिकरणको नाफाका रूपमा राखिएको पाइएको मन्त्री खड्काले बताउनुभयो । विभिन्न विषयका कारण प्राधिकरणको नाफा एकिन गर्न नसकिएको उल्लेख गर्दै उहाँले वास्तविकता पत्ता लगाएर मात्रै शेयर बिक्री गरिने जानकारी दिनुभयो ।       भारतबाट आयात गरिएको भन्दा नेपालबाट गरिने बिजुलीको निर्यात बढी हुने अवस्थामा पुगेको उल्लेख गर्दै मन्त्री खड्काले यस विषयमा आवश्यक अनुसन्धान गरिने बताउनुभयो । उहाँले नीति, नियम तथा कानुन सबैले मान्नुपर्नेमा जोड दिँदै ऊर्जा मन्त्रालय पनि सोहीअनुसारको व्यवहार गर्नरगराउन लागिरहेको स्पष्ट पार्नुभयो ।

महोत्तरी:  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई आत्मनिर्भरताको बाटोमा लैजानुको विकल्प नभएको बताउनुभएको छ ।       महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’को उद्घाटन गर्दै उहाँले औद्योगिक विकास र रोजगारी सृजनामा प्राथमिकता दिइने बताउनुभयो ।  उहाँले भन्नुभयो, “अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन । सहकार्यका माध्यमबाट युवाहरूले आँपको खेती विकास गर्न सक्छन्, यसमा प्रदेश सरकारहरु पनि अघि सरुन् ।”      प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयास बिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेको बताउनुभयो । उहाँले कागज उद्योग स्थापनाले चुलोचौकोमा सीमित सर्वसाधारणले सीप सिक्नुका साथै रोजगारी सृजना हुने बताउनुभयो ।  आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यस उद्योगले योगदान दिइ आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।       प्रधानमन्त्री ओलीले वर्तमान सरकार केवल सरकारका लागि नभएर  देश बनाउन आएको बताउनुभयो । उहाँले हुलाकी राजमार्ग, सुनकोसी मरिनलगायतका योजना छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।  उहाँले भन्नुभयो, “अब अराजकता, बलमिच्याँइ र जालझेल चल्दैन ।” उहाँले मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिनुभयो । आइएमई ग्रुपले स्थापना गरेको यस उद्योग सञ्चालनमा आएसँगै प्रयोग भइसकेका कागजबाट नेपालमै नयाँ कागज उत्पादन गर्न सकिने जनाइएको छ । जसका कारण कागज आयातमा कमी आउनेछ भने उद्योगले करिब तीन सयलाई रोजगारी दिने जनाएको छ । 

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण (ट्रायल)का लागि लगाउने भन्ने भनाइमा कुनै पनि सत्यता नरहेको स्पष्ट पार्नुभएको छ ।      पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोपको हालसम्म गरिएका अध्ययनअनुसार सुरक्षित पाइएको र यसको कुने नकारात्मक असर नदेखिएको उहाँले बताउनुभयो ।      राष्ट्रियसभाको आजको बैठकमा मौखिक प्रश्नको उत्तर दिने क्रममा मन्त्री पौडेलले भन्नुभयो, “यो खोपले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमणबाट सुरक्षित गराउँछ । यो खोप सुरक्षित र प्रभावकारी छ । यसबाट हालसम्म कुनै गम्भीर किसिमका असर वा घटना भएका छैनन् ।”      सांसद मदनकुमारी शाह (गरिमा)ले किशोरीलाई लगाइने यो खोप पूर्ण स्वास्थ्यका दृष्टिकोणबाट कति सुरक्षित छ? र यो खोप पुरुषलाई दिने प्रबन्ध सरकारले कहिले मिलाउने भनी प्रश्न गर्नुभयो ।  उत्तरमा मन्त्री पौडेलले अन्य राष्ट्रमा पुरुषलाई पनि दिने गरिएको बताउँदै यसबारे सहयोगी राष्ट्रबाट उपलब्ध हुन सक्छ की भन्नेमा गृहकार्य भइरहेको जानकारी दिनुभयो ।       गत माघ २२ गतेदेखि देशव्यापी रूपमा सुरूआत गरिएको अभियानमा हालसम्म १४ लाख किशोरीले यो खोप लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आगामी वर्षदेखि यसलाई नियमित खोपका रूपमा कक्षा ६ का छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई दिइनेछ । 

महोत्तरी:  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पल्प  एण्ड पेपर इण्डष्ट्रिज’को आज उद्घाटन गर्नुभएको छ । महोत्तरीको गौशालामा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गर्नुभएको हो ।  आइएमई ग्रुपले स्थापना गरेको यस उद्योग सञ्चालनमा आएसँगै प्रयोग भइसकेका कागजबाट नेपालमै नयाँ कागज उत्पादन गर्न सकिने जनाइएको छ । जसका कारण कागज आयातमा कमी आउनेछ भने उद्योगले करिब तीन सयलाई रोजगारी दिने जनाएको छ ।  नेपालमा वार्षिक करिब एक लाख ५० हजार मेट्रिकटन कागज खपत हुने गरेको छ ।

ललितपुर:   नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।      पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित नेपाल भूतपूर्व सैनिक सङ्घको छैठौँं केन्द्रीय महाधिवेशन उद्घाटन गर्नुहँुदै उहाँले सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भएमात्रै कांग्रेस पार्टी बलियो हुने चर्चा गर्नुभयो । उहाँले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र सुदृढ हुने र नेपाल समृद्ध मुलुक बन्नसक्ने बताउनुभयो ।      सभापति देउवाले भन्नुभयो  “लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुन्छ, सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए हाम्रो पार्टी बलियो हुन्छ । नेपाली कांग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्छ । यसमा विशेष ध्यान दिन मेरो अनुरोध छ ।”  उहाँले भूतपूर्व सैनिकका सेवा र सुविधाका विषयमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताउनुभयो । उहाँले गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको पनि जानकारी गराउनुभयो । गोरखा भर्तीका समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो ,“नेपालका भूतपूर्व सैनिक साथीको समस्या नभएको होइन, यसमा स्पष्ट छु । गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको छ । साथीहरुको सुझाव लिएर भोलिका दिनमा समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाइनेछ । नेपाली भूतपूर्व सैनिकमा पेन्सनको जुन विभेद् छ, त्यसप्रति म जानकार छु । समस्या समाधानका लागि हामी लागिरहनेछौँ ।”       पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले भूतपूर्व सैनिकको त्याग, तपस्या र बलिदानले नेपाली कांग्रेसले यो स्थान हासिल गर्न सफल भएको बताउनुभयो ।       उहाँले नेपाली कांग्रेसलाई थप व्यवस्थित बनाउन अनुशासनको व्यवस्थालाई प्रभावकारी बनाइनुपर्छ भन्नुभयो । लोकतान्त्रिक खेलकुद सङ्घको महाधिवेशन निर्देशक समितिका प्रमुख एवं केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले भूतपूर्व सैनिक सङ्घ पार्टीले भर गर्नसक्ने सङ्गठनका रुपमा विकसित हुन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।  उहाँले नेपाली सैनिकको नाम लिने वित्तिकै विश्वले शिर उच्च बनाउने अवस्था रहेको भन्दै पार्टीलाई पनि अनुशासित बनाउन महत्वपूर्ण योगदान दिन आग्रह गर्नुभयो । बस्नेतले सार्वजनिक खपतका लागि पार्टीभित्रको विषयलाई अनावश्यक उछाल्ने काम हुन नहुने भन्दै सैनिक सङ्घलाई बलियो बनाउँदा पार्टी बलियो हुने प्रष्ट पार्नुभयो ।      नेपाली कांग्रेसको महिला विभागको प्रमुख एवं केन्द्रीय सदस्य पुष्पा भुुसालले भूतपूर्व सैनिकले हरेक राजनीतिक उत्तरचढावमा काम गर्न, नेपालको पहिचान कायम राख्न ठूलो योगदान पु¥याएको बताउनुभयो ।  कांग्रेस केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले लोकतन्त्र प्राप्ति र पुनःप्राप्तिको आन्दोलनमा भूतपूर्व सैनिकको महत्वपूर्ण योगदान रहेको बताउँदै भूतपूर्व सैनिकले जानेको सीप र दक्षतालाई पार्टीमा उपयोग गरेर बलियो बनाउनुपर्छ भन्नुभयो । उहाँले पार्टीको अबको यात्रामा भूतपूर्व सैनिकको भूमिकालाई प्रभावकारी बनाइनुपर्छ भन्नेमा जोड दिनुभयो । सङ्घको राष्ट्रिय महाधिवेशन यही फागुनसम्म  २४ गतेसम्म चल्नेछ । 

ताप्लेजुङ:   ताप्लेजुङको सुकेटार विमानस्थलमा पछिल्लो समय हवाई सेवा ठप्प हुँदा यात्रु समस्यामा परेका छन् । सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायु सेवा निगमका दुईवटा जहाजमा समस्या आएपछि मङ्सिर अन्तिम सातादेखि नियमित उडान बन्द भएको हो ।      विमानस्थल कार्यालयका अनुसार एउटा जहाज दसैँदेखि बिग्रिएर मर्मत भइरहेको छभने अर्को जहाज पनि पुस पहिलो सातादेखि बिग्रिएर थन्किएको छ ।  लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारणले सेवा लिन पाएका छैनन् । यो विमानस्थलमा केही वर्षअघि सीता एयर र तारा एयरले पर्यटकीय मौसममा उडान भर्दै आएकामा हाल दुवैले सेवा बन्द गरेका छन् ।      नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजले दसैँअघि सातामा सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन नियमित उडान भर्दै आएकामा दसैँपछि शुक्रबार मात्रै उडान भइरहेको थियो ।       मार्च ४ (फागुन २० गते) देखि उडान पुनः सञ्चालन गर्ने आधिकारिक सूचना आएपनि जहाज नआएकाले सञ्चालन गर्न नसकिएको सुकेटार विमानस्थलका वरिष्ठ अधिकृत धर्मेन्द्र खनालले जानकारी दिनुभयो । उहाँका अनुसार मौसम कहिलेकाहीँ प्रमुख चुनौती भए पनि यस पटक मुख्य समस्या जहाज बिग्रिएर भएको हो ।       लामो समयदेखि हवाई सेवा बन्द हुँदा ताप्लेजुङको पर्यटन क्षेत्र प्रभावित भएको छभने स्थानीय बासिन्दा यात्राका लागि सास्ती खेप्न बाध्य भएका छन् ।  पर्यटकले हवाई सेवा लिन पाएका छैनन्, स्वास्थ्य उपचार तथा अन्य अत्यावश्यक कामका लागि काठमाडौँसहित अन्यत्र जानुपर्ने सर्वसाधरण झापा वा विराटनगरका विमानस्थलसम्म पुग्नुपर्ने बाध्यतामा छन् । यात्रुहरूको सहज आवागमनका लागि सम्बन्धित निकायले तत्काल आवश्यक पहल गर्नुपर्ने स्थानीयको माग छ ।

काभ्रेपलाञ्चोक:  काभ्रेपलाञ्चोक र बाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडा जोड्ने पुल ठेक्का लागेको आठ वर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।  काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ र मकवानपुरको बाग्मती गाउँपालिका–५ सिक्रेदोभानस्थित बागमती नदीमा उक्त पुल निर्माण गर्न ठेक्का लगाइएको थियो ।  दुई वर्षमा निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि हालसम्म पुल निर्माण नभएको हो । पुल निर्माणको ठेक्का लिएको महादेव–शिखर–तामाकोशी–जेभीले समयमा काम सम्पन्न नगरेपछि बर्षेनी प्रदेशस्थित भौतिक पूर्वाधार मन्त्रालयले ताकेता गर्दै आएको छ । सो पुल निर्माणका लागि भ्याटबाहेक रु ११ करोड ६५ लाखमा ठेक्का सम्झौता गरिएको थियो ।  तत्कालीन जिल्ला विकास समितिको कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७३/०७४ मा ठेक्का लगाएको पुल निर्माण नहुँदा खानीखोला र महाभारत गाउँपालिकाका नागरिकले प्रदेश राजधानी हेटौँडा आवतजावत गर्न सास्ती ब्यहोर्नुपरेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।  हालसम्म पिल्लर उठाउने, नदीको बीचमा ‘पाइलिङ’ र काभ्रेपलाञ्चोकतर्फको पिल्लरको पाइलिङ सकिएको छ । निर्माण कम्पनीले हालसम्म ३० प्रतिशत भौतिक काम सकिएको दावी गर्दै आएको छ ।  “दुई घण्टामा खानीखोलाको केन्द्र तालढुङ्गाबाट प्रदेश राजधानी हेटौँडा पुगिन्छ, त्यसैले यहाँ पुल बनेमा निकै सजिलो हुने थियो,” स्थानीयवासी रामप्रसाद तिमल्सिनाले भन्नुभयो । निर्माण व्यवसायी खड्ग गोपालीले सडक नभएको स्थानमा पुल निर्माणको ठेक्का लगाइएकाले सामग्री ढुवानीका लागि पहिला सडक बनाउँदा केही ढिलाइ भएको बताउनुभयो ।  बागमती प्रदेशका मूख्यमन्त्री बहादुरसिं लामा र भौतिक पूर्वाधार विकास मन्त्री अमनलाल मास्केले उक्त पुल निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनुभएको छ । महाभारत,  खानिखोला र बागमती गाउँपालिकाको टोलीले बुधबार मुख्यमन्त्री लामालाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।  सो अवसरमा मूख्यमन्त्री लामाले भौतिक मन्त्री मास्केलाई उक्त पुललाई चाँडो सम्पन्न गर्नेगरी प्रक्रिया अघि बढाउन निर्देशन दिनुभयो । उहाँका अनुसार मन्त्री मास्कले आपूmले प्रदेशका रुग्ण योजना पहिचान गरी २९ वटालाई गति दिएको र तीन योजना सम्पन्न भएको बताउनुभयो ।   

पाल्पा:  जिल्लाको रम्भा गाउँपालिका–२ स्थित रानीबास फोक्सिङ्गकोटका धनबहादुर सारु ज्याला मजदूरी गरेरै परिवारको गुजारा गर्नुहुन्थ्यो । आफूसँग भएको आधा विघा जमिनले खान पनि नपुग्ने भएकाले उहाँ गाउमै खेतीपाती र अन्य काममा मजदूरी गर्दै आउनुभएको थियो ।  त्यही मजदूरीको भरमा सारुले आठ जनाको परिवार पाल्नुभएको थियो । पर्यटकीय स्थल फोक्सिङ्गकोट नजिकै वस्तीमा बसोबास गरिरहनुभएको उहाँले हाल मजदूरी गर्न छाड्नुभएको छ । केही समययता उहाँको वस्तीमा होमस्टे (घरवास पर्यटन) सञ्चालन भएपछि अर्काकोमा मजदूरी गर्नुपर्ने बाध्यता हटेको उहाँ बताउनुहुन्छ ।  सारु मजदूरी छाडेर होमस्टेकै व्यवस्थापन र पाहुनाको स्वागतमा लाग्नुभएको छ । होमस्टेबाट राम्रै आम्दानी हुने भएपछि उहाँ उत्साहित हुनुहुन्छ । यस्तै स्थानीय रनबहादुर सारुले गाउँमै होमस्टे सञ्चालन भएपछि आफूहरुका लागि आयआर्जन पनि हुने र आफ्नो कला, संस्कृतिलाई चिनाउने अवसर समेत मिल्ने भन्दै खुसी व्यक्त गर्नुभयो । धनबहादुर र रनबहादुर मात्र होइन, यहाँका वासिन्दा होमस्टे सञ्चालनमा आएपछि उत्साहित भएका छन् ।  आफ्नो कला, संस्कृति, रीतिरिवाजसहितको पहिचान खोजिरहेको अवस्थामा होमस्टे सञ्चालन जनजाति समुदायका लागि एउटा अवसर हुने स्थानीय टेकबहादुर पुनले बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘होमस्टे सञ्चालनबाट हामीले आफ्नो कला, संस्कृति चिनाउन पाउनेछौँ । मगर, जनजाति समुदायको पहिचानको प्रचार–प्रसार हुनेछ ।’ बाहिरका मानिसलाई आफ्नो चालचलनअनुसार जे जे खानेकुरा छ, बनाएर खुवाउन र आफ्नो सांस्कृतिक पहिचान देखाउनुको साथै दुई÷चार पैसा आम्दानीको लागि होमस्टे राम्रो माध्यम बन्ने पुनको भनाइ छ ।  पर्यटन प्रवर्द्धनका साथै आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले केही दिन अघि गाउँपालिकाको पहलमा स्थानीयले ‘रानीबास सामुदायिक होमस्टे’ सञ्चालनमा ल्याएका छन् । होमस्टे सञ्चालन भएपछि पर्यटक पनि आकर्षित हुन थालेका छन् । समुद्र सतहदेखि करिब एक हजार २०० मिटर उचाइमा रहेको फोक्सिङ्गकोट गाउँमा पुग्ने पर्यटकले रानीबास गाउँबीचमा रहेको चुर्कीथान, माछापुच्छे्र, अन्नपूर्ण, धवलागिरी हिमालसँंगै अन्य हिमश्रृङ्खला, स्याङ्गजाको गल्याङ्ग बजार, रिमीघा लेक र टिमुरडाँडा, आर्यभञ्ज्याङ्ग, तानसेनको श्रीनगर, सिद्धार्थ राजमार्ग, कालीगण्डकी करिडोर, कालीगण्डकी नदी, राम्दीपुललगायतका मनमोहक दृश्य अवलोकन गर्न पाउनेछन् ।  होमस्टेमा बास बस्ने पर्यटकहरुले स्थानीय झामे्र नाँच, मारुनी नाच, सालैजो, कौडा, ठूलो नाच, पञ्चेबाजा कला, संस्कृतिसमेतको आनन्द लिन पाउनेछन् । होमस्टेमा आउने पर्यटकलाई प्रतिव्यक्ति एक हजार बराबर खर्चमा प्याकेजको व्यवस्था मिलाइएको छ ।  कुखुराको मासुसहित दुई छाक खाना, एक नास्ता र बस्नका लागि प्याकेजमा सुविधा रहेको छ । यहाँ स्थानीय उत्पादनका परिकार खुवाइन्छ । पर्यटकको मागअनुसार कोदोको ढिंडो, रोटी, मकैको आँटो, गुन्द्रुक, स्थानीय जातका कुखुराको मासु, स्थानीय प्रजातिको सुँगुरको मासु, बटुक, सेलरोटीलगायका परिकारको स्वाद लिन पाइने होमस्टे सञ्चालक समितिकी अध्यक्ष देउकुमारी सारुले बताउनुभयो । होमस्टे पुग्ने पर्यटकहरुको लागि अवलोकन गर्न जनजाति सङ्ग्रहालय समेत निर्माण गरिएको छ । यहाँ जनजातिका परम्परागत सिप, कला, कौशलका सरसमान व्यस्थितरूपमा सजाएर राखिएका छन् ।  साथै, मगर समुदायको भेषभुषा, ऐतिहासिक माटो र काठले बनेका भाँडा, हतियार, दैनिक जीवनमा प्रयोग हुने प्राचिन सामान सङ्ग्रहालयमा राखिएका छन् । परम्परागत र आधुनिक सीपकलाको मिश्रणबाट सङ्ग्रहालय भवनलाई कुडुले घरको रूपमा निर्माण गरिएको छ । भवन तथा सङ्ग्रहालय निर्माणको लागि केन्द्र सरकार पर्यटन मन्त्रालय र स्थानीय सरकारको रु एक करोड १५ लाख खर्च भएको छ ।  अहिले फोक्सिङ्कोटमा ९३ घरपरिवार मगर रहेका छन् । तीमध्ये १६ घरमा होमस्टे सञ्चालन गरिएको छ भने अन्य घरमा पनि विस्तार गर्ने योजना रहेको रानीबास होमस्टे सञ्चालक समितिले जनाएको छ ।  यहाँ रैथाने बालीको नियमित उत्पादन, परम्परागत कला, संस्कृतिको जीवन्तता, प्राकृतिक सौन्दर्यता र एकै किसिमको मगर बस्ती भएका कारण नै गाउँपालिकाले होमस्टे सञ्चालनमा सक्रियता देखाएको पालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । आफ्नै घरमा पाहुनालाई राखेर आफँैले उत्पादन गरेको वस्तुबाट बनाएको खानाको परिकार बिक्री गरी स्थानीय मानिसले आम्दानी गर्ने यो एक भरपर्दो र सजिलो माध्यम पनि हो । होमस्टेमा आउने पाहुनाले केही न केही रकम खर्च गर्दछन् । सामान्य आयस्तर भएका मानिसका लागि यो आर्थिक अवसर पनि हो ।  होमस्टेमा आउने पाहुनाले देख्ने दृश्य, वातावरण, संस्कृति र मानिसले गर्ने सेवासमेतको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मूल्य तिरिरहेका हुन्छन् । यसले गर्दा पर्यटक आउँदा सहरका ठूला होटल र ठूला पर्यटन व्यवसायीले मात्र लाभ प्राप्त गर्ने होइन कि एउटा सामान्य दूरदराजमा बस्ने मानिसले पनि पर्यटनको महत्व बुझ्दै आर्थिक अवसर प्राप्त गर्दछ । यसबाट सामान्य ग्रामीण क्षेत्रमा बसोवास गर्ने मानिसले समेत पर्यटनको माध्यमबाट केही न केही आयआर्जन गर्न सक्छन् ।  होमस्टे ग्रामीण पर्यटन विकासका लागि महत्वपूर्ण पूर्वाधार हो । ग्रामीण समुदाय अझ विशेषगरी आर्थिक तथा सामाजिक वञ्चितीकरणमा पारिएका महिला, आदिवासी जनजाति तथा अल्पसङ्ख्यक समुदायलाई आर्थिक सशक्तिकरण गरेर विकासको मूलधारमा ल्याउन होमस्टेले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । त्यसैले होमस्टे स्थापना तथा प्रवर्द्धन सङ्घीय, प्रदेश तथा स्थानीय सरकार सबैको चासो र प्राथमिकताको विषय भएको छ । नेपालमा होमस्टेको प्रचलन परम्परागत भए पनि पछिल्लो समयमा यसलाई कार्यविधि नै बनाएर व्यवस्थित गर्न खोजिएको छ । अहिले होमस्टे कार्यविधि २०६७ ले निर्देश गरेअनुरूप नै सञ्चालनमा छन् ।  पर्यटकलाई ग्रामीण क्षेत्रको वास्तविक अनुभूति गराउने र पर्यटनको माध्यमबाट दूरदराजका मानिसको आयआर्जन तथा रोजगारीको अवस्थालाई दिगो विकाससँग जोडी पर्यटनमैत्री वातावरण बनाउने यस कार्यविधिको उद्देश्य रहेको छ ।  होमस्टेले सबै प्रकारका पाहुनाहरूलाई बस्नको लागि वैकल्पिक र किफायती ठाउँ प्रदान गर्दछ । जहाँ प्रकृति र संस्कृतिको भरपुर आनन्द लिन सकिन्छ । अहिले नेपालमा तीनै तहका सरकारले होमस्टेलाई महत्वका साथ हेरेको पाइन्छ ।     यहाँ घरवास सञ्चालनमा आएसँगै यस क्षेत्रका सांसद तथा मन्त्रीसमेतले चासो व्यक्त गरेका छन् । उनीहरुले होमस्टेको दिगो विकासका लागि आपूmले आवश्यक सहयोग गर्ने बताएका छन् ।  यहाँका नागरिकको आम्दानीको स्रोत होमस्टे बन्न सक्ने भन्दै उनीहरुले आवश्यक भौतिक पूर्वधार निर्माणमा आपूmहरुको सहयोग रहने स्थानीयसँग प्रतिवद्धता जनाएका छन् ।  पाल्पा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले ग्रामीण पर्यटन विकासको लागि होमस्टे कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । होमस्टेको कारण फोक्सिङ्खकोटको विकासमा महत्वपूर्ण योगदान पुग्ने समेत उहाँले विश्वास व्यक्त गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘‘अब फोक्सिङ्खकोटमा आउने मोटरबाटो स्तरोन्नति हुनेछ, पर्यटकीय पूर्वाधारहरु निर्माण हुनेछन् ।’ सङघ, प्रदेश र स्थानीय सरकार मिलेर फोक्सिङ्खकोटको विकासमा अगाडि बढ्ने समेत सांसद आचार्यले बताउनुभयो ।  लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले होमस्टे सञ्चालन हुनु राम्रो पक्ष भएकाले पाहुनाहरुलाई सन्तुष्टि गराउन सके यहाँका वासिन्दा घरमै बसीबसी आम्दानी गर्नसक्ने बताउनुभयो ।  ‘‘हामी सबैको चाहना गाउँलाई सुखी सम्बृद्धि बनाउने भएकाले स्थानीय उत्पादन, स्थानीय कला, संस्कृति र प्राकृतिक अवलोकनको अभियानबाट नै गाउँमा प्रशस्त आम्दानी गर्न सकिन्छ’’ उहाँले भन्नुभयो । होमस्टे कार्यक्रमको लागि आवश्यक पर्ने पूर्वाधार, तालिम, तथा प्रचार–प्रसारमा प्रदेश सरकारको सहयोग रहने मन्त्री सारुले बताउनुभयो । उहाँले मगर समुदायको संस्कृतिको संरक्षण र स्थानीयलाई घर खर्च चलाउन होमस्टे उपयुक्त माध्यम बन्ने समेत विश्वास व्यक्त गर्नुभयो ।  होमस्टेलाई एउटा शुद्ध व्यापारका रूपमा मात्र नबुझेर संस्कृति, परम्परामा आधारित पर्यटन सेवा हो भन्ने होमस्टे सञ्चालक, होमस्टेमा बास बस्न आउने अतिथि पर्यटक तथा नीति निर्माताले बुझ्नुपर्छ । होमस्टे ग्रामीण पर्यटनको पूर्वाधार मात्र नभएर, समुदायको एकीकृत विकासको महत्वपूर्ण अङ्ग पनि हो ।  यसलाई एकीकृत विकासको अवधारणाअनुसार दीर्घकालीन सोचसाथ अगाडि बढाउन सकिएमा समुदायलाई सामाजिक र आर्थिक समृद्धिको पथमा डो¥याउन सकिन्छ ।  स्थानीय सामाजिक, साँस्कृतिक रहनसहन तथा वातावरणीय सम्पदालाई पर्यटन व्यवसायसँग जोडेर समुदायमा स्वरोजगारको अवसर सिर्जना गर्न र ग्रामीण अर्थतन्त्र सबलीकरण गरी देशको आर्थिक समृद्धिको अभियानमा होमस्टेले सशक्त भूमिका खेल्न सक्छ ।