काठमाडौं: पुराण वाचक, ज्योतिषी कर्म गर्ने र कर्मकाण्ड गर्ने ब्राह्मणको परीक्षा लिएर अनुमतिपत्र दिने तयारी सुरु भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको भीड लागेको छ । प्रशिक्षण लिन चाहनेको भीड लागेपछि यही महिनाको अन्तिमदेखि छ महिने कार्यक्रम सुरु गर्न लागिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । ज्योतिष र कर्मकाण्ड प्रशिक्षण लिन चाहनेहरु समितिमा आएर सोधपुछ गर्न थालेपछि सूचना निकालेर यही महिनाको अन्तिमदेखि प्रशिक्षण दिन लागिएको हो । समितिमा आफैँ खोजी गर्दै २० जना प्रशिक्षार्थी आएको समितिले जनाएको छ । प्रशिक्षण लिन चाहनेमध्ये महिला र अपाङ्गलाई छुटको व्यवस्था पनि गर्न लागिएको उहाँले सुनाउनुभयो । ज्योतिष प्रशिक्षण लिन भने जनजाति र दलित पनि आउने गरेको समितिले जनाएको छ । कर्मकाण्ड प्रशिक्षणमा भने महिलाको पनि रुचि हुने गरेको छ । छ महिने प्रशिक्षणको रु १५ हजार शुल्क तोकिएको कार्यकारी निर्देशक ढुङ्गेलले बताउनुभयो । यसमा थप परीक्षा शुल्क पनि लिइने जनाइएको छ । कथावाचक, ज्योतिषी र कर्मकाण्ड गर्ने पुरोहितलाई नियमन गर्न, करको दायरामा ल्याउन पनि अनुमतिपत्र लिनुपत्र उपयुक्त हुने भनी तयारी भइरहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।
तनहुँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताउनुभएको छ । तनहुँको डुम्रेमा आजदेखि सुरु हुने डुम्रे सांस्कृतिक महोत्सवको उद्घाटनका लागि आउनुभएका मन्त्री खड्काले सञ्चारकर्मीसँगको भेटमा एउटा कर्मचारीलाई हटाउन सरकारले कुनै चलखेल नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ र सरकारलाई आवश्यकता भएको बेला हटाउन सक्छ, आवश्यकताअनुसार कर्मचारी राख्न पनि सक्छ ।” मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणलाई योगदान पु¥याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिने उल्लेख गर्नुभयो । नेपाल विद्युत् प्राधिकरणलाई कार्यसम्पादन मूल्याङ्कनमा शुन्य अङ्क किन भन्ने सञ्चारकर्मीसँगको प्रश्नमा मन्त्री खड्काले भन्नुभयो, “विद्यार्थी जाँचमा उपस्थिति नहुँदा के हुन्छ, यसमा पनि त्यही भएको हो । समयमै कार्यसम्पादन नबुझाएकाले अङ्क प्राप्त गर्न नसक्नुभएको हो ।”
बैतडी: बैतडीबाट भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित एक जना पक्राउ परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–८ चौरथली कालागाउका ५१ वर्षीय पाल विष्ट भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताउनुभयो । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तल्लादेहीबाट खटिएको टोलीले भरुवा बन्दुक, बन्दुकमा लाग्ने सिसाका सात राउण्ड गोली, दुई थान घोरलको छाला, दुई थान रतुवाको छालासहित विष्टलाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । मङ्गलबार दिउँसो विष्टको घरमा खोजतलास गर्दा भरुवा बन्दुक र जङ्गली जनावरको छाला फेला परेपछि निजलाई पक्राउ गरिएको बडूले बताउनुभयो । विष्टले इजाजत बिना घरमा बन्दुक राखेको पाइएपछि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनमा राखिएको उहाँले जानकारी दिनुभयो ।
बलेवा: ठूलो पक्की भवनको घेराले विद्यालय प्राङ्गण छेकिएको छ । साँघुरो जग्गामा दाताको भरमा बनेका भवन उत्तरतर्फ विद्यालय प्राङ्गण र दक्षिणतर्फ सार्वजनिक सडकसँग जोडिएका छन् । झट्ट हेर्दा लाग्छ यहाँ सटरको भाडाले मात्रै विद्यालयले मनग्ये आम्दानी गरिरहेको छ । विद्यार्थीका लागि आवश्यक सबै पूर्वाधार बनिबनाउ छन्, विद्यालयमा अभाव केहीकुरामा नहोला, तर २३ जिल्लाका विद्यार्थीले अध्ययन गर्ने यही विद्यालयमा न खेलमैदान छ न पर्याप्त शौचालय र अन्य पूवार्धर नै । बागलुङ जिल्लाको पुरानोमध्येको एक सामुदायिक विद्यालय हो विद्यामन्दिर । विद्यार्थी अभावले सामुदायिक विद्यालय रित्तिदै गइरहेका बेला बागलुङ नगरपालिका–३ स्थित विद्यामन्दिर माध्यमिक विद्यालय भने पछिल्लो समय उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा परिचित छ । तेइस जिल्लाका एक हजार तीन सय ९६ विद्यार्थीले पठनपाठन गरिरहेका यो विद्यालयमा भने खेलमैदान र शौचालयको अभाव छ । दक्षिणतर्फको भव्य भवनमा पाँचवटा सटर सार्वजनिक सूचना गरेर भाडामा लगाउन सकिने अवस्थामा छन् । विद्यालयले एउटामात्रै सटर भाडामा दिएको छ । जसको मासिक भाडा रु दश हजार आउने विद्यालय प्रशासनले जनाएको छ । “भाडाको रकम जे जति उठ्छ त्यो सबै भवन बनाइदिएका दाताका नाममा वार्षिकोत्सवमा विद्यार्थीलाई छात्रवृत्ति दिने गरिएको छ”, विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मीले भन्नुभयो, “विद्यालयका अन्य आर्थिक स्रोतहरूबाट निजी स्रोतका शिक्षकको तलबभत्तालगायत खर्च हुन्छन् ।” उहाँका अनुसार विद्यालयमा पर्वत, म्याग्दी, मुस्ताङ, कास्की, स्याङ्जा, रुकुम, रोल्पा, जाजरकोट, मुगु, सुर्खेत, लमजुङ, गोरखा, रामेछाप, दोलखा, सर्लाही, रौतहत, पूर्वनवलपरासी, सिन्धुली, धादिङ, खोटाङ, बागलुङ, नुवाकोट र बारा जिल्लाका विद्यार्थीले अध्यापन गर्दै आएका छन् । “विसं १९९७ मा स्थापना भएको विद्यालय २०७२ सालको भूकम्पमा पठनपाठन गराउँनै नसकिने गरी ठाउँठाउँमा चर्कियो । जसोतसो दाताको सहयोगमा विद्यालय अहिले सुविधासम्पन्न पक्की भवनमा ठडिएको छ”, प्रअ रेग्मीले भन्नुभयो । उहाँका अनुसार विसं २०७३ मा लगाइएको महायज्ञबाट सङ्कलित रु छ करोड २८ लाखबाट २८ कोठे पक्की भवन बनाइएको हो । ब्रिटिस वेलफेयरले रु एक करोड ३९ लाख खर्चेर आठ कोठे भवन समेत निर्माण गरिदिएको छ । यस्तै, स्थानीय समाजसेवी श्रीजय श्रेष्ठ, मनोविज्ञान श्रेष्ठ, कृष्णशङ्कर श्रेष्ठ, गणेशशङ्कर श्रेष्ठ र प्रवीणशङ्कर श्रेष्ठले रु २८ लाख खर्चेर तीनकाठे भवन निर्माण गरिदिनुभएको छ । भौतिक पूर्वाधारले सम्पन्न विद्यालयमा विद्यार्थी सङ्ख्याको अनुपातमा पर्याप्य खेलमैदान र शौचालयको भने अभाव छ । करिब १४ सय विद्यार्थी र ९० जना शिक्षक तथा कर्मचारीले प्रयोग गर्ने शौचालय १३ वटा छन् । यति धेरै विद्यार्थीले प्रयोग गर्ने शौचालय थोरै हुँदा सास्ती खेप्नुपरेको विद्यालयका प्रधानाध्यापक रेग्मीले दुखेसो पोख्नुभयो । देख्दा स्रोत सम्पन्न देखिने विद्यालयभित्र दर्दनाक समस्याहरू झेल्नुपरेको उहाँको गुनासो छ । खाजा खाने समयमा एकैपटक धेरै विद्यार्थीले शौचालय प्रयोग गर्न लामो समय लाइनमा बस्नुपर्दा पढाइ नै प्रभावित हुने गरेको प्रअको भनाइ छ । जग्गा अभावका कारण विद्यालय भवनको छतमा शौचालय बनाउन सकिने प्राविधिकले सुझाए पनि आर्थिक अभाव हुँदा तत्काल शौचालय बनाउन नसकिएको रेग्मीले बताउनुभयो । “खेलमैदान अपर्याप्त र साँघुरो छ, विद्यार्थी सङ्ख्या धेरै छ, बालकक्षादेखि १२ कक्षासम्मका विद्यार्थी त्यही मैदानमा भर पर्दा बालबालिकालाई चोटपटक लाग्ने गरेका धेरै घटना छन्”, उहाँले भन्नुभयो, “बागलुङ बजारको जग्गा किन्न सक्ने अवस्था नहुँदा अतिरिक्त क्रियाकलाप आलोपालो गरेर सञ्चालन गर्नुपर्ने अवस्थामा छौँ ।” नजिकमा रहेका जग्गा भाडा लिएर पर्याप्त खेलमैदान बनाउन सके विद्यार्थी खुल्ला वातावरणमा स्वतन्त्र रूपमा खेल पाउने रेग्मीको भनाइ छ । हिउँदमा धुलैधुलोले नजिकै रहेको चमेनागृहमा खाजा खादा हातले प्लेट छोपेर खानुपर्ने उहाँले बाध्यता सुनाउनुभयो । “वर्षामा मैदान हिलाम्य हुँदा बिहानको सभा समेत राम्रोसँग गर्न सकिएको छैन”, उहाँले भन्नुभयो । खेलमैदानको समस्या लिएर गण्डकी प्रदेशको अर्थ, पूर्वाधार, सामाजिक विकास मन्त्रालय धाए पनि कहीँकतैबाट सुनुवाइ नभएको गुनासो गर्दै प्रअ रेग्मीले भन्नुभयो, “विद्यालयको आन्तरिक स्रोतबाट मैदान व्यवस्थापन गर्ने बजेट छैन, प्रदेशदेखि सङ्घीय मन्त्रालय धाउँदा आश्वासन मात्रै पाइयो, बजेट कतैबाट पाइएको छैन ।” उहाँका अनुसार विद्यालयले आफ्नो सेवा क्षेत्रभन्दा टाढाका विद्यार्थीलाई आवास र आवातजावतको व्यवस्था गर्न सकिरहेको छैन । गरिब तथा विपन्न विद्यार्थीका लागि सहयोग र छात्रवृत्तिको अभाव हुँदा विद्यालय छाड्ने समस्या पनि उत्तिकै रहेको उहाँको भनाइ छ । विद्यालयमा घेराबार नहुँदा गत वर्ष सुरक्षाका लागि जडान गरिएको सिसीक्यामेरा चोरी भएको थियो । घेराबार नहुँदा विद्यार्थी भागेर जाने अवस्था र अर्कोतिर अनावश्यक व्यक्तिहरु प्रवेश गर्दा विद्यालय असुरक्षित बनेको रेग्मीले बताउनुभयो । “तारबार नहुँदा विद्यालयका कतिपय महत्वपूर्ण सामग्री जोगाउन हामीलाई हम्मेहम्मे परेको छ”, उहाँले भन्नुभयो । शौचालयपछि विद्यालयले झेल्दै आएको अर्को समस्या भनेको खानेपानीको हो । गर्मीयाम लागेसँगै विद्यार्थीलाई खानेपानीको कसरी जोहो गर्ने भन्ने विषयले विद्यालय प्रशासनलाई सधैँ सताउने गरेको छ । युरोगार्डमार्फत खानेपानीको व्यवस्था गरे पनि त्यो पर्याप्त नभएपछि ३ नं वडा कार्यालयको पहलमा रात्माटाबाट मूलको पानी आपूर्ति गर्ने तयारी गरिएको प्रअ रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँदयाममा कम हुने मूलको पानीलाई ट्याङ्की निर्माण गरी सङ्कलन गर्नेलगायत व्यवस्थापकीय काम गर्न भने बाँकी छ । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा हरेक वर्ष सतप्रतिशत नतिजा दिँदै आएको विद्यालयले गत वर्षको १२ कक्षाको बोर्ड परीक्षामा विज्ञान सङ्कायतर्फ साविक धौलागिरि अञ्चलमा प्रथम स्थान हासिल गर्न सफल भएको थियो । विसं २०८३ सम्म दुई हजार विद्यार्थी सङ्ख्या पु¥याउने लक्ष्य लिएको विद्यालयले अङ्ग्रेजी माध्यममा अध्यापन गराउने आन्तरिक स्रोतका शिक्षकको व्यवस्थापनमा आर्थिक समस्या झेल्दै आएको छ । विद्यालयमा कक्षा १० सम्म अध्यापन गराउने राहत, करार र आन्तरिक स्रोतका शिक्षकको सङ्ख्या २० रहेको छ ।
झापा: पचहत्तर वर्षको उमेरमा नागरिकता प्रमाणपत्र पाउँदा मेचीनगर नगरपालिका–२ की नीरकुमारी राईको हर्षको सीमा रहेन । नागरिकता पाउनुलाई उहाँले जीवनकै सबैभन्दा ठूलो धोको पूरा भएको बताउनुभयो । “नातिले नागरिकता पाउने बेला भइसक्यो, मेरो बनेको थिएन”, हालै पाएको नागरिकता देखाउँदै उहाँले भन्नुभयो, “बनाइदेउ न भनेर बुढालाई धेरैचोटी भनेँ, आफन्त र नातागोता गुहारेँ । नागरिकताले भात खान दिने होइन क्यारे, बुढेसकालमा किन चाहियो भन्दै सबै तर्किए । वडाध्यक्षले बल्ल अहिले बनाइदिनुभयो ।” नीरकुमारीका पति सन्तमान राईको पाँच वर्षअघि निधन भइसकेको छ । चार कट्ठा पाखोबारीमा खनीखोस्री नातिनातिना हुर्काउँदै आउनुभएकी उहाँका तीन छोराको पेट पालनका लागि रोजगारी गर्न भारतको बैंगलोर गएका छन् । नीरकुमारीका पति सन्तमानको नागरिकता थियो । छोराहरुको पनि नागरिकता छ । तर, पतिकै बेवास्ताका कारण आफूले यतिका वर्षसम्म नागरिकता नपाएको उहाँको गुनासो छ । घर नजिकैको भृकुटी र बाहुनडाँगी बजारमा नागरिकता बनाउने टोली पटकपटक आउँदा समेत उहाँको नागरिकता बनाउने पहलै भएन । नागरिकता बनेपछि हर्षित नीरकुमारीले पहिलोपटक सामाजिक सुरक्षा भत्ता पाउनुभएको छ । जग्गाको स्वामित्व पतिबाट आफ्नो नाममा सार्ने उहाँको इच्छा छ । तीन छोरामध्ये जेठो राजकुमार घर छुट्टिएर बस्दै आएको उहाँले बताउनुभयो । माइलो विजय राई र कान्छो पविराम राई रोजगारीका लागि बैंगलोर गएका छन् । जेठी बुहारीको मृत्यु भइसकेको, माइली बुहारीले घर छाडेर हिँडेको र कान्छो छोरा अविवाहित भएको जनाउँदै उहाँले नातिनातिना पढाएर माइलो छोराको घरमा बस्दै आएको बताउनुभयो । वडा कार्यालयले अपाङ्गता भएर बोल्न नसक्ने, सुन्न नसक्ने, आँखा नदेख्ने र एकल जीवन बिताइरहेका ज्येष्ठ नागरिकहरुको नागरिकता बनाइदिने अभियान चलाएको छ । सोही क्रममा नीरकुमारी राईको आफूले सनाखत गरेर नागरिकता दिलाएको वडाध्यक्ष दीपक बरालले बताउनुभयो । “जसको कोही छैनन्, उसका लागि वडा कार्यालय छ”, वडाध्यक्ष बराल नागरिकता अभियानबारे भन्नुहुन्छ, “सनाखत गर्ने मान्छे ल्याउनुप¥यो भनेर सिडिओहरु नागरिकता दिन आनाकानी गर्नुहुन्छ । गलत व्यक्तिलाई सिफारिस गरेको रहेछु भने मलाई लगेर थुनिदिए हुन्छ भन्दै मैले नै उहाँहरुको सनाखत गरिदिने गरेको छु ।” सनाखत गरिदिने नातेदारको निधन भइसकेको र सम्पर्कमा नरहेको अवस्थामा कोही पनि वडावासी ज्येष्ठ नागरिकहरुले आफ्नै थाकथलोमा अनागरिकको पीडा भोग्नु नपरोस् भनेर वडाले सिफारिस र वडाध्यक्षको तर्फबाट सनाखत गरिदिएको बराल बताउनुहुन्छ । सुस्तश्रवण, दृष्टिविहीन र आफन्त गुमाइसकेका दशजना ज्येष्ठ नागरिकको चालु आर्थिक वर्षमै सिफारिस दिएर नागरिकता दिलाइसकेको उहाँले जानकारी दिनुभयो । त्यस्ता व्यक्तिहरुको नागरिकता बनाउने क्रममा वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय धाउने खर्च समेत वडाले बेहोर्ने गरेको छ । आर्थिकरुपमा विपन्न परिवारकै ज्येष्ठ बुबाआमाहरु नागरिकता बनाउनबाट वञ्चित रहेको आफूले पाएको उहाँले बताउनुभयो । त्यहीकारण उनीहरुको नागरिकता बनाउँदा लाग्ने खर्च वडा कार्यालयको तर्फबाटै बेहोरिएको उहाँको भनाइ छ । आफन्त गुमाइसकेका सोही वडाका केशरबहादुर राईले ८६ वर्षको उमेरमा हालै नागरिकता पाउनुभयो । वडाध्यक्ष बराल आफैँले सिफारिस र सनाखत गरेर उहाँको पनि नागरिकता बनेको हो । विसं २०१८ मा पहाडबाट तराई झरेका केशरबहादुर मेचीनगरको बाहुनडाँगी आउँदा २२ वर्षको लक्का जवान हुनुहुन्थ्यो । उमेर पुगे पनि उसबेला नागरिकता बनाउने चलन थिएन । बिहे गरेर पत्नीसहित उहाँ रोजगारीको खोजीमा बाहुनडाँगीबाट भौतारिँदै भारतको आसाम पुग्नुभयो । विसं २०२४ मा आसामबाट थाकथलो बाहुनडाँगीमै फर्किनुभयो । “उमेर छउञ्जेल गरिखान बलियो पाखुराले पुगिहाल्यो, सन्तान नभएपछि नागरिकता बनाउनेतिर लागिएन”, उहाँले भन्नुभयो । पत्नीको मृत्युपछि एक्लो जीवन बिताइरहेका उहाँसँग बुढेसकालमा न सन्तानको सहारा थियो, न त नागरिकता नै आधार । आसामबाट फर्केर आएपछि पत्नीको मृत्यु बाहुनडाँगीमै भएको उहाँले बताउनुभयो । अर्काको घरखेतमा ज्यालादारी काम गरेर जीवन बिताउँदै आउनुभएको उहाँको आफ्नो जग्गा छैन । रात काट्नका लागि चौबाटोको कुनोमा सानो झुपडी बनाएर उहाँ बस्दै आउनुभएको छ । ज्येष्ठ नागरिकको सम्मान र पहिचानका खातिर आफूले केशरबहादुरको नागरिकता बनाउने पहल गरेको वडाध्यक्ष बरालले बताउनुभयो । नागरिकता पाएपछि उहाँको जीवनमा खुसीको उमङ्ग छाएको छ । आफ्नो झुपडीमा बलियो झ्यालढोका नभएको कारण नागरिकता नहराओस् भनेर उहाँले छिमेकीको घरमा जतनका साथ राख्न दिने गरेको बताउनुभयो । “मर्ने बेलामा नागरिकता त साथमा भयो नि”, दशमुजा परेको अनुहारमा चमक छर्दै केशरबहादुर भन्नुहुन्छ, “गाउँका अरुले त चाहिँदैन तिमीलाई नागरिकता भनेर टिप्पा खेलाउँथे । वडाध्यक्ष बराल बाबुले चाहिँ हिँड्नुहोस् म बनाइदिन्छु भनेर घरमै लिन आउनुभयो ।” बुढेसकालमा ज्यालादारी काम गर्न नसकेर कयौ रात भोकै सुतेका केशरबहादुरले वृद्ध भत्ता थाप्न थालेपछि खान र लाउन चिन्ता गर्नुपरेको छैन । वडाका जनप्रतिनिधिले अशक्त ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता घरघरै पु¥याइदिने गरेका छन् । गाउँबस्ती पुग्ने क्रममा अर्काको घरमा आश्रय लिएर बसेका बोल्न नसक्ने र कान नसुन्ने थुप्रै बुढाबुढीहरुको विजोग देखेको र उनीहरुसँग नागरिकता समेत नरहेको थाहा पाएपछि नागरिकता प्रमाणपत्र बनाइदिने सोच उब्जिएको वडाध्यक्ष बराल बताउनुहुन्छ । आफन्तले हेरचाह नगरिदिदा दुःख बिमार भएका बेला चन्दा उठाएर अस्पताल पु¥याउनुपर्ने अवस्थाका उनीहरुले नागरिकता पाएपछि सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य बिमामार्फत उपचार सुविधा नियमित रुपमा पाइरहेको वडाध्यक्ष बरालले बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले व्यक्तिको अवस्था होइन, प्रमाण हेरेर नागरिकता दिइने बताउनुभयो । प्रमाणले नागरिकता पाउन योग्य वृद्धवृद्धाको नागरिकता बनाउन सकिने उहाँले बताउनुभयो । “नेपालमा वंशज, जन्म, विवाह र गैरआवासीय पहिचानका आधारमा नागरिकता दिइने कानुनी व्यवस्था छ”, सहायक प्रजिअ नेपालले भन्नुभयो, “उमेरले पाका भइसकेका र असहाय व्यक्तिहरुको नागरिकता सिफारिस गरेर वडाध्यक्षहरु प्रशासनमा आउनुहुन्छ । उहाँहरुको प्रमाण र सनाखतका आधारमा नागरिकता दिने गरेका छौंँ । शारीरिक अशक्तहरुको हकमा नागरिकता प्रमाणपत्र घरमै पु¥याइदिने समेत गरेका छौँ ।” उमेरका आधारमा ज्येष्ठ नागरिकको दर्जामा पुगिसकेका व्यक्तिहरुको नागरिकता प्रमाणपत्र बनाउन वडाध्यक्षहरुले दिएको सिफारिस र सनाखत एउटा आधार भए तापनि वास्तविकता बुझ्न कानुनबमोजिम माग भइआएका प्रमाणहरु र प्रहरीमार्फत आउने प्रतिवेदनलाई मसिनो ढङ्गले हेर्ने गरिएको सहायक प्रजिअ नेपाल बताउनुहुन्छ । बुढेसकालमा शारीरिक दुर्बलताले गर्दा हिँडडुल गर्न मुस्किल हुन्छ । आयस्रोत नभएको अवस्थामा उनीहरुको जीविका कष्टकर हुन्छ । आफन्तको बेवास्ता र राज्यको उपेक्षा थपिँदा उनीहरुको जीवनयापन सास्तीपूर्ण हुन्छ । त्यस्तो बेला नागरिकता हुनेहरुले राज्यबाट सामाजिक सुरक्षा भत्ता र बिमाको उपचार पाउने गरेका छन् । तर, नागरिकता नभएकाहरु यो लाभबाट वञ्चित छन् । वर्षौंदेखि बसोबास गर्दै आएका ज्येष्ठ नागरिकहरु सनाखत गरिदिने नातेदारको अभावमा नागरिकता पाउनबाट वञ्चित रहँदै आएकामा मेचीनगर–२ को वडा कार्यालयले सराहनीय कार्य गरेको स्थानीय पूर्वशिक्षक धर्मानन्द निरौला बताउनुहुन्छ । राज्यले नागरिकता पाउन नसकेका वृद्धवृद्धालाई खोजीखोजी नागरिकता दिने राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने र यस कार्यका लागि स्थानीय तहलाई परिचालन गर्नुपर्ने उहाँको धारणा छ । उहाँका अनुसार अझै पनि देशभर थुप्रै ज्येष्ठ व्यक्ति नागरिकता नपाइकनै मृत्युवरण गर्न बाध्य छन् । “बाहुनडाँगीका कुनाकाप्चासम्म आरा काटेर हिँड्ने गर्नुहुन्थ्यो । कहिले अर्काको घरमा ज्यालादारी गर्नुहुन्थ्यो”, केशरबहादुरको नागरिकता बनेकोमा खुसी व्यक्त गर्दै पूर्वशिक्षक निरौलाले भन्नुभयो, “अब त बुढो हुनुभयो, रोगी हुनुभयो । अर्काकोमा काम गर्न जानसक्नु हुन्न । यस्तो बेलामा नागरिकता बनेपछि कमसेकम राज्यको वृद्धभत्ताले बाँच्ने सजिलो आधार त बन्यो नि ।”
काठमाडौं: अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण प्रक्रिया प्रारम्भ गरेको छ । सोही क्रममा मन्त्रालयले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका साथै सम्बद्ध विभाग र निकायसँग परामर्श गरेको छ । उक्त अवसरमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट अनुशासित र यथार्थपरक हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । यथार्थपरक बजेट ल्याउँदा आर्थिक वर्षको बीचमा रकमान्तर तथा संशोधनको आवश्यकता नपर्ने र कार्यान्वयन गर्न सहज हुने उहाँको भनाइ छ । मन्त्रालयगत छलफलका क्रममा अर्थमन्त्री पौडेलले बजेट निर्माणमा विगतका अनुभवबाट सिक्दै अघि बढ्नुपर्ने बताउनुभयो । त्यस्तै, सङ्घीय संरचनालाई ध्यानमा राखी सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय कायम गर्ने गरी बजेट निर्माण गरिने उहाँको भनाइ थियो । बजेट बनाउँदा सबै मन्त्रालय तथा अन्य निकायको सहकार्य आवश्यक पर्ने र बजेटप्रति सबै पक्षको अपनत्व हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । विपद्पछिको पुनःनिर्माणलाई प्राथमिकतामा राखी कार्यान्वयनयोग्य, प्रभावकारी र नतिजामुखी बजेट निर्माण गर्ने पनि अर्थमन्त्री पौडेलले बताउनुभयो । सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटबीच समन्वय मिलाई आगामी आर्थिक वर्षको बजेट तयार गरिनेसमेत उहाँले स्पष्ट पार्नुभयो । कार्यान्वयन गर्न कठिन हुने तथा न्यून प्राथमिकताका आयोजनालाई स्थगन गर्दै व्यवहारिक योजना मात्र समावेश गर्न अर्थमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ । साना योजना कटौती गर्दै क्रमागत योजनाको सङ्ख्या घटाउनुपर्ने उहाँको सुझाव थियो । साथै, पूर्वतयारी पूरा भएका र अत्यावश्यक आयोजनालाई मात्र समेट्नुपर्नेमा उहाँले जोड दिनुभयो । बजेट प्रस्ताव गर्दा सिलिङलाई ध्यानमा राख्नुपर्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले मन्त्रालयलाई योजनाबद्धरूपमा कार्य गर्नसमेत आग्रह गर्नुभयो । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रू १९ खर्ब ६५ करोडको सीमाभित्र रहेर बजेट ल्याउन सकिने गरी सरकारलाई सिफारिस गरेको छ ।
काठमाडौं: आधिकारिक कागजात नभएका अवस्थामा नियन्त्रणमा लिई संयुक्त राज्य अमेरिकाले नेपाल फर्काइ दिएका आठ नेपाली नागरिकलाई थप ‘सोधपुछ’का लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ । अमेरिकाको ‘चार्डट’ विमानबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनीहरुलाई अध्यागमक प्रक्रिया पूरा गरी सोधपुछका लागि प्रहरीको जिम्ममा लगाइएको विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ । आठ जना नेपाली अमेरिकाको चार्टड विमानबाट काठमाडौँ फर्काइएका हुन् । अर्का एक नेपाली पनि आजै कतार एयरवेजको नियमित उडानबाट ‘डिपोर्ट’ भएर काठमाडौं आइपुगेको विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत यज्ञराज अर्यालले पुष्टि गर्नुभयो । यसअघि अमेरिकाबाट २७ नेपाली डिपोर्ट भएर फर्किइसकेका छन् । यो पनि पढ्नुहोस अमेरिकाले आधिकारिक कागज नभएका नेपालीलाई नेपाल फर्कायो “हामीले अध्यागमन प्रक्रिया पूरा गरेर उहाँहरुलाई पठायौँ”, अधिकृत अर्यालले भन्नुभयो ।
झापा: तत्कालीन ‘झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसमा आज यहाँस्थित सुखानीमा भावपूर्ण श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ । ‘झापा विद्रोह’का क्रममा पक्राउ परेर चन्द्रगढी कारागारमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईकेल र नारायण श्रेष्ठलाई इलाम जेल सार्ने निहुँमा वि.सं. २०२९ फागुन २१ गते झापा र इलामको सीमानास्थित सुखानीको जंगलमा तत्कालीन पञ्चायती शासकहरुले गोली हानी हत्या गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुले आज विहान फरक फरक समयमा सुखानी सहादतस्थलमा सहिदहरुको शालिकमा माल्यार्पण गरेका हुन् । सुखानीका सहिदहरुको सम्झनामा नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरुले ‘फागुन २१’लाई सहिद स्मृति दिवसको रुपमा मनाउँदै आएका छन् । झापाको ज्यामिरगढी, सालबारी र गरामनीमा सुखानीका सहिदहरुको शालिक निर्माण गरिएका छन् । ती शालिकहरुमा पनि नेकपा एमाले लगायतका कम्युनिस्ट पार्टीहरुले श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरेका छन् । मेचीनगर–१५ ज्यामिरगढीस्थित सहिद वीरेन राजबंशी स्मृति प्रतिष्ठानमा एमालेका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य रविन कोइरालाको नेतृत्वमा एमालेले स्मृति सभा सम्पन्न गरेको छ । प्रतिष्ठान परिसरमा सहिद वीरेन राजबंशीको शालिक स्थापना गरिएको छ । कार्यक्रममा सहिद वीरेन राजबंशीका जेठा छोरा नेत्र राजबंशी, जेठी बुहारी बिमला राजबंशी, सहिद परिवारका सदस्य कुमार मेचे र झापा विद्रोहमा १७ वर्ष कठोर काराबास भोग्नु भएको कम्युनिस्ट योद्धा सानो दुर्गा अधिकारीलाई सम्मान गरिएको थियो । सरकारले सुखानीमा जीवनको आहुती दिएका झापा विद्रोहका पाँच योद्धालाई विसं. २०७२ फागुन १९ गते राष्ट्रिय सहिदको रुपमा घोषणा गरेको थियो ।
काठमाडौं: अमेरिकाले आधिकारिक कागजात नभका नेपालीलाई स्वदेश फर्काएको छ । ‘चार्टर्ड ’जहाजमार्फत उनीहरुलाई आज विहान नेपाल फर्काइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार नेपाली बोकेर आएको अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम बिहान १० बजेर १५ मिनेटमा काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो । जहाजमा चालकदलसहित १४ जना सवार रहेको जनाइएको छ । चार्टर्ड जहाज अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट बीचमा टेक्निकल ल्यान्डिङ‘ भएर सिधै काठमाडौँ अवतरण गरेको हो । जहाज अवतरणपछि अध्यागनले आवश्यक प्रक्रिया थाल्ने प्रवक्ता शेर्पाले बताउनुभयो । जहाज भोलि बिहीबार दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिका फर्कने विमानस्थलले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता नियमित अन्तर्राष्ट्रिय उडानबाट आधिकारिक कागजात नभएका नेपाली घरफर्किरहेका छन् ।