काठमाडौँ:   मंगलबार बिहान रसुवामा एक्कासि आएको बाढीले जनधनको ठुलो  क्षति पुर्‍याएको छ।   चीनतर्फबाट आएको बाढीले गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा ...

लुम्बिनी:   बुद्धजन्मस्थल लुम्बिनीमा पाँच सय जनाको श्रामणेर (अल्पकालीन भिक्षु) प्रबज्या कार्यक्रम आजबाट सुरु गरिएको छ ।  मायादेवी मन्दिर परिसरमा पाँच सय जनालाई बौद्ध धर्मगुरूबाट पहेँलो चीवर प्रदान गरी श्रामणेर प्रबज्यामा सहभागी गराइएको हो । अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाको सह–आयोजनामा आज कूलपुत्र प्रबज्या (अल्पकालीन भिक्षु) गराइएको हो । सङ्गनायक बोधीसेन महास्थवीर, अखिल नेपाल भिक्षु महासङ्घ अध्यक्ष महास्थवीर धम्म शोभन, थाई धम्मदूतका फरा उपाझ्याए पभनासहित बौद्ध धर्म गुरूले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गरेका हुन् ।  समारोहलाई सम्बोधन गर्दै नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धको उपदेशलाई ग्रहण गर्न पाउनु ठूलो अवसर भएको बताउनुभयो ।  उहाँले शान्तिका लागि बुद्धको शिक्षा उपयोगी रहेको र यहाँको विकासका लागि थाइल्याण्ड सधैँ सहकार्य गर्न तयार रहेको बताउनुभयो ।  समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)ले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धको शिक्षालाई छोटो अवधिका लागि भए पनि व्यवहारमा लागू गर्ने कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो ।  उहाँले बुद्ध दर्शन समुदाय, व्यक्ति विशेष नभइ मानव जीवनका लागि भएकाले यसलाई जीवनमा लागू गर्न खोज्ने कार्यमा सहभागी भएकामा बधाइसमेत दिनुभयो । उपाध्यक्ष डा लामाले बुद्ध दर्शन मानव दर्शन भएको बताउँदै प्रबज्यामा रहेकाले जीवनको महत्वपूर्ण इतिहास दर्ज गराउन सफल भएको बताउनुभयो । अखिल नेपाल भिक्षु महासङ्घका महासचिव भिक्षु निग्रोधले बुद्धको शिक्षालाई व्यवहारमा लागू गराउनका लागि भिक्षु, लामा, गुरूको आवश्यकतापर्ने भएकाले त्यसैका लागि प्रबज्या कार्यक्रम राखिएको बताउनुभयो ।  उहाँले बुद्धजन्मभूमि लुम्बिनीमा भएको पाँच सय जनाको प्रबज्याले बुद्धको उपदेशलाई विश्वभर फैलाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियम पालना गर्नुपर्नेछ ।  सामान्य अनुयायीले पञ्चशिल र अष्टशिलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले आगामी चैत ३ गतेसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नुपर्नेछ ।  भिक्षु बन्नका लागि भने दुई सय २७ वटा नियमहरू पालना गर्नुपर्ने हुन्छ । फागुन १४ गतेदेखि सुरू भएको प्रबज्यामा फागुन १६ गते ललितपुरस्थित अक्षेश्वर महाविहारमा केश मुन्डन गरेका थिए ।  आज पहेँलो चीवर लगाउन योग्य भएका श्रामणेरहरूले आफूहरूले पहेँलो चीवरण ग्रहण गर्न पाउँदा निकै खुसी लागेको बताएका छन् ।  चीवर प्राप्त गरेका १२५० जनालाई पञ्चशिल, अष्टशिल र विनयपिटकका बारेमा जानकारी दिने र दैनिक ध्यान गराइने आयोजकले जनाएको छ ।  लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले अल्पकालीन भिक्षु बनाउने कार्यले बुद्धको शिक्षा र बुद्धधर्मको प्रचारमा सहयोग पुग्ने  बताउनुभयो । सन् २०११ मा एक हजार, २०१५ मा एक हजार एक सय १२, सन् २०१९ मा एक हजार एक सय १९, सन् २०२३ मा पाँच र सन् २०२४ मा एक हजार दुई सय ५० जनालाई प्रबज्या गराइएको थियो ।  प्रबज्या कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्य,  कार्यकारिणी सदस्य श्याम रोक्का, राजेश शाक्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्रचार्य, राजकीय थाई विहार लुम्बिनीका प्रमुख भिक्षु सुफोथलगायतको उपस्थिति थियो ।  प्रबया सामाजिक नेपालको व्यवस्थापनमा प्रबज्यामा भएको कार्यक्रमअन्तर्गत बिहीबार भिक्षाटन, फागुन २४ गते लुम्बिनी उद्यानमा दीप प्रज्ज्वलन, चैत ३ गते प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ ।

पोखरा महानगरपालिका २९ स्थित भण्डारढिक खेलमैदानमा आयोजना हुने दोस्रो संस्करणको सूर्यतारा खेल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।   यही २४ गतेदेखि चैत्र २ गतेसम्म सूर्यतारा क्लब पोखराको आयोजनामा हुने उक्त प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक विष्णु पुनले जानकारी दिए ।   उनका अनुसार उक्त महोत्सवमा मुख्य आकर्षणको रुपमा नेकोस कप खुला पुरुष फुटबल प्रतियोगिता समावेश गरिएको छ ।   उक्त प्रतियोगिताको उपाधि राशी नगद रु ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र निर्धारण गरिएको उनले बताए ।    यस्तै प्रतियोगिताको उपविजेतालाई नगद रु २ लाख २ हजार २ सय २२ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।      विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको संयोजक पुनले जानकारी दिए ।   प्रतियोगितामा बढीमा १२ वटा टिमलाई सहभागिता गराइने उनले बताए ।    उक्त खेल महोत्सवमा खुला सामूहिक लोकनृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबल टेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता सञ्चालन गरिने संयोजक पुनले बताए ।   कार्यक्रममा मुख्य प्रायोजकका रुपमा कर्माचार्य बेक्स एण्ड फुड्स प्रालि र सहप्रायोजकका रुपमा बन्दिपुर केवलकार प्रालि रहेको छ ।   उक्त कार्यक्रमको उद्घाटन सभामुख देवराज घिमिरेले र समापन सञ्चार तथा सूचना प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने आयोजकले जनाएको छ ।    

रामेछाप:   आज यहाँका माझी समुदायले लदी (कोशी) पूजा गरेका छन् । लदी पूजाका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।   माझी समुदायको पहिचानसँग जोडिएको सो पूजाका अवसरमा तामाकोशी, सुनकोशी तथा अन्य नदी किनारमा पूजाआजा गरिएको छ । नेपाल माझी विद्यार्थी सङ्घले मन्थलीमा खुल्ला माझी नृत्य प्रतियोगिता आयोजना गरेको छ ।   माझी समुदायको महान् पर्वका रुपमा लिइने लदी पूजा हरेक वर्ष नदी किनारहरुमा गर्ने गरिन्छ । नदी आफूहरुको जीवन पद्धतिसँग जोडिएकाले परापूर्वकालदेखि पूजा गरिँदै आएको मन्थली नगरपालिका–८ गाईखुराका बालकृष्ण माझीले बताउनुभयो । सुरुसुरुमा कोशी तथा ठूला नदीहरुहरुमा डुङ्गामा जङ्घार तार्ने र माछा मार्ने पेसा भएकाले पनि माझी समुदायको लदी पूजासँग विशेष सम्बन्ध छ ।   “परापुर्वकालमा माझीले राजालाई डुङ्गा तार्ने क्रममा कोशीको बीचमा डुङ्गा अड्किएपछि राजा डुब्ने डरले आत्तिँदै बल पुकारा माग्दा लदी पूजा गर्नु र त्यसको प्रसाद कसैलाई नदिई आफैँले मात्र खानु भनी माझीलाई भनेपछि माझीले सो अनुसार गरी डुङ्गा पार लगाएको किम्बदन्ती छ”, स्थानीय बालकृष्ण माझीले भन्नुभयो, “त्यही भएर यो पूजामा नदीमा डुङ्गा, त्यसको बहना, माछा मार्ने जाल, घोल्याङ, माछा हाल्ने पेरुङ्गो, एकै ठाउँमा राखेर देवता स्थापना गरी कोशी किनारमा परेवा, हाँस, कुखुरा र पाठीको बलि दिई पूजाआजा गर्ने चलन छ ।”   कोशी र माझीबीच मामा भान्जाको नाता रहेको पनि बताइन्छ । मामाले भान्जालाई जुनसुकै काममा पनि सहयोग गरून् भनेर पनि यो पूजा गरिएको माझी समुदायका बूढापाकाहरु बताउँछन् । यस पर्वका अवसरमा मन्थली नगरपालिकाले माझी समुदायको बस्ती रहेको वडा नं १,२,६,७, र ८ नं वडामा आज सार्वजनिक बिदा दिएको छ ।

काठमाडौँ:   प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बुधबार बस्ने सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ ।   बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा सरकारले ल्याएको ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, सहित पाँच अध्यादेश संसद्बाट पारित गर्नुपर्ने भएकाले दुवै पार्टीले आफ्ना सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्देशनात्मक ह्विप जारी गरेका हुन् ।   सरकारले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ तथा ‘सुशासन प्रवद्र्धनसम्बन्धी अध्यादेश, २०८१’ पनि बुधबार संसद्मा पेस गर्ने भएको छ ।  

कैलाली:   नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो परिमाणमा कारोबार भइरहेको सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक रहेको बताउनुभएको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घ कैलालीको १२औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष दाहालले देशको अर्थतन्त्रमा व्यवसायीको भुमिका अतुलनीय रहेको बताउनुभयो ।   व्यवसायीलाई लगानीको वातावरण सिर्जना गर्ने कार्यमा राज्य चुक्न नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “व्यावसायिक वातावरण सिर्जना हुँदा त्यसले अर्थतन्त्रलाई मात्रै नभई रोजगारी पनि सिर्जना हुन्छ ।”   देश सङ्घीय प्रणालीमा गइससकेको अवस्थामा व्यवसायीका लागि आवश्यक कच्चापदार्थको उपलब्धता प्रदेश तहबाट हुन आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ थियो । “हामीले बनाएका केही ऐन कानुन संसोधन गर्नुपर्ने स्थिति आएको छ ।   आज कानुनी व्यवधानका कारण व्यवसायीले कच्चापदार्थ सहजरूपमा पाउन सकेका छैनन्”, उहाँले भन्नुभयो, “प्रदेशबाट व्यवसायीलाई कम्तिमा कच्चापदार्थ उपलब्ध गराउन सक्यौँ भने पनि व्यवसायीलाई ठूलो राहत हुन्छ ।”   परम्परागत रूपमा व्यवसायलाई अगाडि बढाउन सरकारले व्यवसायीलाई प्रोत्साहन गर्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिनुभयो । त्यसका लागि पार्टीको तर्फबाट सदनमार्फत सरकारलाई दबाब दिने उहाँले बताउनुभयो । सुनचाँदीलाई बिलासिताको वस्तुका रूपमा कर लगाउनु गलत भएको र त्यसलाई हटाइनुपर्ने उहाँको भनाइ थियो ।

जनकपुरधाम:  मधेश शहिद प्रतिष्ठानका सदस्य रामनरेश राय (यादव) आज जनकपुरधाममा मृत भेटिएका छन् ।   सर्लाहीको मलङ्गवा नगरपालिकाको गम्भरिया घर भएका ३७ वर्षीय यादव जनकपुरधामस्थित मधेश प्रदेश भवनभित्र मृत फेला परेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।   ओछ्यान नजिक यादवले वान्ता गरेको पाइएको र उहाँको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । उहाँको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ:   पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालय एयरलाइन्सले पहिलो व्यावसायिक उडान सुरु गर्न लागेको छ । हिमालयले आगामी चैत १८ गतेदेखि चीनको ल्हासामा उडान गर्न लागेको हो ।   काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ जोड्नेगरी उडान गर्न लागेको हिमालय एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ । पोखरालाई ल्हासासँग जोड्न सातामा एक उडान गर्नेगरी उडान तालिका निर्धारण गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।   ल्हासा उडानका लागि हिमालय एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग उडान अनुमति लिइसकेको छ । क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हिमालय एयरलाइन्सले ल्हासामा पहिलो ‘सेडुअल फ्लाइट’ गर्नेगरी उडान अनुमति मागेको छ । ल्हासा उडान प्रक्रिया अन्तिम चरणमा छ ।   त्यसैगरी, चीनको सिचुवान एयरलाइन्सले आगामी चैत ५ गतेदेखि पोखरा–छेन्दु गन्तव्यमा व्यावसायिक उडान गर्ने तयारी गरेको छ । यद्यपि, क्यानबाट उडान अनुमतिलगायत प्रक्रिया पूरा भइसकेको छैन । पोखरा–छेन्दु सातामा एक उडान गर्ने तयारी भएको एयरलायन्सले जनाएको छ । सिचुआन एयरलाइन्सको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्सी (जिएसए) सोसाइटी इन्टरनेसनल रहेको छ ।   क्यानका सूचना अधिकारी भूलले यो उडानले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय नियमित उडान भएको सन्देश जाने विश्वास व्यक्त गर्नुभयो । नेपालको पर्यटकीय राजधानी पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वल्र्ड’ ल्हासाबीच हवाई सम्पर्क सञ्जाल विस्तार गर्न लागिएको हो । योसँगै नेपालमा चिनिया पर्यटक बढ्ने विश्वास लिइएको छ ।   हिमालय एयरलाइन्सले हाल काठमाडौँबाट ल्हासा एक सातामा पाँच उडान गरिरहेको छ । पोखराबाट पनि ल्हासामा थप एक उडान गर्न लागेको हो । “हिमालय एयरलाइन्सले चैत १८ देखि उडान गर्नेगरी उडान अनुमति मागेको छ, अनुमतिको प्रक्रियामै छ”, क्यानका सूचना अधिकारी भूलले भन्नुभयो, “काठमाडौँ–ल्हासा पोखरा र पोखरा–ल्हासा काठमाडौँ उडान गर्नेगरी अनुमतिको प्रक्रियामा छ ।”   उहाँका अनुसार हिमालय एयरलाइन्सको जहाज सोमबार ल्हासाबाट पोखरा आउनेछ र मङ्गलबार पोखराबाट ल्हासा जानेगरी सातामा एक उडान अनुमति मागेको छ । मागअनुरुप भविष्यमा उडान थप्न सकिने क्यानले जनाएको छ ।   सिचुवान एयरलाइन्सको उडान मिति भने तय भइनसकेको उहाँले बताउनुभयो । सिचुवान एयरलाइन्सले पोखराबाट काठमाडौँ परीक्षण उडान गरिसकेको छ । पोखराबाट चीनका विभिन्न गन्तव्यमा सिधा उडान हुने भएपछि व्यवसायी उत्साहित भएका छन् ।   पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहरीले पोखराबाट चीनका विभिन्न सहरमा हुन गइरहेका सिधा उडानले व्यवसायी उत्साहित भएको बताउनुभयो । “पोखरा विमानस्थल निर्माण भएको दुई वर्षपछि पहिलोपटक नियमित व्यावसायिक उडान हुँदैछ । यसले पोखरेली जनतालाई उत्साहित तुल्याएको छ”, उहाँले भन्नुभयो ।   पोखरा पर्यटन परिषद्ले आगामी चैत ५ गते पोखराबाट छेन्दु जाने पर्यटकका लागि प्याकेजसमेत बनाएको जनाएको छ । छेन्दुबाट पनि व्यवसायी आउने र पोखराबाट पर्यटन व्यवसायी गएर छेन्दुमा विजनेस टू बिजनेश (बिटुबी) कार्यक्रम गर्ने तयारी गरिएको अध्यक्ष पहरीले जानकारी दिनुभयो ।   एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठले पोखराबाट छेन्दु उडान सुरु भएसँगै सुस्त ग्रीष्मकालीन याममा पनि पर्यटक बढ्ने अपेक्षा गरिएको बताउनुभयो । उहाँले काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ सुरु गरिएको यस उडानले एयरलाइन्सको दुई राष्ट्रका नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तरराष्ट्रिय विमानस्थल विसं २०७९ पुस १७ गते उद्घाटन भएको थियो ।   हालसम्म विभिन्न एयरलाइन्सका ११ चार्टर्ड उडान भएको पोखरा विमानस्थलका प्रवक्ता जशोधा सुवेदीले जानकारी दिनुभयो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका रुपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको छ महिनापछि पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो ।

काभ्रेपलाञ्चोक:   गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको मर्मतलाई तीव्रता दिइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मतलाई तीव्र पारिएको जनाएको छ ।   आउँदो बर्खायाममा यातायात अवरोध नभई नियमित सञ्चालन हुनसक्ने गरी रोशी क्षेत्रमा मर्मत भइरहेको कार्यालयले जनाएको छ । हाल लोडर र डोजर प्रयोग गरी सडक मर्मत गरिरहेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो ।   योगेशका अनुसार हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानै स्थानलाई अवस्था हेरी दुईदेखि तीन मिटरसम्म ग्राभेल भरेर उचाइ बनाउने तथा अप्ठेरो भएको स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको छ ।   क्षतिग्रस्त सडक चौडा पार्ने, सम्याउने तथा ग्राभेल भरेर खोलाको सतहभन्दा करिब तीन मिटर उचाइ बनाउने काम भइरहेको छ । कुल १३ किलोमिटर क्षतिग्रस्त सडकमध्ये पहिलो चरणमा आठ किलोमिटर मर्मत गरिनेछ भने बाँकीको थप मर्मतका लागि योजना बनाइने जनाइएको छ ।   राजमार्गको धुलिखेल–नेपालथोक र नेपालथोक–खुर्कोट सडकखण्ड अस्थायी रुपमा मर्मतका लागि सरकारले हालका लागि रु २१ करोड २५ लाख बजेट विनियोजन गरेको छ । सो बजेटबाट गर्ने कामको डिजाइन भइरहेको र डिजाइन सकिएपछि लागत स्टिमेट निकालेर ठेक्का प्रक्रियामा जाने योगेशले बताउनुभयो ।   हाल काठमाडौँबाट रामेछाप, सिन्धुलीलगायत पूर्व जाने यातायातका साधन खोला बगरको कच्ची सडकमा कष्टकर एवं जोखिमपूर्ण यात्रा गरिरहेका छन् । डिभिजन सडक कार्यालयद्वारा गरिएको अध्ययनले भकुण्डेदेखि नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न रु नौ अर्ब ६६ करोड लाग्ने अनुमान गरिएको छ ।   “अध्ययनबाट केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखिए पनि पुल बनाउने कि, वाल लगाउने भन्नेबारे थप छलफलपछि निष्कर्ष निस्कनेछ”, योगेशले भन्नुभयो । पुनर्निर्मित सडकमा ‘आसफाल्ट कङ्क्रिट’सहित दुई लेनको सडक हुने योगेशले बताउनुभयो । यसअघि ‘इन्टरमिडियट लेन’को सडक थियो । 

धनुषा: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले हाल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताउनुभएको छ ।   आज प्रेस सङ्गठन नेपालद्वारा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएकाले हाल यसको सम्भावना नरहेको स्पष्ट पार्नुभयो ।   तर उहाँले महत्त्वपूर्ण ‘एजेन्डा’का आधारमा कार्यगत एकता गर्न सकिने बताउनुभयो । “तत्काल पार्टी एकीकरण सम्भव छैन तर, ‘इस्यु’का आधारमा कार्यगत एकता गर्न सकिन्छ । जस्तै, अहिले राष्ट्रियतामाथि खतरा छ । यस्तो अवस्थामा वामपन्थी मात्र होइन, सबैले एकताबद्ध भएर उभिनुपर्छ,” खनालले भन्नुभयो ।   पूर्वप्रधानमन्त्री खनालले संविधानअनुसार ऐन निर्माणको प्रक्रिया सहजै अघि बढ्न सक्ने भए पनि सरकारले अनावश्यक रूपमा अध्यादेश ल्याएको उल्लेख गर्नुभयो । “संविधानअनुसार सामान्य प्रक्रियाबाट ऐन बनाउन कसैले अवरोध गरेको छैन । यस्तो अवस्थामा अध्यादेश ल्याउनु गलत हो,” खनालले भन्नुभयो । खनालले वर्तमान सरकारलाई सङ्कटको भारी बोकेर हिँडिरहेको आरोप लगाउनुभयो ।