म्याग्दी: सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा करिब रु. १७ करोडको लागतमा यातायात पूर्वाधार निर्माण सम्बन्धी १६ वटा योजना सञ्चालनमा ल्याएको छ । मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना पोखरा मार्फत् दुई झोलुङ्गे पुल, नौ वटा सडक र सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङ मार्फत् तीन वटा सडक योजना विभिन्न निर्माण कम्पनीसँग रु. १५ करोड १७ लाख २२ हजार छ सय ४६ मा ठेक्का सम्झौता गरि कार्यान्वयन गरिएको हो । चालु आर्थिक वर्षमा रु. एक करोड ६० लाख बजेट बिनियोजन भएको दुई वटा योजना ठेक्का प्रक्रीयामा छन भने रु. एक करोड १० लाख बजेटका दुई वटा योजनालाई बहुबर्षीय ठेक्का आव्हान गर्न मन्त्रालयमा स्रोत सहमतिका लागि प्रस्ताव गरिएको छ । झोलुङ्गे पुल बाहेकका आयोजनाहरु चालु आर्थिक वर्षभित्रनै सम्पन्न हुने प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले बताए । योजनाहरु मार्फत ग्रामिण क्षेत्रमा सहज यातायात सेवाको पहुँच विस्तार भई बसाईसराई घटाउने अपेक्षा गरिएको उनले बताए । सघन शहरी तथा भवन निर्माण योजना मार्फत रु। चार करोड ७५ लाख बजेट बिनियोजन भएको बेनी नगरपालिकामा एकिकृत शहरी पूर्वाधार विकास गर्ने कार्यक्रम अन्तर्गत रु. तीन करोड १९ लाखमा ठेक्का सम्झौता भएको बेनी नगरपालिका–८ कालीपुल देखि वडा नं.–७ मा रहेको दरवाङ बसपार्क जोड्ने बेनी चक्रपथ सडक ढलान गर्ने योजना शुरु भएको छ । उक्त कार्यलय मार्फत रु. ६५ लाख ३८ हजार ५३ को लागतमा कुहुँ–टोड्के–झि र रु. एक करोड तीन लाख २८ हजार ६२ मा मौवाफाँट–दग्नाम–दरमिजा–चिमखोला हुदै कुइनेमंगले सडक स्तरोन्नति योजना कार्यान्वयन भएको छ । योजनाका ईञ्जिनियर बिरबल सुनारले ५० शैया क्षमताको बेनी अस्पतालको भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । स्थानीय पूर्वाधार विकास आयोजना मार्फत रु. चार करोड ७० लाख ३६ हजार दुई सय ५० को लागतमा धवलागिरी गाउँपालिकाको मराङखोला माथी तीन सय ६५ र मुनाको दरखोला माथी तीन सय ५५ मिटर लामो झोलुङ्गे पुल निर्माणाधिन छन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका प्रधानमन्त्री डा हरिनी अमरासुरियाबीच बिहीबार भेटवार्ता भएको छ। थाइल्याण्डको औपचारिक भ्रमणका कार्यक्रमहरू सकिएपछि प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड आएका सदस्य मुलुकका राष्ट्रप्रमुख–सरकार प्रमुखसँगको साइडलाइन भेटवार्ता र अन्य भेटवार्तामा व्यस्त भएका हुन्। भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको थियो। भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए।
पोखरा: छनोट समितिले गण्डकी विश्वविद्यालयको कुलपतिका लागि ३ जनाको नाम प्रदेश सरकारलाई सिफारिस गरेको छ । विश्वविद्यालय न्यायिक परिषद् अध्यक्षसमेत रहेका छनोट समिति संयोजक प्राडा कैलाशनाथ प्याकुरेल, सदस्यद्वय प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र न्यायिक परिषद् सदस्य डा यमुना घलेले बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ३ जनाको नाम समावेश गरिएको पत्र हस्तान्तरण गरेका हुन् । तीमध्ये १ जनालाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले नियुक्तिको निर्णय गर्ने छ । प्रस्तुतीकरण र अन्तर्वार्ताबाट छानिएका ३ जनाको नाम सिफारिस गरिए पनि नाम भने सार्वजनिक भइसकेको छैन । २ समूह बनाएर १९ र २० गते प्रस्तुतीकरण र अन्तर्वार्ता लिइएको थियो । ७ जनाको आवेदन परेको भए पनि ५ जनाको दरखास्त स्वीकृत भएको थियो । स्वीकृत उम्मेदवारहरूमा प्राडा इन्द्रप्रसाद तिवारी (पोखरा ३१, कास्की), प्राडा कुसुमाकर न्यौपाने (पैयुँ ६, पर्वत), प्राडा नवराज देवकोटा ( सिरानचोक ४, गोरखा), प्राडा विश्वकल्याण पराजुली (पोखरा १, कास्की) र प्राडा सरोज कोइराला (पोखरा ५, कास्की) छन् । यी ५ जनामध्येबाट ३ जनाको नाम सिफारिस भएको छ ।
दोस्रो मुख्य पर्यटकीय याममा पनि पर्यटनको राजधानी सहर पोखराका होटलमा अपेक्षाभन्दा कम पर्यटक छन् । अहिले यहाँका होटलको ‘अकुपेन्सी’ ४० प्रतिशत मात्र रहेको होटल सङ्घ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनका अनुसार गत वर्ष यही समयमा होटलमा पाहुनाको संख्या क्षमताको झण्डै ५० प्रतिशतसम्म पुगेको थियो । “पदयात्रामा आउने पर्यटक र मुक्तिनाथ जाने भारतीय पर्यटक पोखरामा नबसी सिधै गन्तव्यस्थल पुग्ने गरेकाले पनि होटलको ‘अकुपेन्सी’ कम छ”, उनले भने, “नयाँ वर्ष नजिकिँएको र विद्यालय तहको परीक्षा सकिएर बिदा सुरु भएकाले आन्तरिक पर्यटकको आउजाउ अब बढ्ने देखिएको छ ।” पोखरा घुम्ने र यहाँका होटलमा रात बिताउने विदेशी पर्यटकको संख्या भने अपेक्षाभन्दा कम रहेको अध्यक्ष सुवेदीले बताए । होटल व्यवसायमा ठूलो लगानी गरेका पर्यटन व्यवसायीहरु मुख्य याममा नै पर्यटकको आवागमन कम हुँदा चिन्तित छन् । पोखरामा पर्यटक भित्राउने लक्ष्यसहित सङ्घले नयाँ वर्षका अवसरमा २०औँ फेवा नव वर्ष महोत्सवको आयोजनासमेत गरेको छ । नयाँ वर्षका बेला होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतभन्दा माथि पुग्ने अपेक्षा लिइएको सङ्घका अध्यक्ष सुवेदीले बताए । महोत्सव अवधिमा होटलमा ३० प्रतिशत छुटको व्यवस्था मिलाइएको उनको भनाइ छ । उनका अनुसार पोखरामा दैनिक ४० हजार पर्यटक राख्न सक्ने होटलको क्षमता छ । “अहिले दैनिक औसतमा २० हजार आन्तरिक तथा बाह्य पर्यटक पोखरामा छन्”, उनले भने, “यहाँ रहेका १२ सयभन्दा बढी होटल भरिभराउ हुन दैनिक ४० हजार पर्यटक पोखरा हुनुपर्छ ।” पोखरा र आसपासका गन्तव्यस्थल घुम्न र गर्मी छल्न भारतीय पर्यटक आउने गरेका छन् । पोखरा आउने भारतीय पर्यटकमध्ये झण्डै ४० प्रतिशत मुक्तिनाथ दर्शनमा जाने गरेको पोखरा पर्यटन परिषद्ले जनाएको छ । पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने तेस्रो मुलुकका पर्यटकले पनि केही समय पोखरामा बिताउने गरेका छन् । हवाई मार्ग र सडकमार्ग प्रयोग गरेर पर्यटक पोखरा भित्रने गरेका छन् । यहाँको प्रसिद्ध पर्यटकीय गन्तव्यस्थल अन्नपूर्ण चक्रीय पदमार्गमा पनि पदयात्री पर्यटकको चहलपहल बढेको छ । यस क्षेत्रमा चैत–वैशाख र असोज–कात्तिकको याम पदयात्राका लागि उत्तम मानिन्छ । ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले चैत लागेसँगै पर्यटकको आउजाउ बढेको बताए । “ट्रेकिङ रुटहरुमा यतिबेला पर्यटकीय चहलपहल बढेको छ”, उनले भने, “शरद ऋतुपछि वसन्त याममा धेरै पर्यटक पदयात्राका लागि नेपाल भित्रन्छन् ।” अध्यक्ष आचार्यका अनुसार पदयात्रामा विदेशी पर्यटकसँगै पछिल्लो समय आन्तरिक पर्यटकको पनि आकर्षण बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानी, कास्कीको खुमै डाँडा, कोरी आदि पदयात्री पर्यटकको रोजाइमा पर्ने गन्तव्यस्थल हुन् । अन्नपूर्ण चक्रीय पदमार्ग पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्यस्थल रहेको अध्यक्ष आचार्यले बताए । गत वर्ष पोखरालाई पर्यटनको राजधानी सहरका रुपमा घोषणा गरेपछि यस क्षेत्रमा पर्यटकको आकर्षण थप बढेको उनको भनाइ छ । पोखरा जोड्ने मुख्य सडकमार्ग र अन्तर्राष्ट्रिय हवाईयात्रालाई नियमित तथां व्यवस्थित बनाउन सके उल्लेख्य संख्यामा पर्यटक भित्राउन सकिने उनले बताए । अध्यक्ष आचार्यले कतिपय पुराना र स्थापित पदमार्ग सडकका कारण सङ्कटमा परेकाले तिनको विकल्प खोज्नुपर्ने बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका थिए । जसमा दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका थिए । उक्त संख्या हालसम्मकै बढी रहेको जनाइएको छ । त्यसअघि सबैभन्दा बढी सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए । सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएकामा त्यसयता कोभिड–१९ महामारीका कारण पर्यटक आगमन घटेको थियो । उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । त्यसको अर्को वर्ष अर्थात् सन् २०२२ मा जम्मा एक लाख २९ हजार सात सय ३३ पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । गत वर्षदेखि यस क्षेत्रको पर्यटन पुरानै लयतिर फर्किएको ‘एक्याप’ले जनाएको छ । रासस
बागलुङमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटिया बजारदेखि कोट मैदान जाँदै गरेको ग१ज ६१०० नम्बरको पिकअप दुर्घटना हुँदा गलकोट नगरपालिका-११ रिघाका २२ वर्षीय विष्णु रानाको मृत्यु भएको हो । दुर्घटनामा गलकोट–५ सर्दाखेतका २२ वर्षीय राजन विक, वडा नम्बर ४ डाँडा खेतका १९ वर्षीय रमेश सुनार र वडा नम्बर ३ बोहराफाँटका १९ को अशोक बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । पिकअपमा चार जना सवार रहेको उनको भनाइ छ । घाइते तीन जनाको गलकोट नगर अस्पतालमा उपचार भइरहेको यादवले जानकारी दिए । चैते दसैँ मेलाका लागि कोट मैदान जाँदै गर्दा पिकअप दुर्घटनामा परेको उनले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको एसियन इस्न्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास हुन आवश्यक रहेको बताउनुभएको छ । थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहनुभएका प्रधानमन्त्री ओलीले मानवीय सुख, समृद्धि, सुरक्षा र आत्मसम्मानका लागि नेपाल सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताउनुभयो । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाको व्याख्या गर्दै मानवीय चाहनासहितको खुसीभन्दा अर्काे ठूलो कुरा नभएको धारणा व्यक्त गर्नुभयो । जलवायु परिवर्तनलगायत विश्वव्यापी रुपमा रहेका साझा मुद्दा सम्बोधनका लागि राष्ट्रिय, क्षेत्रीय तथा विश्वव्यापी रुपमा समेत संयुक्त प्रयास हुनुपर्नेमा जोड दिँदै त्यसका लागि विश्वसमुदायसँग आह्वान पनि गर्नुभयो । नेपाली अध्यापक र विद्यार्थीसहित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले आधुनिक कृषिको विकास र २१औँ शताब्दीको मानवनीय जनशक्तिको उत्पादनमा जोड दिँदै एआइटीबाट उत्पादिन जनशक्तिले नेपालको जलस्रोतलगायत विकासका क्षेत्रमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले एआइटीले नेपालमा खोज, अध्ययन र छात्रवृत्तिका लागि स्थापना गरेको कोषमा एक लाख अमेरिकी डलर रकम जम्मा गर्ने घोषणा पनि गर्नुभयो । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले उक्त संस्थामा बढी विदेशी विद्यार्थी अध्ययन गर्ने हिसाबले नेपाल चौथो स्थानमा रहेको र एआइटीसँगको सहकार्य आफूहरुको प्राथमिकतामा परेको बताउनुभयो । एआइटीमा अहिले १८१ नेपाली विद्यार्थी अध्ययनरत छन्भने हालसम्म एक हजार ७९५ नेपाली विद्यार्थीले अध्ययन पूरा गरेका छन् । अहिले यस संस्थाको ‘बोर्ड अफ ट्रष्टी’मा तीन सदस्यसहित सातजना ‘फ्याकल्टी मेम्बर’ नेपाली रहेका छन् । प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्यसहितको टोलीलाई सो संस्थाका ‘प्रेसिडेन्ट’ प्रा पाई ची लीसहितले स्वागत गर्नुभएको थियो । थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्को मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले पहिलो थाइल्याण्ड भ्रमण गर्नुभएको हो । प्रधानमन्त्री ओलीले आजै बिम्स्टेक सम्मेलनमा सहभागी सदस्य मुलुकका राष्ट्र प्रमुख तथा सरकारप्रमुखसँग ‘साइडलाइन’ भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक÷विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत हुनुहुन्छ ।
म्याग्दी: मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी-दरवाङ-मुना-जलजला-ढोरपाटन सडकको ट्र्याक खुल्ने चरणमा पुगेको छ । चालु आवमा संघीय सरकारले विनियोजन गरेको रु पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालयले म्याग्दीको धौलागिरि गाउँपालिका-२ मरेनीदेखि ढोरपाटन जोड्ने सडकको ट्र्याक खुल्न लागेको हो । हालसम्म तीन किलोमिटर ‘ट्र्याक’ खुलेको र थप पाँच किलोमिटर खोलेपछि यो बाटो ढोरपाटनसँग जोडिने धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए । सडक डिभिजन कार्यालयले रु एक करोडको लागतमा मुना-खोरीया-मरेनी खण्डमा स्तरोन्नति जारी राखेको छ । बेनीबाट मुना-खोरीया-मरेनी हुँदै करिब ५६ किलोमिटर ट्र्याक खुलिसकेको र ढोरपाटनबाट जलजलासम्म पनि १० किलोमिटर कच्ची सडक बनेको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । “बेनीबाट दरवाङ-मुना-जलजला-ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडकको ट्र्याक खुलेपछि मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिन्छ”, उनले भने, “पूर्वीरुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ ।” म्याग्दीको धौलागिरि गाउँपालिका–२ खोरियामा पाँच वर्षअघि पुगेको सडकलाई ढोरपाटनसँग जोड्न १९ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन बनाएर गाउँपालिकाले संघीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरेको थियो । बेनी– तातोपानी–बाबियाचौर–तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकारको लगानीमा कालोपत्र भएको छ ।
रुपन्देही: कार्यालय समयमै मदिरा सेवन गरी उपमेयरको कार्यकक्षमा गएर अभद्र व्यवहार गरेका बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ परेका छन् । उमेर हदका कारण अवकाश पाउन तीन साता मात्रै बाँकी रहेका आचार्यले मङ्गलवार दिउँसो उपमेयर रत्नकुमारी पाण्डेको कार्यकक्षमा गएर झगडा गरेका थिए । आचार्यलाई मङ्गलवार प्रहरीमा लिखित निवेदन नभएकाले छाडिए पनि बुधवार पुन: पक्राउ गरिएको हो । उनीसँगै आर्थिक विकास समितिका संयोजक कृष्ण गौतम र सहायक प्राविधिक कर्मचारी नगेन्द्र भण्डारीसमेत आएर झगडा गरेपछि पाण्डेले मेयर छविलाल थारुलाई बोलाएकी थिइन् । मङ्गलवार पक्राउपछि उनलाई मेडिकल गरिएको र मदिरा सेवन गरेर कार्यालयमा गएको पाइएको प्रहरीले जनाएको थियो ।
पाेखरा: उच्च अदालत पोखराले गण्डकी विश्वविद्यालयमा करारमा रहेका शिक्षक तथा कर्मचारीकाे स्थायी नियुक्ति प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएकाे छ । बुधबार न्यायाधीश दीपेन्द्र अधिकारी र मेरिना श्रेष्ठको इजलाशले बबुधबार अन्तरिम आदेश जारी गरेको हो । ठूलो संख्यामा शैक्षिक र प्रशासनिक कर्मचारीहरु माग गरिँदा अरुलाई प्रतिष्पर्धाको अवसर नदिइएको भन्दै अधिवक्ता मनोज घर्तीमगरले गत शुक्रबार उच्च अदालतमा रिट दायर गरेका थिए । आइतबार न्यायाधीश दीपेन्द्र अधिकारीको इजलाशले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । ‘निवेदकले उठाएका विषयवस्तु गण्डकी विश्वविद्यालय ऐन, २०७६, गण्डकी विश्वविद्यालय शिक्षक, कर्मचारीको सेवा, शर्त, नियुक्ति तथा बढुवाको लागि सिफारिस गर्ने मापदण्ड र पदस्थापनसम्बन्धी नियमावली, २०८१ समेतको रोहमा अन्तिम आदेश हुँदाको बखत विवेचना भई निरुपण हुने देखिँदा हाललाई यस अदालतबाट मिति २०८१।१२।१७ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ,’ आदेशमा भनिएको छ । गण्डकी विश्वविद्यालयमा करारमा रहेका ७८ जना शिक्षक तथा विभिन्न तहका कर्मचारी रहेका छन् ।