पोखरा:  अटो व्यवसायी तथा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्व अध्यक्ष ध्रुव थापाले आफू कुनै राजनीतिक व्यक्ति, भ्रष्ट वा तस्कर नहुँदा पनि यहि भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आफ्नो घर र कार्यालय त...

नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ ।   प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच छवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।   समझदारीपत्रमा हस्ताक्षर समारोहअघि प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले द्विपक्षीय भेटवार्ता गरेका थिए ।   सो अवसरमा राजनीतिक तथा द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, उड्डयन, पर्यटन तथा संस्कृति, विकास सहकार्य, तथा क्षेत्रीय र बहुपक्षीय मुद्दाका सम्बन्धमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।   दुवै देशका प्रधानमन्त्रीको समुपस्थितिमा सरकारी तवरबाट संस्कृति तथा पर्यटनका क्षेत्रमा दुईवटा समझदारी भएको छ भने गैरसरकारी क्षेत्रबीच विभिन्न छ वटा विषयका समझदारीपत्रमा हस्ताक्षर भएको छ ।    नेपाल सरकारको तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र थाइल्याण्डका संस्कृतिमन्त्री सुडवान वाङसुफाकिज्कोसोलले सांस्कृतिक क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे ।   त्यस्तै परराष्ट्रमन्त्री डा देउवा र थाइल्याण्ड सरकारका पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तियनथोङले पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे ।   दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र थाइल्याण्डका गैरसरकारी क्षेत्रहरूबीच विभिन्न छवटा समझदारीपत्रमा हस्ताक्षर भएको छन् ।   यसमा नेपाल नेत्र ज्योति सङ्घ र थाइल्याण्डको महिदोल विश्वविद्यालयअन्तर्गतको रामाथिवोदी अस्पतालबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।   उक्त समझदारीपत्रमा नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्त र महिडोल युनिभर्सिटीका चिकित्सा सङ्काय, रामाथिबोडी अस्पतालका डिन प्राध्यापक आर्टिट उङ्कानन्तले हस्ताक्षर गरे ।   त्यस्तै, जनता एग्रो एण्ड फरेस्ट्री नेपाल (जेएएफएल) र कासेटसार्ट विश्वविद्यालय थाइल्याण्डबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र थाइल्याण्डको व्यापार बोर्डबीचको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।   काठमाडौं विश्वविद्यालय र थाइल्याण्डको सियाम विश्वविद्यालय सहकार्यसम्बन्धी पत्रमा पनि हस्ताक्षर भएको छ ।   नेपाल उद्योग परिसंघ र थाइ उद्योग महासङ्घबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा समझदारी भएको छ । त्यस्तै, नेपाल चेम्बर अफ कमर्स र थाइल्याण्ड पर्यटन परिषद्बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

तनहुँको आँबुखैरेनी गाउँपालिकाले ‘एक वडा, एक पर्यटकीय गाउँ’ निर्माणको काम सुरु गरेको छ ।   पालिकाभित्रका वडालाई पर्यटकीय गाउँ बनाउने उद्धेश्यसहित पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ ।   गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पर्यटकीय गाउँ बनाएर पर्यटक भित्र्याउँदै स्थानीयको जीवनस्तर सुधार गर्ने लक्ष्य लिइएको बताउनुभयो ।   पहिलो चरणमा गाउँपालिकाले वडा नम्बर १ को गिरानचौर र वडा नम्बर ६ को हिलेखर्कलाई पर्यटकीय गाउँ बनाउने प्रक्रिया सुरु गरेको उहाँले बताउनुभयो । पर्यटकीय गाउँ बनाउन प्रत्येक गाउँलाई रु ४० लाख बजेट विनियोजन गरिएको चुमानको भनाई छ ।   उहाँले भन्नुभयो, “प्रत्येक वडाका एक गाउँ छनोट गरी पर्यटकीय गाउँ बनाउने प्रक्रिया सुरु भएको छ, त्यस ठाउँमा पर्यटकमैत्री पूर्वाधार निर्माण गरी पर्यटक आकर्षित गर्छौं ।” सुरुमा आँबुखैरेनी पर्यटकीय पालिका हो र भन्नेमा धेरैले शङ्का गर्ने स्थिति रहेको स्मरण गर्दै चुमानले भन्नुभयो, “केही धार्मिक स्थललाई धार्मिक पर्यटकीय स्थलको रुपमा दावी गथ्र्यौ, तर अहिले गाउँपालिका धेरै पर्यटकीय स्थल भएको ठाउँ हो भन्ने आधार खडा गर्न सफल भएका छौं ।” धार्मिक रुपमा छिम्केश्वरी, अकला, आँधीमूल, पञ्चकन्या मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न खोजिएको चुमानको भनाई थियो ।   त्यस्तै पूर्वाधारको हिसाबले पछाडि परेको आँबुखैरेनी–२ ऐनापहरालाई आरामस्थलका रुपमा विकास गरिएको उहाँले बताउनुभयो ।   ऐनापहरामा पूर्वाधार निर्माण गरी रोजगारी सिर्जनाका साथै गाउँपालिकाको आन्तरिक आम्दानी वृद्धि गरिएको उहाँले बताउनुभयो ।   ऐनापहराका ढुङ्गामा कृत्रिम आकृति निर्माण गरी यहाँ विभिन्न पूर्वाधार निर्माण गरिएको छ । ऐनापहरा पार्कमा टिकट शुल्क राखेर पालिकाले चालु आर्थिक वर्षमा रु ६० लाखभन्दा बढी आम्दानी गरिसकेको छ ।   त्यस्तै मस्र्याङ्दीको कृत्रिम तालमा मोटरबोट सञ्चालन, आँबुखैरेनी–१ को आँधीमूलमा कृत्रिम ताल निर्माणको प्रक्रिया थालिएको चुमानको भनाइ छ । मूलको पानी जम्मा गरेर कृत्रिम ताल निर्माणको काम अगाडि बढेको उहाँले उल्लेख गर्नुभयो ।   आँधीमूलमा प्रसिद्ध मन्दिरसमेत रहेकाले धार्मिक पर्यटनलाई जोडेर यहाँ पर्यटकीय गतिविधि सञ्चालन गर्ने लक्ष्य लिइएको चुमानको भनाई छ ।   उहाँले भन्नुभयो, “आँधीमूल आफैमा प्रसिद्ध धार्मिकस्थल हो, यहाँ विभिन्न ठाउँबाट धार्मिक पर्यटकसमेत आउनुहुन्छ, धार्मिक पर्यटनलाई जोडेर यस ठाउँको विकास गर्न चाहेका छौं ।”   यहाँ १५ रोपनी क्षेत्रफलमा कृत्रिम ताल निर्माणको काम भइरहेको छ । ताल निर्माणका लागि चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरिएको छ ।   यहाँ ताल निर्माण गरी पानीमा सञ्चालन गर्न सकिने पर्यटकीय क्रियाकलाप सुरु गर्ने लक्ष्य रहेको चुमानको भनाई छ ।

भाटभटेनी सुपरमार्केटले कोटेश्वर शाखाका सुरक्षागार्डलाई पुरस्कृत गरेको छ।    शुक्रबार राजावादी प्रदर्शनकारीको एक समूह कोटेश्वरस्थित भाटभटेनी पुगेर लुटपाटमा संलग्नविरुद्ध प्रतिकार गरेर साहसिक प्रदर्शन देखाउने सुरक्षा गार्ड कृष्णप्रसाद पराजुलीलाई भाटभटेनी सुपरमार्केटले ५ लाख १ हजार १११ रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो।   भाटभटेनीका संचालक मीनबहादुर गुरूङले सुरक्षागार्ड दुलप्रसाद पराजुलीलाई ५ लाख नगद पुरस्कार र पाँच ग्रेड बढुवा प्रदान गरेका थिए।   पराजुलीले त्यसदिन गरेको प्रतिकारको भिडिओले सामाजिक सञ्जालमा चर्चा पाएको थियो।   त्यस्तै बुधवार आयोजित एक कार्यक्रमका बिच भाटभटेनीले अर्का एक सुरक्षा गार्डलाई ५१ हजार रुपैयाँ सहित सम्मान गरेको छ । यसैगरी सोही बेला ड्युटीमा अर्का थप दुई जनालाई पनि २५ हजारका दरले  सम्मान गरेको छ । यसैगरी कमर्चारीहरुलाई सम्मान गरिएको थियो ।    उक्त भाटभटेनीमा लुटपाट गर्नेहरू ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।   उनीहरूमाथि प्रहरी वृत्त बानेश्वरले अनुसन्धान गरिरहेको छ। लुटपाट र तोडफोडबाट भाटभटेनीमा ८० लाख क्षति पुगेको जनाएको थियो।

म्याग्दी:   मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ नम्बर वडाको सिमाना भएर बग्ने दाङखोलामा १८ मिटर लामो पुल निर्माण गर्न सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन ।   धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार २०७८ साल जेठ ८ गते सम्पन्न हुनुपर्ने पुलको निर्माण सुरु नभएको हो ।   विसं २०७५ मा दाङखोलामा धवलागिरि गाउँपालिकाले निर्माण गरेको अस्थायी पुल जीर्ण भएको र नयाँ पुल निर्माण नहुँदा गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवागमनमा समस्या भएको छ ।   पुल निर्माणस्थल म्याग्दीखोला जलविद्युत् आयोजनाको यसअघि प्रस्तावित बाँध निर्माणस्थलमा पर्दा सम्झौतालगत्तै कार्यक्षेत्रमा परिचालित निर्माण व्यवसायीले काम गर्न नपाउनु, २०७७ सालको बाढीले निर्माणस्थलमा क्षति पुगेपछि पुलको दूरी बढाउनुपर्ने अवस्था आउनु र परिवर्तित परिस्थितिअनुसार बढेको लागत उपलब्ध गराउन सम्बन्धित निकायसँग समझादरी नहुँदा निर्माण व्यवसायी न्यायिक निरुपणका निम्ति अदालत गएपछि पुल निर्माण प्रभावित भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।   निर्माणको काम सुरु नै नभएपछि कार्यालयले ठेकेदारलाई पेश्कीस्वरुप प्रदान गरेको रु ३३ लाख धरौटीबाट फिर्ता लिएको छ ।

काठमाडौं:  भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।   भारतको सहयोगमा कूल रु ६२ करोड पाँच लाख परियोजना लागतमा नेपालमा १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) सञ्चालन गर्न काठमाडौँस्थित भारतीय दूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन एजेन्सीहरूले आज समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् ।   नेपालमा यी परियोजना नेपाल सरकारका स्थानीय निकाय जस्तै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामार्फत कार्यान्वयन गरिने दूतावासले जनाएको छ ।   यी उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को कार्यान्वयनले नेपालका जनतालाई राम्रो शैक्षिक, स्वास्थ्य सेवा र सांस्कृतिक सुविधा प्रदान गर्न मद्दत गर्नेछ ।   सन् २००३ यता भारतले आज समझदारी पत्रमा हस्ताक्षर भएका १० वटा परियोजनासहित नेपालमा ५७३ भन्दा बढी एचआइसीडीपीहरुमा कार्य गरेको छ र नेपालका सात वटै प्रदेशका तल्लो तहमा शिक्षा, स्वास्थ्य, सडक तथा पुल, नदी तालिम, खानेपानी, विद्युतीकरण, सिँचाइ, संस्कृति, समाज कल्याण र अन्य सार्वजनिक उपयोगिताको सिर्जनाका क्षेत्रमा चार सय ९५ परियोजना पूरा गरेको छ ।   बाँकी परियोजना विभिन्न चरणहरूमा सञ्चालन भइरहेको छ ।

चैते दसैँ सुरु भएसँगै बागलुङको कालिका मन्दिरमा धार्मिक पर्यटकको बढेका छन् ।   आइतबारदेखि नवरात्र सुरु भएको छ । चैते दसैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजा उपासना गरिन्छ ।   चैते दसैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने भएकाले टाढा–टाढाबाट भक्तजन आउने गर्दछन् ।   चैतको नवरात्रमा बागलुङ कालिकाको पूजाआराधना र बलि दिइँदा आँटेको पुग्ने जनविश्वास छ ।   गण्डकी प्रदेशको मुख्य शक्तिपीठका रूपमा मन्दिरमा अहिल भक्तजनको भीड लागेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।   'चैते दसैँको तेस्रो दिनसम्म दैनिक हजारौँको सङ्ख्यामा भक्तजन आउनुभएको छ, यसपटक पाँच लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ', खड्काले भने, 'यही अवसरमा चैत २० गतेदेखि यहाँ मेलासमेत आयोजना गरिएको छ, भक्तजनको चापलाई मध्यनजर गरेर सवारी पार्किङ, सुरक्षालगायतको व्यवस्था मिलाइएको छ ।'   मेला आयोजनाका लागि ५५ लाख खर्चको अनुमान गरिएको छ । मन्दिरमा छिमेकी मुलुक भारतबाटसमेत धार्मिक पर्यटक आउने गर्दछन् । मन्दिरमा बोका, राँगो, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ ।   मेलामा स्थानीय कला संस्कृति झल्कने झाँकीसमेत प्रदर्शनको व्यवस्था मिलाइएको बताउँदै उनले स्थानीय सामग्री डोको, नाङ्लो ठेका, डालालगायतको व्यापारलाई स्टल निःशुल्क उपलब्ध गराइएको जानकारी दिए ।

पोखरा:  नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको आयोजनामा ‘फोटो यात्रा–गन्तव्य मेघौली’ कार्यक्रम भएको छ ।    बाराही जंगल लजको सहयोगमा भएको कार्यक्रम २ दिनसम्म सञ्चालन भएको थियो ।    आइतबार कास्कीबाट निस्किएको एनपिजेए कास्कीको टिम चितवनको भरतपुर महानगरपालिका २८ मेघौलीस्थित बाराही जंगल लज पुगेर सोमबार पोखरा फर्किएको हो ।   टोलीले पृथ्वी राजमार्गको सडक विस्तार, बाराही जंगल लजको सुन्दरतासँगै आतिथ्य, थारु समुदायको नृत्य, डुंगा सफारी, मेघौलीबाट देखिने सूर्यास्त, जंगल सफारीको फोटो, भिडियो खिचेका थिए ।   नवलपुरको गैडाकोट नगरपालिका स्थित मौलाकाली मन्दिरसँगै त्यहाँ जान बनाइएको केवलकार र नारायणी नदीमा सञ्चालित मोटर बोटको दृष्य पनि कैद गरेको संघका अध्यक्ष राम गुरुङले बताए ।    कार्यक्रममा पत्रकार महासंघ गण्डकीकी महासचिव जमुना वर्षा शर्माले फोटो र पर्यटन क्षेत्र एक अर्काका परिपूरक भएको बताइन् । हरेक सञ्चार माध्यममा फोटो पत्रकार आवश्यक रहेको उनको भनाइ थियो । समग्र क्षेत्रको   विकासमा फोटोले अहम भूमिका खेल्ने भएकाले कास्कीमा रहेको नेपाल फोटो पत्रकार संघ कास्कीलाई आगामी दिनमा अझै रचनात्मक काम गर्दै अघि बढ्नुपर्ने उनले सुझाव दिइन् ।    मेघौली पुगेको टिमले बाराही जंगल लजबारे महाप्रबन्धक प्रकाश चन्दसँग अन्तरक्रिया गरेको थियो ।   २०१३ सेप्टेम्बरबाट बाराही ग्रुपले सञ्चालनमा ल्याएको लज विदेशी एवं स्वदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ । १३ हेक्टरमा फैलिएको लज राप्ती नदीको किनारमा हरियाली जंगलभित्र छ ।   थारु शैलीको घरमा बस्न पाउनु यसको विशेषता रहेको चन्दले बताए ।   लजबाटै राप्ती नदीमा जलचर रमाएको मात्र नभई चितवन राष्ट्रिय निकुञ्जमा मृग, गैंडा, हात्ती लगायत जंगली जीवजन्तु  रमाएको दृश्यावलोकन गर्न मिल्छ । ती जीवजन्तुलाई अझ नजिकबाट नियाल्न साँझमा डुंगा सफारी र बिहानमा जंगल सफारीको सुविधा छ ।   स्थानीय थारु संस्कृति प्रवद्र्धन गरिरहेको लजमा पर्यटक बस्ने भिल्लादेखि स्वागत कक्ष, डाइनिङ, टाइगर्स डेन बारका घरसमेत थारु शैलीमै बनेका छन् ।    लोपोन्मुख अवस्थामा पुगेको मट्टीतेल लालटिन लजमा निकै रचनात्मक ढंगले सदुपयोग गरिएको छ ।   लजमा बेलुका स्थानीय थारु र कुमाल जातिकै सांस्कृतिक नाँच देखाइने उनले बताए । मेघौली क्षेत्रको पर्यटन प्रवद्र्धनमा लजले टेवा पु¥याइरहेको जानकारी दिदैं उनले त्यहाँबाट नजिकै रहेको विमानस्थल सञ्चालनमा आए टेवा पुग्ने बताए ।      एनपिजेए कास्कीका अध्यक्ष गुरुङले लजले मेघौली, चितवन मात्र नभएर देशकै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको बताए ।   यहाँको प्रकृतिको फोटो तथा भिडियोहरु फोटो पत्रकारको क्यामेरामा कैद भएकाले कुनै न कुनै माध्यमबाट लज, चितवन राष्ट्रिय निकुञ्जसगै सिंगो राष्ट्रको पर्यटन क्षेत्रको विकासका लागि प्रयोग गरिने उनले बताए ।    ‘फोटो यात्रा–गन्तव्य मेघौली’ कार्यक्रमकी संयोजक राधिका कंडेलले फोटो पत्रकारिता केवल दृष्य कैद गर्ने माध्यम मात्र नभई समाजका विविध पक्ष उजागर गर्ने सशक्त माध्यम भएको बताइन् ।   एनपिजेए कास्कीका उपाध्यक्ष समेत रहेकी कंडेलले भनीन्, ‘यसले सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउँदै पर्यटन प्रवद्र्धन, साँस्कृतिक सम्पदाको संरक्षण तथा सामाजिक जीवनका अनगिन्ती आयामहरु उजागर गर्न महत्वपूर्ण भूमिका खेल्छ ।’ 

काठमाडौं:  ‘सञ्चो’ भनेर धेरै नेपालीलाई थाहा छ तर उत्पादक संस्थाबारे कतिपयलाई थाहा नहुन सक्छ । कम्पनिले अन्य विविध उत्पादनहरू गरिरहे पनि ‘सञ्चो’ एक स्थापित ‘ब्रान्ड’ नै भइसकेको थियो ।  जसले उत्पादक कम्पनीबारे पनि आमनागरिकमा एउटा छाप छोड्दै थियो । यसका पछाडि वर्षौदेखि संस्था र सरकारका लगानी तथा  मेहेनत छ । विडम्बना, त्यही संस्था गत शुक्रबारदेखि भग्नावशेषमा परिणत भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षधर प्रदर्शनकारीले आगजनी गर्दा कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड खण्डहर बनेको हो ।   भवन खण्डहर छ । त्यहाँ रहेका उपकरण र अन्य सामग्री जलेर खरानी भएका छन् ।  ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’९जिएमपी० सुविधासहितका दुई वटा भवनमा क्षति पुग्नाका साथै औषधि उत्पादनमा प्रयोग हुने कच्चापदार्थ, उपकरण, फर्निचर, कागजातल, प्याकेजिङलगायत सामग्री जलेर खरानी भएका छन् । प्रारम्भिक विश्लेषणअनुसार आगजनीबाट रु २८ करोड बराबरको क्षति हुन पुगेको छ ।      हाल त्यही खण्डहर भवनमा रहेका भग्नावशेष र खरानी पन्छाउने काम जारी छ । त्यो दिन सम्झिँदा कम्पनीकी महाप्रबन्धक सङ्गीता यादवको मन भक्कानिन्छ ।  जनमानसमा ‘सञ्चो’उत्पादन गर्ने संस्थाका रूपमा चिनिएको यस कम्पनीलाई आफ्नै आँखा अगाडि खरानी भएको देख्दा उहाँको मन रोएको छ ।  महाप्रबन्धक यादव भन्नुहुन्छ, “मैले आफैँले त्यो नयाँ मेसिन राखेको थिएँ । अब यो लेभलसम्म आयो भनेर कति खुसी थियाँैँ तर आँखा अगाडि नै त्यो सबै संरचना जलेको देख्दा आँखाबाट आँसु नै आयो । मन थाम्न सकिँन । यस्तो हुन पुग्यो ।”      जिएमपीअनुसार सञ्चालन गरिएको भवनलगायत स्वचालित उपकरणहरू जलेर ध्वस्त हुँदा उत्पादन ठप्प छ । यद्यपि चाँडै नै कम्पनी पुरानै अवस्थामा फर्किने आशामा रहेको महाप्रबन्धक यादवको विश्वास छ ।  उहाँले भन्नुभयो, “सबै जलेर खरानीमा परिणत भएको छ । कम्पनी फेरि सुरुआत गर्नु त पर्छ तर सुरुआती चरणमा म्यानुअल९हातबाट० फिलिङमै जानुपर्ने भयो । कम्पनी विविध चुनौतीका बीच एक लेभलमा अगाडि बढिरहेको थियो, शाखा पनि विस्तार गरिसकेका थियौँ । हामी सबै कर्मचारी उत्साहित थियौँ तर हुलदङ्गाको चपेटामा परेर सबै गुम्यो । अब सरकारले यसलाई गम्भीर भएर सोचिदिनुपर्छ ।”      पहिलाकै अवस्थामा कम्पनीलाई ल्याउन कठिन भए पनि प्रयास र समन्वय भइरहेको छ । कम्पनीले देशभरिमा रहेका शाखा कार्यालयबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।  “यो संस्था अप्रिय दुर्घटनाको सिकार हुन पुग्यो । सातवटै प्रदेशमा शाखा राख्ने भनेर विभिन्न ठाउँमा काम भइसकेको छ । लुम्बिनी प्रदेशमा मात्र जान बाँकी थियो । जाजरकोटमा पनि हालैमात्र शाखा विस्तार गरेका थियौँ । गोरखामा पनि सुरु गर्ने तयारी थियो । अब जिल्लामा रहेका शाखाबाट उत्पादन गर्ने कोशिस गर्छौं तर जति माग थियो त्यसलाई भने धान्न सकिँदैन”, महाप्रबन्धक  यादवले भन्नुभयो ।      उहाँका अनुसार अस्थायी संरचना तयार गरेर भएपनि उत्पादन सुरु गर्ने र यसका लागि सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्छ । यादवले भन्नुभयो, “छानविन आफ्नो ठाउँमा छ । आफ्नो तर्फबाट सम्बन्धित निकायसँग पहल गरिरहेका छौँ । व्यवसाय गर्ने संस्था हो । आफैँ कमाउने आफँै खाने संस्था हो । अर्थतन्त्रमा यसको पनि योगदान हुन्छ । त्यसैले उत्पादन रोकिनुहुन्न । आशा छ हामी चाँडै बौरिने छौँ । सञ्चोको उत्पादन पुनः हुनुपर्छ भनेर लागिरहेका छौँ, यसमा सबैबाट सहयोग पाउने छौँ ।”      विसं २०३८ मा स्थापित सरकारको स्वामित्व भएको यो कम्पनीले विभिन्न औषधियुक्त एवं सुगन्धित जडीबुटीहरूको सङ्कलन र प्रशोधन गर्दै आएको छ । कम्पनीले सञ्चो, भिक्स, हिमालय मसाज तेल, सञ्चो जटा केश तेललगायत उत्पादन गर्दै आएको छ । 

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा आज थाइल्यान्डको बैंकक आइपुग्नु भएको छ । प्रधानमन्त्री ओली आज साँझ स्थानीय समय अनुसार ६।१५ बजे बैंकक आइपुग्नुभएको हो । उहाँलाई सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट, संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गर्नुभयो । थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो । प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत हुनुहुन्छ ।