पोखरा:  पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगितामा क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे शिर्ष स्थानमा उक्लिएको छ ।  पोखरा–३ नदिपुर छन्त्याल समाजको भलिबल कोर्टमा भएको ल...

पोखरा: पोखरामा आज ४३ औं मगर स्थापना ४३औँ मगर सङ्घ स्थापना दिवस मनाइएको छ । नेपाल मगर संघ कास्कीको आयोजनामा आज पोखरामा विभिन्न कार्यक्रम गरेर ४३ औं मगर स्थापना दिवस मनाइएको हो ।  मगर दिवसको अवसमा पोखराको मानवअधिकारबाट मगर भेषभुषामा झाँकी ¥याली चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, लखनचोक हुँदै पोखरा रंगशालामा गएर औपचारिक कार्यक्रममा सुरु भएको थियो ।  विसं २०३९ फागुन १५ गते तनहुँको दमौलीमा नेपाल लाङ्घाली परिवार सङ्घको स्थापना भएको थियो । सोही दिनलाई मगर सङ्घले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।    विसं २०३९ मा मगर सङ्घको पहिलो महाधिवेशन भए तापनि त्यस अघिदेखि नै मगरहरु विभिन्न ढङ्गले सङ्गठित हुँदै आएका थिए ।   विसं २०३९ फागुन १४, १५ देखि १६ गते तनहुँको दमौलीमा पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बीचमा हजारौँ मगर समुदायको उपस्थितिमा ‘नेपाल लाङ्घाली परिवार सङ्घ’ को ऐतिहासिक प्रथम महाधिवेशन भव्यताका साथ सम्पन्न भएको थियो ।   विसं २०४८ को चौथो महाधिवेशनले ‘नेपाल लाङ्घाली परिवार सङ्घ’ लाई नाम परिवर्तन गरी ‘नेपाल मगर सङ्घ’ मा रूपान्तरण गरेको थियो ।                

गण्डकी: उत्पादनसँग जोडिने ठूला राजनीतिक दलका योजना निरर्थक बनिरहेका बेला नेपाल कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताले भने त्यसलाई चरितार्थ तुल्याएका छन् ।  देशका विभिन्न ठाउँमा व्यावसायिक कृषि उत्पादनसँग जोडिएको नेकपाले हालै काठमाडौँमा ‘सी व्यापार केन्द्र’समेत सञ्चालनमा ल्याएको छ । उक्त व्यापार केन्द्रबाट कृषिजन्य वस्तुको उत्पादन तथा वितरण हुँदै आएको छ ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आफै कृषिकर्ममा जोडिएर आफ्ना नेता–कार्यकर्ता र सर्वसाधारण किसानलाई व्यावसायिक उत्पादनतिर प्रेरित गरिरहनुभएको छ ।  उत्पादनसँग जोडिने पार्टी नीतिलाई लागू गरेका कास्कीका नेकपा नेता–कार्यकर्ता पनि व्यावसायिक कृषि खेती गरेर उदाहरणीय बनेका छन् ।  गत असारदेखि पोखरा महानगरपालिका–१४ छिनेडाँडामा १४ रोपनी जग्गा भाडामा लिएर कृषि उत्पादन सुरु गरिएको नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका कार्यालय सचिव विकिरण क्षेत्रीले जानकारी दिनुभयो ।  छिनेडाँडामा रहेको परम्परागत घरसमेत भाडामा लिई त्यसैमा कार्यालय पार्टी कार्यालय सञ्चालन हुँदै आएको उहाँको भनाइ छ । कार्यालय सचिव क्षेत्रीका अनुसार यो हिउँदमा ६५ क्विन्टल आलु उत्पादन भएको छ ।  “झण्डै रु तीन लाख बराबरको आलु फल्यो, ३० क्विन्टल आलु चिप्स उत्पादनका लागि बाहिर पठाइएको छ, बाँकी पोखरामै बिक्री गर्छौँ”, उहाँले भन्नुभयो, “अब चैतेधान र मकै रोप्ने तयारी भइरहेको छ, काँक्रालगायत तरकारीका लागि टनेलखेती गरिरहेका छौँ ।” पार्टी केन्द्रले काठमाडौँमा सञ्चालन गरेको ‘सी व्यापार केन्द्र’मा पोखरामा उत्पादन भएको तीन क्विन्टल जेठोबुढोको धान पठाइएको उहाँले बताउनुभयो । नेकपा गण्डकी प्रदेश इञ्चार्ज उमा भुजेलले कृषि उत्पादनमा प्रत्यक्ष रुपमा नेता–कार्यकर्ता खट्ने गरेको सुनाउनुभयो ।  “कृषि उत्पादनमा दैनिक रुपमा जोडिने साथीहरु सात÷आठ जना हुनुहुन्छ”, उहाँले भन्नुभयो, “आवश्यक पर्दा काममा सघाउन बाहिरबाट पनि आउनुहुन्छ ।” इञ्जार्च भुजेलका अनुसार तनहुँको बन्दीपुर, नवलपुर, म्याग्दी, बागलुङ, लमजुङलगायतका जिल्लामा पनि नेकपाका नेता–कार्यकर्ता कृषि उत्पादन जोडिएका छन् । व्यावसायिक कृषिमा नेपालको भविष्य जोडिएकाले त्यसतर्फ समाजलाई अभिप्रेरित गर्न पार्टीलाई उत्पादन कार्यमा संलग्न गराइएको केन्द्रीय सदस्य क्षेत्रीले बताउनुभयो ।  “कृषि उत्पादन क्षेत्र विस्तार गर्दै जाने र किसानलाई जोड्ने पार्टीको योजना छ, पार्टी नेतृत्वले गरेको कृषि क्रान्तिको उद्घोषलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नु हामी नेता–कार्यकर्ताहरुको दायित्व हो”, उहाँले भन्नुभयो, “यसले जनस्तरमा पनि कृषिप्रतिको आकर्षण बढाउँछ भन्ने हाम्रो विश्वास छ, राजनीतिक दलहरुप्रतिको दृष्टिकोण पनि बदलिन्छ ।”

गण्डकी:  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले साहित्य परिवर्तनको सम्वाहक रहेको बताउनुभएको छ । ‘बुकवर्म फाउण्डेशन’को आयोजनामा आजदेखि पोखरामा सुरू भएको १२औँ नेपाल साहित्य महोत्सवको उद्घाटन गर्दै उहाँले साहित्य अभिव्यक्तिको सशक्त माध्यम भएको बताउनुभयो ।  भूपि शेरचनको कृति ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पढेर आफू क्रान्ति र परिवर्तनप्रति आकर्षित भएको सञ्चारमन्त्री गुरूङले बताउनुभयो । उहाँले बुकवर्मले आयोजना गर्दै आएको साहित्य महोत्सव बहुआयमिक कार्यक्रम रहेको बताउनुभयो । “यहाँ समाज, संस्कृति, अर्थतन्त्र, राजनीतिलगायतका विषयमा विचार–विमर्श हुन्छ, यसबाट सामाजिक रूपान्तरणमा योगदान पुग्छ”, सञ्चारमन्त्री गुरूङले भन्नुभयो, “यो अन्यभन्दा नितान्त नौलो र सिर्जनशील कार्यक्रम हो ।” उहाँले नयाँ पुस्तालाई अनुसन्धान र सिर्जनशीलतातर्फ आकर्षित गर्नुपर्ने बताउनुभयो ।  सञ्चारमन्त्री गुरूङले पुस्तक पढ्ने संस्कृतिलाई बढाउनुपर्ने बताउनुभयो । पोखरामा पर्यटकीय गतिविधि बढाउन यस्ता मेला–महोत्सवबाट सघाउ पुग्ने उहाँको भनाइ थियो ।  फेवाताल किनारको बाराहीघाट मैदानमा चार दिनसम्म चल्ने उक्त साहित्य महोत्सवको उद्घाटनसत्रमा प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाले प्रवचन दिनुभएको थियो ।  महोत्सवमा नेपाल तथा अन्य मुलुकका गरी दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकारलगायतको उपस्थिति रहनेछ ।  पचासभन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि यसमा समावेश छन् । महोत्सवमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, चलचित्रलगायत क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुने बताइएको छ ।

काभ्रेपलाञ्चोक:  सुक्खा पहिरो जाँदा यहाँको नमोबुद्ध नगरपालिका–१ कानाकोटमा आज एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ ।  वृद्धाश्रमको भवन बनाउने क्रममा माथिबाट सुक्खा पहिरो आई भवनको दोस्रो तलाको पिल्लर ढलेर किच्दा पर्साको सखुवापर्सेनी गाउँपालिका–३ स्थायी ठेगाना भएका ३८ वर्षीय दुर्जन माझीको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालयका अनुसार सुक्खा पहिराले पिलर ढल्दा रडले टाउकोमा लागी घटनास्थलमै माझीको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।  हराएको पाँच महिनामा कङ्काल फेला  यसैबीच हराएको करिब पाँच महिनापछि मण्डनदेउपुर नपा–११ को ३८ वर्षीया निशा लामाको कङ्काल पाँचखाल नपा–३ स्थित जङ्गलमा भेटिएको छ । लामाको हत्या अभियोगमा प्रहरीले आज धुलिखेल नपा–६ का ३६ वर्षीय सुनिल रञ्जितकारलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । लामा गत असोज १५ गतेदेखि हराउनुभएको थियो ।  सोही दिन लामा औषधि खरिदका लागि घरबाट तामाघाट जान्छु भनेर हिँडेको र घर नफर्केपछि उनका श्रीमान राइफल लामाले प्रहरीमा खोजविनका लागि निवेदन दिनुभएको थियो ।  निशाको कङ्काल बुधबार दिउँसो २ बजे पाँचखालको काफ्लेडिही नजिकको जङ्गलमा फेलापरेको थियो । निशाको कङ्कालसँगै ब्याग, चप्पल र व्यागभित्र निशा लामा लेखिएको बिल फेला परेका कारण उक्त कङ्काल श्रीमती निशाकै भएको भनी लामाले सनाखत गर्नुभएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार निशाका श्रीमान् लामाले रन्जितकार विरुद्ध आज जाहेरीसमेत दर्ता गर्नुभएको छ ।  प्रहरीका अनुसार जाहेरीमा पक्राउ परेका सुनिल रञ्जितकारले निशालाई काभ्रेपलाञ्चोककै बनेपामा भेटी ललाइफकाइ गरी झुक्याएर काफ्लेडिहीको जङ्गलमा लगेको र हत्या गरेको आरोप छ ।  रञ्जितकारले भने निशाले आफूलाई ‘जबरजस्तीकरणीको अभियोग’ मा फसाइदिन्छु भनेकाले आवेशमा आएर धारिलो हतियार र ढुङ्गाले टाउको तथा संवेदनशिल अङ्गमा प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ । निशाका दुई छोरा र एक छोरी छन् ।   

सुनसरी:  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने बताउनुभएको छ ।            जनतासँग माओवादी तराई मधेस जागरण अभियानका क्रममा आज सुनसरीको गढी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तराईका जनताको समस्या समाधान र एकता कायम गर्न हुलाकी मार्ग केन्द्रित अभियान सुरु गरिएको बताउनुभयो ।       पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालले जनताले कृषि क्षेत्रमा भोग्दै आएका समस्या समाधान र बजारीकरणलाई सम्बोधन गर्ने सङ्कल्पसहित यो अभियान सञ्चालन गरिएको प्रष्ट पार्नुभयो ।        उहाँले भन्नुभयो, “कृषि पेन्सन, कृषि बिमा, शीत भण्डार र बजार उपज बिक्री केन्द्र स्थापना गर्नुपर्ने छ । यसका लागि हामो पार्टीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”      राज्यले दक्षिण भेगमा बस्दै आएका नागरिकमाथि वर्षौंदेखि विभेद गरिरहेकाले यसको विरुद्ध सङ्घर्षको झण्डा उठाउन अभियान थालिएको उहाँको भनाइ थियो ।       उत्पीडित क्षेत्र र समुदायको योगदानको स्मरण गर्दै यी क्षेत्र र समुदायको आर्थिक अवस्था रूपान्तरण कसरी गर्न सकिन्छ भन्ने विषयमा गम्भीर रहेको अध्यक्ष दाहालले बताउनुभयो ।

सराङकोटमा बुधबारदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव सुरु भएको छ ।   २१ फागुनसम्म जारी रहने उक्त उत्सव अन्र्तगत आज पूर्वाङ सहित महायज्ञ शुभारम्भ गरिएको हो।         यज्ञ शुभारम्भ पूर्व बाजागाजा, भजन, युद्ध कलासँग सम्बन्धीत सरुन खेल सहित पोखरा गाईघाटबाट सेती नदी स्नान गरी पञ्चकन्या सहित कलश यात्रा सुरु भएको थियो ।उक्त यात्रा विन्ध्यवासीनी मन्दिर, सेदी हुँदै अन्नपूर्ण केवलकार मार्फत यज्ञ स्थल सराङकोट टप पुगी मुल समारोहमा परिणत भयो ।         बुधबार उद्घाटनको दिन अन्नपूर्ण केवलकारमा अध्यक्ष कालु गुरुङबाट रु.२५ लाख, सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी परिवारबाट रु.१५ लाख, त्यस्तै खिमबहादुर जिसीको परिवारबाट रु.२ लाख ३३ हजार एवम् अन्य दाताको गरी कुल ४५ लाख ७५ हजार सहयोग संकलन भएको प्रसारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिनुभयो।         समारोहलाई सम्बोधन गर्नुहुँदै सहयोगदाता अन्नपूर्ण केबलकार अध्यक्ष कालु गुरुङले सराङकोट धार्मिक पर्यटकीय स्थलका अलवा शक्ति पीठका रुपमा क्रमश स्थापित हुँदै गएको जनाउनु हुँदै सद्कर्ममा सहयोग गर्न पाउदाँ खुशी लागेको सुनाउनुभयो ।उहाँले आफुले धार्मिक संघसंस्थामा सक्दो सहयोग गर्दै आइरहेको स्मरण गर्नुहुँदै सराङकोट वास्तवमै स्वर्गको टुक्रा भएको अनुभव राख्नुभयो।         भागवत् भाष्कर पण्डित कमलनयन गौतमले सराङकोटलाई पुण्यभूमिको संज्ञा दिनुहुँदै सराङकोट पहिचान स्थापित भूमि भएको स्पष्ट पार्नुभयो ।उहाँले सराङकोट धामको बृद्धि विकासमा लागि हाल सहित ६ यज्ञ गरिएको स्मरण गर्नुहुँदै सराङकोट टप पुगेपछि स्वर्ग पुगेको महशुस हुने गरेको औँल्याउनुभयो।         पोखरा महानगरपालिका प्रवक्ता समेत रहनुभएका वडा नं. २५ का अध्यक्ष मोतिराज तिमिल्सीनाले सराङकोट महाउत्सवले पोखरा भ्रमण वर्षलाई महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुहुँदै महाउत्सव समग्र पोखरेलीकै चाड भएको उल्लेख गर्नुभयो ।प्रवक्ता तिमिल्सीनाले पोखरा कोटैकोटको शहरका रुपमा स्थापीत हुँदै गएकोमा खुशी व्यक्त गर्नुहुँदै सराङकोटको स्तरउन्नतीमा महानगरले विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो।         वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले उत्सव समग्र पोखरेलीको चाड भएको भनाई राख्नुहुँदै  सराङकोटमा निर्माण भएका संरचना संरक्षणमा सबैले ध्यान दिनुपर्ने जनाउनुभयो ।२०६१ सालदेखि सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समिति गठन पश्चात गुरुयोजना निर्माण गरी हालसम्म अनवरत रुपमा सहयोग जुटाउर्दै त्यहाँ निर्माण कार्य गरिएको स्पष्ट पार्नुहुँदै अध्यक्ष तिमिल्सीनाले पोखरालाई नियाल्न सराङकोट टप पुग्नैपर्ने स्पष्ट पार्नुभयो ।       त्यस अवसरमा सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी, वडा सदस्य कल्पना ढकाल क्षत्री लगायतले पनि महाउत्सवको महत्वमाथि प्रकाश पार्नुहुँदै सबैको साथ सहयोगबाट उत्सव सफल हुने विश्वास व्यक्त गर्नुभयो।         उद्घाटनको दिन आज यज्ञ स्थल पुग्ने सम्पूर्ण भक्तजनका लागि केबलकार तथा वसमा आवातजावत निःशुल्क व्यवस्था मिलाइएको थियो।त्यस्तै यज्ञमा मातृ शक्तिको वाक्लो उपस्थिती देखिन्थ्यो ।   महाउत्सव अन्र्तगत यहि १७ फागुनमा राष्ट्रपति रामचन्द्र पौडेलको बाहुलीबाट सराङकोट धाममा निर्माण गरिएको विशाल पञ्चमुखी गणेश मुर्ति एवम् देवालयहरुको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।यज्ञ अवधिभर स्थानीय चक्रबहादुर जिसी तथा उद्योगकुमारी जिसीले मूल कर्ताको भूमिका निर्वाह गर्नुहुनेछ।   सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भएका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।   महाउत्सवका अवसरमा सामुहिक ब्रतबन्ध, लाख बत्ती बाल्ने, ग्रह शान्ति, रुद्री, चौरासी पुजा तथा संगीतमय भजन कृर्तन गरिनेछ ।सराङकोटमा अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ ।   सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा सदस्य कल्पना ढकाल क्षत्रीले स्वागत तथा महाउत्सवका सचिव डिलबहादुर जिसीले कार्यक्रम संचालन गर्नुभयो ।

पोखरा:   अन्तर्राष्ट्रिय स्तरको दुईवटा रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन २ को पोखरा अडिसन फागुन १६ र १७ गते हुँदैछ ।   गण्डकी प्रदेशका सहभागिलाई समेट्ने गरि पोखराको पोखरा बहुमुखि क्याम्पसमा हुने अडिसनको तयारी पुरा भएको आयोजक इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले जनाएको छ ।   विश्वभर रहेका नेपालीहरुको गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि यी दुवै रियालिटी शो सञ्चालन हुँदैछ ।   साउनको अन्तिम साता काठमाडौंमा हुने फिनालेमा दुबै शोका विजेताहरुलाई १/१ करोड नेपाली रुपैंया पुरस्कार स्वरुप प्रदान गरिने छभने दोस्रो हुनेलाई २५/२५ लाख रुपैया र तेस्रो हुनेलाई १०/१० लाख पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।   पोखरा अडिसनका लागि सम्पूर्ण तयारी पुरा भएको फाण्डेसनका गण्डकी प्रदेश प्रमुख तथा गाएक राजेश बर्देवाले जानकारी दिए ।   १६ गते हुने भ्वाइस अडिसन र १७ गते हुने डान्स अडिसनका लागि गण्डकी प्रदेशका सम्वन्धित संस्था, विद्यालय, क्याम्पस तथा आम जनमानसमा जानकारी तथा सूचना पुराईसकिएको बर्देवाले बताए ।   नेपाली संस्कृति र साँस्कृतिक पहिचानलाई संरक्षण, सम्वद्र्धन र उत्थान गर्नु फाउण्डेशनको मूलभूत उद्देश्य रहेको फाउण्डेसनका कास्की जिल्ला प्रमुख तथा कलाकार किसान सेवाले बताए । साथै फागुन १६ र १७ गते हुने पोखरा अडिसनमा भाग लिन समेत उनले आग्रह गरे ।   सहभागी हुन चाहने प्रतिष्पर्धीहरुले फाउण्डेसनको वेभसाइट इन्ट्रा फाउण्डेसन डट ओआरजी (www.intrafoundations.org)  बाट आवेदन दिन सक्ने किसान सेवाले जानकारी दिए ।   फाउण्डेसनका कार्यकारी निर्देशक सिएम भट्टराईल नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्नका लागि र नेपालीभाषी प्रतिभाहरुलाई चिनाउन यस्तो खालको रियालिटी शो आयोजना गरिएको बताए । नेपाली कला, संस्कृति, संस्कारजस्ता कुरालाई नयाँ पुस्तालाई पुस्तान्तरण गर्न पनि यो रियालिटी शोले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।   फाउण्डेसनका अनुसार दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्ड, हङकङ र जापानमा, मध्यपूर्वका लागि दुबई र कतारमा, अष्ट्रेलियाका लागि सिड्नीमा, भारतको लागि सिलिगुरी र मुम्बईमा, र नेपालका विर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसनहरु हुनेछन् ।   उक्त अडिसनमा छनौट भएका भ्वाइस र डान्सका प्रतियोगिलाई प्रतिस्पर्धाका लागि काठमाडौं लगिने आयोजकले जनाएको छ ।   सन् २०२३ मा यी दुवै रियालिटी शोको पहिलो सिजन सफलतापूर्वक सम्पन्न भइसकेको छ ।

काभ्रेपलाञ्चोक: सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द गरेको छ ।   आज कार्यालयले सार्वजनिक सूचनामार्फत विस्तारको क्रममा रहेको उक्त चार किलोमिटर दूरीको सडकको ठेक्का रद्द भएको जानकारी गराएको हो । कार्यालयको मङ्गलबार बसेको बैठकले उक्त सडकको ठेक्का रद्द गर्ने निर्यय गरेको थियो ।   जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको गौरी पार्वती निर्माण सेवा प्रालि नामक कम्पनीले विसं २०७९ जेठ २० मा २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी रु २० करोड १९ लाख ४६ हजार पाँच सय एकमा ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि निर्माण सकेको थिएन ।   पछिल्लो वर्षदेखि उक्त सडकखण्डको निर्माणको काम ठप्पप्राय नै थियो ।   सडक उपभोक्ताले पटकपटक गुनासो गरेपछि तथा यात्रुले सास्ती बेहोरेपछि संसद्को पूर्वाधार समितिले समेत अनुगमन गरेको थियो । सडक डिभिजनको ताकेतापछि पनि ठेकेदार कम्पनीले निर्माणमा आलटाल गरेपछि पछिल्लेपटक गत माघ १९ गते पुनः स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ ।   कार्यालयका अनुसार कम्पनीले लिखित स्पष्टीकरण दिए पनि सन्तोषजक, भरपर्दो विश्वसनीय नदेखिएपछि ठेक्का रद्द गर्ने निष्कर्षमा पुगिएको हो । “अब प्रक्रिया पु¥याएर पुनः एक दुई हप्तामै पुनःठेक्का खोल्नेछौँ, भौतिक एवं वित्तीय प्रतिशतका आधारमा हेरफेरसमेत हुनेछ”, कार्यालयका प्रमुख सुमन योगेशले भन्नुभयो ।   उहाँका अनुसार हालसम्म २५ प्रतिशत वित्तिय प्रगति भएको छ । हालसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा कटिङको काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेन–वाल लगाउने काम गरिएको छ भने जिपलाइनदेखि तल खावासम्मको करिव सडकमात्रै भत्काइएको तर एक किलोमिटर भागमा कटिङ नै बाँकी रहेको छ ।   गत जेठमा धुलिखेलतर्फबाट बेस, सब–बेस हाल्ने काम सुरु गरिए पनि बर्षामा सबै बगाएर खण्डहरझैँ बनाएको थियो । समयमै निर्माण सम्पन्न नहुँदा यस राजमार्ग भएर गुड्ने सवारीका यात्रुले दुई वर्षदेखि निकै सास्ती खेप्दै आउनुपरेको छ ।   सडक निर्माणको काम समयमा नसकिँदा पुनःनिर्माणका लागि भत्काइएको सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते भएका छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्रे गर्न लागिएको थियो ।   उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्रे गर्ने योजना बनाएको थियो ।   अरनिको राजमार्ग हुँदै नेपालको चिनसँगको उत्तरी नाकाअर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा दोलखा, रामेछाप पुग्ने यही सडक हो । 

हेटौँडा उपमहानगरपालिका–६ सल्लाघारी नजिक मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ६१ वर्षीय कमलबहादुर बोहराको मृत्यु भएको छ ।   दुर्घटनामा गम्भीर घाइते भएका वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   रामनगरबाट हात्तीलेटतर्फ जाँदै गरेको ना५४प १८७६ नंको मोटरसाइकलले बुधबार साँझ पैदलयात्री बोहरालाई ठक्कर दिएको थियो ।   दुर्घटनामा गम्भीर घाइते भएका बोहराको हेटौँडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा लगिएको थियो ।   उहाँको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनापछि मोटरसाइकल चालक विदुर सापकोटा फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय चौघडाले जनाएको छ ।