काठमाडौं: हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको बताएको छ । तराईका केही भागमा हल्का हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले हिमपात र वर्षाबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन ती क्षेत्रका सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालय (टियू) ले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा समस्या परेका विद्यार्थीलाई ‘क्रेडिट ट्रान्सफर’ गरेर अध्ययन गर्ने व्यवस्था मिलाएको छ । त्रिविका शिक्षाध्यक्ष प्रा डा खड्ग केसीले जारी गर्नुभएको विज्ञप्तिमा भारतको केआइआइटी विश्वविद्यालयमा सिर्जना भएको समस्याको कारणले स्वदेशमा फिर्ता भएका विद्यार्थीलाई त्रिविको ‘क्रेडिट ट्रान्सफर’ नीतिअनुसार भर्ना हुने व्यवस्था गरिएको जानकारी गराउनुभएको छ । “भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआइआइटीमा सिर्जना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा त्रिविको क्रेडिट ट्रान्सफर नीति अनुरूप भर्ना गर्न सकिने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ,” उहाँले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । त्रिविले विद्यार्थी तथा अभिभावकलाई [email protected] र [email protected] मा सम्र्पक गर्न आग्रह गरेको छ । गत केही दिनअघि केआइआइटीको छात्रावासमा प्रकृति लम्सालको रहस्यम तरिकाले मृत्यु भएको थियो । त्यसपछि असुरक्षा भएपछि नेपाली विद्यार्थीबीचमा नै पढाइ छाडेर नेपाल फर्किएका छन् ।
काठमाडौं: भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताउनुभयो । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको ह्दयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । पशुपतिनाथमा आजको चार प्रहरमा चार प्रकारका पूजा राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किरातेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र महाशिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ । महाशिवरात्रिमा प्रहर पूजाको विशेष महत्व रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । आज बेलुकी करिब छ बजेदेखि पशुपतिनाथ मन्दिरमा प्रहर पूजा सुरु हुन्छ । पहिलो प्रहर पूजा करिब पौने नौ बजे सकिन्छ । नौ बजेको हाराहारीमा दोस्रो प्रहर पूजा सुरु हुन्छ । यो करिब पौने १२ बजे सकिन्छ । करिब १२ बजेको हाराहारीमा तेस्रो प्रहर पूजा सुरु हुन्छ । पौने तीन बजे हाराहारीमा यो सकिन्छ । चौथो प्रहर पूजा करिब तीन बजेको हाराहारीमा सुरु भई बिहान छ बजेको हाराहारीमा सकिन्छ । जप, ध्यान, पूजा, अघ्र्यदान, पाठ, रुद्राभिषेक आदि गरी प्रहर पूजा गरिन्छ । महाशिवरात्रिमा प्रहर पूजाकै विशेष महत्व हुने भएकाले यो पूजालाई विधिपूर्वक गर्नुपर्छ । प्राणप्रतिष्ठासहित स्थापना भएका देशभरका धेरै शिवालयमा आज बेलुकीदेखि विधिपूर्वक चार प्रहर पूजा गरिन्छ । यसबाट आशुतोष भगवान् शिव खुसी हुनुहुने धार्मिक विश्वास छ । यो प्रहर पूजा रुद्रमती किनारस्थित चावहिल गङ्गाहिटीमा रहेको रुद्रेश्वर महादेव मन्दिर, गौरीघाटस्थित त्रिगजुर शिवालय, गोकर्णेश्वर महादेव मन्दिर, नागेश्वर, डोलेश्वरलगायत मन्दिरमा पनि चार प्रहर पूजा गर्ने परम्परा रहिआएको छ । यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताउनुभयो । सात वर्षअघिदेखि नै पशुपति क्षेत्रमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कानुनी कारबाही गर्ने उहाँले बताउनुभयो । निषेध गरिएका चिजबीज बेचबिखन गर्न नदिई शान्ति सुरक्षा कायम गर्न आज पशुपति क्षेत्रमा करिब पाँच हजार सुरक्षाकर्मी खटाइएको छ । बिहान दुई बजे नै पशुपतिका चार ढोका खुल्ने महाशिवरात्रिका अवसरमा बुधबार बिहान दुई बजेदेखि नै पशुपतिनाथका चार ढोका खोलिने कोषले जनाएको छ । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । कति भक्तजन भने लाइन नबसी पशुपति क्षेत्र पुगेर गजुर दर्शन गरेर फर्कने गरेका छन् । गजुर दर्शन गर्दा पनि पशुपतिनाथ मन्दिरमै गएर दर्शन गरेबमोजिम फल मिल्ने शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ । बेलुकी पशुपति क्षेत्र जाँदा आकर्षक हुनेगरी फूल र बत्तीले सजाइएको छ । नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ । यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि बाहिर चार र भित्र आठवटा लाइनको व्यवस्था गरिएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख ईश्वर भण्डारीले बताउनुभयो । सबै लाइनबाट छिटोभन्दा छिटो भक्तजनलाई दर्शन गराएर फिर्ता गराउने गरी कोषले तयारी गरेको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक–एक लाम गरी बाहिरी रूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । यसैगरी तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकतानुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उहाँले बताउनुभयो । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेअगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोही मार्ग हुँदै मन्दिर प्राङ्गणबाट बाहिरिने व्यवस्था मिलाइएको छ । दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वर, नागेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि आशुतोष भगवान् शिवको धुमधामका साथ पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ ।
नवलपरासी: पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा दुई पक्षबीच झडप हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्हीनन्दन–३ कुश्माका ३५ वर्षीय विजय धवल रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालका अनुसार धवलको रुपन्देहीको भैरहवास्थित सिटी अस्पतालमा उपचारका क्रममा मङ्गलबार साँझ मृत्यु भएको हो । झडपमा परी घाइते भएका मोहरम पावारिया र ४५ वर्षीय बैजनाथप्रसाद लोनियको भने अहिले सोही अस्पतालमा उपचार भइरहेको छ । पावारियाको अवस्था जटिल रहेकाले उनको सघन उपचार कक्षमा उपचार भइरहेको छभने लोनियको दुवै खुट्टामा चोट लागेको र उनको अवस्था सामान्य रहेको उपरीक्षक फुयाँलले बताउनुभयो । मङ्गलबार बिहान १० बजे सामान्य विवादमा दुई पक्षबीच झडप भएको थियो । झडपमा १९ जना घाइते भएका थिए । झडपका क्रममा इलाका प्रहरी कार्यालय महेशपुरको (जनपद) बा१झ ७४४८ नम्बरको गाडीमा आगजनी गरिएको थियो । घाइते हुनेमा नेपाल प्रहरीका ११, सशस्त्र प्रहरीका चार र स्थानीय चार जना रहेका छन् । प्रहरीले अवस्था नियन्त्रणमा लिनका लागि पाँच राउण्ड अश्रुग्यास र तीन राउण्ड हवाई फायर गरेको थियो । अहिले झडप भएको स्थानमा उच्च सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौं: नेपाल प्रहरीले महाशिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजा आउने भक्तजनलाई महँगा गहना लगाएर नआउन अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले आपाराधिक तथा चोरीका घटना हुनसक्ने हुँदा त्यस्ता महँगा गरगहना लगाएर आउँदा समस्या पर्नेतर्फ सचेत गराउँदै आवश्यक सुरक्षा सावधानी अपनाउन अनुरोध गर्नुभयो । महाशिवरात्रिका अवसरमा शान्ति सुरक्षा कायम गर्न पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको र सहायता कक्षसमेत स्थापना भएको जानकारी गराउँदै उहाँले कुनै समस्या परेमा जानकारी गराउन पनि अनुरोध गर्नुभएको छ । “देशविदेशबाट पशुपतिको दर्शनका लागि लाखौँको भक्तजन सहभागी हुने भएकाले छिटोछरितो, व्यवस्थित र सुरक्षित दर्शनको व्यवस्था मिलाउन आवश्यक सम्पूर्ण व्यवस्था गरिएको जानकारी गराउँदछु”, उहाँले भन्नुभएको छ । आज साँझ एक सूचना जारी गर्दै उहाँले धार्मिक आस्थाका नाममा विभिन्न आपाराधिक तथा अमर्यादित घटना घट्नसक्ने तर्फ सचेत हुन अनुरोध पनि गर्नुभएको छ । विशेष गरी बालबालिका महिला, वृद्ध तथा फरक क्षमता भएका व्यक्तिलाई पशुपति दर्शनमा प्राथमिता दिन उहाँले अनुरोध गर्नुभएको छ । बालबालिका हराउनसक्नेतर्फ पनि ध्यान दिन अनुरोध गरिएको छ । बाहिरी क्षेत्रमा ड्रोन क्यामेराबाट पनि निगरानी हुने तथा सिसी टिभीबाट पनि निगरानी हुने जानकारी गराउँदै प्रहरीले सादा पोसाकमासमेत प्रहरी परिचालन गरी शान्ति सुरक्षामा कुनै कमि हुन नदिने प्रतिबद्धता जनाएको छ । चोरी, पाकेटमार गर्ने, असभ्य व्यवहार गर्ने र कानुनको उल्लङ्घन गर्ने व्यक्तिलाई कुनै छुट नहुने पनि प्रहरीले चेतावनी दिएको छ । समस्या परेमा आकस्मिक नम्बर १०० मा फोन गर्न पनि अनुरोध गरिएको छ । यता काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपतिको सुरक्षाका लागि ८०० भन्दा बढी प्रहरी परिचालन गरेको र ट्राफिक रूटको पनि व्यवस्थापन गरिएको जानकारी गराएको छ । ट्राफिक प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले पशुपति क्षेत्रमा आउने दर्शनार्थीको सहजताका लागि तोकिएका क्षेत्रमा सवारी पार्किङ गरी सवारी व्यवस्थापनमा सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ । प्रहरी प्रधान कार्यालयले पशुपति क्षेत्रको सुरक्षाको सबै तयारी पूरा भएको पनि जानकारी गराएको छ ।
पोखरा: त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने कार्यतालिका छ । विभिन्न विद्यार्थी संगठन र स्वतन्त्र ढंगले विद्यार्थीहरू आन्तरिक तयारीमा जुटेका छन् । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको तयारी स्वरूप विद्यार्थीहरूलाई मतदान अभ्यास गराएको छ । मंगलबार क्याम्पस गेटमा अनेरास्ववियु व्यवस्थापन संकाय कमिटी पृथ्वीनारायण क्याम्पसले स्ववियु नमुना मतदान कार्यक्रम गरेको हो । बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष र समानुपातिकतर्फको स्ववियु मतदान तरिकाबारे जानकारी गराइएको थियो । क्याम्पसमा अध्ययनरत करिब १ हजार ३ सय जना विद्यार्थी नमुना मतदानमा सहभागी भएको आयोजक अनेरास्ववियु व्यवस्थापन संकाय अध्यक्ष कुशल रेग्मीले जानकारी दिए । २०७३, २०७९ सालमा हुन नसकेको स्ववियु यसपटक जसरी पनि हुनुपर्ने पक्षमा आफूहरू रहेको अनेरास्ववियु क्याम्पस कमिटी संयोजक विराट दुवाडीले बताए । स्ववियु गराउनुपर्छ भन्ने दबाब दिन र विद्यार्थीलाई मतदान प्रक्रियाबारे जानकारी गराउन नमुना मतदान कार्यक्रम गरिएको संयोजक दुवाडीले बताए । ‘कति विद्यार्थीलाई स्ववियु के हो भन्ने थाहा नहुन सक्छ, यसमा भाग किन लिने भन्ने थाहा हुँदैन । त्यही बुझाउन हामीले नमुना मतदान गरेका हौं,’ उनले भने । त्रिविअन्तर्गत देशकै ठूलो आङ्गिक क्याम्पस पृथ्वीनारायणमा २०६५ सालपछि स्ववियु निर्वाचन हुन सकेको छैन । स्ववियु विद्यार्थीको हकहितका लागि बोल्ने साझा संस्था भएको र यसको निर्वाचनमा कसैले पनि अवरोध गर्न नहुने संयोजक दुवाडीले बताए । कति विद्यार्थीले स्ववियु निर्वाचन गराउन दबाब दिन हस्ताक्षर अभियान चलाउन सुझाव पनि दिएको संयोजक दुवाडीले सुनाए । नमुना मतदानको निरीक्षणमा अनेरास्ववियु केन्द्रीय महासचिव नरेश रोकाया, स्थायी कमिटी सदस्य विजय पौडेल, केन्द्रीय सदस्य अनुप लामिछाने, विष्णु पोखरेल, विनय पराजुली, अनेरास्ववियु जिल्ला अध्यक्ष सन्तोष पोखरेललगायत पुगेका थिए । महासचिव रोकायाले पृथ्वीनारायण क्याम्पस आन्दोलनको उर्वर भूमि भएकाले त्यो विरासतलाई जोगाउनुपर्ने बताए । उनले पीएन क्याम्पसमा अनेरास्ववियुले हार्न नजानेको र अबको स्ववियु निर्वाचनमा पनि हार्ने छुट नभएको बताए । सोमबार पोखरा आएका रोकाया अनेरास्ववियुका कास्कीमा उपलब्ध विद्यार्थी नेताहरूसँग स्ववियु निर्वाचन केन्द्रीत भेलामा पनि सहभागी भएका थिए । अनेरास्ववियु केन्द्रीय सदस्य विष्णु पोखरेलले स्ववियु निर्वाचन हुने वातावरण बनाउनुपर्ने पक्षमा आफूहरू रहेको सुनाए । उनले स्ववियु निर्वाचन हुन नदिने गतिविधिमा संलग्न नहुन अन्य विद्यार्थी संगठन र क्याम्पसलाई आग्रह गरे । ‘१६ वर्षदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । कति प्रशासनिक काममा समस्या देखिएको छ । क्याम्पसको गरिमा घटेको छ । विद्यार्थी अभिभावकविहीन हुन परेको छ,’ उनले भने, ‘योपटक निर्वाचन गरिनुपर्छ भन्नेमा सबै सकारात्मक छौं ।’ स्ववियु निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ । दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिने छ । ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने कार्यतालिका छ । पृथ्वीनारायण क्याम्पसमा करिब १२ हजार ५ सय मतदाता रहने अनुमान छ । मतदाता नामावली प्रकाशन भएपछि यो संख्या यकीन हुनेछ । पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएकाहरू नेपाली राजनीतिमा स्थापित भएको विगत छ । त्यसैले पनि यो क्याम्पसमा स्ववियु सभापति हुन निकै प्रतिस्पर्धा हुने गरेको छ । पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएका कास्कीका सोमनाथ अधिकारी प्रदेश प्रमुख, खगराज अधिकारी संघ सरकारको मन्त्री र गण्डकीको मुख्यमन्त्री भइसकेका छन् । पर्वतका पदम गिरी संघ सरकारको मन्त्री भए । कास्कीका राजीव पहारी २०७४ सालको निर्वाचनमा गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भए । अर्का सभापति कास्कीका धनराज आचार्य हाल पोखरा महानगरपालिकाको मेयर छन् ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ महाशिवरात्रि पर्व, २०८१ को पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गर्नुभएको छ । उहाँले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रिको तयारी र व्यवस्थापनबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओलीले पर्वलाई सुरक्षित, अनुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहज रूपमा दर्शनको व्यवस्था मिलाउन निर्देशन दिनुभयो । उहाँका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पशुुपतिनाथ मन्दिर पुग्नुभएको थियो । हिन्दु धर्मावलम्बीका आराध्यदेव भगवान पशुपतिनाथको मन्दिरमा दर्शनका लागि प्रधानमन्त्री उपस्थितिले मन्दिर परिसरमा रहेका भक्तजनले प्रसन्नता व्यक्त गरेका थिए । महाशिवरात्रिको अवसरमा बुधबार पशुपतिमा भव्य मेला तथा पूजाअर्चना हुँदैछ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गरी यही फागुन १२ गतेदेखि १५ गतेसम्म पशुपतिनाथ मन्दिरको चार किल्लाभित्र मासु, मदिरा तथा नसालुपदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न निषेध गरेको छ ।
बागलुङ: बागलुङको ताराखोला गाउँपालिका–१ माझखर्कमा ४३ औं मगर स्थापना दिवसको अवसरमा आयोजित खुल्ला धनुषवाण प्रतियोगिताको उपाधि मगर सेवा समाज माझखर्कले जितेको छ । ४३ औं मगर दिवसको अवसरमा मगर सेवा समाज माझखर्कले आयोजना गरेको खुल्ला धनुषवाण प्रतियोगितामा ६ िटमलाई पछि पार्दै आयोजक समेत रहेको मगर सेवा समाज माझखर्कले उपाधि जितेको हो । यस्तै प्रतियोगितामा सयपत्री हाइड्रोपावर दोस्रो र होली पूर्णिमा युवा क्लब ताराखोला तेस्रो भए । प्रतियोगितामा प्रथम भएको मगर सेवा समाज माझखर्कले १५ हजार, उपविजेता भएको सयपत्री हाइड्रोपावरले १० हजार र तृतीय भएको होली पूर्णिमा युवा क्लबले ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै खुल्ला धनुषवाण प्रतियोगिता एकलतर्फ सयपत्री हाइड्रोपावरका दुर्ग बहादुर घर्तीमगरले उपाधि जिते । उपाधि जितेका घर्तीमगरले १० हजार हात पारे । यस्तै मगर सेवा समाज माझखर्कका खर्कबहादुर घर्ती मगरले द्धितिय हुर्दै ६ हजार र होली पूर्णिमा युवा क्लबका प्रदीप घर्ती मगर तृतीय हुँदै ४ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । ४३ औं मगर सेवा समाज माझखर्कको आयोजनामा गरिएको विविध कार्यक्रम मध्य आजदेखि खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु भएको भलिबल प्रतियोगिता संयोजक होम बहादुर रोका मगरले जानकारी दिए । उनका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार र तृतीय हुने टिम १४ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै खुल्ला सामुहिक नृत्य प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० हजार र तृतीय हुने समूहले ५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला सामुहिक नृत्य प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई १ हजार ५ सय दर्ता शुल्क कायम गरिएको छ । मगर सेवा समाज माझखर्कले आयोजना गरेको कार्यक्रम फागुन १५ गतेसम्म सञ्चालन हुनेछ ।
काठमाडौं: ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । गृह मन्त्रालयद्वारा गठित वार्ताटोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले आज पुनः आन्दोलनरत पक्षलाई वार्ता र सम्वादमा आउन आग्रह गरिएको जानकारी दिनुभयो । उहाँले सोमबार राति सूचना जारी गर्नुभएको थियो । सूचनामा भनिएको छ, “निर्माण कार्य स्थगित गर्ने र पाथीभरा क्षेत्रमा केबुलकार निर्माणका क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्या समाधानका लागि आन्दोलनरत पक्षलाई गम्भीर भई वार्ता एवं संवादमा आउनका लागि यो वार्ता समिति सबैमा हार्दिक अपिल गर्दछ ।” सरकारले समस्या समाधानका लागि गत माघ २० मा उक्त वार्ताटोली गठन गरेको थियो । दुई पटक बसेको छलफलले टुङ्गो लगाउन नसकेपछि वार्ता अघि बढ्न सकेको थिएन । ‘नो केबुलकार’ समूहले वार्ता नगर्ने भन्दै पुनः आन्दोलन थालेपछि सो क्षेत्रमा दुईपटक झडप भइसकेको छ ।