काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानका आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि पूर्वानुमान रहेको छ । त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
ढोरपाटन: बागलुङमा हरेक वर्ष वर्षातको समयमा बाढी पहिरोले धनजनको क्षति हुने गरेको छ । यस वर्ष पनि वर्षात सुरु भएकाले जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम क्षेत्रको पहिचान गरी नागरिकलाई सचेत गराउँदै आएको हो । यस वर्षको मनसुनमा जिल्लाभर पाँच हजार ८७२ घर बाढी पहिरोको जोखिममा छन् । जोखिममा रहेका बस्ती तथा घरमा बस्दा सहजकता अपनाउन विपद् व्यवस्थापन समितिले सुझाव दिएको छ । यहाँका अधिकांश बस्ती खोला किनार र भिरालो जमिनमा रहेकाले वर्षातको समयमा बाढी पहिरोको जोखिममा पर्ने गरेका छन् । जिल्लामा सबैभन्दा बढी निसीखोला गाउँपालिकाका जोखिममा छन् । यस पालिकामा दुई हजार ४३८ घर बाढी पहिरोको जोखिममा रहेका समितिले जनाएको छ । सबैभन्दा कम जोखिमयुक्त घर जैमिनी नगरपालिकामा छन् । जैमिनीमा १६ घर जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार बागलुङ नगरपालिकामा एक हजार ५५४, ढोरपाटन नगरपालिकामा ३९०, गलकोट नगरपालिकामा १२५, बरेङ गाउँपालिकामा २१०, बडिगाड गाउँपालिकामा १६०, तमानखोला गाउँपालिकामा ११५, ताराखोला गाउँपालिकामा १४४ र काठेखोला गाउँपालिकामा ७२० घर बाढी पहिरोको जोखिममा परेका हुन् । घरसँगै विद्यालय, सिँचाइ, कुलो, विद्युत् गृह, सयौँ रोपनी खेतीयोग्य जमिन जोखिममा रहेका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षातको समय छ, जोखिम रहेका घर तथा बस्तीमा जतिबेला पनि बाढी पहिरोले बगाउन सक्छ, सबै नागरिक सचेत हुन जरुरी छ, हामीले पनि सबै नागरिकलाई सचेत हुनका लागि आग्रह गरेका छौँ, जोखिम मोलेर बस्नु हुँदैन भनेका छौँ, वर्षा हुँदा सुरक्षित स्थानमा गएर बस्नुको विकल्प हुँदैन, विगतमा बाढी पहिरोबाट धेरैले ज्यान गुमाउनुभएको छ ।” निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले वडा नं १ को हुल्दी क्षेत्रमा सबैभन्दा बढी घर पहिरोको जोखिममा रहेका जनाउँदै बस्ती अन्यत्र सार्नुपर्ने अवस्था रहेको बताउनुभयो । एकीकृत बस्ती निर्माण गरेर स्थानीयलाई पुनःस्थापित गर्न केन्द्र र प्रदेश सरकारसँग सहकार्य गर्ने उहाँको भनाइ छ । विपद् व्यवस्थापनका लागि पूर्वतयारीका गरिरहेको भन्दै राहत र उद्धारका लागि ‘विपद् व्यवस्थापन कोष’ बनाइएको पुनमगरले जानकारी दिनुभयो । “निसीखोलाको अधिकांश ठाउँ र सयौँ घर जोखिममा छन् । पालिकाको सीमित स्रोतसाधनले बस्ती स्थानान्तरण नभ्याउने हुँदा माथिल्लो तहका सरकारसँग सहकार्य गर्नुपर्छ”, उहाँले भन्नुभयो, “अहिले विपद्बाट नागरिकलाई जोगाउन सचेतना फैलाउने काम भइरहेको छ । त्योबाहेक विपद्मा परेकालाई राहत तथा पुनःस्थापनाका लागि रु ३० लाखको कोष बनाएका छौँ, उद्धारलाई प्रभावकारी बनाउन निसीखोलाका तीनवटै चौकीलाई उद्धार सामग्री हस्तान्तरण गरेका छौँ ।”
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गर्नुभएको छ । आजदेखि सुरू भएको एमालेको केन्द्रीय कमिटीको नवौँ बैठकमा अध्यक्षता गर्दै अध्यक्ष ओलीले पार्टीभित्र वैचारिक र नीतिगत रूपमा कुनै विवाद नभएकाले सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले पछिल्लो समयमा एमालेको पार्टी सदस्यता एक लाख ३९ हजार ९२८ प्रतिशत० ले वृद्धि भई सङ्गठनात्मक रूपमा मजबुत भएको बताउनुभयो । उहाँले पार्टीलाई राष्ट्रिय निर्णायक शक्तिका रूपमा रुपान्तरण गर्न आह्वान गर्नुभएको एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूलाई आफूलाई लागेको कुरा बैठकमा राख्न आग्रह गर्नुभएको र विरोधी तथा अनेक तत्वहरूले एमालेमाथि झुट र अफवाहको शैलीमा आक्रमणको निसाना बनाएकाले एकताबद्ध भएर सामना गर्न आग्रह गर्नुभएको उहाँले जानकारी दिनुभयो । “वैचारिक र नीतिगत रूपमा अहिले हाम्रो पार्टी एकढिक्का छ । यहाँ कुनै मतभेद छैन तर हामीलाई विवाद र विभाजन गराउने तत्वका अनेक प्रयास हुन सक्नेतर्फ सचेत भएर लाग्नुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो, “विरोधीहरूले हामीसँग विचार र काममा प्रतिस्पर्धा गर्न सक्दैनन् । झुटको सहारा लिएर गोयबल्स शैलीमा आरोप लगाउँछन् । एमालेलाई कमजोर देखाउने प्रयास गर्छन् । यस्ता आरोप र चुनौतीको सामना हामीले पहिल्यैदेखि गर्दै आएका छौँ । फेरि पनि गर्छौँ ।” नेता गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनीतिमा आउने भन्ने सन्दर्भमा उहाँ र पार्टी अध्यक्ष ओलीबीच आइतबार भएको संवाद र उक्त विषयबारे निर्णयमा पुग्नुपर्ने प्रस्ताव पनि बैठकमा आउने अपेक्षा गर्नुभयो । प्रचार विभागका प्रमुख गौतमका अनुसार बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्ठगनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुने छभने आसन्न विधान महाधिवेशनको व्यवस्थापकीय तयारीका सम्बन्धमा पनि छलफल हुनेछ ।
पोखरा: पोखरामा १२ लाख ३० हजार रुपैयाँ चोरी गरेको आरोपमा ओमबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको छ । पोखरा ५ मालेमाटनस्थित दाङ भ्याली फ्रेस हाउसका सञ्चालक संगिता भण्डारीको कोठाभित्र दराज राखिएको १२ लाख ३० हजार रुपैयाँ शुक्रबार चोरी भएको थियो । पक्राउ परेका ओमबहादुर भुजेलको साथबाट प्रहरीले बरामद गरेको नगद । फोटो कास्की प्रहरी पैसा चोरी भएको सूचनापछि अनुसन्धानका लागि खटिएको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले माछापुच्छे गाउँपालिका ९ स्याथी घर भएका २३ वर्षीय ओमबहादुरलाई ९ लाख ९७ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउ परेका भुजेलको साथबाट प्रहरीले २ थान मोवाईलसमेत बरामद गरेको छ । उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौंः नेपाल प्रहरीको जनपद समूहतर्फ एसएसपी, एसपी र डीएसपी बढुवा सिफारिस भएको छ । रिक्त रहेका दरबन्दीमध्ये ११ एसएसपी, एसपी र १३ डीएसपीको बढुवा सिफारिस भएको हो । एसएसपी बढुवाका लागि गृहसचिवको अध्यक्षतामा बस्नुपर्ने बढुवा समितिको बैठक बस्न नसक्दा बढुवा बिलम्ब भएको थियो । डीएसपी बढुवाका लागि इन्स्पेक्टरहरूको सूची एसपीका लागि बढुवा सिफारिसमा परेकाहरूको सूची एसएसपीका लागि बढुवा सिफारिसमा परेकाको सूची
पोखरा: पोखरामा कोरोना सक्रमणबाट वृद्धाको मृत्यु भएको छ । चरक अस्पतालमा उपचारत वृद्धामा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालमा उपचारत वृद्धाको आइतबार मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालय पोखराका महानिर्देशक खिम बहादुर खड्काले जानकारी दिए । ‘चरक अस्पतालमा उपचारत वृद्धामा कोरोना संक्रमण पुष्टि भएको थियो, उनको उपचारको क्रममा आइतबार मृत्यु भएको हो, वृद्धाको स्वास्थ्यमा अरु समस्या देखिएको थियो ।’ महानिर्देशक खड्काले भने
सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदीमा आज एक जना बेपत्ता भएका छन् । भोक्रहा नरसिंह गाउँपालिका–१ का रामविलास मेहताका ११ वर्षीय छोरा दीपेश नदीमा बेपत्ता भएको सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए । तीन जना सँगै नुहाउन गएकामा दुई जना सकुशल बाहिर आएको र दीपेश बेपत्ता भएको उनले बताए । बेपत्ता दिपेशको नेपाल र सशस्त्र प्रहरीले खोजी गरिरहेको उनले जानकारी दिए ।
काठमाडौं: निर्वाचन आयोगले रूपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा आउँदो कात्तिक १७ गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यक्रम अनुसार २०८२ असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने छ र सोही दिन बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने छ। यसैगरी, उम्मेदवारको विरोधमा उजुरी दिने मिति २०८२ असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ। सोही दिन दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी असोज २३ गते साँझ ५ बजेदेखि ७ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय भएको निर्वाचन आयोगद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । उपनिर्वाचनको कार्यतालिका
काठमाडौं: राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जनाएको छ। राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेको हुनाले मर्मत पूरा नभएसम्म विभागसम्बद्ध तोकिएका सेवाहरू आंशिकरुपमा अवरुद्ध भएको विभागका सूचना अधिकारी शिवराज सेढाइँले जानकारी दिए। उनका अनुसार अनलाईनमार्फत् राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा कार्ड वितरण सेवा, राष्ट्रिय परिचयपत्रको विवरण सच्याउने सेवा, जन्म दर्ता गर्दाका बखत राष्ट्रिय परिचय नम्बर प्राप्त हुने सेवा, सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूको नाम दर्ता तथा नवीकरणका क्रममा राष्ट्रिय परिचय नम्बररजैविक विवरणबाट प्रमाणीकरण सेवा र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग अन्तरआबद्धता भएका अन्य सार्वजनिक सेवाहरु अवरुद्ध भएका छन् । विभागले सरोकारवाला एवम् सेवाग्राहीको जानकारीका लागि सार्वजनिक सूचना प्रकाशन गरी मर्मतको कार्य सम्पन्न हुनासाथ सेवा प्रवाह सूचारु हुने जनाएको छ । आइतबारदेखि नै उक्त सेवा रोकिएको विभागले जनाएको छ । राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र वितरणसम्बन्धी कार्य अफलाईनमार्फत् गर्न सकिने हुनाले सोही बमोजिम गर्ने गराउने व्यवस्था हुन सबै राष्ट्रिय परिचयपत्र सेवा इकाईहरूलाई जानकारी गराउँदै विभागले सो कार्यमा सहयोग गरिदिनुहुन सेवाग्राही सर्वसाधारण महानुभावहरूमा अनुरोध पनि गरेको छ । अफलाईनमार्फत् राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराएका सेवाग्राहीलाई अनलाईन सेवा सुचारु भएपछि राष्ट्रिय परिचय नम्बर एसएमएसमार्फत प्राप्त हुने सूचना अधिकारी सेढाइँले बताए।

