काठमाडौं: नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिको खोजी अभियान तीव्र पारेको छ । सोही क्रममा गएको माघमा मात्रै तीन हजार दुई सय ६४ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । सबैभन्दा बढी काठमाडौँ उपत्यकाबाट यसरी फरार व्यक्ति पक्राउ परेका छन् । अदालतबाट मुद्दा फैसला भएर जरिवाना तथा कैद भुक्तानी गर्न बाँकी रहेकाको प्रहरीले खोजी गरेर अदालतमा बुझाउने गरेको छ । सोही क्रममा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका र अदालतबाट दोषी ठहर भएर फरार रहेका उनीहरुलाई देशभरबाट परिचालित फरार अपराधी खोजी अभियानका खटिएका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । उनीहरुबाट रु २३ करोड ९२ लाख ९१ हजार जरिवाना उठाइएको छ । उनीहरु कूल छ सय ७२ वर्ष छ महिना २३ दिन कैद तोकिएका व्यक्तिहरु हुन् । प्रवक्ता आचार्यका अनुसार कोशी प्रदेशबाट मात्रै पाँच सय २७ र मधेस प्रदेशबाट सात सय १३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । यस्तै बागमती प्रदेशबाट एक सय ७०, गण्डकी प्रदेशबाट दुई सय १७, लुम्बिनी प्रदेशबाट पाँच सय ८३, कर्णाली प्रदेशबाट ५५ र सुदूरपश्चिम प्रदेशबाट ८९ जना पक्राउ परेका छन् । सबैभन्दा बढी काठमाडौँ उपत्यकाबाट नौ सय तीन र केन्द्रीय अनुसन्धान ब्युरोले विभिन्न क्षेत्रबाट सात जना फरार प्रतिबादी पक्राउ गरेको छ । उनीहरुलाई अदालतमा पेस गरिएको र अदालतबाट कैद भुक्तानीका लागि कारागार पठाइसकेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
काठमाडौं: युरोपेली मुलुक पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना भएको छ । परराष्ट्र मन्त्रालयबाट आएका कर्मचारीको टोलीले राजधानी लिस्बनमा दूतावास स्थापनापछि सेवा दिन सुरु भएको हो । दूतावासले लिस्बनस्थित अल्कान्तारामा अस्थायी कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्न सुरु गरेको जनाएको छ । नेपाली दूतावास लिस्बनले फ्रान्सस्थित नेपाली दूतावाससँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरेर राहदानीसहित आवश्यक कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको हो । शुक्रबारदेखि सुरु भएको घुम्ती सेवाबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) सहित करिब दुई सय कागजात प्रमाणीकरणको सेवा दिन थालेको दूतावासले जनाएको छ । शिविर अवधिभर दूतावासले अधिकृत वारेसनामा प्रमाणीकरण बाहेकका अन्य प्रहरी चारित्रिक प्रमाणपत्र, नाता प्रमाणित, जन्मदर्ता, विवाह दर्तालगायत कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा प्रदान गर्नेछ । यस्तै यसअघि सञ्चालन भएको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि आवेदन दिएका सेवाग्राहीको तयार भएर आएको राहदानी वितरण गर्नेछ भने विविध कारणले राहदानी तयार हुन नसकेका सेवाग्राहीको पुनः जैविक तथ्याङ्क सङ्कलन गरिने दूतावासले जनाएको छ । कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई सहज बनाउने उद्देश्यले हालका लागि घुम्ती सेवा सञ्चालन गरेर नेपाली दूतावास लिस्बनले राहदानीसहित अन्य कागजात प्रमाणीकरणसम्बन्धी अत्यावश्यक सेवा प्रवाह गर्न सुरु गरेको पोर्चुगलका लागि कार्यवाहक राजदूत रामबाबु नेपालले जानकारी दिनुभयो । लिस्बनस्थित नेपाली दूतावासबाट यथाशीघ्र सम्पूर्ण सेवा प्रवाह हुने बताउँदै उहाँले त्यसका लागि केही समय लाग्ने भएकाले धैर्य गर्न पोर्चुगलवासी नेपालीलाई आग्रह गर्नुभयो । “हामीले लिस्बनमा दूतावास स्थापना गरेर सेवा प्रवाह गर्न सुरु गरेका छौँ । हालका लागि अस्थायी कार्यालय सञ्चालन भएको छ”, नेपालले भन्नुभयो, “दूतावासको स्थायी कार्यालय र कर्मचारीको निवासका लागि भवनको खोजी भइरहेको छ । नयाँ दूतावास भएकाले आन्तरिक तयारी र व्यवस्थापनमा पनि जुटिरहेका छौँ ।” पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेल केही दिनभित्रै पोर्चुगल आउनुहुने र त्यसपश्चात दूतावासले सम्पूर्ण सेवा प्रदान गर्ने कार्यवाहक राजदूत नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार कन्सुलर सेवा सुरु भएसँगै प्रहरी चारित्रिक प्रमाणपत्रसहित अन्य कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका सेवाग्राही नेपालीको दूतावास परिसरमा घुइँचो लाग्ने गरेको छ । दूतावासले कन्सुलर सेवा विभाग काठमाडौँले प्रमाणीकरण गरेको प्रहरी चारित्रिक प्रमाणपत्र, जन्मदर्ता, नाता प्रमाणित, विवाह दर्तालगायत अन्य कागजात प्रमाणीकरणकासम्बन्धी सेवा प्रदान गर्ने जनाएको छ । घुम्ती सेवामा फ्रान्सस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख सीता बस्नेत, नेपाली दूतावास लिस्बनका तृतीय सचिव अनिल रानालगायत कर्मचारी खटिनुभएको छ । दूतावासले फेबु्रअरी २६ अर्थात् फागुन १४ गतेसम्म घुम्ती सेवा प्रदान गर्ने र त्यसपश्चात आफ्नो नियमित सेवा प्रवाह गर्ने जनाएको छ । लामो समयपछि यहाँ नेपाली दूतावास स्थापना भएपछि पोर्चुगलवासी नेपाली उत्साहित भएका छन् । दूतावास नहुँदा लामो समयदेखि राहदानीसहित कागजातसम्बन्धी समस्या भोग्दै आएका पोर्चुगलवासी नेपालीले अन्ततः दूतावास स्थापना भएसँगै सहज भएको बताएका छन् । दूतावास स्थापना भएपछि कागजात प्रमाणीकरण र राहदानी बनाउन स्पेन, फ्रान्सलगायत नेपाली दूतावास रहेका अन्य मुलुक जानुपर्ने बाध्यता अन्त्य भएको छ । पोर्चुगलमा नेपालीको यकिन तथ्याङ्क नभए पनि अनुमानित ६० हजारको हाराहारीमा रहेका दूतावासले अनुमान गरेको छ । यसअघि पटक–पटक फ्रान्सस्थित नेपाली दूतावासको टोली र राहदानी विभाग काठमाडौँको टोली पोर्चुगल आएर घुम्ती सेवामार्फत् पोर्चुगलवासी नेपालीलाई सेवा प्रदान गर्दै आएको थियो । यसअघि पोर्चुगलका लागि राजदूत सिफारिस हुनुभएका शनिल नेपाल पोर्चुगल आउन नपाएपछि फिर्ता बोलाइएको थियो । नेपाललाई फिर्ता बोलाएसँगै दूतावास स्थापनाको विषय केही समय अन्योल बनेको थियो । हाल उहाँ स्पेनका लागि राजदूत नियुक्त भई जिम्मेवारीसमेत सम्हाली सक्नुुभएको छ । नेपाल सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशमणि पौडेललाई गत साउनमा पोर्चुगलका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो भने राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिरमा उहाँलाई पोर्चुगलका लागि राजदूत नियुक्त गर्नुभएको थियो । पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि गैरआवासीय नेपाली सङ्घ पोर्चुगललगायत यहाँ रहेका नेपाली सङ्घसंस्था, सामाजिक अभियन्तालगायत पोर्चुगलवासी नेपालीले लामो समयदेखि सङ्र्घष गर्नुका साथै विभिन्न दबाबमूलक कार्यक्रमसमेत हुँदै आएको थियो ।
स्याङ्जा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका कृषक फणिनारायण अर्यालले यस वर्ष रु ६० लाखको सुन्तला बिक्री गर्नुभएको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आउनुभएका अर्याल सुन्तला बिक्री गरी जिल्लामै सबैभन्दा धेरै आम्दानी गर्ने कृषकसमेत हुनुहुन्छ । अर्यालले यस वर्ष ७५ मेट्रिकटन सुन्तला बिक्री गर्नुभएको हो । ‘त्रिपुत्र बागवानी कृषि फार्म’ दर्तागरी सञ्चालन गर्नुभएका अर्यालले ग्रेडिङ मेसिनमार्फत ग्रेडिङ गरी सुन्तला बिक्री गर्दै आउनुभएको छ । यस वर्ष न्यूनतम रु ७० देखि अधिकतम रु एक सय २० प्रतिकिलोका दरले सुन्तला बिक्री गरी रु ६० लाख आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो । “यहाँ उत्पादन भएको सुन्तला काठमाडौँस्थित भाटभटेनी सुपरमार्केट, कालीमाटी तरकारी तथा फलफूल केन्द्र, बल्खु, नारायणगढलगायत बजारमा बिक्री गरेको हुँ”, उहाँले भन्नुभयो, “बर्सेनि सम्झौता भई बजारीकरण हुँदै आएकाले बिक्रीका लागि कुनै समस्या भएको छैन, अहिलेसम्म सहज नै छ ।” गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भए तापनि बजार मूल्य भने गत वर्षभन्दा कम परेको उहाँले बताउनुभयो । गत वर्षजस्तो यस वर्ष स्याङ्जाको सुन्तलाको गुणस्तर राम्रो नभएकाले मूल्य कम परेको हो । गत वर्षको तुलनामा यस वर्ष झण्डै १० मेट्रिकटन सुन्तला उत्पादन बढी भए पनि बजार मूल्य कम हुँदा गत वर्षको र यस वर्षको आम्दानी समान रु ६० लाख हुन पुगेको उहाँ बताउनुहुन्छ । करिब ८० रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आउनुभएका अर्यालको फार्ममा हाल दुई हजार दुई सय सुन्तलाका बोट छन् । त्यसमध्ये दुई हजार बोटले उत्पादन दिन्छन् भने दुई सय साना बिरुवा छन् । अर्यालले २०३६ सालमा विद्यालयमा पढ्दै गर्दा २५ वटा सुन्तलाका बिरुवा ल्याएर सार्नुभएको थियो । सोही समयमा सारिएका बिरुवा राम्रो हुँदै गएपछि विसं २०४२, २०५० र हालसालै पनि सुन्तलाका बोट थप गर्नुभएको छ । “मेरो आम्दानीको मुख्य स्रोत नै सुन्तला हो”, उहाँले भन्नुभयो, “आठ जनाको परिवारको शिक्षादीक्षा तथा घरखर्च सबै यसैबाट चलाएको छु ।” सुन्तला व्यवसायी अर्यालले आफ्नो फर्ममा उत्पादन गरेको सुन्तलासहित अन्य कृषकको पनि सुन्तला सङ्कलन तथा खरिद गरी बिक्रीसमेत गर्दै आउनुभएको छ । उहाँले यस वर्षमात्रै रु चार करोड ५७ लाखको सुन्तला खरिद बिक्री गर्नुभएको छ ।
चितवन: नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित ३ नम्बर पुलबाट मोटसाइकल दुर्घटना भई त्रिशूली नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ । लमजुङको साविक चन्द्रेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ रामनगर बस्ने वर्ष २७ को रोहित रानाको शव नौ दिनपछि आज बिहान फेला परेको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार दुर्घटना भएको करिब एक सय मिटर तल नदीमा तैरिरहेको अवस्थामा शव फेला परेको हो । रानाको शवलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नदीबाट उद्धार गरी शव परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । निरीक्षक भण्डारीका अनुसार रोहितका परिवारले शव सनाखत गरिसकेका छन् । यही फागुन २ गते नारायणगढबाट काठमाडौँतर्फ जाँदै गर्दा रोहित सवार बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकल सडकमै अडिएको थियो भने रोहित त्रिशूलीमा खसेका थिए । रोहित भारतीय सेनामा कार्यरत रहेका थिए ।
काठमाडौं: संयुक्त राष्ट्रसङ्घको आव्हानमा दक्षिण सुडानमा शान्ति स्थापनाका निम्ति खटिएको चण्डीप्रसाद गणको दुई सय ११ जनाको डप्फा गएरति त्यसतर्फ प्रस्थान गरेको छ । सेनानी मिलन आचार्यको नेतृत्वमा उक्त टोली कार्यस्थलतर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको छ । प्रमुख सेनानी महेश्वर सिलवाल नेतृत्वको दुई सय १३ सदस्यीय अरिदमन गण शनिबार काठमाडौँ आएसँगै सेनानी आचार्य नेतृत्वको फौज दक्षिण सुडानको राजधानी जुभातर्फ प्रस्थान गरेको हो । हाल दक्षिण सुडानमा नेपाली सेनाबाट ‘सेक्टर कमाण्डर,’ सैनिक पर्यवेक्षक, ‘स्टाफ’ अधिकृत र दुई वटा गण तथा एउटा गुल्म गरी एक हजार सात सय ५६ जना शान्ति सैनिक कार्यरत छन् ।
काठमाडौं: स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला रु एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज रु एक लाख ७० हजार तीन सय कायम भएको छ । आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार ९९० रहेको चाँदीको मूल्य आज रु एक हजार ९७० कायम भएको छ ।
ताप्लेजुङ: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पाथीभरामा केबलकार निर्माणको विषय विवाद चर्किंदै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज बिहानदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिवार राति जारी गर्नुभएको सूचनामा सदरमुकाम फुङ्लिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ । शनिवार साँझ फुङ्लिङमा बजारमा नो केबलकार पक्ष र प्रहरीबिच झडप भएपछि परिस्थिति प्रतिकूल भएकाले निषेधाज्ञा जारी गर्नुपरेको सूचनामा उल्लेख छ । संवेदनशील र प्रतिकूल परिस्थितिका कारण स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) (क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो । आज बिहान ५ बजेदेखि अर्को सूचना नभएसम्म फुङलिङ बजार क्षेत्रसहित पूर्वतर्फ दोखु सल्लेरी, पश्चिमतर्फ घोचौंउ र थलङधार, उत्तरतर्फ उकाली पानी र दक्षिणतर्फ शेर्पा टोल, भेटेरिनरी कन्चनजंघा टोलसम्म निषेधाज्ञा जारी गरिएको हो । पाथीभरा क्षेत्रको काफ्लेपाटी क्षेत्रअन्तर्गत पूर्वतर्फ पर्यटक प्रहरी भवन, पश्चिमतर्फ बलु डाँडा क्षेत्र, उत्तरतर्फ केबलकार बेस स्टेशन र दक्षिणतर्फ निर्माणाधीन नयाँ बसपार्कको १०० मिटर क्षेत्रभित्र सीमा (चार किला) निषेधाज्ञा तोकिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रभित्र पाँच जनाभन्दा बढी मानिस जमघट हुन नपाउने, सभा, जुलुस, प्रदर्शन र घेराउ जस्ता गतिविधि गर्न नपाउने भनिएको छ । निर्माणाधीन केबलकारको विषयलाई लिएर शनिबार साँझ सदरमुकाम फुङ्लिङमा नो केबलकार पक्ष र प्रहरीबिच झडप हुँदा दुवै पक्षका घाइते भएका छन् । गत बिहीबार पनि पाथीभरा क्षेत्रस्थित केबलकार निर्माणस्थलमा पनि नो केबलकार समूह र प्रहरीबीच झडप भएको थियो । उक्त झडपमा प्रहरी, आन्दोलनकारी र अन्य गरी १३ जना घाइते भएका थिए ।
काठमाडौं: वैवाहिक कार्यक्रममा बेहुला–बेहुलीप्रति सबैको आकर्षण हुनुु स्वाभाविक नै हो । तर कहिलेकाँही अन्य पक्षहरूमा पनि आगन्तुकको ध्यान जान सक्छ । काठमाडौँमा हालै भएको एउटा विवाह कार्यक्रममा अधिकांशको नजर बेहुला–बेहुलीसँगै मोहीमा पनि रह्यो । अन्य पेय पदार्थको साटो मोही राखेपछि धेरैले मन पराए । यही फागुन ६ गते थापागाउँको एक क्याङ्कुटमा बेहुला माधव भण्डारी र बेहुली अस्मि सापकोटा जग्गेमा व्यस्त भइरहँदा उहाँहरूलाई शुुभकामना र आशीर्वाद दिनेको भीड त्यसलगत्तै स्थानीय मोहीतिर लहसिएको थियो । अन्य पेय पदार्थको साटो मोही पिउन पाउँदा फरकपन महसुस गरेको काठमाडौँकी शिक्षा भट्टराईले बताउनुभयो । बिहेमा सहभागी अन्तरराष्ट्रिय सेफ घनश्याम कँडेलले भोजमा मोहीको प्रयोग निकै राम्रो भएको बताउनुभयो । विवाहमा मोहीप्रति मानिसहरुको आकर्षण देख्दा आफूलाई पनि निकै खुसी लागेको सेफ कँडेलले बताउनुभयो । बिहेमा सहभागी शिक्षक उदय चापागाईँले पनि आफ्ना छोरा र छोरीको बिहेमा अन्य पेयपदार्थ नराखी मोही नै राख्ने रहर जागेको बताउनुभयो । बिहेका आगन्तुक एवं वरिष्ठ सञ्चारकर्मी डा राजेन्द्रराज तिमिल्सनाले पनि मोहीको महत्वबारे चर्चा गर्नुभयो । उहाँले पौराणिक प्रसङ्ग उल्लेख गर्दै देवराज इन्द्रलाई समेत मोही पिउने धोको कहिल्यै पूरा नभएको उल्लेख गर्नुभयो । कृषि र पर्यटन प्रवर्द्धन अभियन्तासमेत रहनुभएका बेहुलीका पिता एवं टेलिभिजनकर्मी देवीप्रसाद सापकोटाले बिहेलाई केही नयाँपन दिन मोही समावेश गरेको बताउनुभयो । बिहेमा मोहीको प्रवर्द्धनमा कृषिमन्त्री सरिक भएकोप्रति उहाँले विशेष खुसी व्यक्त गर्नुभयो । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, बेहुला माधव भण्डारी र बेहुली अस्मि सापकोटाले मोही पिएर कृषि उत्पादनलाई प्रवर्द्धन गर्नुभएको थियो । नेपालीहरूका सबै चाडपर्व र कार्यक्रममा ठाउँअनुसारका उपजको प्रवर्द्धनबाट किसानलाई हौसला मिल्ने भएकाले यस्ता कार्यक्रम बढाउनुपर्ने मन्त्री अधिकारीले बताउनुभयो । काठमाडौँमा हुने कार्यक्रमका लागि मोही ढुवानीमा केही समस्या भए पनि उपभोक्ताको रुचिअनुसार गुणस्तरीय मोही आपूर्ति गर्न सकिने पवन डेरी चितवनका सञ्चालक पवनप्रसाद बाँस्तोलाले बताउनुभयो । चितवनमा मात्र प्रचलनमा रहेका विभिन्न कोल्ड ड्रिङ्क्सको करिब ३५ प्रतिशत हिस्ता मोहीले लिइसकेको मोही प्रवर्द्धनमा लागेका अभियन्ताहरूले बताएका छन् । नेपाल सरकार पनि पछिल्ला दिनमा स्वदेशी उत्पादन र कृषि उपजको उपभोग बढाउन आवश्यक नीति र कार्यक्रम बनाउन थालेको छ ।
गुल्मी: रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएको थियो । एयरलाइन्सका रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान उठान भर्दै आएको जहाजमा समस्या देखिएपछि हाललाई उडान स्थगन भएको हो । साना जहाज नेपाल एयरलाइन्समा दुईवटा छन् । “एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो । जहाज हाल बिग्रेर मर्मतका लागि काठमाडौँमा छ”, उहाँले भन्नुभयो, “फागुनभर पनि उडान हुने कुनै सम्भावना छैन”, प्रमुख थापाले विदेशबाट सामग्री ल्याएर बनाउनुपर्दा समय बढी लागेको बताउनुभयो । रेसुङ्गा विमानस्थलमा पछिल्लोपटक एयरलाइन्सले २०८१ मङ्सिर २४ मा तम्घास–काठमाडाँै उडान भरेको थियो । विसं २०७९ वैशाख ३ गते पहिलो उडान भएको विमानस्थलमा झण्डै २० महिनामा ९० वटामात्र उडान भएका छन् । उक्त उडानमध्ये तम्घास–काठमाडौँ एक हजार एक सय ६५ र काठमाडौँ–तम्घास एक हजार ८८ यात्रीले सेवा पाएको स्टेशन इन्चार्ज थापाको भनाइ छ । जहाजले एकपटकमा १९ जनासम्म यात्री बोक्न सक्छ । विमानस्थलमा उडान भए पनि कर्मचारी भने तीनजना छन् ।