पोखरा:  पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे युवा समिति र आधिखोला न्यु दिल्ली उपाधिका लागि भिड्ने भएका छन् ।  पोखरा–३ नदिप...

तनहुँ:  मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना ९पूर्वी खण्ड० का अधिकांश स्थानमा कालोपत्र सकिँदा लामो समयपश्चात् दमौली बजारमा कालोपत्र सुरु भएको हो ।       दमौलीस्थित व्यास नगरपालिका–२ बागबजारमा शुक्रबारदेखि कालोपत्र थालिएको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । दमौली बजारमा सडक मापदण्डभित्र रहेका घरहरु भत्काउने क्रमले तीव्रता लिएसँगै बागबजारमा कालोपत्र थालिएको उहाँले बताउनुभयो ।       उहाँले भन्नुभयो, “बागबजार टोलमा एकतर्फी कालोपत्र थालिएको छ । एकतर्फीको कालोपत्र सकिएसँगै अर्कोतर्फ कालोपत्र हुनेछ ।” बागबजार क्षेत्रमा सडक नाला निर्माणसँगै कालोपत्रलाई अगाडि बढाइएको उहाँको भनाइ छ ।       पूर्वी खण्डमा हालसम्म ७७ दशमलव ७ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा पर्ने ४१ दशमलव ४५ किलोमिटर दूरीमध्ये ३४ दशमलव ५ किमीमा चार लेन र ३ दशमलव १ मा दुई लेन सडक कालोपत्र भइसकेको छ ।       यो खण्डमा १४ वटा साना पुल निर्माण सकिएका छन् । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम करिब ६० प्रतिशत सकिएको छ ।      पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।       विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

काठमाडौं: प्यालेस्टिनी लडाकूहरूले शनिबार दुई इजरायली बन्धकहरूलाई मुक्त गरेका छन्।   इजरायली सुरक्षा बलले शनिबार रिहा भएका ती व्यक्तिहरूलाई बुझी इजरायली भूमिमा फिर्ता गरेको इजरायली सेनाले जनाएको छ। गत जनवरी १९ मा सुरु भएको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत बन्धकहरूलाई मुक्त गरिएको हो । युद्धविरामको पहिलो चरण अन्तर्गत रिहाईका लागि योग्य अन्तिम जीवित बन्दीहरूमध्ये अन्य चारलाई पनि शनिबार नै रिहा गर्ने तयारी भइरहेको हमास निकट स्रोतले बताएको छ ।   लडाकूहरूले शनिबार रिहा भएका ताल शोहम र एवेरु मेन्गिस्टुलाई दक्षिणी गाजाको राफाको एक मञ्चमा लगीसोहमलाई कालो पहिरनमा सजिएका सशस्त्र र नकाबपोश लडाकुहरूको उपस्थिति रहेको भेलालाई सम्बोधन गर्न लगाइयो र त्यसपछि दुवै जनालाई रेडक्रसको जिम्मा लगाइएको थियो । प्यालेस्टिनी लडाकूहरूले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि गरेको अकल्पनीय आक्रमणका क्रममा दर्जनौं बन्दीहरूलाई कब्जामा लिएका थिए जसका कारण गाजा पट्टीमा १५ महिनाभन्दा बढी युद्ध भएको थियो।  मध्य गाजामा शनिबार नै एक छुट्टै समारोहबीच अन्य चार जना बन्धकलाई मुक्त गरिनेछ । हमासका एक स्रोतले एएफपीलाई बताएअनुसार इस्लामिक समूह हमासले मध्य गाजाको नुसिरातबाट चार जना बन्धकहरूलाई पनि शनिबार नै रिहा गर्नेछ ।  इजरायली अभियान समूह द होस्टेज एण्ड मिसिङ फेमिलीज फोरमले रिहा हुने ६ जना इजरायलीको नाम सार्वजनिक गरेको थियो । यो सूचीमा एलिया कोहेन, ओमेर शेम टोभ, ओमेर वेनकर्ट र हिशाम अल–सैयदका साथै मेन्गिस्तु र शोहम पनि थिए।

काठमाडौं:  प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । आज यहाँ आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र   गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोकार्पण गर्नुभयो ।      प्रधानमन्त्री ओली र प्रथम महिला शाक्य दाम्पत्य जीवनमा बाँधिएको  ३७औँ  वार्षिकोत्सवका अवसरमा   पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोहमा मन्त्रिपरिषद् सदस्यका साथै समाजका प्रतिष्ठित व्यक्तिहरु सहभागी हुनुहुन्थ्यो ।      लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाई र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको सङ्घर्ष, कठिनाई, सफलता र समाजसेवाका विषय समेटिएको बताउनुभयो ।  पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका उकालीओराली तथा नेता ओलीसँग विवाह बन्धनमा बाँधिएपछिका अनेक प्रसङ्ग उल्लेख छन् ।      “न म साहित्यकार, न लेखिका तर मनमा लागेका कुरा लेख्ने गर्थे । त्यही सङ्कलन आज पुस्तकाकारमा आएको छ”,  लेखिका शाक्यले भन्नुभयो,   “म बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुन्थे । मैले केपी ओलीसँग करुणाले बिहे गरेँ ।”

झापा: भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत २० जना विद्यार्थी काँकरभिट्टा नाका हुँदै नेपाल फर्किएका छन् ।      गत फागुन ६ गतेदेखि सो नाका हुँदै आज बिहानसम्म २० जना विद्यार्थी  नेपाल फर्किएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिनुभयो । “दैनिक एक दुई जना फर्किरहेका छन्”, उहाँले भन्नुभयो, “आउनेक्रम जारी छ, आएका विद्यार्थीहरु आफ्नो गन्तव्यतर्फ लागिसकेका छन् ।”       काँकरभिट्टा नाका हुँदै कास्की पोखरा–८ का २० वर्षीय सुलभ पौडेल, २० वर्षीय आयुश अधिकारी, काठमाडौँ–१० का २१ वर्षीय समिम पौडेल, ललितपुर महालक्ष्मी–४ का २० वर्षीय आकाश साह, काठमाडौँ–१३ का २० वर्षीय पुयुश साह र काठमाडौँ गोकर्णेश्वर–७ का २० वर्षीय विकेश श्रेष्ठ रहनुभएको छ ।      त्यस्तै, सप्तरीको राजविराज–२ की २० वर्षीया आरती रोही, २१ वर्षीया सालिमी दास, २० वर्षीय रिसक सिंह, २० वर्षीय आयुस राज, २० वर्षीय प्रजित यादव, २० वर्षीय राकेस साह, २१ वर्षीय क्रिस दास, २० वर्षीय नवीन मण्डल रहेका छन् ।       यसैगरी सुनसरी इनरुवा–१ का २१ वर्षीय ओमप्रसाद पोदार, मोरङ विराटनगर–१२ का २१ वर्षीय आदित्य मिश्र, सप्तरी भारदह–२ का २२ वर्षीय केशव गोहिबार, काठामाडौँ इचम्भु–१ का २३ वर्षीय शुभम् केसी, मकवानपुर हेटौँडा–२ का २३ वर्षीय रिसभ झा र महोत्तरको जलेश्वर–१२ का १८ वर्षीया आरुसी सिंह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सप्तरी:  भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाबाट घर फर्किएका यहाँका चार जनाको सवारी दुर्घटना मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । उत्तर प्रदेशका गोरखपुर लिङ्क रोडमा गए राति भएको दुर्घटनामा कञ्चनरूप नगरपालिका– ७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लिलावती चौधरी, वडा नम्बर– ५ की ५५ वर्षीया हरिहर वती यादव र उनकी भाउजू सुनसरीको कुशहा गाउँपालिका– १ की समतोलियादेवी यादवको मृत्यु भएको कञ्चनरुप नगरपालिका– ७ का वडाध्यक्ष समानन्द चौधरीले बताउनुभयो । सोही गाडीमा सवार लिलावतीका श्रीमान् कञ्चनरुप नगरपालिका १ स्थित लक्ष्मीनारायण माधयमिक विद्यालय वैरवाका शिक्षक उपेन्द्र नारायण चौधरी, वडा नम्बर ७ कै लालुदेबी यादव, वडा नम्बर ५ का जीतु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनीज्वाई र चालकसहित ६ जना घाइते भएका छन् । उनीहरुको गोरखपुर अस्पतालमा उपचार भइरहेको छ । तीन जना मृतकका छोरा शव लिन तीन वटा एम्बुलेन्स लिएर गोरखपुरतर्फ आज प्रस्थान गरेका वडा अध्यक्ष चौधरीले राससलाई जानकारी दिनुभयो । 

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अब आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको बताउनुभएको छ । माओवादी केन्द्र केन्द्रीय कार्यालयले आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रमको आज यहाँ  उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुुभएको हो ।  माओवादी केन्द्रले नेतृत्व गरेका सबै पालिका नमुना बन्नुपर्ने बताउँदै उहाँले स्थानीय तहबाट समाजवादी अर्थतन्त्र, संस्कृति र शैलीको थालनी गर्न आवश्यक छ भन्नुभयो । अध्यक्ष दाहालले समाजवादको सैद्धान्तिक बहसलाई व्यावहारिक रुपमा स्थानीय तहबाट निर्माण गर्दै लैजाने पार्टीले निर्णय गरेको जानकारी दिनुभयो ।  पार्टीले आठौँ महाधिवेशनबाट अघि सारेको नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मर्ममा साथ माओवादी केन्द्रले नेतृत्व गरेका कयौं स्थानीय पालिकाले उत्कृष्ट नतिजा दिदै आएको उहाँको कथन थियो । “अब विकास विदेशीको नक्कल गरेर होइन, आफ्नै विशेषतामा अघि बढाउनुपर्छ”,उहाँले भन्नुभयो ।  अध्यक्ष दाहालले पछिल्लो केही समय आवश्यकताभन्दा बढी सहकार्य र समीकरण गर्दै जाँदा आफ्नो वर्ग र समुदायसँगको सम्बन्ध कमजोर भएको गम्भीर आत्मसमीक्षा गरेर आफ्नै वर्गमा फर्कनुपर्छ र पार्टीलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ भन्ने निष्कर्षमा पुगेर नयाँ अभियान थालिएको जानकारी दिनुभयो ।

बागलुङ:   बागलुङको ताराखोला गाउँपालिका–१ माझखर्कमा ४३ औं मगर स्थापना दिवस मनाइने भएको छ । मगर सेवा समाज माझखर्कको आयोजनामा विविध कार्यक्रम गरेर मगर स्थापना दिवस मनाउन लागेको हो ।  मगर सेवा समाज माझखर्कका अध्यक्ष बाबुराम नाइसा मगरले ४३ औं मगर स्थापना दिवसको अवसरमा फागुन ११ देखि १५ गतेसम्म खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेर मनाउन लागेको बताए ।  उनका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने, तृतीय हुने समूहले १४ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  यस्तै पुरुष भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमका लागि ४ हजार ५ सय रुपैयाँ दर्ता शुल्क कायम गरिएको छ ।  यस्तै खुल्ला धनुषवाण प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० हजार र तृतीय हुने समूहले ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछने । खुल्ला धनुषवाण प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ५ सय रुपैयाँ दर्ता शुल्क कायम गरिएको छ ।  यस्तै खुल्ला धनुषवाण प्रतियोगिताको विजेताले १० हजार, उपविजेताले ६ हजार र तृतीय हुनेले ४ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस प्रतियोगितामा एक जनाले मात्र सहभागिता जनाउन पाउनेछन् ।  यस्तै खुल्ला सामुहिक नृत्य प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० हजार र तृतीय हुने समूहले ५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला सामुहिक नृत्य प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई १ हजार ५ सय दर्ता शुल्क कायम गरिएको छ ।  पुरुष भलिबल प्रतियोगितामा ताराखोला गाउँपालिका भित्रका नयाँ संरचना अनुसार वडास्तरीय हुने प्रतियोगिता संयोजक होम बहादुर रोका मगरले जानकारी दिए । भलिबल प्रतियोगितामा ताराखोला गाउँपालिका भन्दा बाहिरका टिम सहभागि हुन नपाउने आयोजकले जनाएको छ ।   

गलकोट:  बागलुङको धौलागिरी बहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्नलाई निःशुल्क रुपमा पठन–पाठन गर्नका लागि कोष खडा गरिएको छ । गत वर्षको तिहारमा देउसीभैलो खेलेर रु एक करोडको कोषको शुभारम्भ गरिएकामा कोष हस्तान्तरणको तयारीमा पुगेको छ । अहिले कोषमा रु ७५ लाख सङ्कलन गरिएको छ ।  धौलागिरीको एक मात्र आङ्गिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसमा जेहन्दार र विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिनका लागि स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा रु एक करोडको छात्रवृृति कोष गत वर्ष शुभारम्भ गरिएको थियो ।  उक्त कोषलाई छिट्टै रु एक करोड पु¥याएर क्याम्पसलाई हस्तान्तरण गर्ने तयारी गरिएको र अहिलेसम्म रु ७५ लाख सङ्कलन भइसकेको स्वतन्त्र विद्यार्थी युनियनका सभापती सुदिप सागर कँडेलले जानकारी दिनुभयो । कोष निर्माणका लागि धौलागिरी बुहमुखी क्याम्पस परिवार, शिक्षाप्रेमी, पूर्व विद्यार्थी तथा स्थानीय तहले राम्रो साथ दिएका छन् ।  कोषको ब्याज रकमबाट क्याम्पसमा अध्ययनरत विद्यार्थीमध्ये प्रत्येक वर्ष १०० विद्यार्थीलाई निःशुल्क शिक्षा दिइने सभापती कँडेलले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पठन–पाठनमा सहयोग पु¥याउने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियनले रु एक करोड ‘धौलागिरी बहुमुखी क्याम्पस छात्रवृति कोष’ निर्माण अभियान अन्तिम चरणमा पुगेको हो ।    कोष निर्माणका लागि देउसीभैलोमार्फत रु ४५ लाख सङ्कलन भएको र काठेखोला गाउँपालिकाले रु तीन लाख तथा पर्वतको जलजला गाउँपालिकाले रु एक लाख प्रदान गरिसकेको कँडेलको भनाइ छ । यस्तै शिक्षाप्रेमी, समाजसेवी, अग्रजको सम्झनामा समेत कोषलाई रु २० लाख रकम प्राप्त भइसकेको उहाँले बताउनुभयो ।  उहाँका अनुसार कोष निर्माणमा पूर्व विद्यार्थीले समेत साथ दिइरहेका छन् । कोषमा रु एक करोड पु¥याउन स्थानीय तहमा निर्णय भएअनुसार प्राप्त भए लक्ष्यमा पुगिनेछ । कोषमा बागलुङ नगरपालिकाले रु पाँच लाख, तमानखोला गाउँपालिकाले रु पाँच लाख र बरेङ गाउँपालिकाबाट रु दुई लाख गरी रु १२ लाख रकम दिने निर्णय भइसकेको र जम्मा हुँन बाँकी रहेको कँडेलले बताउनुभयो ।  “धौलागिरी क्याम्पसमा विद्यार्थी सङ्ख्या घट्दो छ, पलायन विद्यार्थीलाई यही राख्न र निःशुल्क उच्च शिक्षा प्रदान गर्नका लागि कोषले ठूलो सहयोग गर्नेछ”, कँडेलले भन्नुभयो, “स्वतन्त्र विद्यार्थी युनियनले कोष निर्माण र सङ्कलन गरे पनि कोषको रकम रु एक करोड पु¥याएर क्याम्पसलाई दिइने छ, प्रत्येक वर्ष १०० विद्यार्थीको अध्ययन खर्च कोषको ब्याज रकमबाटै दिइनेछ ।”      क्याम्पसमा अध्ययन गर्न आउने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृति रकम मार्फत निःशुल्क अध्यापन गराउने उद्देश्य पुरा हुने चरणमा पुगेको हो । कोष निर्माणमा क्याम्पसका प्राध्यापकले एक महिनाको तलब सहयोग गरेका थिए । क्याम्पस र समुदायबीचको सम्बन्ध तथा सहकार्य बढाउन, उच्च शिक्षा अध्ययनतर्फ विद्यार्थीको आकषर्ण बढाउन कोष निर्माण गरिएको हो ।  आर्थिक अभावकै कारण उच्च शिक्षाबाट बञ्चित विद्यार्थीलाई कोषले सहायता प्रदान गर्ने क्याम्पस प्रमुख सह–प्रध्यापक डा सुर्दशन सिलवालले जानकारी दिनुभयो । बागलुङ–३ किनारा टोल निवासी समाजसेवी भिमसेनकुमार श्रेष्ठ र उहाँकी श्रीमती पार्वती श्रेष्ठले विपन्न विद्यार्थीको अध्ययनमा सहयोग होस् भनि क्याम्पसमा श्रेष्ठ परिवारले रु दुई लाख सहयोग गर्नुभएको थियो ।  कोषको ब्याजको रकमबाट क्याम्पसमा अध्ययन गर्ने विपन्न विद्यार्थीको पठनपाठनमा सघाइने क्याम्पसका पूर्वप्रमुख प्रा डा रामप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।  “अहिले पनि हामीले विद्यार्थीलाई केही छात्रवृत्ति उपलब्ध गराएका छौँ, तर त्यसले मात्र पुग्दैन”, उहाँले भन्नुभयो, “क्याम्पसमा स्थापना गरिने रु एक करोडको कोषले आर्थिक अभावकै कारण पढाइ छाड्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै क्यापसको शैक्षिक गतिविधिलाई चलायमान बनाउनेछ ।” क्यम्पसमा अहिले दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् । 

काठमाडौं:  राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार र महत्त्वपूर्ण थलोका रूपमा लिइन्छ ।  यो सभालाई प्रभावकारी तुल्याउन दलगत स्वार्थ त्यागेर देशलाई केन्द्रविन्दुमा राखी हेरिनुपर्छ । हरेक विषयलाई साझा ढङ्गले छलफल र बहस गरेर टुङ्ग्याइनुपर्छ ।  त्यसो त शून्य र विशेष समयमा सदस्यहरूले आ–आफ्ना ढङ्गले विषयवस्तु उठाउँछौँ तर, कानुन बनाउने कुरामा अहिलेसम्म हामी फरक–फरक ढङ्गले प्रस्तुत हुँदैनौँ । आगामी दिनमा पनि सोही ढङ्गले अगाडि बढ्नुपर्छ । राष्ट्रियसभालाई फरक र जिम्मेवार ढङ्गले लैजानुपर्छ ।  सहमतिमै संविधान संशोधन संविधान संशोधनको विषय अहिले बहसमा छ । खासगरी नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धन सरकार सात बुँदे जगमा बनेको हो । सात बुँदामध्ये संविधान संशोधन एक महत्त्वपूर्ण विषय हो । दुई ठूला राजनीतिक दल बढी जिम्मेवार बन्नुपर्छ भन्ने निष्कर्षसहित गठबन्धन सरकार बनेको मेरो बुझाइ छ ।  हरेक १० वर्षमा संविधान पुनरावलोकन गर्ने भन्ने पनि छ । संविधान कार्यान्वयनको एक दशकको अवधिमा कहाँ–कहाँ कमजोरी रहे र कुन–कुन विषयलाई सच्याउनुपर्छ भनेर संविधान संशोधनको विषय उठेको हो । संविधान संशोधन दुई ठूला दलले मात्रै गर्ने नभई सबै दलको साझा सहमतिमा हुनुपर्छ । सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ । संविधानले व्यवस्था गरेबमोजिम अध्यादेश आएको छ । अध्यादेश अहिले मात्र हैन हिजोका सरकारहरूले पनि ल्याएकै हुन् । अहिले अत्यावश्यक अध्यादेश आएका छन् भन्ने मेरो बुझाइ हो । अध्यादेश देशको अर्थतन्त्रलाई सुधार्ने, सुशासन प्रवर्द्धन गर्ने र विकासलाई गति दिने खालका छन् ।  लामो समयदेखि समस्याको रूपमा रहेको भूमिसम्बन्धी र सहकारी क्षेत्रमा देखिएको समस्यालाई सम्बोधन गर्न समय सान्दर्भिक भएर अध्यादेश ल्याइएको छ । कतिपय विधेयकहरू दुई–चार वर्षदेखि सदनमा विचाराधीन छन् । छिटो कानुन बनाउने अवस्था नभएपछि सरकारले तत्कालको आवश्यकतालाई मध्यनजर गर्दै अध्यादेश ल्याएको हो । अध्यादेशले समेटेका विषयमा कुनै समस्या छन् भने त्यसमा छलफल गरेर परिस्कृत गर्न सकिन्छ । अध्यादेशमा कैफियत नै रहेछ भने पनि प्रतिस्थापन विधेयक ल्याउन सकिन्छ ।  राष्ट्रियसभा भनेको विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार छ । त्यो जिम्मेवारीमा राम्रोसँग भूमिका खेल्नुपर्छ भनेर लागिपरेको छु । राष्ट्रियसभाले खेल्ने महत्त्वपूर्ण भूमिका भनेको विधेयकमा ध्यान दिने र नीति बनाउने हो । सिकाइ, बुझाइ र खेल्नुपर्ने भूमिकाका हिसाबले राष्ट्रियसभा मेरा लागि विश्वविद्यालय भएको छ । हालको जिम्मेवारीबाट देशमा नीतिगत सुधार के कति गर्न सकिन्छ भन्नेमा केन्द्रित छु । पहिलो जिम्मेवारी कानुन निर्माणमै सक्रिय भइरहेकी छु । राष्ट्रियसभाको औचित्यका बारेमा प्रश्न उठाइएको सुनेको छु, तर संसदीय अभ्यासमा यो सभा अनिवार्य र अपरिहार्य छ ।  संविधानले परिकल्पना गरेअनुरूप यसको भूमिकालाई अझ प्रभावकारी बनाउन जरूरी छ । प्रतिनिधिसभाको ‘चेक एन्ड ब्यालेन्स’ का निम्ति पनि राष्ट्रियसभा चाहिन्छ । खासगरी प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । उहाँहरूको ध्यान विकास निर्माणतर्फ बढी केन्द्रित हुने गरेको देखिन्छ ।  प्रतिनिधिसभाले विधेयकमाथिको छलफलका लागि पर्याप्त समय दिन नसकेको हो की भन्ने लाग्छ । तुलनात्मक रूपमा राष्ट्रियसभाको बढी ध्यान कानुन निर्माणमै हुने गरेको छ । यसो भनिरहँदा प्रतिनिधिसभाले कानुन बनाउन विलम्ब गरेको छ भन्ने होइन । भूमिकाको हिसाबले राष्ट्रियसभाले कानुन निर्माणमा बढी ध्यान दिएको देखिन्छ ।  संविधान कार्यान्वयन भएको छ की छैन ? कार्यान्वयनका निम्ति बनाउनुपर्ने कानुन बने कि बनेनन् ? यी विषयलाई केलाएर राष्ट्रियसभाले सरकारलाई प्रतिवेदन दिएको छ । हामी अलि गहिरो गरी हेर्न भ्याउँछौँ र प्रतिनिधिसभाले केही कमजोरी गरेमा सच्याउन सक्छौँ । राष्ट्रियसभाको औचित्य छ भन्ने मान्यता स्थापित भएको छ । यो मेरो बुझाइ र अनुभूति हो ।   विधेयकहरू कहिलेसम्म सक्ने भन्नेमा प्रतिनिधिसभामा समयसीमा छैन । प्रतिनिधिसभाले केही वर्षअघि दर्ता भएका विधेयक पनि अहिलेसम्म टुङ्गो लगाउन सकेको छैन । दुई वर्षअघि दर्ता भएका विधेयक पनि टुङ्गिएका छैनन् । तर, राष्ट्रियसभाले दर्ता भएको विधेयकलाई छ महिनाभित्रै टुङ्ग्याउनुपर्ने समयसीमा छ । कतिपय विधेयक तीन महिनाभित्रै अध्ययन गरेर पारित गरेका छौँ । प्रतिनिधिसभाले पारित गरेर पठाएको विधेयकलाई पनि राष्ट्रियसभाले तुरून्तै पारित गरेर पठाएको छ ।    प्रमुख सचेतक भगवती न्यौपानेको परिचय   विसं २०५० देखि राजनीतिक दलमा आबद्ध हुनुभएकी भगवती न्यौपानेले नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट राजनीतिक यात्रा सुरू गर्नुभएको हो ।  अखिल नेपाल महिला सङ्घ तनहुँको सचिव हुँदै दुई कार्यकाल अध्यक्ष बन्नुभयो । उहाँले एमालेको जिल्ला सचिवको जिम्मेवारी पनि निर्वाह गर्नुभयो । राष्ट्रियसभामा एमालेको प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएकी न्यौपाने हाल राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको सदस्य हुनुहुन्छ ।