फिफा विश्वकप- २०५८ को फाइनलमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री भएको छ।    अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा ज...

पोखरा:  पोखरामा भोलिदेखि पहिलो पटक हुन लागेको आरयु फेष्टको तयारी पूरा भएको छ । साउन १६ र १७ गते पोखरामा पहिलो पटक हुन लागेको आरयु फेष्टको तयारी पूरा भएको आज (बुधबार) पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।  पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (GCRU) अन्तरगत आरयु फेष्ट (RU FEST-2025) गर्न लागिएको हो ।   यही साउन १६ र १७ गते बुलौदी स्थित पोखरा इभेन्ट सेन्टरमा फोहोरलाई खजना (मोहोर)  बनाउने मुलमन्त्र सहित यो फेस्टिभल आयोजना गरिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।  पोखरा महानगरपालिकाका नगर प्रमुख आचार्यले पोखरा लगायत सिङ्गो मुलुकको हरित विकासका लागि एक नवीनतम प्रयासका रूपमा फेस्टिभल स्थापित हुने अपेक्षा समेत व्यक्त गरे । फेस्टिभलले सृजनशीलता, नवप्रवर्तन र दिगोपनाका लागि हातेमालो गर्दै वातावरणमैत्री र सुरक्षित भविष्य निर्माण गर्ने लक्ष्य राखेको उनले बताए ।  “दैनिक जीवनमा प्रयोगहीन सामाग्रीहरू रिसाइक्लिङ र अपसाइक्लिङ गरी हरित रोजगारी सिर्जना सहित चक्रीय अर्थतन्त्रको निर्माणमा फेस्टिभलले नयाँ ज्ञान, सीप र मार्गदर्शन प्रदान गर्नेछ, नगर प्रमुख आचार्यले भने, यसले उद्यमशीलता र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान  गर्नेछ ।”  फेस्टिभलमा रिसाइक्लिङ र अपसाइक्लिङ सम्बन्धी नेपालको मौलिक सीप र दक्षिण कोरियाको चक्रीय अर्थतन्त्रमा यसले पारेको सकारात्मक प्रभाव र प्रेरणादायी अनुभवहरू आदान प्रदान गरिने उनले बताए ।  फेस्टिभलमा देशभरिका नवप्रर्तनयुक्त रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादनहरूको प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने प्रक्रियाको प्रत्यक्ष प्राविधिक डेमो सो, जलवायु, दिगो पर्यटन विकास, हरित उद्यमशीलता र प्लास्टिक टु रोड प्रविधि माथि संवाद, युवाहरूका लागि सिर्जनात्मक कार्यशाला, सार्वजनिक कला प्रदर्शनी, सहभागितामूलक गतिविधिहरू प्रस्तुत, दक्षिण कोरियाको सफलता अनुभवमाथि विशेष संवाद सत्र, हरित रोजगारी, बजार पहुँच र दिगो जीविकोपार्जनका उपायहरू लगायत विषयहरू माथि चर्चा परिचर्चा हुनेछ ।  हाल रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोइकाको ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर आर्थिक सहयोगमा पोखरामा जिभिजेड सेन्टर निर्माण भइसेको छ ।  नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा कोसेली घर निर्माणको काम भइरहेको छ । पोखरा महानगरपालिका क्षेत्रमा १३६ वटा सामुदायिक समूहहरू निर्माण गरी उनीहरूलाई आवश्यक तालिम तथा प्राविधिक प्रशिक्षण पनि प्रदान गरिएको छ ।  “यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने, हरित अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान गर्नेछ ।” नगर प्रमुख आचार्यले भने ।  फोहोरमैलाको उचित व्यवस्थापन मार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि निकै महत्त्वपूर्ण हुने विश्वास गरिएको छ ।  हरित अर्थतन्त्रमा योगदान पुर्‍याउने आरयू उद्यमहरूलाई बढवा दिन दिगो नीतिको सुनिश्चितता सहित महानगरपालिकाले परियोजनाको स्वामित्वमा लिनेछ । परियोजना मार्फत आगामी २ वर्षमा  ३  हजार रोजगारी सृजना गर्ने लक्ष्य राखिएको छ । फेस्टिभल उत्सुक विद्यार्थीहरू, उद्देश्यमूलक उत्पादनहरू, दूरदर्शी नीतिनिर्माताहरु र जिज्ञासु नागरिकहरूका लागि यो फेस्टिभल सहकार्य, सृजनशीलता र सकारात्मक कदमको साझा मञ्च बन्नेछ । पर्यटकीय राजधानी पोखरालाई हरित, दिगो र स्मार्ट बनाउने यात्रामा हातेमालो गर्न पोखरा महानगरपालिकाले आम पोखरेलीहरूलाई सार्वजनिक आह्वान समेत गरेको छ ।

गुल्मी: पहिरोका कारण कालीगण्डकी सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।  कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो आज बिहान खसेपछि उक्त सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।  सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । पहिरो पन्छाउने प्रयास जारी छ ।

उदयपुर:  उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट इटहरीतर्फ गइरहेको ट्रक दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका–४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते चालक विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

पोखरा:   कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा बुधबार पहिरोमा पुरिएर एक युवकको मृत्यु  भएको छ ।  घाचोकको लस्तीखोलास्थित हेमजा माछापुच्छ्रे सडक खण्डमा बुधबार विहान करिब १० बजे खसेको पहिरोमा पुरिएर पोखरा महानगरपालिका– २५ का २३ वर्षीय तेजबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक हरीबहादुर बस्नेतले जानकारी दिए ।  प्रहरीका अनुसार दिउँसो करिब साढे २ बजे पहिरो पन्छाउने क्रममा गुरुङको शव फेला परेको हो । स्थानीय बंगुर फार्ममा दाना लिएर जाने क्रममा गुरुङ पहिरोमा पुरिएको प्रहरीले उल्लेख गरेको छ। उक्त घटनामा परी स्थानीय शुक्लागण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुरजमोहन पोखरेल घाइते भएका छन् । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पोखराबाट विद्यालय जाने क्रममा शिक्षक पोखरेल सवार मोटरसाइकलाई पहिरोले पुरेको थियो । घाइते शिक्षक पोखरेललाई स्थानीयले उद्धार गरी तत्काल अस्पताल लगेका थिए ।   

काठमाडौं:   साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । “साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो । यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिएको छ”, उहाँले भन्नुभयो । साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमको भनाइ छ । यसको कुनै शास्त्रीय वचन भने नरहेको उहाँले बताउनुभयो । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएकालाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाएर खुवाउने चलन अझै कायमै छ । चामल, सावधाना, सेवई, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ । सावधानलाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी, साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीर पनि बनाएर खाने चलन छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्यपदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ । नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रूपमा मनाउने गरेको छ ।

हेटौंडा: बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि तय भएको शपथ ग्रहण कार्यक्रम स्थगित भएको प्रदेश प्रमुख कार्यालय हेटौँडाले जनाएको छ । कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा अकस्मात् समस्या उत्पन्न भएपछि उपचारका लागि काठमाडौं प्रस्थान गरेकाले बिहीबारका लागि तय भएको शपथ ग्रहण कार्यक्रम हाललाई स्थगित भएको उल्लेख गरिएको छ । यसअघि बुधबार बिहान ९ बजेका लागि शपथको कार्यक्रम राखिएकोमा सहयात्री दल एमालेले कांग्रेसको आन्तरिक विवाद कायमै रहेको र संसदीय दलको नेतामा समेत फेरबदल आएकाले तत्काल मन्त्री नियुक्ति तथा शपथको कार्यक्रम अघि नबढाउन सुझाव दिएको थियो । मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार बिहान गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानून, माया श्रेष्ठलाई युवा तथा खेलकुद र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त गरेका थिए ।  

बुटवल:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा बसेको छ ।  काठमाडौँबाट भैरहवा आइपुगेका रास्वपाका नेता तथा सांसदहरूले सहकारी ठगी आरोपमा जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेसँग आजै बिहान भेटेर छलफल गरेपछि संसदीय दलको बैठक बसेको हो । भिजिट भिसा प्रकरणमा पार्टीका तर्फबाट दुई महिनादेखि संसद्मा आवाज उठाउँदा पनि बेवास्ता गरिएको, संसद्मा पेस भएका विधेयकहरू अघि बढ्न नसकेको लगायतका समसामयिक राजनीतिबारे बैठकमा छलफल हुने नेताहरूले बताउनु भएको छ ।  आगामी कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचन हुन लागेकोले रास्वपाको संसदीय दलको बैठक त्यही क्षेत्रमा हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

पोखरा:   नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने २२ औं सस्करणको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड–२०८१ पोखरामा हुने भएको छ ।  पोखरा महानगरपालिका मुख्य प्रवर्द्धक रहेको उक्त अवार्ड कार्यक्रम आगामी भाद्र २९ गते नेपालको पर्यटकीय राजधानी पोखरामा हुने भएको हो ।  अवार्ड कार्यक्रमको प्रवर्द्धनका लागि महानगरपालिकाले आफ्नो वार्षिक विकास कार्यक्रम मै  उल्लेख गरेको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।  पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ मनाइरहेको सन्दर्भमा एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड–२०८१ पहिलो पटक काठमाडौँ बाहिर पोखरामा आयोजना गरिनु पोखराका लागि निकै महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो । स्पोटर््स अवार्डका माध्यमबाट पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म प्रचारप्रसारमा उल्लेखनीय टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  पर्यटकीय राजधानी पोखरालाई खेलकुदको हबको सहरका रूपमा विकास गर्ने गरी मौजुदा  पूर्वाधारहरूको सबलीकरण र पूर्वाधारहरू निर्माण गर्ने कार्यमा पोखरा महानगरपालिकाले आवश्यक समन्वय तथा सहकार्य गरिरहेको नगर प्रमुख आचार्यले बताउनुभयो । पोखरालाई सबै हिसाबले पर्यटन गन्तव्यका रूपमा विकास गर्न यस्ता प्रकारका कार्यक्रमहरूको नियमिततामा उहाँले जोड दिनुभयो ।  नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले काठमाडौँ बाहिर पहिलो पटक पर्यटकीय राजधानी पोखरामा अवार्ड गर्न पाउँदा आफूहरू निकै उत्साहित भएको बताउनुभयो ।  पोखरा भ्रमण वर्ष २०२५ को प्रवर्द्धन र राजधानी बाहिर खेल पत्रकारिताको विकास तथा प्रोत्साहनका लागि आफूहरूले पोखरालाई रोजेको उहाँले बताउनुभयो ।  कार्यक्रममा खेलकुदको विभिन्न विद्याहरूमा उत्कृष्टता हासिल गरेका खेलाडी, खेलकुद प्रेमी र खेल पत्रकारहरूलाई पुरस्कृत गरिने छ ।

मोरङ:   नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार विसं २०८४ सम्म निरन्तर रहने बताउनुभएको छ। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति जनतालाई अनुभूति गर्नेगरी काम गर्नुपर्ने सुझाव दिनुभयो । कांग्रेस केन्द्रीय सदस्य डा कोइरालाले राजनीति गर्ने व्यक्तिले विभिन्न दलका नेताहरुसँग भेटघाट गर्नु सामान्य प्रक्रिया भएअनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग आफ्नो छलफल भएको स्पष्ट पार्नुभयो । नेता कोइरालाले भन्नुभयो, “राजनीति गर्ने व्यक्तिमा नैतिकता हुनु जरुरी हुन्छ अन्यथा राजनीति धराप पर्छ ।” उहाँले नेपालको संविधानले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई पुनः राजनीतिमा आउन नरोकेको बताउँदै तर आफ्नो विचारमा राजनीतिमा नफर्केको राम्रो हुने धारणा राख्नुभयो । गठबन्धन सरकार निर्माणको क्रममा भएको सात बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । एक प्रश्नको जवाफमा नेता डा कोइरालाले कांग्रेसमा अहिले संसदीय दलको नेता परिवर्तन हुने कुनै सम्भावना नरहेको बताउनुभयो । एक फरक प्रसङ्गमा उहाँले कांग्रेसको महाधिवेशन तोकिएको समय विसं २०८२ मा हुने विचार राख्नुभयो ।