पोखरा:  पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे युवा समिति र आधिखोला न्यु दिल्ली उपाधिका लागि भिड्ने भएका छन् ।  पोखरा–३ नदिप...

सूचना एवं प्रविधिमा दक्ष बनाउन शिक्षकलाई सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी ज्ञान सीप सिकाइएको छ ।   सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई लक्षित गर्दै रोटरी क्लब अफ रामपुरले समय अनकुल भित्रिएको प्रविधिबारे ज्ञान तथा सीप सिकाउन तालिम दिएको छ ।   पाल्पाका रामपुर नगरपालिका तथा निस्दी, पूर्वखोला र रम्भा गाउँपालिकाका माध्यमिक विद्यालयका शिक्षकका लागि सूचना तथा प्रविधिसम्बन्धी तालिम सञ्चालन गरिएको हो ।   शिक्षालाई समयानुकूल अगाडि बढाउन र अहिले आएका नयाँ प्रविधिबारे शिक्षकलाई जानकारी दिँदै कक्षाकोठामा प्रविधिको प्रयोग गरेर अध्यापन गराउन सूचना, सञ्चार तथा प्रविधि सम्बन्धी शिक्षकलाई तालिम दिइएको रोटरी क्लबका अध्यक्ष कृतिनाथ श्रेष्ठले बताए।    “पछिल्लो समय सबैजसो विद्यालयमा कम्प्युटर पढाइ हुन थालेको छ, सरकारी तथा विभिन्न निकायबाट कम्प्युटरलगायतका विभिन्न प्रविधियुक्त उपकरण प्राप्त भएका छन्, तर ती उपकरण शिक्षकले प्रयोग गर्न नजान्दा प्रयोगमा नआएको अवस्था रहेको छ, प्रविधिमा सामुदायिक विद्यालयका शिक्षकलाई दक्ष बनाउन प्रविधि सम्बन्धी ज्ञान सीप दिइएको छ”, उनले भने ।   रामपुरका नगर प्रमुख रमणबहादुर थापाले वर्तमान समय सूचना प्रविधिको युग भएको बताउँदै विद्यालयमा आइसिटीको महत्त्वपूर्ण भूमिका रहेको बताए ।   रामपुर नगरले विद्यालयलाई प्रविधिमैत्री बनाउन पहल गर्दै आएको उनी बताउँछन् ।   कतिपय विद्यालयमा रहेका सूचना तथा प्रविधिसम्बन्धी उपकरण सीपको अभावमा प्रयोगविहीन भइरहेको अवस्थामा तालिमले प्रविधिको सदुपयोगका लागि महत्त्वपूर्ण सहयोग गर्ने नगर प्रमुख थापाले बताए ।    क्लबले आगामी दिनमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइसम्बन्धी कार्यक्रम सञ्चालनका लागि पहल गरिरहेको जनाएको छ ।   रोटरी नेपाल लिट्रेसी मिसन, रामपुर नगरपालिका र रामतुलसी माध्यमिक विद्यालयको सहयोगमा तालिम दिइएको छ ।

काठमाडौँ:  राष्ट्रिय समाचार समिति (रासस)ले वार्षिकोत्सवका अवसरमा ‘राससको फोटो किताब: गणतन्त्रको १६ वर्ष’ पुस्तक प्रकाशन गरेको छ ।   राससको ६४ औँ वार्षिकोत्सव मूल समारोहका अवसरमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त पुस्तक सार्वजनिक गर्नुभयो ।   राज्य र सरकारको कामलाई प्रचारप्रसार गर्ने उद्देश्यले राससले गणतन्त्र दिवस २०८० को सन्दर्भमा ‘हाम्रो संस्कृति: हाम्रो सम्पदा’ र गणतन्त्र दिवस–२०८१ को सन्दर्भमा ‘गणतन्त्रको उपलब्धि:  समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो ।   उक्त प्रदर्शनीमा राखिएका तस्बिरलाई सङ्ग्रह गरेर ‘रासस फोटो किताब: गणतन्त्रका १६ वर्ष’ पुस्तक प्रकाशन गरेको राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बताउनुभयो ।   यो फोटो किताबले नेपालमा विकास तथा कुनै काम भएन भनेर स्थापित गर्न खोजिएको गलत भाष्यलाई चिर्न सहयोग पुग्ने विश्वास लिएको कार्यकारी अध्यक्ष झाले बताउनुभयो ।   सरकारले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछिका १६ वर्षमा राजनीतिक स्थायित्वसँगै, सीमित स्रोत, साधन र प्रविधिका बीच नागरिकका आशा तथा अपेक्षालाई अधिकतम सम्बोधन गर्न प्रयत्न गरिरहेका छन् ।   यसबीचमा गठन भएका सङ्घ, प्रदेश र स्थानीय सरकारले सडक, पुल, जलविद्युत्, सञ्चारजस्ता पूर्वाधारको विकासलाई तीव्रता दिएका छन् । संविधानले परिलक्षित गरेको समतामूलक समाज निर्माणका लागि देखिने गरी काम भइरहेका छन् ।   यो वस्तुतथ्यलाई नजरअन्दाज गरेर देशमा केही भएन भन्नेजस्तो गरी नकारात्मक भाष्य सिर्जना गरी राजनीतिक तहमा प्राप्त सबै उपलब्धिलाई नकार्ने र जनतालाई दिग्भ्रमित तुल्याउने कार्यलाई थोरै भए पनि चिर्न यो फोटो किताबले सहयोग गर्ने कार्यकारी अध्यक्ष झाले बताउनुभयो ।   मुलुकमा भएको विकास र प्रगतिका विषयमा नागरिकलाई सही र सत्य कुराको जानकारी गराउनु पनि राष्ट्रिय समाचार समिति (रासस) जस्तो राज्यको समाचार एजेन्सीको मुख्य दायित्व भएको उहाँको भनाइ छ ।   पुस्तकमा राससकर्मीहरूले कैद गरेर राससको बुलेटिनमा प्रकाशित भएका तस्बिर र अतिआवश्यक तर रासससँग नभएका केही तस्बिरलाई सौजन्यका रूपमा सङ्ग्रह गरिएको राससका महाप्रबन्धक एवं पुस्तक प्रकाशन उपसमितिका संयोजक सिद्धराज राईले बताउनुभयो ।   “सकेसम्म महत्त्वपूर्ण तस्विरलाई समेट्ने प्रयास गरेका छौँ, यो पुस्तक एक प्रस्थानविन्दु मात्र हो”, उहाँले भन्नुभयो ।   पुस्तक सामूहिक प्रयासबाट गरिएको रचनात्मक कामको एक ठोस उपलब्धि भएको उहाँले बताउनुभयो ।

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ७५ औं प्रजातन्त्र दिवसको अवसरमा गण्डकी प्रदेशबासीका साथै सम्पूर्ण नेपालमा शुभकामना व्यक्त गरेका छन् ।   नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका संघर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं आन्दोलनहरूलाई पथप्रदर्शन गरेका अग्रजहरूप्रति हार्दिक सम्मान एवम् श्रद्धा प्रकट गरेका छन् ।   एक शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अंकित रहेको उल्लेख गरेका छन् ।   शुभकामना सन्देशमा उल्लेख छ – ‘सात दशक लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्वपूर्ण जग वि.सं २००७ सालको क्रान्ति थियो भन्ने हामीले सधैं स्मरण गर्नुपर्नेछ । जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुन सक्दछ ।’   यस दिनले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई लोकतान्त्रिक मूल्य, मान्यताहरू अवलम्वन गर्दै जनअपेक्षा पूरा गर्ने दिशामा अघि बढ्न प्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै उनले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना पनि गरेका छन् ।  

पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा बलुनमा हाइड्राजन ग्यास भर्ने भारतीय नागरिक पक्राउ परेका छन्।   वडा प्रहरी कार्यालय बैदामले ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।   गत फागुन ३ गते भ्रमण वर्ष उद्घाटन क्रममा हाइड्रोजन भरिएको बलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट उडेको आगोको झिल्कोले बलुन बिस्फोट भएको थियो।   सोही दिन कमलेसलाई पक्राउ गरेको प्रहरीले बताएको छ।   हाइड्रोजन भरिएको बलुन बिस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए।   कीर्तिपुर अस्पतालमा उपचार गरेर अर्थमन्त्री पौडेल सोमबार डिस्चार्ज भएका छन् भने पोखराका मेयर आचार्य अझै केही दिन अस्पतालमै बसेर उपचार गर्नुपर्ने चिकित्सकहरूले बताएका छन्।   हाइड्रोजन बलुनमा भरेर भ्रमण वर्षको उद्घाटन गर्न मञ्चमा पुर्‍याएको विषयमा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएकाे छ ।   उक्त घटनामा संलग्न ठानिएका केही व्यक्तिसँग प्रहरीले बयान लिइसकेको छ।

काठमाडौँ:   आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।   प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने कार्यक्रम छ ।   कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गर्नुभएका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ । प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ ।   सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।   नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।   प्रजातन्त्र दिवसकै उपलक्ष्यमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई सङ्घर्ष र सहिदको बलिदानबाट स्थापित भएको स्मरण गराउनुभएको छ ।

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।       राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज शुभकामना दिँदै उहाँले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको बताउनुभएको छ ।        “मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित छ”, राष्ट्रपति पौडेलले शुभकामनामा भन्नुभएको छ, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो । विसं २००७ को क्रान्तिको जगमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएका हौँ ।”        राष्ट्रपति पौडेलले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभएको छ ।  उहाँले भन्नुभएको छ, “लोकतान्त्रिक निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनोट भई अहिले संविधानतः तीनै तहका सरकारहरू बनेका छन् । यी निश्चिय नै हाम्रा लागि धेरै ठूला र ऐतिहासिक उपलब्धि हुन् । यिनै उपलब्धिको जगमा हाम्रो भविष्यको सुखद् यात्रा प्रारम्भ भएको छ भन्ने मैले विश्वास लिएको छु ।”        राष्ट्रपति पौडेलले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनलाई पथप्रदर्शन गर्नुहुने सम्पूर्ण अग्रजप्रति पनि सम्मान एवं श्रद्धा प्रकट गर्नुभएको छ ।        राष्ट्रपतिले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवं मान्यता कार्यान्वयन गर्न प्रेरणा मिल्ने अपेक्षा गर्नुभएको छ ।  उहाँले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि  भएका विभिन्न आन्दोलनमा योगदान गर्ने सबैप्रति सम्मान प्रकट गर्दै राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना गर्नुभएको छ ।        विसं २००७ को क्रान्ति सफल भएर निरङ्कुशताविरूद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदैछ ।

काठमाडौं: अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)द्वारा नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालका कार्यक्रम स्थगन गर्ने जानकारी गराएको छ ।  अर्थ मन्त्रालयद्वारा आज जारी ‘प्रेस रिलिज’ मार्फत तीन महिनाका लागि एमसीए नेपाल कार्यक्रम स्थगित भएको औपचारिक जानकारी दिइएको हो । रिलिजमा भनिएको छ, “अमेरिकी सहायता संस्था एमसीसीले फागुन २ मा पठाएको इमेलमा नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्टअन्तर्गत कार्यन्वयन भइरहेका आयोजनासँग सम्बन्धित एमसीसी कोषबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको २० जनवरी २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालालाई जानकारी गराइन्छ ।”

काठमाडौं:  हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहेको  बताएको छ । साथै तराईका केही भागमा हुस्सु लागेको छ । महाशखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा  रहने छ भने उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा  हल्का हिमपातको सम्भावना  छ ।  त्यसैगरी, राति सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली  रहने छ भने उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  आगामी २४ घण्टामा देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा  बिहीबार बिहान तराईका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट  दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

काठमाडौं:  आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने कार्यक्रम छ । कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा  जीवन उत्सर्ग गर्नुभएका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ । प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।  नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ । प्रजातन्त्र दिवसकै उपलक्ष्यमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई सङ्घर्ष र सहिदको बलिदानबाट स्थापित भएको स्मरण गराउनुभएको छ ।