पोखरा:  पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे युवा समिति र आधिखोला न्यु दिल्ली उपाधिका लागि भिड्ने भएका छन् ।  पोखरा–३ नदिप...

काठमाडौं:    स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा रु ५०० र चाँदीमा रु १० ले वृद्धि भएको छ ।  बुधबार रु एक लाख ७० हजार ५०० मा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति रु एक लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  यसैगरी, बुधबार रु एक हजार ९८५ मा कारोबार भएको सोही परिमाणको चाँदीको मोल रु एक हजार ९९५ कायम भएको छ । 

काठमाडौं:  नेपाल प्रेस युनियनले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिन सरकारसँग माग गरेको छ ।      युनियन केन्द्रीय समितिको आयोजनामा काठमाडौँमा यही फागुन ५ गते आयोजित प्रदेश अध्यक्ष र ६–७ गते शाखा अध्यक्षको राष्ट्रिय सम्मेलनले १२ बुँदे घोषणापत्र जारी गर्दै यस्तो माग गरेको हो ।  ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ मा व्यवस्था भएका केही विषयमा युनियनको गम्भीर असहमति रहेको युनियनले सम्मेलन समापनपछि जारी घोषणापत्रमा उल्लेख छ ।       विधेयकमा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’मा असर पार्ने गरी राखिएका प्रावधान सरोकार भएकाहरूसँग छलफल तथा परामर्श गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चितताका लागि फिर्ता लिन माग गरिएको हो ।      सम्मेलनले नेपाल प्रेस युनियनका साङ्गठनिक गतिविधि, श्रमजीवी पत्रकार र पत्रकारिताका मुद्दा, पत्रकारको पेसागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, प्रविधिको विकासले सञ्चारक्षेत्रमा थपेका चुनौती, सञ्चारसँग सम्बन्धित ऐन, कानुन, सञ्चारमाध्यमका समस्यालगायत विषयमा घनिभूत छलफल गरी १२ बुँदे घोषणापत्र सार्वजनिक गरिएको जनाएको छ ।       सम्मेलनमा महासचिव दिलीप पौडेलद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष तथा अनुशासन विभाग संयोजक प्रेम केसीद्वारा प्रस्तुत अनुशासन समितिको प्रतिवेदन पारित गरिएको छ । सम्मेलनले दिएको सुझावका आधारमा केन्द्रीय समितिले तयार गर्ने कार्ययोजना पूर्ण रूपमा कार्यान्वयन गर्ने घोषणा पनि युनियनले गरेको छ ।        सदस्यतालाई थप व्यवस्थित गर्दै युनियनको विधानमा भएको व्यवस्थाअनुसार क्रियाशील पत्रकारलाई समावेश गरेर सदस्यता शुद्धीकरण अभियान सञ्चालन गर्ने र प्रदेश तथा शाखाहरूले वैशाख मसान्तभित्र साधारणसभा सम्पन्न गर्ने पनि घोषणा गरिएको छ ।      श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिक कार्यान्वयन, नियमित पारिश्रमिक भुक्तानी, पत्रकारको पेसागत, भौतिक, आर्थिक, सामाजिक सुरक्षालगायत विषयमा सरकार तथा सञ्चार प्रतिष्ठानको ध्यानाकर्षण गराउँदै आवश्यकताअनुसार युनियनका सबै संरचनाले दबाबमूलक अभियान अघि बढाउने पनि घोषणा गरिएको छ ।      प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुने गरी विभिन्न तहका सरकारले निर्माण गरेका कानुन तथा निर्देशिकाबारे ध्यानाकर्षण भएको जनाउँदै संविधानप्रदत्त अधिकार सुनिश्चित हुने गरी सञ्चारसँग सम्बन्धित नीति, नियम, ऐन, कानुन, नियमावली बनाउन तीनै तहका सरकारसँग युनियनले जोडदार माग गरेको छ ।      “मुलुकको अर्थतन्त्रमा देखिएका समस्याको प्रभाव विज्ञापन बजारमा परेकाले छापा, टेलिभिजन, रेडियो सञ्चारमाध्यम बन्द हुने क्रममा छन् । अनलाइन सञ्चारमाध्यम खोल्ने क्रमले व्यापकता पाएको अवस्थामा समानुपातिक विज्ञापन वितरण प्रणालीलाई व्यवस्थित बनाउँदै अनलाइन सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापनमा समावेश गरी विज्ञापनको रकम वृद्धि गर्न प्रदेश एवं शाखा अध्यक्षको सम्मेलन आग्रह गर्दछ”, जारी घोषणापत्रमा भनिएको छ ।      व्यावसायिक पत्रकारिता, पत्रकारको पेसागत सुरक्षा, पत्रकारको क्षमता विकासलगायत विषयमा केन्द्रीय समितिले घोषणा गरेको ‘पत्रकारसँग प्रेस युनियन’ अभियानलाई प्रभावकारी बनाउन क्षमता विकास, पत्रकारिताको विधागत प्रशिक्षण, पत्रकार दुःखसुखमा साथ दिने कार्यक्रम, बिमा, सामाजिक सुरक्षा, प्रोत्साहन तथा लेखनवृत्तिलगायत कार्यक्रम सबै शाखा र प्रदेश समितिले कार्यान्वयन गर्ने प्रतिवद्धता सम्मेलनले व्यक्त गरेको छ ।      प्रेस युनियनको विधान २०४८ (छैटौँ संशोधन–२०७९) लाई समयानुकूल र व्यावहारिक बनाउन विधान संशोधन प्रक्रिया अघि बढाइने जनाइएको छ ।      चैतमा ‘लोमन्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’ आयोजना गरिने         नेपालको पत्रकारिताका मुद्दालाई अन्तरराष्ट्रियकरण गर्दै अन्तरराष्ट्रिय अभ्यासलाई नेपालमा अनुसरण गर्ने वातावरण सिर्जना गर्न युनियनले चैत अन्तिम साता ‘लोमन्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’ आयोजना गर्ने भएको छ । सम्मेलनले सो समिट भव्य रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।      नेपाल पत्रकार महासङ्घको सदस्यताबाट छुटेका र छुटाइएका पत्रकारको सदस्यता कायम राख्ने प्रक्रिया तत्काल थाल्न युनियनले महासङ्घलाई आग्रह गरेको छ ।  नेपालको नामकरणको इतिहास जोडिएको नेमुनि ऋषिको तपस्यास्थल बज्रयोगिनी, स्वस्थानी व्रतकथामा उल्लेख भएको शालीनदी, माधवनारायण तथा साँखु क्षेत्रका मणिचुड, पञ्चमहालक्ष्मी, नारायणीश्वर, कुण्डेश्वरलगायत धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्र तथा आलु र धान प्रमुख बाली रहेको यस क्षेत्रमा कृषि पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न आमसञ्चारमार्फत जोड दिने र यस क्षेत्रका पूर्वाधार विकासका लागि पनि युनियनले सरकारको ध्यानाकर्षण गराएको छ ।      प्रेस युनियनको प्रदेश तथा शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन सम्पन्न गर्न प्रेस युनियन काठमाडौँ, ललितपुर, भक्तपुर, साँखु शाखासहित प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति केन्द्रीय समितिले आभार तथा धन्यवाद ज्ञापन गरेको छ ।

पोखरा:  नेकपा (एमाले) कास्की जिल्ला कमिटीले तीन महिने ‘जरा अभियान’ अन्तर्गत भोलि (शुक्रबार) जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रमको आयोजना गर्ने भएको छ ।   आगामी चैतसम्म सञ्चालन हुने यस ‘जरा अभियान’ले स्थानीय तहमा पार्टी तथा जनवर्गीय संगठनलाई मदबुद बनाउने उद्देश्यसहित अभियान थालिएको हो ।   पोखरा सभागृहमा हुने कास्की जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, खगराज अधिकारी तथा स्थायी कमिटी सदस्य किरण गुरुङ लगायतको उपस्थिति रहने कास्कीका सचिव दर्शन लामाले जानकारी दिए ।   उनका अनुसार कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ ।    गुटबन्दीको अन्त्य  गर्नका लागि जरा अभियानले महत्वपूर्ण योगदान दिने उनको विश्वास छ ।    ‘जरा अभियान’को उद्देश्य पार्टीको संगठनात्मक संरचनालाई बलियो बनाउने त हो नै र पार्टीको सकरात्मक र रचनात्मक काम जनतासामु पेश गर्नेछ, उनले भने, ‘यतिमात्र नभएर यो अभियानले पार्टीभित्रको गुट उपगुटको प्रथालाई सदाका अन्त्य पनि गर्नेछ ।’    उक्त अभियानले कास्की जिल्लाका सबै तहका कमिटीलाई एकजुट गरेर जनसंगठनको विस्तार र पार्टी सदस्यता बढाउने, जनप्रतिनिधिहरूसँगको समन्वयलाई सुधार्ने, पार्टीका गतिविधिहरू र योजनाहरूलाई जनतासम्म पुर्याउने र जनप्रतिनिधिहरूसँगको सहकार्यलाई बढाउदै लैजाने, जनसंगठनहरूको सक्रियता बढाउने लक्ष्य लिएको छ ।

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिका –१० र ११ स्थित घान्द्रुकमा आजदेखि घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ ।   घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुकको आयोजनामा आज देखि सुरु भएको घान्द्रुक पर्यटन महोत्सव फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।  घान्द्रुक पर्यटन महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गरे ।  महोत्सवको उद्घाटनपछि बोल्दै गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले अन्नपूर्ण गाउँपालिकाको समृद्धको आधार कृषि, पर्यटन, उर्जा र पूर्वाधार भएको बताए ।    ‘हामीले घोषणा गरेका छौं अन्नपूर्ण गाउँपालिकाको समृद्धको आधार कृषि, पर्यटन, उर्जा र पूर्वाधार हो, यी चार वटा आधार मध्ये महत्वपूर्ण पर्यटन हो, अध्यक्ष केसीले भने, ‘पर्यटनबाट गाउँपालिकाले समृद्ध हासिल गर्न सक्दछ, त्यसैले हामीले धेरै भन्दा धेरै पर्यटक भित्राउन आवश्यक छ ।’ अध्यक्ष केसीले घान्द्रुक आउने सडक सहज बन्दै गएकाले पर्यटकलाई आकर्षण गर्नका निम्ति घान्द्रुकको मौलिकता जोगाउन आवश्यक रहेको बताए ।  ‘हिजो हाम्रो अर्गानिक गाउँ सबैले हेर्न आउने गाउँ आज कहिकहि बिग्रे जस्तो देखिन्छ, मेरो आग्रह छ संरचना जसरी बनाएपनि त्यसलाई फेरी मौलिकतामा ढालौं, धालौं  हिजो हाम्रा जे परम्परा थिए, जे हेर्न आउथे त्यसलाई फेरी रुपान्तरण गरौं, भएकालाई राम्रो गरौं, घान्द्रुक अरु गाउँभन्दा भिन्न गाउँ हो’, उनले भने, ‘अब घान्द्रुक आउने सडक बन्दै छ, कलाभिरको अप्ठ्यारो बाटो बन्दै छ, पर्यटक घान्द्रुक आउन कुनै समस्या छैन्, आएका पर्यटकलाई बस्ने, घुम्ने वातावरण बनाउने हो सोच्न पर्ने छ,हिजोको घान्द्रुक भन्दा आजको घान्द्रुक भिन्न छ गुनासो छ, त्यसैले घान्द्रुकको मौलिकता जोगाउने गरी संरचना बनाउन आवश्यक ।’ उनले घान्द्रुक पर्यटन क्षेत्र भएकाले यसको विकास गर्ने गाउँपालिकाको कर्तव्य भएको समेत बताए । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखराका प्रमुख डा. रविन कडरियाले घान्द्रुकबाट एबिसी, पुनहिल घोडेपानी लगायतका पदमार्गसँग जोडिएकाले घान्द्रुक पर्यटकको हवको रुपमा अगाडि बढेको बताए ।  ‘ घान्द्रुकबाट अन्नपूर्ण बेस क्यापसम्मको, घोडेपानी जाने, मुल्डे जाने र मुल्डेबाट छोम्रोङ जाने नयाँ पर्यटन पदमार्गसँग जोडिएको त्यस्तै गरी मर्दी हिमाल जाने बाटाहरु भएका हिसाबले घान्द्रुक पर्यटनको हबको रुपमा अगाडि बढिरहेको देख्छु, कडरियाले भने,‘घान्द्रुक आउने पर्यटक संस्कृति र प्रकृतिसँग रमाउने भएकाले घान्द्रुकबासीहरुले आफ्नो संस्कृति जोगिने गरी संरचना बनाउन आवश्यक छ ।’ महोत्सवको उद्घाटन समारोहमा घान्द्रुक कल्चर रिसोर्टका सञ्चालक कुलप्रसाद गुरुङलाई सम्मान गरिएको थियो ।  घान्द्रुक पर्यटन महोत्सवका संयोजक अमृत लामा गुरुङले भोलिदेखि खुल्ला क्लबस्तरीय पुरुष भलिबल र बास्केटबल प्रतियोगिता सुरु हुने बताए ।  उनका अनुसार क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र  उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  यस्तै महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको बिजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै महोत्सवमा आयोजित घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन् । महोत्सवको पत्येक साँझ सास्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको आयोजकले जनाएको छ ।  कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्दु्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको  ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । महोत्सव अवधिभर पर्यटकलाई २० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ ।  पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङसडकखण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ ।  घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।         

काठमाडौंको कीर्तिपुरमा १९ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा बझाङको सुर्मा गाउँपालिका–२ घर भइ कीर्तिपुर नगरपालिका–३ पाँगादोबाटो बस्ने २५ वर्षीय सुयोग बोहोरा छन् ।   उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।   प्रहरीले उनीमाथि बलात्कारको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

धवलागिरि गाउँपालिका–४ खाम्लामा ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण सुरु गरिएको छ ।   म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो ।   गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बुधबार बाँधको ढलान गर्ने कार्यको शुभारम्भ गरे । गाउँपालिका अध्यक्ष पुन, पूर्वअध्यक्ष थमसरा पुन, धवलागिरि–४ का वडाध्यक्ष यामप्रसाद घर्तिमगरलगायत जनप्रतिनिधि र स्थानीय अगुवाको उपस्थितिमा बाँध निर्माण कार्यको शुभारम्भ गरिएको हो ।   जग्गा व्यवस्थापनको काम सकेर म्याग्दी नदीको दायाँतर्फ ढलान गरेर औपचारिक रूपमा बाँधको पक्की संरचना निर्माण सुरु गरिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए ।   बाँध निर्माणस्थलनजिकै १०० मिटर लामो र १५ मिटर अग्ला तीनवटा पानी थिग्राउने पोखरी निर्माण गर्न जग्गा व्यवस्थापन भइरहेको छ ।   ‘विसं २०८० चैत १९ मा सम्झौता र २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्याक्टरले पहाड काटेर बाँध निर्माणस्थल तयार पारिसकेको छ,’ उनले भने, ‘विसं २०८३ फागुन २१ गते विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बाँधसँगै सुरुङ र विद्युतगृह निर्माणको कामलाई तिव्रता दिएका छौं ।’   विसं २०८१ भदौ १२ गतेदेखि धवलागिरि–४ छहरीमा सुरु भएको १९८ दशमलव ९० मिटर लामो अडिट नम्बर २ को सुरुङ खनेर थप ५३० मिटर मुख्य सुरुङ निर्माण भइसकेको आयोजनाका प्रबन्ध निर्देशक लक्ष्मण न्यौपानेले बताए । पाँच किलोमिटर ७०० मिटर सुरुङमध्ये केही दिनमा बाँध र मालिका गाउँपालिका–७ भारवाङको आउटलेट तर्फबाट पनि खन्न सुरु गर्ने तयारी गरिएको उनले बताए ।   ‘रन अफ द रिभर’ प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युतगृहको उचाइ १९६ मिटर रहेको छ । आउटलेटबाट पानीलाई विद्युतगृहमा खसाल्न ६९२ मिटर पेनस्टक पाइप जडान गरिने भएको छ ।   सानीमा बैंकको नेतृत्वमा ६ वटा बैङ्कको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत जुटाइने ११ अर्ब २३ करोड २७ लाख ६ हजार रुपैयाँको लागतमा निर्माण हुने आयोजनाको विद्युतगृह मालिका–७ भारवाङमा रहनेछ । भारवाङदेखि एक दशमलव पाँच किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन बनाएर नेपाल विद्युत् प्राधिकरणले मालिका–७ डाँडाखेतमा निर्माण गरिरहेको १३२ केभी क्षमताको सवस्टेशनमा यस आयोजनाबाट वार्षिक औसत ३१५ दशमलव शुन्य एक गिगावाट घण्टा विद्युत् केन्द्रीय लाइनमा जोडिनेछ ।   बाँध निर्माणस्थलनजिकै १०० मिटर लामो र १५ मिटर अग्ला तीनवटा पानी थिग्राउने पोखरी निर्माण गर्न जग्गा व्यवस्थापन भइरहेको छ । हालसम्म १६ दशमलव पाँच प्रतिशत भौतिक प्रगति भएको छ ।   ऊर्जा इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सोलुुसन प्रालि परामर्शदाता रहेको यस आयोजनाको मेकानिकल र इलेक्ट्रो मेकानिकल ठेकेदार छनोटको प्रक्रियामा रहेको छ । अपर म्याग्दी–१ को प्रवद्र्धक कम्पनी उर्जा डेभलपर्स प्रालिमा आबद्ध छ ।   भारवाङदेखि बाँध निर्माण स्थलसम्म नौ किलोमिटर पहुँचमार्ग निर्माण गरिसकेको आयोजनाले सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि विनियोजन गरेको ६ करोड २० लाख रुपैयाँ बजेटबाट प्रभावित क्षेत्रमा सडक निर्माण, शिक्षा, स्वास्थ्य, मठमन्दिरका लागि हालसम्म एक करोड नौ लाख १५ हजार सहयोग गरेको जनाएको छ ।

बागलुङ नगरपालिका-९ स्थित ‘ब्लु हिल’ नगरपालिकाको गौरवको योजनाका रूपमा रहेको छ ।   आँखैअघि देखिने दुई दर्जन हिमशृङ्खला र बागलुङ बजारले ब्लुहिललाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण थालिएको हो ।   करिब रु ३४ करोड लागतमा पूर्वाधार बनाउने लक्ष्य रहेको ‘ब्लु हिल’ पहिलो चरणमा रु ७० लाख र दोस्रो चरणमा रु साढे दुई करोड गरी रु तीन करोड २० लाखको पूर्वाधार निर्माण गत वर्षदेखि सुरु भएको हो ।    उक्त पहाडलाई ब्लु हिलका रूपमा परिणत गर्न गत वर्ष मात्रै रु ७० लाखको पूर्वाधार निर्माण भइसकेको र यस वर्ष रु साढे दुई करोडको पूर्वाधारसहित शिवमूर्ति निर्माण गर्न ठेक्का आह्वान गरिएको नगर कार्यालयले जनाएको छ ।   पर्यटकीय गन्तव्य बनाउन पालिकाले गत वर्षदेखि गौरवको योजनाका रूपमा डोयको पहाडलाई ब्लु हिल नामकरण गरेर पूर्वाधार निर्माण गर्न रु २४ करोड ५६ लाख २२ हजारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाइएको थियो ।   मनोरम प्राकृतिक सौन्दर्यता भएको डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेको बागलुङ–९ का वडाध्यक्ष राजु थापाले बताए । “नगरकै ठूलो लगानीमा पूर्वाधार निर्माण थालिएको छ, हामीले पहाडमाथि शिवमूर्ति बनाएर धार्मिक र प्रकृति प्रेमी पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ । यहाँ सडक स्तरोन्नति आवश्यक छ”, उनले भने, “पर्यटकीय गन्तव्य बनेपछि अन्य पूर्वाधारले प्राथमिकता पाउने छन् ।”   गत वर्ष जग्गा सम्माउने, जग निर्माण गर्नेलगायत पूर्वाधार निर्माण गरेको बागलुङ नगरपालिकाले यस वर्ष भवनमाथि विशाल शिवमूर्ति निर्माण गर्ने योजनासहित बोलपत्र आह्वान गरेको वडाध्यक्ष थापाले जानकारी दिए। उनका अनुसार ब्लु हिल क्षेत्रमा वनभोजस्थल, ध्यान केन्द्र, दृश्य अवलोकनस्थल, शौचालय, जिम हल, मन्दिर, पार्किङलगायत अतिरिक्त पूर्वाधार निर्माण गरिनेछ ।    दृश्यावलोकनका लागि ब्लु हिलमा आन्तरिक पर्यटक पुर्‍याउन नगरपालिकाको ठूलो बजेट लगानी गरिरहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरले गत वर्ष यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन रु ७० लाख बजेट विनियोजन गरी उक्त बजेटबाट चक्लाबन्दी गर्ने र जग्गा संरक्षण गर्ने काम सम्पन्न गरिसकेको छ । यस वर्ष बहुउद्देश्यीय भवन निर्माण र मूर्ति बनाउन ठेक्कामा दिने तयारी थालिएको नगरप्रमुख श्रेष्ठले उल्लेख गरे ।     “नगरपालिकाभित्रको पर्यटकीय सम्भावना बोकेको डोय वातावरणीय हिसाबले हरियाली छ । आँखै अगाडि हिमाल र बागलुङ बजार देखिन्छ, प्रकृति र धर्मलाई सँगै जोडेर पर्यटक भित्र्याउने गरी गत वर्ष शिलान्यास गरेको ठाउँमा यस वर्ष रु साढे दुई करोडको पूर्वाधार निर्माण हुनेछन्”, नगरप्रमुख श्रेष्ठले भने, “ब्लु हिल स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गरी नामकरण गरेका छौँ, मौसम खुलेको समयमा यहाँबाट हरियाली पहाडबाट धौलागिरि, माछापुच्छ्रे, नीलगिरि अन्नपूर्णलगायत दुई दर्जन हिमाल देख्न सकिन्छ ।”   समुद्री सतहबाट करिब दुई हजार दुई सय मिटरको उचाइमा पर्यटकीय पूर्वाधार निर्माण गर्न थालिएको छ ।   डिपिआरअनुसार योजनाले पूर्णता पाउन आठ वर्ष लाग्नेछ । ब्लु हिलबाट धौलागिरि, माछापुच्छ्रे, नीलगिरि अन्नपूर्णसहितका दर्जन हिमाल देख्न सकिन्छ ।  

पोखरा रंगशालामाको प्रशिक्षण मैदानमा आयोजना हुने भनिएको विराट चक्र विज्ञान कार्यक्रम तत्कालका लागि रोकिएको छ ।   आयोजकले विज्ञप्ती जारी गर्दै मौसम र प्राविधिक कारणले स्थगित गरिएको जनाएको हो ।    यद्यपी खेलकुद मैदानमा कार्यक्रम गर्न लागिएको भन्दै यसअघि विरोध भएको थियो ।   गण्डकी स्वाजागरको फागुन ११ गतेदेखि १७ गतेसम्म आयोजना हुने भनिएको उक्त कार्यक्रम तत्कालका लागि स्थगित गरिएको आयोजकले उल्लेख गरेको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि बढ्ने बताएका छन् ।   राष्ट्रिय प्रजातन्त्र दिवस–२०८१ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको स्पष्ट पारे ।    ‘लोकतन्त्रको उज्यालोकै कारण आज डिजिटल माध्यमबाट नागरिकलाई शीघ्र सार्वजनिक सेवाको थालनी गर्न सकेका हौँ, जसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाउन सुरु गरेको छ’, प्रधानमन्त्रीले भने, ‘सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्ने अभियानमा हामी हाम्रा हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गरिरहेका छौँ । यसबाटै हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सफल हुनेछौँ ।’   प्रधानमन्त्री ओलीले सन् २०२६ सम्ममा नेपाललाई अतिकम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति गर्ने र त्यसको दिगो व्यवस्थापनका लागि आर्थिक सूचकहरुको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र नै भएको बताए।   लोकतन्त्रको खुला मैदानमा नै जनताको जीवनमा प्रगति भएको जनाउँदै उनले बढ्दो जनआकांक्षा र चुनौतीबीच, राज्यको संस्थागत र सामथ्र्यबीच लय मिलाएर संगतिपूर्ण ढंगले अगाडि बढिरहेको बताए।    प्रधानमन्त्रीले भने, ‘हाम्रो युवा पुस्ता देशको भविष्य हो। उनीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन र स्टार्टअपमार्फत उद्यमशीलताको थालनी गरिएको छ ।’   उनले मुलुकको सुशासन, विकास, समृद्धि र जनताको सुखको सुनिश्चितताको लागि प्रभावकारी शासन प्रणाली र सुव्यवस्थाको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न सम्पूर्णमा आह्वान गरेका छन्।    ‘राष्ट्रको समृद्धि र जनताको सुख’लाई आफूले ‘परिपूर्ण लोकतन्त्र’ भन्दै आएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्रले ‘संगठन र अभिव्यक्तिको स्वतन्त्रता’को मात्र वकालत गरेको अवस्थामा परिपूर्ण लोकतन्त्रले सबैलाई ‘अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मान’मा समान पहुँचको पैरवी गरेको बताए ।   उनले सरकार समग्र विकासमार्फत व्यक्तिको मानवीय र जैविक न्यायोचित आवश्यकताको सहज परिपूर्ति गर्ने दिशातर्फ इमान्दारीपूर्वक हिँडिरहेको बताए।   फागुन ७ ले मुलुकलाई सबै हिसाबले स्वतन्त्र र सार्वभौम बनाउने दृढ संघर्ष अघि बढाएको जनाउँदै प्रधानमन्त्री ओलीले भविष्यका रुपमा उदाउँदै गरेका भोलिको पुस्ताले आजको दिनलाई बिर्सनै नमिल्ने बताए।   ‘प्रजातन्त्रको उज्यालोमा हुर्किएको, अत्याधुनिक सूचना प्रविधिमार्फत अनलाइन सेवा लिने बानी परिसकेको आजको पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता– अनुभव होइन, कथा मात्र हो’, उनले भने, ‘पुस्तान्तरको समयचापले कहिलेकाहीँ न्यानो दिनमा रहेका बेला समाजले त्यस कालरात्रीको क्रूरतम् स्मृतिलाई गुमाउन पुग्छ र भन्छ– ‘प्रजातन्त्रले के गरेको छ ?, त्यसले त अझै राणाकालका दरवारहरुबाट निर्वाह गरिरहेको छ’ ।”