काठमाडौं: गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । मङ्गलबार अपराह्न बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको जानकारी बोर्डका सहसचिव एवम् प्रवक्ता जङ्गबहादुर अर्यालले दिनुभयो । बैठकपछि पत्रकार सम्मेलन गरी बोर्डले नतिजा सार्वजनिक गरेको हो । कक्षा १२ मा ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अनुसार नियमिततर्फ कुल तीन लाख ७२ हजार ६३७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । ५१ जनाको परीक्षा रद्द गरिएको जानकारी बोर्डका प्रवक्ता अर्यालले दिनुभयो । कुल एक लाख ८९ हजार ७१ विद्यार्थी उत्तीर्ण भएका छन् । जिपिए ३.६१ देखि ४ ल्याउने विद्यार्थीको सङ्ख्या छ हजार ९७६ छन् । त्यसैगरी, ३.२१ देखि ३.६० सम्म ल्याउने विद्यार्थीको सङ्ख्या ३८ हजार ९९९ छन् । त्यस्तै, २.८१ देखि ३.२० ल्याउने परीक्षार्थीको सङ्ख्या ६९ हजार १७४ छ । यसैगरी, जीपीए २.४१ देखि २.८० ल्याउने विद्यार्थीको सङ्ख्या ६३ हजार ७७ छ भने २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ११ हजार चार सय ३८ रहेको छ । यस्तै, १.६१ देखि २ सम्म जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४७ रहेको छ । यसैगरी, एक लाख ८२ हजार ९२६ जना विद्यार्थीले कुनै ग्रेड प्राप्त गर्न सकेनन् । यसरी हेर्न सकिन्छ नतिजा ? कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट https://www.neb.gov.np/ र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।
काठमाडौं: संसदीय समितिले दलितसम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन दिएको छ । सङ्घीय संसद्, राष्ट्रियसभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिको आज मङ्गलवार बसेको बैठकले दलितसम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय नभएको निष्कर्ष निकाल्दै तत्काल तोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिएको हो । दलितसम्बन्धी विभेद र उत्पीडन हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन दिइएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिनुभयो । त्यसैगरी समितिले दलित समुदायको विभेद र उत्पीडनको अन्त्य गर्नका लागि समितिले तयार पारेको कार्ययोजना कार्यान्वयन गर्न पनि सरकारलाई सचेत गराएको छ । कार्यान्वयन भए, गरेका कामहरूको अनुगमन गरी त्यसको प्रतिवेदन नियमित रूपमा बुझाउन पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिएको समितिले जनाएको छ । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विनोदप्रकाश सिंहले समितिले दिएको निर्देशन पालना गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले दलितलगायतका जातीय विभेद अन्त्यका लागि देशमा विद्यमान कानुन कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । सचिव सिंहले जातीय विभेद अन्त्यका लागि जनप्रतिनिधिको तर्फबाट पनि पहलकदमी लिने काममा कमी रहेको हो कि भन्ने आफूहरूलाई लागेको प्रतिक्रिया पनि दिनुभएको थियो ।
मनाङ: हिमाली जिल्ला मनाङ आउने अवरुद्ध एकमात्र सडक चार दिनमा सञ्चालन भएको छ । सोमबारदेखि मौसममा सुधार आएपछि डुम्रे–बेँसीसहर–चामे सडक सुचारु भएको हो । यहाँको आवतजावत पूर्णरूपमा ठप्प हुँदा मनाङ आउने पर्यटक, मार्गदर्शक (गाइड), कर्मचारी बीचबाटोमै अलपत्रमा परेका थिए । सो सडकखण्डअन्तर्गत लमजुङको बेँसी सहर नगरपालिका-६ खरखरेस्थित सडक भासिएको थियो । सडक खुलेसंगै औषधिलगायतका अत्यावश्यक सामग्री लिएर सवारी साधन मनाङ आएको जिल्ला अस्पताल प्रमुख रहमत अन्सारीले जानकारी दिनुभयो । उहाँका अनुसार मौसमले धेरै प्रभाव पार्ने मनाङमा मनसुनको यात्रा सकस हुन्छ । यसले गर्दा सावधानी अपनाउनुपर्ने भए पनि अत्यावश्यक कामले हिँड्न बाध्य हुनुपर्ने उहाँको भनाइ छ । जिल्लाको स्वास्थ्यसँग जोडिएको व्यक्तिले यहाँका स्थानीय तथा पर्यटकलाई औषधिलगायतका सेवा प्रवाहलाई मध्यनजर गर्नुपर्ने उहाँले बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले जोखिमकै बेलामा पनि दैनिक १४–१५ जनासम्म पर्यटक आउने गरेका जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आन्तरिकजस्ता हुँदैनन्, विदेशी पर्यटक जोखिमलाई आत्मसाथ गर्ने भएकाले पहिराको जोखिम पार गर्दै पर्यटक आउने क्रम जारी रहेको छ ।” अब सिजन पनि सुरु हुने अवस्था भएकाले यहाँ पर्यटक आउन थालेको उहाँले बताउनुभयो । डुम्रे–बेँसी सहर–चामे सडक आयोजना कार्यालयका सब–इन्जिनियर सुमन अधिकारीले काम गर्न सहज हुनासाथ अवरुद्ध सडक खुलाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस सडकमार्फत यात्रा त अझै पनि जोखिम छ, तर हालका लागि सडक सञ्चालनमा ल्याएका छौँ ।”
पोखरा: पोखरा उपत्यकाभित्र सञ्चालन हुने सबै ट्याक्सीहरू मिटरमा चल्ने भएका छन् । पोखरा क्षेत्रभित्र सञ्चालन हुने ट्याक्सीहरू भदौ १ गतेदेखि अनिवार्य मिटरमा चल्नुपर्ने यातायात व्यवस्था कार्यालय कास्कीले जनाएको छ । अनिवार्य रूपमा बिलिङसहितको मिटर जडित ट्याक्सी सञ्चालन गरी मिटर र बिल बमोजिमको भाडा लिने गरी सञ्चालन गर्नुपर्ने यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्ली रिज्यालले जानकारी दिनुभयो । मिटर र बिलमा नचलेको पाइएमा कानुन बमोजिम कारबाही हुने रिज्यालले बताउनुभयो । भाडाकार ट्याक्सीको भाडा सम्बन्धमा गण्डकी प्रदेश सरकारले २०७८ सालमा गरेको भाडा समायोजन अनुसार १५ किमीभित्र यात्रा गर्दा सुरुवाती दुई सय मिटरसम्मको ८० रुपियाँ र त्यसपछि प्रति दुई सय मिटर बराबर १० रुपियाँ कायम गरिएको छ । अनधिकृत रूपमा सञ्चालन भएका एप तथा अन्य तवरले रातो प्लेट (निजी) सवारी साधन प्रयोगमा ल्याई भाडाको रूपमा सञ्चालन गरेको पाइएमा पनि कानन बमोजिम कारबाही हुने कार्यालयले जनाएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले केही दिनअघि आयोजित अन्तरक्रिया कार्यक्रममा ट्याक्सी चालकले पोखरा उपत्यकाभित्र मिटरमा हिँड्ने प्रतिबद्धता जनाएका थिए । विसं २०७८ फागुन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले भाडादर समायोजन गरेपनि पोखराका ट्याक्सी मिटरमा चलेका थिएनन् ।
राजश्व अनुसन्धान विभागको टोलीले काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबमा छापा मारेको छ। कर छली गरेको आशंकामा विभागले एलओडीमा छापा मारेको हो। राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले एलओडीले सरकारलाई तिर्ने गरेको करबारे बुझ्न खोजेको बताए। ‘हामीले उसको करको स्थिति हेर्न खोजेका हौं। अरू कुरा अनुसन्धानकै क्रममा छ,’ उनले भने। त्यसक्रममा केही कागजातहरू पनि नियन्त्रणमा लिएको उनले बताए। विभागको टोली गत शुक्रबार राति एलओडी पुगेको थियो।काठमाडौं उपत्यकाकै चर्चित क्लबमा शुक्रबार र शनिबार राति भीड लाग्ने गर्छ। ग्राहक धेरै आउने गरे पनि सरकारलाई तिर्ने कर भने कम हुनसक्ने आशंका विभागलाई थियो। त्यसकै आधारमा विभागले शुक्रबार राति एउटा टोलीलाई खटाएको थियो। स्रोतका अनुसार विभागको टोली सादा पोशाकमा ग्राहक बनेर राति २ बजे एलओडी पसेको थियो। मध्यराति धेरै ग्राहक हुने भएकाले विभागको टोली २ बजे पसेको थियो। ‘राति १२ बजेदेखि क्लब चलेर बिहान ६ बजेसम्म हुने रहेछ। त्यसैले रातिको २ बजे ग्राहक बनेर गएको थियो,’ स्रोतले भन्यो। टोलीले त्यहाँ आउने ग्राहकको संख्या, क्लबले ग्राहकलाई गर्ने बिल भुक्तानी लगायतका कामहरू नियालेको थियो। एलओडीले त्यहाँ खाएको बिलसमेत नदिने गरेको टोलीले पाएको थियो। अन्दाजी २३ सयभन्दा बढी ग्राहक आउने ठाउँमा बिल पनि भुक्तानी नगर्ने गरेको स्रोतले बतायो। ‘विभागको टोलीले अन्दाजी २३ सय बढी ग्राहकको संख्या गन्यो। खाएको बिल भुक्तानी पनि नगरेको पायो,’ स्रोतले भन्यो, ‘यस्ता गतिविधिहरू रातभर हेरेर मात्रै छापा मारिएको हो।’ ग्राहक कम भइसकेपछि बिहान ५ बजे विभागको टोलीले छापा मारेको हो। त्यसपछि शनिबार मध्याह्न १२ बजेमात्रै फर्किएको थियो। विभागले त्यहाँ रहेको काउन्टरहरू पनि सिल गरेको छ। पैसा राख्ने खुत्रुकेहरू र केही अफिस रहेका कोठा पनि सिल गरेको स्रोतले बतायो। कसैलाई भने नियन्त्रणमा लिएको छैन। यसका सञ्चालकहरूलाई भने विभागले बोलाएर अनुसन्धान गरिरहेको छ। केही समयअघि पनि एलओडीका सञ्चालकहरूलाई प्रहरीले पक्राउ गरेको थियो। नाबालिगलाई क्लब भित्र छिराएको आरोपमा प्रहरीले सञ्चालकहरूलाई पक्राउ गरेको थियो। पछि म्यानेजरसहित केही कर्मचारीलाई पक्राउ गरी सञ्चालकहरूलाई छाडेको थियो।
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । उक्त कार्यालयका अनुसार आज साँझसम्म नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ, प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्नेछ, अन्यथा आजै नतिजा सार्वजनिक गरिनेछ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बोर्डले तयार पारेको तालिकाअनुसार साउन महिनाभित्रै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको र नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बोर्डले साउन भित्रै नतिजा सार्वजनिक गर्ने गरी तालिका तयार पारेको थियो, त्यसैबमोजिम नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारीमा पुगेका छौँ, नतिजा सार्वजनिक गरेपछि विद्यार्थीको मार्कसिटलगायतमा कुनै त्रुटि नहोस् भनेर अन्तिम रुजु गर्ने काम भइरहेको छ ।” देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । बोर्डले विद्यार्थीको प्राप्ताङ्क इन्ट्री र रुजु गर्ने काम गरिसकेको छ । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो । यसरी हेर्न सकिन्छ नतिजा ? कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट https://www.neb.gov.np/ र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।
काठमाण्डौ: मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिने भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिनुभयो । यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ । सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने पनि उहाँले बताउनुभयो । त्यसका लागि केही दिन लाग्नेछ । त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्नेछ। राजस्व अनुसन्धान विभागले गएको ३ गते सिनामङ्गलमा भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो । त्यसपछि सुनसहितको ‘ब्रेक सु’ टक्सार महाशाखामा राखिएको थियो । यो प्रकरणमा अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ ।
त्रिशूली नदीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने दुईवटा झोलुङ्गे पुलमा क्षति पुग्दा विशेष गरी किसान र विद्यार्थीसमस्यामा परेका छन्। किसालने उत्पादन भएको तरकारी तथा फलफूल बिक्री गर्न बजार पुर्याउन पाएका छैनन् भने नदी तरेर आउजाउ गर्ने विद्यार्थी विद्यालय पुग्न सकेका छैनन्। गण्डकी गाउँपालिकाको भुम्लिचोक र ध्याल्चोकका किसानले बारीमा उत्पादन गरेका तरकारी तिनै झोलुङ्गे पुलबाट आउजाउ रोकिँदा मुख्य सडकसम्म पुर्याउन पाएका छैनन्। ती क्षेत्रमा उत्पादन भएका तरकारी काठमाडौँ चितवनलगायतका क्षेत्रमा पठाएर बिक्री गरिँदै आएको छ। यस पुलबाट तरकारी लिएर बजार किनमेलमा आउने ९४ घरधुरी किसान बजारसँगको सम्पर्क विच्छेद भएको स्थानीय सीता गिरीले जानकारी दिए। बाढीले पुलमा क्षति पुगेपछि दैनिकरूपमा पठनपाठनका लागि विद्यालय आउजाउ गर्नुपर्ने विद्यार्थी पनि विद्यालय जानआउन समस्या भएको छ। पुलमा क्षति पुगेपछि मझिमटारमा रहेको शङ्खादेवी माविमा पढ्ने गोरखाका विद्यार्थी विद्यालय आउन पाएका छैनन्। गोरखाबाट धादिङको बेनीघाटस्थित शङ्खादेवी माविमा मात्रै २२ विद्यार्थी रहेको शिक्षक तिलक चेपाङले बताए। उनीहरूलाई वैकल्पिक बाटो प्रयोग गर्दा दैनिक चार घन्टाभन्दा बढी समय पैदल हिँड्नुपर्छ । लगातार वर्षापछि त्रिशूली नदीमा आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदी र गोरखाको गण्डकी गाउँपालिका–७ जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल क्षति भएको छ। यस्तै धादिङको बेनीघाट रोराङ–१० र गोरखाको गण्डकी–६ जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुलमा पनि क्षति पुर्याएको छ। दुवै पुलका केही डन्डी भाँचिएको छ भने लठ्ठा झोल्लिएको छ । बाढीले बगाएर ल्याएका काठ दाउरा पुलमा अड्किएको छ। अहिले पुलबाट आवतजावत गर्न सकिने अवस्था नरहेको स्थानीयले बताएका छन्। बाढीले हिर्काएर हिक्लुङघाटमाथिको झोलुङ्गे पुलको ट्रस्ट नै बगाएको छ।

