पोखरा ।   होटल संघ पोखरा नेपालले आयोजना गर्न लागेको २१ औँ फेवा नव वर्ष महोत्सवको तयारी तिब्र पारिएको छ ।   पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म सञ्च...

मुस्ताङ:     मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आएको बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ ।आइतबार राति करिब आठ बजे कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको हो । मानवीय क्षति भने भएको छैन । कागबेनीको बस्तीमा बाढी पसेको सूचनापछि कागबेनी आएका प्रमुख जिल्ला अधिकारी अनुप केसीले भने, ‘१५-१६ घर बगेको बताएका छन् । उनका अनुसार कागबेनी प्रहरी चौकी, कागबेनी र छुसाङ जोड्ने पक्की पुल र केही गाडीहरु पनि बगेका छन् ।’ प्रहरीहरुले हतियार भने जोगाउन सफल भएका छन् । प्रहरीहरु गाउँपालिकाको भवनमा बसेका छन् । कागबेनी र छुसाङ जोड्ने पक्की पुल बगाएपछि कागबेनीसँग अपर मुस्ताङको सडक सम्पर्क टुटेको प्रजिअ केसीले जानकारी दिए । काग खोला मुक्तिनाथ मन्दिर हुँदै आउने खोला हो । यो खोला कागबेनीमा कालीगण्डकी नदीसँग मिसिन्छ । राति ठूलो वर्षासँगै खोलामा बाढी आएको थियो । बाढी कागबेनीको बीच बस्तीसम्म पसेको छ । बाढी बस्तीमा पस्न थालेपछि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका टोलीको सहयोगमा स्थानीयलाई सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति हुन नपाएको प्रमुख जिल्ला अधिकारी केसीले बताए ।  अहिले पनि नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, जनप्रतिनिधि र कर्मचारीहरुको टोली कागबेनी क्षेत्रमा परिचालित छ । कागबेनी वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र र प्रसिद्ध धार्मिकस्थलसमेत हो । गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङका अनुसार वस्तीमा बाढी पस्न थालेपछि स्थानीयको भागाभाग भएको थियो । उनले स्थानीयलाई राति नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति नभए पनि भौतिक संरचनामा ठूलो क्षति पुगेको बताए । उनका अनुसार बाढीले कागबेनीको पूजास्थल र बिजुलीका पोलसमेत बगाएको छ । विद्युत सेवा अवरुद्ध छ ।

मुस्ताङ:      छायाँवृष्टी हुने भनिएको हिमालपारिको जिल्ला मुस्ताङमा बाढीले ठूलो क्षति पुर्‍याएको छ । मुस्ताङको वारागुङमुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको बाढीले तल कागबेनीमा रहेको प्रहरीचौकी, धर्मशाला र केही घरमा क्षति गराएको छ । एउटा झोलुंगे पुल र तीन वटा विद्युत् पोल पनि ढलेकोले विद्युत् आपूर्ति बन्द भएको छ । झोङ भन्ने स्थानमा पहिरो गई कागखोलामा मिसिएपछि बाढी तल कागवेनी बस्ती पसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले पुष्टि गरेको छ । प्रहरीका अनुसार दुई दिनदेखि मुस्ताङमा पनि लगातार पानी परिरहेको छ ।   ‘बाढी आउनासाथ प्रहरी र त्यहाँ रहेको सेनाको टुकडीले स्थानीयलाई सचेत गराएकोले मानवीय क्षति भएको खबर छैन । प्रहरी चौकी समेत केही सर्वसाधारणका घर भत्काएको खबर छ । बाढीले बिजुलीको तारपोल बगाएकोले विद्युत् आपूर्ति रोकिएको छ । थप विवरण आउन सकेको छैन,’ मुस्ताङका जिल्ला प्रहरी प्रमुख डीएसपी रवीन्द्र पौडेलले भने, ‘कागवेनी र जोमसोम बीचमा पर्ने पाण्डाखोलामा आएको बाढीले जिल्लाबाट थप सहयोग पठाउनसमेत समस्या भएको छ ।’ मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५ दशमलव ८ मिलिमिटर वर्षा मापन गरिएको छ । साभार कान्तिपुर राष्ट्रिय दैनिक

पोखरा:   गण्डकी प्रदेश सभा सदस्य सांसद भिम बहादुर कार्कीले आफू निर्वाचित भएदेखि हालसम्म भएका उपलब्धि र कामहरुको विवरण सार्वजनिक गरेका छन् ।  गएको मंसिर ४ गते सम्पन्न प्रदेश सभाको निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (१)बाट निर्वाचित सांसद कार्कीले आज (आइतबार) पत्रकार सम्मेलन गर्दै हालसम्म भएका उपलब्धि र कामहरुको विवरण सार्वजनिक गरेका हुन् ।  गण्डकी प्रदेशसभा सदस्य कार्कीले मतदाताहरुको विश्वासमा रहेर नै आफ्नो काम कर्तव्य निर्वाह गरेको बताए ।  ‘निर्वाचनमा मलाई मतदाताहरुले विश्वास गरेर नै निर्वाचित गराउनुभयो, उहाँहरुको विश्वासमा रहेर नै प्रदेश सभा सदस्यका रुपमा आफ्नो कर्तव्य निर्वाह गर्दै आएको छु’, सांसद कार्कीले भने, ‘राजनीति कर्म राष्ट्र र जनता केन्द्रित भएकाले जनताको जनजीविकाका सवाल आफ्नो प्राथमिकतामा राखेको छु ।’ उनले आफु निर्वाचित भएपछि प्रदेश सभामा कास्की २ (१)का जनताका समस्याहरु, विकास निर्माण, समृद्धि र जनताको जीवनस्तर उकास्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको बताए । सांसद कार्कीले गत आर्थिक वर्षमा आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत छनोट भएका र विनियोजित बजेट समेत सार्वजनिक गरे ।  उनका अनुसार पोखरा महानगरपालिका १७ स्थित स्वास्थ्य चौकीदेखि महतगौँडासम्मको सडक ५० लाखको लागतमा स्तरउन्नती भएको, यस्तै ३० लाखको लागतमा पोमनपा वडा नम्बर ३३ स्थित भञ्ज्याङ आँपुकस्यारी मोटर बाटो स्तरोन्नति भएको , रू २० लाखको लागतमा पोखरा –१५ टुटुंगा स्थित एकतापथ टुटुंगा मोटर बाटो बाँकी ढलान भएको ,रू २० लाखको लागतमा  पोखरा २१ को  पुरानो कोलसिम्ले सडक स्तरोन्नति गरेको , रू ३० लाखको लागतमा पोखरा ३३ को जुके हनुमान पोखरी मोटरबाटो स्तरोन्नति भएको बताए ।  यस्तै रू २० लाखको लागतमा पोखरा ७ स्थित  झपेन्द्र स्मृति भवनको बाँकी काम पूरा भएको,  रु २० लाखको लागतमा  पोखरा २१ स्थित रामदी एकहाते एकीकृत खानेपानी योजना , रू २० लाख लागत रहेको बक्रेक, कात्तिके सडक स्तरोन्नति भएको , रू १० लाखको लागतमा धारापानी कुल मन्दिरदेखि ग्राउण्डसम्म सिंढी बाटो निर्माण सम्पन्न भएको ,रू २० लाखको लागतमा पोखरा १७ को  दोभिल्ला वस्ती जोगाउन फुस्रे खोलामा तटबन्धन गरिएको सांसद कार्कीले उल्लेख गरे ।  उनका अनुसार २१ फेदीपाटन मासपाटन दम्साँदी हुँदै पहारी डाँडासम्मको कृषि सडकको लागि १ करोड विनियोजन भई ठेक्का प्रक्रियामा बहुवर्षिय योजनाका लागि अघि बढेको छ । उनले आर्थिक वर्ष २०८०÷८१ का लागि विभिन्न मन्त्रालय अन्तर्गतका कार्यालयहरुबाट छनोट परेका  योजनाहरुको जानकारी समेत दिए ।  जस अन्तर्गत भू तथा जलाधार ब्यवस्थापन कार्यालयबाट  १८ ,पर्यटन तथा उद्योग कार्यालय कास्कीबाट १२ ,डिभिजन वन कार्यालयबाट १, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कास्कीमार्फत  २२ ,समपुरक अनुदान अन्तर्गतका  २ वटा पुर्वाधार बिकास कार्यालयबाट २६ ,जलस्रोत तथा सिंचाइ डिभिजनबाट १२ वटा र पुल निर्माण तर्फ  २ वटा रहेका जानकारी दिए ।  पोखरा महानगर वडा नं. ३३ मा प्रादेशिक  औद्योगिक ग्राम स्थापनाको काम अगाडि बढेको , सोहि  वडामा  हिंसा पीडित महिलाहरूको लागि पुनस्र्थापना केन्द्र संचालनको प्रक्रिया अगाडि बढाउने उल्लेख गरे ।   

पोखरा:  राजावादीहरुले पोखरा महानगरपालिका १० स्थित लखनचोकमा मयेर धनराज आचार्य र प्रहरी विरुद्ध नाराबाजी गरेका छन् ।     पूर्वनिर्धारित कार्यक्रम अनुसार उक्त चोकमा पृथ्वीनारायण शाहको मुर्ति पुर्नस्थापना गर्ने अभियानका लागि ब्यानर टाँस्न एक टोली पुगेका थिए ।    लखन थापाको सालिकमुनि ब्यानर टाँस्न खोजेपछि प्रहरीले रोक लागाएको थियो ।   त्यसपनि उक्त टोलीले मेयर धनराज आचार्य र प्रहरीविरुद्ध नारा घन्काए– ‘सालिक चोर्न पाइदैन, धने तेरो पाराले दुख पायो साराले, प्रहरी दमन मुर्दावाद ! प्रहरी हस्तक्षेप मुर्दावाद ! राष्ट्रिय एकता कायम गर, राष्ट्रघातीहरु होसियार, प्रधानमन्त्री तिमि कुन देशको ? मेयर तिमि कुन देशको ? राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको मुर्ति पुर्नस्थापना गर, मुर्तिचोर देश छोड, हाम्राे ठाउँ खाली गर ।     २९ औं विश्व आदिवासी दिवसको अवसरमा लखनको सालिकमुनि राखेको पृथ्वीनारायण शाहको प्रतिमा हटाइएको थियो । त्यसपछि विवाद सुरु भएको थियो ।    सो विवादपछि पोखरा महानगरपालिकाको सर्वदलीय बैठकले पोखरा महानगरभित्र रहेका सालिकहरुलाई सहिद पार्कमा व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।   उक्त निर्णयपछि आज (आइतबार) मात्रै कास्की  कांग्रेसले प्रेस विज्ञप्ती जारी गर्दै उक्त निर्णय मान्य नहुने बताएको छ । कास्की कांग्रेसले कुनैपनि हालतमा बिपी कोइराला, हरि प्रसाद गुरुङ लगायतको सालिक यथास्थानमै राख्ने अडान राखेको छ ।    यस्तै तमु ह्युला चोक (विराैटा) मा रहेको सालिक पनि त्यही राख्नुपर्ने भन्दै तमु धि नेपालले आन्तरिक कसरत थालेको छ ।

पोखरा:   गण्डकी प्रदेश प्रहरीको गत वर्षको तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा ५ सय ३१ जना मानिस बेपत्ता भएका छन् ।    गण्डकी प्रदेशको हिमाल पारीको जिल्ला मनाङ र मुस्ताङबाट हराएका पुरुष, महिला, बालक र बालिका सबै भेटिएका छन् । बाँकी अन्य जिल्लाबाट हराएका केही मानिस भने अझै भेटिन नसकेको प्रदेश प्रहरीले जनाएको छ ।    गण्डकी प्रदेशको गत आर्थिक वर्ष २०७९/०८० को तथ्याङ्क अनुसार २ हजार ८३ जना मानिस हराउँदा १ हजार ५ सय ५२ जना मात्र भेटिएका छन् ।   प्रदेश प्रहरीका अनुसार गण्डकीबाट ५ सय ७३ जना पुरुष हराएको निवेदन पर्दा ३ सय ४३ जना मात्र भेटिएका छन् भने २ सय ३० जना अझै हराइरहेका छन् ।    यस्तै गण्डकीबाट ९ सय ५२ जना महिला हराएको निवेदन अनुसार ७ सय १६ जना भेटिएका छन् भने २ सय ३६ जना अझै हराएको सूचीमा छन् ।   एक प्रहरी अधिकृतका अनुसार हराएको सूचना वा निवदेन दिँदा परिवारले दिएको हुलियाको आधारमा खोजी भइरहेको जनाए ।    यस्तै गण्डकी प्रदेशबाट १ सय ५१ जना बालक हराएको निवेदन दर्ता हुँदा १ सय २९ जना भेटिएका छन् भने, २२ जना बालक अझै हराइरहेको सूचीमा छन् ।   गण्डकीमा सबैभन्दा बढी बालक हराउनेको सुचीमा कास्की पहिलो नम्बरमा छ ।    प्रदेश प्रहरीको तथ्याङ्क अनुसार गण्डकीबाट ४ सय ९ जना बालिका हराएका छन् भने ३ सय ६६ जना बालिका भेटिएका छन् र ४३ जना अझै हराइरहेको सूचीमा सुचीकृत छन् । 

लमजुङ:    पहिरोले लमजुङ र मनाङ जिल्लालाई जोड्ने बेँशीसहर–चामे सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै बेँशीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो गएको हो ।   जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार उक्त भिरमा पहिरो झर्ने क्रम जारी छ । पहिरोका कारण सवारीसाधन बाटोमै थन्किएका छन् । “तत्काल सडक खुलाउन असम्भव छ”, उहाँले भन्नुभयो ।  सडक अवरुद्ध हुँदा लमजुङको उत्तरी भेगका साथै मनाङवासी मारमा परेका छन् । उक्त सडकखण्डअन्तर्गत लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर सडक पर्छ ।    

दाङ: दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका–११ झमरेका ६४ वर्षीय तिलकराम विकलाई पत्रे खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजनकुमार गौतमले जानकारी दिनुभयाे ।   विकलाई घर नजिकै रहेको पत्रेखोलाले आज आइतवार बिहान बगाएको हाे । ‘घरमा शाैचालय नभएका कारण विक शाैच गर्न सधैँ खोलामा जाने गर्ने गरेका थिए, त्यही क्रममा आज खोलामा गएको समयमा उहाँकलाई बगाएको भन्ने खुलेको छ’, डीएसपी गाैतमले भन्नुभयाे ।   अहिले बेपत्ता विकको खोजीका लागि प्रहरी परिचालन भएको छ ।

गोरखा:  केही दिनदेखि लगातार परेको अविरल वर्षाका कारण माथिबाट झरेको पहिरोले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारमा रहेको झोङगाउँका १० घर जोखिममा परेका छन् ।   चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेकोे जानकारी दिनुभयो । पहिरोसँगै आएको ढुङ्गासहितको लेदो घरमा पसेर क्षति पुर्याएको उहाँको भनाइ छ  ।   त्यस्तै, पहिरो बगेर झोङगाउँमा स्थानीयले लगाएको फापर तथा तोरी बारीसमेत नष्ट बनाएको उहाँको भनाइ छ । ुपहिरोले नजिकै रहेको चरन क्षेत्रमा समेत क्षति पुर्याएको छु, अध्यक्ष लामाले भन्नुभयो, ुघर तथा खेतबालीमा समेत क्षति पुर्याएकाले पीडित समस्यामा परेका छन् ।   पहिरो रोकथामका लागि गाउँपालिकाले आवश्यक पहल गरिरहेको जनाइएको छ। थप क्षति हुन नदिन र जोखिममा परेका घर जोगाउनका लागि ग्यावियन तारजाली हाल्ने तयारी गरिएको अध्यक्ष लामाले बताउनुभयो।   प्रहरी र जनप्रतिनिधिको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन गरी जोखिमको अवस्थाका बारेमा समेत जानकारी लिइसकेको उहाँको भनाइ छ ।