काठमाडौं:  जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । ...

पोखरा:  कास्कीको मादी गाउँपालिका–१ पर्यटकीय गाउँ सिक्लेसमा यही माघ १ देखि ४ गतेसम्म माघे संक्रान्ति मेला हुने भएको छ । सिक्लेस युवा क्लबले आज पोखरामा पत्रकार सम्मेलन गर्दै सिक्लेस माघे संक्रान्ति मेलाको बारेमा जानकारी दिएको हो ।  सिक्लेस युवा क्लबका अध्यक्ष भोलामान गुरुङले क्लबको ३० औं वार्षिकोत्सव एवम् माघे संक्रान्तिको अवसरमा मेला आयोजना गरिएको बताए ।  ‘कास्कीको उत्तरी भेगमा अवस्थित सिक्लेस पर्यटकीय गाउँ हो, गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँमा हामीले माघ १ देखि ४ गतेसम्म सिक्लेस माघे संक्रान्ति मेला आयोजना गर्दै छौं, अध्यक्ष गुरुङले भने, ‘ग्रामिण पर्यटन प्रवद्र्धनका लागि खेलकुदको माध्यमबाट आपसी भाइचाराको भावना विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित मेला आयोजना  गरिएको हो ।’ अध्यक्ष गुरुङले ४ दिनसम्म सञ्चालन हुने मेलामा खुल्ला पुरुष भलिबल, खुल्ला महिला भलिबल, खुल्ला पुरुष बास्केटबल, गुरुङ गीतमा सामुहिक नृत्य, ठेलो प्रतियोगिताहरु आयोजना गरिएको बताए ।  उनका अनुसार खुल्ला पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ७० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला पुरुष भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ७ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।  यस्तै खुल्ला महिला भलिबल प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले २० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला महिला भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।  यस्तै खुल्ला पुरुष बास्केटबल प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ७० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला पुरुष बास्केटबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ७ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । मेलाको अवसरमा नै आयोजना गरिएको गुरुङ भाषा गीतमा सामुहिक नृत्य प्रतियोगिताको विजेताले नगद ६० हजार, उपविजेताले ४५ हजार र तेस्रो हुने समूहले ३० हजार, उत्कृष्ट भेषभुषा र नृत्य निर्देशकले ५÷५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  यस्तै मेलाको अवसरमा नै आयोजना गरिएको ठेलो प्रतियोगिताको विजेताले ४५ हजार र उपविजेताले ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।    मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङले मेलाले सिक्लेस लगायत पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा लिएको बताए ।  ‘माघे संक्रान्ति मेलाको अवसरमा हामीले सिक्लेस लगायत नेपालकै कम उचाई अवस्थित क्हफुचे हिमताल, कोरी लेक लगायत पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उद्धेश्य पनि हो, वडाध्यक्ष गुरुङले भने ।   ४ दिनसम्म सञ्चालन हुने मेलामा करिव १३ लाख आम्दानी हुने अपेक्षा आयोजकले राखेको छ । पोखराबाट ४० किलोमिटरको दुरीमा पर्ने अन्नपूर्ण हिमाल र लमजुङ हिमालको काखमा अवस्थित सिक्लेसमा करिव २ हजार ५ सय पर्यटक राख्न सक्ने होटल र होमस्टेको व्यवस्था रहेको छ ।  सिक्लेसबाट गुरुङ जातिको पैतृक थलो क्होलासोथर एकैदिनमै पुग्न सकिन्छ । साथै घलेखर्क, ताराहिल सिक्लेस पदमार्ग, गुरुङ सम्पदा पदमार्ग सिक्लेसको पर्यटन क्षेत्रमा थप आकर्षकको गन्तव्यको रुपमा रहेको छ ।   

पर्वत:    चुत्रो प्रशोधन गरी आयुर्वेदिकऔषधि बनाउन यहाँ चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ ।  चिनियाँ लगानीकर्ताको झण्डै रु आठ करोडको लगानीमा कुश्मा नगरपालिका–५ स्थित जलकेनीमा रहेको कालीण्डकी नदी किनारमा ‘एसडिएसडी’ उद्योग सञ्चालन गरिएको हो ।  दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र गत सातादेखि सञ्चालनमा आएको छ । चीनको छिफु वायोटेक्नोलोजी प्रालिले चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको  कम्पनीका प्रतिनिधि दीपेन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।  पर्वतलगायत आसपासका जिल्लामा प्रशस्त मात्रामा पाइने गैरकाष्ठ वन पैदावारअन्तर्गत पर्ने चुत्रो सङ्कलन गरेर यहाँ प्रशोधन गरिने भएको छ । चुत्रो पर्वत, म्याग्दी, बागलुङ, कास्की, लमजुङ, स्याङ्जालगायत जिल्लामा प्रशस्त पाइन्छ ।   चुत्रोको जरा, हाँगा र डाँठलाई प्रशोधन गरी आयुर्वेदिक औषधिको कच्चा पदार्थ तयार गरिने भएको हो । यहाँ उत्पादित धुलो चीन पठाएर औषधिजन्य पदार्थमा मिश्रण गरी ‘पेनकिलर’, ‘सुगर’ रोग लगायतका औषधि बनाइने बताइएको छ ।  चुत्रोको कच्चा पदार्थलाई खनेको र काटेको एक हप्ताभित्र नसुक्दै हरियो अवस्थामै उद्योगसम्म ल्याउनुपर्दछ । यसका लागि कम्पनीले प्रतिकिलो रु २० का दरले मूल्य निर्धाणरण गरी किसानसँग चुत्रोको कच्चा पदार्थ र प्रतिकेजी रु आठका दरले गुर्जो गानो खरिद गर्ने जनाएको छ । प्रशोधन गरिने चुत्रोको माटोभन्दा माथि हुने काठको गोलाई साढे दुई इन्चभन्दा माथि जति पनि ल्याउन सकिने उद्योगले जनाएको छ ।  छिफु कम्पनीका व्यवस्थापक तथा सूचना अधिकारी हरिकुमार श्रेष्ठका अनुसार प्रशोधन केन्द्रले यही औषधि तयार गर्ने नभई कच्चा पदार्थमात्र तयार गर्ने भएको हो । यहाँ कामै नलाग्ने काँडे झाडीका रूपमा लिइएको पदार्थलाई बिक्री गरेर किसानले समेत प्रशस्त आम्दानी गर्ने श्रेष्ठले बताउनुभयो । उद्योगसम्म ल्याएको जरा र डाँठलाई नुन, पानी र ‘सल्फिड एसिड’मा कच्चा पदार्थमा केही दिन मिश्रण गराएर भिजाएर, निकालेर र सुकाएपछि धूलो बनाएर प्याक गरी निकासी गरिन्छ । सुरुमा प्रशोधन केन्द्र सञ्चालनका लागि उद्योग विभागबाट स्वीकृत भएका ३० जना कामदार भर्ति गरिने भएको छ ।       कम्पनीले पहिलोपटक एक हजार दुई सय सय केजी चुत्रोको कच्चा पदार्थ प्रशोधन गरी परीक्षण गरिसकेको जानकारी दिएको छ । सूचना अधिकारी श्रेष्ठले पर्वतमा सञ्चालनमा आएको यो खालको प्रशोधन कम्पनी सम्भवत नेपालमै पहिलो भएको हो ।  डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विकले गैरकाष्ठ वनपैदावरअन्तर्गत पर्ने चुत्रो वनस्पतिलाई व्यक्ति र सामुदायिक वन समूहले बिक्री गरेर आम्दानी गर्न सकेमा धेरै राम्रो हुने बताउनुभयो ।  पर्वतमा चुत्रो समुद्री सतहबाट एक हजार मिटर उचाइदेखि तीन हजार मिटर उचाइसम्म पाइने गरेको उहाँको भनाइ छ । बाँझो बन्दै गएका व्यक्तिगत खरबारी, पाखो यत्रतत्र पाइने चुत्रो जातको वनस्पति सामुदायिक वनमा त्यत्तिकै खेर गइरहेको अवस्थामा उद्योग सञ्चालन भएपछि किसान तथा सामुदायिक वनले समेत लाभ लिन सक्ने उहाँको भनाइ छ ।   नेपालमा अहिलेसम्म चुत्रोबारे उल्लेख नभएको हुँदा खरिद बिक्रीका लागि पुर्जी जारी गर्नसमेत नपर्ने उहाँले बताउनुभयो ।  चुत्रो वनस्पतिबारे जिल्लामा आधिकारिक अध्ययन, अनुसन्धान र खोजी हुन नसकेको उहाँको भनाइ छ ।  जिल्लामै चुत्रो प्रशोधन उद्योग सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका नागरिक बाँझो रहेका खेतबारी र पाखो तथा जङ्गल आसपासमा चुत्रको व्यावसायिक खेती गर्ने योजना बनाउन थालेका छन् । 

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेस गरिएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेल समक्ष सो प्रतिवेदन पेस गर्नुभएको हो ।  सो अवसरमा राष्ट्रपति पौडेलले सरकारी मुद्दाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षालगायतका काम अझ वैज्ञानिक, प्रभावकारी र तथ्यपरक हुनुपर्ने एवं मुद्दाको सफलताको प्रतिशत अझ बढाउन सकेमा कानुनी शासनको बढोत्तरी तथा खासगरी फौजदारी न्याय प्रशासन प्रभावकारी हुन्छ भन्नुभयो ।  “मुद्दाको सफलताको प्रतिशत बढाउने मात्रै भन्दा पनि पीडितले न्याय पाए नपाएको वा पीडितमैत्री भए नभएको विषय महत्वपूर्ण हुन्छ भन्ने म ठान्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो, “त्यसैले कसुरदारलाई सजाय दिनेतर्फ मात्रै होइन पीडितले क्षतिपूर्तिसहितको न्याय पाउने विषयको सुनिश्चितता प्रदान गर्ने विषयसमेत महान्यायाधिवक्ताको जिम्मवारी हो ।”  उहाँले नेपालको संविधानको मौलिक हकमा अपराधपीडितको हक सुनिश्चित गरेका सन्दर्भमा त्यस्तो हकको रक्षाका लागि संविधानको प्रभावकारी कार्यान्वयन भए नभएको तर्फ पनि महान्यायाधिवक्तको कार्यालयले विशेष ध्यान दिनेमा विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा महान्यायाधिवक्त बडालले प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गर्नुभएको थियो ।

काठमाडौं:   अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।  अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य २७०४ अमेरिकी डलर निर्धारण भएको छ ।  गत शुक्रबार सोही परिमाणको पहेँलो धातु २६८१ डलरमा कारोबार भएको थियो ।    गत शुक्रबारको तुलनामा आज प्रतितोला सुनमा रु एक हजार ६०० ले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु १५ ले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज रु एक लाख ५५ हजार ७०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार आठ सय ६० कायम भएको छ । 

काठमाडौं:    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन सार्वजनिक सूचनामार्फत पुनः आग्रह गरेको छ । केन्द्रीय बैंकले यसअघि नै एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देश गरिसकेको थियो ।       राष्ट्रिय परिचयपत्रको सहज पहुँच सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ ।  यस्तै, काठमाडौँ  उपत्यकामा समेत जिल्ला प्रशासन कार्यालयका अतिरिक्त अस्थायी शिविर मार्फत परिचयपत्र प्रदान गरिँदै आएको सूचनामा उल्लेख छ ।       राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बर तथा आवेदनको स्थिति बुझ्न सकिने व्यवस्था गरिएको छ ।  विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बरको जानकारी लिएर बैंक खाता खोली ग्राहकलाई सहजीकरण गर्न सबै बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिइसकिएको केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । 

ताप्लेजुङ:    ताप्लेजुङमा लडेर घाइते भएका इटालियन नागरिक ५६ वर्षीय सर्जियो फेटोजाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।  लडेर गम्भीर घाइते भएका उनलाई आज प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित युनाइटेड मेवाहाइड्रोपावरमा कार्यरत फेटोजा बिहीबार लडेर घाइते भएका थिए । उनलाई सोही दिन उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो ।  फेटोजाको बायाँ हात भाँचिएको छ भने पेटमा समेत चोट लागेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

काठमाडौंः    नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ)को दोस्रो बैठक द्विपक्षीय व्यापार विस्तारमा जोड दिँदै आज यहाँ सम्पन्न भएको छ ।  दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको उक्त बैठकमा नेपाल र भारतका प्रतिनिधि सहभागी थिए । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको उल्लेख गर्दै जेबीएफको बैठकमा भएका सहमतिलाई दुवै पक्षले कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो । उहाँले दुवै देशबीच आयात निर्यातमा देखिएका समस्या समाधान सहज ढङ्गले हुनेगरी काम गर्नुपर्ने बताउनुभयो ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले मञ्चकोे बैठकबाट प्रस्तुत भएका विषयको व्यावहारिक कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र भारतबीच आर्थिक क्षेत्रमा अथाह सम्भावना रहेको उल्लेख गर्दै दुवै क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार तथा व्यावहारिक समाधान खोजेर अघि बढ्नुपर्ने बताउनुभयो ।  सो अवसरमा उहाँले गैरभन्सार अवरोध हटाउने, नेपाली वस्तु निर्यातमा ब्यूरो अफ इन्डियन स्ट्यान्डड्र्स ९बिआइएस० को प्रमाणीकरण प्रक्रियाले गर्दा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्ने, भैरहवा र पोखरा विमानस्थलसँग भारतका सहर जोड्ने र नेपालका  जलविद्युत् तथा अन्य निमार्णजन्य विकासका लागि आवश्यक विस्फोटक पदार्थ सहज आपूर्ति आवश्यक भएको बताउनुभयो ।   अध्यक्ष ढकालले मुन्द्रा (गुजरात), धामरा (उडीसा) र जवाहरलाल नेहरू बन्दरगाह ९मुम्बई० लगायतका भारतीय बन्दरगाहमा नेपालको पहुँच विस्तारको विषय उठान गर्नुभएको थियो ।  नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठककै अङ्गकै रूपमा रहेको जेबीएफ बैठकमा नेपाल र भारतका प्रतिनिधिले व्यापार, लगानी, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार विकासलगायत विषयमा छलफल गरेका थिए ।   संयुक्त बैठकमा जलविद्युत् र नवीकरणीय ऊर्जा, सौर्य, वायुलगायत परियोजनामा सहकार्य गर्दै स्वच्छ ऊर्जा प्रवर्द्धन, पर्यटन र कनेक्टिभिटी, सडक, रेल र हवाई सम्पर्क सुदृढ गर्दै सीमापार व्यापार सहज बनाउने, व्यापार र सीमापार लगानी, कृषि र औषधीय वनस्पति, कृषि उत्पादनको कोटा हटाई उच्च बीउ तथा प्रविधि उपलब्ध गराउने, औषधीय वनस्पतिमा अनुसन्धान र व्यावसायीकरणको सहकार्य, डिजिटल प्रविधि र स्टार्टअप सहयोगलगायत विषयमा  आवश्यक सहजीकरण गर्ने सहमति भएको छ ।    बैठकमा भएका सहमतिका विषयलाई शनिबार नै नेपाल र भारतका वाणिज्य सचिवलाई हस्तान्तरण गरिएको छ । भारतीय वाणिज्य सचिव सुनिल वर्थवाल र नेपालका वाणिज्य सचिव गोविन्दबहादुर कार्कीलाई मञ्चका अध्यक्ष भवानी राणा र सन्थिल कुमारले सो सहमति हस्तान्तरण गर्नुभएको थियो । भारतका वाणिज्य सचिव बर्थवालले जेबीएफमा उठेका एजेण्डा कार्यान्यवनका लागि आफ्नो पक्षबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।   नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुई देशबीचको आर्थिक मुद्दामा यो बैठक महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यहाँ उठेका विषयमा सहजीकरणका लागि आफ्नोतर्फबाट पहल गर्ने बताउनुभयो ।  सो अवसरमा मञ्चका (नेपाल) अध्यक्ष भवानी राणाले नेपाल–भारतबीच लगानी र व्यापारको व्यापक सम्भावना रहेको तथा त्यसबाट लाभ लिन आवश्यक सहजीकरण हुनुपर्ने बताउनुभयो ।  यस्तै भारतीय पक्षबाट एन सुनिल कुमारले नेपाल–भारतबीच  सडक, रेल र हवाई कनेक्टिभिटीमा सुधार भइरहेकाले आउने दिनमा थप सहजता थपिने बताउनुभयो । मञ्चको अर्को बैठक भारतको नयाँ दिल्लीमा आयोजना गर्ने सहमति भएको छ ।

सुनसरी:    सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ ।  लामो समयसम्म ठेक्का लाग्न नसक्दा भण्डारण गरिएको १५ हजार क्युफिट काठ वन कार्यालयमै कुहिएर काम नलाग्ने भएको सबडिभिजन वन कार्यालय पाँचकन्याका प्रमुख महेशकुमार साहले जानकारी दिनुभयो । दुई दशकदेखिको काठ यहाँ रहेको छ । विशेषगरी मुद्दाको काठ वर्षौँदेखि थन्किएको छ ।  “ठेक्का नलाग्दा रु सात करोड बराबरको काठ त्यत्तिकै थन्किएर वन कार्यालयमै कुहिन थालेको छ”, प्रमुख साहले भन्नुभयो । अहिले ‘ए ग्रेड’ को प्रतिक्युफिट काठ रु एक हजार दुई सय, ‘बी ग्रेड’को रु नौ सय र ‘सी ग्रेड’को रु छ सय ५० मा बिक्री हुँदैआएको छ । नेपाल वन पैदावर उद्योग व्यवसायी सङ्घका अध्यक्ष डिकबहादुर भुजेलले झन्झटिला नीति–नियमका कारण काठ त्यसै खेर गइरहेको बताउनुभयो । नेपाली काठ उत्पादन प्रशस्त भए पनि सरकारको नीति र कर्मचारीले नै विभिन्न झमेला गरिदिँदा काठ त्यत्तिकै खेर जाने गरेको उहाँको भनाइ छ । जिल्ला वन कार्यालयका अनुसार यहाँ आर्थिक वर्ष २०८०/८१ मा ६४ हजार पाँच सय क्युफिट काठ थन्किएको छ । चालु आव २०८१/८२ को हालसम्ममा २५ हजार चार सय क्युफिट काठ नयाँ थपिएको छ ।  एक महिनाअघि वन कार्यालयले १६ हजार नौ सय क्युफिट काठ बोलपत्र प्रक्रियाबाट बिक्री गरेको छ भने हाल वन कार्यायलमा ७२ हजार नौ सय क्युफिट काठ घाटगद्दी गरिएको कार्यालयले जनाएको छ । जिल्ला वन कार्यालयका डिभिजन वन अधिकृत खुद्रिस मियाँले अदालती प्रक्रिया र केही झन्झटिलो कानुनी प्रक्रियाका कारण चाहेको समयमा काठ लिलामी गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच पटकसम्म ठेक्का रद्द भएको छ । दुई–तीन पटक ठेक्का लागेर पनि ठेकेदारले धरौटी नै छाडेर पनि काठ उठाएनन् ।” बर्सेनि चाहिनेभन्दा तीन गुणा बढी काठ उत्पादन गर्न सकिन्छ । तर सरकारी नियम र कर्मचारीको बदमासीका कारण स्वदेशमै आवश्यक काठ आपूर्ति हुन नसकेको काठ व्यापारीको भनाइ छ ।  आफ्नो काठ जङ्गलमै कुहाएर बजारमा कृत्रिम अभाव खडा गर्दै विदेशबाट काठ आयात भइरहेको व्यवसायीको आरोप छ । विदेशी काठको आयात रोक्न स्वदेशमा उत्पादित काठको सदुपयोग र प्रयोग बढाउँदै जानुपर्ने व्यवसायीहरुको सुझाव छ ।

काठमाडौं:    गायक प्रकाश सपूतको परिचय सङ्गीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ ।  गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहनुभएका गायक सपूतले चलचित्र निर्माण गर्नुभएको छ । चलचित्रमा पनि माथि उल्लेखित भूमिकामै उहाँलाई पाउन सकिन्छ ।  एकै व्यक्तिले यति धेरै भूमिका निर्वाह गर्न कठिनाइ हुँदैन त ? यस जिज्ञासामा गायक सपूतले आउँदा दिनमा एक विधामा मात्र केन्द्रित हुने प्रतिक्रिया दिनुभयो ।  उहाँ निर्देशित पहिलो चलचित्र ‘वसन्त’मा समावेश पहिलो गीत ‘साँझ पर्यो झमक्कै’ को गीत र श्रव्यदृश्य सार्वजनिक गर्न शनिबार साँझ दरबारमार्गमा रहेको एक चलचित्र भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गायक सपूतले आफ्नो समूहका कारण यसपटक सफल भए पनि आउँदा दिनमा एक विधाबाहेक अरुको जिम्मेवारी नलिने बताउनुभयो ।  उहाँले भन्नुभयो, “आफैँले सबै काम गर्दा गाह्रो नै हुनेरहेछ । विशेषतः निर्देशन र अभिनय एकैपटक गर्दा दुवैमा ऊर्जा बाँडिएको महसुस भयो । त्यसैले आउँदो चलचित्रमा म निर्देशक भएमा आफ्नो दृश्यलाई निकै कम राख्छु, नत्र सुनिल विकलाई निर्देशनको जिम्मेवारी दिन्छु र म अभिनयमा मात्र केन्द्रित हुन्छु । किनकि मेरै पछिल्ला कामभन्दा कमजोर नहोस् भन्ने मेरो प्रयास रहन्छ ।”   यस विषयमा अभिनय र निर्देशनसँगै गरिरहनुभएका निश्चल बस्नेत, अर्पण थापालगायतसँग छलफल गरेको गायक सपूतले बताउनुभयो । उहाँले गायनमै व्यस्त हुँदा चलचित्र निर्देशनमा आउनु कथालाई धेरै दर्शकसम्म पुर्याउने चाहना भएको बताउनुभयो ।  “भोगाइ, देखाइसहितका आफ्ना कथा गीतमार्फत व्यक्त गरिरहेको थिएँ । मलाई ती कथा गीतमै सकाउँछु कि भन्ने लाग्यो । त्यही भएर चलचित्र बनाउने योजनालाई मूर्तरुप दिएको हुँ । यो मजस्ता धेरै मध्यमवर्गीय युवाको कथा हो”, उहाँले भन्नुभयो । यो चलचित्रको कथामा आफ्नो बालापन र भोगाइ भए पनि आफ्नै जीवनी भने नरहेको गायक सपूतले स्पष्ट पार्नुभयो ।  अभिनेत्री स्वस्तिमा खड्काले गायक सपूतले एउटा परिपक्व चलचित्रकर्मी भएर काम गर्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “गायक सपूतलाई मैले नयाँजस्तो कहीँकतै पाइनँ । उहाँको काममा परिपक्वता थियो, जसलाई दर्शकले छिट्टै पर्दामा महसुस गर्नुहुनेछ । यो चलचित्रमा जोडिएर शान्ति नामक पात्र बाँच्न पाउँदा आफूलाई भाग्यमानी ठानेकी छु । यो मलाई वर्षौँसम्म सम्झिने पात्र बन्ने छ ।” सार्वजनिक गरिएको ‘साँझ पर्यो झमक्कै’ गीतमा शब्द, सङ्गीत र स्वर सपूतकै रहेको छ भने गायनमा शान्तिश्री परियारले साथ दिनुभएको छ । चलचित्रमा प्रभात पाल ठकुरी, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गर्नुभएको छ । आर्थिक रूपमा विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने सङ्घर्षलाई चलचित्रको विषय बनाइएको निर्माण पक्षले जनाएको छ । यो चलचित्र आगामी चैत २२ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ ।