काठमाडौं: हावाको वेग बढ्दै गएर आगोलाई पहिले नछोएका क्षेत्रहरूतर्फ धकेलिरहँदा दमकलकर्मीहरू शनिबार लस एन्जलस वरिपरिका विशाल डढेलोहरू नियन्त्रण गर्न समयसँगै दौडिरहेका थिए । सहरभर फैलिएको आगलागीबाट कम्तीमा १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । आगलागीले समुदायहरूलाई तहसनहस पारेको छ र हजारौँ दमकलकर्मीहरू र लाखौँ क्यालिफोर्नियाका बासिन्दाहरूको साहसको परीक्षा लिइरहेको छ । हवाई कर्मचारीहरूबाट सटीक उडानहरू सहित वीरतापूर्ण प्रयासहरू भए पनि पालिसेड्स आगलागी शनिबार बढ्दै गयो र यो पूर्वमा गेट्टी सेन्टर कला सङ्ग्रहालयको अमूल्य सङ्ग्रहहरू र उत्तरमा घना जनसङ्ख्या भएको सान फर्नान्डो उपत्यकातर्फ फैलिँदै छ । सारा कोहेनले लस एन्जलस टाइम्सलाई आफ्नो टार्जानास्थित घरमाथिको खतराबारे भन्नुभयो, “हामी चिन्तित छौँ, जब–जब उनीहरूले पानी खसाल्छन्, स्थिति राम्रो हुन्छ तर फेरि खराब हुन्छ ।” मन्डेभिल क्यानियन क्षेत्रका फुटेजमा एउटा घर जलिरहेको देखाइएको छ । हावाको छोटो विश्राम द्रुत गतिमा हावाहुरीमा परिणत भइरहेको छ र यसले मौसम पूर्वानुमानकर्ताहरूका अनुसार आगामी दिनहरूमा आगलागीलाई बढाउनेछ । “दुर्भाग्यवश दक्षिणी क्यालिफोर्नियाका लागि आज फेरि गम्भीर आगो–मौसमको अवस्था बढ्नेछ र कम्तीमा अर्को हप्ताको सुरुसम्म रहनेछ”, राष्ट्रिय मौसम सेवाले भन्यो, “यसले चलिरहेका आगलागीहरूको विस्तार साथै नयाँ आगलागीहरूको विकासमा योगदान पु¥याउन सक्छ ।” जीवित व्यक्तिहरूलाई सहरमा फैलिएको बाक्लो धुवाँका विषाक्त कणहरू सास फेर्नबाट बच्न बाहिर समय बिताउन वा मास्क लगाउन चेतावनी दिइएको थियो । पालिसेड्स आगलागी शनिबार ११ प्रतिशत नियन्त्रणमा थियो तर २३ हजार ६०० एकड (९,५०० हेक्टर) सम्म फैलिएको थियो भने इटन आगलागी १४ हजार एकडमा फैलिएको र १५ प्रतिशत नियन्त्रणमा थियो । आधिकारिक तथ्याङ्कले १२ हजारभन्दा बढी संरचना जलेको देखाउँछ तर क्याल फायरका टोड हप्किन्सले सबै घरहरू नभएको र सङ्ख्यामा बाहिरी भवनहरू, आरभी, सवारी साधन र छाप्राहरू पनि समावेश भएको बताउनुभयो । लुटपाट र रातको समयमा कफ्र्यूको रिपोर्टका साथ प्रहरी र नेसनल गार्डले मानिसहरूलाई विपद् क्षेत्रमा प्रवेश गर्नबाट रोक्नका लागि चौकीहरू स्थापना गरेका छन् । – शव खोजी – यस त्रासदीमा मृत्यु भएकाहरूमध्ये सन् १९९० को दशकमा बेलायती टिभी शो ‘किड्डी क्यापर्स’ मा देखिएका पूर्व अस्ट्रेलियाली बाल कलाकार रोरी साइक्स पनि थिए । “मेरो सुन्दर छोरा रोरी साइक्सको हिजो मालिबु आगलागीमा मृत्यु भएको घोषणा गर्नुपर्दा म अत्यन्त दुःखी छु । म पूर्णतः टुटेकी छु”, उनकी आमा शेली साइक्सले सामाजिक सञ्जालमा लेख्नुभयो । – अनुसन्धान – एफबिआई र ब्युरो अफ अल्कोहल, टोबाको, फायरआम्र्स एन्ड एक्सप्लोसिभ्स (एटिएफ) र स्थानीय अधिकारीहरू मिलेर आगलागीको कारण पत्ता लगाउन ठूलो अनुसन्धान भइरहेको लस एन्जलस काउन्टीका सेरिफ रोबर्ट लुनाले भन्नुभयो । “हामी कुनै कसर बाँकी राख्ने छैनौँ, यदि यो आपराधिक कार्य हो भने –– म यस्तै हुन्छ भन्दिनँ –– यदि हो भने, जसले यो ग¥यो वा जुन समूह जिम्मेवार छ, उनीहरूलाई पक्राउ गर्नुपर्छ”, लुनाले कुनै जानकारी भएका व्यक्तिहरूलाई अगाडि आउन आग्रह गर्दै भन्नुभयो । डढेलो जानीजानी लगाइएको हुनसक्छ, तर प्रायः प्राकृतिक हुन्छन् र वातावरणको जीवन चक्रको महत्त्वपूर्ण हिस्सा हुन् । तर सहरी विस्तारले मानिसहरूलाई बढी जोखिममा पार्छ र जलवायु परिवर्तन–मानवताको जीवाश्म इन्धनको अनियन्त्रित प्रयोगले अतिप्रभावित गरेको–ले विनाशकारी आगलागी उत्पन्न गर्ने अवस्थाहरूलाई बढाइरहेको छ ।
काठमाडौं: सभामुख देवराज घिमिरेले सार्वजनिक निकायका साथै सबै राजनीतिक दलले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को व्यावहारिक र प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय सूचना आयोगले यहाँ आज आयोजना गरेको ‘राजनीतिक दलमा सूचनाको हकसम्बन्धी कानुनको अभ्यास’ विषयक अन्तरक्रियामा उहाँले सबै राजनीतिक पार्टीले लोकतन्त्रलाई बलियो बनाउन र जनताको विश्वास जित्न पारदर्शी बन्दै सो ऐनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । प्रत्येक तीन÷तीन महिनामा सार्वजजिक निकायले सरोकार भएका सबै सूचना अद्यावधिक गरी प्रकाशन गर्नुपर्ने तथा कार्यालयमा रहेका सूचना प्रवाह गर्न सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने व्यवस्था ऐनले गरेको छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ ले “प्रत्येक सावर्जनिक निकायले आमनागरिकको सूचना पाउने मौलिक हकको सम्मान गर्दै सूचना प्रवाह गर्नु पर्दछ”, भनेको छ । सभामुख घिमिरेले भन्नुभयो, “हामीले सूचनाको हकसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, अभिसन्धि वा घोषणापत्रमा नेपाल पक्ष भएर सहमति गरेका छौँ, साथै वर्तमान संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरी प्रत्येक नागरिकले आफूलाई चाहिएको वा सरोकार भएका सूचना माग्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ ।” सभामुख घिमिरेले लोकतान्त्रिक संसदीय प्रणालीभित्र राजनीतिक दलहरूको भूमिका सबैभन्दा माथि रहने जनाउँदै उहाँले दलहरू पारदर्शी, वस्तुनिष्ठ र जनताकेन्द्रित हुनुपर्ने जिकिर गर्नुभयो । संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुने बताउँदै उहाँले संसदीय प्रणालीलाई बलियो बनाउन सूचनाको हकलाई सबैले प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले कांग्रेसले लोकतान्त्रिक सिद्धान्तलाई पालना गर्दै सूचनाको हकसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै आएको बताउनुभयो । उहाँले लोकतन्त्र बलियो भए देश बलियो हुने बताउँदै लोकतन्त्रको प्रमुख आधार सूचनाको हक रहेको उल्लेख गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सूचनाको हकसम्बन्धी ऐन र संवैधानिक व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयन गर्दै आफ्नो पार्टीले पारदर्शी ढङ्गबाट जनतालाई हरेक सूचना प्रवाह गरिरहेको दाबी गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले लोकतन्त्रको आधार पारदर्शीता र सूचनाको हक रहेकाले यसलाई व्यावहारिक रूपमा सबै निकायले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रका मूल्य, मान्यतालाई पालना गर्दै पार्टीले आमनागरिकलाई पारदर्शी ढङ्गबाट सूचना प्रवाह गरिरहेको उहाँले बताउनुभयो ।
बर्दिया: बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो । ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उहाँ बाघको आक्रमणमा पर्नुभएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बताउनुभयो ।
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग तथा विभागअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ । श्रेष्ठसँग भएको रु चार करोड ८८ लाख ३० हजार तीन सय २९ दशमलव ५४ पैसाको स्रोत नखुलेको उल्लेख गर्दै आज अदालतमा आरोप–पत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । इन्जिनियर श्रेष्ठले लामो समय सिँचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाबाट ठेकेदारसँग मिलेमतो गरी कमिसन लिई काठमाडौं, ललितपुरलगायतका विभिन्न स्थानमा घर जग्गा तथा गाडी खरिद, विभिन्न कम्पनीमा लगानी र विभिन्न व्यक्तिहरुको नाममा समेत जग्गा जमिन र चलअचल सम्पत्ति लुकाइ स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरेको आयोगले आरोप–पत्रमा उल्लेख गरेको छ । श्रेष्ठले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत पत्नी लक्ष्मीकुमारी श्रेष्ठ, बुबा हरिकुमार श्रेष्ठ, आमा इन्द्रकुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठ समेतका नाममा राखेको देखिएको आयोगको दाबी छ । आयोगले श्रेष्ठको सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ९ग०, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ९ख० बमोजिम जफतको माग गरेको छ । आयोगले श्रेष्ठकी पत्नी, बुबा, आमा र छोरालाई समेत प्रतिवादी कायम गरेको छ ।
म्याग्दी: नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले म्याग्दीका विकास आयोजनालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यकर्ता भेटभाटका क्रममा देउवाले जिल्लाको सडक, नदी नियन्त्रण, स्वास्थ्य पूर्वाधार, धार्मिक पर्यटकीयस्थलको विकासमा पार्टीको साथ रहेको र प्रधानमन्त्री केपी शर्मा ओलीसँग समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो । सभापति देउवासमक्ष कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले जिल्लाका प्राथमिकता प्राप्त आयोजनाका लागि बजेट व्यवस्थापन गरिदिने सम्बन्धमा मागपत्र बुझाउनुभएको थियो । मागपत्र बुझ्दै सभापति देउवाले प्रधानमन्त्री र मन्त्रीहरुसँग छलफल गरी योजना कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको हो । मागपत्रमा बेनी–दरवाङ–मुना–ढोरपाटन सडकलाई मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प बनाउन स्तरोन्नति गर्नुपर्ने, बेनी–दरवाङ सडकको फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज जडान गर्नुपर्ने, बेनी बजारमा कटान नियन्त्रण आयोजना, बेनी–पाखापानी–मल्कवाङ चक्रीय सडक, पोखरेबगर–घोडेपानी–कास्कीलाई सडकले जोड्न, बृहत् चिमखोला पिप्ले भगवती खानेपानी आयोजना र अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गमा पूर्वाधार निर्माणको विषय समावेश गरिएको थियो । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राखुको गुठी जग्गासम्बन्धी समस्या समाधानका लागि सभापति देउवाको ध्यानाकर्षण गराउनुभयो । नेपाली कांग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी र पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले पार्टीको गतिविधि र जिल्लाको अवस्थाबारे जानकारी गराउनुभएको थियो । त्यस अवसरमा देउवाले बेनी अस्पतालको निर्माणाधीन ५० शय्या क्षमताको भवनको पनि निरीक्षण गर्नुभएको थियो । विसं २०७४ मा सुरु भएको भवन निर्माणले पूर्णता नपाउँदा बेनी अस्पतालको सेवा प्रभावकारी हुन सकेको छैन । सहरी विकास मन्त्रालयमार्फत सञ्चालित अस्पतालको भवन निर्माणलाई तीव्रता दिनका लागि दबाब दिन उच्च तहका राजनीतिक नेतृत्वको अनुगमन गराइएको नेपाली कांग्रेस म्याग्दीका सचिव भरत रकालले बताउनुभयो ।
म्याग्दी: बेनीमा आजदेखि आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला सुरु भएको छ । माघेसङ्क्रान्ति पर्वको अवसर पारेर म्याग्दी उद्योग वाणिज्य सङ्घको मूल आयोजनामा महोत्सव सुरु भएको हो । चीन र भारतको व्यापारिक प्राचीन रेशमी मार्ग र ‘साल्ट ट्रेड रुट’का रूपमा परिचित कालीगण्डकी करिडोरको एक प्रमुख व्यापारिक केन्द्र बेनीको महत्वलाई झल्काउने तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको बताउँदै उहाँले रु १० करोड बराबरको व्यापारिक कारोबार हुने अनुमान गरिएको जानकारी दिनुभयो । सामानको खरिदबिक्री र मनोरञ्जनका लागि मात्र नभएर जिल्लाको समग्र सम्भावना उजागर गरी लगानी भित्र्याउने, आर्थिक गतिविधिलाई चलायमान बनाउने, स्थानीय उत्पादनको प्रचारप्रसार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको सङ्घका अध्यक्ष श्रेष्ठले बताउनुभयो । जिल्लाको पर्यटन, कृषि, जलविद्युत्, खनिज, वन पैदावारजन्य उद्योग व्यवसायमा लगानी भित्र्याउन, संस्कृति संरक्षण, प्रतिभा पहिचान, पर्यटन प्रवर्द्धन र खेलकुदलाई पनि महोत्सवसँग जोडिएको उहाँले जानकारी दिनुभयो । स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय औँद्योगिक, कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी, पुरुष–महिला भलिबल, बाँस्केटबल, लोकदोहोरी गीत, कलाकारको प्रस्तुति महोत्सवका आकर्षक रहने जिल्लास्थित उद्योग वाणिज्य सङ्घले जनाएको छ । आज पूख्र्योली नाच, रत्यौली गीत, भजन, म्याग्दी आइडल एकल लोक नृत्य, जातजाती, जनजाती भाँकी प्रदर्शनी आयोजना गरिएको छ । उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष प्रमोद श्रेष्ठले भन्नुभयो, “दुई सय वर्ष पहिले बेनीमा चीन र भारतसम्मका मानिस माघेसङ्क्रान्ति मेलामा किनमेलका लागि आउने गर्दथे । सोही सिलसिलामा काठमाडौँ उपत्यकाका नेवार समुदाय बेनीमा बसाइ सरेर आएका र यहाँ बस्ती बसेको विश्वाससहित बेनी र माघेसङ्क्रान्ति मेलाको विशेष सांस्कृतिक महत्व छ ।” यसअघि विसं २०५८ देखि विसं २०७८ सम्म सात पटक म्याग्दी महोत्सव आयोजना भएको थियो । परम्परागत माघेसङ्क्रान्ति मेलालाई निरन्तरता दिन म्याग्दी र कालीगण्डकीको दोभानमा पर्ने बेनी बजारमा महोत्सव आयोजना गरिएको सङ्घले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकीका मौलिक धुनहरुलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा सांगीतिक कलाकार संघको संयुुक्त आयोजनामा भएको “गण्डकीका धुुनहरु” नामक कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेशको सांगीतिक सम्पदाको महत्व र यसलाई संरक्षण गर्ने आवश्यकतामा जोड दिएका हुन् । मन्त्री थापाले प्रदेशका मौलिक बाजाहरूको जगेर्ना र नयाँ पुस्तामा यसको हस्तान्तरणलाई प्राथमिकतामा राखिने बताए । “गण्डकी प्रदेश गीतसंगीतको उर्वर भूमि हो । यहाँका सिर्जना विश्वप्रख्यात छन् । गण्डकीका सर्जकका सिर्जनालाई संरक्षण गर्न नै गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना गरिएको हो । जस माध्यम विविध कार्यक्रमहरु हुँदै आएका छन् ।”, उनले भने । कार्यक्रममा पञ्चे बाजा, सारंगी, बाँसुरी, धिमे, सनई, टुङ्ना, मादल, खीं लगायतका मौलिक बाजाहरू एकै मञ्चमा प्रस्तुत भएको देख्न पाउँदा खुशी लागेको उनले उल्लेख गरे । उनले प्रस्तुत बाजाहरूको ध्वनि र धुनले गण्डकी प्रदेशको सांगीतिक विविधतालाई प्रतिनिधित्व गरेको बताए । “हामी धुन र बाजाका हिसाबले धनी छौं। यसलाई संरक्षण गर्दै आगामी दिनमा प्रवद्र्धन गर्न हामी सबैले भूमिका निर्वाह गर्नुपर्छ ।”, उनले भने । मन्त्री थापाले गण्डकी प्रज्ञा–प्रतिष्ठानको यस पहलको प्रशंसा गर्दै यस्तो कार्यक्रमले सांस्कृतिक धरोहरलाई जीवन्त राख्ने विश्वास व्यक्त गरे । साथै उनले आफ्नो मन्त्रालयको यस्ता सांस्कृतिक गतिविधिहरूमा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन् । मन्त्री थापाले गण्डकीका मौलिक बाजाहरू जोगाउन सरकार, कलाकार र स्थानीय समुदायको सामूहिक प्रयास जरुरी रहेको उल्लेख गरे । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कार्यक्रमको महत्वलाई रेखांकित गर्दै गण्डकीको सांस्कृतिक धरोहर जगेर्ना गर्न यस्ता कार्यक्रमले खेल्ने भूमिकाको प्रशंसा गरे । गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले अग्रज स्रष्टाहरूलाई सम्मान र नयाँ पुस्तालाई मौलिक बाजाहरू प्रतिको आकर्षण बढाउने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको जानकारी गराए । उक्त कार्यक्रमले सांस्कृतिक पहिचानलाई बचाउन र नयाँ पुस्तालाई प्रेरित गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास उनको छ । कार्यक्रममा काठमाडौं र गण्डकीका ४० भन्दा बढी वाद्यवादकहरूले नेपाली मौलिक बाजाहरूको माध्यमबाट सांगीतिक धुनहरू प्रस्तुत गरे । संगीत संयोजक तथा निर्देशक प्राज्ञ अशोक राईले पोखरामा पहिलो पटक अर्केष्ट्राको स्वरूप प्रदर्शन गरिएको जानकारी दिए । उक्त अभियानले गण्डकीका धुनहरुलाई प्राथमिकतामा राखेर सांगीतिक पहिचानलाई बलियो बनाउने प्रयास भएको भनाई उनको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्चीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजनीति कर्मी, प्रदेश सरकारका सचिवहरु, कलाकार, साहित्यकार, पत्रकार लगायतको उपस्थिति थियो ।
सर्लाही: उखु बेचेको हप्ता दिनभित्रै भुक्तानी पाउँदा सर्लाहीको बागमती नगरपालिका–१, मिलनचोक निवासी रामहरी पाण्डेलाई सुरुमा त पत्याउनै मुस्किल भयो । विगतमा वर्षौंसम्म चिनी उद्योगहरुले भुक्तानी नगर्दा हैरानी खेप्दै आएका उहाँजस्ता किसानहरुले यसपटक समयमै भुक्तानी पाएका छन् । विगतमा राज्यले समयमा उखुको समर्थन मूल्य नतोक्ने र उद्योगीले वर्षौंसम्म पनि भुक्तानी नदिने समस्याबाट किसानहरू हैरान हुनु परिरहेको थियो । तर, यस वर्ष उखु क्रसिङ पहिला नै समर्थन मूल्य तय भएको र उद्योगीले पनि उखु बेचेको हप्ता दिनभित्रै भुक्तानी दिन थालेपछि किसानलाई उखुखेती फेरि नगदेबाली हो भन्ने लाग्न थालेको पाण्डेले बताउनुभयो । पाण्डेले यस वर्ष चार बिघामा उखु लगाउनु भएको छ । पहिलोपल्ट उहाँले गत मङ्सिर २७ गते उद्योगमा उखु बेच्नु भएको थियो । इन्दुशङ्कर चिनी उद्योगको मिलगेट क्षेत्रका उखु किसान पाण्डेले हप्ता दिनमै बैंकमा पैसा जम्मा भएको घण्टी बजेपछि खुसीले गद्गद् हुनुभयो । “अब बल्ल उखु नगदेबाली हो भन्ने लागेको छ”, उहाँले भन्नुभयो, “किनकी यो वर्ष उखुको पैसा हाताहाती जस्तै आइरहेको छ ।” सुरुमा उखुखेती गर्दा मूल्य र भुक्तानी के हुने हो भनेर चिन्ताले पाण्डेलाई नसताएको हैन । तर, यस वर्ष उखु बिक्री गरेर समयमै भुक्तानी पाएपछि ऊखुखेतीप्रति आकर्षण बढेको पाण्डेले सुनाउनुभयो । उखुको समर्थन मूल्यमा राज्यले किसानको लगानी र चिनीको मूल्यलाई आधार बनाएर तोक्ने र उद्योगले किसानको भुक्तानी व्यवस्थित गर्ने हो भने किसानहरू उत्साहित भएर उखुखेती गर्न तयार रहेको उहाँ बताउनुहुन्छ । हरिवन नगरपालिका–३, का गोपी तिमल्सिनाको पनि अनुभव उस्तै छ । विगतका वर्षमा झैँ अब किसानले गुलियो उखु लगाएर अमिलो अनुभव गर्न नपरोस् भन्ने उहाँ कामना गर्नुहुन्छ । हरिवनको इन्दुशङ्कर चिनी उद्योगमा उखु बेचेको पैसा हप्ता दिनमा आफ्नो खातामा आएको उहाँले बताउनुभयो । राज्यलेसमेत अनुदानवापतको रकम किसानको खातामा जम्मा गरिदिनुपर्ने उहाँको धारणा छ । विगतका वर्षमा जस्तो अनुदानको रकममा किसानलाई दुःख पाउनु हँुदैन”, उहाँले भन्नुभयो, “समयमै भुक्तानी सुरु गर्नुपर्छ, अनि मात्र फेरि उखु नगदेबाली बन्छ । किसान पनि खेती गर्न उत्साहित हुन्छन् ।” यस वर्षबाट हप्ता दिनमै किसानको खातामा पैसा जम्मा गर्न थालेपछि किसानहरू उत्साहित बनेका हुन् । यस उद्योगले यस वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको उद्योगका महाप्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । किसानहरूसँग एक महिनाभित्र भुक्तानीको सहमत भए पनि उद्योगले एक हप्ताभित्रै भुक्तानी गरिरहेको उहाँको भनाइ छ । महाप्रबन्धक रजकका अनुसार उद्योगले पुस २० गतेसम्म किसानबाट छ लाख १७ हजार दुई सय क्विन्टल उखु खरिद गरी क्रसिङ गरिएकामा यही पुस १७ गतेसम्मको उखुको रु २८ करोड भुक्तानी गरिसकेको छ । गत मङ्सिर २७ गतेदेखि सञ्चालनमा आएको उद्योगले यो तेस्रो पटक किसानको खातामा रकम जम्मा गरेको हो । यस उद्योगले उखु उत्पादन बढाउनका लागि उन्नत जातको बीउ, मल, विषादीको प्रयोगको साथै तालिम, गोष्ठी तथा किसानहरूलाई प्राविधिक सेवासमेत अभियानकै रुपमा प्रदान गरिरहेको उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले बताउनुभयो । किसान खुसी पारेर उखु तान्न समेत उद्योगहरूले भुक्तानी छिटोछिटोे गरिरहेका नेपाल उखु उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीको भनाइ छ । जिल्लामा सञ्चालनमा रहेकामध्ये गोडैता नगरपालिकास्थित बगदहमा रहेको महालक्ष्मी चिनी उद्योगले र धन्कौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले भने विगतका वर्षमासमयमै भुक्तानी नगरेको किसानहरूको भनाइ छ । रामनगर गाउँपालिका–४ का नितिन रायले अन्नपूर्ण चिनी उद्योगका पुराना सञ्चालकसँग आफ्नो फसल बेचेको पैसा लिन निकै सङ्घर्ष गर्नुपरेको सुनाउनुभयो । यस उद्योगका नयाँ व्यवस्थापनले भने यस वर्षबाट उखुको भुक्तानी व्यवस्थित गरेको दाबी गरिरहेका छन् । गत मङ्सिर ६ गतेदेखि क्रसिङ शुरु गरेको यस उद्योगले पुसको पहिलो हप्तासम्मको भुक्तानी किसानको खातामा पठाइसकेको जनाएको छ । विगतको वर्षमा उखु दिएको वर्षौंसम्म पैसा नपाएका किसानले यसवर्ष भने उखु बेचेको १५÷१५ दिनमा पैसा खातामा जम्मा भएको भन्दै खुसी व्यक्त गरेका छन् । धन्कौल–५ निवासी वीरेन्द्र महतोले उखु बेचेको १४ दिनको दिन पैसा पाएको भन्दै यस वर्ष उखु नगदमै बेचेको प्रतिक्रिया दिनुभयो । “हामीले सधैँ उधारोमा उखु उद्योगलाई दिँदै आएका थियौँ”, उहाँले भन्नुभयो, “हामीसँग अरु विकल्प पनि थिएन । तर यस वर्ष पैसा पनि आइरहेको छ ।” अब पहिलेको जस्तो उखु बेचेको पैसा माग्न पुस÷माघको ठन्डीमा काठमाडौँ जान नपरोस् भन्ने उहाँको पनि कामना छ । पन्ध्र लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको यस उद्योगले पनि हालसम्म चार लाख ५० हजार क्विन्टल उखु क्रसिङ गरिसकेको जनाएको छ । राज्यले तय गरेको समर्थन मूल्य पाँच सय ८५ रुपैयाँ प्रतिक्विन्टलको दरले ११ करोड रकम भुक्तानी गरेको उद्योग सञ्चालक शैलेन्द्र गुप्ताले जानकारी दिनुभयो । जिल्लामा सबैभन्दा सुरुमा सञ्चालनमा आएको यस उद्योगलाई किसानहरूले विश्वास नगर्दा उखु नपाएर उद्योग पटकपटक बन्द हुँदै सञ्चालन हुँदै गरिरहेको छ । उद्योगको ढोकै नजिकबाट रौतहट र महोत्तरीका उद्योगले उखु लगेपछि अन्नपूर्णले स्थानीय जनप्रतिनिधि समेत गुहार्नुपरेको थियो । स्थानीय जनप्रतिनिधिले अन्य उद्योगको उखु सङ्कलन केन्द्र (काटा) राख्न नदिएपछि यस उद्योगले केही राहतको श्वास फेरेको छ । स्थानीय जनप्रतिनिधि र राजनैतिक दलका नेताहरूले उद्योगसँग मिलेर अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगमा उखु बेच्न किसानहरूलाई जबरजस्ती बाध्य पारेको किसानहरूको गुनासो छ । स्थानीयस्तरमा भएका उद्योगबाट किसानले लाभ लिन सक्ने र यस उद्योग जोगिए स्थानीय रोजगारीदेखि औद्योगिक विकासमा टेवा पुग्ने जनप्रतिनिधिहरूको भनाइ छ । उद्योगले किसानको भुक्तानीमा आनाकानी गरे आफूहरू किसानको पक्षमा रहेको बलरा नगरपालिकाका मेयर रामाशङ्करप्रसाद कुशवाहाले बताउनुभयो । गोडैतामा रहेको महालक्ष्मी चिनी उद्योग पनि किसानलाई नियमित भुक्तानी दिएर किसान फकाउन लागिपरेको छ । विगतमा किसानसँग बिग्रिएको सम्बन्ध समेत सुधार गर्ने योजनासहित यस वर्ष उखुको भुक्तानी प्रत्यक १५ दिनमा किसानहरूको खातामा पठाइरहेको उद्योगले जनाएको छ । यस उद्योगमा उखु बेचेका गोडैता नगरपालिका–५ का उखु किसान रामविनय महतोले उखुको भुक्तानी पाएको बताउनुभयो । हालसम्म दुई सय क्विन्टल उखु बेच्नु भएका उहाँको खातामा आजसम्म एक सय ५० क्विन्टल उखुको पैसा जम्मा भइसकेको छ भने बाँकी रकम पनि एक÷दुई दिनमा जम्मामा उहाँ ढुक्क हुनुहुन्छ । “यसपटक विगत वर्षहरुमा जस्तो उखुको भुक्तानी माग्न पटकपटक उद्योगी र कर्मचारी खोज्दै उद्योग धाउन परेन”, उहाँले भन्नुभयो । “पहिला उखु दियो पैसा माग्न धाउनुपथ्र्यो”, उहाँले भन्नुभयो, “यसपटक १५ दिन पहिला नै उखुको पैसा खातामा आइसकेको छ ।” विष्णु गाउँपालिका–७, का सिकिन्दर मण्डलले अघिल्लो वर्ष उखु उधारोमा मिललाई दिएर साहुसँग ऋण गरेर परिवारको पालनपोषण गरेको तीतो यथार्थ पोख्नुभयो । “उखु बेचेर पनि समयमै भुक्तानी नपाउँदा ऋणमा डुब्नुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “त्यसैकारण मैले धेरै उखु हटाएर अन्य बाली पनि लगाएँ । तर, खोला र जङ्गल नजिकका खेतमा जङ्गली जनावर र वर्षाको भलले अन्य बाली पनि राम्रो भएन । अब उखु नै लगाउने निधो गरेँ ।” मङ्सिर १२ गतेदेखि सञ्चालनमा आएको यस उद्योगले पनि यस वर्ष हालसम्म पाँच लाख दुई हजार क्विन्टल बढी उखु क्रसिङ गरेको उद्योगका प्रशासकीय अधिकृत शिवशङ्कर महतोले बताउनुभयो । उहाँका अनुसार यस उद्योगले यसवर्ष २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । उद्योगले क्रसिङ गरेकोमध्ये २५ दिनको उखुको भुक्तानी गरिसकेको र १५ दिनको बाँकी रहेको उद्योगका प्रशासकीय अधिकृत महतोको भनाइ छ । किसानले ल्याउने उखुमा चिनीको मात्र कम हुँदा उद्योग सङ्कटमा परेको उहाँको भनाइ छ ।
मकवानपुर: जिल्ला प्रहरी कार्यालय मकवानपुरले अफिम, चरेस र गाजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनीहरु सवार दुई वटा भारतीय कारलाई पनि नियन्त्रणमा लिइएको छ । गएराति करिब २ बजे आसपासमा थाहा नगरपालिका–११ टिस्टुङ नौखनडेस्थित त्रिभुवनराजपथमा इलाका प्रहरी कार्यालयले भारतीय नम्बर प्लेट डिएल ८ सिएक्स १२२४ को कार जाँचका क्रममा २१ केजी चार सय ६० ग्राम चरेस, तीन केजी चार सय ७० ग्राम अफिमसहित कारमा सवार भारतीय हरियाणा राज्री जिल्ला हिसार गोविन्दनगर बस्ने २५ वर्षीय कुनाल गोथ्वाल र सोही ठाउँका २० वर्षीय मनिस कुमारलाई नियन्त्रणमा लिइएको जनाइएको छ । साथै आज बिहान ५ः३० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्टमा चितवनबाट वीरगञ्ज जाँदै गरेको भारतीय नम्बर प्लेट डिएल १३ सी १५६१ को कार जाँच गर्दा एक सय एक केजी गाजासहित पर्सा वीरगञ्ज महानगरपालिका–२६ अठराह सुगौलीका २० वर्षीय राजन राउत कुर्मीलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरु उपर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।